साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बुढ्यौली साहित्य किन आवश्यक छ ?

साहित्यमा बुढ्यौलीको प्रयोगद्वारा युगीन सन्दर्भ र परिवेशको नवीन अर्थ खोज्न सकिन्छ । युग र परिस्थितिगत सोच वा चिन्तनको नवीन अर्थ खोज्दै प्राचीन मानवीय शक्ति ज्ञानलाई व्याख्या गर्न सकिन्छ जसको माध्यमबाट सामाजिक रूपान्तरणको जग निर्माण हुन्छ ।

Chovar Blues Mobile Size

बुढ्यौली साहित्य बुढाबुढीका कथा मात्र होइनन् । विगतलाई आगतसँग जोड्ने सेतु पनि हो । रमाइला संस्मरण र विगतमा घटेका घटनाका रम्य पल पनि हो, जसद्वारा पुनः त्यही रमाइलो समयमा फर्कन सकिन्छ त्यसैले पनि बुढ्यौली साहित्यको आवश्यकता छ । बुढ्यौली उमेर र त्यसको परिवेशजन्य प्रभावलाई साहित्यका कथा, कविता, उपन्यास, संस्मरण, जीवनीका रूपमा लेखिने साहित्य नै बुढ्यौली साहित्य भएकाले यसमा जीवन जगत्का प्रचुर ज्ञान, अनुभव र अनुभूतिको भण्डार पाइन्छ । बुढ्यौली अवस्थाका विभिन्न विषय, अनुभव, अनुभूति तथा जीवनका भोगाइलाई प्रस्तुत गरिएका यस्ता साहित्य पछिल्ला सन्ततिका लागि मार्गदर्शन बन्दछन् । आजको वर्तमान अवस्थामा विगतको इतिहास जीवनशैली तथा अन्य कुरा बुझ्नका लागि बुढ्यौली साहित्य निकै उपयोगी सावित हुन्छ । बुढ्यौली साहित्य किन आवश्यक छ भनेः

क) यसले मनोरञ्जन प्रदान गर्छ ।

बुढ्यौली अवस्थामा आफ्ना विगतका घटना, सङ्घर्ष तथा पूर्वस्मृतिका प्रसङ्गमा विभिन्न कुराहरूका संस्मरण हुन्छ । विगतलाई सम्झेर आगतसँग तुलनात्मक जीवनको सारभूत पक्ष र मीठो सम्झनाले खुसी प्राप्त हुन्छ त्यसैले बुढ्यौली साहित्यले लेखक, भावक तथा पाठकलाई पूर्ण मनोरञ्जन प्रदान गर्दछ ।

ख) बुढ्यौली साहित्यमा दर्शन वा चिन्तनको प्रचुर प्रयोगले जीवन र मृत्युका बारेमा बोध गर्न सकिन्छ ।

मानिसको जीवनमा धेरै भोगाइ हुन्छन् । भनिन्छ पढेरभन्दा परेर निकै कुराको बोध हुन्छ, यसका साथै अध्ययन, अध्यापनबाट प्राप्त दर्शन वा चिन्तनले मानिसलाई निरन्तर डोर्याइरहेको हुन्छ । त्यसैलाई अबलम्बन गरिएका विविध बोधलाई बुढ्यौली साहित्यमा चित्रण गरिएको हुन्छ, जसले गर्दा बुढ्यौली साहित्यमा दर्शन, चिन्तन तथा जीवनजगत्प्रतिको दृष्टिकोण समावेश गरिएकोले सांसारिक तथा भौतिक जीवनको सहज बोध गर्न सकिन्छ ।

sagarmani mobile size

ग) यसले ज्ञानको पर्यावरण र क्षेत्रलाई उजागर गर्दछ ।

बुढ्यौली साहित्यका विधागत रचनामा जीवन र जगत्का धेरै घटना समावेश भएका हुन्छन् । कतिपय कुराहरू सुनेका भन्दा पनि देखेका र भोगेका कुरालाई यथार्थ चित्रण गरिएका कारणले यसको रचना तथा अध्ययन, खोज अनुसन्धानबाट ज्ञानको क्षेत्रमा निकै वृद्धि हुन्छ ।

