मानिसहरूको प्राथमिक भावनात्मक आवश्यकता हो, प्रेम अनुभूति। यसैका लागि अधिकांश मानिसहरू विपरीत लिङ्गीहरूप्रति आकर्षित हुन्छन्। प्रेमी वा प्रेमिका बन्नका लागि जोड गर्छन्। प्रेम सम्बन्धमा पनि बस्छन्। तर उनीहरू एकले अर्कालाई उपयुक्त रुपमा प्रेम व्यक्त, सञ्चार गर्न सक्दैनन्। अझ यसो भनौँ, प्रेम सञ्चार गर्न जान्दैनन्।  जसकारण उनीहरूको प्रेम लामो समय जान सक्दैन, दिगो हुँदैन। त्यसैगरी मानिसहरू वैवाहिक जीवन सुरुवात गर्न पुग्छन्। प्रायः उनीहरू मानसिक रुपमा होइन, शारीरिक रुपमा तयार भएका हुनाले तथा पारिवारिक दवाबमा मात्रै विवाह बन्धनमा बाँधिएका हुन्छन्। एकले अर्कालाई बुझ्न सक्ने, एक अर्काप्रति प्रेमभाव व्यक्त गर्न, एकले अर्कालाई अनुभूत गर्न गराउन सक्ने हैसियतका भइसकेका हुँदैनन्। उनीहरूमा एक आदर्श जोडी वा श्रीमान् र श्रीमतीमा पाइने कुनै विशेषताहरू भेटिदैनन्। जसकारण उनीहरूको वैवाहिक जीवन सोचेजस्तो चल्दैन, सुमधुर हुँदैन। अनेकौँ उतारचढावहरू, जटिलताहरू सिर्जना हुन्छन् जसका लागि उनीहरू कत्तिपनि तयार भइसकेका हुँदैनन्। अन्ततः एकले अर्कालाई जीवनसाथी अथवा श्रीमान् श्रीमतीको रुपमा छनोट गरेतापनि त्यो केही वर्षमै सीमित हुन पुग्छ। भनाइको तात्पर्य, उनीहरू अलग हुने (डिभोर्स गर्ने) निर्णयमा पुग्छन्।

केही महत्वपूर्ण तथ्याङ्कहरू

अमेरिकी मनोवैज्ञानिक शोधकर्ता जोन गटम्यान जसले सम्बन्धबारे अध्ययनमा चार दशक लगानी गरे उसैको अनुसन्धानबाट प्राप्त केही तथ्याङ्कहरू टिपोट गरौँ:

तथ्याङ्क एक, बिहे भएको सात वर्षभित्र ५० प्रतिशत वैवाहिक जीवन डिभोर्समा अन्त्य हुन्छ। यति मात्र होइन, विभिन्न अनुसन्धानले दोस्रो र तेस्रो वैवाहिक जीवन डिभोर्समा अन्त्य हुने सम्भावना अत्याधिक हुन्छ।

तथ्याङ्क दुई, आलोचना, रक्षात्मक, घृणा र अवरोध कारण विहे भएको ५ वर्ष ६ महिनाभित्र वैवाहिक जीवन डिभोर्समा अन्त्य हुन्छ।

तथ्याङ्क तीन, भावनात्मक निर्लिप्तता (हास्य, स्नेह र समानुभूतिको अभाव) कारण विहे भएको १६ वर्ष २ महिनाभित्र वैवाहिक जीवन डिभोर्समा अन्त्य हुन्छ।

यी सम्पूर्ण तथ्याङ्कहरूअनुसार जुनसुकै जोडीको अर्थात् श्रीमान् श्रीमतीको सम्बन्ध कुनै पनि बेला ब्रेकअप वा डिभोर्समा परिणत हुन सक्ने र यस्तो परिस्थिति सिर्जना हुनुमा दुई जोडीबीच भावनात्मक प्रेम सञ्चार एवं अनुभूति नहुनु देखिन्छ। भनाइको मतलब, प्राथमिक भावनात्मक आवश्यकता परिपूर्ति हुन नसक्नु। यस्तो परिस्थितिबाट उन्मुक्त रहन सर्वप्रथम प्रेमका भाषाहरूबारे समग्र बुझाइमा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ। यसका साथसाथै प्रेमी वा प्रेमिका, जीवनसाथीको प्राथमिक प्रेम भाषा पहिचान गरेर, बुझेर सोहीअनुरुप व्यवहार गर्न सक्नुपर्छ।

