बुढ्यौली साहित्य र लोकसाहित्य
बुढ्यौली साहित्य र लोकसाहित्य दुवैको प्रारम्भ लोककल्पनाबाट भएको हो । केही सत्यतथ्यको कथात्मक प्रस्तुति बुढ्यौली साहित्य र लोकसाहित्य दुवैमा रहन्छ । जसरी बुढ्यौली साहित्य आदिम मानवसभ्यता र परम्पराको अभिव्यक्ति हो त्यस्तै लोकसाहित्य मानव सभ्यता र विकासको कथ्य र परम्परित इतिहास हो । लोकसाहित्यमा परम्परागत रूपमा रहेका प्राचीन दर्शनका आश्चर्य, चमत्कार, जादू आदिका बारेमा बुढ्यौली साहित्य आख्यान हुन्छन् । वैदिक पौराणिक आधारभूमिमा बुढ्यौली साहित्य र लोकसाहित्य बन्दछन् भने लेख्य तथा श्रुति परम्परागत रूपमा चलिरहन्छन् । लोककथा, लोकगाथा, लोककाव्य वा कुनै पनि लोकसाहित्यको मूल नै बुढ्यौली साहित्य हो । बुढ्यौली साहित्यमा चित्रण गरिएका सामाजिक पक्ष तथा तिनको चालचलन सत्य लोकसँग सम्बन्धित हुन्छ ।
बुढ्यौली साहित्य र मिथक वा पुराण
मिथकमा वर्णित कथाहरू नै बुढ्यौली साहित्यका प्राचीन रूप हुन् । ऋषिमनिषि र तिनका जीवनचर्या तथा उपकरणको चर्चा गर्दै विष्णुपुराणमा आख्यान, उपाख्यान, गाथा, कल्पशुद्धि आदिद्वारा पुराणका अर्थवेत्ताले पुराणसंहिता निर्माण गरेको कुरा उल्लेख छ । यसबाट पुराणहरूको निर्माणमा अनुश्रुतिको भूमिका रहेको देखिन्छ भने अनुश्रुतिको विश्वसनीयतामा मिथकीय वा बुढ्यौली साहित्यका स्रोतको भूमिका रहन्छ भन्ने ब्रिटानिकाको भनाइबाट यी दुईको सम्बन्ध अविभाज्य देखिन्छ ।
पुराणहरूमा वर्णित कथाहरूलाई त्यसैअनुरूप कुनै एक समयमा, प्राचीन कालमाजस्ता पदावलीद्वारा उठान गरी व्यवस्थित गरिएको छ त्यसैले पुराणका सबै कथा काल्पनिक मात्र छैनन् बुढ्यौलीका यथार्थिक जीवनसँग समेत नजिकको सम्बन्ध राख्दछन् । श्रुतिपरम्परा वा लोकपरम्परामा प्रचलित कथाहरूलाई दृष्टान्तका रूपमा पुराणहरूमा समावेश गरिएको छ । मिथक र अनुश्रुतिको स्वरूप–संरचनामा समानता पाइए पनि ऐतिहासिक साक्ष्य प्रस्तुत गर्दै स्थान, काल र पात्रलाई लौकिकीकरणको माध्यमले प्रस्तुत गरिने र श्रुतिपरम्पराको नजिक रहेको कथाका रूपमा अनुश्रुतिलाई लिइएको पाइन्छ जुन बुढ्यौली साहित्यका प्रारूप हुन् । त्यसरी नै स्थान, काल र पात्रको अलौकिक प्रस्तुतिद्वारा जनमानसमा आस्था र विश्वासका रूपमा मिथकलाई लिइएको पाइन्छ । यद्यपि इतिहासले प्रमाणित गरेको र यथार्थ वस्तु , घटना र व्यक्ति कुनै ऐतिहासिक तथ्य वा व्यक्ति विगतमा वास्तविक रूपमा हुनुपर्छ भन्ने छैन तर काल्पनिक वस्तु वा व्यक्तिलाई नै इतिहासको रङ्ग दिएर ऐतिहासीकरण गरिन पनि सक्छ ।
मिथका सम्बन्धमा ग्रिसमा धेरै पहिलेदेखि चर्चा भएको पाइन्छ भने मिथमा प्रयुक्त पात्र परिपक्व ऋषि मनिषि नै हुन् ।
