कालीमाटीको प्रहरी कार्यालय नजिकबाट पूर्वतर्फ जाने सानो गल्ली भित्रको छिँडीमा, म महिनाको ६० रुपैयाँमा डेरा गरेर वस्थेँ । त्यो डेरासँग धेरै साहित्यिक सम्झनाहरू गाँसिएका छन् । किनभने धेरै साहित्यकारहरू त्यो कोठामा आएका छन् । कतिसँगको परिचय त्यसै कोठामा भएको छ । त्यसको फेहरिस्त लामै छ, त्यसको बेग्लै स्मृतिलेख बन्छ, तर प्रसङ्गमा अहिले भने हरिहर अधिकारी छन् । दैलेखबाट भर्खर भर्खर काठमाडौँ आएका हरिहर अधिकारी त्यो डेरामा आइरहन्थे । ताजा ताजा कविता सुनाउँथे । त्यो वि.सं. २०३६ सालपछिको कुरा थियो ।

हरिहर अधिकारी कविता लेख्थे र सुनाउँथे । मेरा कविता पनि सुन्थे । लेखनको शुरुवातको बेला त्यसरी सुनाउँदा लाग्ने रमाइलो र तृप्ति, अनि सुन्दा लाग्ने आनन्द र सन्तोष दुवैको हामीले भरपूर लाभ लिइरहेका थियौँ । तर अचानक उनी केहीपछि मेरो डेरामा आउन कम गरे । एक प्रकारले आउनै छोडे । त्यसपछि यौटा सूचनासहित उनको कविता पत्रिकामा देखेँ । त्यो कविताको साथमा हरिहर अधिकारी नामको पछाडि “श्यामल” उपनाम पनि जोडिएको थियो । अनि पाद टिप्पणी वा सूचनामा लेखिएको थियो-“विशेष कारणले हरिहर अधिकारी अब श्यामलको रूपमा आउँदैछन् । यो समयको आवश्यकता हो र जरुरी पनि” यस्तै केही लेखिएको थियो ।

एकाध कवितामा उनी हरिहर अधिकारी “श्यामल” का रूपमा प्रकट भए । एकाध कवितामा उनी हरिहर “श्यामल” का रूपमा देखा परे । पछि श्यामलका रूपमा मात्र उदाए । मलाई थाहै थिएन, उनको हरिहर अधिकारीबाट श्यामलसम्मको यात्रा त परम्परावादी वा वुर्जुवापनबाट प्रगतिवादीतिरको यात्रा रहेछ, फड्को रहेछ, छलाङ रहेछ, हाईजम्प रहेछ। रूपान्तरण रहेछ । म लेखनको शुरुमा जस्तो थिएँ, जस्तो विचारको थिएँ, आजपर्यन्त त्यही रूपमै छु । उनी रुपान्तरित भए । बाटो छुट्टियो । भङ्गालो छुट्टियो । तर साहित्यिक मित्रता भने यौटा दूरीसहित निरन्तर नै रह्यो, आजपर्यन्त त्यो जीवित छ ।

उनी श्यामल भएपछि विमल निभा, राजव, गोविन्द वर्तमान, नारायण ढकाल लगायतको समूहमा सामेल भए । त्यो समूह जोडदार ढङ्गले आफ्नो मिसनको लेखनमा जुट्यो । पत्रकारितामा जुट्यो । श्यामल त्यो समूहको “लहर” साहित्यिक पत्रिकामा जोडिए । “दृष्टि” साप्ताहिकको पत्रकारिताको यात्रामा जोडिए । त्यो यात्राले राजनैतिक पार्टीसँगको सम्बन्धमा पनि नजिकपना ल्यायो । पञ्चायत विपक्षीको राजनीति थियो । वामपन्थी राजनीति थियो । एमाले राजनैतिक पार्टीसँगको यात्रा थियो ।

राजनीतिमा फलको आशा नै सबैभन्दा मूल चुरो हुन्छ शायद । त्यस समूहका नारायण ढकाल सांसद्को पदसम्म पुगे । विमल निभाले साझा प्रकाशनको जिएमको पद हात पारे । तर श्यामलले राजनीतिको फल चाख्न बहुदलले पुगेन । गणतन्त्र नै आउनु पर्यो ।

