….डाक्टरसाब ! म दुःखी आत्मा । मेरो बाँच्नुको पो के प्रयोजन ? मलाई मर्न नै दिनुभएको भए हुन्थ्यो । यो स्वार्थी दुनियाँमा म असहाय, बेसहारा … केही पनि काम गर्न, कसैलाई पनि खुसी पार्न असमर्थ मान्छे । म यहाँ हुनु या नहुनुको के अर्थ ? म मरे पनि यहाँ कसैलाई केही पनि हुन्न । सबै खुसी हुन्छन् । … बाबुआमा, माइती छैनन् मेरा । श्रीमानले मभन्दा राम्री श्रीमती अनि छोराछोरीले मभन्दा असल आमा पाउँछन् । मेरो यहाँ केही गणना छैन । … मलाई बचाउन नखोज्नुस् डाक्टरसाब । बिन्ती डाक्टरसाब ! मलाई मर्न दिनुस् । अहिले बचाएर के गर्नुहुन्छ ? घर गएपछि म फेरि मरिहाल्छु ….
मायादेवी, ३५ वर्षीया दुई सन्तानकी आमा, स्थानीय बोर्डिङ्ग स्कूलमा प्राथमिक कक्षामा पढाउने एक शिक्षिका । कीटनाशक औषधि प्रयोग गरी आत्महत्याको प्रयास गर्दा छिमेकीले थाहा पाएर हाम्रो अस्पतालमा ल्याइपुर्याइएकी । आपतकालीन अवस्थामा इमर्जेन्सीमा अनि केही दिन आइसियूको उपचारपछि शारीरिक रुपमा सक्षम भएर हाम्रो मानसिक विभागमा स्थानान्तरण भई आइपुगिन् तिनी । तिनीसँगको करीब एक–डेढ घण्टाको कुराकानीका क्रममा उपरोक्त भनाइहरु आएका हुन् तिनको । परिवार–छिमेकीसँगको निरन्तर छलफल अनि हामीसितको मनोसामाजिक विमर्श आदि पछि तिनको मानसिक समस्या खुट्याउन सफल भयौं हामी । वास्तवमा तिनले पोखिरहेकी थिइन् उनका उदास मनको नमिठो कथा ।

उदासीनता, तनाव, शारीरिक थकान, स्वत्वको ह्रास आदिका कारण विगत छ महिनादेखि‘डिप्रेसन’रोगको प्रकोपमा परेकी रहिछिन् तिनी । सानैमा आमाबाबु गुमाएकी तिनले कलिलै उमेरमा प्रेमविवाह गरेकी रहिछिन् आफ्नो कलेजका साथी प्रेमबहादुरसँग । तर श्रीमान् प्रेमबहादुरमा विद्यमान मद्यपानजन्य समस्या, त्यसैका कारण तिनले पाउने निरन्तरको शारीरिक एवं मानसिक प्रताडना आदिका कारण पनि होला, तीन वर्षे छोरी र डेढ वर्षे छोरा भइकन पनि छ वर्षदेखिको तिनको वैवाहिक जीवन त्यत्ति सुखमय हुन सकेको रहेनछ । घर एवं माइतीमा नै पनि कोही पाका अभिभावक पनि नभएका कारणले सुत्केरी अवस्थामा पनि राम्रो स्याहार भएको रहेनछ तिनको । माध्यामिक स्कूलका शिक्षक तिनका श्रीमान्प्रेमबहादुरले रक्सी खाएर पटक पटक शारीरिक एवं मानसिक यातना दिने रहेछन् तिनलाई । मद्यपानजन्य समस्याका कारण थुप्रैचोटि अस्पताल लैजाँदा पनि रक्सी पिउने दैनिकीमा सुधार भने आएन उनको । मद्यपानजनित समस्याकै कारण स्कूलको जागीरबाट निकालिएर घरै बस्न थालेका रहेछन् उनी । बेरोजगार भएर घरै रहन थालेपछि जाँडरक्सीका अतिरिक्त जुवातासको लत पनि बस्न थालेछ उनमा । बेरोजगार एवं कुलतमा परेका श्रीमान्, घरको कमाइ गर्ने अन्य कोही पनि नभएको, र सहारा दिने अभिभावक (सासु–ससुरा)को समेत अभाव भएको अवस्थामा निरन्तर भइरहेको यातनामा पनि वृद्धि हुन थालेपछि नैराश्यता, हीनताभाव, ‘मर्ने चाहना’आदि ‘डिप्रेसन’का लक्षणहरु आउन थालेछ तिनमा । थुप्रै पटक बनेका मर्ने योजनाहरु साना छोराछोरीको सम्झनाले निस्तेज भएका रहेछन् । तर अघिल्लो दिनको श्रीमान्को प्रताडनाले गर्दा त्यो इच्छा बलियो बन्न पुगेको र घरकै बगैंचामा प्रयोग गर्ने गरेको ‘कीरा मार्ने ओखती’खाएर आत्महत्या गर्न चाहेकी रहिछिन् तिनले । कसैले थाहा नपाओस् भनी बेलुका सबै सुतेपछि त्यो औषधि प्रयोग गरे तापनि तिनको छटपटाहट, छोराछोरीको रुवाइ आदिले गर्दा छिमेकीहरुले थाहा पाएपछि अस्पताल ल्याइएकी थिइन् तिनी ।

