गजल गायनको अभिन्न अंग बनेर आउँछ : गजल संगीत ।

संगीतशैलीकै माध्यमबाट हामी सुन्नासाथै गजल चिन्दछौं । हुन त गजल शब्द–संरचनाको प्राविधिक शिल्पद्वारा रचिएको हुन्छ, तर संगीतको विशिष्ट शैलीले मात्र गजलको मर्मलाई प्रतिध्वनित गर्ने गर्दछ । गजल–रचना पनि गजलअनुकूल संगीतमा ढालेर पेश गरिएन भने गजल लाग्दैन, गजलको मर्म र व्यक्तित्व खण्डित हुन्छ । यसो कल्पना गर्नुहोस् त, गजल रचना पप र डिस्को शैलीमा संगीतबद्ध गरियो वा ¥याप शैलीमा गाइयो भने के होला ?

संगति संगीतको

रचना प्रविधिले सुसज्जित, राम्रो गजल पनि संगीतको संगति नपाएर अरु थोक बन्न सक्दछ । यसैगरी गजलेतर रचना पनि यदा–कदा गजलको बिम्ब र ध्वनि पैदा गर्न सक्षम हुन्छ यदि गजलशैलीमा संगीतको संगति रह्यो भने । कतिपय सामान्य गीत पनि विशिष्ट शास्त्रीय संगीतमा ढालेर गजलशैलीमा निबद्ध गरेपछि गजल झैं लाग्दछन् श्रोताहरुलाई । नपत्याए सुविख्यात संगीतकार दीपक जंगमको संगीतमा गजलगायकीका हस्ती गुलाम अलीले गाएका रचनाहरु सुन्नुहोस् । गाजलु ती ठूला ठूला आँखा, के छ र दिउँ तिमीलाई मैले कोसेली भनेर, लोलाएका ती ठूला ..बोलका लोकप्रिय गजलेतर रचनाहरुलाई पनि श्रोतृगणले प्रायः गजलकै मर्यादाले हेर्दछ, सुन्दछ र सम्मान गर्दछ । हुन पनि आम श्रोता गजलको शास्त्रीय रचनाविधानले भन्दा पनि गायन शैली र संगीतमा रहेको शास्त्रीयताले गजललाई जान्दछ, गजल मान्दछ । कतिपय गायक र संगीतकारसम्मलाई पनि गहिरो सन्देह र शंका छ : गजल भनेको रचनाशैलीभन्दा पनि गायन शैली पो हो कि ?

वस्तुतः गजल दुवै हो । यो रचनाविशेष त हुँदै हो, साथसाथै विशिष्ट गायन शैलीको आबद्धता पनि हो । गजलमा रहेको ल तत्त्व अर्थात् लयात्मकताले यसको विशिष्ट ललित संगीततिर इंगित गर्दछ । प्राचीन कालदेखि नै गजल संगीतमा आफ्नै मौलिक र शास्त्रीय शैलीको परम्परा रहिआएको छ । त्यसैले गजलको स्वरूप र व्यक्तित्वलाई प्रतिविम्बित गर्दछ । गजलको मर्म बुझ्ने संगीतकारले गजलको व्यक्तित्व र मर्यादाअनुकूल संगतिपूर्ण संगीतयोजना सम्पन्न गरेकै हुन्छ । यस्तो संगीत उही पुरानै धारको हुनै पर्दछ र यसमा तिनै प्राचीन वाद्ययन्त्र र वादनशैलीको एकोहोरो अनुसरण गर्नै पर्दछ भन्नेचाहिँ किमार्थ होइन ।

डा. सनतकुमार वस्ती

गजलरचनाका गहन र सघन कोमल भावमय शब्द र त्यसभित्र सन्निहित जीवन्ततालाई अभिव्यक्त गर्न सृजनशील संगीतकारले गजल संगीतमा नयाँ नौला प्रविधि पनि प्रयोग गरेको हुन्छ, एकदमै भिन्न शैलीलाई पनि आत्मसात् गरेको हुन सक्दछ । तर फेरि पनि यस्तो खालको प्रयोगले गजलको आत्मालाई धमिल्याएको हुँदैन, जीवन्ततालाई किचेको हुँदैन र लयात्मकतालाई भंग गरेको पनि हुँदैन । गजलको मूल मर्मलाई उजिल्याएकै हुन्छ, ज्यूँदोपनलाई जगाएकै हुन्छ र लय लालित्यमा लोच ल्याएकै हुन्छ र हुनुपर्छ पनि ।

यी साजहरू:

