साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मनोविज्ञान, लोकसंस्कृति, आचरण, स्वैरकल्पना र बुढ्यौली साहित्य

मानिसको जन्म र हुर्केको वातावरणीय परिवेशले ऊभित्रको मनोविज्ञान निर्माण भएको हुन्छ भने प्रकृतिको जन्मसिद्धपन वा विपरित लिङ्गीप्रतिको वासना वा आकर्षण बालककालदेखि वृद्धावस्थासम्म पनि कायम रहेको हुन्छ, त्यसैले बुढ्यौली साहित्यमा वृद्धवृद्धाको आकर्षण, प्रेम, वासनाजन्य यावत् कुराको चित्रण गरिन्छ, गरिएको हुन्छ ।

Chovar Blues Mobile Size

बुढ्यौली साहित्य र मनोविज्ञान

बुढ्यौली साहित्यमा मानवका मानसिक बिम्ब, संवेग, स्वप्न र चेतनाका विविध पक्ष अभिव्यक्त हुने भएकाले मनोविज्ञान र बुढ्यौली साहित्यको गहिरो सम्बन्ध देखिन्छ । मनोविज्ञहरूले बुढ्यौली साहित्यलाई मानवको स्मृतिसँग जोडेर प्रस्तुत गरेका छन् जुन जीवनी, संस्मरण, वंशावली तथा कथाका रूपमा रचित छ । प्रसिद्ध मनोवैज्ञानिक सिग्मण्ड फ्रायडले बुढ्यौलीपन त्यससँग सम्बद्ध घटनालाई अचेतनका इच्छा तथा अनुभूतिसँग जोडेका छन् । उनले स्वप्न सिद्धान्तमा दबिएर रहेका इच्छाहरू सपनामा प्रतीकात्मक भएर अभिव्यक्त भएजस्तै मानव मनमा दबिएका, मानव जातिमा लुकेर रहेका कुराहरू साहित्यका माध्यमबाट उद्घाटित हुन्छ भनेका छन् । कार्ल गुस्ताभ युङले मानव जीवनका घटना र मनोविज्ञानलाई अचेतनसँग जोडेका छन् । त्यसैले बुढ्यौली साहित्यमा भएको मनोविज्ञानद्वारा मानव सभ्यताको चुरोसम्म पुग्न सकिन्छ ।

मनोविज्ञानका विभिन्न पक्षको अध्ययन गर्दा छोराको आमाप्रतिको प्रेम वा आकर्षण मातृरति ग्रन्थी र छोरीको बाबुप्रतिको प्रेममा पितृरति ग्रन्थीको कारण हो भनी चर्चा गरिएको छ । विपरित लिङ्गीप्रतिको आकर्षण वा स्वलिङ्गीप्रतिको विकर्षणले पनि मनोविज्ञानमा असर पार्दछ । उमेरगत मनोविज्ञानका विभिन्न चरणका कारण पनि मानिसको वृद्धावस्थामा वा बुढ्यौली अवस्थामा विपरित लिङ्गीप्रतिको आशक्ति रहन्छ । बालककालको कौतुहल बिस्तारै उमेरको वृद्धिसँगै बढ्दै जानु, सानैदेखि विपरित लिङ्गप्रतिको आकर्षण यौवनवस्थापछिको वृद्धावस्थामा पनि कायमै रहेको देखिन्छ जसको कारण वृद्धवृद्धाका जीवनका केही सहज र असहजपनको चित्रण मनोविज्ञानले गरेको छ । यसैका विभिन्न पक्षलाई हेरेर नजिकका विषय तथा वस्तुगत कुराको अध्ययन बुढ्यौली साहित्यमा भएको हुन्छ ।

मानिसको जन्म र हुर्केको वातावरणीय परिवेशले ऊभित्रको मनोविज्ञान निर्माण भएको हुन्छ भने प्रकृतिको जन्मसिद्धपन वा विपरित लिङ्गीप्रतिको वासना वा आकर्षण बालककालदेखि वृद्धावस्थासम्म पनि कायम रहेको हुन्छ, त्यसैले बुढ्यौली साहित्यमा वृद्धवृद्धाको आकर्षण, प्रेम, वासनाजन्य यावत् कुराको चित्रण गरिन्छ, गरिएको हुन्छ ।

