स्वादिला बालकविता; शृङ्खला – ११
१. कपासको खेती – प्रमोद प्रधान


आकाशमा कसले गर्छ कपासको खेती
जाऔँ हामी सोधी आऔँ उसैलाई भेटी
बोट छैन बिरुवा छैन फुल्छ ढकमक्क
पानी मल चाहिँदैन पार्छ सधैँ छक्क
कुनैचाहिँ काली हुन्छे कुनै चाहिँ सेती
आकाशमा कसले गर्छ कपासको खेती
घाम आई दिनभरि उसलाई साथ दिन्छ
जूनसँगै जिस्किएर उसको रात बित्छ
बतासलाई पछ्याउँछ बनी केटाकेटी
आकाशमा कसले गर्छ कपासको खेती ।
(‘कान समात् कान’ सङ्ग्रहबाट)
—————————————–
[नेपाली बालसाहित्यको इतिहास, सिद्धान्त र विविध विधाका बारेमा गहन र खोजमूलक अध्ययन, अनुसन्धानमा लागिपर्ने प्रमोद प्रधान (२०१५) बालकविताका क्षेत्रमा समेत बालमनोविज्ञानमा आधारित रहेर रसिला एवम् चोपिला कविता लेख्ने सक्रिय सर्जक र दीर्घ साधक हुन् । उनका बालकथाका सङ्ग्रह लगायत ‘कान समात् कान’, ‘कानाकाना कुर्र’, ‘सधैँभरि लुकामारी’, ‘र्याइँर्याइँ सारङ्गी’, ‘टुसा खाने मुसा’, ‘रसैरस रसिली’, ‘मेरो साथी खोइ ?’, ‘छुकछुक छुकछुक आयो रेल’, ‘मेरो गाउँघर’, ‘भुर्र भुर्र चरी’, ‘नाच्न थाल्यो चङ्खे बाँदर’, ‘पाठा पाठी’, ‘बार्दलीमा फर्सी’, ‘छुट्यो झोला’, ‘हामी बस्छौँ घरमा’ लगायतका बालकवितासँग सम्बन्धित कृति प्रकाशित भएका देखिन्छन् । उनले लेखेको ‘नेपाली बालसाहित्यको इतिहास’ नामक कृतिलाई बालसाहित्य क्षेत्रकै आधिकारिक र प्रामाणिक दस्तावेज मान्न सकिन्छ । उनका बालकवितामा बालभाषा, बालकल्पना, बालसुलभ व्यवहार, बाल आनीबानी, बालोचित कोमल भावना, बालमनोविज्ञान र बालोपयोगी सन्दर्भको प्रयोग भएको पाइन्छ । उनको ‘कपासको खेती’ बालकविता प्रकृतिचित्रणमा आधारित कल्पनाप्रधान गेयात्मक बालकविता हो । चौध अक्षरे सबाइ लोकछन्दमा रचित यस बालकवितामा कपासको खेती भनेर कविले बादल शब्दलाई सङ्केत गर्न खोजेका छन् । घामले दिनभरि बादललाई साथी बनाउँछ भने राति जूनसँग जिस्किएर उसको रात बितेको कल्पना कवितामा गरिएको छ । कविले बादललाई बालपात्रका रूपमा उभ्याउँदै केटाकेटी बनेर बतासलाई पछ्याउने कल्पनासमेत कवितामा गरेका छन् ।]
***************************************
२. नेपाली हुँ म – विमला ढुङ्गाना निरौला

