गजलको मौलिक स्वरूप र भिन्न व्यक्तित्वलाई ठम्याउन गजलका नजीकै रहेका अन्य काव्यविधालाई गजलका छेउमा राखेर तुलना गर्नुपर्छ होला । वास्तवमा आफूलाई म को हूँ ? भनेर चिन्न पनि मानवसमाजसँग हामीले संगत र सहवास गर्नुपर्ने हुन्छ । अरुहरुका बीचमा आफू उपस्थित भएपछि मात्र हामी आफ्नो मौलिक स्वभाव र भिन्न व्यक्तित्वको आयामलाई आफैँभित्र अनुभूति गर्न सक्दछौं ।
हामी पाउँछौं : काव्यसंसारमा गजलको आफ्नै मौलिक स्वरूप र व्यक्तित्व, भिन्न आयाम, भिन्न प्रभाव र स्वभाव एवम् भिन्न काव्यिक सुवाससमेत रहने गरेको छ । धेरै लामो समयदेखि मानवमनलाई सन्तृप्त तुल्याउँदै, बहँदै आएको यो काव्यधारा आफैंमा पूर्ण, आत्मवान्, जीवन्त एवम् रसमय लयलालित्यमा खुल्दै आएको हामी पाउँछौं ।
त्यसो भए अब काव्यका अन्य केही विधाहरुलाई गजलका छेउमा राखेर हेरौं, अनि थाहा पाऔं यिनका बीच के कस्ता समानता अनि के कस्ता भिन्नता रहेछन् ।
गजल र कविता
कविता काव्यको सबैभन्दा चर्चित र लोकप्रिय विधा हो । गजल र कविताका बीच धेरै नजीकको नाता पाइन्छ । गजल काव्यको एक रूप हो र कविता पनि । गजल पनि कलात्मक सिर्जना हो र कविता पनि । दुवै भाषिक कलाका उत्कृष्ट नमूना हुन् । आलंकारिकता, प्रतीकात्मकता, बिम्बचारुता, लयात्मकता, कोमल संवेदनाको सहज अभिव्यक्ति, हार्दिकता र भावमयता आदि काव्यीय स्वभाव गजल र कविता यी दुवै विधामा समान रूपले रहन्छन् । यसरी धेरै पक्षमा समान भए तापनि केही विधागत पृथक्ता दुवैमा स्पष्टतः देखा पर्दछन्, तिनैले गजल र कवितालाई छर्लंगै छुट्याउँछन् । जस्तै :
गजल
१ सधैं बह्र, छन्द वा लयमा मात्र प्रस्तुत हुने,
२ शीर्षक नराखिने,
३ कुनै खास विषयवस्तुमा केन्द्रित नभएको,
४ मतला, शेर, मकता आदि उपकरणले युक्त,
५ काफिया र रदीफजस्ता तत्त्वहरुले सुसज्जित,
६ दुई पंक्तिको शेरभित्र सिंगो अभिव्यक्ति भएको,
७ गजलका अनेक शेरले सूक्तिमय पारामा बारम्बार तासीर पैदा गर्ने,
८ गजलको हरेक शेर आफैंमा पनि पूर्ण बनेको,
९ संक्षिप्त, सूत्रात्मक र सूक्तिमय शैलीमा प्रस्तुत, छोटो, चिटिक्क परेको रचना,
१० मूलतः रचिने, गुनगुनाइने, गाइने र सुनिने, अनि सुन्नासाथै तीव्र संवेदनाले छोएर वाह वाह गरिने विधा ।
===
कविता
१ गद्य र पद्य दुवै शैलीमा लेखिने, बह्रको प्रयोग नगरिने,
२ शीर्षक अनिवार्य रूपमा राखिने,
३ शीर्षकले संकेत गरेको विषयवस्तुमा केन्द्रित भएको,
४ श्लोक वा अनुच्छेद जस्ता एकाइमा रचिएको,
५ ऐच्छिक रूपमा अनुप्रासमात्र प्रयोग गरिएको,
६ सिंगो कविताबाट समग्रतामा एउटा अभिव्यक्ति प्रस्तुत गरिने,
७ सिंगो कविताले कुनै एउटा प्रभाव पैदा गर्ने,
कविताको श्लोक वा अनुच्छेद मूल रचनाको अवयवमात्र भएको,
९ विस्तृत व्याख्या, वर्णन र विवरणले भरिएको, प्रायः लामो र फैलिएको रचना,
१० मूलतः लेखिने, पढिने, व्याख्या गरिने र बारम्बार पढेर बल्ल बुझिने र बुझाइने अनि बल्ल मुण्टो हल्लाइने विधा ।