गजल संगीत मूलतः शास्त्रीय संगीतरचना र भावानुकूल राग–रागिनीमा आधारित हुन्छ । यो पूरै शास्त्रीयताको व्याकरणमा बाँधिएकै पनि हुँदैन, वस्तुतः अर्धशास्त्रीयता गजल–संगीतको मूलधार हो । यसलाई सुगम संगीत पनि भन्ने चलन छ । यो मन्द लय वा मध्य लय र तदनुकूल तालमा रचिएको हुन्छ । हारमोनियम र तबला गजल संगीतका अभिन्न र पारम्परिक वाद्य यन्त्र हुन्, गजलसँग यिनको पुख्र्यौली नाता सम्बन्ध छ । यिनका साथै शास्त्रीयतालाई ध्वनित प्रतिध्वनित गर्ने सितार, सरोद, भ्वाइलिन वा सारंगी, बाँसुरी, सन्तूर र जलतरंग जस्ता वाद्यहरु गजल संगीतका सहचर सहचरी बनेका हुन्छन् । सृजनात्मक प्रतिभाले सम्पन्न संगीतकारले आधुनिक गजलमा गिटार, सेक्सोफोन र ड्रम जस्ता वाद्ययन्त्रलाई समेत गजल अनुकूल शैलीमा सजाएर कलात्मक उपयोग गरेको हामी पाउँछौं । कतिसम्म भने ओठ गोल्याएर श्वाससंघातबाट निकालिने सुसेलीलाई समेत गजलअनुकूल बनाएर प्रयोग गरेका छन् प्रतिभाशाली र संवेदनशील गजल संगीतकारले । अझ स्पष्ट पारौं, तपाईँ हामीले सुनिआएकै छौं – नामूद गजल संगीतकार जगजीत सिंहले आफ्नो मधुर गायनमा पेश गरेको गजल ः तेरा चेहरा है आइने जैसा ..बोलको मतलामा सुसेलेर पनि मधुरता भरेकै छन् । यसबाट के स्पष्ट हुन्छ भने सवाल साजको होइन, सिर्जनशीलताको हो र कलात्मकताको हो ।

ध्यान दिनैपर्ने:

गजल–संगीतमा सबैभन्दा ध्यान दिनुपर्ने पक्षचाहिं के रहन्छ भने गजल बाजाहरुमा शब्द भर्न रचिएको विधा होइन, न त शब्दमा बाजा भर्न । वस्तुतः गजलसंगीतमा गजल केन्द्रमा हुन्छ, वाद्य वादनचाहिं परिधिमा । गजल रचनाका शब्दहरुलाई बढी भावमय, सघन र मर्मस्पर्शी बनाउने साधनका रुपमा मात्र यहाँ वाद्ययन्त्रहरुको सदुपयोग गरिन्छ, गजलरचनाको मूल गायन स्वरलाई माथि उठाएर तिनको अनुगामी ध्वनि र धूनका रूपमा मात्र वाद्ययन्त्रका ध्वनिहरु मुखरित हुन्छन् । गजलको काव्यात्मक स्वरूप र मर्मलाई अझ स्पष्टसँग उजिल्याएर गजलको आत्मालाई अझ समुज्ज्वल बनाउनु र भित्री भावलाई छर्लंग्याउनु नै संगीतको वास्तविक लक्ष्य हो र हुनुपर्दछ पनि । यसैको प्राप्तिमा मात्र गजलसंगीतले सार्थकताको आवाहन गर्दै आएको तथ्य हामी सबैले बुझेकै कुरा हुन् ।

तर, जतिसुकै मीठो गायनकला र संगीतले सजिए पनि जबसम्म भावक श्रोताले राम्ररी गजल सुन्दैन, तबसम्म गजलको लक्ष्य र लोकयात्रा कहाँ पूरा हुन्छ र ?

गजल श्रवण:

गजल सुन्ने पनि आफ्नै विशिष्ट शैली र कला हुन्छ ।

एकपल्ट विश्वविख्यात सितारवादक पं रविशंकरलाई कुनै जिज्ञासु श्रोताले सोधेछन् — पण्डितज्यू, पुरातन शास्त्रीय संगीत र आधुनिक पप संगीतमा वस्तुतः के भिन्नता छ ? आखिर यी दुवै संगीत नै होइनन् र ?
रविशंकरको उत्तर आयो : हुन त यी दुवै संगीत नै हुन्, तर यी दुवैका बीच त्यति नै भिन्नता छ जति शिर र पाउका बीच ।

आश्चर्य मान्दै श्रोताले जिज्ञासा प्रकट गरे : कसरी ?

पण्डितजीको उत्तर थियो : शास्त्रीय संगीत सुनेर आनन्दित भएपछि श्रोताहरु टाउको हल्लाउन थाल्दछन्, पप संगीत सुनेर मस्त भएपछि खुट्टा नचाउन थाल्दछन् !

