साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नेपाली बुढ्यौली साहित्य

माध्यमिक कालमा बुढ्यौलीका विषयवस्तुमा आधारित भएर आख्यानहरू लेखिएका छन् । नेपाली साहित्यको आधुनिक कालमा बुढ्यौली साहित्य सिर्जनाको आधार झन् झन् फराकिलो बन्दै गएको छ । आख्यानात्मक कृतिहरूमा बुढ्यौलीको आधुनिककालीन नवीन प्रयोग गरेको पाइन्छ ।

मूलतः सिर्जनात्मक लेखनलाई साहित्य भनिन्छ । साहित्य सिर्जनामा सर्जकले सामाजिक, यथार्थ, कल्पना तथा स्वैरकल्पनाको प्रयोग गर्दछ । साहित्यअन्तर्गत विभिन्न विधागत रचनाहरू पर्दछन् । कविता, कथा, उपन्यास, नाटक र निबन्ध साहित्यका सिर्जनागत भेद हुन् । साहित्य सिर्जना हो, रचना हो । नेपाली साहित्यमा पनि विभिन्न विधागत साहित्य सिर्जना भएका छन् । नेपाली साहित्यको विकासक्रमलाई अध्ययन गर्दा प्राथमिक, माध्यमिक र आधुनिक कालमा विभाजन गरी अध्ययन गरिएको छ ।

साहित्य सिर्जनाको कालगत विभाजनसँगै तत्कालीन समयमा रचनाका विषयवस्तुमा पनि विविधता पाउन सकिन्छ । वास्तवमा साहित्य सामाजिक इतिहासको दर्पण हो । विगत र आगतलाई जोड्ने पुल हो भन्न सकिन्छ । साहित्य रचनामा सर्जक वा स्रष्टाले विषयवस्तुको चयन गर्दछ । ती विषयवस्तु धार्मिक, सामाजिक, राजनीतिक, आर्थिक कुनै पनि हुन सक्छन् । साहित्य सिर्जनामा सर्जकले आफ्नो शैली शिल्पसँगै मौलिकपन वा मौलिकता, कलापूर्ण भाषा, मानवीय संवेग अनुभूति अन्तरविचारको प्रदर्शन र अनुभवको प्रयोग गर्दछ ।

bahulako diary small and inside post

साहित्यमा प्रयुक्त विषयवस्तु सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक तथा ऐतिहासिक हुन सक्छन् । साहित्य सिर्जनाको उद्देश्य धर्म, अर्थ, काम र मोक्ष अन्तर्गतका कुनै पनि हुन सक्छन् । साहित्यका माध्यमबाट साहित्यकार वा सर्जकले समाजको चित्रण गर्दछ, समाजमा भएका राम्रा नराम्रा पक्षको उद्घाटन गर्दछ । सुधार गर्नुपर्ने कुरालाई प्रस्ट्याउँछ । असल चरित्र, आदर्श र नैतिकताको सकारात्मक सन्देश दिन्छ । नेपाली साहित्यमा धर्म र संस्कारको प्रत्यक्ष प्रभाव रहेको देखिन्छ । धार्मिक परम्परामा आधारित रहेर आदर्शोन्मुख समाजका निम्ति रचना गरिएका साहित्यहरू प्रशस्तै रहेका पाइन्छन् । नेपाली साहित्यको प्राथमिक कालमा संस्कृत भाषाको प्रभाव, गुरुकुल शिक्षाको प्रचलन, धार्मिक आस्था र सनातन परम्पराबाट प्रभावित भएको पाइन्छ । वैदिक धर्म, संस्कृतिको प्रत्यक्ष प्रभावद्वारा समाजमा र सामाजिक व्यवहारबाट सिर्जना गरिएका साहित्यमा नैतिक, औपदेशिक, धार्मिक विषयवस्तु रहेका देखिन्छन् । अझ स्पष्ट भन्ने हो भने नेपाली साहित्यमा प्रत्यक्ष बुढ्यौली प्रभावबाट नै सुरु भएको देखिन्छ । देवी, देवतालाई आदर्श पात्र मानेर तिनीहरूकै चरित्र, व्यवहार र जीवनचर्यालाई नै साहित्यको विषयवस्तुका रूपमा चयन गर्ने परम्परा रहेको छ । संस्कृत भाषामा रचित रामायण, महाभारत, कृष्णचरित्र, स्वस्थानी, हितोपदेश, पञ्चतन्त्र, दिव्योपदेश, प्रायश्चित प्रदीप, अङ्ग्रेजी भाषाको बाइबल जस्ता पुस्तकको अनुवाद गरिएको पाइन्छ । अनुवादपछिका समयमा रचना गरिएका साहित्यमा विषयवस्तुका आधार नै बुढ्यौलीपन रहेको ज्ञात हुन्छ ।

