“मनको डाक्टर” भइएको पनि नयाँ वर्षदेखि बाह्र वर्ष पूरा  भएर तेह्र लाग्छ । ‘बाह्र वर्षमा त खोलो पनि फर्कन्छ’ भन्छन् । तर मनको थातथलो अझै पनि राम्ररी ठम्याउन सकिएको भने छैन । मनको विशेषज्ञ भर्इ खाइएकोमा अब गर्व गरौँ कि नगरौँ ? थाहा छैन । माइण्ड स्पेस्यालिष्ट  रे ! तर “तैँले उपचार गर्ने भनेको मुख्य अङ्ग देखा न त लौ !” भनेर कसैले चुनौती नै दियो भने ङिच्च दाँत देखाउने बाहेक अरू केही उपाय छैन । आँखाका डाक्टरले आँखा देखाउलान्, कानकाले कान, मुटु विशेषज्ञले पूरै मुटु नै मेरो हो भनिदेलान्, कलेजोले कलेजो, अनि दाँतले दाँत नै देखाइदेलान् ।

म गम्छु, मन सिधै देखाउन त नसकिएला नै । मस्तिष्कभित्र नै मन हुने कल्पना नै गर्ने हो भने पनि, मस्तिष्कको शल्यक्रिया नै गरेर पनि, एउटा जिउँदो मान्छेलाई “यो हो तिम्रो मन !” भनेर प्रत्यक्ष देखाउने कसरी ? भलै अचेल भिडियोमा देखाउन सकिने प्रविधि नभएको भने होइन । तर मन नै नभएको मान्छे ज्युँदो रहन्छ कसरी ? मरेको मान्छेको माथि उल्लेख भएका आँखा, कान, मुटु, कलेजो, दाँत आदि सबै अङ्ग दुरुस्त नै हुन्छन् प्रायः, तर उसको मन ? पक्कै पनि त्यहाँ हुँदैन । ‘आत्मा’को चिन्तनतिर भने अहिले नलागौँ ।

सानोछँदा प्रातःस्मरणीय मेरी मातामहीले भनेको सधैँभरि सम्झन्छु । यो कुरा सायद म जीवनभर नै भुल्न सक्दिनँ होला पनि । “बाबु ! ठूलो भएर डाक्टर बन्नू । धेरै नाम कमाउनू ।” त्यो बेला “नाम कमाउने भनेको के हो ? अनि त्यो नाम कमाएर केमा काम लाग्छ ? कता प्रयोग गर्ने हो ?”  मलाई केही थाहा थिएन । डाक्टर भएर नाम कमाउने भनेको उसले आफ्नो क्लिनिकमा जम्मा भएका बिरामीहरूको नाम सङ्कलन गर्ने पो हो कि जस्तो लाग्दथ्यो मलाई त । “पैसा सङ्कलन गरेर या कमाएर त धेरै थोक (प्रायः सबै नै थोक) किन्न सकिन्छ तर अर्काको नाम सङ्कलन गरेर या कमाएर त के काम हुने होला ?” मेरो बालमस्तिष्कमा सधैँ यही नै कुरा खेलिरहन्थ्यो ।

प्रा.डा. अजय रिसाल

ती ममतामयी हजूरआमाको आशीर्वादले गर्दा अहिले म डाक्टर नै भएको छु । नाम अगाडि डाक्टर थपिएको पनि झण्डै दुई दशक पूरा हुन लागिसक्यो । पैसा त त्यत्तिसारो कमाउन सकिएको छैन । तर उहाँले भनेजस्तो “नाम कमाएँ कि कमाइनँ होला ?” थाहा छैन । यद्यपि एउटा कुरा भने पक्का नै छ, मनलाई प्रत्यक्ष देख्न, हेर्न नसके पनि अनि “मन कहाँ छ ?” भनेर ठ्याक्कै नै ठम्याउन नसके पनि थुप्रै “मनका कथाहरू” भने पक्कै सुनेको नै  छु । हिमाल-पहाड-तराई,  स्वदेशी-विदेशी,  हिन्दू-बौद्ध-इसाइ-इस्लाम,  बाहुन-क्षेत्री-नेवार-भोटे,  महिला-पुरुष-अन्य, गरीब-धनी,  गाउँले-शहरीया,  बालक-किशोर-युवा-वृद्ध,  डाक्टर-शिक्षक-किसान-व्यापारी-बेरोजगार प्रायः सबै वर्गका मानवहरूका “मनका कथाहरू” केलाएको छु मैले । विगत बाह्र वर्षको ठोस कमाइ नै मेरो यही हो । अरू केही कमाउन नसके पनि “मनका कथाहरू”को सङ्कलन भने गर्न सकेको छु मैले ।

मनका कथाका केही प्रतिनिधि पाटाहरू अवलोकन गरौँ ।

“मेरो छोरो त अचेलखालि मोबाइलमा नै झुण्डिरहन्छ । घर आएका पाहुनापाछालाई नमस्कार गर्ने, वार्तालापमा सरिक रहने, सामाजिक जमघटमा सहभागी हुने त ठप्प नै भैसक्यो । एक्लै कोठामा ढोका थुनेर बस्छ, बोलायो भने बोल्छ । पढ्ने मन नै गरेको जस्तो भने लाग्दैन । आठ कक्षामा नै दुई पटक फेल भइसक्यो ।” एक अधबैँसे महिलाको आफ्नो छोराप्रति दुःखेको मनको अभिव्यक्ति हो यो ।

