१.
‘ती चिया अड्डाका चिया फिक्का लाग्छन्, जहाँ साथीहरू भेटिँदैनन् ।’
यस्तै केही लेखेको थिएँ, फेसबुकको स्टाटसमा । कमेन्टहरु बररर बर्सिएका थिए । तर ती कमेन्टहरु केवल “वाह वाह” र “क्या गज्जब लेख्नुभो” भन्ने पाठकहरुका थिए । त्यहाँ “हामीलाई पनि तेरो उपस्थिति खड्किएको छ लम्बु” भन्ने कमेन्ट टाँस्नलाई ती पुराना चियाचुरोटे यारहरु झुल्किएनन् । न त “हामीले चियाका कपहरु साटीसाटी पिएका पलहरु फनफनी आँखामा नाचिरहन्छन् अझै” भन्ने उनको कमेन्ट आयो । किन आउँथ्यो र जिन्दगीको आवेश फेसबुकको आइडीलाई पोखेर ब्लक गरेर जानेको कमेन्ट । कमेन्टहरु दर्जनौं आऊन्, लाइकहरु सयौँ आऊन्, आँखाहरुले त केवल आफ्नो मनको मान्छेको अनुहार पानको पातको छेउमा हाँसिरहेको हेर्न रुचाउँदो रहेछ, फेसबुकमा ।
चियाको लती म सानैदेखि हो । त्यतिबेला गुलियोले लत लगायो होला । तातो घुट्कोले आँतबाट मीठो स्वाद बगाउँदै लैजाँदा रमाएको मन र मगजले लत लगायो होला । त्यसपछिको लत साथीहरुले लगाए । भन्नेहरु त चुरोटले क्यान्सर लाग्छ भन्छन् । लाग्छ होला पनि । यदि मान्छे मार्ने विष नै हो भने किन बेचिन्छ त चुरोट ? गैरकानुनी बनाएर प्रतिबन्ध लगाउनु पर्ने हैन र ? तर देशले चुरोट बेचेरै अर्बौँको राजश्व कमाउनु छ । मान्छेहरु रोगी बनाएर उठाएको राजश्वले अस्पतालहरु खोल्नु छ, विद्यालयहरु चलाउनु छ । फाइदा त कति हो कति ! तर मलाई भने कलेजका दिनहरुमा ख्यालख्यालैमा सिकेको चुरोटले दमको रोग हैन दमदार साथीहरु भेटाइदिएको थियो ।
“कहाँ छस् ? क्याफे आइज,” टोलका साथीहरुको एक कल फोनमा भर्खर भात खाएका चिसै हात लिएर कुदेर पुगिन्थ्यो, घरछेवैको चिया पसल ।
“फोक्सो चिलाएको छैन तेरो ?” कलेजका साथीहरु कलेज बिदा भएकै दिन निम्ता गर्थे । अनि “आज एक्स्ट्रा क्लास छ” भन्दै रित्तो झोला काँधमा भिरेर पुगिन्थ्यो कलेज । गेट बाहिरको चियापसलमा जम्थ्यो अड्डा । हरेक कप चियाका समाधिमा सहिद हुन्थे केही जोडी चुरोटहरु । धुवाँ बनेर उड्थे नैराश्यताहरु । लत चुरोटको थिएन, दोस्ती यारीको थियो । लत चियाको पनि थिएन, जमघटको थियो । आन्द्राको ग्यास्ट्रिकको डरभन्दा कैयौँ ज्यादा मुटुको न्यानोपनको लोभ थियो ।
तर मिलिक्कै बितिगए क्याम्पस पढ्ने दिनहरु । डेरावालको जिन्दगी न हो, फेरिए टोलहरु । कैयौँ साथीहरु घर व्यवहारका झ्यालखानामा कैद भएर चियाअड्डाहरुमा हाजिर लगाउन असमर्थ भए । ठुटो चुरोटका खिल्लीहरु साटासाट गरेका कैयौँ आत्मीय ओठहरु देश छोडेर परदेशी बने । त्यसपछि बल्ल चुरोटहरु टर्रा लाग्न थाले । फिका लाग्न थाले चियाहरु । कहिलेकाहीँ चियाका कपहरुले पनि एक्लोपन महसुस गर्ने रहेछन् । लाग्छ, मजस्तै एक्लो छ मेरो टेबलमा ठिंग उभिएर सुस्केराको बाफ छोडिरहेको चियाको कप । लाग्छ, सोधिरहेछ उसले, किन मलाई यो टेबलमा ल्याएर एक्लै छाडिदियो पसलेले ? किन अलपत्र पारिदियो मलाई ? खै त मेरो छेउमा अर्को साथी ?
