वाह गजलः २४ औं प्रकरणबाट निरन्तर —

गजलका विशेष गुणहरुको सिलसिला यसरी अगि बढ्छ :

६. व्यक्ति–सत्य होइन, विश्वजनीन सत्य

गजलमा व्यक्तिगत सत्य होइन, विश्वजनीन सत्यको अभिव्यक्ति हुन्छ । हुन त हरेक सत्य व्यक्तिले नै अनुभव गर्दछ, आफ्नै भाषा र भंगिमामा व्यक्त पनि गर्दछ । तर गजलमा यस्तो सत्यलाई सार्वजनीन र अझ विश्वजनीन बनाएर पेश गरिन्छ, त्यो सबैले अनुभव गरेको यथार्थ बन्न जान्छ अनि गजल पनि विश्वजनीन बन्दछ ।
यस जगत्मा मानवजातिका वृत्ति र प्रवृत्ति, पीडा र प्रसाद, दुःख र सुख समवेदनीय छन् । ती भावना र अनुभूतिहरु शेरमा सारै रोचक शैलीमा आउँछन् र सर्वजनसंवेद्य हुन पुग्दछन् । यहाँ दुईवटा शेर पेश गर्दैछु :

किन किन उनीछेउ आउनचाहिँ आइएन
उनलाई छोडी अन्त कतै माया पनि लाइएन,
..
आँखाभरि उनकै छायाँ, मुटुभरि उनकै मायाँ
माया गर्छु भन्ने बेला, तर मुख बाइएन ।

यहाँ प्रथम प्रेमको आनुभूतिक तथ्य विश्वजनीन बन्न पुगेको छ । एउटा अर्को उदाहरण पेश गरुँ :

जिन्दगी त्यो पातलो खाता थियो
भित्र जसमा खालि दुई पाता थियो,
..
यार पहिलो भेटमै आफ्नो भयो
शायद अर्कै जन्मको नाता थियो ।
..
यो पनि ः
बाग यस्तो कुनै जिन्दगी भैदिओस्
फूल झर्दा पनि मगमगी भैदिओस्,
..
टिप्न ता टिप्दछौ फेरि यस्तो नहोस्
भोलि नै फूल यो गन्दगी भैदिओस्,
..
यार तारीफ गर्छन् उनी यस्तरी
त्यो प्रशंसा नहोस्, दिल्लगी भैदिओस् ।

डा. सनतकुमार वस्ती

७. प्रौढता र जटिलता होइन, सरलता र स्पष्टता

जटिलता गजलको अवगुण हो भने सरलता र स्पष्टताचाहिँ गुण । कविताहरु थरिथरिका हुन्छन् । धेरै पल्ट पढेपछि मात्र बुझिने, तथाकथित प्रौढ कविताहरु जटिल बढी हुन्छन् तर प्रौढ कम । गहिरो भावका नाममा दार्शनिक विचारको बोझले किचिएका बढी हुन्छन् , तथाकथित गहकिला, वास्तवमा जडताले भरिएका । कतै कुनै वाद, धारणा, विचार र नाराको भारी बोकाइएका पनि हुन्छन् । तर यस्ता कुनै पनि शैली र सरणीमा गजलको कुनै रुचि छैन । सरल र स्पष्ट तरीकाले, रोचक र रमाइलो पाराले, अझ बोलचालको भाषा र लचिलो भाकामा गहिरा कुरा गर्न रुचाउँछ गजल, यसरी :

कहिलेकाहीं यसो बात मार्दै गरौं न है हजुर
अमृतको बूँद यता झार्दै गरौं न है हजुर,
..
कहिलेकाहीं हार पनि जीतभन्दा मीठो लाग्छ
पिरतीमा चोखो दिल हार्दै गरौं न है हजुर ।

छोटो र मीठो भाकामा मर्मस्पर्शी कुरा रसिलो पाराले सरल र स्पष्ट रुपमा पेश गर्न रुचाउँछ गजल । आउनुहोस्, एउटा गजल गुनगुनाऔं :

