१. चोर बिरालो – गुणनिधि घिमिरे

गुणनिधि घिमिरे

बिरालोले  खाएछ

कराईमा राखेको

बुबु माम मिठो थियो

 मैले पनि चाखेको

 

मुसा मार्न गएको

फर्किएर आएछ

भरे खान राखेको

बुबु माम खाएछ

 

साथी साथी खेलेर

 फर्की आउँदा यसरी

बुबु-माम नदेखेर

रोएँ म ता बेसरी

 

चोरी खानु हुन्नथ्यो

किन खाइस् बिरालो ?

अब मैले के खाने हो ?

भयो मलाई पिरलो ।

———————————————————–

[सुरुमा पाँचथरमा र पछिल्लो समय मोरङमा रहेर जीवनको महत्त्वपूर्ण र लामो समय शिक्षण पेशामा बिताएका कवि गुणनिधि घिमिरे (२०१२) हाल अमेरिकाको भर्जिनियामा बसोबास गर्दै आइरहेका छन् । साहित्यका विविध विधाको अध्ययन र लेखनमा रुचि राख्ने कवि घिमिरेले बालकविताका क्षेत्रमा पनि कलम चलाएका छन् । सङ्ख्यात्मक हिसाबले थोरै भए पनि गुणात्मक हिसाबले कवि गुणनिधि घिमिरेले मिठामिठा बालकविता लेखेका छन् । उनका प्रायः बालकविताहरू सामाजिक सञ्जाल र अनलाइन मिडियामा प्रकाशित हुँदै आएका छन् । प्रस्तुत ‘चोर बिरालो’ बालकवितामा आफूले खान राखेको दूध र भात बिरालाले खाइदिएकामा बालक बनेका कविले चित्त दुखाएका छन् । बिरालोसँग आक्रोश पोख्दै घुर्की लगाएर चिन्ता व्यक्त गरेका कवि यसमा कथयिता बालपात्रका रूपमा उभिएका छन् । युगल बालोरी लोकछन्दमा रचित प्रस्तुत बालकविता लयात्मक, कलात्मक र आनुप्रासिक छटाको सुन्दर तालमेलले गर्दा उत्कृष्ट बन्न पुगेको छ । कवितामा बालमनोविज्ञानको सफल प्रयोग भएको देख्न सकिन्छ ।]

***************************************************************

२. सिकाउँछ – छायादत्त न्यौपाने

छायादत्त न्यौपाने

मेरो नयाँ किताब

पढ भन्छ हिसाब

क ख ग घ लेखाउँछ

अङ्क पनि सिकाउँछ

 

मेरो राम्रो किताब

पढ भन्छ विज्ञान

लेख्न पढ्न अराउँछ

चित्र कोर्न लगाउँछ

 

मेरो साथी किताब

दिन्छ न्याय निसाफ

ज्ञान सीप सिकाउँछ

उचाइमा पुर्‍याउँछ

 

मेरो सानो किताब

खाऊ भन्छ पौरख

ज्ञानी मलाई बनाउँछ

मुसुमुसु हँसाउँछ ।

——————————————

[पैंयु-४, पर्वतमा जन्म भई हाल काठमाडौँमा बसोबास गर्दै आएका कवि छायादत्त न्यौपाने ‘बगर’  (२०२२)  नेपाली साहित्यका विविध विधामध्ये बालसाहित्य र अझ त्यसमा पनि बालकवितालाई विशेष माया गर्ने सर्जक हुन् । साहित्य सिर्जनासँगै प्राध्यापन, लेखन, सम्पादन, प्रशिक्षक जस्ता विविध क्षेत्रमा संलग्न भई सामाजिक, साहित्यिक, शैक्षिक क्षेत्रमा रही सेवामूलक काम गर्दै आएका उनका धेरै कृतिहरू विविध विधामा प्रकाशित छन् ।  २०४२ सालमा निबन्ध लेखेर साहित्यिक यात्राको थालनी गरेका उनी कविताको उपविधा साइनोका परिकल्पनाकार एवम् प्रथम लेखक समेत हुन् । बालसिर्जना मञ्च नेपालका संस्थापक, नेपाल बालसाहित्य समाजका आजीवन सदस्य रहेका उनी  अन्य संस्थामा समेत सक्रिय छन् । विद्यालय तहका पाठ्यपुस्तक, साहित्यिक पत्रिकाहरू, स्मृतिग्रन्थ, स्मारिका आदिको सम्पादनमा उनको अनुभव रहेको छ । उनका बालदिवस, बाटो बताउने नाति, साथीभाइका कथा र डाँफे चरी बालकथा सङ्ग्रहहरू; बालदिवस र मोटरसाइकलको बिहे बाल एकाङ्की सङ्ग्रहहरू;  हजुरबाको गाउँ, परर ताली र उस्तै उस्तै छेपारोजस्तै बालनिबन्ध सङ्ग्रहहरू; गुराँस झुल्दै छ बालदोहोरी गीत सङ्ग्रह;  कति राम्रो क, पुतलीको बिहे,बाफसँग पानी ,प्वाँप्वाँ भ्वाँभ्वाँ, हामी साथी साथी र कमिला बालकविता सङ्ग्रहहरू लगायतका प्रशस्त पुस्तकाकार कृतिहरू प्रकाशित छन् । बालबालिकाले बुझ्न सक्ने खालको सरल, सहज र सम्प्रेष्य भाषाशैलीको प्रयोगमा रमाउने उनका बालकवितामा विषयवस्तुगत विविधता पाइन्छ । प्राकृतिक सौन्दर्य, प्राकृतिक जीवजन्तु, प्राकृतिक वनस्पति, राष्ट्रियता, बालखेल, बालस्वभाव आदि उनका बालकविताका विषयवस्तु हुन् । बालरुचिअनुकूलका सामग्रीको प्रयोग गर्दै सरल र सहज ढङ्गबाट स्तरीय बालकविताको रचना गरिनु अनि ती कवितामा बालमनोविज्ञानको प्रयोग गर्नु उनका बालकविताका मुख्य प्रवृत्ति हुन् । उनको प्रस्तुत ‘सिकाउँछ’ बालकवितामा बालबालिकाका लागि उपयोगी सामग्री किताबको महत्त्व र बहु उपयोगिताका बारेमा विभिन्न कोणबाट नियाल्ने काम  गरिएको छ । किताबले हिसाब सिकाएर, क ख ग घ पढाएर, चित्र कोर्न हौस्याएर, न्याय दिलाएर र पौरखी बन्न प्रेरित गरेर बालबालिका वा विद्यार्थीलाई उचित मार्गदर्शन गराएको हुन्छ भन्ने भाव कवितामा अभिव्यक्त भएको छ ।]

