१.  पोखरा –  गोविन्दबहादुर कुँवर

तिमी हामी पोखरा  हिँड घुम्न जाऔँ

फेवाताल रूपाताल हेरौँ अनि आऔँ

 

साना दाना सुन्तला मिठो हुन्छ खाऔँ

काहुँ डाँडा सराङकोट पुगी मित लाऔँ

 

बेला–बेला पानी पर्छ छाता ओढ्नु पर्छ

ठूला गुफा हेरौँ अनि डुङ्गा चढ्नु पर्छ

 

सेती नदी लुकेको छ केको लाजैले ?

र्‍याइँ-र्‍याइँ सारङ्गी बज्छ मजैले

 

माछापुच्छ्रे ढल्केको टोपी ढाकामा

गाइने दाइ रन्केको ठाडो भाकामा

 

बाराहीको थानैको दर्शन गरौंला

फेवाताल घुमेर घर फिरौंला ।

——————————

गोविन्दबहादुर कुँवर

[साहित्यकार गोविन्दबहादुर कुँवर (२००८) लमजुङका पुराना स्रष्टा हुन् । दूधपोखरी प्रतिभा परिवार, लमजुङका संस्थापक अध्यक्ष कुँवरले साहित्यका कविता, निबन्ध, हास्यव्यङ्ग्य, कथा, बालकविता लगायतका थुप्रै विधामा कलम चलाएका छन् र कतिपय विधामा सङ्ग्रह पनि प्रकाशन गरिसकेका छन् । उनका कथा सङ्ग्रहका ३, कविताका ४, निवबन्धका २ र जीवनकथाका १ गरी जम्माजम्मी १० वटा पुस्तकाकार कृति छापिइसकेका छन् । कवि कुँवरको बालसाहित्यतर्फ ‘तातेताते’  नामक बालगीतिसङ्ग्रह प्रकाशित छ भने अन्य बालसाहित्यका कृतिहरू पनि प्रकाशनको तयारीमा छन् । विभिन्न राष्ट्रिय पुरस्कारबाट सम्मानित एवम् पुरस्कृत कवि कुँवरका बालकवितामा ग्रामीण संस्कृतिप्रतिको मोह, अतीततर्फको चासो, लोकजीवनसँगको सामीप्यता, आञ्चलिकता, प्रकृतिसँगको घनिष्ठता, नेपाली भू-प्रकृतिको कलात्मक र जीवन्त चित्रण, बालसुलभ कोमलता, अग्रजप्रतिको श्रद्धा, लोकभाषाको प्रयोग जस्ता वैशिष्ट्य पाइन्छन् । शिक्षासेवी व्यक्तित्व भएको नाताले शैक्षिक चेतनाको झलक पनि उनका बालकवितामा घुसेको देख्न सकिन्छ । उनको प्रस्तुत ‘पोखरा’ बालकवितामा सौन्दर्यको राजधानीका रूपमा रहेको नेपालको दोस्रो ठुलो सहर मानिने पर्यटकीय नगरी पोखराको यात्रा गर्नका लागि बालपात्र बनेका कुँवरले आह्वान गरेका छन् । यस बालकवितामा पोखराको भौगोलिक, मौसमी, सांस्कृतिक र धार्मिक विशेषतालाई सुन्दर, कलात्मक र लयात्मक ढङ्गबाट चिनाइएको छ । प्रस्तुत बालकविताले आन्तरिक पर्यटनलाई समेत अप्रत्यक्ष रूपमा जोड दिन खोजेको देखिन्छ ।]

******************

 

२. बुझ्दै छु कुरा म पनि –  सीता सुवेदी पन्थी

नभन सानो छ भनी

हुँदै छु ठुलो म पनि

गाउँको स्कुल जाँदै छु

आफै खाना खाँदै छु

 

बोकेर झोला हिँडेको

गुरुआमालाई चिनेको

जुत्ता र मोजा लाएर

खुसी छु हिँड्न पाएर

 

स्कलमा मेरा साथी छन्

हाँस्ने र खेल्ने जाती छन्

कक्षामा बस्छु रमाई

हिँड्दछु हात समाई

 

गाउने नाच्ने गरेको

मलाई मन परेको

मादल बज्यो घिन्ताङ्ताङ

लौ हिँड साथी नाच्न जाम्

 

