फेसबुकमा कार्यक्रम चलाउन थालेदेखि नै थुप्रै साहित्यिक साथीहरूले कवि रोशन परियारलाई कार्यक्रममा जोड्न आग्रह गरिरहनु भएको थियो । सुरुवाती दिनमा आफ्नै समकालीन र मसँग सामाजिक सञ्जालमा जोडिनु भएका थुप्रै स्रष्टाहरूले कार्यक्रमको निमन्त्रणा स्वीकार नगरिरहेको अवस्थामा मैले कवि परियारलाई बोलाउने आँट गरिनँ । फेरि हामीबीच दोहोरो चिनजान पनि थिएन र हामी सामाजिक सञ्जालमा जोडिएका पनि थिएनौँ । उहाँको निक्कै मन पराइएको कविता “The My” मैले पनि फेसबुकमै सुन्ने मौका पाएको थिएँ । यस हिसाबले म उहाँलाई चिन्थेँ तर उहाँले मलाई सायद चिन्नु भएको थिएन । साथीहरूले कार्यक्रमको पाहुना बनाउन आग्रह गरिरहनु भएकोले, बेलाबेला म उहाँको फेसबुक प्रोफाइलमा गएर उहाँका गतिविधि नियालिरहेको हुन्थेँ । प्रस्ताव अस्वीकार होला कि भन्ने पिरले मैले उहाँलाई फेसबुकमा साथीको प्रस्ताव पनि पठाउन सकिरहेको थिइनँ । सोचेँ कुनै दिन समय आफैँले हामीलाई जोड्नेछ । जब कार्यक्रमका लागि चाहिने अतिथि व्यवस्थापनको जिम्मा सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगर र उहाँको टिमले लियो, त्यसपछि भने स्रष्टा खोज्ने मामलामा मलाई राहत महसूस हुन थाल्यो । त्यही मौका छोपेर मैले ५ अप्रिल २०२१ मा अध्यक्ष मगरलाई म्यासेज गरेँ कवि रोशन परियारलाई पनि जोड्नको लागि । उहाँले सकारात्मक जवाफ दिएपछि म पनि ढुक्क भएँ र खुसी पनि । खुसी यस अर्थमा कि त्यहाँ मेरो मात्रै चाहाना पूरा हुन गइरहेको थिएन अन्य थुप्रै साथीहरूको रहर पनि पूरा हुँदै थियो, कवि परियारलाई हाम्रो कार्यक्रममा सुन्ने । अध्यक्ष मगरसँग कुराकानी भएको अढाई महिनापछि अर्थात २४ जुन २०२१ मा कार्यक्रमको ६२ औँ शृङ्खलामा कवि परियारलाई जोड्ने अवसर जुर्यो । त्यो बेला कोरोना कहरका कारण लकडाउन चलिरहेकोले, उहाँको दैनिकी पहिलेभन्दा सामान्य बितिरहेको थियो ।

साहित्य लेखनमा पनि एक किसिमको शून्यता छाइरहेको थियो । शून्यता महसुस भइरहेकोले त्यो समयमा नयाँ कविताहररू पनि लेखिएका थिएनन् । पहिल्यै लेखिएका आफ्नै सिर्जनाहरू पढ्ने र त्यसलाई सम्पादन गर्ने कामबाहेक अरू नयाँ खासै केही हुन सकिरहेको थिएन त्यो समयमा । कार्यक्रम सम्पन्न भएको करिब ९ महिनापछि यो लेख तयार पार्ने क्रममा मैले फेरि सोधेँ, “सर के छ आजभोलिको नयाँ खबर चाहिँ ?” जवाफ उही पुरानै आयो, “नयाँ खास केही छैन, नयाँ केही गर्न सकिएको छैन” । यसको मतलब ९ महिना पहिलेको त्यो शून्यता अहिले पनि कायमै भएको महसूस गरेँ र मैले थप प्रश्न गरिनँ ।