बद्रीप्रसाद ढकाल
sagarmani mobile size

साहित्य कुनै भौगोलिक परिवेशमा बसोबास गर्ने जाति, तिनका संस्कार वा संस्कृति र चेतनालाई चिनाउने महत्त्वपूर्ण साधन हो । बुढ्यौली साहित्यमा समग्र मानवको अनुभव रहेकाले त्यसले मानव जीवनका विभिन्न पक्षसँग सम्बन्ध राख्दछ । मानव सभ्यताको विकाससँगै मानव मनोविज्ञानमा आएको परिवर्तन त्यसले पारेको सामाजिक प्रभावलाई तुलना गर्न सकिन्छ । विभिन्न समयमा भएका युद्ध, प्राकृतिक विनाश र त्यसले पारेको मानसिक प्रभावअनुसारको मनोविज्ञानको चित्रण बुढ्यौली साहित्यका संस्मरण, सवाइ तथा जीवनीका आख्यानमा पाइन्छन् । त्यसैले बुढ्यौली साहित्यलाई मानव सभ्यताको इतिहाससँगसँगै मानव चेतनाको दस्तावेज, मानव ज्ञानको प्रतीकात्मक रूप भन्न सकिन्छ । विभिन्न समयका शासक तिनका शासनकला, घटना, दुर्घटनामा मानव मनोविज्ञानकै भूमिका रहेकाले बुढ्यौली साहित्यमा मनोविज्ञानको चित्रण रहेको हुन्छ । बुढ्यौली साहित्य मनोविज्ञानसँग निकट भएर रचना हुन्छ भने मनोविज्ञानका विभिन्न रूप स्वरूपको प्रकटीकरण बुढ्यौली साहित्यमा पाइन्छ । त्यसैले प्राचीन मानव सभ्यताको मानवीय चेतन,अचेतन प्रतिबिम्बका रूपमा बुढ्यौली साहित्य र मनोविज्ञानको सम्बन्ध रहेको छ ।

बुढ्यौली साहित्य र स्वैरकल्पना

साहित्यका विधागत रचनामा स्वैरकल्पनाको प्रयोग भएको हुन्छ । बुढ्यौली साहित्यमा पनि स्वैरकल्पनाको प्रचुर प्रयोग भएको छ । बुढ्यौली साहित्यमा प्रस्तुत घटनाहरू वास्तविक सत्य वा तथ्यसँग निकट रहेर पनि यसलाई अझै मिठासपूर्ण, सुमधुर र प्रभावपरक बनाउन कल्पनाको प्रयोग गरिएको हुन्छ । मानवका अनुभव र अनुभूतिलाई नै जादूमय वा चामत्कारिक बनाउन साहित्यमा कल्पना र स्वैरकल्पनाको प्रयोग गरिएको हुन्छ । बुढ्यौली साहित्यले प्राचीन मानव सृष्टि र विकासक्रममा देखिएका प्राकृतिक, अतिप्राकृतिक, यथार्थ वा अतियथार्थलाई आख्यानमार्फत् प्रस्तुत गर्दछ ।

