
बुढ्यौलीपनलाई आधार बनाएर सिर्जना गरिएका साहित्य नै बुढ्यौली साहित्य हो । बुढ्यौली उमेर र त्यसले पारेको प्रभाव अनुभव, अनुभूतिलाई साहित्यका विभिन्न विधागत रूपमा बुढ्यौली साहित्य लेखिन्छ ।
बुढ्यौली अङ्ग्रेजी शब्द ‘एजिङ’को नेपाली रूपान्तरण हो । बुढो नामपदमा यौली प्रत्यय जोडिएर बुढ्यौली शब्द निर्माण भएको हो । संस्कृतमा वृद्ध भन्नाले बुढो भन्ने बुझिन्छ । बुढ्यौली भन्नाले नेपाली समाजमा साठी वर्षमाथिको उमेरलाई बुझाउँछ । बुढ्यौली शब्द संस्कृत शब्द नभए पनि यससँग मिल्दाजुल्दा शब्दका रूपमा वृद्ध वा वयस्कलाई मानिन्छ । बुढ्यौलीसँग नजिक भएर त्यसको अनुभव र अनुभूतिलाई विषय बनाएर बुढ्यौली साहित्य निर्माण भएको हो ।
मानव सभ्यताका विभिन्न चरणमा, मानव विकासका विभिन्न युग, परिवेश तथा सृष्टिसँग सम्बन्धित आरोह–अवरोहको इतिहास नै कथा वा पुराण हुन् भने मानव सृष्टिसँगै जोडिएको समष्टि इतिहास, कला संस्कृति धर्मको मूल नै आप्तवचन हो । आप्तवचन भनेकै बुढा, वृद्ध, अग्रज ऋषि मनिषिहरूका विचार कला सिर्जना हुन् । अङ्ग्रेजी एजिङ शब्दको समानान्तर रूपमा नेपाली भाषामा रूपान्तरित जेष्ठ नागरिक वृद्ध वा बुढ्यौलीजस्ता शब्दको प्रयोग गरिएको छ । वास्तवमा बुढ्यौली शब्दले प्राचीन मानव सभ्यताको इतिहास र परिचय बोकेको छ । मानव सभ्यता, संस्कार, संस्कृतिलाई आत्मसात् गर्दै प्राचीन समयमा घटेका घटनाहरूलाई अनुभव र व्यवहारका माध्यमबाट प्रस्ट्याउने, चिनाउने कार्य गरेको छ । मानव मनका प्राकृतिक तत्त्व र घटनाहरूलाई परिवेशीकरणद्वारा मानव सभ्यतासँग जोडेर प्रस्ट्याउने कार्य बुढ्यौली साहित्यले गर्दछ । बुढ्यौली साहित्य प्राचीन इतिहासको प्रामाणिक वर्णन हो, जसले घटना र स्थितिको बारेमा बताउँछ ।
सामान्यतयाः साठी वर्षमाथिको अवस्था नै बुढ्रयौलीको अवस्था हो । नेपालको प्रचलित कानुन, धर्म वा रीतिरिवाजमा पनि तीन बीस उमेर कटेका मानिसलाई वृद्ध भन्ने गरिएको छ । जब पुग्यो साठी उसको साथी लाठी भन्ने उखानको चरितार्थ पनि साठी वर्षभन्दा माथि उमेर समूहका मानिसलाई जेष्ठ नागरिक वा बुढ्यौलीको अवस्था मानिन्छ । नेपाली समाजको अवस्था र विश्व स्वास्थ्य संगठनको मापदण्डमा समेत ६० वर्ष र सो भन्दामाथिका नागरिकलाई जेष्ठ नागरिकका रूपमा मानेकोले त्यस उमेर समूहका मानिसलाई बुढ्यौली लागेको अवस्था मान्नुपर्दछ । निजामती वा जङ्गी सेवामा समेत निवृत्ति वा अवकाश प्राप्त मानिने यो अवस्था नै बुढ्यौली अवस्था हो । नेपालमा जेष्ठ नागरिक वा