मानव सृष्टि र सभ्यतादेखिकै प्राचीनतालाई आत्मसात् गरेकाले बुढ्यौली साहित्यको विषय र क्षेत्रअनुसार यससँग अरू विषयको सम्बन्ध जोडिएर आएको छ । सामाजिक सभ्यता, संस्कार र संस्कृतिको परिवर्तनसँगै साहित्य र अन्य क्षेत्रको विकास र सन्दर्भअनुसार व्यापक क्षेत्र ओगट्दै धर्म, मानवशास्त्र, मनोविज्ञान, संस्कृति, समाज, भाषा, साहित्य, दर्शन तथा इतिहाससँग यसको विषयलाई प्रस्तुत गर्न सकिन्छ ।

बुढ्यौली साहित्यको प्रयोग मानव र प्रकृतिको सृष्टिसँगै जोडिएर आएको छ । मानव जीवन र जगत्लाई हेर्दा यसभित्र सामान्यतया मानिसको सृष्टि, त्यसको गतिशीलता, जन्म, मृत्यु, पुनर्जन्म, प्राकृतिकपन, दैवीशक्ति चमत्कार, विश्वास, आस्था, धारणा पाइन्छ । बुढ्यौली साहित्य पनि यही सार्वभौम यथार्थ हो । यो आदिम सभ्यताका सामूहिक अनुभूतिको समग्र पक्ष हो, जसमा मानव र प्रकृतिका घटना रहेका हुन्छन् ।

पुराना मानिसका नीतिकथा, प्राक्वैज्ञानिक विचार ऐतिहासिक तथ्यबाट बुढ्यौली साहित्यको जन्म भएको हो भन्ने धारणा प्रस्तुत गरेका छन् । त्यसकारण बुढ्यौली साहित्य र अन्य विषयसँगको सम्बन्धलाई यहाँ प्रस्तुत गरिएको छ :

बद्रीप्रसाद ढकाल

बुढ्यौली साहित्य र धर्म

मानव सभ्यताको विकाससँगै धर्मको प्रादुर्भाव र विकास भएको मानिन्छ । असल कार्य अद्भूत शक्ति र सामूहिक कार्यद्वारा धर्मको निर्माण भएपछि बुढ्यौली साहित्य र धर्म एक अर्कामा सम्बन्धित भएका हुन् । देवता र दानवको कल्पना र अद्भूत कार्यसँगै वृद्धवस्था र धर्म एकअर्कासँग सम्बन्धित भएका छन् । धर्मप्रतिको आस्था र भक्ति संसारका सबै धर्मग्रन्थमा पाइन्छ, मन्दिरका पुजारी साधक वा तान्त्रिकका ज्ञान पनि अथक साधना र बुढ्यौलीसँग जोडिएका छन् । जुनसुकै धर्मले पनि सृष्टिको, संसारको उत्पत्ति र विकासका बारेमा आ–आफ्नै प्रकारले कथाद्वारा वर्णन गरेको छ । जन्म, यौवन, वृद्धावस्था र मृत्युका चर्चा सबै धर्मग्रन्थमा पाइनाले धर्म र बुढ्यौली साहित्यको सम्बन्ध रहेको स्पष्ट हुन्छ । पुराणमा धार्मिक आचरण तथा अनुष्ठानको चर्चा हुन्छ । परम्परा र प्रथाका बारेमा विवरण दिनु नै धार्मिक ग्रन्थको प्रयोगको उद्देश्य हो । त्यसैले बुढ्यौली कथा, पुराकथाको चर्चा परिचर्चासँगै धर्मसँग समन्वय गरेर वृद्धावस्थाको खोज गरिन्छ । सबै धर्मका धार्मिक कथा वृद्धका नालीबेली हुन्, इतिवृत्त हुन् । धर्म र बुढ्यौलीपन एकै सिक्काका दुई पाटा हुन् । वृद्धवस्थामा ईश्वरभक्ति धार्मिक अनुष्ठान यज्ञ, व्रत, दान, उपासना, आराधना आदि कार्यबाट समयको सदुपयोग हुन्छ । धार्मिक कथाले बुढ्यौली अवस्थाको वर्णन गर्दछ । अझ व्यापक अर्थमा भन्ने हो भने धर्ममा देवताको अलौकिक शक्ति र चामत्कारिक गुणद्वारा वर्णित कथाले अनुशासन, नैतिकता मर्यादाको धर्मसँग सम्बन्ध हुन्छ भन्ने प्रष्ट हुन्छ । पूर्वीय धर्म, संस्कृतिमा विष्णुका विभिन्न अवतार, कार्य र शक्तिको चर्चा गर्दै सर्वशक्तिमान् व्यक्तिका रूपमा चर्चा गरिएको छ जसको फलस्वरूप पूर्वीय धर्म, संस्कार र संस्कृतिमा मूर्तिवादको स्थापना भएको हो । धार्मिक प्रतीकहरूका रूपमा विभिन्न देवी देवताको मूर्तिहरूको स्थापना गरिएको हो । पाश्चात्य धर्म–संस्कृतिमा पनि प्रकृति पूजन, सूर्य पुजन, अलौकिक सर्वशक्तिमान् व्यक्तित्वको रूपमा ईश्वरको चर्चा भएको छ ।

