(१)
डाक्टरसाब ! मलाई प्रत्येक महिनाजसो करिब दुई तीन दिन जति “झर्को लागेजस्तो हुने, कसैसँग बोल्नै मन नलाग्ने, अत्यासजस्तो हुने, रोऊँ–रोऊँजस्तो लाग्ने, बिना कारण नै रिस उठ्ने” जस्ता लक्षणहरु आउँछन् । फेरि केही दिनपछि ती सारा लक्षणहरु हराएरै जान्छन्, केही नभएजस्तो नै हुन्छ बाँकी महिना …।
एउटी २५ वर्षे अविवाहित महिला आफ्ना समस्याहरु व्यक्त गरिरहेकी थिइन् । पूरा आधा घण्टा जति कुराकानी गरेर, विशेषतः तिनको मासिक चक्रका बारेमा विस्तृत विवरण लिइसकेपछि भने तिनलाई प्रत्येक महिनाको रजस्वला सुरु हुने बेलातिर महिलाहरुमा हुन सक्ने मनोवैज्ञानिक समस्या भएको बताउन गाह्रो भएन हामीलाई ।
(२)
डाक्टरसाब ! मलाई आजकल समय समयमा “मुटुको ढुकढुकी बढेजस्तो हुने, अनुहार रातो भएर आउने, जिउ तातो तातो भएजस्तो हुने, हातघोडा झमझम हुने, कहिलेकाहीँ त चिन्ता लागेजस्तो हुने, अत्यास भएजस्तो हुने, रोऊँ–रोऊँ जस्तो लाग्ने, बिना कारण नै रिस उठ्ने, निद्रा नपर्ने” जस्ता लक्षणहरु देखा परिरहेका छन् । दिक्क लागेर आउन थालेको छ । के भएको होला ? कहिल्यै नदेखिएका समस्या अहिले आएर भइराखेको छ…।
करिब ४४ वर्षकी सरकारी अफिसमा अधिकृत तहमा काम गर्ने तीन सन्तानकी आमा, एक विवाहित महिलाले पोखेका समस्याहरु हुन् यी । महिनावारी बन्द हुने उमेर समूहका महिलाहरुमा देखिने यी लक्षणहरुलाई रजोनिवृत्तिका समस्याका रुपमा मानिने गरिएको छ ।
(३)
डाक्टरसाब ! मलाई यो मेरो बच्चाको अनुहारै पनि हेर्न मन लाग्दैन । “यो त मेरो बच्चा नै होइन ” झैं पो लाग्दछ । अझ कहिले त “यो बच्चा मरिदिए पो हुने” जस्तो मनमा आउँछ । हिजो त किन किन “यसको घाँटी नै थिचेर मारिदिऊँ” जस्तो पो लाग्यो अनि…।
५५ वर्षीया एक प्रौढ महिलाले आफ्नी भर्खरै ३ हप्ता अघि सुत्केरी भएकी बुहारीलाई लिएर आएकी थिइन् । साथै आएका ती महिलाका छोरा (सुत्केरीका श्रीमान्)ले बताएअनुसार दुई वर्षअघि प्रेमविवाह गरेर ल्याइएकी उनकी आफ्नी श्रीमती पहिलोपटक गर्भवती भएकी हुन् । गर्भावस्थामा राम्रै थियो तिनको स्वास्थ्य अनि नियमित परीक्षण पनि गराइरहेका थिए उनीहरुले । गर्भावस्थाको ३७–३८ हप्ता पूरा भएपछि भने पेटको बच्चाको तौल अलि बढी भएकाले चिकित्सककै सल्लाहमा अपरेसन गरेर बच्चाको जन्म गराइएको थियो । अपरेसनपछिका केही दिनदेखि नै उनले “अलिअलि झिझ्झिने, त्यस्सै रुने कराउने, झर्को मान्ने, बच्चालाई दुध नचुसाउने” जस्ता असामान्य व्यवहारहरु देखाइरहेकी थिइन् । “पहिलोपटक सुत्केरी भएको अवस्थामा करिब एक हप्तासम्म यस्ता लक्षणहरु सामान्य नै मानिने अनि यी व्यवहारहरु बिस्तारै हराउँदै जाने” भन्ने चिकित्सकको सल्लाह भएपछि तिनलाई डिस्चार्ज गरेर घर लगिएको रहेछ । तर तिनको अवस्थामा त्यत्तिविधि सुधार आएनछ । अघिल्लो दिन त “बच्चाको घाँटी नै निचोर्न” लागेको देखेपछि तिनलाई हतारहतार अस्पताल ल्याइएको रहेछ ।
