“मन कहाँ छ ?” भन्ने प्रारम्भिक प्रश्नको उत्तर खोज्ने इच्छा !

शारीरिक, मानसिक, सामाजिक एवं आध्यात्मिक यी चारै अवयव सहितको “पूर्ण स्वास्थ्य” को कामना !

“मानिस”लाई कोष, तन्तु, अंगहरूको विभाजित स्वरूपमा भन्दा पनि समष्टिगत ‘मानव’ कै रूपमा अनि रासायनिक, भौतिक, जैविक क्रिया–प्रतिक्रियाभन्दा पनि मन–अवचेतन–चेतनको अन्योन्याश्रित अवस्थितिका रूपमा बुझ्ने चाहना !

चिकित्सा शिक्षाको प्रारम्भिक चरणदेखि नै भोगिएका कठिनाइ, बिरामीहरूसँग भलाकुसारी हुँदाखेरि दुखेको आफ्नै “मन” अनि आफूलाई मनोवैज्ञानिक रूपमा नै प्रभाव पारेका गुरुवर्गका पदचाप अनुसरण गर्ने अभिलाषा !

ईश्वरले “तँ चिता, म पुर्याउँछु” भनेका छन् रे । त्यस्तै नै भयो । यी सबै अवचेतन–चेतन अवस्थामा रहेका इच्छा, कामना, चाहना अनि अभिलाषा अन्ततोगत्वा पूरा भएरै छोड्यो ।

मनोचिकित्सककै रूपमा पेशा गर्ने पेशाकर्मी, “मनोचिकित्सा” नै अध्यापन गर्ने शिक्षक, मनोरोगीहरूकै उपचार गर्ने डाक्टर अनि मनकै अन्वेषण गर्ने अनुसन्धाता बन्न पुगियो ।

अगाडिकै श्रृङ्खलामा भनिसकेको छु,  म मनोचिकित्सक बनेको पनि बाह्र पूरा भई तेह्र वर्ष लागिसकेको छ ।

मनोरोगीहरूलाई पागल, बहुला, ‘साइको’ आदि उपनाम दिएर तिनलाई लोकलज्जा अनि कलङ्कको भारी बोकाउने त यहाँको चलन नै छ । त्यत्ति मात्र नभई मनोचिकित्सकलाई नै पनि ‘साइको डाक्टर’का रूपमा उपेक्षा भाव प्रदर्शन गर्ने हाम्रो समाजिक बनोट छ ।

प्रा. डा. अजय रिसाल (मनोचिकित्सक)

व्यक्ति विशेषको मनका कथा–व्यथालाई ध्यान दिएर सुन्ने अनि समभावका साथ ती अन्तर्मनका पीडाहरूलाई महसुस  गरी तिनमा रहन सक्ने मानसिक रोगहरूको पहिचान गरी तिनलाई उपचार प्रक्रियामा ल्याउन परिश्रम नै पर्दछ हाम्रो विद्यमान सामाजिक परिवेशमा । अझ त्योभन्दा पनि माथि, राम्रो उपचार पाएर निको भएका रोगीहरूलाई पुनः रोग बल्झिन नदिनका लागि निरन्तर औषधोपचारको आवश्यकता पर्दछ । फेरि तिनको आत्मसम्मानमा आघात नपुगोस् भनेर पारिवारिक अनि सामाजिक सरसहयोग आदिका बारेमा परिवारका हेरचाहकर्ताहरू माझ खुल्ला छलफल चलाउने वातावरण तयार गर्नु पनि अत्यावश्यक नै छ । तर हाम्रो सामाजिक धरातलमा हाम्रा नेपाली मनका मौलिक समस्याहरूको पहिचान, निदान, उपचार अनि परामर्श गर्ने व्यवस्था मिलाउन त्यत्ति सजिलो भने छैन । त्यस्तै, दीर्घ किसिमका मनोरोगीहरू (जस्तैः ‘सिजोफ्रेनिया’, ‘साइकोसिस’) अनि लागूपदार्थजनित मानसिक समस्या (हाम्रोमा अत्यधिक मद्यपान)ले प्रभावित किशोर–युवावर्ग, या ‘डिमेन्सिया’ जस्ता रोगले पीडित वयस्कजन, ती सबलाई गरिनुपर्ने स्याहारसुसार अनि पुनर्स्थापनाको अवधारणा ल्याई तिनको उपचारको योजना तयार पार्न अझै पनि सम्भव हुनसकेको छैन हाम्रो समाजमा ।