प्राचीन ग्रिसका एक्सोफेनस, थियोजेनेस, फेरीसाइडसर हेकाटसले क्रमशः ‘पुराना मानिसका नीतिकथा’ स्वरूपकात्मकता, ‘प्राक्वैज्ञानिक विचार’ र ‘ऐतिहासिक तथ्यबाट’ मिथकको जन्म भन्ने जस्ता मिथकसम्बन्धी धारणाहरू प्रस्तुत गरिएको पाइन्छ । (स्पेन, सन् १९९४ :४१–४२) इस्वीको चौंथो, शताब्दीमा इयहेमरसले लोकपरम्परामा जीवित जति पनि देवताहरू छन् ती मूल रूपमा मानिस नै थिए भन्ने विचार प्रकट गरेका छन् । आफूमाथि शासन गर्ने वा कृपा गर्ने महान् मानिसलाई पछिल्ला पुस्ताले पूजा गर्न थाले र देवताका रूपमा स्थापित गरे भन्ने उनको धारणा रहेको छ । महान् शासन वा पराक्रमले भरिएको मानिस नै पछि गएर देवत्व प्राप्त गरी अलौकिक शक्तिका रूपमा मानिन थाले जुन पुराणमा वर्णित भए । हिन्दु धर्मलाई के वेद, आरण्यक र पुराणबाट अलग गर्न सकिन्छ ? भगवान बुद्ध इतिहास पुरुष थिए तर उनको जीवनकालमै उनको केवल दैवीकरण गरियो अपितु उनीसँग सम्बद्ध एक पृथक मिथक शास्त्रको विकास भयो । जातक कथाका माध्यमबाट बौद्ध धर्मले सन्त तथा दुष्टआत्माका कुरा अभिव्यक्त ग¥यो । यसरी प्राचीनकालदेखि नै मिथक पुराणमा प्रचलित वा वर्णित कथाले बुढ्यौली साहित्यलाई आत्मसात् गर्दै हालसम्म अगि बढिरहेको छ । पश्चिमी महाकाव्य परम्परामा भर्जिलको एनिड, मिल्टनको प्याराडाइज लस्ट जस्ता प्रख्यात महाकाव्यको मूल आधार तत्तत् समाजका मिथक नै रहेका देखिन्छन् । पूर्वीय परम्पराका रघुवंश, कुमारसम्भव, शिशुपाल बध, किरातार्जुनीय आदि महाकाव्य पूर्णतः मिथकाश्रित नै छन् । नेपाली महाकाव्यको परम्परामा शाकुन्तल, आदर्श–राघव, प्रमिथस आदि मिथकमा आश्रित देखिन्छन् । मिथकले परिपक्व वा बुढ्यौली कथालाई बोकेकाले पुराण तथा मिथकका कथा र बुढ्यौली साहित्यबीच अन्तर्सम्बन्ध स्पष्ट हुन्छ ।
बुढ्यौली साहित्य र समाजशास्त्र
संस्कृति समाजमै प्रचलित व्यवहार वा नीतिनियम हो । समाजशास्त्रको एक विषय मानवशास्त्रभित्र रहेको समाज-साहित्य समाजबिना कल्पना गर्न सकिँदैन । साहित्यमा सामाजिक संस्थाहरूको वर्णन पाइन्छ । बुढ्यौली साहित्यमा सामाजिक विश्वास अभिव्यक्त भएको हुन्छ र सामाजिक, सांस्कृतिक मान्यतासँग सम्बन्धित हुन्छ । मानवशास्त्रमा मानव संस्कृतिको विकासका लागि गरिएका कार्य र सामाजिक सांस्कृतिक सत्य उद्घाटित भएको हुन्छ । समाजशास्त्रीय विषय पनि विज्ञानजस्तो तथ्यमा आधारित देखिन्छ भने समाजको भित्र रहेर लेखिएको बुढ्यौली साहित्य सामाजिक जीवनसँग निकट हुन्छ । समाजको वास्तविक घटना वा विषयलाई भावना र विचारसँग जोडेर अभिव्यक्त गर्नु साहित्यको विशेषता हो । साहित्य केवल धर्म होइन न त अतीतको ज्ञानमात्रै बरु यसका माध्यमले हामी कुनै पनि संस्कृति अन्तर्गतको सामाजिक आर्थिक अवस्थाहरूको खोजी गर्न सक्छौं । त्यसैले साहित्यमा मानवशास्त्र वा क्रियाकलाप अतीत र वर्तमानको सामाजिक पक्षलाई जोड्ने एउटा महत्त्वपूर्ण आधार बनेको छ ।