बद्रीप्रसाद ढकाल

घ) जीवन र जगत्को चेतना र सोचलाई परिवर्तन गराउँछ ।

हामीले सोचेजस्तो कुनै कुरा त्यसको ठीक उल्टो भैरहेका हुन्छन् । पढेका कुराभन्दा परेका कुराले मानिसको जीवन र ज्ञानमा परिपक्वता आउँछ । बुढ्यौली साहित्यका विषय वा परिवेशमा सर्वकल्याणका विधि र पक्षको खोज तथा विश्लेषण गरिएकाले यसको अध्ययन वा सिर्जनाबाट सोचको स्तर, परिकल्पना र दृष्टिकोणमा निकै परिवर्तन गर्न सक्ने सामर्थ्य रहेको हुन्छ ।

ङ) जीवनको मार्गदर्शक भएर पथ प्रदर्शन गराउँछ ।

उमेरसँगै ज्ञान, बुद्धि र अनुभवको अवस्थामा समेत परिवर्तन हुन्छ । कतिपय कुराहरू हेरेर वा भोगेर त्यसको सारभूत पक्षको बोध गर्न सकिन्छ । त्यसैले कसैका जीवनी वा संस्मरणले उनीहरूको जीवनशैली, सफलताका कारण तथा अन्य पक्षको अध्ययन गर्दा जीवनलाई पथ प्रदर्शन हुन्छ र जीवन सार्थकतातर्फ अघि बढ्छ ।

च) भाषा र इतिहासको ज्ञानद्वारा कुल वंश परम्परा र संस्कृतिको बोध गराउँछ ।

बुढ्यौली साहित्यका प्राचीन रचनामा पहिलेका भाषा, साहित्य तथा इतिहासका विविध कुराको चित्रण गरिएका हुन्छन् । कुल, वंश र परम्पराका साथै इतिहासका घटनाका बारेमा लेखिएका हुनाले कुनै वंश वा जातिका बारेमा जान्न सकिन्छ ।

छ) नैतिक आचरण र चरित्र परिवर्तन गराउँछ ।

बुढ्यौली साहित्यले सामाजिक सद्भाव, धार्मिक मान्यताका विविध पक्षलाई आत्मसात् गर्दै मानिसले खराब आचरण र नैतिक व्यवहारले गर्दा भोग्नु परेका समस्यालाई देखाउँदै असल नैतिक आचरण र असल व्यवहारको लागि आह्वान गरिएकाले यो निकै लाभदायक हुन्छ ।

ज) लोककला, धर्म संस्कृतिको जगेर्ना गराउन मद्दत गर्छ ।

बुढ्यौली साहित्यमा चित्रण गरिएका लोककला, धर्म संस्कृतिले प्राचीन जीवनशैलीका बोरमा बोध गराउने भएकाले त्यसको सम्वद्र्धन र प्रवद्र्धनमा भूमिका निर्वाह गर्दछ ।

विश्व साहित्यमा खोज तथा अनुसन्धान नभइसकेको बुढ्यौली साहित्यलाई राम्ररी खोज अनुसन्धान गर्न सके यसको अध्ययनबाट निकै रोचक तथा महत्त्वपूर्ण सत्य तथ्य जान्न सकिन्छ । प्राचीनकालदेखि लेखिएको तर समयसीमाका आधारमा नजानिएका स्रोत भएकाले यसलाई छुट्याएर अध्ययन गर्नु र त्यसको पूर्ण उपयोग गर्न सके निकै लाभदायक हुन्छ । बुढ्यौली साहित्यको खोज, अनुसन्धान गरी मानव विकास र सभ्यतालाई सम्पन्न बनाउनु आजको आवश्यकता पनि हो । वास्तवमै अग्रज वा वृद्ध तथा जेष्ठ नागरिकले आफूले भोगेका जीवनका विविध पक्षलाई लिपिबद्ध रूपमा राखेमा विगतको समाजका बारेमा समेत जानकारी रहने हुँदा यसले समयबोध र समस्या समाधानका साथै विषयगत दक्षता अभिवृद्धिमा समेत उचित भूमिका निर्वाह गर्दछ । अर्को राम्रो पक्ष के हो भने अल्लारे वा  भड्किलो अल्लारेपनजस्ता कुराहरू बुढ्यौली साहित्यमा नहुने र सामान्य सस्तो लोकप्रियताका लागि नलेखिने हुनाले यसभित्रको भाव, वैचारिक चिन्तन, दार्शनिक विचार, विषवस्तुको गहनताजस्ता वैशिष्ठ्यले निकै उपयोगी समेत देखिन्छ । जीवनको सुखद् उत्तराद्र्ध र समयको बलियो खुराक समेत हुने हुनाले बुढ्यौली साहित्य आजको आवश्यकता हो । बुढ्यौली साहित्य देश, काल र इतिहासका लागि महत्त्वपूर्ण र भावी पुस्ताका लागि अत्यन्तै उपयोगी सिद्ध हुनेछ । बुढ्यौली साहित्यमा यस्ता विशेष कुराहरू हुन्छन्ः

