१. छोरी भएँ त के भो ? – आचार्य प्रभा
बाबाकी म प्यारी छोरी
भन्छन् सबले सुन्दरी गोरी
घरकी नि लक्ष्मी अरे
सबैकी म मायालु नानु परें ।
छुनुमुनु गर्दै खेल्छु
आँगनमा नाँच्दै डुल्छु
घरकी पनि सानी हूँ म
हँसिली, रसिली अति छु म
घरकी उज्याली बत्ती भन्छन्
लक्ष्मी मानी सबले पुज्छन्
मायाको खानी बर्साई
सबैले मलाई प्यार गर्छन्
छोरी भएँ त के भो र ?
छोरा मात्र सन्तान हो र ?
हुन सक्छु आमा–बाबाको
जीवनको ठूलो भर
घरमा हाँसी,खुसी छर्ने
पीडामा खुसीको मुस्कान भर्ने
म छोरी हूँ पुतली जस्तै
कविता लेख्छु यस्तै,यस्तै ।
बाबाकी म प्यारी छोरी
भन्छन् सबले सुन्दरी गोरी ।
————————–
[साहित्यका कविता, कथा, मुक्तक, लघुकथा, नाटक, गीतिकथा, गजल, भजन, हाइकु जस्ता विधामा कलम चलाउँदै आएकी आचार्य प्रभा२०१९मा दार्जिलिङमा जन्म भई हाल अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा हुन् । २०३४ सालदेखि साहित्य लेखनमा सक्रिय उनी विशेष गरी गीत गजल लेखनमा रुचि राख्दछिन् । उनका तिम्रो पर्खाइमा, ड्रीम्स (गीती एल्बम २०५१ ) ईश्वर बन्दना भजन (अडिओ २०५५ ) परदेशबाट (कविता सङ्रह २०६२ ), असह्य चित्कार गजल सङ्रह ( २०११ ), मायाको नाकाबन्दी (गीति सङ्ग्रह -२०७६) लगायतका कृतिहरू प्रकाशित छन् भने लघुकथा संग्रह प्रकाशनको पर्खाइमा छ । कोठे साहित्यिक यात्रा नामक संस्थाकी अध्यक्ष रहेकी उनी प्रतिभा निकेतन, साहित्य कला संगम जस्ता संस्थाकी सदस्य समेत रहेकी छन् । हाल उनी अन्तर्राष्ट्रिय साहित्य समाजको आजीवन सदस्यका रूपमा क्रियाशील छिन् । रेडियो नाटक , गीतिकथा लेखन आदिमा समेत उनको अनुभव रहेको छ । कवयित्री आचार्य प्रभाका करिब २०० जति गीतहरू रेकर्डिङ समेत भइसकेका छन् । सङ्ग्रहका रूपमा प्रकाशित नभए पनि बाल कविता, बाल गीत, बाल कथाहरू पनि उनले लेख्दै आइरहेकी छन् । उनको प्रस्तुत ‘छोरी भएँ त के भो ?‘ बालकवितामा कथयिता बालपात्रका रूपमा छोरी पात्रलाई उभ्याइएको छ र आफू छोरी भएकामा गर्वबोध गरिएको छ । आमाबुबाले छोरीलाई पनि विना भेदभाव छोरा सरह माया गर्छन् भन्ने कुरा कवितामा देखाइएको छ । आफू ठूलो भएपछि जिम्मेवार भएर अभिभावकप्रति कर्तव्यनिष्ठ हुने अभिव्यक्ति प्रस्तुत बालकवितामा झल्केको पाइन्छ ।]
**********************
२. मेरो मुने साथी – मानबहादुर भुजेल
मुने गाजलीको कान्छी छोरी हो
ऊ दिदीभन्दा अलि गोरी हो
मुने पाठी मेरो प्यारो साथी हो
साथीहरूमा सबभन्दा माथि हो
मलाई माया गर्ने अति नै जाती
ऊ नदेखे मेरो मन दुख्छ अति
मकैको पिठो खुवाउँछु मायाले
ऊ माया गर्छे, उसकै तरिकाले
स्कूल जान्छु आफ्नै आँखाले हेरेर
खोरमा हेर्न जान्छु स्कूलबाट फर्केर
पशुलाई पनि माया गर्नु छ सबैले
संसारमा प्रेमको किरण छर्नु छ मैले ।
—————————–
[साविक रिस्ती गाविस तारुका तनहुँमा जन्म भई हाल सानेपा ललितपुरमा बसोबास गर्दै आएका मानबहादुर भुजेल (२०१९) पेशाले सिभिल इन्जिनियर हुन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संस्थामा २८ वर्षभन्दा बढी सेवा गरेको अनुभव उनमा छ । उनी वि.सं. २०४६-२०४७ तिर साहित्य लेखनमा बढी सक्रिय रहेको पाइन्छ । सुरुमा समालोचना दैनिकमा लेख प्रकाशित गरेर साहित्यिक लेखनको यात्रारम्भ गरेका उनी पछिल्लो चरणमा मुक्तक, कविता तथा बालकविता लेखनमा सक्रिय रहेका देखिन्छन् । विभिन्न पत्रपत्रिका तथा अनलाइन मिडियामा उनका बालकविताहरू प्रकाशित भएका छन् । उनी बालबालिकाको भाषामा बालबोलीको प्रयोग गर्दै र बाल मनोविज्ञानलाई छाम्दै सुन्दर बालकविता लेख्न खप्पिस छन् । उनको मेरो मुने साथी बालकवितामा प्राकृतिक पशु अर्थात् मुने पाठालाई विषयवस्तु बनाइएको छ । बालपात्रका रूपमा रहेको मुने पाठालाई आफ्नो साथी र परिवारकै सदस्य जस्तो ठानेर एकापसमा माया मानेको देखाइएको प्रस्तुत बालकवितामा वत्सल रसको प्रयोग भएको देखिन्छ । ।]
***********************
३. भदैको चिट्ठी – मन्दिरा मधुश्री
सानी भदै कृषाले चिट्ठी लेखी पठाई
दङ्ग परेँ म पनि पढेँ रमाई रमाई
कस्तो झ्याउ लाग्दछ खेल्ने साथी नहुँदा
आमा छक्कै पर्नुभो एक्लै बसी म रुँदा
काख राखी सोध्नु भो नानी किन रोएकी ?
