साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कथाभित्रका भ्रम अनि वास्तविकता

मानसिक रोगीहरूलाई अपराधीसरह व्यवहार गरिने गरिएको इतिहास भने पुरानै हो । विश्व इतिहासलाई केलाउँदा प्राचीन ग्रीक अनि रोमन सभ्यतामा मानसिक रोगीहरूको उपचार धर्मभीरुहरूले गर्ने गरेको देखिन्छ । त्योबेला मानसिक रोगलाई व्यक्तिको नैतिक कमजोरीको रूपमा लिइने र धर्म, दर्शनसँग जोडिने गरिन्थ्यो ।

मनोचिकित्सक

मनोचिकित्सा विभाग

bahulako diary small and inside post

धुलिखेल अस्पताल, काठमाडौँ विश्वविद्यालय

“कहाँ ? कारागारमा ?”

मनोचिकित्सक भइसकेपछि चिनेजानेका आफन्तहरूले “म धुलिखेलमा काम गर्छु” भन्ने थाहा पाएपछिका प्रश्नहरू यस्तै नै रहने गर्दथे प्रायः । बाह्रवर्षअघि त यस्ता प्रश्नहरू सामान्य नै लाग्ने गर्दथे तर अहिले नै पनि यदाकदा यस्ता प्रश्नहरूको सामना गर्नुपर्दछ मलाई ।

यी र यस्ता प्रश्नहरू अकारण नै आएका भने होइनन् । काभ्रे जिल्ला, धुलिखेल नगरपालिका कार्यालयको सन्निकट नै अड्डाबजारमा वि.सं. १९७५ मा स्थापित धुलिखेल कारागार स्थापनाकालदेखि नै काठमाडौँ उपत्यका अनि वरपरका मानसिक रोगीहरूलाई थुनेर राखिने ठाउँको रूपमा ख्याति पाएको ठाउँ रहेछ । तसर्थ बाह्र वर्षअघि मनोचिकित्सक बनेको मैले “धुलिखेलमा काम गर्छु” भन्दा सबैले “त्यही कारागारमा नै रहेका मनोरोगीहरूलाई हेर्ने, उपचार गर्ने काम नै मेरो जागिर भएको” ठान्दा अचम्म मान्नुपर्ने आवश्यकता देख्दिनँ म । फेरि त्यो समयमा “काठमाडौँ विश्वविद्यालयको अस्पताल, धुलिखेल अस्पतालमा मनोचिकित्सा विभाग पनि छ अनि नियमित रूपमा नै मानसिक रोगीहरूको उपचार गरिन्छ” भन्ने किसिमको चेतनास्तर बढिसकेको पनि त थिएन । लोकलज्जा अनि सामाजिक कलङ्कको डरका कारण काठमाडौँ अनि वरपर शहरका बासिन्दाहरूलाई आफ्ना मनोरोगी आफन्तहरूलाई कसैले थाहा नपाउने गरी थन्क्याउने ठाउँ पनि रहेको थियो त्यो कारागार । त्यस बन्दीगृहमा अहिले नै पनि सरदर १० देखि २० प्रतिशत कैदीबन्दीमा केही न केही मानसिक रोग भएको पाइन्छ ।

करीब साढे तीन रोपनी जमीन ओगटेको एकतले स–साना भवनहरूको समष्टिगत रूप जस्तोमा बनेको छ धुलिखेल कारागार । त्यत्ति जग्गामा २३० कैदीहरू बिर्सिरहेको तथ्यलाई ह्रदयङ्गम गर्दा त्यहाँ राखिएको ‘सुधारगृह’ साइनबोर्डले गिज्याइरहेझैँ लाग्छ । तैपनि, कारागार प्रशासन, जिल्ला प्रशासन, न्यायालय, प्रहरी अनि धुलिखेल अस्पतालबीच बनेको सहमतिका आधारमा हाम्रो मनोचिकित्सा विभागले नियमित रूपमा त्यहाँ रहेका कैदीबन्दीहरूको मानसिक अवस्थाको परीक्षण अनि आवश्यक उपचारहरूको प्रबन्ध भने आजसम्म गरिराखेको नै छ । यद्यपि मनोचिकित्सा केवल औषधोपचारले मात्र पूर्ण हुने कुरा होइन न त केही सामाजिक संस्थाहरूको सदाशयताले मात्र समाधान हुनसक्ने नै हो यो समस्या । तसर्थ त्यहाँ अनि त्यस्तै अन्य कारागार या जेल अथवा ‘सुधारगृह’ मा अपराधी सरह नै कैदी—बन्दी जीवन बिताइरहेका साँच्चैका मानसिक रोगीहरूको पुनर्वास अनि परिवार र समाजमा पुनर्स्थापनाका लागि ठोस योजना बनाएर मात्रै तिनको जीवामा वास्तविक परिवर्तन ल्याउन सकिन्छ ।

