साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बुढ्यौली साहित्यका तत्त्वहरू

एरिस्टोटलको कथावस्तुसम्बन्धी धारणालाई विचार गर्दा कथावस्तुको गठन प्रक्रियाका आधारमा आदि, मध्य र अन्त्य गरी तीन भागमा वर्गीकरण गर्न सकिन्छ । कथावस्तुको आदि भागमा एउटा जटिल समस्याका साथ मूल घटनाक्रमको प्रारम्भिक उल्झिने प्रक्रिया आरम्भ हुन्छ ।

Chovar Blues Mobile Size

साहित्यका विभिन्न विधागत स्वरूप हुन्छन् । तिनका निर्माण वा रचनाका लागि विभिन्न अवयव वा तत्त्वका आवश्यकता हुन्छ । बनोट र बुनोटका ती आधारभूत तत्त्वको समग्र चर्चा यहाँ गरिएको छः

बुढ्यौली साहित्यमा कथानकको स्रोतः

आख्यानमा घटनावलीको योजना वा ढाँचालाई कथानक भनिन्छ । घटनावली वा क्रियासमूह कथानक बन्नलाई ती कार्यकारण सम्बन्धद्वारा विन्यस्त हुनुपर्दछ (शर्मा, २०४८, ४८) । कथानक कार्यकारण शृङ्खलामा आबद्ध घटनाचक्र भएकाले यसमा चरित्र, भाव, विचारजस्ता कुराहरू सन्निवेश भएका हुन्छन् । कथानकको कच्चा पदार्थका रूपमा कथावस्तुका सहायक घटनाक्रम आएका हुन्छन् । कथानकमा घटना पूर्वापर प्रसङ्गमा आबद्ध भई निरन्तर अगाडि बढेको हुन्छ । कथा कल्पनाप्रधान हुन्छ र त्यसैमा वृद्धि र बुद्धितत्त्वको प्रयोग गरेर कथानक निर्माण गरिन्छ ।

अतः के प्रस्ट हुन्छ भने बुढ्यौली साहित्यको रचनामा प्रयुक्त कथारूपी कच्चा पदार्थमा तर्क, बुद्धि र कल्पना, अनुभव तथा अनुभूति र मानवीय संवेगजस्ता रसायन प्रयोग गरी कथानक निर्माण हुन्छ । कथानक अगाडि बढ्दै जाँदा पाठक वा स्रोतामा भावी घटनाको बारेमा संशय र उत्सुकता बढ्दै जान्छ । यसरी उत्सुकता र संशयका माध्यमबाट नै सुगठित कथानक तयार हुन्छ । सबल कथानकमा सुरुदेखि अन्त्यसम्म रहस्यको जालो कायम रह्यो भने गठन शृङ्खलाबद्ध रूपमा अगाडि बढ्छ ।

ग्रिसेली काव्यशास्त्री एरिस्टोटलले काव्यशास्त्र (अध्याय सात)मा कथानकको पूर्णता या व्याप्ति शीर्षकमा कथानकको सङ्गठनका बारेमा चर्चा गरेका छन् । पूर्णता या व्याप्तिको अर्थ आदि, मध्य र अन्त्यको सङ्गठन हो भनी प्रस्ट पार्दछन् (त्रिपाठी, २०६५, ४८) । एरिस्टोटलका अनुसार आदि भनेको कथानकको प्रारम्भिक भाग हो भने अन्त्य भनेको कथानकको समाप्ति हो, अनि मध्य भनेको आदि र अन्त्यको बीच भागमा रहने अंश हो ।

sagarmani mobile size
बद्रीप्रसाद ढकाल

कथानकमा यी तीन अङ्गमा कारण कार्यशृङ्खला वा क्रमशृङ्खला विद्यमान हुनुपर्दछ र त्यसको आयाम निश्चित हुनुपर्दछ । एरिस्टोटलले पूर्णता र व्याप्तिलाई सङ्गठनका मूल तत्त्व माने पनि यहाँ कथानकको सङ्गठनलाई पूर्णताका दृष्टिबाट मात्र हेरिएको छ । एरिस्टोटलले पूर्णता अन्तर्गत आदि, मध्य र अन्त्यको चर्चा गरे पनि अर्को ठाउँमा कथानकलाई विवृति र संवृति गरी दुई भागमा मात्र बाँडेका छन् । कार्यारम्भदेखि नायकको उत्कर्षसम्मको भाग विवृति हो भने त्यसपछि अन्त्यसम्मको भाग संवृति हो । यी दुई भागलाई कथानकको पूर्वाद्र्ध र उत्तराद्र्ध पनि भन्न सकिन्छ । दुखान्तकमा कथावस्तुको पूर्वाद्र्धले घटनाक्रमलाई उल्झाउँदै कुतूहल बढाउँदै लैजान्छ भने उत्तरार्धले कौतूहल सुल्झाउँदै समाप्तितिर अगि बढाउँदै लैजान्छ ।