वनकी चरी वनै रुन्छे, मनकी चरी मनै
जत्ति गाँठो फोऊँ भन्छू, कस्सिइन्छ झनै,
..
तिमीलाई हँसाउन हाँसीरहें आफैं
तर मन सफा हुन्छ किन रोइकनै?
..
आफैंलाई सुनाउँछू आफ्नो दिलको बोली
अरुलाई सुनाउँ भने लाग्छ गनगनै,
..
सम्झनाको दीयो बल्छ आँधी हुरीबीच
जोगाएर राख्ने मेरो यत्ति नै हो धनै ।

८. कठोरता होइन, मधुरता

कठोरता गजलको अवगुण हो भने मधुरता चाहिँ गुण । कुरा गहिरा भए पनि शैली कठोर र जटिल हुँदैन गजलको । गाली गर्नु परे पनि मीठो गरी गर्छ गजलले । मस्तिष्कको केन्द्रमा पसेर तर्कको कर्कश जञ्जाल बुन्नु गजलको ध्येय होइन । हृदयको गहन तलसम्म पुगेर गहिरो संवेदनाको सघन अनुभूति जगाउनु गजलको उद्देश्य हो । यसैमा कृतार्थ बन्दछ गजलको जीवन । गद्यात्मकता, कर्कशता, खस्रो वर्णन र सोझो समतल भाषा गजलमा स्वीकार्य मानिन्न । रसिलो, लयात्मक, स्निग्ध र कोमल पाराले माधुर्य छर्दै यथार्थ पेश गर्दछ गजलले, यसरी :

एक्लो भएँ, तिमीछेऊ आउँ आउँ जस्तो लाग्यो
पिरतीको एउटा गीत गाउँ गाउँ जस्तो लाग्यो,
..
तिम्रो लागि मरिमेट्दा आजसम्म दुःख पाएँ
यस्तो दुःख सधैंभरि पाउँ पाउँ जस्तो लाग्यो ।

पीडाले भरिएको छ गुनासो, तैपनि मधुर भाकामै व्यक्त भएको छ । साँच्चिकै सघन हुन्छ पीडा, तर अभिव्यक्तिचाहिँ मधुर । यो गजल गुनगुनाऔं :

मौन ओठभित्र कोही बोल्छ सुस्तरी
नशा नशामा दर्द कोही घोल्छ सुस्तरी,
..
जती पियो, बढीरहन्छ प्यास यो किन ?
यही सवालले सधैं पिरोल्छ सुस्तरी,
..
चीसो चितासरि जलीरहेछ जिन्दगी
धुवाँ धुवाँ बनाई प्राण पोल्छ सुस्तरी ।

९. पाठ्य होइन, गेय

गजल वास्तवमा लेखिने र पढिने विधा होइन, यो त कहिने र सुनिने विधा हो । आन्तरिक भावको सरस र हार्दिक उद्गार बनेर गुँज्ने विधा भएकाले गजल गेय हुन्छ नै । यो गेयता बह्र वा छन्दले ल्याउँछ अनि लयले ल्याउँछ । तर छन्दको तगण र रगणको रगडले मात्र पनि गजल कहाँ गेय बन्छ र ? गाउन अनुकूल हुने श्रुतिमधुर पद–पदावलीले मात्र गजललाई गेय बनाएको हुन्छ । एउटा बान्की पेश गर्दछु :

हर धडकनमा सुरिलो लय होस्
नव–सिर्जनमा मन तन्मय होस्,
..
दिलमा अनुराग फुलोस् यसरी
मृदु ओठभरि मधुसञ्चय होस्,
..
तन कोमल कान्त रहोस् नरहोस्
मन शीतल, शान्त, निरामय होस्,
..
प्रिय मित्र रहून् कि त शत्रु हऊन्
सबमाथि सदैव सदाशय होस्,
..
घर आँगनमा र खुलापनमा
मन निर्भय होस्, सबको जय होस् ।