चन्द्र जस्तो मुहार आँसुले पो धोएकी ??
सबैका छन् घरमा दिदीबहिनी दाजुभाइ
कति खेलौँ गुडिया दिक्कै लाग्यो मलाई
साथी पनि आउँदैनन् कोरोनाले बाहिर
लकडाउनले बन्द छन् स्कूल अनि शहर
मेरो कुरा सुनेर आमा पनि रुनु भो
मैले आँसु पुछ्दिएँ आमा खुसी हुनु भो
बाबा आमा कमाउन जानुहुन्छ अफिस
म त एक्लै के गरौं ? बोलौँ मैले कोसित ?
लौ लौ फुपू लेख्दिनु गाउँछु त्यही गीत म
आफैं गाउँछु रमाउँछु एक्लै आफैँसित म
——————————————
[साहित्यका कथा, कविता, गीत, गजल, लघुकथा उपन्यास, बालकथा, बालकविता, नियात्रा जस्ता विविध विधामा कलम चलाउँदै आएकी कवयित्री मन्दिरा मधुश्रीको वास्तविक नाम मन्दिरा कोइराला हो । नेपाली विषयमा स्नातकोत्तर गरेकी स्रष्टा मन्दिरा मधुश्री (२०२९) को जन्मस्थान भोजपुर र स्थायी ठेगाना बिराटनगर हो । हाल धोबीघाट ललितपुरमा उनको बसोबास रहेको छ । उनका बुधनको घोडी (कथा सङ्ग्रह), छट्टु स्यालको चोर्ने दाउ (बाल कथा सङ्ग्रह), मधुराग (गजल सङ्ग्रह) लगायतका कृतिहरू प्रकाशित छन् भने चलचित्र घिन्ताङको पटकथा समेत उनले लेखेकी छन् । उनका केही गीत/गजलहरू पनि रेकर्डिङ भएका छन् । विभिन्न साहित्यिक पत्रिकाको सम्पादन अनुभव समेत उनमा छ । उनको साहित्यिक योगदानको कदर गर्दै विभिन्न सङ्घसंस्थाबाट उनले राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार समेत प्राप्त गरेकी छन् । २०४५ सालको साधना पत्रिकामा “मैले राजाको दरबारमा जान पाइन” शीर्षकको लेख प्रकाशित गरेर साहित्यिक लेखनको यात्रारम्भ गरेकी मन्दिरा मधुश्री पछिल्लो चरणमा बालकविता लेखनमा पनि उत्तिकै सक्रिय छिन् । उनी बालबोलीलाई उतार्दै र बालपात्रलाई केन्द्रमा राख्दै स्वयम् अभिभावक पनि बालक नै बनेर चोपिला बालकविता लेख्न खप्पिस छिन् । उनको भदैको चिठी बालकवितामा पनि बालपात्रलाई मुख्य पात्र बनाई उसको अनुभव वर्णन कलात्मक पारामा गरिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना कहरका कारण लकडाउन भई घरमा थुनिएकी बालपात्रले अत्यास मानेर फुपूलाई पत्रमा गुनासो पोखेकी छे र आफ्ना लागि एउटा गीत लेखिमाग्न अनुरोध गरेकी छ । कोही साथी नहुँदा आफू एक्लै आफैसित रमाउनु परेको बाध्यात्मक बाल्य-अनुभव यसमा समेटिएको छ । मिल्दो अन्त्यानुप्रास र लयात्मकताका कारण प्रस्तुत बालकविता सुन्दर र कलात्मक बन्न पुगेको छ ।]
rcghimire47@gmail.com
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।