प्रा. डा. अजय रिसाल (मनोचिकित्सक)

मानसिक रोगीहरूलाई अपराधीसरह व्यवहार गरिने गरिएको इतिहास भने पुरानै हो । विश्व इतिहासलाई केलाउँदा प्राचीन ग्रीक अनि रोमन सभ्यतामा मानसिक रोगीहरूको उपचार धर्मभीरुहरूले गर्ने गरेको देखिन्छ । त्योबेला मानसिक रोगलाई व्यक्तिको नैतिक कमजोरीको रूपमा लिइने र धर्म, दर्शनसँग जोडिने गरिन्थ्यो । प्लाटो, अरस्तुजस्ता दार्शनिकहरूले बाहिरी तापक्रम, कालो पित्त र मनका भावनाहरू (असल, खराब) का कारण आत्मामा आउने परिवर्तनहरूलाई मानसिक रोगको कारकतत्व मान्थे र त्यही अनुसार मन्दिरका पादरीहरू विभिन्न प्रकारका उपचार विधिको प्रयोग गर्दथे ।

समयको विकास सँगसँगै ईशाको ४००–१४०० तिर पश्चिमी युरोपमा मानसिक रोगलाई ग्रहको दोष वा दानवीय प्रभावमा कारण आत्मामा आउने विकारको रूपमा लिन थालियो । पछि पछि बोक्सी लागेर वा दानव, असुर वा शैतानहरूले आत्मालाई वशमा पार्नाले मानसिक रोग लाग्छ भनेर भन्न थालियो । त्यो दानव वा असुरलाई शरीरबाट धपाउनका लागि टाउकोमा प्वाल पार्ने (ट्रेफिनेसन) अनि शैतान वा बोक्सीको अन्त्यका लागि मानिसलाई ज्यूँदै जलाउने, पिट्ने, थुक्नेजस्ता पाश्विक विधिहरू प्रयोग गर्न थालियो ।

ईशाको सत्रौँ शताब्दीपछि भने वैज्ञानिकहरूले मानसिक रोगीहरूको मस्तिष्कमा हुने परिर्वतनका बारेमा अध्ययन गर्न थाले तर पनि खास कारण पत्ता लगाउन नसक्दा उपचार विधिमा खासै फरक आएन । मानसिक रोगीलाई “बहुलाहा”, “पागल”, “मूर्ख” भनी सम्बोधन गरिने गरिन्थ्यो र तिनलाई आम मानिसभन्दा फरक किसिमको व्यवहार गरिन्थ्यो । तिनलाई एउटै कोठामा थुनेर राखिन्थ्यो । खाना, स्नान, शौच आदिको कुनै व्यवस्था हुँदैनथ्यो । हातखुट्टा बाँधेर राख्ने, पिट्ने, तिनीहरूको कुनै शारीरिक रोगहरूको पनि कुनै उपचार नगर्ने, कुनै निश्चित उपचार थिएन तिनीहरूका लागि ।

१९ औं, २० औँ शताब्दीतिर भने क्रेप्लिन, ब्लुलर अदि वैज्ञानिकहरूको विभिन्न प्रकारका मानसिक रोगहरूको अध्ययन,वर्गीकरण गर्न थाले । बिस्तारै उपचार पद्धतिहरू विकसित हुँदै गए । फ्रायडले मानिसक रोगीमा लुप्त अवस्थामा रहेका इच्छा,आकाङ्क्षाहरू र ती सबको अध्ययनबाट गरिने उपचार पद्धतिको विकास गरेर साइकोएनेलाइसिस भन्ने नयाँ अध्यायको प्रारम्भ गरे ।

