वि.सं २०३६ सालको “सडक कविता क्रान्ति” भर्खरै सकिएको थियो । भारतमा इन्दिरा गान्धीले लादेको सङ्कटकालको विरोधमा “नुक्कड कविता आन्दोलन” का सक्रिय सहभागी कवि डा. रविन्द्र राजहँस नेपाल आइपुगेका रहेछन्, सपरिवार । तिनले नेपालमा सडक कविता क्रान्ति भएको सुनेका, पढेका रगेछन् र ती क्रान्तिकारी कविहरूसँग भेट गर्ने इच्छा गरेका रहेछन् । त्यो जुटाउने काम विश्वविमोहन श्रेष्ठले गरेका थिए ।

उनी त्यतिबेला पुतली सडक, पद्मकन्या क्याम्पसको पूर्वपट्टि सामुन्ने टुकुचापारि अवस्थित एक समीलको छेउको घरमा डेरा गरी बस्थे । उनले साथीभाइ र अग्रज कविहरूलाई उनकै निवासमा निम्ता गरेका थिए ।

मैले देखेको उनको सुरुसुरुको सङ्गठक व्यक्तित्वको परिचय त्यतिबेला पाएको हुँ । मूल रूपमा कवि र कविको साथमा जोडिएको उनको सङ्गठक व्यक्तित्व त्यतिबेलादेखि हालसम्म उनले निरन्तर कायम राखेका छन् । उनको चिनारी एउटा व्यक्तित्वले मात्र अधूरो हुनजान्छ ।

वि.सं. २०३८ सालमा, नेपालमा एउटा साहित्यिक सङ्गोष्ठीको आयोजना गरियो । त्यसङ्संगोष्ठीको आयोजना कवि तथा साहित्यिक पत्रकार भवानी घिमिरेले स्थापना गरेको साहित्यिक पत्रकार संघले गरेको थियो । आयोजक साहित्यिक पत्रकार संघ भए पनि साहित्यिक पत्रकार संघको कार्य समितिमा नरहेका र साहित्यिक पत्रकार संघसँग कुनै आबद्ध नभएका हामीहरूको आयोजक समिति बनाइएको थियो । त्यस आयोजक समितिमा अरूका अतिरिक्त अशेष मल्ल, म आफैँ र विश्वविमोहन श्रेष्ठ थियौँ । खासमा अशेष मल्ल समितिको सचिव थिए । अतः समापन समारोहमा समितिको प्रतिवेदन लिखित रूपमा आउनुपर्छ भनेर अशेषका लागि त्यो प्रतिवेदन तयार पार्न हुटहुटी आउने र सघाउने विश्वविमोहन नै थिए । यो बेग्लै कुरा हो, विश्व र अशेषको नाता सम्बन्थ पनि रहेको पछि मैले पत्तो पाएको थिएँ ।

कुनै पनि कविलाई चिनाउने उसको कुनै कृति वा रचना विशेष हुन्छ । त्यही नै उसको चिनारी हुन्छ, परिचय हुन्छ । तीसको दशकमै उनले लेखेको “म भात जोरूँ कि कविता लेखूँ ?” उनको माष्टरपिस कविता बन्यो । त्यो कविता आजपर्यन्त उत्तिकै सान्दर्भिक, चोटिलो र युगान्तकारी छ । उनको नामसँगै यो कविता पनि जोडिएर आउँछ । यो कविताले ताली पाउने मात्र होइन ।  दर्शक, श्रोता र पाठकले  यस कवितालाई भावनात्मक रूपमा आत्मसात गरेको निरन्तर पाइरहनु, एउटा कविको लागि सौभाग्यको कुरा हो ।

विश्वको कविता लेखन खासै बाक्लो छैन । साह्रै कम पनि भन्न मिल्दैन, तीन वटा सङ्ग्रह प्रकाशित भएका छन् । एउटा कविता सङ्ग्रह त नेपाली र अङ्ग्रेजी द्विभाषिक रूपमा प्रकाशित छ ।

तर विश्वले आफ्नो जीवनको लामो कालखण्ड साहित्यिक पत्रकार संघसँगको आबध्दतामा बिताए । त्यो उनको साहित्यिक गतिविधिजन्य कर्मको उर्वर बेला थियो । तर त्यसका लागि पनि पुनः तीसको दशककै साहित्य संगोष्ठीलाई सम्झनु पर्ने हुन्छ ।