देव, देवी, दानव वा राक्षसका स्वरूप र घटनालाई प्रस्तुत गर्न काल्पनिकताका साथै स्वैरकल्पनाको प्रयोग गरिन्छ । देवीदेवताका चामत्कारिक घटनालाई आस्थावान् र विश्वासिलो बनाउन यथार्थभन्दा भिन्न स्वैरकल्पनाका माध्यमबाट प्रस्तुत गरिन्छ । पुराणहरूमा वर्णित देवदानव युद्ध, विभिन्न अवतार र कार्यलाई घनिभूत बनाउन उनीहरूका कार्यलाई चामत्कारिक, जादूमय बनाइएको हुन्छ । मानवका विशाल स्वरूप, सूक्ष्म स्वरूप, युद्धसीप, कलाकौशल तथा हतियारको प्रयोगलाई बुढ्यौली साहित्यमा चित्रण गरी प्रस्तुत गर्दा स्वैरकल्पनाको प्रयोग गरिएको हुन्छ । त्यसैले बुढ्यौली साहित्यमा स्वैरकल्पनाको प्रयोग पाइन्छ । बुढ्यौली साहित्यका कतिपय घटनाहरू आस्था वा अन्धविश्वासमा आधारित रहने हुनाले पुरातन विचार आस्था, डर, त्रास, भयजन्य परिवेशको पुष्टि गर्न त्यस्तो काल्पनिक घटना वा परिवेशको प्रयोग भएको हुन्छ । अति मानवीय घटनालाई सत्य बनाउन वा वैचारिक चिन्तनलाई पुष्टि गर्न यस्ता काल्पनिक परिवेशको निर्माण हुन्छ जसका माध्यमबाट बुढ्यौली साहित्यले सार्वभौम मान्यता पाउँछ । देवताका चमत्कारजन्य घटना, दानवका स्वरूप, रूप बदल्ने कला, अपत्यारिलो परिवेश, युद्ध, घटना आदिको वर्णनमा स्वैरकल्पनाको प्रयोग गरिएको पाइन्छ । संस्कृतिमा पाइने आस्थाजन्य धार्मिक परम्परागत मूल्य र मान्यतालाई जीवित राख्न पनि बुढ्यौली साहित्यका आख्यानमा स्वैरकाल्पनिकता र परिवेश निर्माणमा कल्पना पाइन्छ त्यसैले बुढ्यौली साहित्य र स्वैरकल्पनामा सहसम्बन्ध पाइन्छ ।

बुढ्यौली साहित्य र नैतिक आचरण

प्राचीन समाजको कानुन नै धर्म थियो । असल जीवन पद्धति , विधि , नैतिक आचरण र सामाजिक प्रचलन मान्य थिए । तिनै विविध विषयवस्तुहरू बुढ्यौली साहित्यमा लेखिएका छन् । ती विषयलाई मूल आधार मानेर बुढ्यौली साहित्य रचना गरिने र गरिएकाले नैतिक आचरण र बुढ्यौली साहित्यको सम्बन्ध स्पष्ट देखिन्छ । ऋषि मनीषीहरूका आचरण नै पुराणमा वर्णित भएका हुन्छन् भने कतिपय प्रसङ्गमा अर्ति उपदेशका रूपमा आउने भएकाले बुढ्यौली साहित्य र नैतिक आचरण सँगसँगै आएका छन् । बुढ्यौली साहित्य कथा वा आख्यानमा वर्णित असल नैतिक आचरणले प्राप्त सुखानुभूति आनन्द र सहायता तथा खराब नैतिकहीन कार्यका कारण पाएको दुखादिको वर्णन गरिएको हुन्छ । बुढ्यौली साहित्यका माध्यमबाट आदर्श समाज निर्माणमा उदाहरणको कार्य हुने भएकाले देवी देवताका असल कार्यलाई अनुसरण गर्दा धर्म वा असल कार्य हुने भन्दै खराब कर्मले पाप वा मृत्युपछिको भयजन्य परिवेशको चर्चा गरिन्छ । नैतिक आचरणका माध्यमबाट सामाजिक परिपाटी संस्कार र मान्यतालाई निरन्तर अगाडि बढाउन पनि बुढ्यौली साहित्यले पथप्रदर्शकको कार्य गर्ने भएकाले बुढ्यौली साहित्य र नैतिक व्यवहारको आपसमा सम्बन्ध रहेको छ ।

बुढ्यौली साहित्यद्वारा निर्देशित कर्म असल र त्यसले सुखानुभूति प्राप्त हुने कथनद्वारा नैतिक व्यवहार तथा आचरण निर्धारण भएका हुन्छन् । असल नैतिक आचरण भएका मानवहरूको वर्णन राजा महाराजाका कथा आख्यानद्वारा असल सभ्यसमाज निर्माणका लागि बुढ्यौली साहित्यले असल भूमिका निर्माण गर्ने भएकाले बुढ्यौली साहित्य नैतिक आचरणसँग सम्बन्धित छ । पूर्वीय तथा पाश्चात्य मिथ वा मिथोलोजीमा देवीदेवता र राक्षसका कार्य र तिनद्वारा उत्पन्न सामाजिक परिवेशको चर्चा गरिएको छ । देवतालाई आदर्श मानेर असल कार्यका लागि उत्प्रेरित गर्ने काम बुढ्यौली साहित्यका घटनाले गर्दछन् भने नैतिक आचरणद्वारा नै देवता र दानवको स्वरूप निर्धारण गरिने प्रक्रिया समाज विकासमा रहेकाले बुढ्यौली साहित्यद्वारा निर्देशित असल कार्यको सम्बन्धद्वारा नैतिक आचरण बन्दछ । त्यसैले बुढ्यौली साहित्य र नैतिक आचरणको सह–सम्बन्ध छ ।