उपरोक्त तीन उदाहरणहरु महिलावर्गमा देखिने विशिष्ट किसिमका मनोवैज्ञानिक समस्याहरुका द्योतक हुन् । यी उद्धरणहरुका माध्यमद्वारा आधी आकाश ढाकेका जनसंख्या अर्थात् महिलाहरुका मनका अद्वितीय कथाहरु केलाउने जमर्को गरेको छु मैले यस आलेखमा । महिला स्वास्थ्यको बहुआयामिक महत्त्वलाई हृदयङ्गम गर्दै यस लेखमार्फत् महिलाहरुको जीवनचक्रमा आइपर्ने जैविक, सामाजिक एवं मनोवैज्ञानिक उतारचढाव अनि त्यसमा अन्तर्निहित मानसिक स्वास्थ्यसम्बन्धि वस्तुगत तथ्यहरुलाई प्रकाश पार्ने जमर्को गरिएको छ ।
महिलाहरूको जैविक चक्रमा रासायनिक पदार्थहरू (हर्मोन, न्यूरोट्रान्स्मिटर) को प्रभावका बारेमा थुप्रै अध्ययनहरू भएका छन् । पुरुषवर्गमा कदापि नहुने जीवनका विशेष अवस्था अनि उतारचढावको सामना गर्नुपर्दछ महिलाहरूले ।
जस्तैः उमेर बढ्दै जाँदा यौनाङ्ग एवं जननेन्द्रियहरुमा हुने वृद्धि विकास, मासिक रजस्वलाको क्रम , गर्भाधान, गर्भावस्था अनि मातृत्वको अवस्था, बच्चाहरुले दुग्धपान गर्ने समय, अन्ततः ४५—५० वर्ष पुगेपछि बन्द हुन जाने मासिक धर्म ।
यी सब अवस्थाहरुमा इस्ट्रोजन, प्रोजेस्टेरोन, अक्सिटोसिन, प्रोलाक्टिन आदि हर्मोनहरु अनि सेरेटोनिन, डोपामिन आदि न्यूरोट्रान्स्मिटरहरुको प्रभाव देखिएको छ । यी सबै रासायनिक तत्त्वहरुका कारण महिलाहरुको मानसिक अवस्थामा आइपर्ने प्रभावहरु स्पष्ट भइरहेका छन् ।
रजस्वलासँग सम्बन्धित मनोवैज्ञानिक क्रिया–प्रतिक्रिया अनि मानसिक समस्याः
क) मासिक रजस्वला हुनुभन्दा एक हप्ताअघिको समयदेखि महिलाहरूमा माथि उदाहरण (१) मा भनिए जस्तै आलस्यपन, उदासिनता, चिडचिडाहट आदि लक्षणहरु देखापर्ने हुनसक्दछ । मनोवैज्ञानिक रुपले पनि महिलाहरुले आफूलाई कमजोर एवं अशक्त सम्झने, रिसको वेग बढ्ने र सम्बन्धहरुमा समस्या आउने हुन्छ । यस्ता लक्षणहरुलाई ‘प्रिमेन्सुरल सिम्टम्स’ भनिन्छ, जुन महिनावारी सुरु हुनासाथ धेरै महिलाहरुमा आफसेआफ हराएर जाने गर्दछ । तर ३ देखि ९ प्रतिशत महिनावारी हुने महिलाहरुमा यसले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर ल्याउने हुनाले यसलाई ‘प्रिमेन्सुरल डिस्फोरिक डिसअर्डर’ भनिने गरिन्छ जसको औषधोपचार नै गर्नुपर्ने हुनसक्दछ । यस्तो समस्या भएका महिलाहरुलाई भविष्यमा ‘डिपे्रसन’, ‘एङ्गजाइटी’ जस्ता मानसिक रोगहरु नै लाग्ने सम्भावना बढी हुन्छ ।
