साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बाल, किशोर र नारी साहित्यसँग बुढ्यौली साहित्यकाे सम्बन्ध 

पितृसत्तात्मक पुरुषकेन्द्रित समाजको विरोध गर्दे नारीलाई समान अवसर स्थापना हुनुपर्ने विचार नारीवाद र नारी साहित्यले राखेको छ । यसअन्तर्गतको उत्तरआधुनिकवादका अनुसार पितृसत्तात्मक पाश्चात्य परम्पराले नारीलाई दोस्रो लिङ्ग (सेकेन्ड सेक्स) मान्दै वर्ण र लिङ्गका आधारमा गरिएको विभेदको विरोध गरेको छ ।

बुढ्यौली साहित्य र बाल साहित्य

‘बाल’ र ‘साहित्य’ को संयुक्त रूप नै बालसाहित्य हो । बालसाहित्य बालकहरूका निम्ति लेखिएको विशेष किसिमको साहित्य हो । विशेष गरी बालसाहित्य जन्मेदेखि किशोर कालसम्मका बालबालिकासित सम्बद्ध साहित्य हो । बालकको पढ्ने पाठ्य पुस्तकलाई बालसाहित्य मानिंदैन तर बालकको उपयोगिताअनुसार तयार गरिने साहित्यले उनीहरूलाई मनोरञ्जन हुने, आनन्द आउने र अप्रत्यक्ष रूपमा उनीहरूमा ज्ञान र सीपको विकास हुने भएकाले त्यस्तो साहित्यलाई मुख्य रूपमा बालसाहित्य मानिन्छ ।

bahulako diary small and inside post

बालसाहित्य बालकलाई लक्ष्य बनाई लेखिएको साहित्य हो । वृद्ध वा बुढाहरूका लागि लेखिएको साहित्य बुढ्यौली साहित्य हो । ‘बाल’ शब्दसँग आएको साहित्यको अर्थ वाङ्मय भन्ने हुन्छ र केटाकेटीका निम्ति उपयुक्त भाषाशैलीमा रचना गरिएका सामग्रीलाई उक्त बालसाहित्य शब्दले जनाउँछ । बालसाहित्य बालकेन्द्रित लेखन हो र त्यो बाल बालिकासित सम्बद्ध विविध उद्देश्यपूर्तिका निम्ति लेखिने साहित्यिक अभिव्यक्ति हो । वृद्ध वा परिपक्व मानिसका दर्शन, विचार केद्रित लेखन बुढ्यौली साहित्यमा हुन्छ । बालसाहित्य बालबालिकाको रूचि, आवश्यकता र मनोविज्ञानलाई समेत ध्यानमा राखेर लेखिन्छ । बालसाहित्य बालकहरूका निम्ति प्रस्तुत गरिने र त्यस्ता रचनाप्रति स्वाभाविक रूपमा उनीहरूको रूचि हुने भएकाले बाल बालिका अनुकूल विषयवस्तु समायोजन गरिएको हु्न्छ । सरल र रोचक भाषामा रचित बालसाहित्यले उनीहरूमा मनोरञ्जन र ज्ञान दुवै एकैसाथ प्रदान गर्न सकिन्छ । बालबालिकाहरू सानैदेखि रङ्गीचङ्गी र सुन्दर पुस्तकहरूप्रति आकर्षित हुन्छन् र त्यसैमा रमाउँछन् । पछि जति जति उनीहरूलाई अक्षर र शब्दहरूप्रति ज्ञान हुन थाल्छ अनि मात्र विषयवस्तुप्रति आकर्षित हुन थाल्छन् । यिनै बालबालिकाका रूचि र आवश्यकतालाई टिपेर बालसाहित्यको रचना गरिएको हुन्छ ।

बुढ्यौली साहित्य गहन विषय र वैचारिक दृष्टिले रचना गरिएको हुन्छ । ज्ञान, अर्ती उपदेश, अनुभव र अनुभूतिको समग्र पक्षको चित्रण बुढ्यौली साहित्यमा गरिएको हुन्छ । जीवन, जगत्को ज्ञान, जिवेषणा, आत्मचिन्तन, आस्था, धार्मिक विश्वासजस्ता गहन विषय र क्षेत्रले व्यापकता समेटेर बुढ्यौली साहित्यको रचना गरिन्छ । वृद्धावस्थामा पुगेका मानिसका सोच, संस्कार र मूलतः उमेर तथा उमेरगत रूचिअनुसार रचना गरिएको साहित्य वृद्ध वा बुढ्यौली साहित्य हो । दुबैको साझा पक्ष चाहिँ उमेरगत आधारमा गरिने रचना हो ।