बद्रीप्रसाद ढकाल

नेपाली साहित्यमा रचना गरिएका आख्यानात्मक तथा गैरआख्यानात्मक कृतिमा बुढ्यौली अनुभूति वा सिर्जनाले महत्त्वपूर्ण र अधिक स्थान ओगटेको छ । प्राथमिक कालका त्यस्ता कृतिहरूमा शक्तिबल्लभ अर्ज्यालको महाभारत विराटपर्व, जय रत्नाकर नाटक र हाँस्यकदम्ब (१८५५) भानुदत्तको हितोपदेश मित्रलाभ (१८३३), पतञ्जली गजुर्याल(१८८०)को बोक्सीचरित्र, महाभारत र मत्स्येन्द्रनाथको कथा, रामभद्रपाध्याको लक्ष्मीधर्म संवाद (१८५५), पृथ्वीनारायण शाहको दिव्योपदेश (१८३१), लक्ष्मीनारायण जोशी अर्ज्याल(१७६९–१८६१) को महाज्ञानमुद्रा र हरिश्चन्द्र विलाप, वीरशाली पन्त(१८४९–१९०३)को द्रौपदी विलाप काव्य र कृष्णचरित्र, गौरीशंकर पण्डितको वेताल पञ्चविंशती कथाहातम् (१८५५), तुलसी स्तवको दैवज्ञ ज्योतिनसिंह (१८५५), अज्ञातको दशकुमार चरित (१८७५), अज्ञातको महाभारत सभापर्व आदिपर्व (१८८०), अज्ञातको लंकाकाण्ड मित्रलाभ (१८०५), सिंहवीरको लंकाकाण्ड अध्यात्म रामायण (१८८८) हीनव्याकरणी विद्यापतिको गीत गोविन्द (१८८८), अज्ञातको किष्किन्धा काण्ड, बृहत् कथा, स्वस्थानी कथा, विराट पर्व, मुद्राराक्षस कथा, गोपिका स्तुति –विभिन्न समयकाल) वीरेन्द्रकेशरी अर्याल(१९०८–१९८८), अशोक सुन्दरी नाटक र दुर्गाभक्ति तरङ्गिणीजस्ता अधिकांश धार्मिक कथाका विषयवस्तु भएका साहित्य मौलिक तथा अनुवाद कृतिमा लामो वा छोटो बुढ्यौली अवस्थाकै कथावस्तुको प्रयोग भएको देखिन्छ । परिपक्व अवस्थाका अग्रज मान्यजन देवी, देवताका चरित्रलाई आधार मानेर उनैका कथा वा व्यवहारलाई साहित्यमा उतार्ने कार्य भएको छ । हिन्दु धर्मग्रन्थमा आधारित चरित्र, आख्यान तथा उपदेशलाई मूल आधार मान्ने प्रवृत्ति प्राथमिककालमा देखिएकाले नेपाली साहित्यको प्राथमिककालीन अधिकांश कृतिमा बुढ्यौली अवस्थाका विविध पक्षको अधिक प्रयोग भएको देखिन्छ । रामायणमा गुरु वशिष्ठ, दशरथका कथा, महाभारतमा शान्तनु, धृतराष्ट्र, भीष्मपितामहका प्रसङ्ग कृष्णचरित्रमा वासुदेव, नन्द, अक्रुरजस्ता वृद्ध पात्रका आख्यानात्मक कथन देखिन्छन् ।

प्राथमिककालीन वीरधाराका रचनाहरूमा केही बुढ्यौलीका परिवेश र अन्तिम अवस्थामा पुग्नुपर्ने तीर्थ वा धामको चर्चा गरिएको छ । बुढ्यौली परिवेश, काशी, वाराणसी, गंगा, स्वर्ग नरकको चर्चा भएको छ भने पात्रहरूको चर्चामा शुक्राचार्य, बृहस्पति, ब्रम्हा, इन्द्रसँग तुलना, स्तुतिपद्यमा कृष्ण, रामको स्तुति जस्ता बुढ्यौली परिवेश, घटना, चरित्र देखिन्छन् भने भक्तिधाराका रचनाहरूमा उग्रसेन, देवकी, वासुदेव, अक्रुर, युधिष्ठिर, वशिष्ठ, दशरथ, कौशल्या, जनकजस्ता वृद्ध पात्र वा ऋषिमनिषिको पात्रको प्रयोग र चर्चा गरिएको छ । रामायण, महाभारत, श्रीमद्भागवत्, कृष्णचरित्रजस्ता काव्यमा बुढ्यौली अवस्था तथा परिवेशलाई आधार बनाएर तिनको विषयवस्तु र घटनाक्रमलाई साहित्यमा प्रयोग गरिएको छ । प्राथमिककालीन नेपाली साहित्यमा बुढ्यौली अवस्थाका कथावस्तु, घटना, पात्र र परिवेशको प्रयोग गरेको देखिन्छ ।