बुढ्यौली समूहका मानिसको गणना गर्ने हो भने नेपालको जनगणना २०७८ अनुसार कूल जनसंख्याको लगभग ९ प्रतिशत देखिन्छ । नेपालमा बुढ्यौली उमेर समूहका लगभग ३० लाखको हारहारीमा जेष्ठ नागरिक छन् भने विश्वमा ८० करोडको हाराहारीमा रहेको तथ्याङ्क छ । बिस्तारै शरीरको सक्रियता कम हुँदै शिथिल अवस्थामा निश्चित घेराबन्दीमा जीवन व्यतित गर्न बाध्य बुढ्यौली समयलाई आफ्ना अनुभन र अनुभूतिको सिर्जनामा लगाउन सके आगामी पुस्ताका लागि निकै महत्त्वपूर्ण हुने कुरामा दुईमत देखिन्न ।
बुढ्यौली अवस्थाको यसको वर्गीकरणको लागि सक्रिय जीवन, उमेरको आधार र स्वास्थ्यको अवस्थालाई लिन सकिन्छ । आदिम मानवको सत्यतथ्यको खोजी गर्ने प्रवृत्ति र त्यसलाई व्यक्त गर्ने माध्यम नै साहित्य हो । भिन्नभिन्न जाति, समूह, भाषा र भूगोलका मानिसलाई हुने त्रास, आशा र आवश्यकताको मूलस्रोत एउटै–एउटै भएकाले पनि बुढ्यौली समयको कथ्यमा केही समान गुणहरू विद्यमान रहेका देखिन्छन् तर बुढ्यौलीको अनुभूति र साहित्यको प्रयोग मानव र प्रकृतिको सृष्टिसँगै जोडिएर आएको छ । विश्वका सबै स्थानमा बसेका मानिसको सृष्टि, त्यसको गतिशीलता, जन्म, मृत्यु, पुनर्जन्म, प्राकृतिकपन, दैवीशक्ति चमत्कार, विश्वास, आस्थामा समान धारणा पाइन्छ । त्यसैले बुढ्यौली समय सार्वभौम यथार्थ हो भने त्यसको गहन अनुभूति नै बुढ्यौली साहित्य मान्न सकिन्छ । यो आदिम सभ्यताका सामूहिक अनुभूतिहरूको समग्र पक्ष पनि हो । जसमा मानव र प्रकृतिका घटना रहेका हुन्छन् । मानव सभ्यताको विकाससँगै धर्मको प्रादुर्भाव भएको मानिन्छ । असल कार्य अद्भुत शक्ति र सामूहिक कार्यद्वारा धर्मको निर्माण भएपछि बुढ्यौली र धर्म एक अर्कामा सम्बन्धित भएर आएका छन् । देवता र दानवको कल्पना र कार्यसँगै वृद्धवस्था र धर्म एकअर्कासँग सम्बन्धित भएका छन् । धर्मप्रतिको आस्था र भक्ति संसारका सबै धर्मग्रन्थमा पाइन्छ । जुनसुकै धर्मले पनि सृष्टिको, संसारको उत्पत्ति र विकासको बारेमा आ–आफ्नो कथाको वर्णन गरेको छ । जन्म, यौवन, वृद्धवस्था र मृत्यु सबै धर्मग्रन्थमा पाइनाले धर्म र बुढ्यौली समयको सम्बन्ध रहेको स्पष्ट हुन्छ । त्यसैको आधारभूमिमा बुढ्यौली साहित्य निर्माण भएको हुन्छ । कुनै पनि धार्मिक ग्रन्थका पुराण वा कथामा धार्मिक आचरण तथा अनुष्ठानको चर्चा गरिएको हुन्छ । परम्परा र प्रथाका बारेमा विवरण दिनु नै धार्मिक ग्रन्थ प्रयोगको उद्देश्य हो । त्यसैले बुढ्यौली कथा पुराकथाको चर्चा परिचर्चासँगै धर्मसँग समन्वय