बद्रीप्रसाद ढकाल

बालसाहित्य एकै विधामा मात्र सीमित हुँदैन । यो विभिन्न विधामा हुन्छ । जसरी बुढ्यौली साहित्यका विविध विधाहरू हुन्छन् । त्यसरी बाल साहित्यमा पनि बालगीत, बालकविता, बालउपन्यास, बालनाटक, बालकथा, बालनिबन्ध, बालचित्रकथा आदि विधा हुन्छन् । तिनै विविध साहित्यका माध्यमबाट बालबालिकालाई मनोरञ्जनसहित ज्ञान प्रदान गरिन्छ । यसरी बालबालिकाका लागि रचित विविध विधाको साहित्य नै बालसाहित्य हो भने वृद्धवृद्धा वा बुढ्यौली उमेरका मानिसका लागि रचित साहित्य बुढ्यौली साहित्य हो ।

बुढ्यौली साहित्य र किशोर साहित्य

किशोर साहित्य युवायुवतीलाई लक्ष्य बनाई रचिएको साहित्य हो भने वृद्ध वा बुढाबुढीहरूका लागि लेखिएको साहित्य बुढ्यौली साहित्य हो । किशोर शब्दसँग आएको साहित्यको अर्थ युवक वा युवती भन्ने हुन्छ र तिनका निम्ति उपयुक्त भाषाशैलीमा रचना गरिएका सामग्रीले किशोरसाहित्य शब्दले जनाउँछ । किशोर साहित्य प्रेम, मनोरञ्जन केन्द्रित लेखन हो र त्यो युवा युवतीसँग सम्बद्ध विविध उद्देश्यपूर्तिका निम्ति लेखिने साहित्यिक अभिव्यक्ति हो । वृद्ध वा परिपक्व मानिसका दर्शन, विचारकेद्रित लेखन बुढ्यौली साहित्यमा पर्दछ । किशोरसाहित्य यौवनाको रूचि, आवश्यकता र मनोविज्ञानलाई समेत ध्यानमा राखेर लेखिन्छ । बुढ्यौली साहित्य गहन विषय र वैचारिक दृष्टिले रचना गरिएको हुन्छ । ज्ञान, अर्ती उपदेश, अनुभव र अनुभूतिको समग्र पक्षको चित्रण बुढ्यौली साहित्यमा गरिएका हुन्छन् ।

किशोरसाहित्य पनि विभिन्न विधामा रचना गरिएको हुन्छ । किशोर साहित्यका विविध विधाहरू हुन्छन् ,जसमा गीत, गजल, कविता, उपन्यास, नाटक, कथा, निबन्ध आदि लेखिन्छन् । तिनै विविध साहित्यका माध्यमबाट किशोरकिशोरीलाई मनोरञ्जनसहित ज्ञान प्रदान गरिन्छ । यसरी वयस्क वा युवायुवतीका लागि रचित विविध विधाका साहित्य नै किशोरसाहित्य हो भने वृद्धवृद्धा वा बुढ्यौली उमेरका मानिसका लागि रचित साहित्य बुढ्यौली साहित्य हो ।

बुढ्यौली साहित्य र नारी साहित्य

बुढ्यौली साहित्यको चर्चा गर्दा नारी वा पुरुष साहित्य भन्ने लैङ्गिक हिसाबले हेरिएको वा अध्ययन गरिएको चाहीँ होईन् । बुढ्यौली साहित्य वृद्धवृद्धा दुवैको साहित्य हो तापनि यहाँ सन्दर्भ वा प्रसङ्गमा नारी साहित्य के हो ? भन्ने कुरासँग सम्बन्धित छ ।

नारीका विभिन्न पक्षसँग निकट भएर लेखिएको साहित्य नै नारी साहित्य हो भने वृद्धवृद्धा वा बुढ्यौली उमेरका घटना परिवेश र तिनीहरूसँग सम्बद्ध पक्षका बारेमा लेखिएको साहित्य बुढ्यौली साहित्य हो ।

नारी साहित्य लिङ्गकेन्द्रित अधिकारका लागि सुरु भएको साहित्य लेखन तथा समालोचना हो । लैङ्गिक दृष्टिले हेर्दा पितृसत्तात्मक समाजबाट शासित, दमित तथा अपहेलित अवस्थामा रहेका नारीहरूको सशक्त आवाजका रूपमा आज विश्वभर नारीका बारेमा लेखिएका साहित्यले चर्चा पाएको छ । नारी साहित्यमा पनि वृद्धाको समस्या उठान गरिएको छ अथवा सामाजिक द्वन्द्व, शासक र शासित बीचको द्वन्द्व वा लैङ्गिक असमानताको पृष्ठभूमिबाटै नारी साहित्यको जन्म भएको हो भन्न सकिन्छ । वृद्ध वा बुढ्यौली उमेरका मानिसका हक, अधिकार अवस्था आदिलाई चर्चा गरेर बुढ्यौली साहित्यको रचना गरिएको हो ।