तर पनि मानसिक रोगीलाई वास्तविक रोगीलाई जस्तो नगरी नैतिक रूपले पतीत वा कैदीलाईझैँ व्यवहार गरिन्थ्यो । तिनलाई छुट्टै बन्दीगृह (एसाइलम) मा राखिन्थ्यो । साधारण अस्पतालमा समेत तिनको पहुँच थिएन, न त तिनलाई उपचार गर्ने विशेषज्ञहरू नै थिए । यसरी बाँधिएर या थुनिएर रहेकाहरू भूकम्प, आगलागीजस्ता प्रकोपका बेला थुनिएरै मारिन विवश हुन्थे । केही वर्ष अगाडि भारतको चेन्नइँको यस्तै रोगीहरूलाई राखिने गरिएको ‘एसायलम’मा आगलागी हुँदा त्यहाँ बाँधिएर—थुनिएर रहेका मनोरागीहरू एक चिहान भएका थिए ।

२० औँ शतब्दीको मध्यतिर मानसिक रोगीका लागि उपयुक्त औषधिको विकास हुन गयो, जसले गर्दा तिनीहरूको घरैमा वा अस्पतालमा भर्ना गरी उपचार गर्न थालियो । करेन्ट उपचार आदिको प्रयोग पनि गरिन थालियो । तर पनि लोकलाजको कारणले गर्दा ती रोगहरूले आफ्नै घरमा पनि राम्रो उपचार, स्याहार, बास पाएनन् र सरकारी मानिसक अस्पतालमा नै रहन बाध्य पारिए । पछि मनोचिकित्सा विरोधी सिद्धान्त (एण्टिसाइकेट्रि मुभ्मेन्ट)को कारणले गर्दा पनि मानसिक रोगीहरूको उपचारमा व्यवधान आउन थाल्यो । कोही कोही (थोमस साजजस्ता चिन्तक)ले त “मानिसक रोग भन्ने हुँदै हुँदैन, मनोचिकित्सा झुटो प्रविधि हो” समेत भन्न पुगे ।

समय बदलिँदै जाँदा एक्काइसौँ शताब्दीको सुरुवात सँगसँगै अनुवंशीकताको विकासले गर्दा मानसिक रोगहरूको पनि जैविक कारणहरूको बारेमा अनुसन्धान हुन थाले र केही तथ्यहरू प्रकाशनमा आउन थाल्यो । नयाँ नयाँ औषधीहरूको विकास हुनथाल्यो । मानव अधिकारको बहस–व्याख्या गरिन थाल्यो र सामान्य अस्पतालमा समेत मानसिक रोग विभाग खुल्न थाले । यसरी यूरोपी प्राचीन सभ्यतातिर तिरस्कृत मानसिक रोगले अहिलेको आधुनिक युगमा आएर एउटा छुट्टै स्थान ओगट्न थालेको छ – उपचारको लागि मात्र होइन, नवीन शोध, आविष्कार, अध्ययन–अध्यापनका लागि समेत ।

अब कुरा गरौँ हाम्रै देशको ।

हाम्रो पूर्वीय दर्शनको “आयुर्वेद”मा मानसिक रोगको अध्ययनलाई “भूतविद्या” भनिन्छ । कफ, बात, पित्तको दोषको रूपमा यसलाई लिइए तापनि उपचारका पद्धतिहरूको त्यत्तिसारो विकास भएको भने छैन । अझै पनि सामाजिक रूपले पतीत, नैतिकताविहीन, मूर्ख, बहुलाहा, पागल मानिने गर्दछन् ती रोगीहरू । बोक्सी छुटाउने, झारफूक आदि उपचार गर्ने, ठीक नभए घरैमा बाँधिन, थुनिन विवश छन् ती  । अथवा माथि उल्लेख भएझैँ धुलिखेल कारागारजस्ता बन्दीगृह (‘सुधारगृह’) हरूमा अपराधीसरह जीवन बिताउन बाध्य रहन्छन् ती ।

