दिनेश अधिकारी वि.सं. २०३६ सालपछि चर्चामा आएका हुन् । उनका कविता दीपिकाका सम्पादक हरिशङ्कर अमात्यले प्रत्यक्ष नचिने पनि लगातारजस्तो प्रकाशित गरिदिएका थिए । त्यसले उनलाई राम्रै ब्रेक दिएको थियो । नत्र हरेकजसो अङ्कमा नयाँ लेखकले ठाउँ पाउन त्यति सहज थिएन, व्यक्तिगत चिनाजानी नहुँदा ।

त्यसपछि दिनेशले प्रतियोगिताहरूमा पनि पुरस्कार हात पार्न थाले । यसले उनलाई कविको चिनारी अघि बढाउन थप सहयोग गर्यो । दीपिका पत्रिकाले नै आयोजना गरेको उपत्यकाव्यापी अन्तर क्याम्पस कविता प्रतियोगितामा उनी प्रथम भएका थिए, त्यतिबेला म दीपिकाको सम्पादन परिवारमा आबद्ध भैसकेको थिएँ । पद्मकन्या क्याम्पसको कक्षा कोठामा आयोजना गरिएको सो प्रतियोगिताको कविता मूल्याङ्कनकर्तामा कवि वासु शशी, अच्युतरमण अधिकारी लगायत थिए । कार्यक्रम सञ्चालक म थिएँ ।

दिनेशले अरू पनि कैयन् प्रतियोगितामा कुनै न कुनै पुरस्कार प्राप्त गरे, एकेडेमीको कविता महोत्सवमा सहित । उनको कविताको पुछारमा अरिऔन सर्लाही, हाल काठमाडौं लेखिएको हुन्थ्यो । त्यसो त अशेष मल्ल धनकुटा, हाल काठमाडौं, गगन विरही सिन्धुपाल्चोक, हाल काठमाडौं, म आफैं हेटौंडा, हाल काठमाडौं लेख्थें । यो एक प्रकारको चलन चल्तीको फेसनजस्तै थियो । अझ कुनै विशेष कार्यक्रममा सबै काठमाडौंबाट सहभागी भए पनि धेरै जिल्लाको प्रतिनिधित्व गराउन त्यसरी उल्लेख गर्ने गरिन्थ्यो ।

त्यति नै बेला जागरुक हामी केही तन्देरीहरूले युसास अर्थात् युवा साहित्य समाज नामक संस्थाको थालनी गरेका थियौं । युसासमा मलगायत, अवि राई, जीवन आचार्य, दिनेश सत्याल लगायत थियौं । युसासले जीवन आचार्यको पहिलो कला प्रदर्शनी नेपाल भारत सांस्कृतिक केन्द्रमा गरेको थियो । अनि त्यही युसासले दिनेश अधिकारीको पहिलो कविता सङ्ग्रह “अन्तरका छिटाहरू” प्रकाशन गरेको थियो ।

त्यो कविता सङ्ग्रह प्रकाशनपछि सबैभन्दा प्रताडित म थिएँ भन्ने कुरा दिनेश अधिकारीलाई शायद आजसम्म थाहा छैन होला ।

म दीपज्योति पत्रिकाको वैतनिक सम्पादक हुँदा पाटनको एउटा प्रेस चिनेको थिएँ । दीपज्योति त्यहीं छापिन्थ्यो । मैले त्यो प्रेसमा ध्रुव मधिकर्मीलाई लगेर चिनाइ दिएको थिएँ र उनले र रत्न कोजूले “आरोहण” पत्रिका प्रकाशन गरेका थिए । प्रेसवालासँग मेरो राम्रो चिनारी स्थापित भएको थियो । अतः दिनेश अधिकारीको किताब प्रकाशनका लागि प्रेसको जिम्मा मैले लिएँ । किताब छापियो । विमोचन भयो । चर्चा भयो । तर प्रेसलाई दिन हामीसित पैसा थिएन । थोरै पैसा जुटाएर शुरुमा भुक्तानी गरिएको थियो । बिक्ने त कुरै थिएन । त्यसमाथि कविताको किताब ।