मानव सभ्यतामा नारीका मूल्य, पहिचान, अस्तित्व र स्थान खोज्नै पर्ने र उचित स्थान दिनुपर्छ भन्ने अवधारणाको विकासले आज नारी साहित्य अगि बढेको छ । नारी साहित्यको सुरुवात सामाजिक, सांस्कृतिक र त्यसअन्तर्गत राजनीतिक, साहित्यिक, धार्मिक, आर्थिक सबै क्षेत्रबाट सबै क्षेत्रमा आफ्नो अस्तित्व स्थापनाको आन्दोलनका रूपमा अगि बढेको हो । पितृसत्तात्मक पुरुषकेन्द्रित समाजको विरोध गर्दे नारीलाई समान अवसर स्थापना हुनुपर्ने विचार नारीवाद र नारी साहित्यले राखेको छ । यसअन्तर्गतको उत्तरआधुनिकवादका अनुसार पितृसत्तात्मक पाश्चात्य परम्पराले नारीलाई दोस्रो लिङ्ग (सेकेन्ड सेक्स) मान्दै वर्ण र लिङ्गका आधारमा गरिएको विभेदको विरोध गरेको छ । गोरा पुरुष र तिनका उच्च केन्द्रलाई भत्काउँदै परम्परागत केन्द्र गोरा पुरुष र उच्च केन्द्रलाई भङ्ग गर्दै सीमान्तकृतहरूलाई पनि अलग अलग रूपमा परिभाषित गरेको छ । यस मान्यताद्वारा नारीलाई अगल केन्द्रको रूपमा स्थापित गरेको छ । नारीवादी लेखनको सशक्तता,नारी लेखिकाका रचना प्रकाशन, कृतिमा नारीपात्रको विश्लेषण र स्थान, नारी साहित्यकारका कृतिका व्यापक अध्ययन, चित्रण र पुनव्र्याख्या तथा नारीवादी समालोचनाका आधारमा कृतिको मूल्याङ्कनजस्ता कुरालाई नारीवादद्वारा अगि सारिएको छ ।

नारीसाहित्य र बुढ्यौली साहित्यको उद्देश्य यसका साथै समाजमा मानव केन्द्र्रित समस्या र समाधानका महत्त्वपूर्ण स्थानमा उभ्याउनु तथा पुर्याउनु पनि हो । पितृसत्तात्मक समाजले बनाएको सिद्धान्तले नारीलाई उपेक्षित एवं शासित वर्गको रूपमा राखेकाले आफ्नै सिद्धान्त बनाई त्यसैलाई प्राथमिकता दिनु, समाजविकासमा नारीको महत्त्वपूर्ण भूमिका को खोजी गर्नु, जुनसुकै कार्यमा पनि नारीको समान सहभागिता हुनु तथा प्राथमिकता दिनु, नारीहरूद्वारा लेखिएका कृतिमा नारीको दिइएको स्थानको खोज तथा अनुसन्धान गर्नु यसको उद्देश्य रहेको छ । नारी मनोविश्लेषणात्मक कृतिहरूमा ध्यानदिनुको साथै उत्तरआधुनिकवादको छातामुनिको नारीवादी चिन्तनअनुरूप नारीलाई छुट्टै केन्द्र बनाउनु यसको थप उद्देश्य रहेको छ ।

समग्रमा दुबै साहित्य केन्द्रित लेख रचनाका चिन्तनका मूल स्वर एउटै देखिन्छ । पारिवारिक, सामाजिक एवम् राज्य स्तरको असमानता वा विभेदको सबै प्रकारका विभेदको विरोध गर्नु नै यसको उद्देश्य रहेको छ नारीसाहित्यले पुरुषले आफ्नो केन्द्रसत्ताको स्थापना तथा बचावटका निम्ति धर्म, सस्कृति परम्परा भाषा साहित्य र सस्कृति आदि सबै आफ्नै अनुकूल बनाएकाले त्यसको ध्वंश गर्नु, नारीले आफ्नो छुट्टै सिद्धान्तको निर्माण गर्नु मुख्य उद्देश्य राखेको छ । संस्कृति र साँस्कृतिक एवम् सामाजिक मूल्य तथा भूमिकाको खोजी गर्नु, नारी कुनै जैविक प्राकृतिक कमीकमजोरीका कारण परिवार र समाजमा स्थानहीन भएका होइनन् यी त पितृप्रधान अथवा पुरुषप्रधान सामाजिक संरचना, सनातन सोच र व्यवहारका कारणले भएको निचोड निकालेको छ भने बुढ्यौली साहित्यमा वृद्धवद्धाका अवस्था शोषित, उत्पीडित तथा उचित स्याहारसम्भार नगरिएका र तिरस्कृत भएका कुरालाई व्याख्या विश्लेषण गर्दै तिनको सशक्तताको पृष्ठभूमि तयार पार्नु रहेको छ ।