आजपर्यन्त मानसिक रोगीहरू सडकमा सुतिरहेका, बोक्सी आदिको आरोपमा प्रताडित अनि परिवार–समाजभित्रै लुकाइएका या त्यहाँबाट धपाइएका अवस्थामा भेटिइन्छन् । मानसिक रोगीहरू आजीवन थुनिएर, बाँधिएर उपचारविहिन अवस्थामा रहेका वा धामीझाँक्रीबाट उपचार गर्ने क्रममा पैसा अनि ज्यानसमेत गुमाउन पुगेका हामी अहिले पनि दैनिकजसो पत्रपत्रिकामा पढ्न पाउछौँ । तिनको निर्धोपन, बेहोसीपन या कमजोरीको फाइदा उठाएर तिनलाई अपराध कार्यमा फसाइने प्रवृत्ति पनि समाजमा नहोला भन्न सकिन्न । अथवा तिनले मानसिक रोगकै कारणस्वरूप, या साइकोसिस, मद्यपान, लागू पदार्थ दुर्व्यसन आदिजस्ता रोगहरूको लक्षणका कारण पनि अपराधकर्ममा उद्यत भएका पनि हुनसक्छन् । यस्तो परिप्रेक्ष्यमा तिनको रोग या आपराधिक प्रवृत्तिका कारकतत्वतर्फ घोत्लिएर विचार नगरी खालि जेलसजाय मात्र दिनु अथवा तिनलाई कारागारमै थुन्नु कत्तिको न्यायसङ्गत होला त ? सम्बन्धित पक्षले यसतर्फ ध्यान दिनु जरुरी भइसकेको छ ।

अतः मुलुकभित्रका कारागारहरूमा रहेका साँच्चिकै अपराधीहरू र मानसिक रोगका कारण अपराध कर्ममा लागेकाहरूलाई एउटै छानामुनि राख्नुको साटो त्यस्ता मनोरोगीहरूलाई पुनर्स्थापना गर्ने उद्देश्यका साथ अलग्गै पुनर्स्थापना केन्द्रमा राख्ने र तिनलाई मनोचिकित्सकीय उपचार निरन्तर कायम गरी परिवार एवं समाजमा पुनः स–सम्मान  स्थापित गराउने लक्ष्य लिनु न्यायोचित एवं मानवीय ठहरिने यथार्थलाई बिर्सनुहुँदैन । मनोचिकित्साको यो अदृश्य पाटोतर्फ अब सबैले जिम्मेवारी बोध गर्नु जरुरी भइसकेको छ ।

पुनश्चः विश्व स्वास्थ्य संगठनले “स्वास्थ्य” को परिभाषामा शारीरिक, मानसिक, आध्यात्मिक अनि सामाजिक सबै अवयवलाई स्थान दिएकोछ । तसर्थ मानसिक स्वस्थता पूर्ण स्वस्थताका लागि अपरिहार्य अंग हो ।

साँच्चै नै, हामी नेपालीहरू मानसिक स्वास्थ्य उपचारको मामिलामा अझै पनि मध्ययुगीन युरोपकै अवस्थामा छौँ । मानसिक रोगलाई रोग मान्न तयार छैनौँ हामी । सामाजिक, आर्थिक कारण देखाउँदै यस्ता रोगहरूलाई लुकाउँछौँ । “पूर्वजन्मको पाप” भनेर यसलाई विवश भएर स्वीकाछौँ । धामी झाक्रीकै भरमा छोड्छौँ हामी मानसिक रोगीहरूलाई । अनि त्यो उपचार पनि लुकाएर मध्यरातमा कसैले थाहा नपाउने गरी गर्दछौँ । अचम्म लाग्छ, आफूलाई ब्लड प्रेसर, मधुमेह आदि रोग लागेमा त्यो कुरा अरुलाई भन्दा, सुनाउँदा गर्व गर्ने हामी मानसिक रोगलाई भने एकदमै लुकाउँछौ ।

वास्तवमा मानसिक रोगको बारेमा अनेकौँ भ्रम पालेर बसेका छौँ हामीले । मनका कथाहरूमा विद्यमान ती सबै भ्रमहरूलाई चिरेर वास्तविकतासँग परिचित गराउनु नै यस लेखको उद्देश्य हो ।

मानसिक रोगको सम्बन्धमा जनमानसमा व्याप्त भ्रमहरूः

  • मानसिक रोग कुनै रोग नै होइन ।
  • यो त स्वभाव बिग्रेर हुने व्यवहारमा आउने परिर्वतन मात्र हो ।
  • सबै मानसिक रोग एकै हुन् ।
  • कुनै न कुनै चिन्ता, पिर, असफलताले गर्दा नै मानसिक रोग लाग्दछ ।
  • मानसिक रोगीहरू जस्तोसुकै औषधि गरे पनि पूर्णतया निको हुँदैनन् । यिनीहरू काम गरेर खान सक्दैनन्, न त परिवार नै चलाउन सक्दछन् ।
  • विवाह गरिदिएमा यो रोग निको हुन्छ ।
  • धामीझाँक्री नलगाएसम्म यो रोग निको हुँदैन ।
  • डाक्टरको औषधि सेवन गरेमा बानी लाग्छ र जीवनभर खानुपर्ने हुन्छ, त्यसैले नखानु नै ठीक हो ।

