वरिष्ठ साहित्यकार तथा चलचित्र क्षेत्रमा पनि उत्तिकै योगदान भएका चेतन कार्कीले राजेन्द्र शलभ र मलाई साथमा भेट्नेबित्तिकै उनी आफ्नो एउटा हिन्दी कविताको हरफ उच्चारण गरिहाल्दथे, जसमा प्रेरणा र शलभ दुबै शब्द प्रयोग भएको थियो । हामी खुसी भएर हाँस्दथ्यौं ।

लुरे गोविन्द र लम्बू शलभको बिचमा मित्रताको साइनो जुराउनेचाहिँ “दुबो” थियो । यो गोजीका पत्रिका थियो । यो पत्रिका मैले विराटनगरको पत्रिका पसलमा भेटेको थिएँ । त्रिभुवन विश्वविद्यालयको आन्तरिक लेखापरीक्षकको रूपमा देशव्यापी त्रिविका क्याम्पसको आन्तरिक लेखा परीक्षणको सिलसिलामा निस्कँदा कामपछिको समय कि त स्थानीय साहित्यकारहरूसँग भेटघाट गर्ने नभए किताब पसल चहार्ने र रुचिका पुस्तक र पत्रिका किन्ने मेरो स्वभाव थियो । “दुबो” गोजिकाको पहिलो अङ्क भेटेपछि किनेँ । पढेँ । अनि पछि राजेन्द्र शलभसँग भेट भयो र त्यो भेटपछि म दुबोको परिवार भएँ, सम्पादक मण्डलमा समावेश भएर ।

खासमा त्यतिवेला गोजिका पत्रिकाको लहर नै आएको थियो । हरिभक्त कटुवालले नेपालमै पहिलोपल्ट गोजिका “बान्की” निकालेपछि नेपाली साहित्यमा गोजिका पत्रिकाको थालनी भयो । पोखराबाट विजय बजिमयले “आँखीझ्याल” निकाल्थे । नेपालगञ्जबाट “नवरत्न” निस्कन्थ्यो । काठमाडौंबाट लव गाउँलेले “नागवेली” निकाल्थे । यसैक्रममा झापाबाट राजेन्द्र शलभले “दुबो” निकालेका थिए ।

नेपाली साहित्यमा हिन्दी साहित्यको प्रभाव त निश्चितरुपले अत्याधिक थियो नै । धर्मयुग, साप्ताहिक हिन्दुस्तान, कादम्विनी, सारिका, नवनीतलगायतका पत्रपत्रिकाको नेपाली बजारमा बोलबाला थियो । त्यसैबाट कति कुरा हामी सिक्दथ्यौं, कति कुरा फरक ढङ्गले पनि प्रस्तुत गर्दथ्यौं, साहित्यमा । दुबोलाई पनि हामीले छोटो समयमा नयाँ पुराना दुबै खालका विशेषाङ्क प्रकाशित गरेर चर्चित बनायौं, नेपाली साहित्यको क्षेत्रमा । शलभ नयाँ नयाँ विचार ल्याउँथे र म समर्थन गर्थें । हाम्रो काम गराईको शैलीले साहित्यिक जोडी राम्रो बनेको थियो । हामीले दुबोको लघुकथा अङ्क, विज्ञापन अङ्क, अटो अङ्कजस्ता विशेष अङ्कहरू निकाल्यौं । रचना सङ्कलन दुबै मिलेर गर्दथ्यौं । अनि शर्मा प्रेस, झापामा मुद्रण हुन्थ्यो । त्यो प्रेस उनका पिताजी जो आफैँ साहित्यिक र बौद्धिक व्यक्तित्व थिए, उनको थियो । अलिअलि विज्ञापन त हुन्थ्यो, तर त्यसले खर्च धान्दैन्थ्यो । बाँकी नपुग उनको पिताजीको खाताबाट भर्ताल हुन्थ्यो । पत्रिकामा मेरो आर्थिक दायित्व केही थिएन ।

राजेन्द्र शलभ

शलभ पोखरामा पुगे, पृथ्वीनारायण क्याम्पस कानुन विभागमा । पोखरामा पनि हाम्रो मित्रता जम्यो । म पृथ्वीनारायण क्याम्पसमा लेखापरीक्षणका लागि पुगें । क्याम्पस ठूलो र आर्थिक कारोबार पनि सोहीअनुसार ठूलो भएकोले लामै समय कामका लागि पोखरा बसाइ हुन्थ्यो । त्यसरी बस्दा एकपल्ट महिनौंसम्म शलभ र म अनि मेरा अफिसका सहकर्मीले एउटै होटलमा खाना खाएका थियौं । त्यो होटलसम्म पनि शलभले नै पुर्याएका थिए ।