हाम्रो देशमा ०.१ प्रतिशतभन्दा पनि कम स्वास्थ्य बजेट “मानसिक स्वास्थ्य”का लागि छुट्याइएको पाइन्छ । यहाँ मन्त्रालयस्तरमा समेत  “मानसिक स्वास्थ्य” हेर्ने केन्द्रीय निकाय नै छैन । मात्र एउटा केन्द्रीय मानसिक अस्पताल छ । केही निजी अस्पतालहरू र मेडिकल कलेजहरूका मानसिक स्वास्थ्य इकाइहरूले सीमित रूपमा मानसिक रोगीहरूको उपचार गरिरहेका छन् । त्यस्ता उपचार पनि ८० प्रतिशतभन्दा बढी सहरी क्षेत्रमै सीमित छन् । ग्रामीण स्तरमा अनि समुदायमा मानसिक स्वास्थ्य सेवा पुर्याउन गैरसरकारी संस्था अनि अन्तर्राष्ट्रिय अनुदानकै मुख ताक्नुपर्ने अवस्था छ । त्यस्ता सहयोग सित्तैमा त आउने कुरो भएन । अनि सर्वसाधारण जनता धामीझाँक्रीहरूको अन्धविश्वास या त धर्म परिवर्तनको डरलाग्दो जालोमा जकडिनुपर्ने विकराल अवस्था पनि छ । लागूपदार्थजनित मानसिक समस्या भएकाहरू त झन् बिना निगरानी अनि न्यून पूर्वाधारमा खुलेका पुनर्स्थापना केन्द्रहरूमा कैदीसरह कोच्चिएर रहन विवश छन् , त्यसका लागि परिवारले ठूलो धनराशी खर्च गर्नुपरेको विडम्बनापूर्ण अवस्था छ ।

हाम्रो नेपालमा राष्ट्रियस्तरको मानसिक स्वास्थ्य नीति अझै पनि पूर्ण कार्यान्वयनमा आउन सकेको छैन । प्राथमिक तहसम्म मानसिक स्वास्थ्य सेवा पुर्याउने योजना पनि कागजी तहमै रहेको छ । त्यस्ता प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क रूपमा उपलब्ध हुनुपर्ने औषधिहरू पनि पर्याप्त मात्रामा रहेका छैनन् । अहिले बल्ल बल्ल त्यस्ता औषधिहरूको संख्या एघार पुगेको छ ।

अर्को पाटोबाट हेर्दा, अझै पनि हामी यूरोप–अमेरिकाजस्ता नितान्त फरक समाज, संस्कृति, दर्शन, अनि परिवेशमा विकसित भएर आएका निदान पद्धति, उपचार प्रक्रिया, परामर्शका अवयवहरूकै भरमा छौँ हाम्रो मानसिक स्वास्थ्यको अनुसन्धान–निदान गर्ने प्रसङ्गमा । उनीहरूले नै उनीहरूकै भाषा–धर्म–परम्पराका आधारमा बनाएका अनुसन्धान सामग्रीहरूको आधारमा काम गर्दछौँ हामी । विचार गरौँ त, के यी विदेशी पद्धतिहरूका आधारमा मात्र हाम्रो नेपाली मनका मौलिक कथा–व्यथाहरूको पहिचान अनि उपचार गर्न सम्भव होला त ?

