गजलमा आउने दोस्रो अक्षर ज ले जीवन्ततालाई संकेत गर्दछ, यो जीवन्तता गजलको प्राणतत्त्व हो ।

जीवन्तता अर्थात् ज्यूँदोपन । यो गजलको अभिव्यक्ति–शिल्पसँग सम्बन्धित हुन्छ । गजलको हरेक शेरमा हुन्छ यो ज्यूँदोपन । सुन्नासाथै श्रोता/भावकको मनोमस्तिष्कलाई तरंगित तुल्याएर हृदयसम्म पुगी गहिरो प्रभाव वा तासीर पैदा गर्दछ शेरले, विद्युत् तरंगजस्तो आनुभूतिक संस्पर्शले एकै पल विमुग्ध पार्दछ अनि श्रोताको आन्तरिक उल्लास व्यक्त हुन्छ ‘वाह! वाह!!’ को उद्गारमा । गजलको जीवन्त शेर सुनीसकेपछि त्यसको तासीरले उल्लसित बनेर श्रोताले व्यक्त गर्ने वाह! वाह!! को ध्वनिले गजलमा रहेको जीवन्तता पुष्टि गर्दछ । शेरभित्रका दुई पंक्तिमा अटाएको संवेदनाको सिंगो संसारले एकै पटक ढाक्दछ श्रोताको चेतनालाई । अभिव्यक्ति–शिल्पको कुशल एवं सुललित तानाबानाले बुनिएका मिसरा–ए–उला र मिसरा–ए–सानी को जोडाले अनौठो जादू भरेको हुन्छ शेरमा, त्यसैको गहिरो असरको प्रतिध्वनि बनेर आउँछ ः वाह! श्रोता÷भावकका मनमा पैदा गर्ने यही सशक्त अनुभूतिको तरंगद्वारा नै गजलको जीवन्तता प्रमाणित हुने गर्दछ ।

भित्र पस्न मनाही छ

प्रिय गजलरसिक बन्धु, गजलमा पाइने जीवन्तताको अनुभूतिमा उत्रन आउनुहोस् अब एउटा गजल गुन्गुनाऔं, मतला यस्तो छ :

आँखाबाट पस्नेलाई छेक्न सकिएन
भित्र पस्न मनाही छ लेख्न सकिएन ।

यहाँ शेरको पहिलो पंक्तिमा देखिएको नौलो विषयप्रस्तुतिले पहिले भावकलाई आकर्षित गर्दछ अनि दोस्रो पंक्तिले त्यसैका सन्दर्भमा अझ तीव्रतासाथ विस्मयोत्पादक भंगिमाद्वारा स्पष्टीकरण पेश गर्दछ : भित्र पस्न मनाही छ लेख्न सकिएन ।

मतलामा रहेको मिसरा–ए–उला ले शायरको स्वादिलो बाध्यता प्रकट गरेको छ । प्रस्तुतिको यो कोमल कल्पनालाई गजलको भाषामा नाजुक खयाली भनिन्छ । मिसरा–ए–सानी ले त्यसैलाई अझ स्पष्ट पार्दछ अनौठो शैलीमा । यस्तै शैलीलाई अन्दाजे बयाँ भनिन्छ गजलको भाषामा । अन्दाजे बयाँ अर्थात् बयान गर्ने पारा ।

डा. सनतकुमार वस्ती

सामान्यतया कुनै कार्यालय कक्ष वा औपचारिक द्वारको शीर्षमा टाँसिने सूचना हो : भित्र पस्न मनाही छ । यस्तो रुखो सूचनापट्ट लेखेर आँखामाथि टाँस्न नसकिएको बाध्यता सन्दर्भ यहाँ अत्यन्त रोचकताको रंगमा रंगिएर प्रस्तुत भएको छ । औपचारिकताको र सांसारिकताको बन्धनबाट मुक्त बनेर सुन्दर वस्तुतिर नैसर्गिक रूपमा लम्किने आँखा र आकर्षित हुने मनको सहज स्वभावका बारे चमत्कारिक शैलीमा सम्पन्न गरिएको प्रस्तुतिले अनायास भावकमनलाई आफूतिर खिँच्दछ अनि शायरले यहाँ वाह! वाह!! को पुरस्कार पाउँछ । यसैले सूचित गर्दछ : गजल जीवन्त छ, प्राणवान् छ ।

