१. गुजी पाएँ – बूँद राना
अँधेरीमा गुजी हुन्छ भन्नुहुन्थ्यो बज्यैले
के हो गुजी ? कस्तो हुन्छ ? नदेखेको मैले
आज फेरि भन्नुभयो सम्झाउँदै राति
‘आँटीमाथि गुजी छ त्यहाँ नजानू है नाति !’
गुजी हेर्ने रहर थियो नदेखेको कैले
एक टुक्रा दियालोको झोसेँ आगो मैले
चुपचाप चोर–चाल आँटीमाथि पुगेँ
सोलीभरि सेल देखी बल्ल कुरा बुझेँ
यौटा सेल टिपी दौडी बज्यैछेउ आएँ
हाँस्तै भनें– ‘इ बज्यै ! मैले गुजी पाएँ !’
(‘पुष्टकारी’ बालकवितासङ्ग्रहबाट)
——————————————–
[प्रयोगधर्मी र नवीन ढाँचाका बालकविता लेख्ने साहित्यकार बुँद राना (२००३) का ‘पुष्टकारी’, ‘खै गुजी’ ?, ‘डण्डी बियो’, ‘पहिलो भयो प्यादा’, ‘चना चटपटे’ लगायतका बालकविता सम्बद्ध कृतिहरू प्रकाशित छन् । उनी आफ्ना बालकवितामा बालबालिकाकै बोलीमा रमाउने बालक बनेका देखिन्छन् । आफ्ना बालकवितामा उनी नैतिक सन्देश र ज्ञानलाई मिलाई मिलाई सम्प्रेषण गर्न सिपालु छन् । कतै उनी अभिभावक बनेर लोरी प्रस्तुत गर्छन् भने कतै बालबालिका बनेर बालगीत सुनाउँछन् । उनी रहस्यमय बालकविता लेख्छन् र त्यसको समापन आकस्मिक र रोचक पारामा गर्दछन् । विषयवस्तुका हिसाबले कवि बुँद रानाका बालकवितामा प्राकृतिक सन्दर्भ, बाल्यकालीन अनुभव, वात्सल्य भाव, नातासम्बन्ध, बालखेल, शैक्षिक सामग्री, विज्ञानसम्मत दृष्टिकोण जस्ता विषयवस्तु समेटिएको पाइन्छ । भाषाशैलीगत सरलता, सुस्पष्टता, रहस्यमयता, मौलिकता, हास्य–व्यङ्ग्यात्मकता, राष्ट्रियता आदि उनका अन्य बालकवितात्मक वैशिष्ट्य हुन् । उनको ‘गुजी पाएँ’ बालकवितामा कविले आख्यानमिश्रित संवादात्मक शैलीको रोचक प्रयोग गरेका छन् । बालबालिकाकालाई अन्धविश्वासको जालोमा रुमलिने वातावरण अभिभावकले सिर्जना गर्न नहुने सन्देश कविताले दिएको छ । कवितामा बालकलाई साहसी बनेको देखाइएको छ र अन्धविश्वासी चेतबाट माथि उठ्नुपर्ने अप्रत्यक्ष सन्देश दिँदै आँटी बन्न उत्प्रेरित समेत गरिएको छ । कवितामा आकस्मिक समापनका साथ रहस्यको अन्त्य गरिएको छ ।]
*************************************
२. डुल्ने हाम्रो मन छ – विद्या भण्डारी ‘चिराग’
हाम्रो घरको आँगनीमा सानो-सानो पिङ छ
आऊ न साथी खेलौँ एकछिन शनिबारको दिन छ
यहींनिर बनाऊँ हामी पुतलीको घर
हामीलाई छैन आज कसैको नि डर
खाजा बनाई आमा हाम्लाई लिन आउनुहोला
बाबाले नि मिठा-मिठा पापा ल्याउनुहोला
खाना पनि खाउँला अनि मीठो पापा खाउँला
एकछिन् पछि आज हामी बजार घुम्न जाउँला
आमा हाम्लाई छोडी आज कतै जानुहुन्न
बाबाले नि थाकेको छु आज भन्नुहुन्न
आमा-बाको हात समाई डुल्ने हाम्रो मन छ
हाम्लाई कतै घुम्न लानोस् शनिबारको दिन छ ।
(‘इन्द्रेणीको गेट‘ बालकविता सङ्ग्रहबाट)
———————————-