ख) रजस्वला हुनेक्रम बन्द हुनुको केही महिनाअघिदेखि नै ४५ वर्षको हाराहारीमा रहेका महिलाहरुमा यसमा अनियमितता देखा परिरहेको हुन्छ । इस्ट्रोजन –प्रोजेस्टेरोन हर्मोनहरुमा आउने उतारचढावका कारण ‘पेरिमेनोपाउजल सिण्ड्रोम’ भनिने शारीरिक एवं मनोवैज्ञानिक समस्याहरुको समष्टीगत रुप देखा पर्दछ । यी प्रौढावस्थाका नारीहरुमा माथि उदाहरण (२) मा व्याख्या गरिएझैं । शारीरिक कमजोरी, बढ्दो उमेर अनि पारिवारिक–सामाजिक विविध कारकतत्त्वहरुले तिनमा उदासिनता, अत्यास बढाइरहेका हुन्छन् नै, कसैलाई त साइकोसिस–सिजोफे्रनिया जस्ता क्लीष्ट किसिमका रोगहरु समेत लाग्न सक्दछ ।
गर्भावस्था अनि सुत्केरी अवस्थाका मानसिक समस्याः
“आमा बन्नु” सबै विवाहित महिलाहरुका लागि गौरवको विषय मानिन्छ । सन्तान जन्माइसकेपछि मात्र नारीहरु आफूलाई “पूर्ण ” र “सन्तुष्ट” भएको महसुस गर्दछन् । तर यस प्रक्रियामा हुने शारीरिक एवं मानसिक पीडा अनि कष्ट भने अवर्णनीय नै हुने गर्दछ ।
गर्भवती अवस्थादेखि नै महिलाहरु आफ्नो शरीरमा शनैः शनैः देखा परिरहेको परिवर्तन, आफ्नो रुप र सौन्दर्यमा भइरहेको भिन्नता अनि आफूभित्र हुर्किरहेको नवजात शिशुको स्वास्थ्य एवं त्यसप्रतिको जिम्मेवारीबोधले गर्दा मनोवैज्ञानिक रुपमा नै आतंकित रहन्छन् । शारीरिक परिवर्तन सँगसँगै रासायनिक एवं हर्मोनहरुमा हुने उतारचढावका कारणले पनि अनेकौं समस्याहरु आइपर्दछन् , आमा बन्ने क्रममा रहेका नारीहरुमा ।
बच्चालाई जन्म दिनासाथ त्यस क्रममा परेको शारीरिक परिश्रम, निद्रामा भइरहेको गडबडी, दुखाइ, रक्तश्राव, अपरेसन गर्दा वा दुखाइ कम गर्न प्रयोग भएका औषधिका असर आदिका कारण शारीरिक रुपमा ती आमाहरु कमजोर भइरहेका हुन्छन् । मनोवैज्ञानिक रुपमा पनि नवजात सन्तानको दुग्धपान, हेरविचार, सेवासुश्रुवाको व्यवस्थाका लागि चिन्तित रहिरहेका हुन्छन् । हाम्रो समाजमा विद्यमान छोरा वा छोरीबीचको भेदभाव, छोराको चाहना बोक्ने बाबु या परिवारजन अनि त्यसप्रतिको दृष्टिकोण आदिले गर्दा पनि मातृगण सदा सर्वदा निन्दित अनि पीडित भइरहेका हुन्छन् । यसरी गर्भवती अवस्थाबाट सुत्केरी अवस्थामा पाइला चाल्नासाथ आमाहरु शरीरिक, मानसिक एवं सामाजिक बाधाव्यवधान एवं उत्तरदायित्वहरुको चक्रव्यूहमा फस्न पुगिहाल्दछन् ।
अतः सुत्केरी अवस्थामा मानसिक समस्याहरु विभिन्न रुपमा देखा पर्ने सम्भावनालाई नकार्न सकिन्न ।
मुख्यतया तीन समस्याहरुका बारेमा यहाँ वर्णन गर्न लागिएको छ —