श्यामलका कविता तिखा, धारिला, जोडदार हुन्थे । छिमेकी भारतका वामपन्थी कविहरू नेपाली वामपन्थी कविहरूका प्रेरणा श्रोत र अध्ययन श्रोत त हुने नै भए । शैली र विचारको यो रुपान्तरण, शब्द प्रयोगमा परेको प्रभाव सहजै बुझ्न सकिने र महसूस गर्न सकिने कुरा थिए । परम्परागत निरन्जन गोविन्द वैद्यको भोटाहिटीको प्रगति पुस्तक पसलका वामपन्थी धारको अध्ययनका लागि, विशेष श्रोत र साधनको एक विन्दु थियो, एक प्रकारको केन्द्रविन्दु । त्यहाँ विशेषतः चिनियाँ पुस्तक पाइन्थे । तर विमल निभाले पुस्तक घर नामक पुस्तक पसल खोलेका थिए । त्यहाँ भारतीय वामपन्थी धारका साहित्यिक पुस्तक र पत्रिकाहरू प्रशस्त पाइन्थे, जसले नेपाली वामपन्थी कविहरू लेखनलाई सिञ्चाइ गर्न भरथेक हुन्थ्यो । प्रत्रिकाको अनुकरण, लेखनको प्रभाव ग्रहण सामान्य नै थियो, हुन्थ्यो । यही मेलोमेसोमा त्यही पथ र पन्थबाट श्यामलले आफूलाई निखार्दै गए र आफ्नो बेग्लै, फरक, पृथक, नविन शैलीको निर्माण गरे जसले उनलाई परिचय दियो, अलग्ग पहिचान दियो ।

श्यामलले कालान्तरमा कविकै टड्कारो व्यक्तित्व निर्माण गरे पनि प्रारम्भिक लेखन कालमा उनी कथा पनि लेख्थे । उनका कथाहरू एवम् लघुकथाहरूलाई एकत्रित गर्ने हो भने यौटा सङ्ग्रह बन्न सक्छ । मैले प्रकाशन गरेको नेपालको पहिलो लघुकथा प्रधान पत्रिका “लघुकथा” मा उनको यौटा लघु कथा प्रकाशित भएको थियो । उनले लेखेको लघुकथामा “राजयोग” शब्द प्रयोग गरेका थिए । पञ्चायतको बेला राजयोग लेख्न पनि डरमर्दो नै हुनसक्थ्यो । यसकारण मैले “राजयोग” शब्दलाई “योग” मात्र बनाइदिएँ । उनले यो शब्दलाई निकै याद गरेका रहेछन् । प्रकाशित हुने वित्तिकै उनले भने, “गोविन्दजी ! तपाईँ डराउनु भयो । मेरो “राज” उडाइदिनु भयो ।“

यो “राज” को भूत उनलाई निकै पछिसम्म लागिरह्यो । जब सायँकालीन रसपानसँगै गर्दथ्यौँ  दुई पेग उदरस्थ गरेपछि उनी त्यही “राज” शब्द मैले पोलेर खाइदिएको प्रशङ्ग निकालिहाल्दथे ।

उनको पहिलो कविता सङ्ग्रह “तपाईँहरू मार्फत” ले कविताप्रेमीहरू माझ राम्रो स्वागत पायो । प्रगतिवादीहरूले त आँखा चिम्लेर स्वागत गर्ने नै भए । त्यसपछि उनका “लयब्रम्ह” तथा “हतारमा यात्रा” कविता सङ्ग्रहहरू प्रकाशित भए । झण्डै पाँच दशकमा उनका तीन सङ्ग्रह मात्र प्रकाशित भए । त्यसो त उनी कम लेख्ने कविमा नै पर्छन् । उनका कतिपय सङ्गाति कविहरू “थोरै लेख्ने शक्तिशाली कवि” भन्ने गर्छन् । तर लेखनमा थोरै लेख्दैमा शक्तिशाली हुने र धेरै लेख्दैमा कम प्रभावकारी हुन्छ भन्नू फजूल कुरा हो । थोरै लेख्नेहरू पनि “शक्तिहीन” र धेरै लेख्नेहरू पनि “शक्तिशाली” देखिएका छन् । लेखन शक्तिशाली हुनमा सङ्ख्याको कुनै मतलब हुन्न । तर श्यामलका कविताहरू थोरै भए पनि प्रभावकारी छन् र विशेष वामपन्थी खेमामा शक्तिशाली मानिन्छन् ।