बुढ्यौली साहित्य र लोकसंस्कृति

हाम्रो समाजमा प्रचलित संस्कृति नै लोकसंस्कृति हो । यो समाजमै प्रचलित रीतिरिवाज तथा चालचलन हो । बुढ्यौली साहित्यमा सामाजिक रीतिस्थिति, परम्पराको वर्णन पाइन्छ । त्यसैले बुढ्यौली साहित्यमा वर्णित व्यवहार भिन्न परिवेशका कार्यहरू लोकसंस्कार हुन् । बुढ्यौली साहित्य र समाजको आस्था तथा विश्वासका प्रचलित व्यवहारले लोकसंस्कृतिको निर्माण गर्दछ । पूजापाठ, व्रत उपासना, श्राद्ध, प्रकृतिपूजन आदि प्रचलित लोकसंस्कृति बनेका छन् । धामी झाक्री, तन्त्रमन्त्र, झारफुक आदि लोकविश्वाससँग जोडिएका छन् । भौगोलिक वा जातीय परिवेशअनुसारका देवीदेवताका प्रार्थना अनुष्ठान तथा कार्यहरू प्राचीन कालदेखि निरन्तर चलिआएका छन् । प्राचीन समाजको धर्म, विधि, नैतिकता र सामाजिक प्रचलनका बारेमा बुढ्यौली साहित्यले वर्णन गर्दछ । बुढ्यौली साहित्यले सामाजिक विश्वास, क्रिया, अनुष्ठान र नैतिकआचरणलाई निरन्तरता दिने कार्य गर्दछ जसले गर्दा लोकसंस्कार तथा लोकसंस्कृतिको निर्माण गर्दछन् । लोकसंस्कृतिका वृत्त वा परिधिमा सांस्कृतिक मान्यतालाई बुढ्यौली साहित्यले व्यवस्थित गरी अगाडि बढाउँछ र जीवन्त राख्दछ । बुढ्यौली साहित्यमा सांस्कृतिक परम्पराको सत्यतथ्यको उद्घाटन गरिएको हुन्छ । जसको वर्णनमा लोकसाहित्यको निर्माण हुन्छ । लोकसाहित्य परम्परित रहने हुनाले प्राचीन तथ्यको वर्णन बुढ्यौली साहित्यमा पाइन्छ ।

बुढ्यौली साहित्य सांस्कृतिक सत्य उद्घाटित हुन्छ । त्यो सत्यलाई लोकसाहित्यले लेख्य बनाउँछ र लोकपरम्परा अगाडि बढ्छ । बुढ्यौली साहित्यका माध्यमबाट संस्कृतिअन्तर्गतको सामाजिक अवस्थाको खोजी गर्न सकिन्छ, त्यसैले साहित्यमा बुढ्यौलीपक्षको अतीत र वर्तमानको सामाजिक पक्षलाई चित्रण गरिएको हुन्छ । समयको परिवेशसँगै सामाजिक आर्थिक अवस्थामा पनि परिवर्तन घटित हुन्छ । लोकसमाजमा घटेका ऐतिहासिक विकास प्रक्रियालाई कथ्य रूपमा ग्रहण गर्दै लोकपरम्परालाई अगाडि बढाउने कार्य बुढ्यौली साहित्यका माध्यमबाट हुने भएकाले बुढ्यौली साहित्य र लोकसंस्कृति तथा लोकसाहित्यको भूमिका रहेको छ । बुढ्यौली साहित्यमा कुनै निश्चित परिवेशमा घटेका घटना, जीवनको भोगाइ अनुभूति, आस्था र विश्वासलाई समेटिएको हुन्छ जुन लोकपरम्परा बन्छ, लोकसंस्कृति बन्छ, त्यसैले सामाजिक विकासमा बुढ्यौली र लोकसंस्कृतिको परिपूरक सम्बन्ध रहन्छ ।

लेखक परिचय
बढ
बद्रीप्रसाद ढकाल
प्रतिक्रिया
Loading...