१. काल विभाजनको लघुकथा : दाँतको उजुरी
मुक्ति गौतम

दाँतले जिब्रोको विरूद्ध बुद्धिको अदालतमा मुद्दा दायर गर्यो ।

निवेदनको मुख्य अंश यस्तो थियो –

जिब्रोलाई चाहिने नानाथरीका स्वादिला परिकारहरू हामीले चबाउनु पर्छ । अमिलोका विभिन्न भेराइटीहरू चबाउँदा चबाउँदै हामीले कुँडिनु पर्छ । अनेक थरीका वस्तुहरू चबाउँदा दिनदिनै हामी खिएर जाँदै छौँ । स्वाद लिने जिब्रो चबाउने हामी । हामीमा अन्याय थोपरिएको छ । परम्पराका साङ्ग्लाहरूले बाँधिएको छ । हामीले पनि खाद्य पदार्थको स्वाद पाउनुपर्छ । विभेदको अन्त्य हुनुपर्छ । नत्र हामी भोक हडतालमा उत्रिन बाध्य हुनेछौँ ।

‘मन’ नाम गरेको वकिलले दाँतको पक्षमा मामिलालाई अघि सार्दै भन्यो- ‘युआर अनर ! जिब्रोको एकल स्वार्थमा घोर अन्याय भएको छ । दाँतमात्र होइन जिब्रोबाहेक शरीरका जम्मै इन्द्रियहरू विभेदका शिकार भएका छन् । आँखाले हेरी दिनुपर्ने, कानले सुनी दिनुपर्ने, खुट्टाले हिँडी दिनुपर्ने, हातले खुवाई दिनुपर्ने । जिब्रोले चाहिँ सिन्को नभाँची स्वाद मात्रै लिन पाउने ? घोर पक्षपात भएको छ, निष्पक्ष छानविन हुनपर्छ ।’

‘विवेक’ नामको वकिलले जिब्राको पक्षमा बोल्दै भन्यो – ‘युआर अनर ! मेरो वकिल साथी ‘मन’ महोदयको तर्कलाई मान्ने हो भने त सिङ्गो शरीर नै मर्ने छ । यहाँ मान्छे मराउने षड्यन्त्र चल्दैछ। जिब्रोले पनि खाद्य पदार्थ आफूले नराखी जम्मै भुँडीतिर खसाइदिन्छ । भुँडीले खाएको पदार्थ पचाएर रगत बनाएर शरीरका प्रत्येक भागमा पठाउँछ र त शरीर सक्रिय छ । शरीर नै सक्रिय रहेन भने इन्द्रियहरू कसरी सक्रिय रहन्छन् ?’

बुद्धिको अदालतले ‘विवेक’को तर्कलाई आधार मानी ‘ ‘मन’लाई नियन्त्रण गर्ने निर्देश गर्दै परम्परागत रूपमा चली आएको यथास्थितिलाई ध्यानमा राखी जिब्रोको पक्षमा फैसला सुनायो ।

###

नेपाली साहित्यमा ७० को दशकलाई सञ्जालमैत्री काल भनिनु पर्छ । यही समयमा लघुकथामा उदाएको एक भारतीय नेपाली लघुकथाकारको नाम हो मुक्ति गौतम । उनी प्राय: स्वैरकल्पनामा आफ्नो लघुकथा प्रस्तुत गर्न चाहन्छन् । प्रस्तुत लघुकथामा “दाँतको उजुरी”मा पनि लघुकथाकार मुक्ति गौतमले स्वैरकल्पनाको प्रयोग गरेका छन् । दाँत, जिब्रो, विवेक र मन जस्ता पात्रहरूको चयन गरि उनीले कथामार्फत जीवन बुझाउने प्रयास गरेका छन् ।

………

२. पुस्तकभित्रको लघुकथा : यथार्थ
शरण राई

शरण राई

मेराे बाल्यकाल वनजङ्गल, भीरपाखा, पहरा, एकान्त, सुनसान, एकलास प्राकृतिक गाउँले वातारणमा बितेकाले हाेला, अहिले पनि मलाई त्यस्तै वातावरण मन पर्छ । पत्नीकाे देहावसानपछि जब जब मन रून थाल्छ म त्यस्तै वातावरणकाे खाेजीमा एकान्त स्थानहरूमा एक्लै जान्छु ।