वास्तविताहरूः

  • मानसिक रोग पनि ब्लड पे्रसर, मधुमेह आदिजस्तै एउटा रोग हो ।
  • अनुवंशीकता, मस्तिष्कमा हुने रसायनिक परिवर्तन जस्ता जैविक अनि सामाजिक कारणहरूको प्रभावले मानिसको व्यवहारमा आउने परिवर्तन नै मानसिक रोगको कारकतत्व हुनसक्छन् ।
  • अनुवंशीकता मात्रैले गर्दा मानसिक रोग लाग्ने पनि होइन । जैविक एवं सामाजिक कारणहरूको पूर्ण या आंशिक प्रभावका कारण लाग्ने हो यो रोग । तसर्थ शत प्रतिशत नै यो परिवार या सन्ततिमा सर्दैन ।
  • सबै मानसिक रोगहरू एकै होइनन् ।
  • मानसिक रोगहरू पनि अरू रोगीहरीझैँ औषधि खाएर आफ्ना काम कारवाहीहरू निर्वाध रूपले गर्न सक्छन्, अनि परिवार पनि पाल्न सक्छन् । उनीहरूलाई औषधिको साथ साथमा प्रोत्साहन, सल्लाह, माया, प्रेमको पनि जरुरत पर्दछ ।
  • विवाह गर्दैमा यो रोग निको हुँदैन । बरु कुनै कुनै दीर्घ रोगका कारण विवाह गरेर परिवारमा कलह झनै बढेको, परिवार टुक्रिएको, बाल बच्चाहरूले दुःख पाएको पाइन्छ ।
  • धामीझाँक्रीका कारण कुनै कुनै रोगीमा रहेको धार्मिक एवं सामाजिक विश्वासमा अभिवृद्धि हुन गई राम्रो प्रभाव देखिन गएको हुनसक्ला । तर अत्यधिक त्यस्ता रोगीहरू र तिनका परिवारले धामी झाँक्रीको प्रभावमा परेर पैसा र ज्यान समेत गुमाएको पाइन्छ ।
  • डाक्टरको औषधिले सबै रोगलाई पूर्णतया निको नपार्ला । तर यसले मानसिक रोगीमा हुने निद्रा, दुखाइ, कमजोरीहरू भने कम गराउँदछ । उनीहरू आफ्ना दैनिक कामहरू गर्न समर्थ रहन्छन् ।
  • सबै डाक्टरी औषधिले बानी लगाउँदैनन् । अनि अनुभवी मनोचिकित्सकहरूले बानी लाग्ने गरी औषधि कदापि दिँदैनन् । त्यस्ता औषधि बिस्तारै घटाउँदै लगिएको हुन्छ । अनि सबै मानसिक रोगलाई जीवनभर नै औषधि खानुपर्ने पनि हुँदैन ।

त्यसैले हामीहरूले मनका कथाभित्र लुकेर रहेका या मानसिक रोगहरूबारे व्याप्त भ्रमहरूलाई चिरेर यथार्थलाई मनन गर्दै उपचारमा ध्यान दिनुपर्दछ ।

विचार गरौँ त, यदि एउटा सडकमा भट्किरहेको मानसिक रोगीलाई मात्र नजिकैको मानसिक रोग विशेषज्ञकहाँ लगेर उपचार  गराउन सक्यौँ भने कति राम्रो हुन्छ होला ? अतः यो लेख पढ्ने आदरणीय चेतनशील पाठकवृन्दमा मेरो सादर अनुरोध छ कि मानसिक रोगको साँचो यथार्थलाई बुझौँ र मनोचिकित्सकको उचित सल्लाह र परामर्श लिने बानी बसालौँ ।

लेखक परिचय
डा. अजय रिसाल, मनोचिकित्सक
प्रतिक्रिया
Loading...