उमेरगत गहन चिन्तनको प्रस्तुति हुन्छ ।

सरल, सुबोध भाषाशैलीको माध्यमबाट अर्ती, उपदेश, विचार, दर्शन र ज्ञान प्रवाहित हुन्छ ।

रोचक तथा जीवन्त प्रस्तुति र शैलीले रोचक बनाएको हुन्छ ।

मनोरञ्जनका माध्यमबाट सम्यक ज्ञान र अनुभव बाँडिन्छ ।

सिर्जनात्मक प्रेरणा र प्रेरक प्रसङ्गको चर्चाजस्ता महत्त्वपूर्ण कुरा समेटिएको हुनाले यो निकै उपयोगी छ ।

साहित्यमा बुढ्यौलीको प्रयोग

बुढ्यौलीपनलाई आधार वा विषय बनाएर सिर्जना गरिएका साहित्य भएकाले बुढ्यौली समयका जीवनका यावत् पक्ष वा सिङ्गो जगत्को ज्ञान यसमा समेटिएका हुन्छन् । बुढ्यौली अनुभवादि शब्दलाई व्यवहारमा  प्रयोग गरिनु पर्दछ भन्ने मान्यता यसले राख्दछ । बुढ्यौली  र साहित्यको सम्बन्ध एक अर्कामा परिपूरक र सम्बन्धित छन् । साहित्यमा बुढ्यौली अवस्थालाई अभिव्यक्त गर्न सकिन्छ । बुढ्यौली अनुभव घटनावस्तुलाई साहित्यमा प्रस्तुत गर्न सकिन्छ । बुढ्यौलीको सिर्जना संस्मरण साहित्यको पर्यायका रूपमा मानिन्छ । वैदिक साहित्य यसको ज्वलन्त उदाहरण हो । पाश्चात्य साहित्यमा होमरद्वारा रचित ओडिसी र इलियाड, दाँतेको डिभाइन कमेडी, मिल्टनको प्याराडाइज लस्ट, शेलीको प्रमिथस सबै प्राचीन मानवसभ्यता र मानिसको वृद्धपन, वयस्क तथा बुढ्यौली साहित्यका उदाहरण हुन् । पूर्वीय साहित्यमा व्यासको महाभारत, वाल्मीकिकृत रामायण, कालीदासको अभिज्ञान शाकुन्तलम, कुमारसम्भव, रघुवंश आदि बुढ्यौली साहित्यका अनुभव कथा नै हुन् ।

बुढ्यौली घटना वा कथालाई आधार बनाएर लेखिएका साहित्य कालजयी हुन्छन् । पूर्वीय र पाश्चात्य दुवैतर्फका साहित्यमा बुढ्यौलीलाई स्रोत बनाएर रचना गरिएका छन् । पूर्वमा होस् या पश्चिममा साहित्यलाई सुन्दर, प्रभावशाली र कलात्मक बनाउन बुढ्यौलीलाई नै विषय बनाइन्छ । भाषा प्रयोगका दृष्टिले बुढ्यौली  र साहित्य नजिक मानिन्छन् त्यसैले बुढ्यौली  र साहित्यमा अभेद्य सम्बन्ध छन् । बुढ्यौली र साहित्यमा वस्तु र भावको प्रकटीकरण हुन्छ । सत्य र कल्पनाको माध्यमबाट दुवै प्रकृतिको अनुकरण गर्दछन् । पाश्चात्य साहित्यका  मिल्टन, शेली, किट्स, इलियट र नेपाली साहित्यका सोमनाथ सिग्द्याल, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, कमलमणि दीक्षित, राजेश्वर देवकोटा, बालकृष्ण सम, भवानी भिक्षु, नारायण ढकाल आदिका रचनामा बुढ्यौली संवेदना, मनोदशाका तथा व्यक्तित्वको चरित्रयुक्त कथानक पाइन्छन् ।

