
सबथोक जानेको, एक-से-एक अवतारहरुमा हामीले पूर्णावतार मानेको एउटा मान्छेले एक दिन आफ्नो प्यारो साथीलाई विषादमा देख्यो. दुखमा देख्यो. डिप्रेसनको सुरुवातमा देख्यो. धर्म सङ्कटमा देख्यो. आफुले मान्दै आएका धारणामा परस्पर विरोधी धारणा जुधे त्यही जुधाई विषाद बन्छ. मन बबुरो के माग्दैछु भनेर आफैं कन्फ्युज्ड भैजान्छ कहिलेकाहीँ र सेक्सुवल प्लेजर र भर्जिनिटी दुवै एकसाथ माग्दिन्छ. दुवै पाउन कहाँ सकिन्छ ? राती झुल्ने गरी दारु पिएर सुतेको मान्छेले बिहानको ह्यांगओभरमा भगवानलाई गाली गर्न कहाँ मिल्छ ? मनको कम्प्युटरमा हालेका कन्सेप्टस परस्पर विरोधी हुनु भएन. बच्चैबाट युद्धको कला स्टडी गरेको, युद्धका देउता परशुरामका चेला द्रोणसँग धनुष बाण सिकेको मान्छेले लास्ट मोमेन्टमा आएर, युद्धको मैदानमा उभिएर म धनुष चलाउन्न भन्दियो. सामुन्ने उभिएका सत्रुको मुहार देखेर म मोहले ग्रसित भएँ भन्दियो र आफ्नो आइडेन्टिफाईड स्टेट जस्टिफाई गर्न ठुल्ठुलो तर्क गर्न थाल्यो. पूर्णावतारसँग उसको साइकोएनालिसिस गर्न काउचको सुविधा थिएन. त्यहीं युद्ध मैदान मै उनले साथीको मनको शल्यक्रिया गर्नुपर्ने भयो. विषादले ग्रसित आफ्नो साथीलाई विजयको यात्रामा ल्याउन उनले जुन अदभूत मार्ग अपनाए, आजभोली त्यसैलाई साइकोएनालिसिस भनिन्छ. आजभोलीका साइकोएनालिस्टहरुमा पूर्णावतारमा जस्तो दम कहाँ. मनोरोगको उपचारमा गोटी चलाउने आजभोलीका अधिकांश चिकित्सक आफैंलाई त्यसको खाँचो देखिन्छ. गोटीको नाम दवाई हो. केही बेरलाई गुहु लुकाएर त्यसको गन्ध कहाँ लुक्छ ? भित्र भित्रै बरु त्यो कुहुन्छ. कृष्ण पनि शायद अर्जुनलाई कुरुक्षेत्रमा दिंदा हुन् एक गोटी ओलान्जिपाइन वा कुनै मुड स्टेबिलाइजर र भन्दिंदा हुन्, ल साथी अब धनुष चलाउ. तर त्यसै पूर्णावतार ? सबै कुरामा बेस्ट अफ द बेस्ट हुनु परेन ?
साइकोएनालिसिस प्रोसेसका पनि फुल स्कोरर हुन् भगवान कृष्ण.
त्यसैले जन्मियो होलिस्टिक साइकोएनालिसिसको एउटा सर्वोत्कृष्ट टेक्स्ट अर्थात श्रीमदभागवद गीता….
युद्धको मैदानमा विषादको शल्यक्रिया. आइडेन्टिफिकेसन, इम्याजिनेसन, कन्सिडरेसन र इमिटेटेड नेगेटिभ इमोसनका कारण माइन्ड र बडीमा आउने कन्फ्लिक्टको शल्यक्रिया.

अनुपम पाेखरेल
जाडो यामको एक साँझ हामी एउटा मित्रको भाडाको घरको छतमा पार्टी गर्दै थियौं. पार्टी भन्नु के नै हो र, गितार बजाउँदै आगो ताप्दै वान टु वान गर्दै थियौं. छतको समानान्तर भएर छिमेकी घरको झ्याल थियो. एक घण्टा जस्तो पछी त्यो झ्यालबाट एउटा अधबैशे आन्टी टाउको चिहायो र हामीतर्फ फर्किएर च्याँठ्ठीयो. “म त आफ्नै भाइहरु गीत गाइरहेका होलान् भनेर चुप लागेर बसेकी ! मोराहरु पो रहेछन्. किन कराएका यसरी ! बन्द गर ! डिस्टर्ब भयो मलाई…”
आफ्ना भाइहरु हुन् भन्ठानुन्जेल जे कुरा गीत लाग्दै थियो आन्टीलाई, आफ्ना भाइ हैनन् भन्ने लागे पछी त्यही साउण्ड हो-हल्ला भैदियो.