साँच्चै नै, यस्तो परिवेशमा नेपाली मनका कथाहरूलाई अनुसन्धानको तहमा कसरी पुर्याउन सकिएला त ? कसरी सम्भार गर्न सकिएला त नेपालको “मानसिक स्वास्थ्य”लाई ? केही राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको पहलमा सीमित रूपमा सीमितै जनसङ्ख्यामा गरिएका जिल्लागत एवं क्षेत्रगत अध्ययनहरूले केही मनोरोगहरूको अवस्थिति नेपालमै पनि अन्तर्राष्ट्रिय अध्ययनहरूकै हाराहारीमा उल्लेखनीय नै रहेको दर्शाएका छन् । तर राष्ट्रियस्तरमै बृहद् अध्ययन नभइकन कसरी “मानसिक स्वास्थ्य”मा रहेको समस्या पहिचान गर्न सकिएला र ? “नेपाली मन” भित्रको पीडा पूर्ण रूपले अन्वेषण नगरिकन कसरी स्वास्थ्य नीति निर्माताहरूलाई यसतर्फ घच्घचाउन सकिएला र ?

फेरि, भौगोलिक, सामाजिक एवं सांस्कृतिक विविधता, जटिलता अनि संक्रमणकालीन तरल राजनैतिक व्यवस्था, आर्थिक विपन्नता, अल्पविकसित अवस्थामा रहेको हाम्रोजस्तो मुलुकको मनोसामाजिक अवस्थाको अन्वेषण आफैँमा एक चुनौती भए तापनि मौलिक तथ्याङ्क नै पस्किन सक्ने सम्भावना बोकेको यथार्थलाई बिर्सन मिल्ला र ? पश्चिमी संस्कृति एवं समाजमा विकसित भएका अध्ययन सामग्रीहरू कत्तिको उपयोगी हुनसक्लान् हाम्रो पूर्वीय सामाजिक परिवेशमा ? हामीले आफ्नै समाज र संस्कृति सुहाउँदो अध्ययन सामग्रीको निर्माण गर्नुपर्ने होइन र ?

उपरोक्त सबै प्रश्नहरूको उत्तर एकैसाथ दिन सम्भव त नहोला, तर अध्यय नै नगरी भन्न सकिने पनि त होइनन् । त्यसैले अध्ययन अन्वेषणको सुरुवात अध्ययबाट  मात्र हुनसक्दछ । तर श्रोतको सीमितताका कारण खुम्चिएरै रहन विवश हाम्रोजस्तो मुलुकले वैज्ञानिक शोध–अध्ययन कार्यमा अनुभवी मुलुकहरूबाट सहयोग नलिई यस्तो कार्यको उठान गर्न सम्भव भने छैन ।

यिनै पक्षहरूलाई विचार गरेर हामीले “नेपाली मन”हरूलाई देशव्यापी रूपमा नै पछ्याउने सङ्कल्प लिएका थियौँ । करिब एक दशकअघि सन् २०१३ मा यस कार्यमा सामेल हुन पाएकोमा मलाई अझै पनि गर्व अवश्य छ ।

“विश्वभरि नै अत्यधिक मात्रामा रहेका दुई प्रमुख मानसिक समस्याहरू उद्वेलन (‘एङ्गजाइटी’) र उदासीनता (‘डिप्रेसन’)ले नेपाली जनमानसमा राष्ट्रिय स्तरमै कत्तिको प्रभाव पारेको छ त ?” यही नै मूल प्रश्नको समाधान खोज्ने उद्देश्यका साथ काठमाडौँ विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेस (धुलिखेल अस्पताल) अनि नर्वेजियन यूनभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीको सामूहिक प्रयत्नमा  २०१३–२०१७ मा गरिएको करिब चार वर्ष लामो देशव्यापी अध्ययन वास्तवमै नेपालको मनोचिकित्सा क्षेत्रलाई दिशानिर्देश गर्न सफल भयो ।

प्रथमतः अङ्ग्रजी भाषमा रहेको अध्ययन सामाग्रीलाई नेपालीमा उल्था मात्र नगरी नेपाली सामाजिक–सांस्कृतिक धरातलमै उपयोग गर्न मिल्ने गरी परिष्कृत गरिएको थियो ।