वसन्तमा हुरी

गजलको अगिल्लो शेर यसरी आउँछ :

वसन्तको मौसममा कस्तो हुरी चल्यो
बगैंचामा यौटै फूल देख्न सकिएन ।

हरेक जीवन्त शेरको पहिलो पंक्ति अर्थात् मिसरा–ए–उला मा कुनै एउटा विषयवस्तु रहस्यात्मक शैलीमा उठाइएको हुन्छ, यो जिज्ञासाजनक हुन्छ, भावकका मनमा जिज्ञासा जगाउनु मिसरा–ए–उलाको स्वभाव हो । वास्तविक काव्य यहाँ कहिँदैन । कथ्यको भावभूमिमात्र बनाइन्छ । उपर्युक्त शेरमा वसन्तको मौसममा चलेको कुनै हुरीको प्रसंग उठाइएको छ कस्तो हुरी चल्यो, कस्तो हुरी ? प्रश्न उठ्छ नै । पंक्तिको उद्देश्य पनि यही हो । यसको उत्तर दोस्रो पंक्ति वा मिसरा–ए–सानी मा आउँछ वसन्तमै चल्ने हुरीको परिणाम देखाएर । बल्ल थाहा हुन्छ : बगैंचाका सारा फूलहरु सखाप पो पारेको रहेछ कुबेलामा चलेको हुरीले, सारा बगैँचा उजाड पारेर गएछ त्यो विध्वंसक हुरीले ।

यसरी शेरका दुई पंक्तिका बीचको तात्पर्यपूर्ण अन्तःसम्बन्धले नै शेरलाई जीवन्त तुल्याएको हुन्छ । यहाँ वसन्त र फूल जस्ता पदहरुले अत्यन्त व्यापक प्रतीकको भूमिका निर्वाह गरेका छन् । यस्ता पदहरुको अभिव्यञ्जकताले जवानीको आवेगमा यौवन उजाडिनु अथवा चार जात छत्तीस वर्णको फूलवारी मा लोकतन्त्र प्राप्तिपछिको वासन्ती मौसममा पनि शान्ति र समृद्धिको फूल फुलेको देख्न नपाइनु जस्तो सर्वजनसंवेद्य अभिव्यंग्यार्थ प्रकट गरेको पाइन्छ । यसरी शेरलाई जीवन्त बनाउन त्यहाँ नजानिँदो पाराले यस्तो तारतम्य मिलाइएको हुन्छ जसले भावकमा गहिरो प्रभाव एवम् तासीर जन्माइरहेको हुन्छ ।

फुटेर झरेको दिल

गजल अगि बढ्छ यसरी :

दिल पनि ऐनाजस्तै फुटी झरेछ कि !
आफ्नै मनको आँगनीमा टेक्न सकिएन ।

ऐना फुटेर झरेपछि काँचका टुक्रा छरिएको आँगनीमा कसरी टेक्न सकिन्छ र ? एउटा अद्भुत बिम्ब रचिएको पाइन्छ यहाँ । धेरै नोक्सानी भएको छ । एकातिर ऐनाको सत्यानाश भयो, अर्कातिर फुटेका शीशा छरिएर आँगनीमा टेक्नै नसिकने भएको छ । यो बर्बादीको कथा सारै मर्मस्पर्शी छ । यहाँ त्यो फुट्ने ऐनाचाहिँ दिल हो, अनि काँचका टुक्रा झरेर टेक्नै नसकिने भएको आँगनी आफ्नै मन हो । यो नवीन र रोचक अभिव्यक्तिशिल्पले मानिसको आन्तरिक जगत्का बर्बादीको अनौठो र मर्मस्पर्शी कहानी सुनाउँछ । यसले गहिरो प्रभाव पैदा गरेको छ गजलमा । यसैलाई गजलको तासीर भनिन्छ, यसैले जीवन्त बनाएको छ शेरलाई ।

चाहनाको धुनी

अर्को शेर आउँछ फेरि अर्कै संसार बोकेर :