प्रा. डा. अजय रिसाल

मानसिक रोगका तीन आयामका आधारमा तिनको यो “मनको कथा”लाई केलाई हेर्दा,

१. विचारमा देखिने हीनताग्रन्थी प्रबल भएका लक्षणहरु जस्तै बेसहारापन, आफूलाई बेकामे ठान्ने, मर्ने चाहना प्रबल भई आत्महत्याकै विचार आउने, नकारात्मक अनि नैराश्यका चिन्तनहरु ।

२. उदास मनस्थितिका प्रभावहरु जस्तै एकाकीपन, आँसु आउने, रुन मन लाग्ने, कसैसँग बोल्ने चाहना नहुने ।

३. व्यवहारजन्य समस्याहरु जस्तै काम गर्ने जाँगर नलाग्ने, थकान, आफैंलाई मार्ने उद्योग गर्ने ।

यी सबै लक्षणहरु स्पष्ट खुट्टिएको थियो तिनले अभिव्यक्त गरेको तिनको “मनको कथा”मा । त्यो कथाले एक महत्वपूर्ण मानसिक समस्याको उद्बोधन गरेको छ उदासीनता अर्थात् ‘डिप्रेसन’।

अझै गहिरिएर अध्ययन गर्दा, उपरोक्त दृष्टान्तले एक अर्कासँग अन्तर्सम्बन्धित भएर रहेका तीन महत्वपूर्ण मानसिक समस्याहरु दर्शाएको छ । आत्महत्या, त्यसको कारकतत्त्वका रुपमा रहेको ‘डिप्रेसन’, अनि ‘डिप्रेसन’ग्रस्त व्यक्तिलाई आत्महत्याको संघारमा पुर्याउने पारिवारिक कारण–मद्यपान । अनि ती सबैमा अन्योन्याश्रित रुपमा रहेका पारिवारिक अनि आनुवंशिक तनावजन्य अवस्थाहरु ।

‘डिप्रेसन’ गाउँशहर, देशविदेश सबैतिर परिचित मानसिक समस्या हो । ‘डिप्रेसन’ साँच्चै नै मानसिक रोगको प्रमुख प्रकार मानिए तापनि जनजिब्रोमा एउटा लाक्षणिक अर्थको रुपमा सबै किसिमका “मानसिक रोग”को नै पर्यायवाची भएर रहेको छ ।

सन् १९९० देखिका सबैजसो विश्वव्यापी सर्वेक्षणहरूमा यो रोग अन्य सबै शारीरिक एवं मानसिक समस्याहरूमध्येका असमर्थताको प्रमुख कारकतत्त्वको रुपमा देखिएको छ । दक्षिण एसियाली मुलुकहरूको तथ्याङ्कले पनि यही कुरा नै प्रष्ट्याउँछ । हाम्रो मुलुकका १८ देखि ६५ वर्ष उमेर समूहका वयस्कहरूमा करीब १२ प्रतिशत ‘डिप्रेसन’ देखिएको हामीले नै सन् २०१३ मा गरेको अध्ययनले दर्शाएको थियो । बालबालिका एवं प्रौढहरुलाई पनि त्यसमा समावेश गरिएको भए ‘डिप्रेसन’को आँकडा अझै बढ्न जाने यथार्थलाई नकार्न सकिन्न । दुई वर्षयताको कोभिड महामारीका कारण त यसको आँकडा झनै बढ्न पुगेको हालसालैका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सर्वेक्षणहरुमा नै छरपस्टिएका छन् ।

विश्वव्यापी सर्भेक्षणले महिलाहरुमा पुरुषहरुभन्दा झण्डै दुई गुणा बढी ‘डिप्रेसन’हुनसक्ने सम्भावना देखाएको छ । यसको जीवनभरिको सम्भावनाको अनुपात पुरुषमा (८—१२)% अनि महिलामा (२०—२४)% मानिएको छ ।