संस्कृत साहित्यमा नाटकको सन्दर्भमा कथानकका तीनवटा स्रोतहरू मानिएका छन् – प्रख्यात, उत्पादन र मिश्रित (थापा, २०४०,३२) । त्यसै गरी पाश्चात्य साहित्यमा एरिस्टोटलले ट्रेजेडीको व्याख्या गर्ने क्रममा कथानकका तीनवटा दन्त्यकथा, इतिहास र कल्पना (त्रिपाठी, २०६५ , ५३) स्रोतको उल्लेख गरेका छन् । शैलीवैज्ञानिक समीक्षकहरूले आख्यानका निम्ति कथानक प्राप्त गर्ने चारवटा इतिहास, यथार्थ र स्वैरकल्पना (शर्मा, २०४८, ४६) स्रोतको उल्लेख गरेका छन् । पुराण, इतिहास, दन्त्यकथा आदि लोकप्रचलित हुने भएकाले तिनलाई प्रख्यात भनिन्छ भने रचनाकारको मौलिक कल्पनालाई उत्पाद्य भनिन्छ । कथानकको स्रोतसम्बन्धी पूर्वीय र पाश्चात्य मान्यताबीच खास भिन्नता भएको देखिन्न । आजका आख्यानका स्रोतहरूमा यी मान्यताभन्दा पनि अगि बढेर नयाँनयाँ युगीन प्रवृत्ति र समसामयिक विषयवस्तुलाई आधार बनाएर जीवन र जगत्लाई उद्घाटन गर्ने उद्देश्य राखिएको पाइन्छ ।

कथावस्तु नै साहित्यिक रचनाको बृहत्तम तत्त्व, घटक वा अवयव हो । यसले संरचनाको सबैभन्दा स्थूल र सबल तत्त्वको बोध गराउँछ । साहित्यमा यस तत्त्वको व्याप्ति सर्वत्र हुने भएकाले अन्य तत्त्व वा घटकहरूलाई समेत यसले गहिरो रूपमा प्रभाव पारेको हुन्छ । वास्तवमा कथावस्तु भन्नु नै स्वयं लेखकको विचार, धारणा वा अनुभूतिको मूर्त अभिव्यक्ति वा प्रस्तुति हो (ने.प्र.प्र, २०५५ ,१६५) । पात्र र घटना वा स्थितिको कार्यव्यापारबाट कथावस्तु बन्दछ । त्यसैले यसको निर्माण दुई कच्चा पदार्थ, क्रियाव्यापार र द्वन्द्वबाट हुन्छ । कथानकमा पात्रहरूले जे भन्दछन्, वा गर्दछन् वा सोच्दछन्, तिनीहरूका भनाइ, गराइ वा सोचाइको परिणामबाट नै क्रियाव्यापारको निर्माण हुन्छ । वास्तवमा कथावस्तुले क्रियाव्यापारको क्रमबद्ध ढाँचालाई नै बुझाउँदछ । कथावस्तु निर्माणको अर्को उपकरण द्वन्द्व हो । द्वन्द्व भएन भने कथा नै बन्दैन । पात्रलाई क्रियाव्यापारका निम्ति उत्प्रेरित गर्ने काम नै द्वन्द्वले गर्दछ (श्रेष्ठ, २०६६ , २३) ।

कथावस्तुको कथानक ढाँचा रैखिक र वृत्ताकारीय गरी दुई प्रकारको हुन्छ । रैखिक ढाँचामा कथावस्तु शृङ्खलित रूपमा अगाडि बढेको हुन्छ भने वृत्ताकारीय ढाँचामा कथानकका घटनाहरूलाई परिवर्तित गरी पूर्वदीप्तिका रूपमा प्रस्तुत गरिएको हुन्छ । गठनका दृष्टिले कथानक सरल र जटिल गरी दुई प्रकारको हुन्छ । सरल कथानक भएका कथाहरू जेलिएका हुन्छन् र अव्यवस्थित पनि हुन्छन् । आजकाल सूक्ष्म कथानक भएका कथाहरू मनस्थिति तथा प्रवृत्ति, समस्या तथा सङ्घर्ष, मार्मिक तथा संवेदनशीलताको प्रधान्य हुनाले कथातत्त्व उति बढी हुँदैन (बराल, २०४८, ४८) । कथाकारले विभिन्न क्षेत्रबाट कथावस्तुको स्रोतहरू चयन गरेका हुन्छन् ।

समग्रमा भन्दा कथावस्तु महत्त्वपूर्ण र अनिवार्य तत्त्व हो । आधुनिक साहित्यमा सूक्ष्म कथानक भएका कथाहरूको प्रयोग भए पनि वास्तवमा कथावस्तुविहीन भने हुनसक्दैन किनभने त्यसमा पनि अति सूक्ष्म रूपमा भए पनि कथानकको प्रयोग भएकै हुन्छ । यसैले कथावस्तु अति नै आवश्यक तत्त्वका रूपमा स्वीकार गरिन्छ ।

