लाई–सी भनेको के ?
तपाईंलाई थाहा छ ?
मलाई पनि थाहा थिएन जब कथाकार दाजु गुरुङले आफ्नो कथा संग्रह सुकिलो मुस्कानले ओतप्रोत बनाएर मेरो हातमा सादर अर्पिनुभयो ।
रातो आकर्षक आवरणपृष्ठमा सजिएको एउटा छरितो पुस्तक । स्निग्ध स्पर्श र हलुका भारले खेलाइरहूँ जस्तो लाग्ने पुस्तक । फर्र पाना पल्टाइरहूँ जस्तो पुस्तक । अन्तिम पानामा पुग्दा २३२ पृष्ठांकन रहेछ ।
रातो, अझ गाढा रातो बन्दै गएको आवरणपानामा ससाना रंगीन उत्सवमय बुट्टा र फूलबुट्टा पनि लोभलाग्दा देखिने । अनि माथि कथाशिल्पीको नाम दाजु गुरुङ, तलपटि अलि ठूलै अक्षरमा : लाई-सी ।
मनमनै कुतकुती लाग्छ दुवै थोकमा । नामै दाजु ? अनायासै आत्मीयताको आभास आउँछ सरसराउँदै । अनि पुस्तकको शीर्षकले अनौठो कौतूहल जगाउँछ : के हो लाई-सी ? कताको बोली होला यस्तो ?
जिज्ञासा राख्दा भन्नुहुन्छ : पढेपछि बुझिहाल्नुहुन्छ । नभन्दै पछि पढ्दै जाँदा बुझियो छर्लंगै । अनि रोमान्चित पो भएँछु । किन ? दाजुले मलाई लाई-सी दिएका बेला मेरो कोटको गोजीमा पनि लाई-सी नै थियो त्यो दिन, कारण एउटा बिहाको निम्तो मानेर म आउँदै थिएँ । आफैंसित भएको लाई-सीको अर्थ बुझेँ मैले दाजुको लाई-सी पढेपछि । अनि पछि एक्लै फिस्स हाँसें पनि ।
…
पुस्तकका पाना पल्टाउँदा ढोका खुल्दछ एउटा अलग दुनियाँको । अनि हामी त्यहाँ भेट्छौं : अनेक चरित्रमा रंगिएका पात्र, अनेक परिवेशमा रंगिएका घटना, अनेक कथाव्यथा र गाथा अनि अनेक अनुभव र अनुभूतिको जगत् । अनि त्यहाँ हामीलाई प्यारले कथा सुनाउन प्रस्तुत दाजुदाई ।
लामो समयदेखि बसोबास र चलखेल गरिआएको वैदेशिक भूभाग हङकङ र त्यहाँ रहेको नेपाली जीवनगाथाको सुललित बयान बनेर देखा पर्दछ : लाई-सी ।
जीवनका विविध मोडहरुमा मोडिँदै पुगेका छन् नेपालीहरु हङकङको भूमिमा । तिनै नेपालीका १८ वटा कथाहरु छातीमा सजाएर लाई-सी प्रस्तुत भएको छ । दाजुले एक एक कथामा एक एक चरित्रका अद्भुत आयामहरु खोलेर पाठकलाई नूतन जगत्को पर्दा खोलिदिएका छन् ।
चिसो हावाले कथामा कवयित्री सृजना अभिलाषी उर्फ अन्जना माधवी भेटिन्छिन्, निर्गन्ध रहरहरुमा साली, कान्छीमा एक लेङ लोई/राम्री युवती, अस्वीकृत सम्झौतामा पेपर म्यारिजको मनोदंशले पीडिता अरुणिमा, रिफ्युजीमा सुषमा, रोजामा रोजा, पानीका धर्साहरुमा सारा, गुडबाइ मोनिकामा मोनिका, सेतो खाममा स्नेहाजस्ता कथानायिकाहरु आआफ्नै मनोक्लेश र बाध्यताको जालोमा जेलिएका देखिन्छन् । यी अधिकांश कथाहरु नारीजातिका मनोयथार्थको सटीक चित्रणले लोभलाग्दा बनेर देखिएका छन् ।