आजभोलि चियासँग यादहरु मिस्सिएर आउँछन् । चियाका कपहरुमा कतै कतै उसैका औँलाहरु अल्झिएको देख्छु । कप उचालेर ओठसम्म लैजाँदै गर्दा लाग्छ, म कसैको देब्रे हातको चोरऔंलालाई सुस्तरी आफ्नो दाहिने हातको चोरऔंलाले अंकुशे बनाइरहेछु । चुमिरहेछु ती औंलाहरुलाई । तब त्यतिबेला भन्न मन लाग्छ ती फिका चियाहरु पनि गुलिया लाग्छन्, जहाँ प्रियसीका यादहरु मिस्सिएका हुन्छन् । यादहरु नहुँदा हुन् त जिन्दगी पनि चिस्सिएको चियाझैं हुँदो हो । ओस्सिएको चुरोटझैं हुँदो हो ।
पहिलो पटकको भेटमा चियापसलको टुलमा सपक्क घुँडा जोडेर सावधानीपूर्वक चियाको कप समाएकी थिइन् उनले । सोचिहोलिन्- यो कस्तो मान्छे होला, जसले मलाई यस्तो निस्सारलाग्दो चिया पसलमा भेट्न बोलायो । उसका कल्पनामा कुनै आलिशान रेस्टुराँको कफी सप थियो होला । सोचेकी थिइन् होला, भेट हुनेछ कुनै बारमा । कुनै लाउन्जमा । तर यो कस्तो दिवानापन होला, यो उम्रिन लागेको लेखकको, जो यति सुन्दरीलाई बस्नै असहज हुने गरेर बोलायो गोंगबुको सानो गल्लीको यो चिया पसलमा ।
आँखाहरुले बात मारेका थिए, ओठहरु डराएका थिए । मलाई डर थियो, मेरो झुसे दाह्री, खुइलिएका लुगा अनि फाटेको जुत्ताको असर उनको दृष्टिकोणमा पर्ला भनेर । तर उनलाई डर रहेछ, मेरो यही सादगीको मूर्तिले उनको सम्पन्नताको आस्थालाई नकार्यो भने ? मान्छे सधैँ कहाँ पैसाको पछि दगुर्छ र ? मनको भकारी रित्तिएकाहरु प्रेमको पछाडि पनि त दगुर्छन् । जीवनको कुनै कालखण्ड गरिबीको सगरमाथा चढेकाहरु फेरि विपन्नताको ढिस्को मात्र पनि उक्लिन चाहँदैनन् । त्यसैले रोज्दछन् बलियो लिस्नो, जसबाट उक्लिन सकियोस् ऐश्वर्यको माथिल्लो चोटामा । उनी त यसै सम्पन्न थिइन् । उनलाई आफ्नो सम्पन्नताको कारण म टाढा हुँला कि भन्ने भय थियो । प्रेममात्र यस्तो कुरा हो, जहाँ गरिबलाई धनीसँग मात्र हैन, धनीलाई गरिबसँग पनि बिछोडको चिन्ता हुन्छ ।
‘तिमीलाई अड लाग्यो हो ?’ मेरो नजर उनले समाउन नसकेको वा भनौँ नजानेको चियाको कपमा थियो ।
‘छैन त,’ उनका गुलाबी ओठहरुले कपको बिटमा छाप लगाइदिए ।
‘कति अप्ठेरोसँग पिएकी!’