*************************************************

३. सानो मेरो झोला – सविता बस्नेत दानी

सविता बस्नेत दानी

सानो मेरो झ‍ोलामा  मेरो सानो संसार छ

कापी कलम किताब  अनि सानो बाकस छ

मेरो सानो  झोलामा मेरो सानो संसार छ

 

नाक पुछ्ने रुमाल, पानीको बोतल छ

भोक लाग्दा खानलाई खाजा अनि फल छ

मेरो सानो  झोलामा मेरो सानो संसार छ

 

लुकाई मैले ल्याएको सानो मीठो चक्लेट छ

अल्छी लाग्दा खेल्नलाई रातो सानो बल छ

मेरो सानो झोलामा मेरो सानो  संसार छ ।।

———————————–

[मेरी होम मन्टेश्वरी स्कुल तथा ट्रेनिङ सेन्टर, काठमाडौँमा संस्थापक अध्यक्ष तथा प्रबन्धकका रूपमा रही हाल त्यसै विद्यालयमा कार्यरत सविता बस्नेत दानी (२०३८) ले जनसङ्ख्या अध्ययन विषयमा स्नातकोत्तर तह पूरा गरेकी छन् । डिसी नेपालको  ‘सानो संसार’ नामक टेली कार्यक्रम सञ्चालकको समेत उनमा अनुभव रहेको छ । कुशल शिक्षिका एवम् कार्यक्रम प्रस्तोताका रूपमा लोकप्रियता हासिल गरेकी उनले बालबालिकाको सङ्गत गर्दागर्दै बालकविताहरू पनि लेख्न पुगेकी छन् । बालबालिकासँगको प्रत्यक्ष सम्बन्ध र निकटताका कारण आफ्ना बालकवितामा बाल मनोविज्ञानको सफल चित्र उतार्न उनी सक्षम देखिन्छिन् । बालसाहित्यका कथा र कविता विधा लगायत  उनका कथा, लेख तथा फुटकर कविताहरू विभिन्न पत्रपत्रिका तथा अनलाइन मिडियामा छापिँदै आएका छन् । फरकसन्देश डट कम अनलाइन कविता वाचनमा उनले प्रथम पुरस्कार समेत हात पारिसकेकी छन् । उनको ‘सानो मेरो झोला’ बालकविता बालरुचि अनुकूलको विषयवस्तुको प्रयोग गरेर लेखिएको सुन्दर बालकविता हो । यस कवितामा बालपात्र बनेकी कवयित्रीले आफूसँग रहेको सानो झोलालाई सानो संसारका रूपमा हेरेकी छन् । विद्यार्थीहरूको उपयोगी र आवश्यक सामग्रीका रूपमा रहेको झोलाको बहु उपयोगिता र महत्त्वलाई कवितामा सुन्दर ढङ्गले अभिव्यक्त गरिएको छ । कापी, कलम, किताब, बाकस, रुमाल, पानीको बोतल, खाजा, फलफूल, चकलेट, भकुन्डो जस्ता अत्यावश्यक सामग्रीहरूलाई झोलामा नै अटाएर हिँड्न सकिने हुनाले झोला उनका लागि प्यारो र आत्मीय लागेको भाव यस कवितामा अभिव्यक्त भएको छ ।]

*********************************************

rcghimire47@gmail.com