विश्वको बुढ्यौली परम्परालाई अध्ययन गर्दा बुढ्यौली र धर्म सँगसँगै आएको पाइन्छ । प्राचीन समयदेखि नै बुढ्यौली साहित्यमा धार्मिक भावना मिश्रित भएर आएको हो । बुढ्यौली साहित्यलाई आदिम विज्ञान, आदिम चिन्तन अथवा धर्मको अभिलेखका रूपमा लिन सकिन्छ । हिन्दू धर्मलाई वेद, आख्यान र पुराणबाट अलग गर्न सकिँदैन । बौद्ध धर्मले जातक कथाका माध्यमबाट बुढ्यौली साहित्य परम्परालाई अगाडि बढाएको छ । क्रिस्चियन धर्म, यहुदी धर्ममा पनि यस्तै कथाले ईश्वर, वृद्ध र धर्मको महिमागान गरेको छ ।

बुढ्यौली साहित्यमा घटना एवम् ईश्वर र धर्मका मान्यता र विश्वासलाई अभिव्यक्त गरिएको हुन्छ । धर्मले आफ्नो अस्तित्वको चर्चामा बुढ्यौली घटनालाई प्रस्तुत गर्दै धर्म हुनुको सार व्यक्त गर्दछ । धर्मले मानवद्वारा नै आफ्नो सृष्टि, उत्पत्ति र विकासलाई अगाडि बढाएको हो । संसारका सबै धर्ममा भक्तिका घटना र परिवेशको वर्णन गरिएकाले धर्म र मानव एक अर्कासँग सम्बन्धित रहेर अगाडि बढेका छन् भन्न सकिन्छ । बुढ्यौली साहित्य र धर्म वा धार्मिक ग्रन्थ एउटै होइनन्, एक अर्काका परिपूरक मात्र हुन् । मानवीय मूल्य र संस्कृति निर्माणमा वृद्धावस्थाको भूमिका रहेको छ । यसले मानव सभ्यता र धर्मसँग जोडिएरै आफ्नो स्थान सुरक्षित पारेको छ । बुढ्यौली साहित्य संस्कार र संस्कृतिको समग्रतामा रहन्छ । त्यसैले बुढ्यौली साहित्य र धर्म फरक विधा हुन् तर एक अर्कासँग सम्बन्धित परिपूरक छन् ।

बुढ्यौली साहित्य र दर्शन

बुढ्यौली साहित्य संस्कृतिको विकाससँगै विकसित हुँँदै अएको हो । बुढ्यौली साहित्यले मानव समुदायको वैचारिक आस्था, विचार र विश्वासलाई बोकेर अगाडि बढेको छ । बुढ्यौली साहित्यमा समेटिएका विषयमा मानव चेतनाको अनुभूति र भोगाइका विस्तारित रूप पाइन्छ जसको अनुसरणबाट नै मानव सभ्यताको विकास आजको अवस्थासम्म आइपुगेको निक्र्यौल निकालिएको छ । समस्त मानव चेतनालाई प्रभावित गर्न सक्ने दर्शन र प्राचीन कथालाई जोडिएको छ । दर्शनमा प्रयुक्त प्रतीक, बिम्ब र रूपकका माध्यमबाट जगत्मा सत्य, अनुभव र विश्वास डोरिएको छ ।