महिलाहरुमा बढी‘डिप्रेसन’ हुने कारकतत्वहरुमा मासिक रुपमा महिनावारीको समयमा हर्मोनहरु (इस्ट्रोजेन, प्रोजेस्टेरोन)मा आउने उतारचढाव र त्यसको मनोवैज्ञानिक असर, गर्भवती र प्रसुतीको समयमा हुने शारीरिक, रासायनिक एवं मानसिक परिवर्तन, सामाजिक क्षेत्रमा नियमित आइपर्ने जिम्मेवारीमा हेरफेर (छोरी, श्रीमती, बुहारी, जेठानी, देवरानी, नन्द, आमाजु, आमा, सासु), गृहस्थावस्थाका समस्याहरु, कामकाजी महिलाहरुमा रहने कार्यबोझ आदि पर्दछन् ।

प्रायःजसो युवा–किशोरवर्ग, गर्भवती अनि सुत्केरी आईमाई अनि ६० काटेका प्रौढजन ‘डिप्रेसन’को शिकार बन्ने खतरा बढी हुने र त्यसले परिणामहरु पनि भयावह बनाउने गर्दछ । हामीले दुई वर्षअघि गरेको काभ्रे जिल्लाव्यापी अध्ययनमा करीब आधाजति नै ६० काटेका ज्येष्ठ नागरिकमा डिप्रेसन पाइएको थियो ।

सानै उमेरमा ‘डिप्रेसन’ हुँदा तिनको पेशा, परिवार र भविष्य सबै डामाडोल बन्नजाने, गर्भवती या प्रसुती अवस्थामा रहेका महिलाहरुमा देखापर्ने ‘डिप्रेसन’ले गर्भमा रहेको या नवजात अवस्थाको शिशुको वृद्धि विकासमा असर पर्ने अनि प्रौढावस्थामा भएको ‘डिप्रेसन’ले मुटुरोग, मधुमेहजस्ता अन्य शारीरिक रोग या डिमेन्सिया जस्तो मस्तिष्कजन्य रोगको खतरा बढी हुने र तिनको निदान अनि उपचारमा पनि बढी असजिलो देखापर्ने गर्दछ ।
वास्तवमा गरीबी, बेरोजगारीजस्ता सामाजिक कारणहरु, जीवनमा आइपर्ने कठिनाइ, तनाव जस्तैः नजिकका व्यक्तिको मृत्यु, बिछोड, व्यवसायमा देखापर्ने हानीनोक्सानी आदि पनि ‘डिप्रेसन’का कारकतत्व हुनसक्छन् । शारीरिक रोग, मद्यपान, लागूपदार्थ दुव्र्यसन आदिले पनि ‘डिप्रेसन’हुने संभावना बढाउन सक्दछन् । यी सामाजिक–आर्थिक कारण बाहेक हाम्रोजस्तो मध्य तथा निम्नवर्गीय आयः भएको मुलुकमा यस्ता मानसिक समस्यालाई लुकाउने, यसको बारेमा कुरै गर्न अफ्ठ्यारो मान्ने, डाक्टरलाई भन्दा धामीझाँक्री, ज्योतिषी, ‘जान्ने’लाई यस्ता समस्या परेमा बढी विश्वास गर्ने कारणले गर्दा यस्ता रोगहरुको बढोत्तरी हुन पुगेको मान्न सकिन्छ ।

कार्यक्षमतामा ह्रास आउने, मधुमेह, उच्च रक्तचापजस्ता शारीरिक रोगहरुझैं दीर्घरुपमा नै जीवनैभर प्रभावित गर्नसक्ने यस रोगको अर्को महत्वपूर्ण आयाम भने यस रोगका कारण बिरामीले आत्महत्या गर्नसक्ने जोखिम अत्यन्तै उच्च रहनु हो । ‘डिप्रेसन’ आत्महत्याको महत्वपूर्ण कारकतत्व हो, अनि आत्महत्या १५–२९ वर्षे युवाहरुको मृत्युको दोस्रो ठूलो कारण हो । त्यस्तै ‘डिप्रेसन’ले पीडित बिरामीहरु मद्यपान एवं अन्य लागूपदार्थ दुव्र्यसनको चपेटामा फस्न सक्ने संभावना पनि बढी नै हुन्छ ।

यस्तो भयावह तथ्यांकको फेहरिस्त प्रस्तुत गर्दागर्दै पनि एउटा सकारात्मक पाटोलाई भने हामी सधैं नै नजरअन्दाज नै गर्दछौं ।

