स्वादिला बालकविता; शृङ्खला – १९

१. मेरो परिचय – पुण्य घिमिरे

भेडाको ऊनको लुकुनी,
लेकाली वनमा बुकुनी
कर्याम कर्याम चपाउँदै,

चौँरीको छुर्पी सुकुटी ।
गोजीमा मकै र भटमास,
झरीले पार्दछ बित्याँस
पार्दछ कुहिरो अँध्यारो,
कहिले त पार्छ अत्यास ।
कुकुर औधी नै जाती छ,
खोजेर भेडा ल्याइदिन्छ
उकाली ओराली गर्दामा
यही काले मेरो साथी छ ।
लेकमा बस्दछु लेकाली,
पिउँदछु पानी हिमाली
सधै लेक बेसीं गर्दछु,
यही नै छ मेरो चिनारी ।
———————-
[आफूलाई फेसबुक कविका रूपमा चिनाउन रुचाउने पुण्य घिमिरे (२०१८) वैत्येश्वर गाउँपालिका-६, मरुवाटार, दोलखाका स्रष्टा हुन् । उनमा तेह्र वर्ष लामो शिक्षण अनुभव छ । विगतमा विद्यालय निरीक्षक तथा शिक्षा उपसचिवका रूपमा समेत अनुभव बटुलेका उनले सामाजिक सञ्जाल तथा विभिन्न बालपत्रिकामा निरन्तर रूपमा फुटकर बालकविता प्रकाशन गर्दै आएका छन् । उनका बालगीत र बालकविता गरी ३०० भन्दा बढी रचनाहरू सामाजिक सञ्जालमा आइसकेका छन् र ती शीघ्र नै प्रकाशनको तयारीमा छन् । साहित्यका बालकविता र बालगीत लगायत मुक्तक, गीत, गजल, ताङ्का, हाइकु आदि विविध विधामा कलम चलाउने उनी सातामा एक दिन बालकविता वा बालगीतका लागि समय छुट्ट्याउँछन् । उनको प्रस्तुत मेरो परिचय शीर्षकको बालकवितामा कविले हिमाली क्षेत्रमा बस्ने लेकाली व्यक्तिको परिचय दिँदै कथयिता पात्रका रूपमा उक्त पात्रलाई उभ्याएका छन् । यो बालकविता सेलो भाकामा लेखिएको हो । चौँरीको छुर्पी र सुकुटी चपाउने, गोजीमा खाजाका रूपमा मकै र भटमास राखेर हिँड्ने, भेडा चराउने, कुकुरलाई साथी बनाएर हिँड्ने, चिसो हिमाली पानी खान पाउने, लेकबेँसी र उकाली ओराली गरेर शरीर तन्दुरुस्त बनाउन पाउने भाग्यमानी पात्रका रूपमा यस कवितामा हिमाली बासिन्दाको परिचय दिइएको छ । बालबालिकालाई रमाइलो लाग्ने खालको सेलो भाकाको प्रयोग, लयात्मकता, सरल शब्दको चयन र अन्त्यानुप्रासको सफल योजनाका कारण कविता कलात्मक, उत्कृष्ट र बालोपयोगी बन्न पुगेको छ ।]
*************************
२. राम्रो बानी – सकला पण्डित

मख्खै पारी सानीले
साह्रै राम्रो बानीले
उठ भन्नै नपर्ने
आफैं उठ्छे जुरुक्क
हातमुख धोएर
पढ्न बस्छे खुरुक्क
अल्छी छैन फिटिक्कै
नाच्न गाउन जानेकी
आमाले काम अह्राउँदा
खुरुखुरु मानेकी
छक्कै पारी सानीले
साह्रै राम्रो बानीले
पढाइ लेखाइ राम्रो छ
कति मीठो बोलेकी
फर्याकफुरुक चन्चले
सबको मन परेकी
माया, मानमर्यादा
संस्कारको खानी हो
गाउँकै प्यारी छोरी ऊ
लौ न कति ज्ञानी हो
दङ्गै पारी सानीले
साह्रै राम्रो बानीले
——————————————
[भानु नगरपालिका-१२ तनहुँ ( साबिक मिर्लुङ-१) मा जन्म भई हाल कीर्तिपुर, काठमाडौंमा बसोबास गर्दै आएकी सकला पण्डित (२०३५) शिक्षण पेशामा आबद्ध छिन् । उनी कीर्तिपुरमै अवस्थित पुष्पसदन आ.मा.वि मा अध्यापन कार्यमा संलग्न छिन् । नेपाली विषयमा स्नातकोत्तर गरेकी उनी सानैदेखि साहित्य लेखन र अध्ययनमा रुचि राख्ने प्रतिभा हुन् । वि.सं २०५८ को मुना मासिक बालपत्रिकामा ज्ञानी बन्नुपर्छ शीर्षकको बालकविता लेखेर बालसाहित्यको यात्रारम्भ गरेकी उनका विभिन्न पत्रपत्रिकामा कथा गजल मुक्तक कविता बालकविता आदि प्रकाशित छन् । विद्यार्थीलाई सैद्धान्तिक मात्रै नभएर प्रयोगात्मक ज्ञानका हिसाबले पनि अगाडि बढाउनुपर्छ भन्ने सिर्जनशील सोचका कारण उनमा कुशल शिक्षण कला पनि देख्न सकिन्छ । उनको प्रस्तुत ‘राम्रो बानी’ बालकविता बालमनोविज्ञान बुझेर लेखिएको सुन्दर बालकविता हो । सानी नानीको राम्रो बानीले अभिभावक सन्तुष्ट र प्रफुल्ल रहेको यसमा देखाइएको छ । अभिभावकको निर्देशनबिना नै आफ्नो कर्तव्यमा जुट्ने राम्रो बानीको प्रशंसा गरिएको यस बालकवितामा ७ अक्षरे एकल बालोरी छन्दको प्रयोग भएको देखिन्छ ।]
************************************
३. डुहुरे मुसो – ओम भुजेल