पोखरा साहित्यिक हिसाबले पनि निकै प्रभाविलो सहर भएकाले साहित्यिक कार्यक्रमहरू भइ नै रहन्थ्यो । टिकटमा मुक्तक कार्यक्रम गरेर किर्तिमानै राख्ने पोखरामा शलभ रहँदाताका पनि कार्यक्रमहरू भइरहन्थे र कतिपय समारोहमा हामी साथै पनि संलग्न भएका थियौं ।

पोखरामा राजेन्द्र शलभ र पृथ्वीनारायण क्याम्पसका अङ्ग्रेजी विभागका राम आशिष गिरी निकै घनिष्ठ थिए । हामी क्याम्पसमा सँगै ब्याडमिण्टन खेल्थ्यौं र साहित्यको चर्चा गर्ने गर्दथ्यौं । राजेन्द्रलाई माया गर्ने नजिककाहरूका लागि उनी “राजू” थिए । म पनि राजू नै भन्ने गर्थें । पोखरा बसाई शलभलाई यति प्रिय भयो कि उनको मन र मुटु नै पोखरामै कहीँकतै टाँसियो । तर एक दिन उनले त्यो प्रिय ठाउँ छाडेर आए, अलिअलि मन र मुटु उतै छाडेजसरी । पछि त सारसौँदो हुनै थियो, भए पनि ।

शलभको “बट्टाको दूध” निकै बलशाली र कालजयी मुक्तक हो, जुन जहिले वाचन गर्दा पनि उत्तिकै रोचक, घोचक र प्रभाविलो छ । त्यसो त उनका कविताहरू पनि वलशाली छन् । तर उनका कविता पढ्दा भन्दा उनको मुखबाट सुन्दा झन् प्रभाविलो लाग्छ मलाई । यो उनको कविता वाचनको शक्ति र शिल्प हो भन्ने लाग्छ मलाई ।

शलभ पोखरा छँदै उनले एकदिन भने, “बिहा गर्ने भए केटी छिन् तर अन्तर्जातीय हुन् । लामा थरकी ।”

“जातले के फरक पर्दछ ?” मैले केटी हेर्न उत्सुकता देखाएँ ।

रवि भवनमा बस्दा रहेछन्, म सोधखोज गर्दै भेट्न गएँ । राजूले भेट्न पठाएको भनेपछि स्वागत गरे र बैठकमा बसाले । मलाई के भनौं के भनौं भैरहेको थियो, त्यति नै वेला चिया आइपुग्यो । मैले केटी हेर्न आएको भन्नू भएन । जसलाई हेर्न आएको थिएँ तिनले अचानक भनिन्, “अनि भाइ, के काम गर्नुहुन्छ ?”

ती केटीले ‘भाइ’ भनेपछि म लल्याकलुलुक गलें । अनि हतारहतार चिया सकेर त्यो घरबाट निस्किएँ ।

पछि पनि शलभले बिहाको लागि जात मिल्ने गिरी थरकै एक घरमा कुरा गरेका थिए, तर मैले बिहाको निर्णय गरिसकेको थिएँ । मेरो बिहामा श्रीमतीका लागि लुगा किन्न र सानो पितृभोजका लागि खानाको व्यवस्था गर्ने  मानिसको व्यवस्था गर्न उनैले सहयोग गरेका थिए । बिहास्थल गुजेश्वरीमा पनि उनको साथ थियो ।

काठमाडौंमा युसास अर्थात् युवा साहित्य समाज गठन गरेर केही कार्यक्रम सकेपछि त्यसमा संलग्न हामीबिच कुरा नमिलेपछि म संस्थागत संलग्नताहीन बसेको थिएँ । शलभले एउटा साहित्यिक संस्था बनाएर कार्यक्रम गर्ने प्रस्ताव गरे । उनी त्यतिबेला नेपाल टेलिभिजनमा साहित्यिक कार्यक्रम “साहित्य प्रभा” पनि सञ्चालन गर्थे । उनले नै संस्थाको नाम “गोष्ठी” प्रस्ताव गरे । मैले भनें, “गोष्ठी, काठमाडौं नेपाल” राखौँ भनेँ ।

उनले भने, “हैन, गोष्ठी मात्र भन्ने, अरू क्यै नभन्ने !”