बुढ्यौली साहित्यमा प्रयुक्त विषय काल्पनिक विषय होइनन्, जीवन र जगत्का यथार्थिक ज्ञान हुन् । दर्शन यथार्थ सत्यको गहिराइ पत्ता लगाउने आधार भएकाले बुढ्यौली साहित्य र दर्शनको गहन सम्बन्ध रहेको छ । पौरत्स्य दर्शनमा वर्णित सृष्टि, स्थिति, प्रलय, जन्म, पुनर्जन्म, मोक्ष, स्वर्ग, नरक, धर्म, पाप तथा ईश्वरसम्बन्धी धारणा पाइन्छन् भने पाश्चात्य दर्शनमा प्रमिथस, डायनोसियस,सूर्य अर्थात् अपोलो देवताजस्ता पात्रको वर्णन र तिनको दार्शनिक पक्षमाथिको विवेचना पाइन्छ जसद्वारा चामत्कारिक कार्य गराइन्छ र त्यसलाई सामाजिक अनुकरणको आस्थाको विन्दु मानिएको छ, त्यही दर्शनबाट समाजको उत्पत्ति र विकासको अवधारणा बताइएको छ । कुनै पनि समाज वा प्रवृत्तिमा रहेर पनि विचारको वाहक बन्नु बुढ्यौली साहित्यको विशेषता हो ।

प्राचीन सभ्यता र मानव विकासमा दैवीकार्य, प्रकृति जगत्को वर्णन, चिन्तन दर्शन र बुढ्यौली साहित्य दुबैमा पाइन्छ । दर्शनमा बुढ्यौली साहित्यमा वर्णन भएजस्तै रूप, रस, गन्धजस्ता विचारको मन्थन पाइन्छ । समाज, सृष्टि र प्रकृति सम्बन्धमा आदिम मानवका घटना प्राचीन आदिम सभ्यतामा मानवको सृष्टि, ज्ञानको विकाससँग प्रकृतिको उत्पत्ति, लय प्रलय, मानवको जन्म, वृद्धावस्था, मृत्यु, पुनर्जन्मसम्बन्धी धारणा बुढ्यौली र दर्शनका साझा विचार हुन् । कतिपय बुढ्यौली साहित्यका कथाहरू विश्वव्यापी रहेका छन् । चाहे पूर्वीय सभ्यता, संस्कार, धर्म, रीतिरिवाजका हिन्दू, वा बौद्ध धर्म होस् या युनानी, क्रिस्चियन, यहुदी संसारको सबै मानिससँग दैवीशक्तिसम्बन्धी धारणाका साथै तपस्वी र वृद्ध योगी मुनिका कथा छन् । बुढ्यौली साहित्यमा धार्मिक तत्त्व वा विचारको वर्णन मात्र नभएर प्राचीन वैज्ञानिक दर्शनको वर्णन, व्याख्या र विश्लेषण छ । यसरी बुढ्यौली अवस्थालाई घटना, प्राकृतिक तत्त्व आदिका माध्यमबाट दार्शनिक, चिन्तनद्वारा पुष्टि गर्ने गरेको पाइन्छ । तर्कशक्ति र चिन्तन पद्धतिद्वारा वस्तु र विचारको वर्णन बुढ्यौली साहित्यमा पाइने हुनाले बुढ्यौली साहित्य र दर्शनको सम्बन्ध स्पष्ट हुन्छ । बुढ्यौली साहित्यको उत्पत्ति नै दार्शनिक विचारद्वारा भएको हो भन्ने धारणा पूर्वीय र पाश्चात्य विद्वान्का रहेकाले आदिम मानवको अनुभूति कल्पना, आस्था र जीवनसँग बुढ्यौली साहित्य तथा दर्शन सम्बन्धित छन् ।

बुढ्यौली साहित्यको स्रोत भनेका पुराण, वेद हुन् । बुढ्यौली साहित्य दार्शनिक विचार हो, समयानुकूल परिवर्तन भइरहँदा वर्तमानसम्म आइपुग्दा नवीन दार्शनिक मान्यतामा बुढ्यौली साहित्यको व्याख्या पुनव्र्याख्या भइरहेका छन् । कुनै समयमा मानव वा पुरुषका रूपमा चर्चा गरिएका, सामान्य व्यवहार अनुभूत गरिएका मानिस युगान्तरमा गएपछि महामानव, महापुरुष वा पुरुषोत्तमका रूपमा मानिन्छन् र तिनका विचार वा व्यवहार दार्शनिक चिन्तन तथा बुढ्यौलीका कथाका रूपमा निर्माण भएका छन् । शान्तिका अग्रदूत बुद्धको चिन्तन दार्शनिक बुढ्यौली साहित्यका रूपमा वर्णन भएका छन् । कसैको विचार वा दार्शनिक चिन्तन समयको परिवर्तनसँगै बुढ्यौली साहित्यका रूपमा वर्णन गरिन्छन् । प्राचीन कथामा नयाँ दार्शनिक विचार शक्ति र सौन्दर्यद्वारा नै नवीन धारणाको निर्माण हुने भएकाले बुढ्यौली कथा सौन्दर्यद्वारा नै नवीन धारणाको निर्माण हुने भएकाले बुढ्यौली साहित्य र दर्शनको प्रत्यक्ष सम्बन्ध रहेको छ तर बुढ्यौली कथा, उपकथा नै दर्शन वा दर्शन नै बुढ्यौली साहित्य चाहिँ हो भन्न सकिन्न ।