उता पराजयमा क्याप्टेन वीरबहादुर, अकथामा चड्के मामा र नम्बरी मामा, कामरेडमा कामरेड, बेखुशीमा साइमन, अर्को धरातलमा विलियम राम, पानीका धर्साहरुमा श्रवण दाई, च्यारिटीमा कमल दाजु र मुन्ना चौधरी, कानूनले नचिनेको मान्छेमा फे चाइ/मोटे युवा केटो, विस्मृतिको डिलमा कथामा सुरेन दाई, अनि लाली गुँरास डटकममा अनेक पात्रहरु सबै एक एक चोट र व्यथा बोकेर विदेशी भूमिमा जीवन धानीरहेका पुरुष पात्रहरु हुन् जसमा अनेक चारित्रिकताको रंग भरेका छन् दाजुले ।
आफ्नो भाषा, संस्कृति, वेशभूषा र जीवनशैली सबै थोक नेपाल आमाकै काखमा चटक्क छोडेर नव आधुनिक जीवनशैली आत्मसात् गर्न पुगेको नेपाली समाज अनौठा विसंगत र असंगत अप्ठयारा परिस्थितिमा कसरी बाँचेको रहेछ भन्ने छायाछवि लाई-सीले चित्रित गर्दछ ।
तरकारी बजारमा भेटिएकी राम्री युवती/लेङ लोइ एकाएक कुहिएको आलु उपाधिले विभूषित भएर लाप्साप्/ काम नलाग्ने वस्तु ठहरिएकी छे । रातो भाले रेष्टुरेन्टमा गएर आफ्नो जोश र जवानीको तुजुक उतार्नेहरुको अर्कै कहालीलाग्दो कहानी छ । कैयौं विलियम रामहरु चर्चका अधिष्ठाता बनेका छन् तर धर्मपरिवर्तन होइन फगत् मन्च परिवर्तन गरेर । उता जकी क्लबको चकचकी छ जहाँ घोडदौडको नशामा लागेर कैयौँ कमल दाजुहरु र मुन्ना चौधरीहरु वेपत्ता भएका छन् । अनि कैयौं फे चाई/मोटे युवा केटा कहालीलाग्दो विसंगत यौनाचारमा फँसेका छन् । कोही लालीगुराँस डट कम मा च्याटिंग डेटिंगमा अपरिचितसँगको सम्बन्धमा रमाउने चाहनाले पीडामय जीवन भोगिरहेका छन् ।
तर, हेर्नुहोस् चरित्र र तिनको कहानी जतिसुकै क्लान्त श्रान्त र पीडामय होस् प्रस्तोताको शैली चाहिँ नितान्त ललित, हार्दिक रहेछ । मोनिकाको बयान हेर्नुहोस् त :
छाडा छोडिए झैं लाग्ने कपाल । कालो कपालको हारमा सेतोले साम्राज्य कायम गरिरहेछ निर्बाध रुपले । हिउँदको पराल झैं फुस्रो । झन् बेहाल लाग्छ अनुहारको रंग । कहीं कतै नगोडिएका समानान्तर रेखाहरु धमाधम रुपान्तरित भइरहेछन् वक्ररेरखाहरुमा । छोप्ने वा लपेट्ने कुनै प्रयास देखिन्न, समय हिंडेका डोबहरुलाई । आहा ! कति मजाले लपेटिएका थिए ती डोबहरु पहिलो भेटमा । नाचिरहेछ आँखामा त्यो नारी हस्ताक्षरको शिल्पकारिता । तर अहिले जताततै तन्किरहेछन् डोबहरु बेवास्ताका फास्ट ट्रयाकमा । पृ ७१
कस्तो कलात्मक र लोभलाग्दो भाषा दाजुको ।
अब हङकङवासीका जीवन शैलीको एक झाँकी हेर्नुहोस् त :
हङकङ बसाइको के बयान गर्नु र, एउटा साँघुरो फ्ल्याटमा बितेर जाँदो रहेछ पूरा जिन्दगी । प्लाइउडले बारेका ससाना कोठाहरु हुन्छन्, रात काट्नका लागि हो वा टाउको लुकाउन । बिस्तारै बोलिँदा पनि अर्को कोठामा हल्ला पुग्ने । ..