बुढ्यौलीको प्रयोगले आधुनिक साहित्यमा नवीन शिल्प थपेको छ । संस्कृतिलाई आत्मसात् गर्दै सार्वभौम सत्यलाई प्रकट गर्ने परम्पराले साहित्यमा बुढ्यौली अझै महत्त्वपूर्ण बन्दै गएको छ । साहित्यमा बुढ्यौलीको प्रयोग जस्ताको तस्तै नभएर, बिम्बात्मक, प्रतीकात्मक, मिथकीय,  पुनःव्याख्या गरिएको हुन्छ । बुढ्यौली साहित्यमा घटनाको कलात्मक तथा भावपक्षको प्रस्तुतिमा नवीन शैली, युगीनसन्दर्भ र परिवेशको चयन गर्दै साहित्यिक अर्थ र प्रभावलाई सशक्त पार्ने काम भएको छ । वास्तवमै बुढ्यौली साहित्यलेसंस्कार, संस्कृति र प्राचीनकलाको विश्लेषण गर्दछ । साहित्यमा बुढ्यौलीको प्रयोग एक विशिष्ट कलाका रूपमा आएकाले यो एक प्रकारको प्राचीन ज्ञान, चिन्तन र जीवनकै मार्गदर्शन बन्दै आइरहेको छ ।

साहित्यमा बुढ्यौलीको प्रयोग कला मानिएजस्तै बुढ्यौलीलाई कलाको सृष्टि वा आरम्भ विन्दु मान्न सकिन्छ । सिर्जनामा प्रयोग भएको चित्रात्मक भाषा, बिम्ब र प्रतीक बुढ्यौलीकै स्वरूप हुन् जसले साहित्यमा वस्तु सत्य र भाव सत्यलाई प्रष्ट्याउँछ । साहित्यलाई प्रकृति र मानव जीवनजगत्को अनुकरणका रूपमा लिइन्छ भने बुढ्यौलीपन आदिम मानव सृष्टि सभ्यतासँगै प्रकृतिको मानवीकरणका रूपमा बुझ्न सकिन्छ । बुढ्यौली  र साहित्यमा तङ्खवगत तथा रूपगत समानता रहेकाले बुढ्यौली साहित्य वर्तमान समय र अवस्थामा अझै महत्त्वपूर्ण बन्दै आएको छ । बुढ्यौली साहित्यमा प्रस्तुत गरिएका विषय, पात्र र परिवेशले मानव सभ्यताको विकासको इतिहासको बिम्ब प्रस्तुत गर्दछ त्यसैले साहित्यमा बुढ्यौलीको प्रयोगद्वारा पूर्वजहरूका जीवनशैलीका साथै सामाजिक संरचना, रीतिस्थिति परम्परा, चालचलन, संस्कार, धर्म, संस्कृति र भाषाका बारेमा स्पष्ट ज्ञान प्रष्ट गर्न सकिन्छ । यति धेरै कुरा हुँदाहुँदै पनि साहित्य र बुढ्यौली दुई छुट्टै विषय हुन् । बुढ्यौली  नै साहित्य वा साहित्य नै बुढ्यौली चाहिँ होइन । यी दुई एक अर्काका पर्याय हुन्, आधारभूमि हुन् । यो चाहिँ भन्न सकिन्छ कि दुवैको उत्पत्ति, आरम्भ वा प्रारम्भ प्राकृतिक स्रोत हो । बुढ्यौलीमा भएका भावात्मक, काल्पनिक, प्रतीकात्मक, चित्रात्मक, बिम्बात्मक तथा रहस्यहरू साहित्यका निकटवर्ती आधारशीला हुन् जसको पृष्ठभूमिमा टेकेर अब्बल साहित्य रचना गर्न सकिन्छ ।

साहित्यमा बुढ्यौलीको प्रयोगद्वारा युगीन सन्दर्भ र परिवेशको नवीन अर्थ खोज्न सकिन्छ । युग र परिस्थितिगत सोच वा चिन्तनको नवीन अर्थ खोज्दै प्राचीन मानवीय शक्ति ज्ञानलाई व्याख्या गर्न सकिन्छ जसको माध्यमबाट सामाजिक रूपान्तरणको जग निर्माण हुन्छ । बुढ्यौलीय सन्दर्भलाई युगानुकूल बनाउन वर्तमान परिवेशसँग सामञ्जस्य राखिन्छ, त्यसैले साहित्यमा बुढ्यौलीपन सोझो रूपमा नआई घटना, पात्र र परिवेशका माध्यमबाट प्रस्तुत भएका हुन्छन् । परम्परागत मान्यतालाई नवीन युगीन परिवेशमा ढाल्नु नै साहित्यमा बुढ्यौलीले आफ्नो स्थान निर्धारण गर्नु हो ।