गजल र कवितालाई छुट्याउन यी र यस्ता धेरै अरु भिन्नतालाई हामी खुट्याउन सक्दछौं ।
गजल र गीत
गजल र गीत, यी दुवै विधा लयात्मक भएका हुनाले यिनका बीच धेरै नजीकको नाता छ । कतिसम्म भने यी दुवैलाई एकै ठाउँमा जोडेर गीत गजल लेखेको, सुनेको र गाएको चर्चासमेत यदाकदा चल्ने गर्दछ । दुवै मूलतः गेय विधा भएकाले यस्तो व्यवहार त्यति धेरै अस्वाभाविक पनि होइन । दुवैमा बौद्धिकताभन्दा हार्दिकता र तर्कभन्दा भावनाकै प्रधानता पाइन्छ । लयको लालित्य र अनुप्रासको आकर्षण पनि दुवै विधामा रहने गर्दछ । अझ गायन सुन्दा त यी दुवै उस्तै उस्तै पनि लाग्दछन् । यस्ता धेरै समानता रहँदा रहँदै पनि विधाका रुपमा यी दुवै रचनाका बीच धेरै भिन्नता पाइन्छ जसले गजललाई गीतभन्दा भिन्न व्यक्तित्व प्रदान गरेको हुन्छ । गजल र गीतका बीच रहेका केही प्रमुख भिन्नतालाई यसरी हेर्न सकिन्छ :
गजल
१ शीर्षक नभएको, कुनै एक विषयवस्तुमा केन्द्रित पनि नभएको,
२ शेर, मतला, मकता, रदीफ, काफिया, तखल्लुसजस्ता उपकरणहरुले सुसज्जित,
३ दुई दुई पंक्तिको गुच्छ शेर को एकाइमा उनिएको,
४ हरेक शेर आफैंभित्र पूर्ण संरचना लिएर आउने,
५ मतलामा विषयवस्तु केन्द्रित नहुने हुँदा यो बारम्बार दोहोरिएर नआउने,
६ हरेक शेरले अलग अलग प्रभाव पैदा गर्ने,
७ गम्भीर भाव र काव्यकलाद्वारा उद्भासित सूक्तिमय संरचनामा शेर प्रस्तुत हुने,
अनौठा प्रतीक र बिम्बहरुद्वारा सुसज्जित एवम् जीवन्तताद्वारा प्राणवान् बनेको रचना,
९ गजल सामान्यतया प्रभावशाली शैलीमा भनेर अथवा गुनगुनाएर पनि सुनाइने,
१० गजल गहन भावमुद्रामा सुनेर संवेदित भएपछि वाह वाह द्वारा प्रशंसा गरिने विधा ।
……
गीत
१ कुनै एक शीर्षकमा केन्द्रित, कुनै एक विषयवस्तु अँगालेर लेखिएको,
२ मुखडा र अन्तराको संरचनामा बाँधिएको,
३ कुनै निश्चित पंक्तिका एकाइमा बाँधिने विधान नभएको,
४ प्रत्येक अन्तरा मुखडासँग सम्बद्ध हुने र आफैंमा अधूरो हुने,
५ गीतको बोल वा मुखडामै विषयवस्तु केन्द्रित हुने हुँदा अन्तरापछि मुखडा पुनरावृत्त हुने,
६ अन्तरा गीतको अवयव भएकाले अलग्गै प्रभाव पैदा नगर्ने,
७ ललित लय र लोकभावनाद्वारा मुखरित वर्णनमय संरचनामा अन्तरा प्रस्तुत हुने,
सामान्य, सरल र अनुप्रासमय भाकामा रचिएको, गीति तत्त्वद्वारा प्राणवान् बनेको,
९ गीत मूलतः गाएर प्रस्तुत गर्नर्क लागि रचिएको विधा,
१० गीत सुनेर, सँगसँगै गाएर र नाचेर पनि स्वाद लिइने विधा ।
यस्ता अनेकौं भिन्नताहरुले गीतका तुलनामा गजलको भिन्न र मौलिक पहिचान कायम गरेको पाइन्छ ।
गजल र मुक्तक
प्रस्तुति शिल्पका दृष्टिले हेर्ने हो भने काव्यका विविध विधाहरुमध्ये गजलको सबैभन्दा नजीक आइपुग्ने विधाका रुपमा मुक्तकलाई लिन सकिन्छ । मुक्तक तत्क्षण तीव्र संवेदना पैदा गर्ने शिल्पद्वारा जीवन्त बनेको हुन्छ र गजल पनि । गजलका शेर र मुक्तक दुवै छोटा छोटा संरचनामा आबद्ध, प्रतीक र बिम्बका नौला तानाबानाले संरचित, उक्तिवैचित्र्यको चमत्कारले सम्पन्न, तिक्खर स्वाद प्रस्तुत गर्ने र तत्क्षण प्रभाव पैदा गरेर वाह वाह को पुरस्कार पाउने विधा हुन् । दुवैका प्रस्तुति शिल्पमा अद्भुत समानता पाइन्छ ।