बाहिरी आवरणमा जति सुन्दर छ, त्यति नै कुरुप लाग्छ यो शहरभित्रको शहर । कमिलाको दुलोजस्तो । त्यही दुलोभित्र जिन्दगी खर्चिरहेको पत्तो पाउँदैनन् घडीको अलार्ममा दौडिरहेका मान्छेहरुले । झट्ट हेर्दा मकैका घोगाले भरिए झैं लाग्छ शहर । त्यहीँ गुँड लगाएर बसेका हुन् सयौं थरी थरीका कमिलाहरुले । बिहान दुलाबाट हुरुरु निस्किएर दौडन्छन् अनि हराउँछन् बाटाहरुमा बाटासँगै । कुन बाटो कहाँ पुग्छ थाहा हुन्न हिँड्ने साथीहरुलाई । भेट्न वा सोध्न कुर्नुपर्छ समय पर्खिएर । यही पर्खाइमा मीठो आशाहरु अल्झिरहन्छन्, सानो डोरीका भरमा उडिरहेको चंगाहरु जस्तो । पृ ७५
यस्तै छ यहाँको वास्तविकता अनि बाध्यता । न हिउँद र वर्षा, सधैँको बेफुर्सदिला दिनहरु । साँझ बिहान दौंडिदैमा रित्तिरहेछ जिन्दगी । जति नै दिन बिताइए पनि केवल एक दिन मात्र हाँस्न सकिन्छ महिनामा । बैंक खातामा तनखा खसेको दिन । त्यो हाँसो पनि यता उता तल माथि हिसाब मिलानमा रित्तिन्छ, अर्को महिनाको भाका हालेर । यसरी नै बितीरहेछन् दिन महिना र सालहरु । पृ २१४
अनि यो आलंकारिक बयान :
कोही निराश देखिन्छन् सारा, थकित यात्री बाटोसँग पराजित भए झैं । अन्तै टाढा टाढा नजर दौडाउँछन् शून्य शून्यतिर । पर पर स साना द्वीपहरु छरिएका छन् पिठिउँ देखाएर । कति हिउँद वर्षा आए गए, कहिले फर्किएन वसन्त । सधैँ फुस्रो अनुहारले हेरिहन्छन् आउने जाने यात्रीहरुलाई । यतैतिर डुलिरहेछन् सारा शून्यतामा हराइरहँदा । पृ १६४
यो हो दाजुको भाषिक जादू । अनेकन् प्रतीक र बिम्बले सजिएको कावितात्मक भाषिक शिल्प लाई सी को लोभलाग्दो आकर्षण हो ।
अब बुझिहाल्नुभयो लाई सी ले सिर्जिएको भावभूमि । सारा कथाहरु एउटै भूपरिवेश, एउटै समाज र जीवनधारामा आबद्ध पात्रहरुका चारित्रिकताले रंगिएका छन् । कतिसम्म भने पाठकलाई पढ्दै जाँदा सबै कथाहरु एउटै बृहद् आख्यानका पृथक् पृथक् खण्ड जस्ता पनि लाग्दछन् । एउटा सारै रोचक कुरो के भने कहानीका किरदारभित्र पसेर कथाकार बोल्दछन् सबै थोक महशूश गर्दछन् अनि गहिरो जीवनदृष्टि, मानवीय संवेदना र पात्रले भोगेका क्लेश र सन्तापका संवेदनशील साक्षी बनेर प्रस्तुत हुन्छन् । लाई सी को दुनियाँमा पस्नासाथै एउटा सचेत, स्नेहशील, गहन मानवीय संवेदनाले समृद्ध स्रष्टासँग हाम्रो हार्दिक मित्रता कायम हुन्छ र मधुर भलाकुसारी चलिरहन्छ । उनी बिस्तार बिस्तार आफूले देखे भोगेको यथार्थलाई सहजता साथ पस्कँदै जान्छन् ।
कतिपय स्थानमा बयानको आस्वादमा ती कतिसम्म डुब्दछन् भने कथाका रुपरेखाहरु विस्तारै विलीन हुन लाग्दछन् र सिर्जनामा निबन्ध तत्त्वको अनायासै प्रवेश हुन लाग्दछ ।
यसरी लाई सी ले प्रथम वार एक नेपाली पाठकका सामू हङकङ पस्किएको छ त्यहाँको नेपाली जीवनलाई समग्रताका साथ बिम्बित प्रतिबिम्बित गरेर । एक पटक रुचिका साथ पढ्न मन पर्नेछ तपाईलाई पनि यो कथासंग्रह ।
अब मैले भन्ने कुरा सकियो । लेखकलाई अशेष शुभकामना र यो विशेष कोसेली नेपाली पाठकलाई सुम्पिनुभएकोमा सप्रेम साधुवाद । दाजु, लोभ्याउनुभएको छ हामीलाई आगामी कृतितर्फ ।
ए, यत्रो गफ दियो, तर गाँठी कुरा भनेन भन्नुहोला फेरि । लाई सी भनेको के त ?
मैले भन्नै पर्दैन । पृ १९२ पल्टाउनुस् त : दाजुले लेख्नुभएकै छ : लाई-सी : दक्षिणा, रातो खाममा दाम राखेर दिइने प्रचलन, सगुन, उपहार ।
कस्तो संयोग, जुन मेरै खल्तीमा पनि थियेछ दाजुले यो लाई-सी दिनुभएको दिन । बुझ्नुभयो नि !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।