१. बनिदेऊ न साथी ! – इन्द्रकुमार श्रेष्ठ ‘सरित्’
टहटह तारा हैन जून नानी माथि
एकै छिन तल आऊ बनिदेऊ न साथी !
मुसुमुसु कहिले हाँस्ने कहिले खितितिती
औंसी आए देखिँदैनौ तिमी सितिमिती
आफू हाँस्दै ज्योति छर्ने तिमी कति जाती
एकै छिन तल आऊ बनिदेऊ न साथी !
आकाशमाथि बस्ने जून तिमी भाग्यमानी
खेल्दाखेल्दै तिर्खा लागे कति पिउँछ्यौ पानी ?
फुर्सद हुँदा पढौली भो भइसक्यो राति
एकै छिन तल आऊ बनिदेऊ न साथी !
==========
[राधापुर,म्यान्मार (बर्मा) मा जन्म भई हाल नेपालको काठमाडौँलाई कर्मथलो बनाएका कवि इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ (२०१९) नेपाली साहित्यका क्षेत्रमा कविता प्रकाशन गरेर उदाएका प्रतिभा हुन् । नेपाली विषयमा स्नातकोत्तर गरेका उनका कथा र कविताका सङ्ग्रह तथा उपन्यासका कृतिहरू प्रकाशित छन् । बालसाहित्यतर्फ उनको ‘खरायोको खोरमा’ नामक बालकथा सङ्ग्रह प्रकाशित छ । विभिन्न साहित्यिक पत्रिकाको सम्पादनको अनुभव समेत उनले बटुलेका छन् । युवावर्ष मोती पुरस्कार, काजी रोशन पुरस्कार, शङ्कर कोइराला स्मृति पुरस्कार लगायतका पुरस्कारबाट उनी सम्मानित र पुरस्कृत समेत भइसकेका छन् । उनी निकै मिठामिठा बालकविता लेख्ने गर्छन् । उनको बालकविता सङ्ग्रह प्रकाशनको तयारीमा छ । उनी आफ्ना बालकवितामा बालमनोविज्ञानको सफल प्रयोग गर्न रमाउँछन् । उनको प्रस्तुत ‘बनिदेऊ न साथी !’ मा प्राकृतिक विषयवस्तुको चयन गरिएको छ । कविले यस बालकवितामा बालबालिकालाई प्यारो लाग्ने जूनको प्रसङ्ग अघि सार्दै मानवेतर पात्रको मानवीकरण गरेका छन् । जूनको स्वभावलाई मानवीय स्वभावसँग मिल्दोजुल्दो बनाएर लेखिएको यो कविता धाराप्रवाह रूपमा अगाडि बढेको छ । सरल, सरस र झिनो आख्यानात्मक शैलीको प्रयोग गरेर लेखिएको कारण कविता रोचक बन्न पुगेको छ । यस बालकवितामा कल्पनापक्षको प्रबलता समेत रहेको पाउन सकिन्छ ।]
*********************************************
२. फट्याङ्ग्रो – केशवराज अधिकारी
खुट्टा लामा लामा
के हो यस्तो आमा
छोप्न खोज्यो फडक्कै
फड्की जाने काम
साह्रै छुच्चो बानी
सागपात खानी
यतातिर फर्केर
उतातिर जानी
सुस्तै हिँड्न नजान्ने
फड्की बेग हान्ने
झुक्क्याउन सिपालु
उड्न पनि जान्ने
फट्याङ्ग्रो हो नाम
फड्की हिँड्ने काम
हाम्रै खेतबारी
उसको बस्ने ठाम ।
——————————
[मादी गाउँपालिका-९ (साविक मिजुरेडाँडा, गोर्जे कास्की) मा जन्म भई हाल मध्यनेपाल नगरपालिका-७ रामबजार लमजुङमा बसोबास गर्दै आएका कवि केशवराज अधिकारी (२०२२) पेशाले व्यापार व्यवसायी हुन् र पनि साहित्यलेखनमा निरन्तर साधनारत प्रतिभा हुन् । स्थानीय साहित्यिक माहोलबाट प्रभावित भएर साहित्य रचना गर्न हौसिएका कवि अधिकारी आफूलाई मिजुरे गोर्जेका वन पाखापखेरा, गाउँबेसी, रुदी-मादी