दिनेश अधिकारीका साथमा गोविन्द गिरी प्रेरणा

किताबको मोल पाँच रुपैयाँ थियो । दिनेश सत्यालले भारतीय राजदूतावासमा १०० प्रति के कसो मान्छे लगाएर विक्री गरे र ५०० को चेक लिएर आए, र मलाई दिए । मैले त्यो चेक सिधै प्रेसलाई लगेर दिएँ । तर प्रेसलाई आधा पनि भूक्तानी भएको थिएन ।  सबै साथीहरूले पैसा जुटाउन नसक्ने भनेर हात उठाइरहेका थिए । प्रेसको जिम्मा लिएको मलाई पर्नुसम्म सकस भयो । प्रेसवालाले भेट्ला भनेर मलाई भागी भागी हिंड्नु पर्ने अवस्था आयो । भेट्यो कि बाँकी पैसा मागिहाल्थ्यो । एक पल्ट त पाटन ढोकाको बसमा प्रेसवाला र म एकैचोटि चढेछौं । तिनले मलाई देखेनन् तर मैले देखिहालें र मुन्टो फर्काएँ । म निकै भयग्रस्त भएर मुन्टो बटारेको बटार्यै रत्नपार्क पुगें । धन्न तिनले देखेनन्, नत्र तिनले मेरो कठालो समातेर बेइज्जत गर्ने निश्चित थियो ।

त्यसरी भागी भागी त्यो प्रेसको उधारो धर्मखातामा चढाइयो ।  सामूहिक कामको लागि मैले बेहोर्नु परेको बडो नमज्जापूर्ण सकस थियो त्यो । र त्यसको कारण थियो “अन्तरका छिटाहरू” कविता सङ्ग्रह जसका लेखक थिए दिनेश अधिकारी ।

अन्तरका छिटाहरूको प्रकाशनपछि दिनेशको लेखनको रफ्तार बढ्यो । उनले “इन्द्र जात्रा” काव्य लेखे र क्षेत्रप्रताप अधिकारीको हातमा सुम्पिए । क्षेत्रप्रतापलाई “चिप्लोम्यासी” मा पोख्त मान्थे धेरैले । उनले त्यस्तै भाषामा भने, “लौ बडो राम्रो । तन्नेरी कविहरूलाई साझा प्रकाशनले अघि बढाउने हो । तर प्रकृयामा पठाउनु पर्छ ।“

दिनेशको ईन्द्रजात्रा काव्य प्रक्रियामा गयो । तर को जाँचकी परे कुन्नि, उनको किताब अस्वीकृत भयो । त्यो अस्वीकृत भएको कुरा गाईगुईं थाहा भैहाल्यो । तर दिनेशले हिम्मत हारेनन्, उनले सम्भवत अलिकति परिमार्जन वा पुनर्लेखन पनि गरे कि ! त्यसपछि फेरि उनले साझा प्रकाशनमै पेश गरे । योपल्ट उनको काव्य स्वीकृत भयो । स्वीकृत मात्र भएन, प्रकाशित भएपछि त्यो वर्षको अर्थात् २०५१ सालको साझा पुरस्कार समेत पायो ।

दिनेशको लेखन यात्राको सुरुवाती दिनहरूमा कविता नै उनको प्रमुख विधा रह्यो । प्रायः पत्रपत्रिकामा उनका कविता नै देखा पर्ने गर्थे तर उनले लेखनका ती सुरुवाती दिनहरूमा कथा पनि लेख्थे । मेरो सम्पर्कका केही पत्रिकाहरूमा प्रकाशित कथाहरूको मलाई सधैँ सम्झना हुन्छ । तर पछि उनलाई कवितामा जस्तो कथामा जम्न नसकेको अनुभव भयो वा कथा मेरो लागि उपयुक्त विधा होइन भन्ने लाग्यो र कथा लेखनलाई चटक्कै छाडिदिए ।

कथा विधा छाडे, तर उनी गीतमा आकर्षित भए । मलाई लाग्छ उनको गीत लेखनको प्रारम्भिक यात्रामा संगीत क्षेत्रका राम थापाको विशेष योगदान रह्यो । गीति क्षेत्रमा राम थापाले नै स्थापित गर्ने काम गरे । उनको पहिलो गीत “विश्वास ए थाकी नजा ..” रामथापाको संगीतमा मीरा राणाको स्वरमा २०३९ सालमा रेकर्डिङ भएको थियो ।  तर जब उनको यौटा गीत “ तिमी जुन रहरले …” वि.सं. २०४१ सालमा नारायण गोपालको आवाजमा रेकर्ड भयो, त्यसपछि उनले गीति क्षेत्रमा सम्भावनाको यौटा नयाँ आकाश, यौटा नयाँ क्षितिज फेला पारे । नारायण गोपालले गाएको दोश्रो गीत “ यो सम्झने मन छ, म बिर्सूं कसरी, तिमी नै भनिदेऊ ए जाने निठूरी…” त अति लोकप्रिय भयो । उनलाई यो गीतले निकै उचाइमा पुर्यायो । उनको गीति लेखन तीव्र भयो । एल्बमहरू निस्किए । चलचित्रहरूमा उनको गीतको माग बढ्न थाल्यो । एकपल्ट त उनी सर्वाधिक चर्चित गीतकार भए सिनेमाका लागि । त्यतिबेला सिनेमाको बाढी पनि आएको थियो नेपालमा ।