चाहनाको धुनी बालेँ आफ्नै मुटु जलाई
अझै उनको चीसो मन सेक्न सकिएन ।

पहिलो हरफले अचम्मको इन्धन बालेर विचित्रकै धुनी बालिएको गाथा सुनाउँछ । त्यो गाउँखाने कथाजत्तिकै रहस्योत्पादक छ । यसले भावकमनलाई गहिरोसँग जिज्ञासु गराउँछ : गाउँखाने कथाको जवाफ के हो ? भनेर । यसरी रोचकताको तानाबाना बुनेर दोस्रो पंक्तिमा प्रवेश गरेपछि रहस्योद्घाटन हुन्छ : उनको चीसो मन तैपनि सेक्न सकिएन । यहाँ पुगेपछि भावक वाह ! गर्दछ । यही हृदयस्पर्शिता नै गजलको जीवन हो, प्राणतत्त्व हो ।

अवश्य हो, प्रतीक र बिम्बको सारै रमाइलो खेल खेलिन्छ शेरमा । एउटै शेर–संरचनाभित्र, जम्मा एक दर्जन शब्दभित्र यहाँ सिंगो अभिव्यक्तिसंसार रचिएको छ र चित्तबुझ्दो प्रभाव पैदा गरिएको छ त्यही प्रतीक र बिम्बको शक्ति र सामथ्र्यद्वारा ।

समान्य कुरोलाई काव्यको विशिष्ट रूप प्रदान गरिएको छ । यसैले रसिक मन आह्लादित भएको हुन्छ र वाह! वाह!! को उद्गार उत्रिएको हुन्छ ओठहरुमा ।

लेख्न नसकिएको चिठी

अब गजलको अन्तिम शेर मकता उठाऔं :

एउटा चिठी पठाउँ भन्थें मायालुको गाउँ
मनको कुरा कागजमा लेख्न सकिएन ।

यहाँ मिसरा–ए–उला मा कुनै काम गर्ने अठोट गरेको, तर त्यसमा केही अड्चन र व्यवधान आइलागेको छनक पाइन्छ , यो छनक भन्थें जस्तो अभ्यस्त पक्षको क्रियापदद्वारा अभिव्यञ्जित छ । यसले भावकमनमा जिज्ञासा जगाउँछ नै । यो शेर जब प्रस्तुत गरिन्छ तरन्नुममा वा गायनमा, त्यसबेला अनेकबार यसका मिसरा–ए–उला को पाठ भिन्न भिन्न शैलीमा सम्पन्न गरेर भावकमा त्यो जिज्ञासामय मधुर तनावलाई उत्कर्षमा पुर्याइन्छ, यो रमाइलो मनोवैज्ञानिक खेल हो ।

यसपछि अन्त्यमा जब मिसरा–ए–सानी पढिन्छ अनि श्रोताका वाह! वाह!! को पुरस्कार जरूर पाइन्छ । भावकको मनोजगत्सम्म प्रवेश गर्ने गजलका शेरको यही सामथ्र्यलाई जीवन्तता भनिन्छ । यस्तै रचनाशिल्पलाई गजलको भाषामा तगज्जल भनिन्छ । यही प्रभावशीलता वा तासीर ले गजललाई ज्यूँदो जाग्दो र तरंगमय भएको प्रमाणित गर्दछ । प्रेमीका मनमा आफ्नो प्रेमास्पदका निम्ति रहेको गहिरो रागभाव वास्तवमा शब्दातीत हुन्छ, त्यसैले कागजजस्तो निर्जीव र नीरस, पातलो फिलफिले पानामा त्यो अशब्दको अनुभूति व्यक्त गर्न, लेख्न सकिएला र ? त्यसैले मिसरा–ए–सानी भन्दछ :
मनको कुरा कागजमा लेख्न सकिएन ।

यसरी सरल भैकन पनि ज्यादै कलात्मक र रहस्यान्वित अभिव्यक्ति–शिल्पले नै गजललाई जीवन्त बनाएको हुन्छ ।

प्रिय गजलानुरागी बन्धु ,

वाह ! गजल मा पहिले प्रस्तुत मिसरा–ए–उला, मिसरा–ए–सानी, काफिया, रदीफ, मकता, तासीर, अन्दाजे बयाँ, तगज्जल, प्रतीक, बिम्ब एवम् अलंकारजस्ता शीर्षकहरुमा गजलका जीवन्तताकै सामग्रीहरुको बयान गरिएको छ ।

……

गजलको तेस्रो तत्त्व हो ल, अर्थात् लयात्मकता ।

आउनुहोस् यसबारे कुरा गरौं आगामी आइतवार ।