जस्ता नदीखोलाको सामीप्य र सम्पर्कले साहित्य लेख्न सिकाएको विचार व्यक्त गर्दछन् । शिक्षण पेशाको समेत अनुभव सँगालेका कवि अधिकारी गीत वा कविताको माध्यमबाट भावना प्रवाहित गराउन पाउँदा अझै प्रभावकारी हुन्छ भन्ने ठहर गर्दछन् । कोभिडका कारण घरभित्रै थुनिँदा आफ्नो लेखनले थप गति लिएको हो भन्ने उनको स्वीकारोक्ति छ । स्थानीय रूपमा हरेक दसैँमा हुने प्रगतिशील र प्रजातान्त्रिक साहित्य सम्मेलनमा छन्दोबद्ध कविता वाचन गरेर उनी पटक-पटक पुरस्कृत भएका छन् । उनी उत्तिकै मिठो बालकविता पनि सिर्जना गर्दछन् । प्रस्तुत ‘फट्याङ्ग्रो’ बालकवितामा प्राकृतिक कीटपतङ्गका रूपमा रहेको फट्याङ्ग्राको शारीरिक बनोटको परिचय दिँदै यसको स्वभाव र आनीबानीका बारेमा कविले रोचक पाराले वर्णन गरेका छन् । बालकवितामा अनिवार्य रूपमा हुनुपर्ने शाब्दिक सरलता, लयात्मकता र झिनो आख्यानात्मकता जस्ता विशेषतालाई ध्यान दिँदै कविले प्रस्तुत बालकवितालाई रोचक र प्रवाहमय तुल्याएका छन् ।]
**********************************
३. घाम र जून – कृष्ण सुवेदी ‘मिराज’
मिर्मिरेमै आकाशमा
पूर्वबाट के आयो ?
सुन जस्तो पहेँलो
देखेर मन रमायो ।।
साँझ पर्न नपाउँदै
टुप्लुक्क जून देखियो
लुकामारी खेलेझैँ
फेरि घाम कहाँ गयो ?
जूनको प्रकाश मधुरो
घामले पोल्छ बेस्सरी
भन्दिनू न गुरुमा
भयो त्यस्तो कसरी ??
————————–
[रूपा-२ सिर्कुतान , कास्कीमा जन्म र भानु- ४ तनहुँमा स्थायी घर भई हाल पोखरामा बसोबास गर्दै आएका कवि कृष्ण सुवेदी (२०४०) पेशाले शिक्षक हुन् । हाल उनी सैनिक आवासीय महाविद्यालय फूलबारी, पोखरामा अध्यापनरत छन् । बाल मनोविज्ञान र साहित्यमा रुचि रहेका कवि सुवेदीका फुटकर कविता, मुक्तक , गजल, बाल गीत/ बाल कविता लगायतका थुप्रै विधाका रचनाहरू विभिन्न पत्रपत्रिका तथा अनलाइन मिडियामा प्रकाशित हुँदै आइरहेका छन् । पोखराका विभिन्न साहित्यिक गतिविधिमा उनी सक्रिय भएर लागिपरेका देखिन्छन् । उनले बालकको मनोभावना बुझेर सुन्दर र रोचक कविताको समेत रचना गरेका छन् । उनको प्रस्तुत ‘घाम र जून’ बालकविता प्रकृति चित्रणात्मक सुन्दर बालकविता हो । प्रस्तुत कवितामा कल्पना पक्ष पनि उत्तिकै प्रबल छ । बालबालिकामा हुने जिज्ञासा र कौतूहलताको सञ्चार यस बालकविताले गराएको छ । घाम र जूनले लुकामारी खेलेकोमा रमाइलो मान्दै आफ्नी गुरुआमासँग यस्तो किन भएको हो भन्ने जिज्ञासा कवितामा प्रस्तुत भएको छ । यस बालकवितामा बालपात्र कथयिता बालपात्रका रूपमा उपस्थित भएर लयात्मक, कलात्मक र सुन्दर ढङ्गबाट आफ्नो अभिव्यक्ति दिएका छन् ।]
********************************************************
rcghimire47@gmail.com
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।