एक्लै जानु मेराे स्वतन्त्रता पनि हाे । कारण म जे चाहन्छु, गर्न सक्छु ।

आज म विजयपुरकाे त्यस्तै एकान्त वनजङ्गलमा घुमिरहेकाे बेला काेइलीकाे ‘कुहु कुहु’ले भावुक बनेँ । सानाे हुँदा हामी ‘को हाे ? काे हाे?’ भनेर साेधिरहेकाे सम्झेर ‘म हुँ, म हुँ’ भन्थ्याे । बिछाेडिएकाहरूले चाहिँ पिया पिया (प्रिय, प्रिय) भन्ने सुन्छन् रे ।

पाेहाेर साल पत्नी र नातिनातिनीहरूसँग यसै ठाउँमा आउँदा म औँला मुखमा राखेर सुसेलीमा दुरूस्तै ‘कुहु कुहु’काे नक्कल गरेर आनन्दित भएकाे थिएँ । त्यस रमणीय वातावरणमा ‘काफल पाक्याे’काे अभाव खट्केर केटाकेटीकालमा सिकेकाे ‘काफल पाक्याे’काे नक्कल गर्दै बन थर्काएँ । नभन्दै केहीबेरपछि वास्तविक ‘काफल पाक्याे’ चरा पनि कराउन थाल्याे । हर्ष हाम्राे दाेब्बर भएर आयाे ।

केटाकेटी हुँदा…

(काफल पाक्याे चरा कराउँदा)

चरा – काफल पाक्याे

हामी – काफल पाक्याे

चरा – काफल पाक्याे

हामी – गाेठ काे छ?

चरा- काफल पाक्याे

हामी- फूच्चेकेटाे

–सामल के छ ?

–मकै पिठाे

–भुटुन के छ?

–ठेक्का खुर्काइ…… आदि

म ती साथीहरू सम्झदै त्याे परिवेशमा पुग्छु । फेरि नसम्झाैँ भन्दाभन्दै लुम्बिनीकाे जङ्गलमा हामी दुई जाेइपाेइ र ‘काफल पाक्याे’ चराकाे सम्झनामा डुब्न पुग्छु ।
पीडा कम गर्न म औँलाहरू मुखमा घुसारेर ‘काफल पाक्याे र कुहु कुहु’काे नक्कल गर्न खाेज्छु, पाेहाेर परारजस्तै । स्वास-हावा मात्र जान्छ, आवाज निस्किदैन ।
छक्क पर्छु – किन आवाज निस्कदैन ? औँलाले नै मुखभित्र छाम्छु । तल्लाेपट्टि एक लहर दाँतै छैन । पहिला त आत्तिन्छु तर यथार्थ थाहा पाएर एक्लै हाँस्छु … ।

###

प्रस्तुत लघुकथा “नौरङ्गी” लघुकथासङ्ग्रहबाट लिइएको हो । यस कृतिका स्रष्टा शरण राई हुन् । लेखन र उमेर दुबैले पाका शरण धरान निवासी हुन् । राई निरन्तर लघुकथा लेखिरहन्छन् । हल्ला र जमघटबाट टाठा रहनु उनको स्वभाव हो । उनी मानव स्वभाव र प्रकृतिको विषयमा लघुकथा लेख्न बढी रुचाउँछन् । प्रस्तुत लघुकथा “यथार्थ” बालापन र प्राकृतिक पृष्ठभूमिको कथा हो । सरल भावमा उनीले एक्लो जीवनको वर्णन पनि गर्न भ्याएका छन् ।

………

३. समूहभित्रको लघुकथा : प्रशंसा
शान्ता तिम्सिना

झमक्क साँझ परिसकेको थियो । चराहरूको बास बस्ने बेला, वातावरणमा पुरै सन्नाटा छाएको थियो । घनघोर जङ्गल छिचोलेर बल्ल एउटा युवक सानो झुपडीमा बास बस्न पुग्यो । झुपडीमा उजेलीका बाबुछोरी बस्थे । घरमा आएको पाहुना देवतासमान भन्ने सोचेर उजेलीले राम्रै सत्कार गरी । पाहुनाले खुब प्रशंसा गर्दै भन्यो, “तिमी त खुब असल र राम्री रहिछौ ।”