प्रेमका भाषाहरू

अमेरिकी लेखक ग्यारी च्यापम्यानअनुसार विशेषतः पाँचवटा प्रेमका भाषाहरू छन्। ती भाषाहरू संक्षेपमा वर्णन गरौँ।

  • प्रशंसा

प्राथमिक प्रेमको भाषा प्रशंसा भएका मानिसहरू जीवनसाथीमार्फत नियमित रुपमा सकारात्मक प्रतिक्रिया, प्रशंसा चाहन्छन्। यदि अपेक्षित प्रशंसा वा प्रतिक्रिया नपाएको खण्डमा प्रेम अनुभूत गर्न सक्दैनन्।

प्रशंसाको धेरै उपभाषाहरू छन् जसअन्तर्गत प्रेरक शब्द एउटा हो। मानौँ तपाईंको श्रीमतीले तौल घटाउने योजना सुनाइन्। यस्तोमा तपाईंको प्रेरक शब्दहरू यस्ता हुन सक्छन्:

‘म तिम्रो निर्णयको सम्मान गर्छु। तिमी जुन कुराका लागि प्रतिबद्ध छौ, त्यसमा सफलता प्राप्त गरेरै छाड्छौ। मलाई तिम्रो यही बानी त आकर्षक लाग्छ। यदि तिमी तौल घटाउने कुरामा गम्भीर छौ भने म कुनै पनि किसिमको साथ र सहयोग दिन तयार छु। अर्को महत्वपूर्ण कुरा, खर्चको चिन्ता नलिनु। त्यो सबै मेरो जिम्मेवारी भयो।’

जब तपाईं यस्ता प्रेरक शब्दहरू प्रयोग गर्नुहुन्छ, श्रीमतीको तर्फबाट तौल घटाउने कार्यमा कुनै ढिलासुस्ती हुँदैन।

त्यसैगरी प्रशंसाको अर्को उपभाषा हो, दयालु शब्द। जीवनसाथीलाई प्रशंसा गर्दा दयालु शब्दहरू प्रयोग गर्नुपर्ने हुन्छ। यी शब्दहरू प्रयोग गर्दा हामी कसरी बोल्छौँ, कति ठूलो वा कति सानो आवाजमा बोल्छौँ र कुन लवजमा बोल्छौँ, त्यसले विशेष अर्थ राख्छ। मानौँ तपाईंले श्रीमतीलाई भन्नुभयो, ‘तिमीलाई प्रेम गर्छु।’ तर तपाईंको स्वर रुखो छ भने त्यसबाट प्रेम होइन, रिस व्यक्त भएको हुन्छ। अब तपाईंले श्रीमतीलाई भन्नुभयो, ‘तिमीलाई घृणा गर्छु।’ तर तपाईंको स्वर नरम छ, अनुहारमा मुस्कान छ भने त्यसबाट घृणा होइन, प्रेमभाव नै व्यक्त भएको हुन्छ।

यसर्थ जीवनसाथीको प्रशंसा गर्दा उसको ठाउँमा बसेर हेर्ने, समानुभूति भाव राख्ने र लवजमा ध्यान दिने गर्नोस्।

  • गुणवत्ता समय

गुणवत्ता समय भन्नाले आफू विचलित नभइकन, कतैपनि ध्यान नमोडिकन जीवनसाथीलाई पूर्ण ध्यान दिनु भन्ने बुझिन्छ। यसको अर्थ यो होइन कि एकले अर्कालाई आँखामा हेरेरै सारा समय बिताउने। कुनै पनि कार्य वा गतिविधि निकट, घनिष्ठ रहेर गर्नु भन्ने बुझिन्छ। जस्तो: कोठामा रहँदा फोन, टिभी तथा इन्टरनेट बन्द गर्नु, एकले अर्कालाई हेरेर संवाद गर्नु, केवल दुईजना बिहानीको यात्रामा जानु, बाहिर खाना खाँदा एकले अर्कालाई हेरेर अन्तरक्रिया गर्नु आदिलाई गुणवत्ता समय व्यतीत गरेको भन्ने बुझिन्छ।

