१. कोपिला

– सिद्धिचरण श्रेष्ठ

सिद्धिचरण श्रेष्ठ

म कोपिला होइन फूल रानी
चढदैछ बिस्तार ममा जवानी
न्दैछ मेरो रङ, रूप, बानी,
माटो र पानीहरूको कहानी

ई हवा भन्दछ सुस्त सुस्त
मज्जा छ संसार सखी बिछट्ट
छोएर मेरो तन घाम भन्छ
हाँसी खुली विश्व निहार्नुपर्छ

 राती चुही जून बनेर शीत,
मेरो सबै अङ्ग प्रत्यङ्ग धुन्छ,
चाँडै भई फूल म निस्कनेछु,
संसारलाई म सजाउनेछु

सुवासको धार बहाउनेछु,
सौन्दर्यको सार खन्याउनेछु,
फुल्नेछु, खुल्नेछु म ढक्कमक्क,
अपार आनन्द खन्याउनेछु ।

————–

नेपाली साहित्यमा युगकविका रूपमा सुपरिचित तथा प्रकृतिवादी एवम् प्रगतिवादी कविका रूपमा प्रतिष्ठित सिद्धिचरण श्रेष्ठ (वि.सं. १९६९–२०४९) नेपाली कविताको स्वच्छन्दतावादी–प्रगतिवादी धाराका सह–प्रवर्तक हुन् । उनका बालकवितामा राष्ट्रप्रेम तथा विश्वबन्धुत्वको भाव समेटिएको पाइन्छ; उनी आफ्ना बालकवितामा बालबालिकालाई मायालु बोलीमा नीति–चेतना र जागरणको सन्देश दिन्छन् अनि प्रकृतिलाई उपजीव्य बनाएर लेख्न पनि उत्तिकै रमाउँछन् । उनका बालकवितामा अनुकरणात्मक शब्दको रमाइलो प्रयोग भेटिन्छ भने शास्त्रीय, वर्णमात्रिक र मात्रिक तथा नेपाली लोकलयको साङ्गीतिक स्वाद समेत पाइन्छ । उपजाति छन्दमा रचित प्रस्तुत ‘कोपिला’ बालकवितामा फूल फुल्नुअघि कोपिलाले कुन-कुन चरण पार गरेर आएको हुन्छ र एउटा सुन्दर फूल फुल्नका लागि प्रकृतिमा रहेका हावा, पानी, माटो र घामसँग उसले कसरी साहचर्य गरेको हुन्छ भन्ने कुराको सुललित र सुन्दर वर्णन पाइन्छ । जसरी एउटा बालकले असल सङ्गत पाएर सुन्दर भविष्य निर्माण गर्न सकेको हुन्छ त्यसरी नै एउटा कोपिलाले पनि प्रकृतिका असल साथी सङ्गती र अभिभावक पाएर सुन्दर फूलका रूपमा विकसित हुन सकेको हुन्छ भने मिठो कल्पना कवितामा व्यक्त भएको पाइन्छ ।

************************************

२. यही माटोमा सुन फल्छ 

सुरेन्द्र देवकोटा 

सुरेन्द्र देवकोटा

आफ्नै हातले फलाएको मिठो हुन्छ नानी

हेर कति रहरलाग्दो टिप छानी-छानी

 

चिचिन्डा छन् घिरौँला छन् अझ धेरै लौका

तरकारीको अभाव हुन्न हाम्रो चुला-चौका

 

करेलीको अचार खाउँला झिनुवाको भात

घिरौँलाको तरकारी खाउँला साथ साथ

 

कर्कलाको गाभा खाउँला मूलधाराको पानी

कालो मासको दाल मीठो खाउँला जिम्बु झानी

 

माली गाईको दुध खाउँला नौनी, दही, घिउ

यस्तो खान पाएपछि लागिहाल्छ जिउ

 

