१. मुसुमुसु हाँस्दछिन् – सूर्य खड्का बिखर्ची
पिँढीनेर जाँतो छ
जाँतोनेर ढिकी छ
मेरी सानी नानीको
निधारमा टिकी छ ।
लाली घस्छिन् ओठमा
गाजल लाउँछिन् आँखामा
ताराबाजी भनेर
गीत गाउँछिन् भाकामा ।
गालाभरि सेताम्मै
पाउडर घस्दछिन्
केही भन्नु हुँदैन
ठुस्किएर बस्दछिन् ।
पाउमा पाउजु लगाई
छम्छम् नाच्दछिन्
सेता दाँत देखाई
मुसुमुसु हाँस्दछिन् ।
(‘गमलाको फूल’ बालकवितासङ्ग्रहबाट)
—————————————
[कास्की जिल्लाको रमणीय गाउँ रूपाकोट भोर्लेमा जन्म भई हाल नदीपुर पोखरामा स्थायी बसोबास गर्दै आएका कवि सूर्य खड्का ‘बिखर्ची’ (२०१३) गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य समेत हुन् । दर्जनौँ साहित्यिक संस्थामा आबद्ध कवि बिखर्चीले भजन, कविता तथा मुक्तक प्रतियोगितामा सहभागी भएर राष्ट्रिय पुरस्कार समेत हात पारेका छन् । साहित्य, संस्कृति, पत्रकारिता, सङ्गीत आदि विधासँग सम्बद्ध मान-सम्मानबाट उनी सम्मानित पनि भइसकेका छन् । साहित्यलेखन र सम्पादन बाहेक राजनीति, समाजसेवा र शिक्षाक्षेत्रमा समेत उनको खारिएको अनुभव छ । कविता, खण्डकाव्य, मुक्तक, गीत, बालकविता, समालोचना, एकाङ्की लगायतका सबै विधामा गरेर उनका हालसम्ममा ५४ वटा पुस्तकहरू छापिइसकेका छन् । बालसाहित्यतर्फ कवि बिखर्चीको ‘गमलाको फूल’ नामक बालकवितासङ्ग्रह प्रकाशित छ । बालबोलीको प्रयोग, मिल्दो अन्त्यानुप्रासको योजना, लोकलयात्मकता, कल्पनाशीलता, भाषिक सरलता र सुबोध्यता, बाल आनीबानीको चित्रण, प्रकृतिप्रेम, समयको महत्त्वबोध, राष्ट्रियता, स्व-संस्कृतिप्रतिको चासो र अनुराग, प्राकृतिक जीवजन्तु र चराचुरुङ्गीको प्रसङ्ग, बाल मनोवैज्ञानिकता र बालसुलभ कोमलता आदि उनका बालकविताका विषयवस्तु र वैशिष्ट्य दुवै हुन् । उनको प्रस्तुत ‘मुसुमुसु हाँस्दछिन्’ बालकविता बालबोलीलाई टिपेर बालोरी छन्दमा लेखिएको लोकलयात्मक बालकविता हो । कवितामा सानी नानीलाई मुख पात्र बनाई उनको स्वभावको चर्चा गरिएको छ । बालबालिकामा हुने अनुकरणात्मक प्रवृत्ति, बालबालिकाले उमेर अनुसार गर्ने क्रियाकलाप र बालसुलभ चञ्चलतालाई देखाउँदै बालमनोविज्ञानको चित्रण गर्न कविता सफल छ । पूर्ण अन्त्यानुप्रासको योजना रहेको यो बालकविता सरर्र बग्ने खालको धाराप्रवाहात्मक शैलीमा लेखिएको छ ।]
***************************************
२. स्कुल जान मन छ – सुरेन उप्रेती
साना हातले समाएर
कखगघ लेख्दा
मन मेरो रमाउँछ
साना साथी भेट्दा
सरसर लेखी दिन्छु
उनका मनका कुरा
अक्षर अनि शब्द-वाक्य
बनाएर पूरा
हतार गरी लत्तपत्त
लेखे मन रुन्छ
ढिला गरी राम्रो लेखे
मन खुसी हुन्छ
ज्ञानी भई लेखपढ् गर्ने
देख्दा हाँस्छ मन
खान छोडी रुने देख्दा
दुख्छ मेरो मन ।।
——————————————