तीर्थयात्रीको यो शब्दले उजेली रातभर निदाउन सकिन । युवकप्रति आकर्षित हुन पुगी । रातभरमा मायाको संसार नै बुनिसकेकी थिई ।एकरातको बसाइ र एकैछिनको भलाकुसारीले उजेलीको मनमा निश्छल मायाले जरा गाडिसकेको थियो ।

“बस्दै गर है, म केही समयपछि फर्केर आउनेछु ।” भनेर यात्रीले आफ्नो गन्तव्यतिर पाइला अगाडि बढायो । घर पुग्यो । २/४ वर्ष आफ्नै संसारमा रमायो । यता उजेली भने यात्रीको पर्खाइमा मिठा मिठा मायाका छालहरूमा पौडी खेल्न थाली । यात्री आउला, बिहे गरौँला, दु:खसुखमा रमाउँला, तर सोचेजस्तो भएन । ३/४ वर्षसम्म पनि नफर्केपछि भारी मन लिएर गाउँघर र समाजका लागि विवाह गर्न बाध्य भई । तर पनि माया यात्रीकै थियो । अझै पनि फर्कन्छ भन्ने झिनो आशा थियो ।

ऊ आफ्नो संसारमा हराइरहेकी थिई । फेरि फर्कन्छ कि भन्ने झिनो आशामा ।

एकदिन तीर्थमा निस्केको त्यो यात्री फर्कियो । संयोगले ऊ आफ्नै माइतीमा थिई । त्यही घरमा बास माग्यो । उजेली हर्षविभोर भई । उसलाई के गरौँ, कसो गरौँ भन्ने छट्पटी भयो । मुटुको ढुकढुकी बढ्यो ।

यात्रीले भन्यो, “यी नानीहरू तिम्रै हुन् ? ओहो ! त्यति राम्री थियौ, कति नराम्री पो भइछौ ।”

यात्रीको यो वाक्यले उजेलीको अनुहार बादल लागेको जुन जस्तो हुनपुग्यो । त्यसै दिनदेखि उजेलीले सदाका लागि यात्रीलाई मनबाट हटाई । ऊ बल्ल आफ्नो संसारमा रमाउन थाली ।

###

शान्ता तिम्सिना नेपाली लघुकथाको क्षेत्रमा कलिलो नाम हो तर लेखनमा उनी परिपक्व देखिएकी छिन् । नारी मनका अशङ्ख्य अनुभूतिहरूलाई उतार्ने प्रयास उनको लेखनको कडी हो । प्रस्तुत लघुकथा “प्रशंसा”मा शान्ता तिम्सिनाले नारीको मनको उतारचढावलाई उतारेकी छिन् । मनमा केही कुरो अल्झाइरहँदाको तनाव र मनबाट फ्याकेपछिको आनन्द यस कथाको मुटु हो ।

==========

४. समसामयिक लघुकथा : सन्तानकाे माया
लाेकनाथ पुडासैनी

“बाबु, बालाई बिसन्चाे भएर आईसीयुमा भर्ना गरिएकाे छ । नातिनी लिएर तिमीहरू तुरून्तै घर आऊ ।”, मनसराले अमेरिकामा रहेकाे छाेरालाई फाेन गरिन् । कुरा टुङ्ग्याउनै नपाई पैसा सकिएकाले फाेन काटियाे । उताबाट आएन ।

सुधार नआएकाले दाेस्रै दिन गजाधरलाई भेन्टिलेटरमा राखेर उपचार थालियाे ।

“आमा, बालाई कस्ताे छ ?” चार दिनपछि छाेराकाे फाेन आयाे ।

“सुधार हुँदै छ रे बाबु । बरू तिमीहरू छिट्टै आओ । बाले खाेज्नु भाछ ।” छाेराेलाई पीर नपराेस् भनेर आमाले वास्तविकता लुकाइन् ।

“मेराे छुट्टी छैन । छाेरी र सन्ध्याले अस्ट्रेलिया, दिदीभिनाजूकामा जाने याेजना बनाएका छन् । त्यै पनि हामी किन आउन पर्याे र ? पैसा पठाइदिँदै छु । बैनी, ज्वाइँहरू बाेलाएर राम्राेसँग उपचार गराउनु हाेला । म बिजी छु । पछि कुरा गराैँला ।” दाेहाेराे कुरा हुन नपाउँदै उसले फाेन राख्याे ।

“हजुरसँग काे काे हुनुहुन्छ आमा ?” उपचार कक्षबाट बाहिरिँदै डाक्टरले साेधे ।

“म मात्रै छु । किन ? के भयाे र डाक्टरसाव ?”

