१. नाक – रामबाबु सुवेदी
मेरो नाक कस्तो छ
डाँडो जस्तो छ
खुला मुख भएको
भाँडो जस्तो छ
नाक थोप्ली ‘ङ’ नै हो
मेरो नाक यो
यो नै मिठो सासको
मूल बाटो हो
कसले तल घोप्ट्यायो
यो नाकको नाल
रुघा लाग्दा हामीले
गर्नुपर्छ ख्याल
नाक काटे नकटो
नकाट यो नाक
नाकै हाम्रो इज्जत
नाकै हाम्रो धाक
———————-
[कास्की जिल्लाको रमणीय गाउँ हंसपुरमा जन्मेर हाल काठमाडौँलाई कर्मथलो बनाइरहेका कवि रामबाबु सुवेदी (२००४) का बालकवितामा बालस्वभाव, बालमनोविज्ञान, बालकको कर्तव्यबोधी चेतना र बालअधिकार जस्ता विषयवस्तुहरू समेटिएका पाइन्छन् । उनका बालकवितामा नैतिक तथा शैक्षिक जागरणको सन्देश पाइन्छ । विशेष गरी लोकजीवनप्रतिको मोह एवम् प्राकृतिक सौन्दर्यसितको अभिरुचि उनका बालकवितामा अभिव्यक्त भएको देख्न सकिन्छ । बालबोलीलाई नै टपक्क टिपेर बालसुलभ कोमल भाषामा सुन्दर कविताको सिर्जना गर्नु र बालमनोविज्ञानलाई खोतल्न सक्नु कवि रामबाबु सुवेदीको बालकवितात्मक वैशिष्ट्य हो । बालसाहित्यसँग सम्बन्धित उनका दुई दर्जनभन्दा बढी कृति प्रकाशित भएका छन् । बालगीत, बालकविता वा बालकाव्यका रूपमा उनका प्रकाशित कृतिहरूमा जमुनीको छोरो, बाँ-बाँ बाच्छी, पानी पानी, भँगेरी, नेपाल आमा, घान्द्रुक झलल, आमाजस्ती गुरुमा, आगोपानी, छाउरा छाउरी, गँड्यौलो र पुतली, सहिदकी छोरी, गाई र घोडा, छतरी, म हुँ फलाम, बगैंचाकी चरी, हाम्रा गीत, आफ्नै आमा जाती, धरतीमा जूनकिरी आदि विशेष उल्लेख्य छन् । प्रस्तुत ‘नाक’ बालकवितामा उनले महत्त्वपूर्ण मानव अङ्गका रूपमा रहेको नाकको रोचक र घतिलो वर्णन गरेका छन् । कविताले बालपाठकलाई स्वास्थ्यप्रति सचेत हुन अह्राएको छ भने इज्जतदार हुनका पनि समेत नाकको महत्त्व रहेको कुरालाई प्रस्तुत कवितामा औँल्याइएको छ ।]
**************************
२. काली भैँसी ब्याइछ – कल्पना अधिकारी भट्टराई
गोरे दाइको घरमा हेर काली भैंसी ब्याइछ
कालो सेतो पाडा–पाडी एकै चोटी पाइछ ।।१।।
माया गरी जिब्रोले चाट्छे पाडा-पाडीलाई
थुनमा दूध पगारेर खान दिन्छे बरिलै ।।२।।
हाम्लाई पनि दूध यसले दिन्छे माना पाथी
काली भैँसी हेर साथी कति धेरै जाती ।।३।।
कुँडो पकाई भाउजूले दिनुभयो टन्नै
लर्खराई पाडो त लड्न लाग्यो झन्डै ।।४।।
दाइले घाँस कलिलो ल्याउनु भयो काटेर
खेल्न जान्छु भनेर गयो भाइ त ढाँटेर ।।५।।
धेरै तागत दिन्छ अरे बिगौँतीले साथी
खान जाऊँ अहिले नै जान हुन्न राति ।।६।।
———————————