समयको परिवर्तनसँगै मानिसको सामाजिक, आर्थिक अवस्थामा पनि परिवर्तन घटित भएको हुन्छ । परिवर्तित जीवन परिस्थितिमा आधुनिक जीवन पद्धतिको पनि जन्म हुँदै गएको छ । आधुनिक कला र सामाजिक जीवनमा यस्ता नयाँ घटना वा परिवेशलाई बुढ्यौली साहित्यका विभिन्न माध्यम वा अवस्थाबाट अभिव्यक्त भएको पाइन्छ । समाजको ऐतिहासिक विकास प्रक्रियामा मानिसका भोगाइ, अनुभूति, आस्था र विश्वासले कलात्मक प्रतिफल प्राप्त गर्दै गइरहेका छन् । सामाजिक विकास र चापबाट मानव अवस्था सिर्जित हुने भएकाले यस्ता नयाँ धारणाहरूको समाज र साहित्यसँग नजिकको सम्बन्ध रहेको हुन्छ । त्यसैले मानवशास्त्र र बुढ्यौली साहित्यको सम्बन्ध अत्यन्तै निकट मानिन्छ ।
बुढ्यौली साहित्य र बिम्ब प्रतीक
बुढ्यौली प्रतीकात्मक हुन्छ । बुढ्यौलीमा विभिन्न प्रतीकको प्रयोग गरिएको हुन्छ । बुढ्यौली र प्रतीकको सम्बन्धद्वारा बुढ्यौली कथावस्तु वा कथानकको आधार बन्दछ । बुढ्यौली साहित्यमा कुनै सूक्ष्म भाव वा विचारलाई अभिव्यक्त गर्न प्रतीकको प्रयोग गरिन्छ । बुढ्यौली साहित्यलाई स्पष्ट पार्नका लागि प्रतीकको प्रयोग गरिन्छ । प्रतीक र बुढ्यौली मिलेर नै यथार्थ वा सत्यको उद्घाटन गर्दछन् । अगस्ति, दुर्वासा, नारदजस्ता प्रतीकद्वारा बुढ्यौली साहित्यमा पात्र र प्रवृत्ति दुवैलाई प्रष्टाउन सकिने हुनाले प्रतीक बुढ्यौली साहित्यको शक्ति हो । विभिन्न रूप वा स्वरूपको चर्चा गरेर बुढ्यौली अवस्थाको प्रतीकात्मक तथा बिम्बात्मक चित्रण गरिन्छ ।
बुढ्यौली साहित्य बिम्बका माध्यमबाट पनि व्यक्त भएको हुन्छ । शब्दचित्रका माध्यमबाट सूक्ष्म ता गम्भिर भाव बिम्बमा पाइन्छ । विम्ब प्रतीकभन्दा बढी प्रभावशाली हुन्छ । बिम्ब भाव चित्र हो । बुढ्यौली साहित्य आदिम मानवको तीव्र अनुभूतिको रूपलाई अतिप्राकृतिक तथा अलौकिक दैवीरचनाको लौकिक सन्दर्भमा बनेको मानसिक बिम्ब हो । बुढ्यौली साहित्य नै आफैं एक विशिष्ट बिम्ब हो ।
बुढ्यौलीसम्बन्धी केही उखान
साहित्यमा बुढ्यौलीसँग सम्बन्धित उखान टुक्काहरूको निकै प्रयोग भएका छन् । बुढ्यौली साहित्यका विविध पक्षसँगै आमाबा, बुढापाका तथा वृद्धवृद्धाको कथन, परिवेश तथा उदाहरणका उखान तथा टुक्काको प्रयोग गरिएको छ । बा, आमा, गुरु तथा मान्यजनप्रति सकारात्मक वा व्यङ्गात्मक रूपमा यस्ता उखान टुक्काको प्रयोग भएको पाइन्छ । साहित्यलाई सुन्दर र सोदाहरण स्पष्ट पार्न प्रयोग भएका उखान टुक्काहरू यस्ता रहेका छन् :
अरूको लाख आमाको काख
अरूले चाटेको र आमाबाबुले काटेको
आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको
अरू ठग्छ अरूलाई लाटो ठग्छ बाबुलाई
आफैं त बाबा मागी मागी खान्छन्
आई बुढी मच्चिदै गई बुढी थच्चिदै
उभो पित्र न उँधो न उभो