“सरी …, हामीले बालाई बचाउन सकेनाैँ । दुःख नमान्नु हाेला ।” डाक्टरका कुरा सुन्नासाथ मनसरा मुढा ढलेझैँ भुइँमा ढलिन् । अस्पताल भर्ना भएकाे पाँचाैँ दिनमै गजाधरकाे प्राण गयाे । कुरूवाहरूले पानी छम्केर उठाएपछि उनकाे हाेस खुल्याे । बेस्सरी राेइन् अनि ज्वाइँछाेरीलाई फाेन गरिन् । मान्छे जुटे ।

धर्मतीमा (दराैँदी) गजाधरकाे चिता बल्दै थियाे । मनसराकाे माेवाइलमा घण्टी बज्याे । उनले सुस्तरी फाेन उठाइन् ।

“हेलाे …, हजुर कहाँ हुनुहुन्छ ? यहाँ अमेरिकाबाट हजुरकाे नाममा पैसा आएकाे छ । समय मिलाएर लिन आउनु हाेला ।”

###

समय उपभोक्तावादी बनेको छ । आत्मियता र संवेदना सब साहित्यमा पढ्ने बिषय झै भएको छ । यही परिवेशमा पोखराको लघुकथाकार लोकनाथ पुडासैनीले “सन्तानको माया” लघुकथा लेखेका छन् । कथा समसामयिक छ । लोकनाथ पुडासैनी लघुकथा क्षेत्रमा नयाँ नाम भए पनि उनी चर्चाको सानो घेरामा राम्रै चिनिएका कथाकार हुन् । प्रस्तुत लघुकथा “सन्तानको माया” बिस्तारै घरघरको काहनी बन्न थालेको छ । विदेशिएका सन्तानमा बिस्तारै संवेदनाहरू हराउँदा परिवारिक सद्भाव र आत्मियताको खडेरी परेको छ । कथा वियोगान्तक र संवेदनशील छ।

………..

५. मलाई मन परेको लघुकथा : नियति
धनसिंह विश्व

म प्रायः घरछेउको तलाउमा गएर घण्टौँ बस्ने गर्दथेँ अनि त्यहाँका माछाहरू हेरिरहन्थेँ ।

एकदिन एउटा भ्यागुताले रिसाउँदै कमलको फूललाई सोध्यो – “हेर कमल दाइ ! तिमी र म एउटै पोखरीको हिलोमा बस्छौँ, तर मान्छेजातिले तिमीलाई टिपेर मन्दिरमा चढाउँछन्, कसैले शिरमा सिउरेर हिँड्छन्, घरमा लगेर सजाउँछन् तर मलाई त देख्नै सक्दैनन् , छीःछी दूरःदूरः गर्छन् । किन ? ”

कमलले मुस्कुराउँदै भने – “हेर भाइ ! तिमी र म एउटै पोखरीको हिलोमा बसेर पनि म सधैँ ध्यान सुमिरण र सहनशीलताको कारण हिलोमा पनि सुन्दर रूपमा फूल्न सक्छु तर तिमीहरू खस्रो बोल्छौँ र अभिमान ज्यादा गर्छौ नि त ।”

म छक्क पर्दै सोची मात्र रहेँ ।

###

मलाई छोटा र स्वैरकल्पनायुक्त कथाहरू मन पर्छन् । यस्ता कथाहरू प्राय: भारतीय नेपालीहरूको लघुकथाकारहरूबाट सजिलै पढ्न पाइन्छ । सायद यो भारतीय साहित्यको सकारात्मक प्रभाव पनि हो । प्रस्तुत लघुकथा “नियति” अत्यन्तै छोटो लघुकथा हो । यस कथामा कथाकार धनसिंह विश्वले भ्यागुता र कमलको माध्यमबाट पुरै मानवजातिको स्वभावको वर्णन गरेका छन् ।