कवि परियारले आफ्नो नामको पछाडि “रोपनी” पनि लेख्ने गर्नु हुन्छ । जसको अर्थ हुन आउँछ “रोशन परियार निराश” । निराश किन राखियो ? त्यो त थाहा हुन सकेन तर यही रोपनी नाममा उहाँले आफ्नो यूट्युब च्यानल पनि खोल्नु भएको छ । माता कृष्णमाया परियार र पिता लक्ष्मी परियारको सन्तानको रूपमा वि.सं. २०३८ साल असार २६ गते धनकुटाको पाख्रिबास नगरपालिका वडा नं – ४ रमनेमा कवि परियारको जन्म भएको थियो । उहाँ छोराहरूमा कान्छो हुनुहुन्छ । उहाँका दाजु रोहित भावुक पनि कविता, गजल र मुक्तक लेखनमा उत्तिकै रुचि र दख्खल राख्नु हुन्थ्यो । दाजुकै लेखनबाट प्रभावित भएर आफूले पनि कविता लेख्न सुरु गरेको उहाँ सुनाउनु हुन्छ । दाजुले विद्यालयका कार्यक्रमहरूमा भाग लिएर पुरस्कार जितिरहँदा र दशैँ तिहारमा घरदैलो देउसी भैलो कार्यक्रम हुँदा, दाजुले त्यसमा पनि निक्कै मज्जाले मुक्तक, गजल र कविता वाचनसहितको कार्यक्रम प्रस्तुत गरिरहँदा, कवि परियारलाई त्यसले मोहित गरिरहेको हुन्थ्यो ।

दाजुबाट प्रभावित हुने क्रममै कक्षा ७ मा हुँदा उहाँले पनि पहिलो पटक कविता लेख्नु भयो “सरसफाइ” शीर्षकको । उहाँ अध्यनरत विद्यालय श्री जालपा देवी मावी पाख्रिबासमा जिल्ला खानेपानी संस्थान धनकुटाले आयोजना गरेको अन्तर विद्यालय जिल्ला स्तरीय कविता प्रतियोगिताका लागि सो कविता लेखिएको थियो । प्रतियोगी सबैलाई “सरसफाइ” शीर्षकमा कविता लेख्न लगाइएको थियो र कवि परियारले लेखेको कविताले तेस्रो स्थान हासिल गर्यो । यसले कवि परियारमा कविता लेखनप्रति एक किसिमको उर्जा र हौसला थपिदिएको थियो, दाजुबाट प्रभावित हुने कुरा त छँदै थियो । उहाँका दाजु रोहित अहिले यस धर्तीमा हुनुहुन्न । उहाँको ४५ वर्षको उमेरमा निधन भएको थियो । तर उहाँले गरेका सिर्जनाहरू अहिले पनि हराएका छैनन् । उहाँहरूकै साथमा छन् । त्यसपछि कवि परियारले ९ कक्षामा पुगेपछि अर्को कविता लेख्नुभयो “म अनुभवी डाक्टर” । यो कविता पनि जिल्ला स्तरीय कविता प्रतियोगितामा भाग लिनको लागि लेखिएको थियो । यो पटक भने उहाँ प्रथम हुन सफल हुनु भयो । स्कुल छँदा यिनै दुई कविता लेखेर कवि परियारले आफ्नो साहित्य लेखनको यात्रा सुरु गर्नुभएको थियो । दुःखको कुरा सुरुवाती चरणमा लेखिएका यी दुवै कविता अहिले उहाँका साथमा छैनन् । समयक्रमसँगै जिन्दगीले उहाँबाट धेरै कुरा छुटाएर लग्यो । ती दुई कविता पनि त्यसैमा परे ।

डिजी शर्मा (युएई)