बुढ्यौली चेतनामा घटनाले विचारलाई सँगसँगै बोक्दछ । बुढ्यौलीका घटनाका सारभूत तङ्खवलाई कथानकीय ढाँचामा बुनेर साहित्यमा रचनाकारले आफ्ना विचार अभिव्यक्त गर्दछन् ।  कतै आफैँ उभिएर वा कतै तत्प्रकारका पात्रलाई उभ्याएर संवाद वा एकालापका माध्यमबाट बुढ्यौली परिवेशको निर्माण गरिन्छ जसले समयअनुसारका प्रासङ्गिक घटनालाई बताउँछ । कुनै सर्जक वा रचनाकारले साहित्य सिर्जनामा आधुनिक चेतना र सन्दर्भलाई जोडेर बुढ्यौलीको प्रयोग गर्दा त्यस्ता साहित्य उत्कृष्ट बन्न पुग्दछन् । मूल वा प्राचीन बुढ्यौलीलाई जस्ताको त्यस्तै प्रयोग भएका साहित्य पाइन्छन् तर बुढ्यौलीको आख्यानलाई समय र सन्दर्भअनुसार परिवर्तन गरेर सत्यापनको उद्घाटन र विश्वासयोग्य बनाउन सकिन्छ । कतिपय पूर्वीय वा पाश्चात्य साहित्यका रचनामा यी गुण पाइन्छन् । बुढ्यौलीको घटना र पात्रलाई आधार मान्दै त्यसका माध्यमबाट समकालीन विषय र परिवेश, जीवनदृष्टि तथा नवीन सन्देश दिनका लागि रचना गरिएका साहित्य स्थापित भएका छन् ।

साहित्यमा बुढ्यौलीलाई जस्ताको तस्तै प्रयोग गर्दा त्यो पुराण अथवा लोककथामा जस्तो हुने हुनाले बुढ्यौलीको प्रयोग जस्ताको तस्तै नगरी युगीन सत्य र वर्तमान प्रसङ्गसँग समिश्रण गर्नु उपयुक्त हुन्छ । प्रायः कृतिमा बुढ्यौलीको प्रसङ्गद्वारा युगीनसन्दर्भलाई वर्तमान परिवेशमा ढालेर, मानव जीवनको सोच, प्रवृत्ति, दृष्टिकोण चिन्तन र त्यसले पारेको प्रभावलाई प्रस्तुत गरिन्छ । साहित्यमा बुढ्यौलीको प्रयोग गर्दा युगीनसन्दर्भ र परिवेशको निर्माण गर्दै आधुनिक पात्र चयन गरी अर्थ प्रदान गर्ने उद्देश्य राखिएको हुन्छ । अझ सत्य र तथ्यको स्थापना गर्न कतिपय रचनामा बुढ्यौलीका प्रसङ्ग, अंश वा संवादको प्रयोग गर्दै मर्मस्पर्शी बनाइएको हुन्छ भने कतै कुनै कृतिमा प्राचीनकथाका बुढ्यौली अवस्थाका घटना वा पक्षको ठिक विपरित प्रसङ्गलाई खुलाउन त्यस्ता अंश राखिन्छ, राखिएको हुन्छ ।

यसरी साहित्यमा बुढ्यौलीको प्रयोगको अवधारणा निकै अगाडि बढिसकेको छ । प्राचीन कला, संस्कृति, संस्कार र धर्मका माध्यमबाट वस्तुगत तथ्यलाई चित्रण गरी वर्तमान युग र परिवेशका घटनासँग तादाम्य राख्न साहित्य सफल भएको छ । बुढ्यौली सन्दर्भको प्रयोगबाट साहित्यले विशिष्टता प्राप्त गरेको छ । साहित्यमा बुढ्यौलीका विविध अर्थलाई अभिव्यक्त गर्ने सामर्थ्य रहेको हुन्छ । कुनै पनि साहित्यिक कृतिमा बुढ्यौली सन्दर्भ र परम्परा रहन्छ नै जसका माध्यमबाट कृतिले ओगटेको परिवेशमा संस्कार, संस्कृति सामूहिक भाव  विश्वासका ज्ञान पाउन सकिन्छ । पूर्वीय तथा पाश्चात्य साहित्यमा बुढ्यौलीपनको प्रचुर प्रयोग भएको छ ।  साहित्यलाई सुन्दर र प्रभावशाली बनाउन, सार्वभौम र सार्वकालिक बनाउन बुढ्यौलीको प्रयोग गर्ने प्रवृत्ति झन्झन् बढेको छ ।

लेखक परिचय
बढ
बद्रीप्रसाद ढकाल
प्रतिक्रिया
Loading...