साहित्य संगोष्ठीको सफलतापछि सो संगोष्ठीको समितिमा रहेकाहरू हामी साहित्यिक पत्रकार संघमा प्रत्यक्ष रूपले संलग्न हुने निधो गर्यौं । हामीले डा. ध्रुवचन्द्र गौतमको नेतृत्वमा एउटा प्यानल बनायौँ जसमा अशेष मल्ल, मलगायतका अरू थियौँ । तर साहित्यिक पत्रकार संघका तत्कालीन उपाध्यक्ष अच्युतरमण अधिकारी सभापतिका लागि आकाङ्क्षी  थिए । उनलाई कसैगरी मनाउन सकिएन । यता डा. ध्रुवचन्द्र गौतम चुनावी प्रतिस्पर्धामा जान अनिच्छुक भए । फलस्वरूप हाम्रो प्यानलका सबैले उम्मेदवारी फिर्ता गर्यौँ । अच्युतरमणको   नेतृत्वमा विश्वविमोहन साहित्यिक पत्रकार संघमा सक्रिय भए । हुन त अच्युत रमण अधिकारीको नेतृत्वमा वीपी कोइरालाको सार्वजनिक अभिनन्दन साहित्यिक पत्रकार संघले गर्यो । तर पछि साहित्यिक पत्रकार संघलाई दरबार परस्त, पञ्चायत परस्तको आरोप लाग्न थाल्यो । यता अशेष मल्ल पूरै काँग्रेसी राजनेताको निकट रहेर साहित्यिक, रङ्गमञ्चीय गतिविधि गर्न थाले । हामी उम्मेदवारी फिर्ता लिनेहरू साहित्यिक पत्रकार संघको विपक्षी कित्तामा देखियौँ र व्यवहार पनि त्यस्तै पायौँ । लामै समय भनौँ दशकौँसम्म साहित्यिक पत्रकार संघको कुनै गतिविधिको कुनै पनि सूचना र निम्तो आउन छाड्यो र विश्वविमोहन र हामी नदीका दुई किनारा भयौँ ।

तर साहित्यको पवित्र नदीमा डुबुल्की मार्नेहरू लामो समय कसरी टाढा बस्न सक्थे । देशको राजनीतिले विविध पल्टा खायो । वाग्मती, विष्णुमति, टुकुचामा पनि धेरै पानी बगे । विश्व विमोहन पनि साहित्यिक पत्रकार संघको लामो आबध्दतापछि स्वतन्त्र भए । त्यो स्वतन्त्रताले एपेक नेपाल भन्ने संस्था जन्मियो र यी पङ्तीहरू लेखिरहँदा विश्व विमोहन श्रेष्ठको नेतृत्वमा एपेक नेपालको तर्फबाट तेह्रथुमको म्याङलुङ, धरान, विराटनगरमा वसन्त काव्य उत्सव गर्दै एउटा साहित्यिक टोली भर्खरै राजधानी फिरेको खबर समाचार र सामाजिक सञ्जालमा व्याप्त देखिएका छन् ।

सन् २००० मा अमेरिकाको एटलाण्टा सहरमा आयोजित अन्तर्राष्टिय नेपाली कविता महोत्सवमा भाग लिन नेपालबाट जानेहरूमा डा. तारानाथ शर्माको साथमा विश्व र म पनि थियौँ । यो यात्राले पुराना दिनका खालीपनलाई भरभार गर्न मद्दत गर्यो । म त्यस भ्रमणपछि अमेरिकालाई कर्मभूमि बनाउने निधोमा पुगेँ । उनी भने त्यस पटक छिटै फर्किए । त्यो छिटो फर्कनुमा उनको श्रीमतीको स्वास्थ्य थियो ।

खासमा तीसको दशकपछि अचानक उनकी श्रीमती ज्योतिको दृष्टिमा समस्या देखा पर्यो । उनले आँखा देख्न सकिनन् । त्यसको उपचार पनि कहीँ कतै हुन सकेन । दुनियालाई काव्यदृष्टि दिने कविको ज्योति नाम गरेकी अर्धाङ्गिनीको दृष्टिहीनता भाग्यले गरेको एउटा साह्रै भद्दा मजाक थियो । तर यो नियतीलाई स्वीकार्नुको विकल्प थिएन । त्यसैले विश्वलाई कतै लामो यात्रामा जान समस्या हुन्थ्यो । खासमा अमेरिकामा त्यसको कुनै उपचार हुन्छ क भन्ने आशा पनि त्यस साहित्यिक भ्रमणसँग गाँसिएको अन्तर्य थियो । तर सकारात्मक जवाफ उनको भागमा परेन र फर्किए ।

विश्व फेरि सन् २०११ मा अमेरिका झुल्किए । यतिन्जेल म अमेरिकावासी भएर व्यवस्थित भैसकेको थिएँ । त्यो वर्षको भानु जयन्तीका लागि कोलोराडोवासी ज्ञानेन्द्र गदालजीले विश्वलाई पनि साथमा लिएर आउन निम्तो गरे । हामी दुईले दामासहीले विश्वको प्लेन खर्च व्यहोर्ने समझदारी भयो र मैले टिकट काटेँ।