एसएलसी सकिएपछि उहाँ बाहिर गएर कुनै प्राविधिक विषय पढ्न चाहनु हुन्थ्यो । सौभाग्यको कुरा टेलरिङ व्यवसायका लागि भारतमा गएर अध्ययन गर्न उहाँलाई छात्रवृत्ति पनि प्राप्त भएको थियो । तर दूर्भाग्य विद्यालयले उहाँसहित केही उत्कृष्ट विद्यार्थीहरूलाई सो विद्यालयभन्दा बाहिर गएर उच्च शिक्षा लिने अनुमति दिएन । कारण थियो सोही विद्यालयामा पहिलो पटक उच्च माध्यमिक तहका कक्षाहरू सञ्चालन हुन गइरहेका थिए। पहिलो पालामै राम्रा विद्यार्थी नहोलान् कि भन्ने पिरले विद्यालयले आफ्ना केही उत्कृष्ट विद्यार्थीलाई सोही ठाउँमा पढ्नु पर्ने, एक किसिमको बाध्यात्मक परिस्थिति सिर्जना गरिदियो । जसका कारण बाहिर गएर प्राविधिक विषय पढ्ने कवि परियारको रहर पूरा हुन सकेन र उहाँले सोही विद्यालयमा उच्चमाध्यमिक तहको अध्ययन गर्नुभयो । कलेज पढ्ने क्रममा पनि उहाँको साहित्य लेखनको यात्रा भने चलिरहेको नै थियो । त्यसमा बाहिरबाट आएका साथीहरूसँग भेटघाट र साहित्यिक माहोल पनि निर्माण भयो । त्यसताका पनि केही कविताहरू लेखिए ।

आफ्नो पारिवारिक अवस्था र बुबाको ढल्किँदै गएको उमेरका कारण कवि परियारमा, परिवारप्रतिको दायित्व बढ्दै गयो । यसक्रममा आफूले अध्ययन गरेकै विद्यालयमा शिक्षकको रूपमा जागिर खाने अवसर वहाँले प्राप्त गर्नुभयो । सोही विद्यालयमा अध्ययन गर्नुको एउटा फाइदा त भयो उहाँलाई । यसरी उहाँ पारिवारको जिम्मेवारी पूरा गर्नेतर्फ धकेलिनु भयो । छोरो भएको नाताले यो जरुरी पनि थियो । तर जागिरबाट हातमा पैसा पर्न थालेपछि उहाँको सिर्जना कर्म भने हराउन थाल्यो बिस्तारै । उहाँ इमान्दारपूर्वक भन्नुहुन्छ, “यो सत्य हो । मैले मलाई नढाँटी भन्नु पर्दाखेरि पैसा कमाएर मैले घर व्यवहार चलाउन थालेपछि, यतातिर मैले लेख्नु पर्छ, मैले लेख्न कहिल्यै छोड्नु हुँदैन भन्ने कुरा मेरो दिमागबाटै हरायो” । विद्यालयमा पढाउने काम करिब ५ वर्ष रह्यो । त्यसपछि उहाँले एउटा पुस्तकालयमा पनि काम गर्नुभयो । यस हिसाबले उहाँ एक कुशल लाइबेरीयन पनि हुनुहुन्छ । समयले उहाँलाई यतिमा मात्रै सिमित राखेन । कहिले कतार त कहिले मलेसिया पनि पुर्यायो रोजगारका लागि । जतिजति उहाँ जिन्दगीको दायित्वमा फँस्दै जानु भयो त्यतित्यति उहाँ सिर्जना कर्मबाट भाग्दै जानु भयो ।