जहाँ जाऊँ नेपाली भई शिर उठाई बाँच्ने
आँखाभरि मनभरि आफ्नै देश साँच्ने
परदेशको बसाइ छ देशमै प्रीति लाउँछु
देशकै चिन्ता देशकै माया देशकै गीत गाउँछु
नेपाली हुँ नेपाली भई आफ्नै पनमा बाँच्छु
सगरमाथा गौरव बोकी लालीगुराँस हाँस्छु
बुद्धत्वको ज्ञान बाँड्दै पुग्छु पर–पर
गौतमको शान्ति सन्देश बोकी विश्वभर
पूर्णिमाको ज्योति बन्छु न्यानो झुल्के घाम
हामीले नै चम्काउनु छ नेपालको नाम
आफ्नो देश भोलि आफै हाँकी हिड्नु पर्छ
उन्नतिले शिखर चुमोस् भन्ने एउटा रहर छ
फर्किने हो विदेशबाट बोकी शिक्षाज्योति
सिँगार्नु छ देशलाई बनी हीरा मोती
———————————-
[काठमाडौँ घर भई हाल अमेरिकामा बसोबास गर्दै आएकी कवयित्री विमला ढुङ्गाना निरौला (२०२९) बालसाहित्यका विविध विधामा कलम चलाउँदै आएकी सक्रिय स्रष्टा हुन् । २०४२ सालमा रेडियो नेपालको बाल कार्यक्रममा कविता वाचन गरेर साहित्ययात्रा थालेकी कवयित्री निरौलाका तिमीबिनाको हाम्रो जीवन, बालमन, बादल र ऋतु, पशुपन्छी, बालबगैँचा, ठूलो भई के बन्ने, निर्दोष कोपिला लगायतका बालकविताका कृति प्रकाशित छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अनेसास डिसी च्याप्टर, नेपाल बालसाहित्य समाज, बालसाहित्य प्रतिष्ठान, अमेरिका सहयोगी समाज, शिक्षा सदन भर्जिनिया अमेरिका, नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा उनको संलग्नता रहेको छ । बालसाहित्यका क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै उनले अनेसास डायस्पोरा सम्मान पनि प्राप्त गरिसकेकी छन् । अनेसास बालतारा कार्यक्रमको संयोजक भई उनले बालबालिकाको सिर्जनात्मक लेखनमा अभिभावकको भूमिका निर्वाह गरेकी छन् । सरल भाषामा रोचक शैलीका बालकविता लेख्ने कवयित्री निरौला बालमन छामेर कविता लेख्न खप्पिस छन् । उनको प्रस्तुत ‘नेपाली हुँ म’ बालकविता स्वदेशप्रति समर्पित बालकविता हो । आफू परदेशमा रहँदा पनि आफ्नो जन्मभूमि नेपाललाई बिर्सन नसकेको भाव कवितामा अभिव्यक्त भएको छ । बालपात्र बनेकी कवयित्री विमलाले प्रस्तुत बालकवितामा नेपाली भएको नाताले आफ्नो देशप्रति निर्वाह गर्नुपर्ने कर्तव्यबाट पलायन नहुने विचार अभिव्यक्त गरेकी छन् ।]
*********************************
३. हाम्रो घरको … – रेशम गिरी

हाम्रो घरको खोरमा
बाख्राका पाठा
बुरुकबुरुक उफ्रन्छन्
कति धेरै टाठा
हाम्रो घरको गोठमा
गाईका बाच्छी-बाच्छा
झालेमाले तिल्के तारे
कति धेरै अच्छा
हाम्रो घरको तबेलामा
घोडाका बछेडा
कति राम्रो निधार
लगाइदिऊँ कि अक्षता
हाम्रो घरको कौसीमा
गौँथलीका बचेरा
भाले पोथी खुवाउँछन्
पालैपालो आहारा
————————————————
[शिक्षण, साहित्य र पत्रकारिताका क्षेत्रमा सक्रिय स्रष्टा रेशम गिरी (२०३८) हाल न्याय सेवामा कार्यरत छन् । पोखरा महानगरपालिका-२४, कास्कीकोट निवासी उनले विभिन्न शैक्षिक, सामाजिक तथा साहित्यिक संस्थामा आबद्ध भएर काम गरेका छन् । उनको ‘संविधान‘ मुक्तक सङ्ग्रह र ‘चक्रधूम‘ उपन्यास प्रकाशित भइसकेको छ । विद्यालयस्तरीय सन्दर्भ पाठ्यपुस्तक लेखनको अनुभव सँगालेका सर्जक रेशम गिरीका फुटकर बालकविताहरू पनि फाट्टफुट्ट रूपमा प्रकाशित हुँदै आइरहेका छन् । प्रस्तुत ‘हाम्रो घरको …‘ बालकवितामा कवि गिरीले बाख्राका पाठा, गाईका बाच्छाबाच्छी, घोडाका बछेडा, गौँथलीका बचेरा जस्ता अमानवीय पात्रको प्रयोग गरेर पात्रचयनमा समेत बालपात्रलाई जोड दिएका छन् । प्रकृतिमा रहेका यस्ता अमानवीय प्राणीहरूको मानवीकरण गर्दै तिनीहरूको बासस्थान, आनीबानी र स्वभावका साथै सूक्ष्म परिचयको झल्को समेत कवितामा दिइएको छ । बालबालिकाले बुझ्न सक्ने खालको सरल भाषाशैलीमा कविले यो कविता प्रस्तुत गरेका छन् । प्रस्तुत बालकवितामा उनले लोकलयको प्रयोग गरेका छन् । कवितामा कल्पनाशील पक्षको झलक पनि देख्न सकिन्छ ।]
rcghimire47@gmail.com
साहित्यपोस्टका नियमित स्तम्भकार घिमिरे ईशानेश्वर क्याम्पस, भोर्लेटार (लमजुङ) का प्रमुख हुन् ।