मेरो घर नजिकै छ आमाघर । आमाघर अर्थात् वृद्धाश्रम । आमाघरमा आमाहरु हुनुहुन्छ । सडकमा फालिएका आमाहरुको एउटा सानो संकलन केन्द्र हो, आमाघर । आमाघरका संचालक आफैँ पनि एक आमा हुनुहुन्छ । जोशिलो, जागरुक हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, बेवारिस आमाहरु संकलन गर्दागर्दै आमाघर बन्यो ।
यो आमाघरमा बेलाबेला म जाने गर्छु । देख्छु, आमाहरु सँगै खानुहुन्छ, पकाउनु हुन्छ, रिसाउनु हुन्छ, गीत गाउनु हुन्छ । कुनै आमालाई गीत गाउन मन लागेको बेला अर्को आमालाई ध्यान गर्न मन लाग्छ, कुनै आमालाई आकाशतिर फर्केर तथानाम गाली गर्न मनलाग्छ र टोल नै थर्किने गरी गाली गर्नु हुन्छ । कसैलाइ जिउ दुखिरहन्छ, ऐयाऐया गरिरहनु हुन्छ । मैले प्रत्येक आमाको पूरा कथा त सुनेको छैन, नसुन्दा नसुन्दै पनि सबै आमाहरुको कथा लगभग उस्तै छ । परित्यक्त आमाहरु । छोराछोरी, बुहारी वा अन्य सन्तानबाट सुनियोजित घर निकालामा परेकाहरु । आफूले जीवनभर दुःख गरेर जोडेको सम्पत्ति आफैँले जन्माएर आफैँले मुटुको टुक्रा जस्तै लालनपालन गरेर उच्च शिक्षासम्म अध्ययन गराएर विवाह गराएर सक्षम गराएपछि भएको सबै सम्पत्ति तिनै मुटुका टुक्राहरुले कानूनी रुपमा हडपेपछि आमाहरुलाई बेतलबी नोकर जत्तिको पनि माया नगरी हरेक दिन कचकच गरेर, पिटेर, एक एक वाक्यमा आक्रमण गरेर एक न एक निहुँ पारी घरमा बस्नै नसक्ने बनाएपछि त्यो भन्दा सडकको जीवन नै शान्त र सुखी होला कि भनेर मुटुका टुक्रालाई नै सर्वस्व सुम्पेर सडकमा रुमाल थापेर मागेर खान र सडक पेटीमै रात गुजारा गरेर बसेका आमाहरु । सडकपेटीमा पनि पानी, घाम, कुकुर, पुलिस, लोकल दादा, सबै तथाकथित मानिसहरुबाट अपहेलित भएर मन र शरीर दुवै बिरामी भएका आमाहरु । त्यहीँ कति मरे होलान् बेवारिस भएर, संयोगवश मर्न नसकेका र कुनै कारणले आमाघर पुगेका आमाहरु ।
आमाहरुका सन्तान माथि उल्लिखित सन्तानहरु भन्दा असल छन् । उनीहरु जब आमाका सबै सम्पत्ति हात पार्छन्, आमालाई हेला गर्न थाल्छन् । आमा रुन थाल्छिन् । सन्तान हुर्काइका कष्ट सम्झन्छन् । मृत पति सम्झन्छन् तर किन सन्तानको रहर गरेँ भनेर पश्चाताप कमैले गर्छन् ।
महिलाहरुका लागि सन्तान हुनुअघि पति प्यारो, सन्तान भएसकेपछि पति भन्दा सन्तान प्यारो । कुसमयमा पतिको मृत्यु भयो भने त झन् सन्तान नै सहारा । आशाको त्यान्द्रो । सानो छँदा सन्तानले केही नगरे पनि, गर्न नसके पनि, जे गर्छ यी सन्तानले नै गर्छन् भन्ने बलियो विश्वास, त्यही विश्वासले धेरै एकल आमाले जवानीमै पतिको मृत्यु हुँदा पनि अर्को विवाह गर्दैनन् । यौन तृष्णा, राम्रो लगाउने, मीठो खाने, साथीभाइसँग खुल्लमखुल्ला मज्जाले हाँस्ने सबै इच्छा दबाउँछन् । कतै एक छाक एक्लै मीठो खाने ठाउँमा पुगे भने सन्तान सम्झछन् र एक्लै खाँदा घाँटीमा अड्केको महसुस गर्छन् । कसैले त अलिकति थप मागेर लैजान्छन् भने कसैले एक दुई टुक्रा भएकोमध्ये मीठो कुरा, पोको पार्ने, केही नपाए पछ्यौरी वा सारीकै फेरोमा राखेर घरमा लैजान्छन् र सन्तानलाई खान दिन्छन् । सन्तानले मीठो मानेर खाइसकेपछि मात्र आमाहरु तृप्त हुन्छन् । यी आमाहरु हरेक दिन सन्तानले गाली गरे पनि, अभद्र व्यवहार गरे पनि मनमनै माफी दिन्छन् । चुपचाप एक्लै आँशु झारेर रुन्छन् । ती आमाहरुलाई सुनियोजित ढंगले आमाघरमा ल्याउने एकाथरी सन्तानहरु छन् ।