कुरुक्षेत्रमा यस्तै भैदियो.
कम्मर कसेर युद्ध खेल्न आएको साथीले विपक्षीको मुहारमा आफन्त देखेपछी विषाद भैदियो.
लोभले आँखा देख्दैन. ममत्वको विवेक हुँदैन. त्यही विवेकहिन अवस्था नै विषादको कारक हो. धृतराष्ट र अर्जुनको ममत्वले भरिएको चित्त र त्यहाँबाट निस्किएका ब्लाइन्ड धारणाहरु देखाएर गीतामा विषाद अर्थात डिप्रेसनको बारेमा बुझाइएको छ. गीताको च्याप्टर वानलाई विषाद योग भनिएको छ. विषाद अर्थात डिप्रेसन. योग अर्थात ‘वान’. के कस्ता कुराहरु जोडिएर, एक-आपसमा एकाकार भएर अवशादको युनीफाइड स्टेट बन्दछ भन्ने स्टडी गीताको च्याप्टर वानले गर्छ. त्यसबाट निस्किन के गर्ने भन्ने होलिस्टिक अप्रोचका कुरा बाँकीका च्याप्टरले गर्छन्. मानसिक विचलनको समस्या मेडिकेसनले हैन मेडिटेसनले गर्छ भन्ने सन्देश गीताले दिन्छ. पहिलो च्याप्टर गीताको त्यही ब्युटिफुल जर्नीको सुरुवात हो. विल्डअप हो. ओशो भन्थे, पागलखाना र सुधार केन्द्रहरुमा अक्सर बुद्ध बन्न सक्ने क्षमताका व्यक्तीहरु थुनिएका भेटिन्छन्. मनलाई हेर्ने भिजनले गोटी बेच्ने धन्दाको बाटो समात्नुको दुर्भाग्य हो यो. धन्न अर्जुनले कृष्ण पाए र गीता जन्मियो. धन्न कृष्णले अर्जुन पाए र गीता जन्मियो. एउटा ब्युटिफुल बाटो जन्मियो विषादको यात्राबाट विजयसम्म पुग्ने.
ज्ञानको स्वरूप वृताकार हुन्छ वा हुनुपर्छ. त्यसैले कुनै कुराको सबै पक्ष केलाएर बनाएको सिनेमालाई वृत-चित्र भन्छन्. एक पक्ष हावी भए त्यो प्रोपोगान्डा हुन्छ. थ्री सिक्स्टी डिग्रीबाट कुनै कुरा हेर्न समताभाव चाहिन्छ. अर्थात कुनै कुराको बिचमा रहेर, म-मेरो जस्ता भावनासँग आइडेन्टिफाईड नभई गरिएको अध्ययन नै पूर्ण अध्ययन हो. ब्याटलफिल्डको अध्ययन गर्न रथ बीच मैदानमा लगेर राख्न लगाएका अर्जुन बिचमा टिक्न सक्दैनन्. उनमा ममत्व हावी हुन्छ र आइदेन्टिफाइड स्टेटमा पुग्छ उनको कन्ससनेस. अब सुरु हुन्छ विचलन. त्यो विचलनले मानसिक परिवर्तन मात्र हैन, शारीरिक परिवर्तन समेत ल्याउँछ. त्यसैले उनको मुख सुक्छ, हात काम्छ र हातबाट धनुष खस्छ. हतास भएर उनी रथको पछाडी गएर थुचुक्क बस्छन्. यो अवस्थामा पुगेको आफ्नो साथीलाई ध्यान-अवस्थाले दिने अब्जेक्टिभ कन्सियसनेसको दृष्टी दिनु छ अब कृष्णले. कुनै कुशल साइकायाट्रिस्टले महँगो शुल्क लिएर महिनौं लगाएर गराउने मनको यात्रा अठार अध्यायमा अर्जुनलाई गराउनु छ. मनोविज्ञानका जनक मानिएका एक जर्मनले यही किताब पढेर बीसौं शताब्दीको सुरुवातमा गफ गरेर मनको गाँठो उधिन्दै जाने पद्दती खोजे जसलाई हामी आजभोली साइको एनालिसिस भन्छौं.
योगको एउटा लक्षण हो, शाश्वतता. समय भन्दा यो पार छ. परस्पर विरोधी कन्सेप्टस जोडिएर जीवनमा दुख कसरी निर्माण भएको हुन्छ भन्ने कुराको सार्वकालिक स्टडी भएको हुनाले गीताको पहिलो च्याप्टरलाई विषाद योग भनिएको छ.
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