एरिस्टोटलको कथावस्तुसम्बन्धी धारणालाई विचार गर्दा कथावस्तुको गठन प्रक्रियाका आधारमा आदि, मध्य र अन्त्य गरी तीन भागमा वर्गीकरण गर्न सकिन्छ । कथावस्तुको आदि भागमा एउटा जटिल समस्याका साथ मूल घटनाक्रमको प्रारम्भिक उल्झिने प्रक्रिया आरम्भ हुन्छ । मध्य भागमा घटनाक्रमको उल्झिने प्रक्रिया अझ व्यापक र गतिशीलताका साथ फुक्दै फैलँदै चरमोत्कर्षतिर उन्मुख हुन्छ । अन्त्य भागमा कथावस्तु साँघुरो हुँदै गएर अन्तिम परिणति प्राप्त हुन्छ (प्रधान, २०४०, ४५) ।

कथानकको विकासका क्रममा जर्मनेली समालोचक गुस्ताभ फ्लुवर्ट फेट्रागले टेक्निक अफ् द ड्रामा भन्ने पुस्तकमा पनि यसको विकासको रूप निर्धारण गरेका छन् । उनले कथावस्तुको विकासका निम्नलिखित अवस्था हुने कुरा बताएका छन् ।

(क) आरम्भः आरम्भको अवस्थामा पात्रहरूको परिचय र तिनले सामना गर्नुपर्ने परिस्थिति वा समस्याका बारेमा जानकारी दिइन्छ ।

(ख) सङ्घर्ष विकासः समस्या र परिस्थितिका कारण द्वन्द्व र क्रियाहरूको सूत्र विकास हुने स्थिति सङ्घर्ष विकास हो । सङ्कटावस्थाहरूको शृङ्खलाले गर्दा कथानक माथितिर बढ्न थाल्छ जसले गर्दा कुतूहलताको जटिल स्थितिको सिर्जना हुन थाल्छ ।

(ग) चरमः यसमा सङ्कटावस्थाहरूको शृङ्खलाले गर्दा कथानकको एउटा त्यस्तो मोड वा माथिल्लो बिन्दु आउँछ, जसले पात्रहरूलाई गम्भीर, महत्त्वपूर्ण र निर्णायक रूप प्रदान गर्छ । कथानकमा परिवर्तनको स्थिति ल्याएर चरमले पाठकको मानसिकतामा आन्दोलन मचाइ दिन्छ ।

(घ) सङ्घर्ष ह्रासः यसमा कथानकको परिवर्तनले सङ्घर्ष कम हुँदै जान्छ र अनेकौं घटना तथा उपकथाहरूलाई समेटेर थान्को लगाउन थालिन्छ । द्वन्द्व र क्रियाको शृङ्खला कमजोर हुँदै शिथिलताको स्थितिमा पुग्दछ ।

(ङ) उपसंहारः यसमा पात्रहरूको सङ्घर्ष समापनको अवस्थामा पुगेपाछि फलप्राप्ति हुन्छ । आरम्भको समस्याले समाधान पाई कथानक टुङ्गिन्छ (बराल र एटम, २०६६, २४– २५) ।

यी पाँच अवस्थालाई फ्रेट्रागको पिरामिडमा यसरी देखाउन सकिन्छः

सङ्केतहरू :

क. आरम्भ
ख. सङ्घर्षविकास
ग. चरम
घ. सङ्घर्षह्रास

यहाँ प्रस्तुत कथानकको सूची स्तम्भ (पिरामिड) अत्यन्त सीधा तर अनियमित कथानकको स्थितिमा यो आकार भताभुङ्ग भई अर्कै रूपमा स्थापित हुन्छ । कथानकको क्षीणताले यसको आकारलाई न्यून अवस्थामा झार्दछ । दुई वा दुईभन्दा बढी चरम हुने कथानकमा पनि यसको आकार निश्चित नहुन सक्छ ।

कथानकको ढाँचाका आधारमा कथानकलाई रैखिक र वृत्ताकारीय गरी दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ । कथानकलाई मुख्य र सहायक, सुगठित र अव्यवस्थित कथानक, सरल र संयुक्त कथानकजस्तोमा वर्गीकरण पनि गर्न सकिन्छ । बुढ्यौली साहित्यका विषयवस्तुमा बुढ्यौली जीवनका विभिन्न घटना, अनुभव, अनुभूति, संस्मरणजस्ता अनेकन् घटनालाई विधागत रचनाका रूपमा समावेश गरिन्छ । विषयवस्तुमा गहनता, दार्शनिक चिन्तन, भावपक्षमा प्रबलपन देखिन्छ । शास्त्रीय वैचारिक उपदेश बुढ्यौली साहित्यको विशिष्ट विशेषता हो । बुढ्यौली साहित्यमा निर्माण गरिएका कथावस्तुमा बुढ्यौलीकै विविध पक्ष समाविष्ट गरिएका हुन्छन् ।

लेखक परिचय
बढ
बद्रीप्रसाद ढकाल
प्रतिक्रिया
Loading...