गोविन्द गिरी प्रेरणा (अमेरिका)

मैले मानिनँ र अन्तमा “गोष्ठी, नेपाल” भन्ने कुरामा सहमत भयौं । त्यस संस्थामा जीवन आचार्य पनि थपिए । विधान आचार्यको पहिलो कृति “गोरुको काँध” कवितासङ्ग्रहको विमोचनपछि उनी पनि गोष्ठी परिवारमा सामेल भए । हामीले त्यसताका निकै कार्यक्रमहरू, पुस्तक विमोचन, विचारगोष्ठी, कविता वाचनलगायतका कार्यक्रमहरू सञ्चालन गर्यौं र राजधानीको चलायमान, निकै सक्रिय संस्थामा अग्रणी नै बनायौं ।

डा. तारानाथ शर्मा र डा. वासुदेव त्रिपाठीबिच लामो समयदेखि बोलचाल थिएन । एकै मञ्चमा उनीहरू देखा पर्दैनथे । नेपाली साहित्यका प्रकाण्ड विद्वान्द्वयलाई कसैले एकसाथ मञ्चमा बोलाएका थिएनन् । कसैले त्यो आँट गरेका थिएनन् । तर हामीले समालोचक रामकृष्ण शर्माको शोकसभामा दुवै विद्वान्हरूलाई अग्रिम जानकारी दिएर लामो समयको अन्तरालपछि पहिलोपल्ट एउटै मञ्चमा राख्यौं र कार्यक्रममा बोल्दा दुबैले एक अर्काप्रति निकै शिष्टाचारयुक्त सम्बोधन गरेका थिए ।

यसरी गरिने गोष्ठी नेपालको कार्यक्रमहरूमा प्रायः शलभ कार्यक्रम सञ्चालनको भूमिकामै हुन्थे भने म, विधान, जीवन कहिले स्वागत, कहिले धन्यवाद ज्ञापनकर्ताको भूमिका पूरा गर्थ्यौं ।

जीवन आचार्यको केदारमान व्यथितसँग राम्रो सम्बन्ध थियो । एकपल्ट गोष्ठी नेपालको एक कविता वाचन कवि व्यथितको निवासमा आयोजना गरिने भयो । कार्यक्रमको सबै चाँजोपाँजो हामीले गर्ने, कवि व्यथितले सहभागीहरू सबैलाई भोजनको व्यवस्था गर्ने सहमति थियो । सो गोष्ठीमा कविता वाचन गर्ने सिलसिलामा कवि व्यथितले प्रस्ताव गरे, “आज वाचन गरिएका कविताहरूको सङ्ग्रह निकाल्नोस् । म हजार रुपियाँ दिन्छु, बाँकी तपाईंहरू हाल्नोस् ।” सबले ताली बजायौं र नपुग रकमका लागि हामी कविहरूले दामासही एक सय हाले पुग्ने देखियो । हामीहरूले उठायौं तर व्यथितले वचन पूरा गरेनन्, र शलभले आफ्ना पिताजीलाई फकाएर “काव्य-सन्ध्या” नामक कविता सङ्कलन गोष्ठी नेपालको नाममा प्रकाशित गरे ।

गोष्ठी नेपालको वार्षिकोत्सवमा लघुकथा गोष्ठी आयोजना गरिएको थियो । एकपल्ट छन्द कविता गोष्ठी पनि आयोजना गरियो । हामीमध्ये कसैले कुनै प्रस्ताव ल्याए, अरूले मान्ने परम्परा थियो । एकपल्ट अशेष मल्लका दाइ कलाकार मुकेश मल्लले शिक्षा मन्त्रालयमा कार्यरत श्यामा ओझाको कविता सङ्ग्रह विमोचनका लागि प्रस्ताव ल्याए । सधैं सबैले ल्याएको प्रस्ताव मान्ने परम्परा भएकाले मैले हुन्छ भनेर वचन दिएको थिएँ । हामीले कार्यक्रमको आयोजना र निम्तो मात्र गर्ने काम हुन्थ्यो, आर्थिकभार सम्बन्धित कविलेखकले नै गर्दथे । तर यसपल्ट “किन यो किताव विमोचन गर्ने” भनेर प्रतिवाद भयो । तर मैले वचन दिइसकेकाले गरिछाड्ने अड्डी लिएँ । कार्यक्रममा अरू कोही साथीहरूले सहयोग गरेनन् । तर कार्यक्रम भयो ।

कार्यक्रम सकिएको अर्को हप्ता रत्नपार्कमा अवस्थित एक चिया पसलमा चिया पिउँदै शलभले आफ्नो असन्तुष्टि जनाउँदै मलाई आधा घण्टा गाली गरे । मैले सुनिरहें । गाली गरिसकेपछि उनले क्षमा माग्दै भने, “म त रिस पनि थाम्न सक्दिनँ, तर माफ माग्छु । तिमी पनि त्यसै गर ।”

मैले भनें, “मैले गल्ती गरेकै छैन, किन माफी माग्ने ?”

