महेश जेल पर्नु कुनै नौलो कुरो होइन । यस्ता कति महेश नेपाली जेल परे परे झुठा बाहनामा । महेशहरू कहिले आफ्नै जिन्दगी ताल मिलाउँदा मिलाउँदै , आफैँदेखि रिस उठेर आफ्नै बोली सुन्न मन नभएको बेला कसैको बोली नसुनेझैँ गरेको आरोपमा जेल चलान भए होलान् ।

कति त आफ्नो दिनभरिको पसिनाको हिसाब माग्न बेलुका मालिकको आँगन टेकेको निहुँमा जेल पुगे होलान् ।
धन्न आफैँले एक दुई मुक्का हाने होलान् । ठिगुरो बानेर आफैँले त ढलाएनन् । ज्यान त लिएनन् । यो काम पुलिसलाई दिएका छन् । देशमा लोकतन्त्र छ भन्ने आभास दिने यहीँ एउटा कुरा त छ ? अचेल अन्याय कानुनलाई अह्राउँछ । महेश नेपाली जेलमा छ ।

भो छोडिदिउ राजेश दाइ यस्ता कुरा के कुरा गर्नु र खै ? आधा साथी खोलाले बगायो, आधा साथी भीरबाट लडिमरे ।

राजेश दाइ, तपाईँसँग खिचेको फोटो देखाउँदै मैले फिरुलाई भने – “हेर त मेरो भेट, राजेश हमालसँग भयो ?”

त्यसले बडो बेवास्तासँग भन्यो – “मैले अस्ति फेसबुकमा देख्या थेँ ।”

मेरो मन मर्यो । मा कसम राजेश दाइ । फिरुदेखि । फिसबुकदेखि । यो डिजिटल दुनियाँमा खुशीको आयु छोटो हुँदै गएको छ । हत्तपत्ती फोटो किन हाल्नु पर्थो मैले फेसबुकमा ?

थाहा छ राजेश दाइ, म तपाईँको खत्रै फ्यान थिएँ । कतिसम्म भने कसैले तपाईँलाई राक्षस हमाल भन्यो भने त्यस दिनदेखि त्यसो भन्ने मान्छे मेरा लागि राक्षस बन्यो ।

एमपी केयरलेस

यदि कसैले राजेश त कालो छ भन्यो भने त्यो मान्छेले म हाँसेको मुहार धेरै दिनसम्म देख्न पाउँथेन, विचरा ।

आमा भन्नुहुन्छ राजेश दाइ – “त बच्चा छँदा हाँस्दा हाँस्दै लड्थिस् र पनि हाँसिरहेकै हुन्थिस् । त हाँसेको देखेर तेरा वरिपरि बसेका सबै हाँस्न थाल्थे ।” लौ भन्नू त राजेश दाइ, त्यस्तो हाँसो देख्न नपाउनु बडो दुखलाग्दो कुरा होइन र ?

के गर्नु ? अचेल आफू त्यही हाँसो खोजी बस्छु । राजेश दाइ, यो जिन्दगीमा पाउनु पर्ने कुरा सब अगाडि नै हुन्छन् भन्ने रैनछ । केही कुरा पछाडि छुटिजाँदो रहेछ ।

मेरो हासो छुट्यो नि राजेश दाइ ।

मरेको मान्छे पनि त हाँस्दैनन् नि है राजेश दाइ ! समूहमा बसेर धेरै हाँस्ने त गुण्डा हुन् राजेश दाइ । यो कुरा मैले तपाईँकै फिल्म हेरेर थाहा पाएको हुँ । त्यसैले हाँसेर म गुण्डा बन्न सक्दिनँ । गुण्डाले हाँसेको सम्झेर नै मैले हाँस्न बिर्सिदिएछु ।

मैले बिर्सेको छैन नि राजेश दाइ, हिरोको भागमा सुख अन्त्तिममा हुन्छ । खास जीवन बढीमा तीन घण्टाको मात्रै हुने भैदिएको भए तपाईंभित्रको हिरोले झैँ हामीले पनि हाँस्न पाउँथ्याैँ कि ?