गहिरो प्रभाव वा तासीर पैदा गर्नु, भावकका हृदयमा तुरुन्तै संवेदना जगाउनु र चमत्कृत पार्नु यी दुवै विधाको समान लक्ष्य हो । व्याख्या, विवरण, विस्तार र भाष्यमा यी दुवै विधालाई कुनै रुचि छैन । सूक्तिमयता, संक्षिप्तता, तीव्रगामिता र जीवन्तता यी दुवै विधामा पाइने समान गुण हुन् तापनि केही संरचनागत पक्षले यिनलाई बेग्लाबेग्लै विधाका रुपमा उभ्याएको हामी पाउँछौं । गजल र मुक्तकका बीच पाइने भिन्नताका प्रमुख बूँदाहरुलाई यसरी पर्गेल्न सकिन्छ :
गजल
१ शीर्षकरहित, शेरका अनेक एकाइद्वारा सम्पन्न,
२ मतला, मकता, रदीफ, काफिया आदिद्वारा सुसज्जित,
३ दुई दुई पंक्तिको एक शेरबाट पूर्णता पाउने, बह्रमा आधारित,
४ गजल बह्रबद्ध अनेक मुक्तकहरुको संग्रह जस्तो,
५ गुनगुनाएर र गाएर सुन्ने, सुनाइने विधा,
६ मकतामा प्रायः तखल्लुस प्रयोग गरिने विधा,
७ प्रायः प्रेमभावमा आधारित गेय विधा,
८ सिंगो संरचना भएको, पूर्ण विधा,
९ लयप्रधान एवम् विविधतापूर्ण प्रस्तुति भएको,
१० वाद्यवादनका साथ प्रस्तुत गरिने विधा ।
…
मुक्तक
१ शीर्षकसहित एउटै पंक्तिगुच्छ वा अनुच्छेदमा संरचित,
२ अनुप्रासको मात्र प्रयोग गरिएको,
३ पंक्ति निश्चित नभएको वा चार पंक्तिमा बाँधिएको, छन्दको अनिवार्य शर्त नरहेको,
४ मुक्तक एउटै एकाइमा रचिएको, बह्रको बन्धनबाट मुक्त रहेको,
५ प्रायः भनेर र पाठ गरेर सुन्ने सुनाइने विधा,
६ तखल्लुसको प्रयोग गर्ने चलन नभएको विधा,
७ प्रायः व्यंग्यात्मक विषयमा आधारित पाठ्य विधा,
८ छोटो संरचनामा आधारित, पूरक शैलीको विधा,
९ गद्यप्रधान र एउटै विषयमा आधारित तार्किक प्रस्तुति भएको,
१० साज संगीत विना नै सुनाइने विधा ।
यसरी निकट सम्बन्ध भएका कविता, गीत र मुक्तकभन्दा भिन्न, गजलको आफ्नै मौलिक पहिचान र आकर्षक व्यक्तित्व भएको कुरा हामी बुझ्दछौं ।
सार–संग्रह
गहिरिएर हेर्ने हो भने कविताको भावगाम्भीर्य, गीतको लयात्मकता र मुक्तकको जीवन्तता यी तीनै तत्त्वलाई एकै ठाउँमा कलात्मक सन्तुलनका साथ प्रस्तुत गर्दछ गजलले । वस्तुत : यी तीनै विधाको सार–संग्रह हो जस्तो लाग्दछ गजल । त्यसैले उस्तै–उस्तै लागे तापनि यी सबैभन्दा भिन्न, नौलो र विशिष्ट विधाका रूपमा गजललाई उच्च स्थान र मर्यादा प्रदान गरिएको छ भन्न मन लाग्छ ।
त्यसैले त हामी भन्दछौं : वाह! गजल
….
वाञ्छित गुण र अवाञ्छित अवगुणका आधारमा पनि गजलको स्वरूप र मर्मलाई हामी बुझ्न सक्दछौं ।
ती के–कस्ता छन् ?
आउनुहोस्, गजलरसिक बन्धु !
आगामी आइतवार यसै जिज्ञासाको समाधान खोजौं ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।