गरेर वृद्धवस्थाको खोज गरिन्छ । त्यसैले सबै धर्मका धार्मिक कथा वा घटनाहरू वृद्धका नालीबेली हुन् भनेर मान्न सकिन्छ । धर्म र बुढ्यौलीपन एकै सिक्काका दुई पाटा हुन् । वृद्धवस्थामा ईश्वरभक्ति धार्मिक अनुष्ठान यज्ञ, व्रत, दान, उपासना, आराधना आदि कार्यबाट समय व्यतित हुन्छ । धार्मिक कथाले बुढ्यौलीको वर्णन गर्दछ । अझ व्यापक अर्थमा भन्ने हो भने धर्ममा देवताको अलौकिक शक्ति र चामत्कारिक गुणद्वारा वर्णित कथाले अनुशासन, नैतिकता मर्यादाको धर्मसँग सम्बन्ध हुन्छ भन्ने प्रष्ट हुन्छ ।

बद्रीप्रसाद ढकाल
विश्वको साहित्य अध्ययन गर्दा बुढ्यौली साहित्य र धर्म सँगसँगै जोडिएर आएको पाइन्छ । प्राचीन समयदेखि नै बुढ्यौलीमा धार्मिक भावना मिश्रित भएर आएको हो । बुढ्यौली साहित्यलाई आदिम विज्ञान, आदिम चिन्तन र धर्मका रूपमा लिन सकिन्छ । हिन्दू धर्मलाई वेद, आख्यान र पुराणबाट अलग गर्न सकिँदैन । बौद्ध धर्मले जातक कथाका माध्यमबाट बुढ्यौली साहित्य परम्परालाई अगाडि बढाएको छ । बुढ्यौली साहित्यमा घटना एवम् ईश्वर र धर्मका मान्यता र विश्वासलाई अभिव्यक्त गरिएको हुन्छ । धर्मले आफ्नो अस्तित्वको चर्चामा बुढ्यौली साहित्य घटनालाई प्रस्तुत गर्दै धर्म हुनुको सार व्यक्त गर्दछ । धर्मले मानवद्वारा नै आफ्नो सृष्टि, उत्पत्ति र विकासलाई अवलम्बन गर्दछ । संसारका सबै धर्ममा मानव भक्ति घटना र परिवेशको वर्णन गरिएकाले धर्म र मानव एक अर्कासँग सम्बन्धित रहेर अगाडि बढेका छन् भन्न सकिन्छ । बुढ्यौली साहित्य र धर्म एउटै होइनन् एक अर्काका परिपूरक मात्र हुन् । मानवीय मूल्य र संस्कृति निर्माणमा वृद्धवस्थाको भूमिका रहेको छ यसले मानव सभ्यताको निर्माणमा धर्मसँग जोडिएर आफ्नो स्थान सुरक्षित पारेको छ । बुढ्यौली साहित्य संस्कार र संस्कृतिको समग्रतामा रहन्छ । त्यसैले बुढ्यौली साहित्य र धर्म फरक विधा हुन् तर एक अर्कासँग सम्बन्धित परिपूरक छन् । बुढ्यौली संस्कृतिको विकाससँगै विकसित हुँदै आएकोले प्राचीन समयदेखि वर्तमानसम्म आइपुग्दा यसले मानव समुदायको वैचारिक आस्था, विचार र विश्वासलाई बोकेर अगाडि बढेको छ । बुढ्यौली साहित्यमा समेटिएका विषयमा मानव चेतनाको अनुभूति र विस्तारित रूप पाइन्छ जसको अनुसरणबाट मानव सभ्यताको विकास भएको छ । समस्त मानव चेतनालाई प्रभावित गर्न सक्ने प्राचीन कथालाई प्रतीक बिम्ब र रूपकद्वारा सत्य, अनुभव र विश्वास डोरिएको छ ।