[विभिन्न समकालीन तथा अग्रज साहित्यकारहरूका छन्दोबद्ध कविता एवम् बालकविताहरू सुमधुर स्वरमा वाचन गर्दै आएकी कल्पना अधिकारी भट्टराई (२०२६) लमजुङ घर भई हाल टोखा नगरपालिका, काठमाडौँमा रहेर साहित्यसाधनामा लागिपरेकी स्रष्टा हुन् । कवि शैलेन्दुप्रकाश नेपालको ‘वनबेली’ बालकाव्यको विधातात्त्विक अध्ययन शीर्षकमा स्नातकोत्तर तहमा शोधपत्र तयार पारेकी कवयित्री कल्पना बालकविता लेखनमा पनि उत्तिकै रुचि राख्दछिन् । उनको प्रस्तुत ‘काली भैँसी ब्याइछ’ बालकवितामा उनले सरल भाषाको प्रयोग गर्दै रोचक, शृङ्खलाबद्ध र आख्यानात्मक शैलीको उपयोग गरेकी छन् । भैँसी ब्याएर पाडापाडी पाएको र बिगौँती खान पाउँदा रमाइलो भएको अनुभूति यसमा पाइन्छ । प्रस्तुत बालकवितामा कवयित्री आफै बालक बनेकी छन् । पशुपालनका क्रममा कथयिता बालपात्रले आफ्ना दाजु-भाउजूले गरेका किसानी कामको प्रसङ्ग कोट्याएकी छन् । कृषिप्रधान देश नेपालको वास्तविक र यथार्थ झलकको प्रस्तुति समेत प्रस्तुत बालकवितामा पाइन्छ ।]
**************************
३. जलचक्र – डा. कैलाश घिमिरे
एक थोपा पानी
दुई थोपा पानी
धेरै थोपा पानी मिली
खोला बन्छ नानी
एक खोला पानी
अर्को खोला पानी
धेरै खोला पानी मिली
नदी बन्छ नानी
एक नदी पानी
अर्को नदी पानी
धेरै नदी पानी मिली
सागर बन्छ नानी
सागरको पानी
घामले तात्छ नानी
बाफ बनेर फेरि
माथि जान्छ नानी
बाफ बनेको पानी
बादल बन्छ नानी
बादल नै थोपा बनी
तल झर्छ नानी ।
—————————
[डा. कैलाश घिमिरे (२०२८) लमजुङ, जिता घर भई हाल जर्जिया, अमेरिकामा गणित विषयका प्राध्यापकका रूपमा कार्यरत छन् । साहित्य, सङ्गीतमा विशेष रुचि राख्ने घिमिरे साहित्य, सङ्गीत र श्रव्य- दृश्य मार्फत बालशिक्षामा सक्रिय छन् भने उनका केही बालगीतहरू रेकर्डिङ भई युट्युब च्यान, सामाजिक सञ्जाल वा अन्य माध्यम मार्फत सार्वजनिक समेत भइसकेका छन् । उनको प्रस्तुत ‘जलचक्र’ बालकविता गीतिशैलीमा रचित लयात्मक बालकविता हो । यस बालकवितामा कविले थोपाबाट यात्रा थालेको पानीले खोला, नदी, सागर हुँदै अन्त्यमा बाफका रूपमा परिणत हुँदै बादल बनेर पुनः थोपाका रूपमा झर्दै यात्रालाई निरन्तरता दिएको प्रसङ्ग कोट्याएका छन् । बालपाठकले बुझ्ने भाषाको प्रयोग गरेर कवि घिमिरेले यस कवितालाई लयात्मक र कलात्मक तुल्याएका छन् । सरल शब्दको चयन गरी सरर्र बग्ने किसिमले बनाइएको यो बालकविता प्राथमिक तहका उमेर समूहका बालबालिकाका लागि भाका फिराई-फिराई गाउन मिल्ने खालको छ ।]
************************************
rcghimire47@gmail.com
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।