यस्तो घातक रोगको उपचार त्यत्ति गाह्रो, त्यत्ति महंगो भने छैन । विभिन्न मुलुकहरुमा भएका अध्ययनले देखाएअनुसार डिप्रेसनको उपचार त्यत्तिसारो जटिल पनि छैन । युगाण्डामा सन् २००३ मा भएको शोधकार्यले सामान्य परामर्श सेवा एवं ईन्टर्पर्सनल साइकोथेरापी (व्यक्तिगत या समूहगत)ले मात्र पनि डिप्रेसनमा उल्लेखनीय सुधार ल्याएको प्रष्ट पार्यो । त्यस्तै सन् २००६ मा चिलीमा भएको अध्ययन होस् या सन् २०१० मा भारतमा गरिएको सर्वेक्षण, दुवैले प्राथमिक स्वास्थ्य कार्यकर्तालाई दिइने सामान्य तालिमले मात्र पनि डिप्रेसनको न्यूनीकरण गर्न सहायता पुर्याउने स्पष्ट पारेका छन् ।
नियमित उपचार एवं मनोविमर्शले यस रोगलाई सजिलै नियन्त्रण गर्न सकिन्छ । सामान्य अवस्थामा रहेका ‘डिप्रेसन’ रोगीहरुलाई मनोविमर्शबाट मात्र या ६ देखि ९ महिनाको औषधोपचारबाट मात्र नै निको गराउन सकिन्छ । जटील किसिमका रोगीहरुले समेत औषधि या ‘करेण्ट उपचार’द्वारा ‘डिप्रेसन’मुक्त जीवन प्राप्त गर्न सक्दछन् ।

तर दुःखको कुरा, यति सहज उपचार हुने कुरा अध्ययनहरुले देखाउँदा देखाउँदै पनि विश्वव्यापी रुपमा ५०% भन्दा कमैले मात्र यसको उपचार पाउन सकेका छन् । कुनै मुलुकमा त १०% रोगीहरुले मात्र उपचार गराउने गरेको पाइएको छ । यसरी ५० % को हाराहारीमा उपचारविहीन ‘डिप्रेसन’का बिरामी छन् विश्वभर । स्पेन, इजरायल, अष्टेलिया, ब्राजिल, रसिया एवं अमेरिकाजस्ता देशमा समेत चिकित्सकलाई देखाइसक्दा पनि डिप्रेसनको उपचार नगराउने जनसंख्या ज्यादा छन् । बेल्जियममा उपचार गराउने जनताको अनुपात मात्र १४ % छ , त्यस्तै अवस्था छ पेरु, मेक्सिको, भेनेजुएला आदि देशको ।

हाम्रो मुलुकमा त यस्ता अध्ययन भएका नै छैनन् । गाउँघरमा, पहाडी एवं हिमाली क्षेत्रमा धामी झाँक्रीबाट उपचार गराउने अशिक्षित एवं गरीब जनताको हालत के होला ? त्यसमाथि मानसिक रोगलाई लुकाउने, ती रोगीहरुलाई दाम्लाले बाँधेर या खोरमा थुनेर राख्ने पारिवारिक एवं सामाजिक अवस्था भएको हाम्रो देशमा कति डिप्रेसनग्रस्त जीवन आत्महत्याद्वारा नाश भए होलान् ? कति मद्यपान एवं लागूपदार्थको नशामा डुबिरहेका होलान् ?
सामान्य ‘डिप्रेसन’ लाई जटील अवस्थामा जानबाट रोक्नु अनि जटील अवस्थाकालाई आत्महत्याबाट जोगाई तिनको असमर्थतामा कमी गराउनु नै हामी मनोचिकित्साकर्मीहरुको मुख्य उद्देश्य हो । वास्तवमा ‘डिप्रेसन’ हुँदैमा कसैले जागीरै छोड्नुपर्ने, घरपरिवार या मित्रहरुको सरसंगत नै त्याग गर्नुपर्ने अवस्था आउँदै आउँदैन । नियमित उपचार गरेको दुई महिना जतिमा नै जटील किसिमका डिप्रेसन’ कारोगीहरु पनि आफ्नो पुरानै अवस्थामा सजिलै फर्कन समर्थ बन्दछन् । तर मनोपरामर्श अनि चिकित्सकको सल्लाहअनुसार औषधि भने चलाई नै रहनुपर्दछ । यस पाटोमा परिवारको अनि साथीसंगीको भूमिका भने महत्वपूर्ण नै हुन्छ ।