गर्दै छु आफै आफ्नो काम

साथीलाई भन्छु स्कुल जाम्

नभन सानो छ भनी

बुझ्दै छु कुरा म पनि

—————————-

सीता सुवेदी पन्थी

[गुल्मी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी कवयित्री सीता सुवेदी पन्थी (२०३०) नेपाली साहित्यमा स्नातकोत्तर र ‘नेपाली बालकवितामा नीतिचेतना’ शीर्षकमा विद्यावारिधि सम्पन्न गरेकी कुशल सर्जक हुन् । प्राध्यापन तथा शिक्षण पेशामा आबद्ध कवयित्री सुवेदीका बालसाहित्यतर्फ बालकविता र बालकथाका सङ्ग्रह प्रकाशित छन् । ‘पुतलीको साथी’ तथा ‘शैक्षिक भ्रमण’ उनका प्रकाशित बालकवितासङ्ग्रह  हुन् । विभिन्न पत्रपत्रिकामा उनका विभिन्न विधाका साहित्यिक रचनाहरू प्रकाशित हुँदै आएका छन् । नेपाल बालसाहित्य समाज, बाल सिर्जना मञ्च लगायतका संस्थामा उनी आबद्ध छिन् । गति, यति र लयको अनुशासनलाई ख्याल गर्दै कलात्मक, लयात्मक र सुललित भाषाशैलीयुक्त बालकविता लेखनमा पोख्त कवयित्री सुवेदीका बालकवितामा प्रवाहमयता, झिनो आख्यानात्मकता, परोक्ष नीति-चेतना, बालसुलभ कोमलता, बालमनोवैज्ञानिकता जस्ता प्रवृत्ति पाइन्छन् । उनको प्रस्तुत ‘बुझ्दै छु कुरा म पनि’  शीर्षकको बालकवितामा लेखिकाले आफूलाई कथयिता बालपात्र बनाएर उभ्याएकी छन् । समयक्रमसँगै शारीरिक र मानसिक विकास हुँदै हुर्किएको र अघि बढ्दै गरेको बालपात्रले आफू स्वाभिमानी, स्वावलम्बी र जान्ने–सुन्ने हुन सकेकामा कवितामा गर्वबोध गरेको सन्दर्भ गाँसिएको छ । ७ अक्षरे बालोरी छन्दमा रचित प्रस्तुत बालकवितामा अन्त्यानुप्रासको सफल योजना रहेको छ ।]

*************************

हिमालकी छोरी हुँ – प्रकाश आचार्य ‘भावुक’ (प्रभा)

हिमालकी छोरी हुँ टीका लाएकी

बाबाआमा दुवैको माया पाएकी

 

गुराँसझैँ मुहार बोल्छु लजाई

प्यारी बन्छु सबैकी खुसी सजाई

मयूरको उमङ्ग डाँफे रङ्गले  

म त बाँच्छु नाचेर आफ्नै ढङ्गले

 

हरिणझैँ घुमेर पाखापखेरु

मधुरता छर्दछु बन्छु म चारु

म त बन्छु पुतली घुम्छु रमाई

थुँगा-थुँगा चुम्दछु फूल समाई

 

छहराको सङ्गीतले गोडा चाल्दछु

कोइलीझैँ सुरिलो भाका हाल्दछु

गाँउघर सुन्दर फुल्छन् रहर

मातृभूमि नेपाल प्यारो छ घर !

——————————-

प्रकाश आचार्य ‘भावुक’ (प्रभा)

[खोटाङ निवासी प्रकाश आचार्य विभिन्न सामाजिक तथा साहित्यिक सङ्घ-संस्थामा आबद्ध उदीयमान साहित्यिक प्रतिभा हुन् । साहित्यका धेरैजसो विधामा कलम चलाउने आचार्यको ‘हजुरबा’ नामक शोककाव्य प्रकाशित छ । प्राथमिक तहदेखि नै कविता लेख्न सुरु गरेका उनले राष्ट्रियस्तरको कविता प्रतियोगितामा सहभागी भएर पुरस्कारसमेत हात पारिसकेका छन् । लोकसंस्कृतिको अध्ययन, पत्रपत्रिकाको सम्पादन आदिमा उनको अनुभव र रुचि छ । आचार्यका फुटकर बालकविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । प्रस्तुत ‘हिमालकी छोरी हुँ’ बालकवितामा कवि आचार्यले आफूलाई बालिका पात्रका रूपमा उभ्याएर राष्ट्रप्रेमी भावनाको अभिव्यक्ति दिएका छन् । कविले यस कवितामा हिमाल, गुराँस, डाँफे, हरिण, कोइली, पुतली जस्ता बालबालिकालाई प्रिय लाग्ने प्राकृतिक विषयवस्तुको चयन गरेका छन् ।  उपमा अलङ्कारको प्रयोग र प्राकृतिक सुन्दरताको चित्रण यस कवितामा कलात्मक ढङ्गबाट गरिएको छ ।]

rcghimire47@gmail.com