दिनेश अधिकारी र मैले सडक कविता क्रान्तिमा र अन्य मञ्चहरूमा सँगै कविता मात्र वाचन गरेनौं, सँगै नाटकमा समेत अभिनय गर्यौं । अशेष मल्ललाई नाटककारको रूपमा प्रख्यात बनाउने “सडकदेखि सडकसम्म” नाटकमा दिनेश र मैले एकसाथ अभिनय गरेका थियौं । कलेजका विद्यार्थीहरूको रोल थियो हाम्रो, बस स्टपमा कुरा गर्दै गरेको । हामीले सँगै रिहर्सल गर्यौं र नाटक महोत्सवमा समेत भाग लियौं । सडकदेखि सडकसम्मको पछि केही व्यावसायिक प्रदर्शन पनि भएको थियो, राष्ट्रिय नाचघरमा । त्यतिबेला पनि हामीले साथै अभिनय गर्यौं , तर म नाटकमा जम्न सकिनँ । दिनेश पनि जम्न सकेनन् । हामी दुवै अभिनयबाट टाढियौं तर सर्वनामको औपचारिक स्थापनाको पछिसम्म पनि दिनेश साथै रहे अभिनय नगरे पनि ।

कविताका पाठकहरूले दिनेशको “धर्तीको गीत” निकै रुचाए । तर “इन्द्रजात्रा” काव्यले साझा पुरस्कार पायो । ‘अतिरिक्त अभिलेख” ले मदन पुरस्कार पायो । पुरस्कार पाउने मामलामा दिनेश भाग्यमानी हुन् । उनले सानातिना प्रतियोगितादेखि मदन पुरस्कारसम्म पाए । त्यसैले दिनेशलाई कतिले पुरस्कारकै लागि जन्मिएको भन्थे । कति भने दिनेशले कुनै पनि पुरस्कार लिएरै छाड्छ समेत भन्थे । तर दिनेश कविता विधाका समर्थ सर्जक र काव्य विधाका निष्ठावान प्रतिभा हुन् । पुरस्कार उनको सिर्जनाले कमाएको हो । उनको लेखनमा निष्ठा नभएको भए, निरन्तरता नभएको भए, स्तरमा उच्चता नभएको भए, त्यति धेरै पुरस्कारको हकदार बन्न सक्दैनथे ।

वि.सं. २०४१ सालमा यौटा कविताको क्यासेट निकालियो “कविताको मौसम” । त्यतिखेर यो नौलो प्रयोग थियो एक प्रकारले । यस क्यासेटमा ४ कविका कविता थिए, जसमध्ये एक कवि थिए, दिनेश पनि । अरू ३ कवि थिए गगन विरही, अशेष मल्ल र विष्णुविभु घिमिरे । यी चार कविको समूह यो कविताको क्यासेटमा मात्र सीमित रहेन । उनीहरूले यौटा लामो कविता संयुक्त रूपमा लेखे त्यसैताक तर लामो समयसम्म त्यो दिनेशको फाइलमा रहिरह्यो र वि.सं. २०५७ साल भदौको मधुपर्कमा प्रकाशित भयो । यसले पुस्तकाकार लिन पुनः वि.सं. २०७२ सालसम्म कुर्नुपर्यो । यो कविता मधुपर्कमा प्रकाशित हुन दिनेशको भूमिका रहेको थियो भने पुस्तकाकारमा आउन गगन विरहीको भूमिका रहेको थियो । गगन विरही लामो समय अमेरिका बसेर नेपाल फर्किएपछि यो पुस्तकको प्रकाशन भएको थियो ।

कानून पढेका दिनेशले आफ्नो जीवन सरकारी सेवामा बिताए । मदन पुरस्कार पाउँदा उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । उनले जागिरको कारण साहित्य लेख्न सकस परेको गनगन गरेको सुनिएन । उनले कलात्मक जलप लाएर साहित्य लेखन गरेकाले सरकारी सेवामा रहँदा पनि आफ्नो सिर्जनशिलतालाई कमजोर हुन दिएनन् ।