बुढ्यौली साहित्य र इतिहास

बुढ्यौली साहित्यलाई पुरानो वा प्राचीन इतिहास मान्न सकिन्छ । बुढ्यौली उमेरका अनुभूति, घटना विषयवस्तु वा सिर्जना पुराकथा, आद्यकथा भएकाले इतिहाससँग नजिक रहेको हुन्छ । बुढ्यौली साहित्य विगत, अतीत वा स्मृतिसँग जोडिएको हुन्छ । मानव सभ्यता परम्परा र संस्कृतिको जड र प्राचीन रूप नै बुढ्यौलीका घटना तथा परिघटना भएकाले मानव सभ्यताको इतिहास मानिन्छ । बुढ्यौली साहित्यले जीवनको भोगाइ र अनुभवलाई कथाका माध्यमबाट प्रस्तुत गर्ने भएकाले सभ्यताको इतिहास बुढ्यौली साहित्यमा पाइन्छ । बुढ्यौली साहित्यमा राजा, महाराजा, शासक वंशका घटना जोडिएर, देवता र दानवको जीवन चर्चा जोडिएका ऐतिहासिक घटना र तथ्य पाइन्छ । बुढ्यौली साहित्यमा देवताका विभिन्न रूप तिनका विचार र व्यवहार अनुशरण गर्ने व्यक्तित्व तिनले देखाएका वैचारिक मार्ग, मानवीय मूल्य र चेतनाको प्रकटीकरण गरिन्छ । आदर्श, कल्याण र मानवताका पक्षलाई नैतिक वा नीतिकथाका माध्यमबाट अभिव्यक्त गर्नु नै बुढ्यौली साहित्यका विषयवस्तु हुन् ।

बुढ्यौली साहित्यमा अभिव्यक्त भएका सार्वभौमिकता, सत्य, तथ्य नै इतिहास हो भन्न सकिन्छ । इतिहासमा घटेका घटनालाई आख्यानका माध्यमबाट निरन्तरता दिने कार्य बुढ्यौली साहित्यले गर्ने हुनाले इतिहास र बुढ्यौली साहित्य एक अर्कासँग सम्बन्धित रहेका छन् । बुढ्यौली साहित्यमा प्राचीन सत्यको उद्घाटन हुने भएकाले प्राचीन कला, संस्कृति, धर्म, संस्कारजन्य कुराको इतिहास मान्न सकिन्छ । बुढ्यौली साहित्य प्राचीन जातिको अनुभव, आस्था, विश्वास, अनुभूतिको कहानी पनि हो । वर्तमान समयमा भनिने पूजा गरिने देवताहरू प्राचीन समयका मानिसका रूपमा रहेका र तिनले मानवले जस्तै कार्यको साथसाथै चमत्कारिक कार्य गरेका प्रसङ्ग धर्मशास्त्रका ऐतिहासिक घटना तथा पुराणमा वर्णित छन् ।

बुढ्यौली साहित्य मूलतः प्राचीन परम्पराको सङ्ग्रह हो । बुढ्यौली साहित्यमा प्राचीन यथार्थको कलात्मक अभिव्यक्ति पाइने भएकाले बुढ्यौली साहित्यमा इतिहासको व्यापक स्वरूप तथा प्रयोग पाइन्छ । यसमा घटनाको यथार्थ वा तथ्यभन्दा पनि सामाजिक, सांस्कृतिक, नैतिक पक्षसँग जोडिएर युगीन परिवेश र सत्यलाई प्रकट गरिएको हुन्छ । सभ्यताको विकासक्रम सँगसँगै युगअनुसारको जातिका चालचलन, मनोविज्ञान, प्रवृत्ति र सामाजिक अवस्थाको परिवर्तन हुन्छ । विभिन्न क्रान्ति, घटना र सङ्घर्षबाट समाजको रूप बदलिन्छ जसको चित्रण बुढ्यौली साहित्यले आख्यानमार्फत् गरेको हुन्छ । त्यसैले बुढ्यौली साहित्यमा इतिहासका विभिन्न कालखण्ड समेटिएका हुन्छन्, सत्य र शाश्वतता अभिव्यक्त भएको हुन्छ । इतिहास लेखन वा रचनामा बुढ्यौली साहित्यले महत्वपूर्ण योगदान दिन्छ । यसै गरी कालान्तरमा इतिहास पनि बुढ्यौली साहित्यमा रूपान्तरित हुन्छ । बुढ्यौली साहित्यमा कल्पना, सत्य र इतिहासको समिश्रण पाइन्छ । त्यसैले बुढ्यौली साहित्य र इतिहासको सम्बन्ध रहेको मान्न सकिन्छ ।