१०. तुकबन्दी होइन, काव्यात्मक काफियाबन्दी

गजलमा तुकबन्दी अवगुण हो भने काव्यात्मक काफियाबन्दी गुण । गजलरचनामा काफिया गजलको अंग बनेर आएको हुन्छ, यो अन्त्यानुप्रास वा उपान्त्य अनुप्रास हो । अनुप्रासको लामै शृंखला चल्दछ गजलमा । गजलका ५÷७ शेरसम्म रचिँदा ७÷८ वटा आनुप्रासिक पद– पदावलीको सामग्रीसम्भार आवश्यक पर्दछ गजल संरचनामा । आनुप्रासिक पदहरु जस्ता पनि हुन सक्दछन् । तर गजल रचनामा ती सबै स्वीकार्य हुँदैनन् । कोमल, लयालु, काव्यात्मक र रसिला अनुप्रासहरु मात्र वास्तविक काफिया हुन सक्दछन् । जस्तासुकै पदलाई पनि काफिया बनाउन थालियो भने गजलका नाममा कुरुप तुकबन्दीको थुप्रो पनि लाग्न सक्दछ र गजल दुर्घटित समेत बन्न सक्दछ । काफियाको काव्यात्मकता र कलात्मकताले मात्र गजलमा ज्यान आउँछ । एउटा गजल पेश गरुँ :

नयाँ लालिमाले रंगायो बिहानी
गुलाबी बनी मग्मगायो सिरानी
..
वसन्ती बगैंचासरि फक्रिएर
नयाँ रुपमा खिलखिलायो जवानी
..
परेली उठेका नजर क्यै झुकाई
नजर लाउने क्या मजाको छ बानी
..
लजाएर क्यै बिर्सिए झैँ गरेर
यतै फर्किनू, प्यारकै हो निशानी
..
ढली जान्छ यौवन, बगी जान्छ पानी
विना प्यार बेकार हो जिन्दगानी ।

………….

गुणवत्ता गजलको

यसरी गजलका केही प्रमुख सामग्रीहरुको चर्चा हामी गर्न सक्दछौं तर एउटा मीठो, स्वादिलो र मनमोहक गजल बन्न गहिरो अनुभूतितरंगका साथै सावधान मनको सचेत सूझबूझ आवश्यक पर्दछ । साना–मसिना गजल–प्रतिकूल तरंगहरुले पनि गजलको प्यारो, पुनीत परिवेशलाई प्रदूषित बनाउन बेर लाउँदैनन् । त्यसैले गजलको मिठास र आनन्दलाई दुष्प्रभावित तुल्याउने तत्त्वहरुबाट गजलको कोमल संरचना र स्वरूपलाई सुरक्षित राख्नुपर्दछ र गजलको गुणवत्तालाई पनि कायम गर्नुपर्दछ ।

व्याख्यात्मकता, वर्णनात्मकता, विश्लेषणात्मकता, सीमितता, वस्तुवर्णन, जटिलता, कठोरता, गद्यात्मकता, र तुकबन्दी गजलका अवगुण हुन्, यिनलाई गजलरचनामा त्यागिन्छ । ठीक यिनका विपरीत संक्षिप्तता, अभिव्यञ्जकता, शाश्वतता, सूक्तिमयता, भावमयता, विश्वजनीनता, सरलता, स्पष्टता, मधुरता र गेयता तथा काव्यात्मक काफियाबन्दी गजलका गुण हुन् यिनलाई नै गजलरचनामा आवाहन गरिन्छ । यिनै गुण र अवगुणको कसीका आधारमा गजलको रूपरंग, स्वरूप र व्यक्तित्वको मोहक बिम्ब मनोजगत्मा हामी उतार्न सक्दछौं ।
तर, गजलको वास्तविक जीवन गायनमा उत्रिएको हुन्छ ।

कसरी गरिन्छ त गजलको गायन ?

आउनुहोस् रसिकवृन्द यसबारे चर्चा गरौं आगामी आइतवार ।