त्यसैले बुढ्यौली साहित्य काल्पनिक कथा वा विषय होइन । यो यथार्थ सत्यको गहिराइ पत्ता लगाउने आधार भएकोले बुढ्यौली र दर्शनको सम्बन्ध रहेको छ । पौरत्स्य दर्शनमा वर्णित सृष्टि, स्थिति, प्रलय जन्म, पुनर्जन्म, ईश्वरसम्बन्धी धारणा पाइन्छ भने पाश्चात्य दर्शनमा प्रमिथस, डायना, सोफोक्लिजजस्ता घटनाका पात्रको वर्णन पाइन्छ । जसद्वारा चामत्कारिक कार्य गराइन्छ र त्यसलाई सामाजिक अनुकरणको आस्थाको विन्दु मानिएको छ । कुनै पनि समाज वा प्रवृत्तिमा रहेर पनि विचारको बाहक बन्नु बुढ्यौली साहित्यको विशेषता हो । प्राचीन सभ्यता र मानव विकासमा दैवीकार्य, प्रकृति जगत्को वर्णनको चिन्तन दर्शनमा र बुढ्यौली साहित्यमा दुवैमा पाइन्छ । आदिम बुढ्यौली साहित्यमा वर्णन भएजस्तै रूप, रस, गन्धजस्ता विचारहरूको मन्थन पाइन्छ । समाज, सृष्टि र प्रकृति सम्बन्धमा आदिम मानवका घटना प्राचीन आदिम सभ्यतामा मानवको सृष्टि, ज्ञानको विकाससँग प्रकृतिको उत्पत्ति, लय प्रलय, मानवको जन्म, वृद्धावस्था, मृत्यु, पुनर्जन्मसम्बन्धी धारणा बुढ्यौली र दर्शनका साझा विचार हुन् । कतिपय बुढ्यौली साहित्यका कथाहरू विश्वव्यापी हुन्छन् । चाहे पूर्वीय सभ्यता, संस्कार, धर्म, रीतिरिवाजका हिन्दू, वा बौद्ध धर्म होस् या युनानी, क्रिश्चियन, यहुदी संसारका सबै मानिसहरूसँग दैवीशक्ति सम्बन्धी धारणाका साथै तपस्वी र वृद्ध योगी ऋषिमुनिहरूका कथाहरू छन् । बुढ्यौली साहित्यमा धार्मिक तत्त्व वा विचारको वर्णनमात्र नभएर प्राचीन वैज्ञानिक दर्शनको वर्णन र व्याख्या छ । यसरी बुढ्यौली अवस्थालाई घटना, प्राकृतिक तत्त्व आदिका माध्यमबाट दार्शनिक चिन्तनद्वारा पुष्टि गर्ने गरेको पाइन्छ । तर्कशक्ति र चिन्तन पद्धतिद्वारा वस्तु र विचारको वर्णन बुढ्यौली साहित्यमा पाइने हुनाले बुढ्यौली साहित्य र दर्शनको सम्बन्ध स्पष्ट हुन्छ । बुढ्यौली साहित्यको उत्पत्ति नै दार्शनिक विचारद्वारा भएको हो भन्ने धारणा पूर्वीय र पाश्चात्य विद्वान्हरूको रहेकाले आदिम मानवको अनुभूति कल्पना आस्था र जीवनसँग बुढ्यौली साहित्य दर्शनसँग सम्बन्धित छ ।
बुढ्यौली साहित्यलाई पुरानो वा इतिहास मान्न सकिन्छ । बुढ्यौली उमेरका अनुभूति, घटना विषयवस्तु वा सिर्जना पुराकथा, आद्यकथा भएकोले इतिहाससँग नजिक रहेको हुन्छ । बुढ्यौली साहित्य अतीत वा स्मृतिसँग जोडिएको हुन्छ । मानव सभ्यता, परम्परा र संस्कृतिको जड र प्राचीन रूप नै बुढ्यौलीका घटना परिघटना भएकोले मानव सभ्यताको इतिहास मानिन्छ । बुढ्यौली साहित्यले जीवनको भोगाइ र अनुभवलाई कथाका माध्यमबाट प्रस्तुत गर्ने