“डाक्टरसाब ! मलाई अचेल के भइरहेछ के ? टिभी हेर्न, रमाइलो गर्न, साथीभाइहरूसँग भेटघाट गर्न मनै लाग्दैन । दिक्क लाग्छ ! बेकामे भइयोजस्तो लाग्छ । यो संसारमा बेसहारा भएर पनि के बाँच्नु ? बाँच्ने इच्छा नै छैन मेरो । राति निद्रा पनि त्यत्तिसारो पर्दैन ।” आत्महत्या गर्न आँटेका एक ४५ वर्षे शिक्षकलाई उनका साथीहरूले अस्पतालमा ल्याइपुर्याएपछिका उनका मनका अभिव्यक्ति हुन् यी ।

“मलाई त अलिकति नपिइकन काम गर्ने जाँगरै चल्दैन । नपिएको दिन त मेरो मन चञ्चल भइरहन्छ । हात काँप्न थाल्छ, निद्रा लाग्दैन, के गरौँ ? कसो गरौँ ? भइरहन्छ …..” मद्यपानजन्य समस्याको उपचारका लागि जब्बरजस्ती ल्याइपुर्याएपछि एक ५५ वर्षे व्यापारीले मसँग पोखेका मनका दुखेसो हुन् यी ।

त्यस्तै त्यस्तै नै….कसैको ‘मन मर्दछ’, कोही ‘मन रोयो’ भन्दै आउँछन् । अनि कोही ‘मनै लाग्दैन’ भन्दै काम गर्ने असमर्थता देखाउँदछन् ।

माथिका उद्धरणहरू नै काफी छन्, मेरो पेशागत धर्मका बारेमा खुलाउन । हो, म सधैँ यस्तै यस्तै “मनका कथा” सुनेर, त्यही कथामा लुकेका व्यथाहरू केलाउने, अनि ती कथाभित्रका मर्महरूको निदान गर्ने चेष्टा गर्दछु । ती मानसिक पीडाहरूमा मलहमपट्टी लगाउने मेरो निःस्वार्थ प्रयास रहन्छ सदा । वियोगान्तक कथाहरूलाई संयोगान्तक बनाउन खोज्ने मेरा उपचार पद्धतिले ज्यादाजसो सकारात्मक परिणाम ल्याए तापनि कुनै कुनै समय त म असफल रहन्छु । ती सबै सफलता–असफलताका भने छुट्टै नै कथाहरू छन् ।

तर ती मनका कथाहरूको प्रभाव व्यापक छन् । मैले अस्पतालमा आएका या ल्याइपुर्याइएका सीमित केहीको मात्र कथा सुनेर अनि तिनलाई मात्र उपचार गरेर पुग्दैन । सयौँ मनका कथाका पात्र (मनोरोगी)हरू लुकिबसेका छन्, हराइरहेका छन् या थुनिएका छन्, , कोही भने अपूर्ण अनि गलत उपचारका कारण पिल्सिएका छन् । चेतनाको अभावले तड्पिरहेका छन् । ती सबैलाई मैले उचित उपचार सेवामा जुटाउनुपरेको छ । अतः तिनको लोकलज्जा निवारणार्थ या चेतनास्तर उकास्ने मेरो प्रयास सधैँ जारी नै रहन्छ ।

यसैका लागि म लेख्छु , अक्षरजतिको सबल अस्त्र अरू कुनै हुँदैन पनि । यही प्रयासको एक कडीका रूपमा साहित्यपोष्टको यो पाक्षिक स्तम्भ पनि रहला भन्ने मेरो दृढ विश्वास हो । उक्त स्तम्भमा क्रमशः मनका कथाहरूका बारेमा केही प्रकाश पार्दै त्यस कथाका पात्र मनोरोगीहरूको समस्या निदान अनि उपचारका लागि मनोविमर्श गर्ने मेरा प्रयासहरूको चर्चा पनि गर्नेछु । ‘मनका कथा’ पढ्ने सबै सचेत पाठकवृन्दले यसको आन्तर्यलाई बुझेर आफ्नै परिवार, छरछिमेक या समाजमा रहनसक्ने कुनै एकै जना नै किन नहोस् मनोरोगीलाई आफ्ना ‘मनका कथा’ भन्न सक्ने अवस्थामा कोही एक मनोचिकित्सक कहाँ पुर्याउनुभयो भने या कसैले यसमा अभिव्यक्त शब्दहरूलाई आफ्नै ‘मनका कथा’सित एकाकार गर्न सकेर हामी कहाँ आउने अलिकति मात्र आँट गर्न सक्नुभएमा पनि मेरो प्रयास सार्थक भएको ठान्नेछु ।

नववर्ष २०७९ मा मेरो यही नै शुभकामना ।

मनोचिकित्सा

धुलिखेल अस्पताल, काठमाडौँ विश्वविद्यालय