पुनश्चः‘डिप्रेसन’लाई हुन नदिन या निको पार्न त्यत्ति गाह्रो भने छैन, मात्र त्यसको बारेमा कुराकानी गरी त्यसप्रतिको लोकलज्जा घटाउन सक्नु पर्दछ । त्यसैले रोगी, उसका परिवारजन, साथीसंगी, अन्य स्वास्थ्यकर्मी मात्र नभई स्कूल, कार्यस्थल अनि मिडियाकर्मी र फेसबुक–ट्वीटरजस्ता सामाजिक संजालमा कुराकानी बढाउनुपर्छ, चेतना जगाउनुपर्छ ।

त्यसैले ‘डिप्रेसन’को बारेमा कुरा मात्रै गर्नु नै पनि हाम्रा लागि महत्वपूर्ण छ । त्यसैले हाम्रो सोचाइमा सुधार ल्याऔं । मनोस्वास्थ्यकर्मी या मनोचिकित्सकसँग परामर्श लिन अफ्ठ्यारो मान्ने समाजलाई परिवर्तन गरौं । ब्लडप्रेसर, चिनीरोग जस्तै ‘डिप्रेसन’ लाई पनि नियमित औषधिसेवन गरेर या स्वास्थ्यकर्मीहरुसँग निरन्तर सम्पर्कमा रहेर, पथपहरेज गरेर नियन्त्रणमा राख्न सकिन्छ । यही नै सकारात्मक या ‘पूर्ण स्वास्थ्य’को लक्ष्य प्राप्त गर्ने दिशातिर लाग्ने प्रमुख एवं महत्वपूर्ण कडी हो । ‘पूर्ण स्वास्थ्य’का लागि मानसिक स्वास्थ्य ठीक रहनुपर्दछ अनि त्यसका लागि ‘डिप्रेसन’जस्ता मानसिक रोगहरुका बारेमा खुलस्त कुरा गर्ने वातावरण हामीले तयार गर्नुपर्दछ । यही तथ्यलाई नै आत्मसात गरेर नै होला, सन् २०१७ का लागि विश्व स्वास्थ्य संगठनले तोकेको ‘विश्व स्वास्थ्य दिवस’को नारा थियो, ‘डिप्रेसन’को कुरा गरौं ।

यो सानो कथानक प्रस्तुतिद्वारा लेखक सम्पूर्ण सचेत पाठकवृन्दलाई ‘डिप्रेसन’ खाली व्यावहारिक कठिनाई या दुःखका कारण उत्पन्न हुने स्वभावजन्य क्षणिक परिवर्तन या लक्षणमात्र नभई पुनः पुनः दुःख दिइरहन सक्ने दीर्घ किसिमको मानसिक रोग हो र अन्य शारीरिक रोगहरुलाई झैं यसको पनि यथाशीघ्र उपचार गराउन अग्रसर भई मानसिक रुपले पनि सबल र स्वस्थ रहने सल्लाह दिन चाहन्छु ।

त्यसैले, आऔं, हाम्रो समाजमा रहेका सामान्यभन्दा सामान्य ‘डिप्रेसन’ रोगीहरुको पनि पहिचान गरी उपचारका लागि प्रोत्साहित गरौं । लोकलज्जाको विषय नबनाऔं यसलाई । आफूलाई अलिकति पनि “मनोबलमा कमी भएको या नकारात्मक विचारको प्रबलता भएको अथवा आत्महत्याको विचार आएको” महसूस हुनासाथ मनोचिकित्सकसँग परामर्श गर्न अफ्ठ्यारो नमानौं । ‘डिप्रेसन–मुक्त जीवन’ जिउनका लागि सबैजना हातेमालो गर्दै अघि सरौं ।

अन्तमा, यसैसँग सम्बन्धित एउटा अर्को प्रसंग

डाक्टरसाब ! मलाई ‘डिप्रेसन’ भएजस्तो छ, एउटा २१ वर्षे कलेजमा पढ्ने विद्यार्थी मेरो ओ.पि.डी. मा आए एक दिन । म त एकैछिन् असमान्जस्यतामा नै परें । तर मनले भने सकारात्मक नै सोच्यो, “मानसिक रोगप्रतिको नकारात्मक दृष्टिकोण त परिवर्तित भइरहेको रहेछ । आफूलाई ‘डिप्रेसन’ भएको भनेर कुनै विद्यार्थी सिधै मनोचिकित्सककहाँ नै आउनु हामीजस्ता मनोस्वास्थ्यकर्मीहरुले सन्तोषजनक नै मान्नुपर्छ ।”

म फेरि पनि भन्छु, खुलस्त रुपमा आफ्नो ‘डिप्रेसन’को कथा भनौं । निर्धक्क भएर ‘डिप्रेसन’को कुरा गरौं ।