सन् १९९० को दशकमा उच्च अध्ययनका लागि उनी रुस पुगेका थिए । त्यो समय भनेको रुसमा पेरेस्त्रोइका आइसकेको थियो । ग्लासनोस्त आइसकेको थियो र सोभियत रुस बिघटनको संघारमा थियो । आर्थिक अवस्था डावाँडोल हुँदै गएपछि दिनेशले रुसको पढाइलाई लात मारेर नेपाल फर्कन वाध्य भए । तर रुस बसाइको क्रममा जीवा लामिछानेसँग उनको राम्रो सम्बन्धको विकास भयो । त्यो सम्बन्ध उनको साहित्यिक पक्षलाई हितकारी भयो । जीवा लामिछानेले उनको “आफ्नै रहरः आफ्नै आँगन” गीत सङ्ग्रह प्रकाशन गरिदिए, वि.सं. २०५४ सालमा । त्यसै गरी जीवा लामिछानेको प्रकाशनमा निस्केको “सेलेक्टेड नेपालओ पोयम्स”, सेलेक्टेड नेपी लिरिकल पोयम्स” तथा “सेलेक्टेड नेपाली एस्सेज” को प्रकाशनका लागि पनि उनले संयोजनकारी भूमिका निर्वाह गरे ।

उनले पाएका पुरस्कार र सम्मानहरूको फेहरिस्त लामो छ । कविता र गीतका कृतिहरूको  सूची   पनि लामै मान्नुपर्छ । गीतका एल्वम पनि प्रसस्त भए, डिजिटल युग आउनुअघि ।

उनले जागिरबाट अवकास पाएपछि देश र विदेशमा पनि कविता वाचनको कार्यक्रममा सामेल भए । उनी अमेरिका पनि आएका थिए । कविता पढ्न उनी कोरिया पुगे । अष्ट्रेलिया पुगे, न्यूजिल्याण्ड पुगे ।  अमेरिकामा पनि काव्य वाचनको सिलसिला कायम राखे । भारत त छिमेकी र निकटतम मुलुक भैहाल्यो । उनको एउटा कविता सङ्ग्रह भारतको प्रख्यात प्रकाशक राजकमल प्रकाशनबाट प्रकाशित भयो ।

पछिल्लो बेला उनले तस्वीरको कथा नामक पुस्तक प्रकाशन गरे । उनको एल्बममा भएका फोटोहरुलाई तत्कालिन सन्दर्भ जोडेर संस्मरणात्मक आलेख सहित प्रकाशित यो पुस्तक एक प्रकारले संस्मरणात्मक कृति हो तस्वीर सहितको । तस्वीरले सम्झाएको स्मृति आलेख हरेक फोटोमा भएकोले एकसाथ यो पुस्तक आँखालाई पनि हो, मन मस्तिष्कलाई पनि हो । यस प्रकारको यो नौलो पुस्तक हो नेपालको सन्दर्भमा ।

दिनेशको यौटा कविता कान्तिपुरमा प्रकाशित भएको थियो, त्यो कविता मेरो कवितासँग मिल्दोजुल्दो अनुभव गरें र त्यसको तिखो प्रतिकृया लेखें । मैले आवेशमा लेखें, शायद नलेखेको भए पनि ठूलो हानी नोक्सानी हुने कुरा त थिएन । मूडको कुरा थियो, लेखें । उनले पनि त्यसको प्रत्युत्तर दिए । यसले हामीबीच अलिक चिसोपना त भयो नै । शायद यस्तो चिसोपन लामो हुनुहुन्न भनेर हाम्रा मनले ठहर गरे कि ! मित्रता निरन्तर रह्यो । भेटघाट, कुराकानी, फोन निरन्तर रह्यो । उनको हिप प्रत्यारोपण पछि किशोर पहाडी, सुनिल पुरी र म उनलाई भेट्न उनको घर बत्तीस पुतली पहिलोपल्ट गएको थिएँ । त्यतिबेला मलाई महशूस भयो, मित्रताको डोरी चुँडिएको रहेनछ, आत्मीयता दुवैमा रहेछ । सँगै चिया पिएर लामै गफगाफ भयो र शीघ्र स्वास्थ्यलाभको कामना गर्यौं । उनले हिप प्रत्यारोपणको अनुभव सुनाए ।

दिनेशले उमेरको हद पुगेपछि  जागिरे जीवनबाट अवकास पाए । तर सरकारी जागिर खाएको बेलाको एक निर्णय उनको कोखाको घाउको रूपमा बल्झिरहेको देख्दा उनका निकटतम् मित्रहरू असजिलो अनुभव गर्छन् । जागिरबाट अवकास लिए पनि त्यो कोखाको घाउ भने अवकास नलिएर बेलाबेलामा बल्झिरहेको देखिन्छ । लेखनमा पनि आजकाल त्यति उत्साहजनक निरन्तरता देखिन्न ! कविताका पाठक र गीतका श्रोता त सधैं पर्खिरहेकै छन्, नयाँ कविताका लागि ! नयाँ गीतका लागि !