१) “पोस्टपार्टम ब्लूज”— यो करिब ५०% आमाहरुमा देखा पर्दछ र यसलाई मातृत्वको सामान्य मनोवैज्ञानिक असर मानिएको छ । बच्चा जन्माएको केही घण्टाभित्रै आमाहरु “त्रसित एवं भयभीत हुनथाल्ने, चिन्ता गर्ने, एकोहोरो हुने, बेसुरको कुरा गर्ने” आदि लक्षणहरु देखाउन सक्दछन् । यी लक्षणहरु हर्मोन या रासायनिक कारणले गर्दा भएको मानिन्छ र बच्चा जन्मिएको एक हप्ताभित्रमा प्रायः हराएर जान्छन् । त्यसैले यसको खासै उपचार गर्नुपर्ने हुँदैन । गर्भवती अवस्थामा नै मातृत्व, बच्चाको हेरचाह अनि सुरक्षाका बारेमा परामर्श दिएर यसका असरहरुको न्यूनीकरण गर्न सकिन्छ । पहिले नै बच्चा जन्माएर यी चरणहरुबाट पार भइसकेका आमाहरुले नै नयाँ आमाहरुलाई सम्झाइ—बुझाइ गरेर तिनमा आउनसक्ने शंका, डर आदिमा कमी ल्याउन सकिन्छ । पहिलोपटक आमा हुनेहरुमा भने यी लक्षणहरु बढी समयसम्म रहिरहन सक्दछ ।
२) “पोस्टपार्टम डिप्रेसन”— करिब १०—२०% आमाहरुमा यो समस्या आइपर्न सक्दछ । तिनमा माथि उदाहरण (३) मा भनिएझैं “नैराश्यताको भाव आउने, बच्चाप्रति नकारात्मक दृष्टिकोण पलाउने, बच्चालाई दूग्धपान गराउन एवं त्यसको स्याहारसुसारमा मन नजाने, भविष्य अन्धकारमय भएको भान हुने,मृत्युका विचारहरु आउने” आदि लक्षणहरु देखा पर्दछन् । पहिले ‘डिप्रेसन’ भइसकेका, गर्भपतन गराएका, अनिच्छीत गर्भाधान हुनपुगेका, अपरेसन गरिएका महिलाहरुमा यो प्रायः देखापर्दछ । त्यस्तै हाम्रो सामाजिक परिप्रेक्ष्यमा “छोरी” जन्मदा, घरायसी चिन्ताकलह, अनि राम्रो पारिवारिक वातावरण नभएका महिलाहरुमा यसले बढी असर गरेको पाइन्छ । यसको उपचारमा औषधि एवं परामर्श सेवा दुवैको आवश्यकता पर्न सक्दछ । औषधिले दुग्धपान गरिरहेको नवजात शिशुमा पनि असर गर्नसक्ने भएकोले औषधि प्रयोग गर्दा ध्यान पुर्याउनुपर्दछ । अति क्लीष्ट‘डिप्रेसन’मा त करेण्ट उपचार नै बढी उपयोगी एवं सुरक्षित पद्धति मानिएको छ । यसरी एकपटक ‘डिप्रेसन’ भएका बिरामीमा पछि पछिको सुत्केरी अवस्थामा पनि ‘डिप्रेसन’ नै हुने सम्भावना ज्यादा भएको हुँदा यसको उपचारमा ध्यान पुर्याउनुपर्ने हुन्छ ।
३) “पोस्टपार्टम साइकोसिस”— यो करिब ०.१% आमाहरुमा मात्र देखिन्छ । एक्कासी देखापर्ने यसका लक्षणहरु “बरबराउने, बच्चाहरुलाई छाडेर भाग्न खोज्ने, एक्लै हाँस्ने, कराउने, भयभीत हुने, बच्चालाई हानी पुर्याउन खोज्ने” आदि हुन् । गर्भवती अवस्थाको अन्तिम तीन महिनामा भएका संक्रमण, प्रयोग भएका औषधिहरु, मुख्यतया स्टेरोइडको प्रयोग भएका महिलाहरुमा यी लक्षणहरु देखापरेको पाइन्छ । यस रोगमा रोगीले बच्चालाई नै हानी पुर्याउन सक्ने भएकोले उपचारमा संलग्न नर्स, चिकित्सक एवं परिवारजन सबैले ध्यान पुर्याउनुपर्ने हुन्छ । यस्तो बेलामा कहिलेकाहीँ त बच्चाको दुध छुटाएरै भए पनि आमालाई औषधि दिनुपर्ने हुनसक्छ । अनि बच्चाको सेवासुश्रुषा, खानपानमा समेत विशेष विचार गर्नुपर्दछ ।