गुणवत्ता समयका पनि धेरै उपभाषाहरू छन्। जसअन्तर्गत एउटा उपभाषा हो, गुणवत्ता कुराकानी। गुणवत्ता कुराकानी भन्नाले बिना कुनै अवरोध जोडीबीच अनुभव, सोच, अवधारणाहरू, भावना र आकांक्षाहरू आदानप्रदान हुनु भन्ने बुझिन्छ। यस क्रममा सुन्ने कौशलको प्रमुख भूमिका रहन्छ। यदि तपाईंको जीवनसाथीको प्राथमिक प्रेम भाषा गुणवत्ता समय हो र उपभाषा गुणवत्ता कुराकानी हो भने एकसाथ रहँदा विचार सँगै भावना पनि व्यक्त गर्नोस्।

त्यसैगरी गुणवत्ता समयको अर्को उपभाषा हो, गुणवत्ता गतिविधि। गुणवत्ता गतिविधिमा संलग्न हुनु भनेको कुनै एक वा दुवैजनाले रुची राख्ने गतिविधिमा संलग्न हुनु भन्ने बुझिन्छ। यस क्रममा कुन गतिविधि गरिँदैछ भन्दा पनि त्यो किन गरिँदैछ त्यो हेरिन्छ। संयुक्त रुपमा अनुभव लिनुनै गुणवत्ता गतिविधिको उद्देश्य हो।

  • उपहार ग्रहण गर्नु

उपहार प्रेमको दृश्य, प्रतीक रुपमा लिइन्छ। यो पाउने मानिसहरूको मस्तिष्कमा उसले मलाई याद गर्छ, सोच्ने गर्छ, ख्याल गर्छ, माया गर्छ भन्ने जस्ता विचारहरू उत्पन्न हुने गर्छन्।  प्राथमिक प्रेम भाषा उपहार ग्रहण गर्नु भएका मानिसहरूले उपहार नपाउँदा भने उनीहरूको मस्तिष्कमा यस्ता विचारहरू उत्पन्न हुँदैनन् र जसकारण प्रगाढ प्रेम अनुभूत गर्न सक्दैनन्।

बजारमा खरिद गरिएका, प्रकृतिमा भेटिएका वा स्वयं बनाएर जीवनसाथीलाई उपहार प्रदान गर्न सकिन्छ। उदाहरणार्थ, उपहार पसलमा विभिन्न उपहार खरिद गर्न सकिन्छ। त्यसैगरी बगैँचामा फुलेको फूल टिपेर उपहार स्वरुप दिन सकिन्छ। त्यसैगरी हस्तनिर्मित उपहार पनि दिन सकिन्छ, जसको निम्ति ठूलो बजेट चाहिँदैन। उपहार ब्रान्डेड र अत्याधिक महङ्गो हुनैपर्छ भन्ने छैन। र पनि तपाईंको आर्थिक अवस्था र उपहारबीच मेल खानुपर्छ। कारण? प्राथमिक प्रेम भाषा उपहार ग्रहण गर्नु भएका मानिसहरूलाई उपहारको मूल्यले केही हदसम्म प्रभाव पार्छ। तपाईं करोडपति हुनुहुन्छ तर श्रीमतीलाई सधैँ एक हजारपर्ने उपहार दिनुहुन्छ भने त्यसले प्रेम जगाउन सक्दैन। तपाईंकी श्रीमतीलाई तपाईंको प्रेममा प्रश्न गर्ने ठाउँहरू प्रसस्त हुन्छन्। त्यहाँ तपाईंको कुनियत झल्किन्छ। यसको ठीक विपरीत यदि तपाईं आर्थिक समस्यामा हुनुहुन्छ तर श्रीमतीलाई एक हजारको उपहार दिनुहुन्छ भनेपनि त्यसले ठूलो अर्थ राख्छ। त्यसले प्रेम जगाउन सक्छ। त्यहाँ तपाईंको प्रेमभाव झल्किन्छ।

त्यसैगरी यदि जीवनसाथीको जीवनमा संकटको घडी चलिरहेको छ र उसको प्राथमिक प्रेम भाषा उपहार ग्रहण गर्नु हो भने त्यस्तो समयमा भौतिक उपहार प्रभावकारी साबित हुँदैन। तपाईंको भौतिक उपस्थिति नै उसको लागि सबैभन्दा ठूलो उपहार साबित हुन्छ।