श्यामलले एकपल्ट “मेम साहेव स्वेटर बुन्दैछ” भन्ने कविता सुनाए । सम्भवतः उनले केदारमान व्यथितको निवासमा गोष्ठी नेपालले आयोजना गरेको काव्य सन्ध्यामा त्यो कविता सुनाएका थिए । धेरैले उनलाई मेम साहेव भनेपछि स्त्रीलिङ्गी हुन्छ, “बुन्दैछ” भनेर पुरुषलिङ्गी बनाउनु भनेर सुझाए । तर उनले “मैले जानेरै पुरुषलिङ्गी” बनाएको भन्ने तर्क दिए । त्यही तर्कमा टिकिरहे । शायद उनले मेमसाहेवलाई सत्ता वा शासकको प्रतीकको रूपमा लिएका हुन्, तर पनि धेरैलाई उनले चित्त बुझाउन सकेनन् । उनको अडान र पाठकको चित्त नबुझाइ समानान्तर नै रहिरह्यो ।

साँझमा नयाँ सडक पीपलबोटमुनि भेटेर कवितापान गर्यो, साहित्यिक गफ गर्यो अनि वसन्तपुर, भिमसेनस्थान हुँदै कालिमाटीचोकसम्म पुग्यो अनि छुट्टियो गर्थ्यौं, लामै समय श्यामल, पुरुषोत्तम सुवेदी र म । म कालिमाटी र पछि कुलेश्वर बस्ने, श्यामल सोल्टीमोडछेउ बस्ने, पुरुषोत्तमजी कलङ्की नपुग्दै बस्ने । हाम्रो साझा बाटो कालिमाटीसम्म हुन्थ्यो । तर कहिलेकाहीँ झोँछेको गल्लीमा “वास” पानका लागि रोकिन्थ्यौँ । यसरी रोकिनुमा श्यामलकै जोड ज्यादा रहन्थ्यो । मदीरापान गर्न थालेपछि साहित्यका आकाश पातालका कुरा आउँथे र श्यामल उठ्न पटक्कै तयार हुन्नथे । पुरुषोत्तम सुवेदी र मलाई धौधौ हुन्थ्यो उनलाई उठाउन । कहिलेकाहीँ कालिमाटी चोकको तुच्चाकोठा नेवारी रेष्टुराँमा भर्याङ चढ्दथ्यौँ । हुन्थ्यौँ हामी ३ जना नै । यहाँबाट पनि उनलाई उठाउन हम्मेहम्मे पर्थ्यो । तर त्यहाँबाट बाटो छुट्टिने हुनाले पुरुषोत्तमजी र श्यामललाई छाडेर म एक्लै उठ्तथेँ र छुट्टिन्थेँ । कुलेश्वरमा त्यतिखेर मेरो किराना दोकान थियो, म दोकानमा सघाउन जान हतारिन्थेँ ।

कैँयन् पटक श्यामल र पुरुषोत्तमजीलाई आफ्नो त्यो किराना दोकानमाथिको साँघुरो डेरामा लैजान्थेँ । दोकानमा मदिरा हुन्थ्यो नै । दालमोठ भुजिया पनि हुन्थ्यो । अनि हामी अबेरसम्म हल्ला गरिरहन्थ्यौँ, कुलेश्वरको चोक सामसुम हुनेबेलासम्म । एकपल्ट त्यसरी नै रसपान गरेपछि भोलिपल्ट म अफिसको कामले विराटनगर हुँदै पूर्वी नेपालमा डेड महिनाको लागि जानु थियो । भएछ के भने, श्यामलले दायाँ खुट्टामा आफ्नो र देब्रे खुट्टामा मेरो जुत्ता उनेर गएछन् । भोलिपल्ट जुत्ता लगाउन थाल्दा पो थाहा भयो ।