आमा खायो सुरीले भा’को छ त्यो टुहुरो
डरै डरमा बाँच्या छ सानो कालो डुहुरो ।
राम्रो नाना भन्दैन कुटुकुटु काट्या’ छ
एकातिर सग्लो छ अर्कोतिर फाट्या’ छ ।
भेट्यो भने किताब कापी नयाँ पुराना
धुजा-धुजा बनाई पार्छ साह्रै हैरान ।
देखेपछि मिठाई माया मार्छ ज्यानैको
कहिलेकाहीँ दिँदैन बिरालोको ध्यानै त्यो ।
लुगाफाटा काट्दछ अन्नबाली भकुर्छ
रातमा गर्दै रजाइँ यताउता दगुर्छ ।
कोही लिसो राख्दछन् काही साँचो थाप्दछन्
कोही बिखै हालेर साटो फेर्न खोज्दछन् ।
तिखा लामा दाँत ती घोटी घोटी मठार्छ
जे जे पायो दुलोमा बोकी कुँद्न हतार छ ।
————————————–
[साहित्यका गजल, बालकविता, लघुकथा, मुक्तक आदि विधामा कलम चलाउने स्रष्टा ओम भुजेल (२०३९) लमजुङ जिल्लाको बेसीसहर नगरपालिका-११, चिती घर भई हाल भोटेओडार, लमजुङमा शिक्षण तथा प्राध्यापन पेसामा संलग्न छन् । उनको एउटा बहरबद्ध गजल सङ्ग्रह प्रकाशनको पर्खाइमा छ । लमजुङबाट प्रकाशित ‘नौलो प्रतिबिम्ब’ नामक साहित्यिक द्वैमासिक पत्रिकाको सम्पादन पनि उनले गरिसकेका छन् । उनका केही फुटकर गजल, बालकविता तथा मुक्तकहरू पत्रपत्रिका तथा राष्ट्रिय स्तरका अनलाइन मेडियामा समेत प्रकाशित भइसकेका छन् । उनी बालबालिकाको मनोविज्ञान खोतल्दै बालसुलभ कोमल भावनामा आधारित रहेर बालबोलीम कलात्मक शैलीका बालकविता लेख्ने स्रष्टा हुन् । उनको प्रस्तुत ‘डुहुरे मुसो’ बालकविता मानवेतर पात्र मुसोलाई विषयवस्तु बनाएर लेखिएको कविता हो । पात्र चयनमा समेत मानवेतर बालपात्रको उपयोग गरिएको हुनाले कविता साँच्चैको बालकविता बन्न पुगेको छ । स्वाभाविक रूपमा मुसाले गर्ने बिठ्याइँका कामलाई कविताले छर्लङ्ग पारेको छ । मुसा मार्नका लागि मानिसले जुनसुकै उपाय अपनाए पनि डुहुरे मुसो सुरक्षित रहेको छ । आमा मरेपछि टुहुरो हुन पुगेको डुहुरे मुसाले बाँच्नका लागि गरेको सङ्घर्षलाई देखाइएको यस बालकवितामा ७+७ १४ अक्षरे युगल बालोरी छन्दको प्रयोग गरिएको छ । कवितामा अन्त्यानुप्रास र लयात्मकताको सफल योजना रहेको देख्न सकिन्छ ।]
– rcghimire47@gmail.com
साहित्यपोस्टका नियमित स्तम्भकार घिमिरे ईशानेश्वर क्याम्पस, भोर्लेटार (लमजुङ) का प्रमुख हुन् ।