माध्यमिककालीन नेपाली साहित्य विकास कालमा विस्तारै अनुवाद साहित्य परिवर्तन भएर मौलिक रचनातर्फ जोडिएको छ । माध्यमिक कालका रचनामा ऋद्धिबहादुर मल्लको शर्मिष्ठा (१९८५) उपन्यासकी देवयानी–ययातिको कथानकलाई आधार मान्दै बुढ्यौली प्रसङ्गबाट घटनाक्रम प्रस्तुत गर्दै नारीको सहनशीलता र पतिव्रततालाई चित्रण गरेको छ ।

नेपाली साहित्यको माध्यमिक कालमा बुढ्यौली प्रवृत्तिलाई आत्मसात् गरेर रचना गरेका साहित्यिक काव्य कृतिहरूमा गोपीनाथ लोहनीको नृग चरित्र (१९४९), नलोपाख्यान (१९५२), नलदयन्ती चरित्र (१९५५), शिखरनाथ सुवेदीको कर्णपर्व र कृष्णचरित्र, तुलसीदत्त भट्टराईको रम्भा शुक संवाद (१९५०), कृष्णप्रसाद रेग्मीको कामिनी विरह लहरी (१९६०), कृष्णनाथ सिग्देलको सुदामाचरित्र, पतिव्रता सावित्री काव्य, सती विमला नाटक, आख्यानात्मक कृतिहरूमा रमाकान्त बरालको अद्भूत रामायण, देवीदत्त शर्माको रामायण बालुन, वाणीविलास पाडेको रामचरित्र, चित्रकुटोपाख्यान, भानुभक्तको बधुशिक्षा, रामायण, आदि बुढ्यौली साहित्यका भक्ति तथा उपासना धारामा सिर्जना गरिएका कृति हुन् । कृष्णचरित्र, गोपिनीको श्लोक आदि कृतिमा बुढ्यौली अवस्था, पात्र र परिवेशको चित्रण पाइन्छ । शम्भुप्रसाद ढुङ्गेलको चन्द्रप्रताप वर्णन, चन्द्रवदनी कथा रत्नावली, मालती माधव र शाकुन्तल नाटक, मोतीराम भट्टका पिकदूत, गजेन्द्रमोक्ष रचनामा पनि बुढ्यौली अनुभव, पात्र, परिवेश र विषयवस्तुको प्रयोग पाइन्छ । नेपाली साहित्यको माध्यमिककालीन नाटक शाकुन्तल, (मोतीराम भट्ट) वीर सुदर्शन (केदारशमशेर थापा) वीर प्रल्हद, वीर सावित्री, वीर ध्रुव चरित्र आदिमा वृद्धका अवस्था र परिवेशलाई बुढ्यौलीको कथानक बनाइएको छ । लेखनाथ पौड्यालको, भीष्म भवितव्य, तरुण तपसी, पार्वती प्रणय, बालकृष्ण समको प्रल्हाद, मुकुन्द इन्दिरा, भक्त भानुभक्त तथा अन्य नाटकका विषयवस्तुमा बुढ्यौली अनुभूतिका केही पक्षको प्रयोग तथा चित्रण भएको छ । धनवीर मुखियाको रुक्मिणीहरण, राजा हरिश्चन्द्र पारसमणि प्रधानको महाभारत, बुद्धचरित्र आदि पनि बुढ्यौलीकै कथावस्तुमा आधारित नाटक हुन् । त्यस्तै बुढ्यौलीमै आधारित अन्य आख्यानहरूमा कपिलदेवको नलोपाख्यान (१९५६), शिवप्रताप थापाको शकुन्तला (१९९०) हरिहर शर्माको भगवत्भक्ति विलासिनी (१९५४) हरिहर आ.दी.को शकुन्तलोपाख्यान (१९६५) दुर्गादेवी आ.दी.को अनुसूया सीता संवाद (१९६५) होमनाथ खतिवडाको रामाश्वमेध, हरिहर शास्त्रीको उषाविनोद, देवकान्त पन्थको सीतास्वयम्बर आदि बुढ्यौलीकै विषयवस्तुमा आधारित कृति हुन् ।