[जन्मस्थान काठमाडौँ भई हाल भरतपुर-१२, चितवनमा स्थायी बसोबास गर्दै आएकी विद्या भण्डारी ‘चिराग’ (२०२३) पेशाले शिक्षिका हुन् । २०५० सालदेखि साहित्यलेखन यात्रा थालेकी साहित्यकार चिराग बालसाहित्यका क्षेत्रमा बालकविता र बालगजल लेखनमा रुचि राख्ने प्रतिभा हुन् । उनका ‘इन्द्रेणीको गेट’, ‘हाट बजार’ र ‘चरी माथि आकाशमा’ गरी ३ वटा बालकविताका सङ्ग्रहहरू प्रकाशित छन् । हजुरबा (बालगजलसङ्ग्रह) तथा वर्षात् र जन्मदिन बालकविताका सङ्ग्रह उनका प्रकाशोन्मुख कृति हुन् । उनका बालकवितामा बाल आनीबानी, बालसुलभ परिवेश, बाल्यअनुभव, बालखेल, बालकल्पना, ऋतुवर्णन, प्रकृतिचित्रण, अग्रज स्रष्टाप्रतिको सम्मान, प्राकृतिक जीवजन्तु तथा वनस्पति आदिलाई विषयवस्तु बनाइएको पाइन्छ । बालोचित सन्दर्भ, सन्देशमूलकता, मनोरञ्जनात्मकता, लयात्मकता आदि उनका बालकवितात्मक प्रवृत्ति हुन् । प्रस्तुत ‘डुल्ने हाम्रो मन छ’ बालकवितामा कवयित्रीले बालसुलभ कोमल भाषाको प्रयोग गरी बाल्य स्वभावको चित्रण गरेकी छन् । शनिबारको दिनमा हुने बिदाको रमाइलो, पिङ खेल्न पाउँदा हुने आनन्द, बाबाआमासँग डुल्न-घुम्न पाउँदाको सन्तुष्टि, मिठा-मिठा खानेकुरा खान पाउँदाको खुसी जस्ता बाल्यअनुभवलाई कवयित्रीले कलात्मक र लयात्मक शैलीमा शृङ्खलाबद्ध ढङ्गले बखान गरेकी छन् ।]
*******************************
३. चिँ मुसी चिँ – उत्तम विचार
म्याउँ गर्छ बिरालो मुसीले गर्छ चिँ
गाईले गर्छ बाँ बाँ घोडाले गर्छ हिँ ।।
भेँडो गर्छ भ्या भ्या बाखरीले म्याँ
भाले बास्छ बिहानै कुखुरीले काँ ।।
च्यार्र गर्छ भँगेरो गौथलीले चुर्र
कुकुर र बिरालो गर्छन् ङ्यार्र ङुर्र ।
परेवाको माकुर माकुर ढुकुरको कुर
अन्त कतै पाइँदैन हाम्रो काँडे भ्याकुर ।।
काग दाजै काग काग कुहु कोइली
फूलको बोटमा रमाउँछे रातो जुरेली ।।
मुनालको शिरमा कल्की डाँफे नाचेको
राम्रो लाग्छ बिहानै हिमाल हाँसेको ।।
मुजुरको प्वाँख राम्रो सुगा हरियो
प्रकृतिको रङ्ग देखि दङ्ग परियो ।।
हात्ती आयो हात्ती आयो गैँडा डरायो
उफ्री-उफ्री हिँड्छ बाह्रसिङ्गे जरायो ।।
मृगलाई भेट्टाउन कस्ले सक्ला र
मैदानको खेलाडी कैलै थाक्ला र ।।
छिटो पुग्छु भनी दौड्यो थाक्यो खरायो
ढिलो हिँड्ने कछुवाको मनै डरायो ।
———————————–
[लिखू -६, नुवाकोट घर भई हाल टोखा -१० काठमाडौँमा बसोबास गर्दै आएका उत्तमराज भेटुवाल (२०३२) साहित्यिक क्षेत्रमा उत्तम विचार नामले चिनिएका छन् । स्नातकोत्तर अध्ययन गरेका कवि उत्तम विचारले कविता मुक्तक गजल हाइकु निबन्ध जस्ता विधामा कलम चलाएका छन् । विभिन्न पत्रपत्रिकामा उनका बालरचनाहरू पनि प्रकाशित हुँदै आइरहेका छन् । बालबालिकाले बुझ्ने सरल भाषाको प्रयोग गरेर बालबालिकालाई प्रिय लाग्ने विषयवस्तुको चयन गरेर उनले बालकविताहरू लेख्दै आइरहेका छन् । उनको प्रस्तुत ‘चिँ मुसी चिँ’ बालकवितामा उनले मुसा, बिरालो, घोडा, बाख्रा, हात्ती, गैँडा, मृग, कछुवा, खरायो जस्ता जनावर र परेवा, ढुकुर, काग, मुनाल, डाँफे, मुजुर, सुगा जस्ता चराचुरुङ्गीले निकाल्ने आवाजको परिचय दिँदै ती पशुपक्षीहरूको परिचय र स्वभावका बारेमा पनि कवितात्मक शैलीमा वर्णन गरेका छन् ।]
rcghimire47@gmail.com
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।