हाम्रो अध्ययनको निचोडः विश्वभरि नै अत्याधिक असमर्थताको कारकतत्व मानिएका अनि एकआपसमा अत्यन्तै अन्तर्सम्बन्धित भएर रहेका ‘एङ्गजाइटी’ र ‘डिप्रेसन’ जस्ता मनोरोगहरू नेपालमा पनि देशव्यापीरूपमै अत्याधिक मात्रामा, साँच्चै नै एकअर्कासित अन्योन्याश्रित अनि असमर्थताका प्रमुख कारकतत्वकै रूपमा रहेको पाइयो । ‘एङ्गजाइटी’ २२.७ प्रतिशत नेपालीमा अनि ‘डिप्रेसन’  ११.७ प्रतिशतमा पाइएको थियो । यी दुवै मनोरोगहरू ‘माइग्रेन’ तथा अन्य दीर्घरूपमै ‘टाउको दुख्ने समस्या’हरू, ‘न्यूरोटिसिज्म’ नामक व्यक्तित्वजन्य गुणसँग अनि जीवनको गुणत्मकता (‘क्वालिटी अफ लाइफ’)मा आउने कमीसँग पनि अत्यन्तै सम्बन्धित पाइए । अतः ‘एङ्गजाइटी’ र ‘डिप्रेसन’ जस्ता मनोरोगहरू “नेपाली मन”हरूलाई व्यथित पार्ने कारकतत्व अनि नेपालको महत्त्वपूर्ण स्वास्थ्य समस्याको रूपमा रहेको तथ्य स्थापित गर्यो यो अध्ययनले ।

हुन त यो एउटा अध्ययनले देशभरिकै “मानसिक समस्या”हरूको पहिचान गरेको या सम्पूर्ण “नेपाली मन”हरूको पीडालाई आत्मसात् गरेको भनेर ठोकुवा नै गर्न त म सक्दिनँ, किनकि गर्नुपर्ने धेरै नै छ नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा । तर एउटा तथ्य भने सत्य हो, यस अध्ययन कार्यले भविष्यमा अन्य मनोरोगहरूलाई पनि पछ्याउनका लागि मार्गनिर्देशन अवश्य गरेको छ । मानसिक स्वास्थ्यको क्षेत्रमा अब गरिने सर्वेक्षण, अन्वेषण कार्यका लागि पृष्ठभूमि निर्माण गरिसकेका छौँ हामीले ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि देशव्यापी रूपमा मानसिक स्वास्थ्य सर्वेक्षणको थालनी गरेको छ अनि यसका प्रारम्भिक आँकडाहरू पनि प्रकाशमा आइरहेका छन् । अरू पनि अध्ययन–अन्वेषण कार्यमा नेपाली मनोचिकित्साकर्मीहरू लागिरहेको रिपोर्ट पढ्न पाइएको छ अचेल ।

त्यसैले सबै प्राज्ञिक, मनोवैज्ञानिक अनि मनोचिकित्सक, अन्वेषकहरूलाई हामी आह्वान गर्न चाहन्छौँ, “नेपाली मन”का मौलिक कथाहरूलाई अझै पछ्याऔँ । नेपाली समाज अनि संस्कृतिसँग मिल्ने अध्ययन सामग्रीहरू तयार गरौँ । अथवा विदेशमा विकसित भएका अन्वेषण सामाग्री अनि निदान पद्धतिहरूको वैज्ञानिक आधारमा नेपालीकरण गरौँ । “नेपालमा अरू पनि मनोरोगहरू कति छन् ?” तिनको सङ्ख्या अद्यावधिक गरौँ । तिनको अवस्था र तिनले देखाएका परिणामहरू केलाउन सुरु गरौँ । हामी सबैको हातेमालोबाट मात्र सम्पन्न हुन सक्ने यो प्रयासले नेपालमा मनोचिकित्साको क्षेत्रमा नयाँ आयाम खुल्न सक्नेछ अनि नीति निर्माताहरूलाई यथेष्ट दिशाबोध गर्न सक्नेछ । अन्ततोगत्वा, यसले मनोरोगीहरूलाई नै रोग निवारणतर्फ डोर्याउनेछ अनि “नेपाली मन”का कथारूलाई संयोगान्तक  मोडमा ल्याउनेछ । अन्ततः “नेपाली मन”हरूलाई नै सन्तुष्ट बनाउनेछ ।