  • सेवाउन्मुख कार्य

सेवा उन्मुख कार्यहरूमा खाना पकाउनु, भाँडा माझ्नु, घरायसी सरसफाईमा हात बढाउनु, सबै सरसमान व्यवस्थित स्थानमा राख्नु, सुत्ने कोठामा रङ पोत्नु, पुस्तक सही ठाउँमा राख्नु, बच्चाको लुगा वा डायपर फेरिदिनु, गाडी सफा गर्नु, बगैंचा व्यवस्थापन गर्नु, कुकुरलाई खुवाउनेदेखि डुलाउनु आदि पर्छन्। यी सम्पूर्ण कार्यहरू सम्पन्न गर्न सोच, योजना, समय, प्रयास र उर्जा लगानी गर्नुपर्ने हुन्छ। यी तमाम कार्यहरू सकारात्मक मनोभाव अनुसार गर्नुलाई नै प्रेमको अभिव्यक्तिका रुपमा लिइन्छ। प्राथमिक प्रेमको भाषा सेवा उन्मुख कार्यहरू भएका मानिसहरू जीवनसाथीमार्फत यस्तै किसिमका कार्यहरूमा साथ उपलब्ध होस् भन्ने अपेक्षा राखेका हुन्छन्। सो अपेक्षा पूर्ति नभएको अवस्थामा प्रेम अनुभूत गर्न सक्दैनन्। बेवास्ता गरिएको ठान्छन्।

विहे अगाडि गरिने सेवा उन्मुख कार्यहरू र विहे पश्चात् गरिने सेवा उन्मुख कार्यहरूमा एक रुपता आउँछ भन्ने ग्यारेन्टी हुँदैन। परिणामस्वरूप वैवाहिक जीवनमा विविध जटिलताहरू उत्पन्न हुन सक्छन्। यस्तोमा जीवनसाथीलाई खुसी बनाउने, प्रेम व्यक्त गर्ने चक्करमा आफूमात्र सेवा उन्मुख कार्यहरूमा खटिनु, तल्लिन हुनु राम्रो होइन। सेवा उन्मुख कार्यहरू एकसाथ अथवा कार्य बिभाजन गरेर निष्पादन गर्न सकिन्छ। जीवनसाथीलाई सेवा उन्मुख कार्यहरूमा सहयोगका निम्ति माग राख्नुभन्दा पनि विशेष हार्दिकताका साथ अनुरोध गर्नोस्। कारण? अनुरोधले प्रेमको प्रवाहलाई गति दिन्छ भने मागले प्रेमको प्रवाहलाई पूर्णविराम लगाइदिन्छ।

  • शारीरिक स्पर्श

शारीरिक स्पर्श प्राथमिक प्रेम भाषा भएका मानिसहरू जीवनसाथीको हात समाउन, उसलाई मनोरम वातावरणमा अंगालो मार्न, चुम्बन तथा संभोग गर्न लालायित हुन्छन्। यसको अभावमा प्रेम अनुभूत गर्न नसक्नुका साथै सम्बन्धमा असुरक्षित महसुस गर्छन्।

शारीरिक स्पर्शले सम्बन्ध जोड्न पनि सक्छ, तोड्न पनि सक्छ। प्रेम सञ्चार मात्र होइन, घृणा पनि सञ्चार हुने सम्भावना उत्तिकै रहन्छ। संभोग शारीरिक स्पर्शको एकमात्र उपभाषा हो। यस्तोमा प्रेम व्यक्त गर्ने उद्देश्यले संभोगका लागि मात्र अग्रसर हुनुभयो भने त्यसले प्रेम होइन, घृणा सञ्चार गर्छ। मुड चलेको छ भन्दैमा आफ्नो आवश्यकता अनुसार श्रीमतीलाई जहाँ पायो त्यहीँ स्पर्श गर्न थाल्नुभयो भने त्यसले घृणा उत्पन्न गराउँछ। कस्तो स्पर्शले प्रेम र आनन्द तथा कस्ता स्पर्शले घृणा र असन्तुष्टि उत्पन्न गराउँछ त्यसबारे ज्ञान लिन जरुरी छ।

वैवाहिक जीवनमा सधैँ हनिमुन चरण चलेको हुँदैन। निरन्तर रुपमा कयौँ उतारचढावहरू, कठिनाइहरू आइरहन्छन्। अकल्पनीय घटनाक्रमको सामना गर्नुपर्ने हुन्छ। यसकारण श्रीमान् वा श्रीमतीमा निराशा बढ्न सक्छ। कतिपय अवस्थामा पीडित मानसिकता विकास हुन सक्छ। स- साना कुराहरूमा पनि रुवाइ सामान्य भइदिन्छ। यस्तो परिस्थितिमा यदि श्रीमान् वा श्रीमतीको प्राथमिक प्रेम भाषा शारीरिक स्पर्श हो भने निकट रहनु, हात समाउनु वा अंगालो मार्नु अति उपयुक्त रहन्छ। यसो गरेमात्र प्रगाढ प्रेम अनुभूत गराउन सकिन्छ।