पढेलेखेका, विद्वान सन्तानहरुलाई सबै टिकडम र खेल थाहा छ, आमाको कमजारी पनि थाहा छ । जसरी हुन्छ, घरमा बस्नै नसकिने वातावरण सिर्जना गर्छन् । दायाँ बायाँ केही सहारा देखिँदैन । जसको सहारा होला भन्यो उनीहरु चुँसम्म बोल्दैनन् । आफूहरु रेष्टुराँमा खाएर आमालाई भोकै राख्छन् । घरको सरसफाइ, भाँडाकुँडा माझ्ने, बाथरुम सफा गराउने, जे जे गर्दा आमालाई असजिलो बनाउँछ सबै सुनियाजित रुपमा गराउँछन् ।
ती सन्तानहरु सबैभन्दा पहिले आमाको कोखबाट जन्मेर आमाकै दूध पिएर आमाकै स्याहारमा हुर्केको, आमाबाकै लगानीमा जवान भएको बिर्सन्छन् । आमाहरु बुढी हुन्छन् । अशक्त हुन्छन्, बिरामी हुन्छन् । करकर कराइरहन्छन् भन्ने गुनासो रहन्छ । फेरि आमा नभए पनि आमाको सम्पत्ति भने दिनको बीस पटक गन्छन् । अनि केही समय फकाएर वा झुक्याएर आमाको सबै सम्पत्ति आफ्नो कब्जामा लिन्छन् । त्यसपछि आमालाई गाली गर्ने, दुत्कार्ने, खान नदिने, औषधि नखुवाउने व्यवहार शुरु हुन्छ । बुढेसकालमा अझै धेरै चासो र स्याहार चाहिने बेलामा सन्तानहरुलाई त्यही घरमा बसेर आमालाई सन्चो बिसन्चो सोध्ने, लुगा फेरिदिने, धोइदिने, आमाको रमाइलोका लागि केही समय दिने, एउटै कुरा दोहोर्याए पनि आमाका कुरा सुन्दिने त आमाको अपेक्षा मात्र हो । तर पढेलेखेका, विद्वान सन्तानहरुलाई सबै टिकडम र खेल थाहा छ, आमाको कमजारी पनि थाहा छ । जसरी हुन्छ, घरमा बस्नै नसकिने वातावरण सिर्जना गर्छन् । दायाँ बायाँ केही सहारा देखिँदैन । जसको सहारा होला भन्यो उनीहरु चुँसम्म बोल्दैनन् । आफूहरु रेष्टुराँमा खाएर आमालाई भोकै राख्छन् । घरको सरसफाइ, भाँडाकुँडा माझ्ने, बाथरुम सफा गराउने, जे जे गर्दा आमालाई असजिलो बनाउँछ सबै सुनियाजित रुपमा गराउँछन् । आमाहरु भने नातेदारले के भन्लान्, छिमेकीले थाहा पाए इज्जत जाला कि भनेर निरन्तर सही रहन्छन् । त्यसरी सहँदा पनि आमाप्रतिको दुव्र्यवहार कम हुँदैन । खासमा भन्नु पर्दा आमाको चाँडो असामयिक मृत्यु होस् भन्ने चाहन्छन् । यो सबै खेल खेलिसकेपछि अनि आफ्नै मुटुका टुक्राले एक दिन प्रस्ताव गर्छ, आमा तपार्इंलाई आमाघरमा राख्न लैजान्छु । आमा पनि आफ्नै मुटुका टुक्राहरुबाट असुरक्षित महसूस गर्नु हुन्छ । केही विकल्प नभएपछि आमाघरको बास स्वीकार्नु हुन्छ ।
एक आमाले भन्नुभयो– धेरैले आमाको बखान गर्नुहुन्छ, कविता लेख्नुहुन्छ, फेसबुकमा फोटो हालेर आमाको प्रशंसा गर्नुहुन्छ । तर आमालाई बुढेसकालमा स्याहार्न तयार हुनुहुन्न । हाम्रो समाजमा विशेषतः विवाहपछि छोरीहरु त घर छोडेर जान्छन् । छोरा बुहारीहरु विवाहपछि आमाबालाई बोझ ठान्छन् । यति धेरै स्वार्थी कसरी हुन सकेको ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।