तर त्यो यात्रा निकै भयावह भयो र अविष्मरणीय पनि ।

खासमा मलाई एयरपोर्टका रेष्टुँराहरूमा, यात्राको क्रममा खानपान गर्न असाध्यै रमाइलो लाग्छ । हामीले डलस एयरपोर्टमा साल्मन कसडिया नामको परिकार खाएका थियौँ । सुरुमा उनले माछाको एलर्जी छ भनेनन् । मैले मगाएँ र दुवैले खायौँ । त्यही खानाको फूड प्वाईजनिङ भएर उनलाई मिडवे एयरपोर्टबाट उडाउन सकिएन र एक रात एयरपोर्टमा बास बस्नु पर्यो । नेपालीहरू अमेरिका त के स्वर्गै गए पनि कुराको सगरमाथा ठड्याउँछन् भन्थे, झण्डै त्यस्तै भयो । हामीले अत्यधिक मदिरापान गरेर उड्दा उड्दैको प्लेन ल्याण्ड गराएर हामीलाई ओरालेको समेत गफ बनाउन भ्याएछन् तर त्यसमा कुनै सत्यता थिएन । अनि हामी नपुगेको साँझ त्यही ठट्टाले भरपूर मनोरञ्जन गरेछन् । भोलिपल्ट हामी पुगेर त्यो उडन्ते गफ सुनेर मज्जाले हाँसेका थियौँ ।

उनले यस विषयमा एउटा कविता पनि लेखेका थिए जसलाई पछि मैले विश्वपरिक्रमा पाक्षिक अखबारमा प्रकाशित समेत गरेको थिएँ ।

कवि स्रष्टा हुन् र द्रष्टा पनि हुन् । स्वप्नद्रष्टा पनि हुन् । भविष्यद्रष्टा पनि हुन् । कुनै कुनै कविका कविता समसामयिक लागे पनि, हरेक युगमा त्यो समसामयिक लाग्छ । विश्वले निकै अघि, तीसको दशकमा एउटा कविता लेखेका थिए, “तिमी आउँदैछु भन्ने सुनेर” । यो कविता आज पनि उत्तिकै सान्दर्भिक र सामयिक लाग्छ;

तिमी आउँदैछौ भन्ने सुनेर

हामी हर्षले उफ्रदै

माथि मचानमा उक्लिएर

पर- पर- त्यो बासको झ्याङभन्दा

पनि पर

दोबाटो, चोरबाटो र चौबाटोभन्दा

पनि अझै पर

पर देखिने डाँडामा टोलाएर

हेरिरह्यौ, हेरिरह्यौ

बाटोभरि आँखा ओछयाएर

तिमी आउँदैछौ भन्ने सुनेर

हामी हर्षले उफ्रदै

माथि मचानमा उक्लिएर

हेरिरह्यौ, हेरिरह्यौ

बाटोभरि आँखा ओछयाएर !

गोपालप्रसाद रिमालको आमाको सपनाको नयाँ संस्करण लाग्दछ, विश्वको यो कविता पढ्दा, सुन्दा, मनन गर्दा । मनुष्य सधैँ सुख, शान्ति, सौभाग्य र स्वतन्त्रता खोजिरहेका हुन्छन् र त्यसको पूर्णप्राप्तिको लालसामा त्यो आउने आशा आकाङ्क्षा पाल्दछन्, विश्वले यो सार्वभौम र सार्वकालिक जनआकाङ्क्षालाई काव्यिक अभिव्यक्ति दिएका हुन् ।

नेपालमा सन् १९८७ मा सम्पन्न भएको दक्षिण एशियाली शिखर सम्मेलनका बेला बङ्गलादेशका राष्ट्रपति हुसेन मोहम्मद एर्सादलाई विश्वले आफ्नो कृति “विश्वमोहनका केही कविताहरू” उपहार दिने चाँजो पाँजो मिलाएका थिए । त्यसको फलस्वरूप राष्ट्रपति एर्सादले बङ्गलादेश फर्केपछि विश्वलाई एक पत्र लेख्दै आफ्ना दुई कृतिहरू “द गोल्डेन ल्याम्प” तथा “ईन क्वेस्ट अफ पास” उपहार पठाइदिए जसलाई बङ्गलादेशका तत्कालीन राजदूत ए.के.एम. जलालुद्दिनले हस्तान्तरण गरेका थिए । एउटा राष्ट्राध्यक्षले एउटा कविलाई यसरी पुस्तक उपहार दिएको सन्दर्भलाई नेपाली मिडियामा प्राथमिकतासाथ प्रकाशन, प्रशारण गरिएको थियो । गोरखापत्रले त मुखपृष्ठमा निकै महत्त्वकासाथ उक्त समाचारको प्रशारण गरेको थियो ।

विश्वले आफ्नो लेखनलाई कविता विधामा केन्द्रित पारे । साहित्यिक पत्रकार संघको अध्यक्ष पदमा र अन्य पदमा लामो संलग्नता रहे पनि उनी साहित्यिक पत्रकारितातिर आकर्षित भएनन् । उनले सारा संसारले गन्तव्य मानेको अमेरिका पटकपटक पुगे, तर स्वदेश नै फर्किए । उनको आकाश पातालको तात्रा जारी छ, कविता साधनाको यात्रा जारी छ, साहित्यिक सक्रियताको यात्रा जारी छ ।