[नेपालको पाँचथर घर भई हाल क्यानडामा बसोबास गर्दै आएका कवि सुरेन उप्रेती (सन् १९६९) नेपाली भाषा, साहित्य र समाजसेवाका क्षेत्रमा समर्पित छन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका उप्रेती कथा, कविता, निबन्ध आदि विधामा योगदान पुर्याए बापत विभिन्न संस्थाबाट सम्मानित र पुरस्कृत पनि भइसकेका छन् । एनआरएनए क्यानडाका उपाध्यक्ष समेत रहिसकेका उनी अन्तर्राष्ट्रिय बालसाहित्य प्रतिष्ठानसँग पनि आबद्ध छन् । नेपाली भाषा पाठ्यपुस्तक प्रकाशन क्यानडाका संयोजकको भूमिका निर्वाह गरेका उनले प्रवासमा कक्षा १ देखि ८ सम्मको नेपाली शिक्षा सम्पादनको समेत अनुभव सँगालेका छन् । बालसाहित्यतर्फ उनका अजम्मरी माया, पछुतो र आकाशे परी (बालकथा सङ्ग्रह) तथा झिलिमिली तारा (बालगीत सङ्ग्रह) लगायतका कृति प्रकाशित छन् । उनले बालकविता तथा बालगीतका क्षेत्रमा समेत कलम चलाएका छन् । प्रस्तुत ‘स्कुल जान मन छ’ बालकवितामा कवि बालपात्रका रूपमा उभिएका छन् र अक्षरबाट शब्द हुँदै वाक्य लेख्न जानेका कुरालाई बालकको भाषामा सरल ढङ्गले अभिव्यक्त गरेका छन् । काम गर्दा हतार नगरी धैर्यका साथ गर्ने र ज्ञानी भई लेखपढ गर्ने बाल-इच्छा कवितामा व्यक्त भएको छ ।]
*******************************************
२. ऋतुरानी – टीका आत्रेय
भुईभरि झरेको छ शिशिरको पात
डाली डाली वसन्तले फैलाएछ हात
पहाडका कपालमा चाँप फुलेको छ
गुराँसको गालाभरि लाली झुलेको छ
कुहुकुहु गुन्जिएको कोइलीको गीत
धरती र आकासको कति मीठो प्रीत
सिर्रसिर्र हावा चल्दा मनै रमाउने
कति राम्री ऋतुरानी नाम सुहाउने
जाडो पनि हट्दै गयो गर्मी धेर छैन
वसन्तको काखभित्र दु:ख पिर छैन
बोलाउँछ ‘काफल पाक्यो’ परदेशीलाई
चाँडै फर्क स्वदेशमा बाबा दाजु भाइ
सङ्ला बग्छन् खोलानाला सङ्लै बग्छ मन
सङ्लो लाग्छ फक्रिएको आफ्नै रनवन
पैयूँ फुल्छ आरु फुल्छ आँप लिची फुल्छ
मनै फुल्छ प्रकृतिको रूप स्वयम् फुल्छ
“कर्याङ्कुरुङ् उड्दै आए काँक्रा फर्सी रोप”
भन्नुहुन्छ हजुरआमा मौका सही छोप
धेरै ऋतु याम लिई आए पनि घाम
सबै भन्दा राम्रो लाग्छ वसन्तको याम ।
———————————-
[शास्त्रीय छन्दमा मिठामिठा कविता लेख्ने कवयित्री टीका आत्रेय (२०३१) सङ्ख्यात्मक हिसाबले थोरै तर अत्यन्त सुन्दर बालकविता लेख्ने सर्जक हुन् । इलाममा जन्म भई हाल इटहरी, सुनसरीमा स्थायी बसोबास गर्दै आएकी कवयित्री आत्रेय प्राध्यापन पेशामा संलग्न छन् । उनका ‘मनको क्षितिज‘ र ‘युगको सङ्घार‘ नामक गजल सङ्ग्रह तथा ‘भ्रूण प्रश्न‘ कविता सङ्ग्रह प्रकाशित छन् । उनको प्रस्तुत ‘ऋतुरानी’ बालकविता प्राकृतिक बिम्बको प्रयोग गरेर लेखिएको सबाई छन्दमा आधारित लोकलयात्मक बालकविता हो । अन्य कविहरूले ऋतुराजका रूपमा चित्रण गर्ने वसन्त ऋतुलाई उनले ऋतुरानीको संज्ञा दिएकी छन् । शिशिर ऋतुको बिदाइसँगै भित्रिएको वसन्त ऋतुमा हुने प्राकृतिक सौन्दर्यको चित्र उतार्न कविता सफल छ । कविताले वसन्त ऋतुमा हुने सन्तुलित मौसमको परिचय दिएको छ । पूर्ण अन्त्यानुप्रासको योजना, प्राकृतिक सुन्दरताको लयात्मक र कलात्मक अभिव्यक्ति, सांस्कृतिक सन्दर्भको उजागर, कल्पनाशील पक्षको सूक्ष्म सङ्केत, प्रवाहमय र मनोरञ्जक प्रस्तुति, बालमनोविज्ञानको प्रयोग जस्ता विशेषताले प्रस्तुत बालकविता उत्कृष्ट बन्न पुगेको छ ।]
**************************************
rcghimire47@gmail.com
https://www.facebook.com/R.C.Ghimire/
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।