बुढ्यौली साहित्य र भाषा

भाषाको मूल नै साहित्य हो, निश्चित समयमा चलनचल्तीको भाषामै साहित्यको रचना गरिएको हुन्छ । भाषाका रूप वा संरचना युगानुकूल परिवर्तन भएको मानिन्छ । बुढ्यौली साहित्य पनि भाषाका माध्यमबाट प्रकट हुन्छ । सृष्टि, प्रकृति जगत् वरिपरि रहेको आदिम मानवले आफ्ना अनुभूति र आस्थालाई अभिव्यक्त गर्न भाषाको प्रयोग गरे । विभिन्न भाषाको उद्भव र विकासका प्रक्रियामा बुढ्यौली साहित्यको सहकार्य भएकाले बुढ्यौली साहित्य र भाषाको गहिरो सम्बन्ध देखिन्छ । आदिम मानवको विचार र अनुभूतिको विनिमय भाषाकै माध्यमबाट हुन्छ ।

बुढ्यौली साहित्य भाषाकै कारण प्रष्ट हुन्छ । भाषा र बुढ्यौली साहित्यमा विद्यमान कतिपय तत्त्वहरूले यी दुईको निकटता देखाउँछ । बुढ्यौली साहित्यको निर्माणको प्रक्रियालाई भाषाकै विकास एवम् मानव संस्कृतिको क्रमिक शृङ्खलामा पर्दछ । प्राचीन सभ्यतासँगै भाषाको निर्माण र त्यसको विनिमयसँगै बुढ्यौली साहित्यको निर्माण भएकाले भाषाको रूपान्तरणद्वारा नै वर्तमान समयसम्म आइपुग्दा बुढ्यौली साहित्यको नवीन प्रयोग व्याख्या र कथाको जन्म भएको हो । प्राचीन मानव जीवन र सृष्टि विकास र परिवर्तनको प्रक्रियालाई भाषाकै माध्यमबाट अभिव्यक्त गरिएकाले बुढ्यौली साहित्यको जन्म भएको हो । बुढ्यौली साहित्यलाई चिनाउनका लागि भाषाको आवश्यकता रहेको र भाषाको विकासमा बुढ्यौली साहित्यले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले भाषा र बुढ्यौली साहित्यको प्रत्यक्ष सम्बन्ध देखिन्छ । भाषाको संरचना, उत्पत्ति, विकास र परिवर्तन क्रममा बुढ्यौली साहित्यको अर्थ जोडिएर आएको छ । भाषाको विस्तारमा बुढ्यौली साहित्यको भूमिका देखिन्छ । जीवनी, वंशावली तथा किंवदन्तीहरूमा बुढ्यौली साहित्यको तत्त्व पाइन्छ । प्राचीन समयका शिलालेख, भोजपत्र, ताम्रपत्र आदिको अध्ययन गर्दा बुढ्यौली साहित्यका तत्त्व पाइएको हुनाले भाषा र बुढ्यौली साहित्यको सहसम्बन्ध रहेको छ मान्न सकिन्छ ।

त्यसैले बुढ्यौली साहित्यको अध्ययन गर्दा भाषाको संरचना बुझ्न जरुरी छ । भाषाका माध्यमबाट बुढ्यौली साहित्यका घटनाको वर्णनसँगै भाषाको उद्भव, विकास र विस्तारको क्रमबद्धता पाइने हुनाले बुढ्यौली साहित्यका माध्यमबाट भाषाको युगीन अवस्थाको जानकारी पाइन्छ । भाषाको उत्पत्तिमा बुढ्यौली साहित्यको सन्दर्भ र प्रसङ्ग तथा कार्यकारण सम्बन्ध रहेकाले भाषा र बुढ्यौली साहित्यको प्रत्यक्ष सम्बन्ध छ । बुढ्यौली साहित्यको घटनावस्तुबाटै भाषाका आदिम वा प्राचीन स्वरूपको अवस्था थाहा हुने र भाषाका माध्यमबाट बुढ्यौली साहित्यको चित्रण भएकाले भाषासँग बुढ्यौली साहित्यको सम्बन्ध छ ।