तर राजेश दाइ, तपाईंले मेलामा तरुनीसँग मस्कीमस्की नाचेको गीतले त हो नि मभित्र डाँफे जन्माएको । यस्तो कुनै शुक्रबार थिएन होला जहाँ मैले नगुन्गुनाई बसेको – “ए बिजुलीकाे तार तार, फुर्सद भए हे माया भेटौँ शनिबार ।”

राजेश दाइ, त्यो बेला स्वर जसको सुकै होस, त्यो तपाईंकै लाग्थ्यो । शनिबार तपाईंकै हो ।

अनि राजेश दाइ, म एउटा कुरामा साह्रै कन्फियुज्ड छु । समाजमा भएका कुनै गुण्डाले केटीलाई बलात्कार गरेपछि फिल्मका गुण्डाले त्यो शैली सिकेका हुन् कि फिल्मको गुण्डाको शैली देखेर समाजका गुण्डाले सिकेका हुन ?

के तपाईँलाई थाहा छ ?

अचेल बलात्कारका कुरा बारम्बार सुनिइरहन्छन् ।

हेर्नु त, त्यो हिरोनीको इज्जत राजेश दाइ, धन्न ! तपाईं ट्यायमा नपुगेको भए ? तर राजेश दाइ, हामीले हाम्रो जीवनमा पनि त्यस्तै हिरोनी खोजिरहेका रहेछौँ ।

राम्री, सलक्क कपाल, लचक्क कम्मर, पिपलपाते ओठ र कमजोर । हामीले पनि त पाउनु पर्थ्यो बचाउन आफ्नी हिरोइनलाई । टुटोस् उसको घमण्ड र हामीलाई प्रेम गर्न थालोस् । अनि राजेश दाइ, हस्तकला मिससँग माथिका सबै कुरा थिए तर उनका बुवाआमासँग दाइजो दिने पैसै थिएन ।

थाहा छ राजेश दाइ, प्रेमिकाको ठिक बलात्कार हुनेबेला पुग्न चाहन्छन् प्रेमी । प्रेमी किन प्रेम जितेरै लिन चाहन्छ ? किन उसलाई लाग्दै लाग्दैन, प्रेम प्राप्त हुने चिज हो ? राजेश दाइ, प्रेम जित्ने नसक्दा रोएको छु मैँ पनि । ठिक गुण्डा भएँ म पनि । अहो, मेरो गुण्डागर्दी । राजेश दाइ, हिरोको फ्यानको आचरण गुण्डाको जस्तो कसरी हुन सक्छ ?

राजेश दाइ, मलाई यो पनि थाहा थिएन परदेश लागेका सबै फर्किदैनन् भनेर । गाउँ नै पाउँदैनन् धेरैले – “यो गाउँको ठिटो म कान्छा मेरो नाम ।” राजेश दाइ,, दाने दाइ बर्षौँपछि आफ्ना बा मरेको दिन मात्रै आफ्नो घर फर्के त्यही पनि रुँदै । ह्याप्पी इन्डिङ मैले त भेटिनँ गाउँमा ।

हस्तकला मिसले यी सब कुरा बुझिनछन् राजेश दाइ । उनले आत्महत्या गरेकी थिइन् म कुमाल गाँउबाट सहर पुग्दा । दाइजोको पासो लागेको थियो उनको डियरवाक सिफल स्कुल घाँटीमा । पासो प्रेमीको मुटुमा बाधिएको थियो राजेश दाइ । आत्महत्या गर्नेहरूलाई उचाइले मार्ने रैनछ । मनबाटै झरेर मरिन् हस्तकला मिस पनि । कति नै हुन्छ र मनको उचाई राजेश दाइ ।

बचाउन न तपाईंले सक्नु भयो न मैले ।