उहिले बाजेको पालामा पैसा गन्थे डालामा
कहिले सासूको पालो कहिले बुहारीको
कूँजालाई उठी सुख न बसी सुख
खुइलिएको टाउकोलाई मखमलको टोपी गनगने सासू फनफने बुहारी
गुरु थाप्नु जानेर पानी पिउनु छानेर
घर बलियो लिउनले बुढो बलियो तिहुनले
घरले जा जा र वनले आइज आइज
घिउ न तेल पका बुढी सेल
चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी
चोरलाई चौतारो साधुलाई सुली
छिमेकीले चाटेको र बाबुआमाले चुटेको ठाउ न ठहर बुढीको रहर
तन बुढो भए पनि मन बुढो हुँदैन
थोते मुखलाई पानको बिडा
देशका निम्ति बुढा लडाइँका निम्ति शूरा
दैव दिने पितृ हर्ने
नखाउँ त दिनभरको शिकार खाउँ त कान्छा बा को अनुहार
नदेखेको चोर बाबु समान
फुपूको धन मामाको श्राद्ध
बडासँग लागे गुवापान छोटासँग लागे नाक कान
बाघ बुढो र स्याल तन्नेरी
बलिया बाङ्गा बाघलाई बुढाखाडा माघलाई
बाघ लाग्यो घिच्याउन बुढी लागी चिच्याउन
बाबु मरे आधा टुहुरो आमा मरे पूरै टुहुरो
बाबाजीको कुटी मनोरञ्जनको बुटी
बाबुको बिहेमा छोरो जन्ति
बाबुआमाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुङ्गामुढामाथि
बाबु भिखारी छोरो भण्डारी
बुढेसकालको पुता यता न उता
बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधै माथि, मरेको बाउ केरा खाउ
बुढो गोरुले गाई ओगटे जस्तो
सुखको साथी सम्धी दुखको साथी मीत
बुढा मरे भाषा सरे
बुढो भयो सब रङ्ग गयो आँगन भयो परदेश
बुढोको खुट्टा यता न उता
बुढोले बिहे ग¥यो छिमेकीलाई चर्चा
भीरबारीमा मल हाल्नु र बुढो पोइलाई पोस्नु उस्तै हो
म गर्छु आग्राको कुरा सम्धी गर्छन् गाग्राका कुरा
मान्छे बुढो भए निहुँ खोज्छ वस्तु बुढो भए भीर खोज्छ
बाबुको कत्रो नाउँ कत्रो गाउँ म भने के खाउँ के लाउँ
रातभरि रूँग्यो बुढी ज्युँदै
हलगोरु मरे पुर्पुरोमा हात बाबुआमा मरे घिउ र भात
बुढ्यौलीसम्बन्धी केही गाउँखाने कथा
नेपाली सािहत्यमा बुढ्यौलीसँग सम्बन्धित गाउँखाने कथाहरूको निकै प्रयोग भएको छ । सोझो सिधा अर्थका साथै घुमाउरो र व्यङ्ग्यका रूपमा प्रयोग भएका यस्ता गाउँखाने कथाले निकै महत्त्व राखेका छन् । तिनको प्रयोग साहित्यमा भएको छ ।
पाठ्यक्रममा बुढ्यौली साहित्य
नेपाली विषयका पाठ्यक्रममा बुढ्यौली साहित्यका केही रचना समावेश गरिएका छन् । शिशु कक्षादेखि विश्वविद्यालय तहसम्म समावेश गरिएका साहित्यका विभिन्न विधाहरू कथा कविता, जीवनी, संस्मरण आदि रचना पाठ्यक्रममा समावेश गरिएका छन् । बुढ्यौली साहित्यको उद्देश्य उनीहरूलाई असल नागरिक बनाउनु हो । बुढ्यौली साहित्यका रचनाको उद्देश्य अर्ति, उपदेश तथा केही नैतिक आचरणद्वारा बालबालिकामा असल बानीको निर्माणका साथै अग्रजप्रति सम्मान व्यक्त गर्न सक्दछन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।