०६०/०६१ सालबाट रोकिएको उहाँको साहित्य लेखनको यात्रा, करिब-करिब १० वर्षसम्म त्यो स्थिर रह्यो । एउटा सर्जक विश्वको जुन कुनामा पुगे पनि, जस्तो अवस्थामा रहे पनि, लेखिने विषयबस्तुहरू फरक परे पनि आखिर लेख्नकै लागि त त्यस्तो ठूलो समस्या नहुनु पर्ने हो, होइन र ? भन्ने मेरो सवालमा कवि परियार भन्नुहुन्छ, “यो १० वर्ष मेरो पारिवारिक पृष्ठभूमि अलिक असहज भयो । जो मैले चाहेर पनि बाहिर भन्न सक्दिनँ । जो मैले नचाहेर पनि भन्न मन लाग्दैन । यो १० वर्षको समयमा मैले विशेष अनुभव गरेँ । नेपालको जागिरको अनुभव छ । आफ्नो व्यवसायको अनुभव छ । पढ्न चाहेर पनि पढ्न नसकेका केही अप्ठ्यारा कुराहरू छन् । यिनै-यिनै कुराहरूमा मेरा ती वर्षहरू बिते” ।

विदेश यात्रालाई बिट मारेर नेपाल आइसकेपछि वि.सं. २०७१ सालबाट भने रोकिएको उहाँको साहित्य लेखनले फेरि जुर्मुराउने मौका पायो । कुरा थियो ०७१ सालको फागुन ३० गते । जुन दिन “साहित्य विज्ञान प्रतिष्ठान” ले काठमाडौँमा अधिराज्यव्यापी खुल्ला कविता प्रतियोगिता आयोजना गरेको थियो । यो कुरा उहाँले मदन पुरस्कार बिजेता साहित्यकार झमक कुमारी घिमिरेको फेसबुक वालबाट थाहा पाउनु भएको थियो । जतिबेला उहाँले भर्खर-भर्खर फेसबुक चलाउन थाल्नुभएको थियो । उहाँ बसेको स्थानमा त्यो बेला सञ्चारको त्यति धेरै सुविधा नभइसकेकोले गर्दा उहाँले हातैले लेखेको कविता अर्को कसैलाई मेलमार्फत पठाउन लगाउनु भएको थियो । आयोजकलाई प्राप्त ३ सय ५१ ओटा कवितामध्ये उहाँको “तिम्री आमा” शीर्षकको कविता उत्कृष्ट २५ मा पर्न सफल भएको थियो । उत्कृष्ट २५ मा पर्ने सबै कविहरूलाई कविता वाचनका लागि काठमाडौँ बोलाइएको थियो । वाचनपछि उहाँको कविता उत्कृष्ट ५ मा पर्न सफल पनि भयो । कवि पूर्णविराम संयोजक रहेको निर्णायक टिमले ५ ओटै कवितालाई विजेताको रूपमा घोषणा गर्यो र पुरस्कार दियो । त्यहाँ प्रथम, दोस्रो भन्ने थिएन । कवि परियारसहित अर्घाखाँचीका कवि असीम सागर, गोरखाका कवि वसन्त बाराकोटी, काठमाडौँकी कवि प्रतिमा ज्ञावली र काभ्रेपलान्चोककी कवि गीत त्रिपाठी पनि उत्कृष्ट पाँचमा पर्न सफल हुनुभएको थियो । प्रतियोगितामा विजेता बनेसँगै त्यसले कवि परियारमा फेरि एक पटक उर्जा थपिदियो जसले गर्दा विगत एक दशकदेखि रोकिएको उहाँको लेखन यात्राले निरन्तरता पायो ।

त्यतिबेलासम्म उहाँमा कविताको विषयमा त्यतिधेरै अध्ययन पनि थिएन । कविता कसरी लेखिन्छ र लेख्नु पर्छ भन्ने कुराको ज्ञान पनि थिएन । मनमा आएका उकुसमुकुस भाव र विचार जो विगत १० वर्षदेखि मनमा गडेर बसेका थिए, तिनै कुराहरूलाई सरसर्ती लेख्दै जानु भयो कविताको नाम दिएर । आफूले लेखिरहेको कुरा कविता भयो कि भएन भन्ने कुराको हेक्कासमेत नराखी केवल लेख्ने काम मात्र भइरह्यो जसरी भोकले आत्तिएको मान्छेले खाना भेट्दा केही नसोची कपाकप खाए जस्तै गरी ।