अझ केही सुत्केरी महिलाहरुमा त नवजात शिशुहरुसँग मातृत्वको सम्बन्ध राख्नमा समेत समस्या आउने हुनसक्दछ , जसलाई ‘मदर इन्फाण्ट रिलेसनसिप डिसअर्डर’ भनिन्छ ।
सुत्केरी अवस्थामा देखापर्ने यी तीन मानसिक लक्षणरोगको उपचार मनोचिकित्सक एक्लैले गर्ननसक्ने भएको हुँदा यसमा स्त्रीरोग,बालरोग विशेषज्ञ, नर्स, परामर्शविज्ञ एवं रोगीका श्रीमान् तथाआफन्तजन सबैको साथ र सहयोग अपरिहार्य हुन्छ । यो समूहगत जिम्मेवारीबोधले मात्र समाधान गर्न सकिने मानसिक समस्या हो ।
अन्य समस्याहरुः
यी जैविक चक्रहरुबाहेक पनि महिलाहरुमा प्रजननसँग सम्बन्धित अन्य समस्याहरु पनि आइपर्न सक्दछन् । गर्भपतन (आकस्मिक, ऐच्छिक या आपतकालीन) हुँदा या निःसन्तान रहनुपर्दा महिलाहरुमा आइपर्ने मनोसामाजिक समस्याहरुका बारेमा अन्तर्राष्ट्रियस्तरमा विभिन्न अध्ययन—अनुसन्धान हुने गरे तापनि हाम्रो मुलुकमा त्यस्ता शोधकार्यहरु भएका पाइन्नन् । आकस्मिक या आपतकालीन गर्भपतनका कारण महिलामा देखापर्ने ‘डिप्रेसन, एङ्गजाइटी या पोष्टट्रमाटिक स्ट्रेस डिसअर्डर’ जस्ता रोगहरु हुन् अथवा योजना नगरिएको गर्भाधान या विभिन्न कारणवश कुमारी अवस्थामा नै रहन गएको गर्भलाई समाजबाट लुकाउनुपर्ने बाध्यता एवं डर—त्रासका कारण आइपर्ने मनोवैज्ञानिक पीडा अनि असुरक्षित गर्भपतनका दुष्परिणामहरु । यी सबैले महिलालाई शारीरिक मात्र नभई मानसिक रुपमा समेत अस्वस्थ पार्नसक्दछ । निःसन्तान दम्पत्तिमध्ये पनि महिलालाई नै अझै बढी पारिवारिक एवं सामाजिक राप—ताप पर्ने गर्दछ, जसले गर्दा तिनलाई झनै बढी निर्बल बनाउँछ, परिणामस्वरुप सन्तानोत्पत्ति प्रक्रियामा नै असर पर्न गई पीडाहरुमा गुणात्मक वृद्धि हुनजान्छ।
अरु पनि समस्याहरु छन् प्रजनन् प्रक्रियासँग अन्तर्सम्बन्धित– छोरी जन्माउँदाका पीडा अनि भ्रूणको लिङ्ग परीक्षण गर्न अल्ट्रासाउण्ड गराई छोरी भएमा गर्भपतन गराउनेजस्ता कुरीति—कुथितिहरु, जसलाई बेलैमा सम्बोधन नगरिएमा भविष्यमा अझ भयावह तस्वीर देखापर्न सक्नेछ ।
उपर्युक्त सब तथ्यहरुले महिलाको जीवन चक्र एवं मानसिक स्वास्थ्यको सटिक अध्ययन गर्नका लागि ढोका खोलिसकेका हुनाले आजैदेखि महिला मानसिक स्वास्थ्यकै बारेमा नै बहस गर्ने हो कि ? त्यसैले, मेरो आह्वान छ सबैमा, “आधा आकाश ढाकेका हाम्रा महिलावर्गका मनका कथाहरुमा अभिव्यक्त अथाह पीडाहरुलाई सम्बोधन गर्न आजैदेखि सबैले हातेमालो गरौँ ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।