भएकोले मानव सभ्यताको इतिहास बुढ्यौली साहित्यमा पाइन्छ । बुढ्यौली साहित्यमा राजा, महाराजा, शासक वंशका घटना जोडिएर, देवता र दानवको जीवनचर्चा जोडिका ऐतिहासिक घटना र तथ्य पाइन्छ । बुढ्यौली साहित्यमा देवताका विभिन्न रूप तिनका विचार र व्यवहार अनुशरण गर्ने व्यक्तित्व तिनले देखाएका वैचारिक मार्ग, मानवीय मूल्य र चेतनाको प्रकटीकरण गरिन्छ । आदर्श, कल्याण र मानवताका पक्षलाई नैतिक वा नीतिकथाका माध्यमबाट अभिव्यक्त गर्नु नै बुढ्यौली साहित्यका विषयवस्तु भएकाले बुढ्यौली साहित्यमा अभिव्यक्त भएका त्यस्ता सार्वभौमिकता, सत्य, तथ्य नै मानव सभ्यताको इतिहास हो भन्न सकिन्छ । इतिहासमा घटेका घटनालाई आख्यानका माध्यमबाट निरन्तरता दिने कार्य नै बुढ्यौली साहित्यले गर्ने हुनाले इतिहास र बुढ्यौली साहित्य एक अर्कासँग सम्बन्धित छन् भन्न सकिन्छ । बुढ्यौली साहित्यमा आदिम सत्यको उद्घाटन हुने भएकोले प्राचीन कला, संस्कृति, धर्म, संस्कारजन्य कुराको इतिहास मान्न सकिन्छ । बुढ्यौली साहित्य प्राचीन जातिको अनुभव, आस्था, विश्वास, अनुभूतिको कहानी हो । वर्तमान समयमा भनिने पूजा गरिने देवताहरू प्राचीन समयका मानिसका रूपमा रहेका र तिनले मानवले जस्तै कार्यको साथसाथै चामत्कारिक कार्य गरेका प्रसङ्ग धर्मशास्त्रका ऐतिहासिक घटना तथा पुराणमा वर्णित छ । बुढ्यौली साहित्य मूलतः प्राचीन परम्पराको सङ्ग्रह हो । बुढ्यौली साहित्यमा प्राचीन यथार्थको गम्भीर र कलात्मक अभिव्यक्ति हुने भएकाले बुढ्यौली साहित्यमा व्यापक इतिहासको स्वरूप पाइन्छ । बुढ्यौली साहित्यमा घटनाहरूको यथार्थ वा तथ्यताभन्दा पनि सामाजिक सांस्कृतिक पक्षसँग जोडिएर युगीन परिवेश र सत्यतालाई प्रकट गरिएको हुन्छ । सभ्यताको विकासक्रम सँगसँगै युगअनुसारको जाति मनोविज्ञान, प्रवृत्ति र सामाजिक अवस्थाको परिवर्तन हुन्छ । विभिन्न क्रान्ति, घटना र सङ्घर्षबाट समाजको रूप बदलिन्छ जसको चित्रण बुढ्यौली साहित्यले आख्यानमार्फत गरेको हुन्छ । त्यसैले बुढ्यौली साहित्यमा इतिहासका विभिन्न कालखण्ड समेटिएको हुन्छ, सत्य र शाश्वतता अभिव्यक्त भएको हुन्छ । इतिहास लेखन वा रचनामा बुढ्यौली साहित्यले महत्त्वपूर्ण योगदान दिन्छ । यसैगरी कालान्तरमा इतिहास पनि बुढ्यौली साहित्यमा रूपान्तरित हुन्छ । बुढ्यौली साहित्यमा कल्पना, सत्य र इतिहासको सम्मिश्रण पाइन्छ ।
अर्को हप्ता बुढ्यौली साहित्यसँग इतिहास …



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 










