१. नेपाल हो नाम – दैवज्ञराज न्यौपाने
लेकबेँसी तराईले मिलेको छ ठाउँ
सबै भन्छन् स्वर्गभूमि नेपाल हो नाउँ
जहाँ जाऊँ राम्रो लाग्छ हेरिरहूँ जस्तो
जुनी–जुनी फर्किएर खेलिरहूँ जस्तो ।
यसैका हौँ स्वप्न हामी सिर्जनाका डाली
पुर्खाजस्तै सन्त, ज्ञानी, वीर शक्तिशाली
बघिनीका बच्चासरि हुर्किएर आयौँ
संसारमा नाम राख्ने राम्रो देश पायौँ
सबै मिली उठ्नुपर्छ सबै जुट्नुपर्छ
देश हामी सबैको हो सबै खट्नुपर्छ
छिर्के हान्ने, खोइरो खन्ने राम्रो हैन बानी
सिर्जनाले शक्ति दिन्छ पौरखले पानी ।
———————————
[नेपाली कविताको क्षेत्रमा छन्दोबद्ध कविता लेखनमा सक्रिय कवि दैवज्ञराज न्यौपाने (२००४–२०६८) बालसाहित्यका क्षेत्रमा समेत उत्तिकै सक्रिय, सशक्त र उल्लेख्य स्रष्टा हुन् । बालकवितातर्फ उनका ‘गाउँखाने कविता’, ‘बाल संसार’, ‘तोते बोली’, ‘सबै हाम्रा साथी’, ‘घामले ढोका खोल्यो’ लगायतका सङ्ग्रह प्रकाशित छन् । उनका बालकवितामा विषयगत विविधता भेटिन्छ । न्यौपानेका बालकवितामा कोरा उपदेशात्मकता, अनावश्यक भावुकता र खोक्रा नारा रहेको पाइँदैन । उनका बालकविता पढेर बालबालिकाले प्रकृतिप्रेम, राष्ट्रप्रेम र संस्कृतिप्रेमको आस्वादन गर्न सक्छन् । उनको प्रस्तुत ‘नेपाल हो नाम’ बालकविता नेपाली भू-प्रकृति र सुन्दरताको जीवन्त चित्रण गरिएको लोकलयात्मक र देशभक्तिको भावनाले ओतप्रोत बालकविता हो । नेपाली वीरताको महिमागान गाइएको प्रस्तुत कवितामा नेपालको भौगोलिक विविधताको चित्र उतारिनुका साथै बालबालिकालाई सिर्जनशील बन्नका लागि प्रेरित पनि गरिएको छ । देशका लागि कर्तव्यनिष्ठ भएर आफ्नो भूमिका निर्वाह गर्नुपर्ने सन्देश प्रस्तुत बालकविताले दिएको छ भने मित्रता, एकता र लगनशीलताको लागि आह्वान समेत कवितामा गरिएको छ ।]
******************************
२. को खाई को खाई – रामहरि शर्मा `शराह´
को खाई, को खाई नानी खाई
भन्छिन् कान्छी फुपू
सानु नानी बुबु माम
खान्छिन् कुपु कुपु ।।
आइज कालु बिरालु
नानीको माम खान
नाईँ नाईँ बिलालु
नखा मेलो माम ।।
हौसिएर सानु नानी
भाग्छिन् परपर
मुनी पाठोसँग खेल्दै
हुन्छिन् तरतर ।।
आइज पाठी खाइजा माम
भन्छिन् फेरि फूपु
नानी आई बुबु माम
खान्छिन् लुपुलुपु !!
—————————-
[कवि रामहरि शर्मा ‘शराह’ (२०१२) नेपाली साहित्यमा छन्दकविता लेखनमा विशेष सक्रिय कवि हुन् । गोरखामा जन्म भई सुरुमा लमजुङ र हाल गैँडाकोट, नवलपरासीमा बसोबास गर्दै आएका कवि रामहरि शर्माको प्राध्यापन, साहित्य लेखन र समाजेवामा विशेष अनुभव छ । कविता र गजल सङ्ग्रहका अतिरिक्त उनका ‘पुतलीको बिहे’ शीर्षकको बालकविता सङ्ग्रह पनि प्रकाशित छ । बाल मनोभावनालाई बुझेर बालबोलीको प्रयोग गर्दै कवि रामहरि शर्मा बालरुचिअनुकूलका विषयमा रोचक र मनोरञ्जनात्मक बालकविताको रचना गर्न खप्पिस छन् । उनको प्रस्तुत ‘को खाई को खाई’ बालकविता बालबालिकालाई केन्द्रमा राखेर लेखिएको हो । कवितामा कथयिता पात्रका रूपमा बालपात्रको उपस्थिति नभए पनि अभिभावक नै बालक बनेजस्तो देखिएको छ र बालपात्रले तोतेबोलीमा आफ्नो प्रतिक्रिया पनि कवितामा दिएको देखाइएको छ । बालबालिकालाई फकाई-फुल्याई खाना खुवाउँदा मानवेतर बाल पात्र बिरालो र मुनी पाठोको समेत यसमा प्रयोग गरिएको छ । अभिभावकमा हुने वात्सल्य भावको अभिव्यक्ति कवितामा देखिन्छ ।]
****************************
३. मित्रता – सेविका रानाभाट
सँगै हिड्ने धेरै मिल्ने तिमी र म साथी
अरू सबै नाताभन्दा मित्रता हो माथि
यौटै गाउँमा जन्मिएर लड्दै बढेका थ्यौँ
सँगै हिँडी हात समाई स्कुल पढेका थ्यौँ
घरबाट भागी-भागी जान्थ्यौँ बजार मेला
एकले जित्दा अर्को खुसी हुन्थ्यौँ त्यति बेला
तिमीसँगै रमाउँदा केही चाहिन्नथ्यो
खोज्दा पनि यति खुसी अन्त पाइन्नथ्यो
फर्की आए हुन्थ्यो फेरि बालापनका दिन
सुखमय मित्रता त्यो बिर्सन्थेँ म किन ?
——————————-
[मध्यनेपाल नगरपालिका-९, बाङ्ग्रेबेसी घर भएकी नवोदित प्रतिभा सेविका रानाभाट (२०६०) स्नातक तहमा अध्ययनरत छात्रा हुन् । बालकविता लेखनमा सिकारु तर धेरै सम्भावना बोकेकी सेविकाका फुटकर बालकविताहरू विभिन्न पत्रपत्रिका तथा अनलाइन मिडियाहरूमा प्रकाशित हुँदै आएका छन् । उनको प्रस्तुत ‘मित्रता’ बालकविता आफ्नो बाल्यजीवन र बाल्यकालीन मित्रताको स्मरण गरेर लेखिएको लयात्मक र सुन्दर बालकविता हो । कवितामा अतीततर्फको चासो भेटिन्छ । मित्रताबाट प्राप्त हुने माया र खुसी पछिसम्म पनि स्मृतिपटमा तरोताजा रहिरहन्छ भन्ने भाव कविताले बोकेको छ ।]
rcghimire47@gmail.com
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।