प्राथमिक प्रेमको भाषा परीक्षण

केही मानिसहरूले आफ्नो र जीवनसाथीको प्राथमिक प्रेमभाषा सजिलै पत्ता लगाउँछन् र सुमधुर सम्बन्ध निर्माण गर्न सफल हुन्छन् । यद्यपि केही मानिसहरू भने स्वयं आफ्नो र जीवनसाथीको प्राथमिक प्रेमभाषा पत्ता लगाउनै सक्दैनन् । जसकारण उनीहरूको सम्बन्धमा चिसोपना उत्पन्न हन्छ र उनीहरूको सम्बन्ध कुनै पनि बेला डिभोर्स (पारपाचुके) मा टुङ्गिने सम्भावना उच्च रहन्छ । त्यसैले आफ्नो र जीवनसाथीको प्राथमिक प्रेम भाषा पत्ता लगाउनु अत्यावश्यक छ। यसका लागि निम्न विधिहरू अवलम्बन गर्न सकिन्छ:

एक, जीवनसाथीको गतिविधि वा भनाइबारे सचेत रहने। उसको कुन गतिविधि वा भनाइले भावनात्मक पीडा दिन्छ? उसले कुन गतिविधि नगरिदिँदा वा भनाइ नराखिदिँदा बढी भावनात्मक पीडा अनुभूत हुन्छ? त्यसबारे सचेत रहनोस्। उदाहरणको लागि, यदि तपाईंलाई श्रीमान् वा श्रीमतीको नकारात्मक टिप्पणी, आलोचना र अवमूल्यनले अत्याधिक पीडा दिन्छ भने तपाईंको प्राथमिक प्रेम भाषा प्रशंसा हो। त्यसैगरी यदि तपाईं घरायसी काममा व्यस्त हुनुहुन्छ तर श्रीमान्ले तपाईंलाई कुनै सहयोग गर्दैन र त्यसले तपाईंमा अत्याधिक भावनात्मक पीडा अनुभूत गराउँछ भने तपाईंको प्राथमिक प्रेम भाषा सेवा उन्मुख कार्य हो।

दुई, वैवाहिक जीवनको सुरुवाती चरणलाई फर्केर हेर्ने र त्यसबेलादेखि अहिलेसम्म श्रीमान् वा श्रीमतीसँग के-कस्ता कुराहरूका लागि अत्याधिक अनुरोध गर्नुभयो, त्यसबारे सचेत रहने। उदाहरणको लागि, यदि तपाईंको विशेष आग्रह घुम्न जाने, बाहिर खानाको लागि जाने, फोन वा इन्टरनेट चलाउन बन्द गरेर गहिरो संवाद गर्नु थियो भने तपाईंको प्राथमिक प्रेम भाषा गुणवत्ता समय हो।

तीन, प्रेम व्यक्त गर्नका लागि के-कस्ता गतिविधिहरू गर्नुहुन्छ वा के भन्नुहुन्छ, त्यसको जाँच गर्ने। यदि तपाईं श्रीमातीलाई घरायसी काममा साथ दिनुहुन्छ भने तपाईंको प्राथमिक प्रेम भाषा सेवा उन्मुख कार्य हुन सक्छ। कतिपय अवस्थामा हामीले आमाबुबा मार्फत प्रेम व्यक्त गर्ने उपायहरू सिकेका हुन्छौँ र त्यही उपायहरू श्रीमान् वा श्रीमतीलाई प्रेम भाव व्यक्त गर्न प्रयोग गर्छौँ। त्यसैले प्रेम अभिव्यक्तिका लागि सम्पन्न हरेक गतिविधि प्राथमिक प्रेम भाषा पहिचान कार्यमा सहयोगी नहुन सक्छ। यसर्थ प्राथमिक प्रेम भाषा पहिचान गर्ने प्रक्रियामा यसबारे सचेत रहनु निकै आवश्यक छ।