अभाव हुन्न भए हाम्रा जाँगरिला हात

यही माटोमा सुन फल्छ पसिनाको साथ ।

—————————-

हाल सिरानचोक, गोरखामा स्थायी बसोबास गर्दै आएका कवि सुरेन्द्र देवकोटा (२०३६) ग्रामीण परिवेशलाई समेट्दै बिम्बात्मक र कलात्मक कविता रचना गर्न सक्ने खुबी भएका कवि हुन् । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका उनी  विगत १० वर्षदेखि शिक्षण पेशामा आबद्ध छन् । लिगलिग साहित्य समाजका अध्यक्ष समेत रहेका देवकोटाका अनुसार जीवनको सबैभन्दा इमान्दार परिभाषा बालापन हो । खासमा बालापनमा फर्कन मिल्ने भएभन्ने चाहना धेरैमा हुन्छ तर वस्तुतः त्यो सम्भव हुँदैन । त्यही असम्भव चाहनालाई म बाल कविता लेखेर मेट्ने प्रयत्न गर्छु भन्ने धारणा राख्ने देवकोटाका गजल तथा कविताका सङ्ग्रह प्रकाशित छन् ।  विभिन्न साहित्यिक पत्रिकाको सम्पादन गरेका कवि देवकोटाका प्रौढ कवितामा परिपक्वता र बालकवितामा बालसुलभता जस्ता वैशिष्ट्य भेटिन्छन् । उनको प्रस्तुत ‘यही माटोमा सुन फल्छ’ बालकवितामा श्रमप्रतिको श्रद्धा र कर्मप्रतिको विश्वासको भाव अभिव्यक्त भएको छ । गाउँघरका खेतबारीमा फलेका र आफ्नै हातले रोपेका सागपात र तरकारीहरूको स्वादको बखान गरिएको यस बालकवितामा गाईको दूध, दही र घिउजस्ता विशुद्ध स्वस्थकर र जैविक खाद्यको उपयोग गर्न, जाँगरिलो हुन अनि आफ्नै मातृभूमिमा श्रमको सिञ्चन गर्नसमेत बालपाठकलाई प्रेरित गरिएको छ ।

*****************************************

३. किताबका पाना

 – गङ्गा खड्का 

गङ्गा खड्का

किताबका पानामा अक्षरका ताँती

आहा ! कति  सुहाएका हेर प्यारा साथी

 

पल्टाउँदै हेर्छु मैले जब भित्र-भित्र

देख्न पाउँछु कोरिएका  राम्रा-राम्रा चित्र

 

कथा पढ्दा मजा आउँछ अघाउँदैन मन

कविताले रसै भर्छ खुसी पार्दै झन्

 

चुट्किलाले हँसाउँछ पेट मिच्ने गरी

अरू पनि सामग्री छन् यसमा थरिथरि

 

बालक, युवा, वृद्ध सबका किताब हो साथी

पुर्‍याउँछ यसैले नै सबैलाई माथि

 

केलाउनुपर्छ अक्षर-अक्षरका मर्म

अनि पो त बलियो हुन्छ हाम्रो कर्म

——————

शिक्षण पेशामा आबद्ध साहित्यकार गङ्गा खड्का (२०३७) नेपाली साहित्यका विविध विधामध्ये प्रायः लघुकथा विधामा कलम चलाउने नवोदित स्रष्टा हुन् । बूढानीलकण्ठ-१, काठमाडौँ निवासी खड्का साहित्यपोस्ट ई-पत्रिकाद्वारा आयोजित लघुकथा प्रतियोगितामा पुरस्कृत समेत भइसकेकी छन् । पछिल्लो समय नेपाली बालकविता लेखनका क्षेत्रमा समेत निरन्तर कलम चलाउँदै आएकी कवयित्री खड्काले प्रस्तुत ‘किताबका पाना’ बालकवितामा पुस्तकप्रेमी बालिका बनेर आफ्नो मनोभाव व्यक्त गरेकी छन् भने पुस्तकमा हुने बहुल विधाको जानकारी गराउँदै पुस्तक पढेर नै बालबालिकाले उन्नति गर्न सक्ने विचारलाई लयात्मक ढङ्गले अभिव्यक्त गरेकी छन् ।