माध्यमिक कालमा बुढ्यौलीका विषयवस्तुमा आधारित भएर आख्यानहरू लेखिएका छन् । नेपाली साहित्यको आधुनिक कालमा बुढ्यौली साहित्य सिर्जनाको आधार झन् झन् फराकिलो बन्दै गएको छ । आख्यानात्मक कृतिहरूमा बुढ्यौलीको आधुनिककालीन नवीन प्रयोग गरेको पाइन्छ । नेपाली साहित्यको आधुनिककालीन समयमा बुढ्यौलीलाई युगीन सन्दर्भसँग जोडेर नवीन प्रयोग गरेको पाइन्छ । बुढ्यौलीको कथावस्तु, पात्र र परिवेशलाई आधार मानेर रचना गरिएका नेपाली साहित्यका कृति काव्यमा जगदीश शमसेर राणाको नरसिंह अवतार, मोदनाथ प्रश्रितको देवासुर सङ्ग्राम, भोग्यप्रसाद भण्डारीको षडानन्द चरित्र, जीवराज पोखरेलको पाटनको कृष्ण मन्दिर र बुद्धचरित्र आख्यान, मदनमणि आ.दीको माधवी, भूमिसूक्त उपन्यास, विश्वेश्वरप्रसाद कोइरालाको सुम्निमा, मोदिआइन, हिटलर र यहुदी उपन्यास, धनुषचन्द्र गोतामेको कालान्तर, ध्रुवचन्द्र गौतमको अलिखित, अग्निदत्त+अग्निदत्त, कट्टेल सरको चोटपटक, डापी उपन्यास, उपमन्युको परीक्षा, युधिष्ठिरको परीक्षा, रमेश विकलको अविरल बग्दछ इन्द्रावती, कामरेड हुतराज राजधानी प्रस्थान, जगदीश घिमिरेको साविती, लिलाम र अन्तर्मनको यात्रा आहुतिको दलन, नयाँ घर, वानिरा गिरीको शब्दातीत शान्तनु, पद्मावती सिंहको समानान्तर आकाश, राजेन्द्र पराजुलीको अनायिका, गोविन्दराज भट्टराइको मणिपुरको चिठ्ठी, मुगलान, सुकरातका पाइला, नारायण ढकालको इन्द्रजाल, प्रेतकल्प, कृष्ण धराबासीको शरणार्थी, राधा, आधाबाटो, विष्णुराज आत्रेयको पाणिनी, शारदा शर्माको ताप, माया ठकुरीको आमा जानुहोस्, निलम कार्की निहारिकाको योगमाया, रोशन थापा निरवको प्रत्येक श्रवणकुमार अर्थात् युद्ध, अमर न्यौपानेको सेतो धरती, उपन्यास अमृता लम्सालको हजुरआमाका कथाहरू आदि बुढ्यौली कै विषय परिवेश र कथामा आधारित उपन्यासहरू हुन् ।

बुढ्यौलीलाई आधार मानेर लेखिएका अन्य कृतिहरूमा अनु. ढुण्डिराज कोइरालाको महाभारत कथा, ज्यो.प. हरिप्रसाद ढकालको धार्मिक कथाहरू, कमल रिजालको पौराणिक पात्रहरू र सुमित्रा सिंहको भिष्म पितामह,सम्पा. ओमप्रकाश खरेलको सत्यवादी राजा हरिश्चन्द्र, भगवान महावीर आदि हुन् भने प्रबन्धात्मक कृतिहरूमा प्रा.डा कुमारबहादुर जोशीको दोस्रो नवजीवन, नगेन्द्र शर्माको अनुस्मरण, डा.शङ्करप्रसाद उप्रेतिको जीवन एक सपना, प्रा.डा. शास्त्रदत्त पन्तको वाद्र्धक्य वृद्धत्व,क्या.रवीन्द्रप्रसाद प्रधानको वृद्धत्वविज्ञान, हरि अधिकारीको साठी पुगेपछि, भवानी क्षेत्रीको आमाहरू, कृष्णबहादुर थापाको मर्यादित बुढेसकाल आदि कृतिहरूमा बुढ्यौलीका विषय समावेश गरिएका छन् । यसरी नेपाली साहित्यमा बुढ्यौली विषयमा आधारित यति धेरै कृतिहरू लेखि सकिंदा पनि बुढ्यौली साहित्यलाई छुट्टै वा भिन्दै साहित्यका रूपमा विधागत आधार मानेर अध्ययन खोज तथा अनुसन्धान भएको छैन् । वृद्धवृद्धा कै निमित्त वा वृद्धवृद्धाकै विषय, घटना वा परिवेशमा मात्र आधारित सिङ्गो, सबल कृति रचना गरिनुपर्छ र तिनमा समग्र बुढ्यौली साहित्यका विविध पक्षलाई समाविष्ट गरिनुपर्छ भन्ने मान्यता बुढ्यौली साहित्यले राख्दछ ।

लेखक परिचय
बढ
बद्रीप्रसाद ढकाल
प्रतिक्रिया
Loading...