यसरी एउटा कविता प्रतियोगिताले उहाँको जीवनलाई फेरि नयाँ मोडमा हिँडाइदियो । पहिले पनि प्रतियोगिताका लागि कविता लेखेर साहित्य लेखनको यात्रा सुरु गर्नुभएका कवि परियारले रोकिएको आफ्नो साहित्यिक यात्रालाई फेरि प्रतियोगिताकै लागि कविता लेखेर पुन: सुरु गर्नुलाई एउटा मीठो संयोग मान्न सकिन्छ । त्यसपछि एक वर्षको अन्तरालमा यति तीव्र गतिमा कविता लेखिए कि ०७३ सालमा त उहाँको पहिलो कविता कृति “सियोको दुरबिन” प्रकाशित हुन पुग्यो । लेख्न थालेको एकै वर्षमा सङ्ग्रह बाहिर ल्याउनु चानचुने कुरा पक्कै पनि नहुन सक्छ । सङ्ग्रह प्रकाशित भएर बजारमा आइसकेपछि भने कवि परियारलाई सङ्ग्रह निकाल्न अलिक हतार गरियो कि भन्ने चाहिँ लाग्दो रहेछ । हतारमा निकालिएकोले आफ्नो सङ्ग्रहभित्र थुप्रै कमिकमजोरीहरू रहेको उहाँ स्वीकार गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “मलाई आज पनि मेरो आजको कवितासँग तुलना गरेर साथीहरूले हिजो लेखिएका कविताहरूको सङ्ग्रह “सियोको दुरबिन” मागिरहनु भएको छ । मैले साथीहरूलाई बिनम्रताका साथ भन्दै आएको छु कि मेरो कविता सङ्ग्रह पढ्ने समय कुनै अर्को बलियो किताबलाई दिनोस् । कुनै अर्को राम्रो किताब पढ्नोस् । मेरो त्यो कविता सङ्ग्रह पढ्न लायक कृति होइन । यो म आफैँले स्वीकार गरेको कुरा हो” । यति स्पष्ट रूपमा आफ्नो कमजोरी स्वीकार गर्न सक्ने कविहरू नेपाली साहित्यमा कति होलान ?

 

पछिल्लो समय लेखिएका “The My”, “म स्वास्नी”, “सिक्का र नोट” जस्ता कविताहरू उहाँका मास्टरपिस कविता हुन । जसले परियारलाई नेपाली साहित्यमा कविको परिचय बनाउन मद्दत गरेका छन् । यीलगायत अन्य कविताका कारण उहाँले पाठकहरूको माया पाइरहनु भएको छ । यही मायाले गर्दा अहिले भने उहाँ कविता लेखनबाट भाग्न पाउनु भएको छैन जसरी पहिले भाग्नु भएको थियो । उहाँ आफूलाई एउटा स्वीकार भाव र हारको सिद्धान्तमा बाँचेको मान्छे हो भन्न रुचाउनु हुन्छ । कसैले जित्न चाहन्छ भने उसले जितोस् । उसले जितेको हेरेर मैले खुसी हुन पाऊँ। उहाँलाई यस्तो लाग्छ, “उसको जितसँगै उसँग जोडिएका हरेक मान्छे उसको जितमा खुसी हुन्छन” । आफू हारे पनि अरूको जितमा खुसी मनाउन सक्ने उहाँ दाबी गर्नुहुन्छ ।