त्यसपछि मात्र उनका सुकिला हत्केलाहरुले त्यो फुच्चे कपलाई पोथीले चल्ला छोपेझैं छोपेका थिए । सुरुप्प पारेर आवाज निकाल्दै तानेकी थिइन्, चियाको सुर्को ।
‘अब भयो ? हजूरले जस्तैगरी खाएको मिल्यो ?’ उनी बल्ल सहज भएर मुस्कुराएकी थिइन् ।
‘मिल्यो मिल्यो,’ म हाँसेको थिएँ ।
भोलि फेरि भेटौंला भनेर स्कुटरको हेल्मेट लगाएर उनी उठेकी थिइन् ।
‘हजुर पनि जाने कि अलि परसम्म ? कि यतै बरालिएर बस्ने हो ?’ कति बिघ्न हक थियो त्यो बोलीमा । मलाई “हजूर हैन, तिमी भन” भन्न मन थियो । खुरुक्क कठालोमा घिच्याएर “हिँड खुरुक्क” भन्दिए हुनेझैं लागेको थियो । तर फगत एक हप्ताको कुराकानी, अनि लाज मानीमानी भेट्न तयार भएको म । नाथे फेसबुकमा टुक्रे लेख पढेर “फ्यान” भएकी केटी । सोचेको थिएँ, एकदिन भेटेसी टाढिने छे । अनुहार देखेपछि तर्किने छे । चक्रपथमा कम्पाउण्ड लगाएको घरमा बसेकी केटी, कसरी प्रेममा पर्छे र मजस्तो गाउँबाट काठमाण्डू आएर एउटा साँघुरो डेरामा पढ्न बसेको केटोसँग !
तर प्रेम त यस्तै अप्ठेराहरुमा पलाउने बिरुवा रहेछ, जो हुर्कियो, झ्यांगियो, र समयसँगै सुकेर गयो र अन्तत्वगत्वा मर्यो । के थाहा, त्यसदिन उनको स्कुटरको पछाडि बसेर जाँदै गर्दा देखेको सिङ्गो जिन्दगी सँगै यात्रा गर्ने सपना यति छिट्टै तुहिने छ भनेर । कहाँ सोचेँ र, मैले फेसबुकमा एड गरिदिएको दिन, खुशीले संसारै जितेजसरी मेसेजहरुका डङ्गुर नै पठाएर मसँग अनुग्रहित भएकी मान्छेले नै एकदिन मेसेन्जरको ढोका मात्र बन्द नगरेर “तेरो अनुहार नै हेर्दिनँ” भन्दै ब्लक ठोकेर जान्छे भनेर !
आज न त साथीहरु भेटिन्छन् चिया अड्डाहरुमा, न त प्रियसी छिन् साथमा । तर अन्जानैमा जोडेको मित्रताको नातामा चियाले रत्तिभर बैमानी गरेन । यो अझै पनि मुटुको छेउकुना भएर बग्ने गर्छ, हरेकदिन, साँझ, बिहान ।
लकडाउनमा घरै बसेर सिलाभरे दिउरेमा पानी बसाल्छु, चियापत्ती राख्छु, दुध राख्छु र उम्लिन दिन्छु । तब उम्लिन थाल्छन् पुराना यादहरु । के के गल्ती गरें मैले उनलाई टाढा बनाउन, कसरी टाढिए पोट खेलेर घन्टौं चियाअड्डामा दिन बिताउने साथीहरु । चिया अड्डाहरु फगत अड्डाहरु थिएनन् । ती त जिन्दगीको एउटा समानान्तर पाटोलाई नियाल्ने आँखीझ्याल थिए । अब यो एकान्तवासमा बसेर खोल्नु छ स्मृतिका ती एक-एक पत्रहरु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