गजल श्रवण र अन्य रचना श्रवणका बीच पनि यस्तै भिन्नता पाइन्छ । गजल सुनेर आनन्दित भएपछि श्रोताहरु भावविभोर बनेर वाह! वाह!! गर्दछन् । अरु थोक सुनेर चित्त बुझेपछि उत्तेजित हुँदै ताली पिट्दछन् ।

गजल–समाधि:

गजल अत्यन्त सूक्ष्म र संवेदनशील काव्यविधा हो । सीमित शब्दहरुबाट सम्पन्न गरिएको गहिरो भावसम्प्रेषणको कला हो गजल । अत्यन्त संस्कारशील र सावधान श्रोताको माग गर्दछ गजलले । एउटा सिंगो परिष्कारशील युगको लामो सफर तय गरेर सम्पन्न बनेको विधा हो गजल । यस्तै, आफूजस्तै श्रोता भावकका सामू मात्र आफ्नो आनन्दमय, सम्मोहनकारी स्वरुपको दर्शन दिन्छ गजलले । ताली पिट्ने, सिट्टी मार्ने र हो–हल्ला गरेर टेबुल ठटाउने माहौलमा गजल पटक्कै रम्दैन र जम्दैन पनि । शान्त र प्रसन्न, तर गम्भीर मुद्रामा ध्यानमग्न भावुक भावकका लागि हो गजल ।

भनिन्छ : एउटा सफल र सार्थक गजल त्यो होइन जसलाई सुनेर श्रोताहरु हाँस्छन्, खुशी हुन्छन्, अनि खुशी व्यक्त गर्दै एकअर्कासित कुरा गर्न र प्रतिक्रिया व्यक्त गर्न थाल्दछन् ।

वस्तुतः राम्रो गजल त त्यो पो हो जसलाई सुनेपछि भावकहरु गम्भीर र सामसुम्म बन्दछन् अनि आ–आफ्नै आन्तरिक जगत्को आनन्द र रोमाञ्चमा मस्त बन्दछन्, गजल–समाधिस्थ बन्दछन् । अनि त्यही तन्मयताको मस्तीमा आनायासै उनका ओठबाट उल्लासको ध्वनि प्रतिध्वनित हुन्छ : वाह ! वाह !!

माहौल गजलको:

गजल श्रवणको समय प्रायः सायंकाल हो । जब सूर्य आफ्ना प्रखर किरणावलीलाई समेटेर अस्ताचलतिर लम्कन्छन् र विश्राम लिन थाल्दछन्, सिरसिर पवनलहर बहन थाल्दछ, आकाशको क्यानभासमा प्रकृतिको अदृश्य जादूमय कुची चल्न थाल्दछ, अनि समयको त्यही सौम्य, शान्त र स्निग्ध परिवेशमा गजल गम्कन्छ ।
खालि पेटमा गजल सुनिँदैन, न धेरै अस्टपस्ट हुने गरी खाएको अवस्थामा । हलुका, स्वास्थ्यसम्मत, रुचिअनुकूल खान–पान गरेर शान्त र आनन्दित मनःस्थितिमा अनि स्वस्थ, स्वच्छ र सहज अवस्थितिमा रहेर गजल सुनिन्छ । सजिलो, खुकुलो पहिरन र नरम आसनमा, प्रसन्न मुद्रामा, सहज बसाइमा स्थिर भएर गजलको आनन्द लिइन्छ ।
शब्द शब्दमा एकाग्रता र तन्मयताका साथ सम्पन्न गजल–श्रवणले मानसिक आनन्द र मस्ती बढाइदिन्छ, थाकेको मनोमस्तिष्कलाई परम–विश्रान्ति दिन्छ । प्रायः प्रत्येक शेरको काफियामा आइपुगेपछि घतलाग्दो परिवेश बन्दछ, त्यहीँ वाह ! वाह !! को साधुवाद पनि घन्कन्छ ।

जबरजस्तीले वाह ! आउँदैन, आयो भने पनि त्यो अत्यन्त कृत्रिम हुन्छ, त्यसले थकाउँछ । वास्तविक आनन्दको उद्गार हो वाह! वाह!! यसले ऊर्जा दिन्छ ।

घत लागेको अवस्थामा शेर पुनः सुन्ने मधुर आग्रह गर्दछ श्रोताले :

फेरि एकपल्ट !

वन्स् मोर !!

अथवा, गजलको भाषामा : मुकर्रर !!!

उत्साहले भरिएर गायक/प्रस्तोताले शेर दोहोर्याउँछ अझ बुलन्द शैलीमा, अनि फेरि घन्कन्छ श्रोताको आन्तरिक आनन्द र मस्तीको मादक उद्गार : वाह ! वाह !!

स्वागतम् !

हार्दिक आनन्दको आराधना हो गजल । मानसिक उकुसमुकुसको सुललित र सहज विरेचन हो गजल । मस्तीको मधुर वाणी हो गजल ।

त्यसो भए किन विलम्ब ?

आउनुहोस् रसिकवृन्द ! हामी पनि सुमधुर गजल सुनौं र मस्त बनौं —

चैनको एक प्रहर भए पुग्छ
श्वासको दुई लहर भए पुग्छ,
..
जिउने मर्ने कसमहरु छोड
साथी बन्ने रहर भए पुग्छ,
..
हातमा हात भैदिओस् तिम्रो
फूल फुल्ने शहर भए पुग्छ,
..
ठुल्ठुला काव्यका कुरा छोडौं
शेर यौटा अमर भए पुग्छ,
..
ए हजुर ! आज के अरु मागूँ ?
प्यारको एक नजर भए पुग्छ ।

वाह ! गजल यहीं सम्पन्न हुन्छ ।

सबको जय होस् !