चार, अनलाइन परिक्षण गर्ने। प्राथमिक प्रेम भाषा पहिचान गर्न विभिन्न अनलाइन परिक्षणको सुविधा सदुपयोग गर्न सकिन्छ। यसका लागि श्रीमान् वा श्रीमतीलाई पनि प्रोत्साहित गर्नोस्।

यिनै विधिहरू प्रयोग गरेर आफ्नो लगायत आफ्नो श्रीमान् वा श्रीमतीको प्राथमिक प्रेम भाषा पहिचान गर्न सकिन्छ।

प्राथमिक प्रेमको भाषा र व्यवहार

प्रेम सञ्चार, भावनात्मक प्रेम सम्बन्ध निर्माणका लागि स्वयं आफ्नो प्राथमिक प्रेम भाषा पहिचान गरेर र सोहीअनुरुपको व्यवहार र कार्य अपेक्षा राख्नु मात्रै पर्याप्त हुँदैन। जीवनसाथीको पनि प्राथमिक प्रेम भाषा पहिचान गर्न र सोहीअनुरुप व्यवहार गर्न सक्नुपर्छ। यसलाई स्पष्ट रुपमा भन्नुपर्दा, जीवनसाथीको प्राथमिक प्रेम भाषा के हो? प्रशंसा हो कि गुणवत्ता समय? उपहार ग्रहण गर्नु हो कि सेवा उन्मुख कार्य? कि शारीरिक स्पर्श? यसको सही पहिचान गरे पश्चात् सोहीअनुरुप व्यवहार र कार्य संपादन गर्न सक्नुपर्छ। अनिमात्र प्रेम सञ्चार प्रभावकारी बनाउन सकिन्छ।

यदि तपाईंको जीवनसाथीको प्राथमिक प्रेमभाषा प्रशंसा हो भने निम्नानुसारका व्यवहार र कार्यहरू सम्पादन गर्नु उपलब्धिमूलक रहन्छ:

  • जीवनसाथीको प्राथमिक प्रेम भाषा प्रशंसा रहेकोबारे सचेत रहनुहोस्। उसलाई हरेक दिन फरकफरक शैलीमा प्रशंसा गर्ने लक्ष्य लिनोस्। सधैँ एकै तारिकमा प्रशंसा गर्नु प्रत्युत्पादक हुनसक्छ।
  • अरु मानिसहरूले प्रशंसाका शब्दहरू कसरी खर्चिने गर्छन्, त्यो नोटिस गर्नोस् वा त्यसबारे जानकारी लिनुस्। यसका लागि पत्रपत्रिका, म्यागेजिन, पुस्तक, रेडियो तथा टेलिभिजन कार्यक्रम उपयुक्त माध्यमहरू हुन सक्छन्।
  • कार्य संपादनका लागि घरबाट लामो समय टाढा रहनुपर्ने अवस्थामा जीवनसाथीलाई प्रेमपत्र लेख्नुस्। प्रेमपत्रको शक्ति अथाह हुन्छ।
  • जीवनसाथीको परिवार, अभिभावक अथवा साथीको उपस्थितिमा उसको प्रशंसा गर्नोस्। यसो गर्नाले उसमा प्रेमको अनुभूति बढ्छ।
  • जीवनसाथीको क्षमतामा पूर्ण विश्वास गर्नोस्।
  • आफ्नो संतानलाई उसको आमा वा बुबाको महानता वर्णन गर्नोस्। यो जीवनसाथीको उपस्थिति तथा अनुपस्थिति दुवैमा गर्नोस्।
  • जीवनसाथीप्रति कस्तो भावना राख्नुहुन्छ, त्यसलाई कवितामा प्रस्तुत गर्ने कोसिस गर्नोस्।

यदि तपाईंको जीवनसाथीको प्राथमिक प्रेमभाषा गुणवत्ता समय हो भने निम्नानुसारका व्यवहार र कार्यहरू सम्पादन गर्नु उपलब्धिमूलक रहन्छ:

  • आफ्नो जीवनसाथीले बाल्यकाल बिताएको ठाउँमा जानोस्। बिहानीको समय अथवा साँझको समयमा सँगै पैदल यात्रा गर्नोस्। त्यस दौरान आफ्नो जीवनसाथीको बचपनबारे अन्तरक्रिया गर्नोस्। उसका रमाइलो पल र पीडादायी पलबारे गहिरो संवाद गर्नोस्।
  • हप्ताको एकपटक लञ्च अथवा डिनर डेट जाने (बाहिरको खाना खाने योजना) योजना तय गर्नोस्। यो सम्भव नभए महिनाको एकपटक लञ्च अथवा डिनर डेट जान सकिन्छ। यसका लागि विहे अगाडि जाने गरेका क्याफे, होटल हुन सक्यो भने झन् राम्रो। जीवनसाथीले खानाका लागि कुनै नयाँ ठाउँमा जाने इच्छा व्यक्त गरे त्यसको उचित सम्मान गर्नोस्।
  • जीवनसाथीले तपाईंसँग गर्न मन पराउने गतिविधिहरूबारे सचेत रहनोस्। ती गतिविधिहरूमा संयुक्त रुपमा संलग्न हुने अठोट लिनोस्। यसका लागि एकैपटक सबै गतिविधिहरूमा संलग्न हुनु पर्दैन। प्रत्येक महिना एउटा गतिविधि छनोट गर्न सकिन्छ।
  • हरेक ६ महिनामा वा हरेक वर्ष आफ्नो जीवनसाथीसँग नयाँ ठाउँको भ्रमण गर्नोस्। भ्रमण स्वदेश वा विदेश दुवै हुन सक्छ।
  • हरेक दिन सुत्नुभन्दा अगाडि एकअर्काको दैनिकी समिक्षा गर्नोस्। त्यस दिनको प्रत्येक मुख्य घटनाक्रमबारे खुलेर संवाद गर्नोस्। त्यस घटनाक्रमले के-कस्ता भावना उत्पन्न गराए, त्यसलाई सहज रुपमा व्यक्त गर्नोस्।

यदि तपाईंको जीवनसाथीको प्राथमिक प्रेमभाषा उपहार ग्रहण गर्नु हो भने निम्नानुसारका व्यवहार र कार्यहरू सम्पादन गर्नु उपलब्धिमूलक रहन्छ:

  • जीवनसाथीले कुनै उपलब्धि हासिल गरेको उपलक्ष्यमा उपहार दिने गर्नोस्। मोबाइल, ल्यापटप, मेकअप किट, स्कुटर, मोटरसाइकल अथवा कार जे सम्भव हुन सक्छ त्यही दिनोस्। यहाँ उपहार आवश्यकता र क्षमताअनुसारको दिनु बुद्धिमानी रहन्छ।
  • उपहारका रुपमा एउटा रातो गुलाब, चकलेट अथवा पुस्तक भए पनि त्यो उत्तिकै सशक्त र अर्थपूर्ण उपहार साबित हुनसक्छ। यद्यपि उपहार दिने बेलामा केही कुराहरूप्रति सचेत रहनु अत्यावश्यक छ। जस्तो: यदि तपाईंको जीवनसाथीमा फूलप्रति एलर्जी छ भने उपहारका अरु विकल्प छनोट गर्नुपर्ने हुन्छ। चकलेट हर कोहीलाई मन पर्ने भइहाल्यो। त्यसैगरी पुस्तक उपहार दिने मामिलामा जीवनसाथीको पढाइप्रतिको रुची बुझ्न सक्नुपर्छ। ऊ कुन विषयका पुस्तक पढ्न लालायित हुन्छ, त्यही विषय सम्बन्धि पुस्तक उपहार दिनु उचित रहन्छ।
  • हस्तनिर्मित उपहारको मूल्य असीमित हुन्छ। त्यसैले गुप्त रुपमा हस्तकला सम्बन्धि ज्ञान लिनोस्। अनि त्यही ज्ञान र कौशलको प्रयोगबाट निर्मित उपहार प्रदान गरेर जीवनसाथीलाई आश्चर्यचकित पार्नुस्।
  • जीवनमा जे जस्तो परिस्थिति सिर्जना भए पनि जीवनसाथीको साथमा रहने प्रण गर्नोस्। यो नै उसका लागि बहुमूल्य उपहार हुनसक्छ।
  • जीवनसाथीको जन्मदिन अथवा वार्षिकोत्सवको अवसर पारेर उसको नाममा परोपकारी कार्य गर्नोस्। यस कार्यले उसलाई प्रेरित गराउँछ।
  • जीवनसाथीको सम्मानमा वृक्षारोपण कार्य पनि प्रभावकारी हुन सक्छ। वृक्षारोपण कार्य आफ्नो घर नजिकको जमिन, सार्वजनिक पार्क अथवा जंगलमा गर्न सकिन्छ।