त्यसपछि गोष्ठी नेपाल इतिहास भयो ।

शलभ नाट्यकर्ममा पनि संलग्न भए । उनी “सेतो गुलाफ”, “मृगतृष्णा”, “असारको एकदिन” जस्ता नाटक मञ्चनसँग जोडिएका थिए ।

शलभ टेलिभिजनमा संलग्न थिए, पछि ठूलो पर्दाको सिनेमाको निर्देशनमा पनि लागे । उनले सुरुमा “विजय पराजय” बनाए, त्यसपछि “भाउजू”, “परिभाषा”लगायतका सिनेमा बनाए । त्यसपछि उनले सिनेमा क्षेत्र छाडे । उनले विज्ञापन चलचित्रहरू पनि बनाए । पछि वसन्त चौधरीको साहित्यिक संस्था ‘लूनकरणदास गंगादेवी चौधरी साहित्य कला मन्दिर”मा तथा अन्य काममा संलग्न भए । यी सबको साथमा उनको कानुन क्याम्पसको प्राध्यापन पनि जारी थियो र जारी रहिरह्यो साहित्य रचना अर्थात् कविता रचना कर्म पनि । उनले आफ्नो सिर्जनशीलताको दियो बाली नै राखे, निभ्न दिएनन् ।

बिचमा एकपल्ट उनलाई भविष्य र भाग्य आजमाउने सुर चल्यो र अमेरिकाको अधिनस्थ क्षेत्र ग्वाम पुगे । तर त्यहाँ उनी रम्न सकेनन् । अमेरिकाको मूल भूमि पनि उनी आए । सुरुमा न्यूयोर्क हुँदै शिकागो पुगे । त्यसपछि उनी वाल्टिमोर आएर अमेरिकाको सङ्घर्षमय जीवनको सुरुवातको पहिलो खुट्किलामा चढे ।

उनको बसाई र काम वाल्टिमोरभन्दा झण्डै एक घण्टा पर थियो । म उनलाई भेट्न पुगें । उनी समयसँग सम्झौता गरिरहेका थिए । उनी ग्रिनकार्डको लाइनमा थिए । एकाध कार्यक्रममा भेट त भयो, तर म आफैंमा अस्तव्यस्त बेला थियो, घरमा निम्त्याउनसमेत सकिनँ । सायद त्यसले उनलाई मन दुख्यो होला, तर अमेरिकाको आफ्नै व्यस्तता उनले पनि बुझेको हुनुपर्छ ।

अमेरिका बस्दाबस्दै अचानक उनलाई “अमेरिका मेरो लागि होइन” भन्ने लाग्यो । उनी लगत्तै नेपाल फर्किए, पाएको ग्रिनकार्ड पनि फिर्ता गरे ।त्यसपछि पनि उनी अमेरिका त आए, तर पर्यटकको रुपमा, वसन्त चौधरीको विश्व काव्य यात्राको व्यवास्थापकको रुपमा । त्यसै क्रममा कवि वसन्त श्रेष्ठको घरमा आयोजित अन्तरङ्ग कवि गोष्ठीमा पनि सामेल भए ।

शलभ तीक्ष्ण कला चेतना भएका कवि हुन् । उनको हस्ताक्षर पनि उत्तिकै सुन्दर छ, कविताजस्तै । उनले विभिन्न समयमा लेखेका चिट्ठीहरू मेरा सङ्कलनमा छन्, ती सब कलात्मक शैलीका, कवितात्मक शैलीका र चित्रात्मक छन् । कविको कला चेतना निःसन्देह महत्त्वपूर्ण हुन्छ नै ।

लूनकरणदास गंगादेवी चौधरी साहित्य कला मन्दिरले प्रकाशन गरेको नेपाली आधुनिक कविहरूको श्रव्य सिडीको एक शृङ्खला निस्कियो, यसमा उनको सोच र कलाकारिता एवम् निर्देशन महत्त्वपूर्ण रहेको थियो । यो उनको आफ्नै व्यावसायिक संस्था “दृष्य” र “लूनकरणदास गंगादेवी चौधरी साहित्य कला मन्दिर”को संयुक्त उत्पादन थियो ।

लेखन तथा प्रकाशनमा उर्वर त्यति नभए पनि निरन्तरता र निष्ठा उनको साहित्यिक पूँजी हो । त्यो पूँजीले उनको व्यक्तित्वमा निखार ल्याएको छ, साहित्यिक परिदृष्यमा टड्कारो उपस्थिति देखाएको छ । उनका “उज्यालोको शर्त”, “कविताको रङ्ग” तथा स्नेह सायमि र उनको संयुक्त हिन्दी कविता सङ्ग्रह “उजाले के सँग” प्रकाशित छन् ।

एउटा कविले लेख्न छाडेन भने त्यो नै उसलाई टिकाउने धरातल सावित हुन्छ । शलभसँग त्यो धरती र धरातल सुरक्षित रहेको छ ।