हाल धनकुटाको पाख्रिबास नगरपालिका वडा नं – ४ , बीच बजारमा बसेर टेलरिङ व्यवसायसँगै साहित्य लेखनमा सक्रिय युवा कवि परियारलाई मोफसलमा बसेर नेपाली मूलधारको साहित्यमा स्थापित हुन कत्तिको गाह्रो हुँदो रैछ त ? भनेर प्रश्न गर्दा मुक्सुराउँदै जवाफ दिनुहुन्छ, “यो त बहुत खतरा प्रश्न हो मेरा लागि । कृपया मलाई माफ गरिदिनु होला म अझै पनि कवि बनिसकेको अवस्था होइन । म सिकिरहेको नै छु र म बाँचेको समयलाई जबसम्म मेरा आँखाहरूले भोगिरहने छन् , तबसम्म अभ्यास गरिरहनेछु” ।

कविताका अलवा गीत र गजलमा पनि कलम चलाउने परियार नृत्यमा पनि उत्तिकै रुचि राख्नु हुन्छ । जबजब उहाँलाई पीडाहरूले आहात बनाउँछन् तब उहाँ परिवारको साथमा नाचगानमा रमाउनु हुन्छ । उहाँले नाचेका केही भिडियोहरू उहाँको आफ्नै यूट्युब च्यानल “रोपनी” मा देख्न सकिन्छ ।

आफ्नो जातीय पहिचान र उत्पीडनका कुराहरू कवितामा लेखिनु पर्छ, रोशनले लेख्ने कविताहरू सियोको टुप्पोबाट आउनु पर्छ, मेशिन र धागोहरूबाट आउनु पर्छ, कपडा सिउँदै गर्दा सियो र मेशिनले भोगेका दुखहरू कवितामा अटाउनु पर्छ, लुगा सिउने हात र सिएको लुगा लगाउने जिउबीचको सामाजिक खाडलका बारेमा कविता लेखिनु पर्छ भन्ने कतिपय साथीभाइ र समीक्षकहरूको भनाइप्रति कवि परियार थोरै असहमति जनाउनु हुन्छ । त्यसो त ती कुराहरू उहाँको कवितामा नआएको भने पक्कै होइन । तर पूर्णरूपमा त्यसैमा मात्रै टेकेर अथवा भनौँ त्यसैमा मात्रै सिमित रहेर लेखिनु पर्छ भन्ने उहाँलाई लाग्दैन । जातिगतभन्दा माथि उठेर लेखिनु पर्छ भन्ने उहाँको बुझाइ छ । “यो देश मेरो पनि हो । मैले पनि देशको कविता लेख्न पाउनु पर्छ । फूलको कविता मैले पनि लेख्न पाउनु पर्छ । अरुले जस्तै मैले पनि हिमाल र गुराँसको बयान गरेर कविता लेख्न पाउनु पर्छ । यो माटोमा मेरो पनि उत्तिकै हक लाग्छ । मैले पनि यो माटोको कविता लेख्न पाउनु पर्छ”, उहाँ भन्नुहुन्छ ।

आफ्ना कवितामा “वाहा !” भन्ने मात्रै नभई आफ्नो कान निमोठ्ने पाठकको पनि आवश्यक रहेको बताउनु हुन्छ । कविताका कमिकमजोरीहरू बताइदिँदा त्यो कुराले उहाँलाई सबैभन्दा धेरै उत्साही बनाउँदो रहेछ पनि । स्वस्थ आलोचनाले लेखनमा अभ्यास र साधना गर्न ठूलो प्रेरणा मिल्ने उहाँको अनुभव छ । अहिलेसम्म कविता लेखेर त्यस्तो खास सन्तुष्टि प्राप्त भर्इ नसकेकोले कसरी राम्रा कविता लेख्न सकिन्छ भन्नेमै उहाँको ध्यान केन्द्रित भइरहेको रहन्छ ।

“सगरमाथा साहित्य प्रतिष्ठान” र “साहित्यपोस्ट” को फेसबुक पेज तथा यूट्युब च्यानल “ए एस इन्टरटेन्मेन्ट” मार्फत हरेक शनिबार नेपाली समय साँझ ८ बजे प्रसारण हुँदै आएको कार्यक्रम ” स्रष्टा र सिर्जना” मा गरिएको कुराकानीमा आधारित ।