यदि तपाईंको जीवनसाथीको प्राथमिक प्रेमभाषा सेवाउन्मुख कार्य हो भने निम्नानुसारका व्यवहार र कार्यहरू सम्पादन गर्नु उपलब्धिमूलक रहन्छ:

  • विगत केही हप्तादेखि जीवनसाथीमार्फत के-कस्ता कार्य संपादनका अनुरोधहरू आएका छन्, त्यसको टिपोट गर्नोस्। अनि हरेक हप्ता एउटा कार्य संपादन सम्पन्न गर्ने लक्ष्य लिनोस्।
  • निकट भविष्यमा तपाईंको जीवनसाथीले के-कस्ता अपेक्षा राखेका छन्, त्यसको सूची तयार गर्नोस्। सूचीकृत अपेक्षाहरूको प्राथमिकता यकिन गर्दै सोहीअनुरुप ती अपेक्षाहरू पूर्ति गरिदिनुस्।
  • जीवनसाथीको अनुपस्थितिमा छोराछोरीसँग कार्य विभाजन गर्नोस्।
  • जीवनसाथीले मात्र सम्पूर्ण घरायसी काम गर्नुपर्छ भन्ने छैन। त्यसैले भान्सामा खाना पकाउन, भाँडा माझ्न, घरायसी सरसफाई, ओछ्यान मिलाउन, लुगा धुनेदेखि गाडी धुने कार्यमा संलग्न हुनोस्।
  • तपाईंमा घरायसी कामको लागि पर्याप्त समय छैन तर पैसा छ भने त्यस कार्यका लागि कोही व्यक्तिलाई नियुक्त गर्न सक्नुहुन्छ।
  • तपाईंले हरेक दिन के त्यस्तो कार्य गर्दा तपाईंको जीवनसाथीमा प्रेम अनुभूति जाग्रित गराउँछ, त्यसबारे उसैमार्फत जान्ने कोसिस गर्नोस्। म तिम्रो लागि के गर्न सक्छु भनेर समय समयमा जीवनसाथीको चाहना बुझ्ने प्रयत्न पनि गर्नोस्।

यदि तपाईंको जीवनसाथीको प्राथमिक प्रेमभाषा शारीरिक स्पर्श हो भने निम्नानुसारका व्यवहार र कार्यहरू सम्पादन गर्नु उपलब्धिमूलक रहन्छ:

  • सपिङ मल, चलचित्र हलभित्र तथा कुनै सार्वजनिक ठाउँमा सँगसँगै हिँड्दा वा उभिँदा हात समात्ने गर्नोस्।
  • लञ्च अथवा डिनर डेटमा सरिक हुँदा जीवनसाथीलाई छुने गर्नोस्। यसको लागि खुट्टाको प्रयोग गर्न सकिन्छ। छुने भन्दैमा अनावश्यक रुपमा जहाँ मन लाग्यो त्यहाँ र अरुको अगाडि असभ्य देखिने गरेर छुने होइन। तपाईंको छुवाईले रोमान्टिक भावनाहरू उत्पन्न गराउनु पर्छ न कि असभ्यताको दृश्य।
  • जीवनसाथी कुनै कुर्सी वा सोफामा बसेको अवस्थामा पछाडिबाट उसको नजिक जानोस् र कुममा हल्का मसाज गरिदिनुस्। मसाज गर्ने क्रम केही मिनेट देखी उसले सो काम रोक्न अनुरोध नगरेसम्म निरन्तरता दिन सकिन्छ।
  • जीवनसाथीसँग संभोग गर्दा संवेदनशील अंगहरूलाई पर्याप्त मसाज गर्नोस्। यसले उसलाई चरमोत्कर्षमा पुग्न सहयोग मिल्छ।
  • जीवनसाथीसँग एकान्त ठाउँमा घुम्न जाँदा शारीरिक स्पर्शमा जोड दिनोस्। उसले नाई नभनेसम्म विभिन्न अंगहरू छुने, सुम्सुम्याउने तथा चुम्ने गर्नोस्। यसो गर्दा मौकाको फाइदा उठाउन खोजेको जस्तो नदेखियोस्।
  • परिवारिक एवं साथीभाइ भेटमा पनि जीवनसाथीलाई अंगालो मार्ने, हात समातेर बस्ने गर्नोस्।
  • जीवनसाथी कामको लागि अफिस जाँदा वा कामबाट घर फर्कदा कसिलो र न्यानो अंगालो दिनुस्।