त्यो जुत्ता साट्न पूरै डेड महिना कुर्नुपर्यो ।

श्यामल रेडक्रसमा जागिर खान्थे । पछि विभिन्न एनजियो, आइएनजियोमा संलग्न भए । सोल्टिमोडबाट अलिभित्र डेरामा बस्थे । पछि कलङ्की छेउमा घर बनाए । उनको अङ्ग्रेजी त्यतिबेला मेरोभन्दा राम्रो थियो । साथीभाइलाई सहयोग गर्न उनी सदा तत्पर । एकपल्ट मलाई यौटा किताबको लागि अङ्ग्रेजी अनुवादको सहयोग पर्दा कालिमाटीको तुच्चा कोठामा टुच्च टुच्च पार्दै त्यो काम फत्ते गरिदिएका थिए । उनको लेखनको धार प्रगतिवादी भएकाले मेरा रचना खासै उनले पढ्दैनथे न चर्चा नै गर्थे । तर “स्वप्नकथा जारी छ” भन्ने मेरो कविता उनलाई खूब पन परेको थियो र उनले टिप्पणी नै लेखेका थिए जुन मैले पुस्तकको पछाडिको कभरपृष्ठमा प्रकाशित पनि गरेँ । उनी बेलाबेलामा “कविता भनेको यस्तो पो लेख्नुपर्छ” भन्थे । म हाँस्थेँ ।

श्यामलले थोरै गद्य लेखे, तर ती प्रभावकारी थिए । त्यसको सङ्ग्रह “रित्तो बस्ती” प्रकाशित भयो । यसका संस्मरणात्मक निबन्धहरू चोटिला छन् । उनले ईश्वरबल्लभमाथि लेखेको संस्मरण निकै चर्चित र अलिअलि विवादास्पद पनि भयो । यी गद्यहरू “कविका गद्य” हुन् । उनले समाचार लेखन, टिप्पणी लेखन, राजनैतिक आलेख पनि लेखे, गैर साहित्यिक पाटोमा । त्यसका अतिरिक्त अनुवादमा पनि उनले हात हाले । नोवेल पुरस्कारप्राप्त कोलम्वियाली उपन्यासकार गाब्रियल गार्सिया मार्खेजको यौटा छोटो उपन्यास “नो वन राइट्स् टू कोरोनेल” को नेपाली अनुवाद “अभागी कर्णेल” उनकै अनुवादमा प्रकाशित भयो ।

श्यामलको हात कलाकारितापूर्ण पनि छ । उनले किताबका कभरका लागि निकै उम्दा नेपाली लिपि लेख्ने क्षमता राख्दछन् । मेरो “फेरो” नियात्राको लिपि उनकै कलमको जादू हो । बाँसुरी बजाएर कृष्णले राधालाई मोहित पारेझैँ मख्ख पार्न सक्ने खूबि पनि उनीसँग छ । एकपल्ट म नेपालगञ्ज पुग्दा उनी आफ्नो डेराको, कोठाको झ्यालमा बसेर बाँसुरी बजाइरहेका थिए । उनी गजबले मग्नमस्त भएका देखिन्थे । उनको त्यो रूपरङ्ग र शैली देखेर म दङ्गै परेको थिएँ ।

उनको मदिराप्रेम चर्चाको विषय त बन्ने गरेकै थियो, पत्रकारसँग उनले खुलेरै निर्धक्क भन्दिए, “ जतिबेला मलाई मदिराको आनन्द दिन मन लाग्छ, जतिबेला मदिरा लिन मलाई सहज हुन्छ, जतिबेला मसँग त्यसको खर्च गर्न सक्ने क्षमता हन्छ, म कसैलाई नसोधिकन, कसैको अनुमति नलिइकन, बिना कसैको डर म मदिरा लिन्छु ।“

पछिल्लो समय सरकारी नियुक्तिको पद ग्रहण गरेपछि उनको कलम कविताको रचनामा सेलायो भन्ने साथीहरूलाई उनको जवाफ के होला ? त्यो भन्न सकिन्न । यसै पनि थोरै लेख्ने उनले यसको प्रतिरक्षा त गर्न सक्लान् नै । तर रचनाको सिर्जना पातलोबाट झन् पातलो भएको त पक्कै हो । टड्कारो छ ।

तर श्यामल लेखनबाट विमुख होलान्, लेखनबाट थाक्लान्, लेखनबाट विरक्तिएलान् भन्ने पटक्कै लाग्दैन । लेखनको गतिमा तलमाथि होला, त्यो अलग कुरो हो । किनभने उनले लेखनका लागि जुन मिसन लिएका छन्, त्यो त सकिएकै छैन । त्यो खाडल त पुरिएको छैन । त्यो विसङ्गति त विलुप्त भएकै छैन । अनि श्यामलले कविताबाट अवकास लेलान् भनेर कसरी सोच्न सकिन्छ ?