हाम्रो पूर्वीय धर्मशास्त्रले छोरा भए मात्र स्वर्गको अधिकार प्राप्त हुने भनेर छोरी वा नारीलाई परलोकमासमेत त्याज्य वा अधिकारविहीनको रूपमा व्याख्या गरेको छ भने ब्रतबन्ध, दशगात्रादी काजक्रिया, श्राद्दाधिकारमासमेत प्रश्न चिन्ह लगाएको छ । छोराभएर जन्मेमात्र वा पुरुषको रूपमा मात्र स्वर्ग वा मोक्ष प्राप्त हुन्छ भन्दै नारीप्रति विभेद गरेको छ भने नारीलाई युद्धमा जान र युद्ध लड्न पनि वर्जित छ । सामाजिक रूपमासमेत अबला, अरक्षिता मान्ने र मलामी जान निषेध गरिएको अवस्थाले उनीहरूमा समान व्यवहार र समान हैसियत स्थापनाका लागि नारी तथा बुढ्यौली साहित्यका विधागत रचनाले एउटा सशक्त भूमिका निर्वाह गर्दछ ।

कुनै पनि दर्शनले ज्ञानविज्ञान, राजनीति, कलासाहित्यमा विशेष प्रभाव पार्छ । दर्शनले स्थापना वा प्रतिपादन गरेका मूलभूत मान्यताहरूमा आधारित भएर साहित्यको सिर्जना गरिएको पाइन्छ । जीवनजगत्सम्बन्धी दार्शनिक मान्यताहरूका आधारमा साहित्यका भाव र शैलीशिल्पगत मान्यताहरूको प्रतिपादन गरिएको पनि देखापर्छ । अस्तित्ववाद दार्शनिक मान्यता मात्र नभएर साहित्यिक वाद वा मान्यताका रूपमा पनि परिचित रहेको छ । यसका विषयगत मान्यताअन्तर्गत ईश्वर, मनुष्य र मानवीय स्वतन्त्रता, उत्तरदायित्वको भावना, जीवनमूल्य, नैतिकता, समाजबोध, निरर्थकता, काल र इतिहास, क्षण, कर्म र सङ्घर्ष, शून्यता, निराशा, व्यथा र विसङ्गति रहेका छन् । व्यक्ति तात्विक रूपले स्वतन्त्र छ, तर ऊ सांसारिक परिस्थितिहरूका माझमा फालिएको छ । समग्रमा विभेद अपहेलनाबाट मुक्त भई, स्वतन्त्र भई माथि उठने मूल उद्देश्य र लक्ष्यका साथ दुवै साहित्य केन्द्रित देखिन्छन् ।

निष्कर्ष

अङग्रेजी एजिङ लिटरेचर नेपाली रूपान्तरणमा बुढ्यौली साहित्य हो । बुढ्यौली साहित्यले कुनै भौगोलिक परिवेशमा बसोबास गर्ने जाति, तिनका संस्कार वा संस्कृति र चेतनालाई मात्र नभएर विश्वमा बसोबास गरेको सम्पूर्ण वृद्धवृद्धका अवस्था चिनाउने वा बोध गराउने महŒवपूर्ण साहित्य हो । बुढ्यौली साहित्यमा समग्र मानवको सत्यतथ्य सम्पूर्ण अनुभव रहेकाले त्यसले मानव जीवनका सबै पक्षसँग सम्बन्ध राख्दछ । मानव सभ्यताको विकाससँगै मानव जीवनमा आएको परिवर्तन त्यसले पारेको सामाजिक प्रभावलाई युग र त्यसको परिवर्तन तथा अनुभवसँग तुलना गर्न सकिन्छ । विभिन्न समयमा भएका युद्ध, प्राकृतिक विनाश र त्यसले पारेको प्रभावअनुसारकोे चित्रण बुढ्यौली साहित्यका आख्यानमा पाइन्छन् । त्यसैले बुढ्यौली साहित्यलाई मानवसभ्यताको इतिहाससँगसँगै मानव दर्शन, इतिहास, भाषा, धर्म, लोकसंस्कृति, परम्परा, नैतिक आचरणसँग निकट मान्न सकिन्छ भने मानव चेतनाको दस्तावेज तथा मानव ज्ञानको प्रतीकका रूपमा लिन सकिन्छ । विभिन्न समयका शासक तिनका शासनकला, घटना, दुर्घटनामा मानव मनोविज्ञानकै भूमिका रहेकाले बुढ्यौली साहित्यमा मानवको समाजशास्त्र, इतिहास र मनोविज्ञानको चित्रण रहेको हुन्छ ।

लेखक परिचय
बढ
बद्रीप्रसाद ढकाल
प्रतिक्रिया
Loading...