
बह्र अरबी भाषाको स्त्रीलिंगी शब्द हो । बह्रको अर्थ हो छन्द । नेपाली भाषामा हामी बहर भन्दछौं उच्चारणको सुविधाका लागि । तर यसको मूल रूपचाहिँ ब पछि खुट्टो काटिएको ह् सहितको र मिलेर बनेको बह्र हो ।
बह्र वा छन्द गजलको अविभाज्य अंग हो । भनौं गजल शब्दको अन्तिम अक्षर ल हो । ल बिना गजल शब्द नै बन्दैन । ल माने लय, ल माने गजलको लालित्य । यसै लयालुपनलाई मूर्त बनाउने तत्त्व हो बह्र वा छन्द । बह्रमा गजल लहराउँछ र भावक पनि यसैको मोहनीमा हराउँछ । बहरबद्ध गजलमा भावक र भावकमा गजल समाहित हुन्छन्, एकाकार बन्दछन् अनि दुवै लहराउँदै आनन्दको अगाध गहिराइमा हराउँछन् । यही हो गजलको गन्तव्य पनि ।
बह्रको अर्को अर्थ हो समुद्र । वास्तवमा बह्र छ पनि समुद्रैजस्तो विराट् र सर्वत्र व्याप्त अनि गहिरो । यस अद्भुत सृष्टिविस्तारमा सर्वत्र बह्र छ, छन्द छ । वास्तवमा जिन्दगीमा गति छ र गतिमा बहर । त्यसैले गजलमा पनि बहर छ । बहर माने समुद्र । जसरी हामी समुद्रका लहर गनेर सक्दैनौं त्यसैगरी गजलका बह्र पनि गनेर सक्दैनौं ती अनन्त छन् । यहाँ केही नमुनामात्र पेश गर्ने इजाजत चाहन्छु ।
रुक्न अरकान र वज्न
बहर रुक्नमा आधारित हुन्छ । रुक्न भनेको गण हो छन्दको भाषामा । यता पिंगलशास्त्रमा पाइने गण झैँ उता गजलशास्त्रमा पनि रुक्न पाइन्छ । रुक्नको बहुवचन हुन्छ ः अरकान । अनि यही अरकानको भारलाई वज्न भनिन्छ । वज्न अर्थात् नेपाली भाषामा वजन वा ओजन । अरकानको वज्न अर्थात् गणभार अनुसार विविध बहरहरुको लयदार संरचना निर्मित हुन्छ अनि त्यसै संरचना वा ढाँचामा गहिरो भाव सजाएर, जीवन्त अभिव्यक्तिशिल्प भरेर गजल रचिन्छ र सुनाइन्छ ।
पिंगल शास्त्रअनुसार जम्मा आठवटा गण हुन्छन्, उता गजलशास्त्रमा पनि आठओटै गणहरुको चर्चा चल्दछ यता संस्कृत र नेपाली कवितामा धेरै लामो समयदेखि छन्दको जीवन्त धारा प्रवाहित छः शार्दूलविक्रीडित, मन्दाक्रान्ता, शिखरिणी आदिको । उता पनि अरबी, फारसी र उर्दू हिन्दी काव्यजगत्मा लामो समयदेखि हजज, कामिल, रजज र रमल आदिको लहरदार बहरधारा चलिरहेकै छ । यिनै बह्रहरुमा गजल रचिन्छन् ।
गण र रुक्न
यताको गण र उताको रुक्न दुवै उस्तै उस्तै हुन् । फरकचाहिँ के मात्र पाउनुहुन्छ भने यता ३÷३ अक्षरका एक एक गण बन्दछन् भने उताचाहिँ तीनमात्र नभएर २,४,५ आदि अनेकौं अक्षरका समेत गण अर्थात् रुक्न पाइन्छन् । यता ह्रस्वबोधक । र दीर्घबोधक ऽ अर्थात् लघु र गुरु वर्णका आधारमा निर्मित गणका लागि चिह्न य,म,त आदि अक्षर छन् र तिनलाई यमाताराजभानसलगा जस्तो सानो र एउटै सूत्रभित्र व्याकरणिक शैलीमा अटाइएको छ । उताचाहिँ रुक्नबोधक चिह्न कुनै अक्षर नभएर सिंगासिंगै पद छन् : रुक्नको वज्नअनुसार अनेक अक्षर भएका : फेलु्न्, फउलुन्, मफाईलुन् आदि । हाम्रा चिरपरिचित आठवटा गणलाई बहरको भाषामा यसरी हेर्न सक्छौं :
क्रम गण संकेत रुक्न
१ य । ऽ ऽ फऊलुन्
२ म ऽ ऽ ऽ मफ्ऊलात्
३ त ऽ ऽ । मफ्ऊल
४ र ऽ । ऽ फाइलुन्
५ ज । ऽ । फऊल
६ भ ऽ । । मफ्उल
७ न । । । फउलु
८ स । । ऽ फिइलुन्
वास्तवमा रुक्नले एकसाथ दुई काम गरेको देखिन्छ । एकातिर यो स्वयम् ह्रस्वदीर्घक्रमको बोधक हो भने अर्कातिर त्यसबाट बन्ने गणकै बोधक पनि ।
यता शास्त्रीय छन्दमा तीन अक्षरको एक समूह मिलेर कुनै एक गण र तीनभन्दा कम अक्षरको भाषिक एकाइ आए लघु र गुरुका संकेतहरु ।/ऽ को प्रयोग गर्ने चलन छ भने उता गजलशास्त्रीय बह्रमा यस्तो व्यवस्था नभएकाले आवश्यकतानुसार विविध अक्षरसंख्याका गणहरुको परिकल्पना गरिएको छ । संयोग कस्तो छ भने यता आठ गण भए जस्तैे उता पनि प्रमुख रुक्नहरु आठवटै छन् । यहाँ गुनगुनाउने सुविधाका लागि लघुका लागि ल र गुरुका लागि ला प्रयोग गरेर हेरौँ :
क्रम रुक्न ह्रस्वदीर्घक्रम अक्षरसंख्या
१ फऊलुन् ल ला ला ३
२ फाइलुन् ला ल ला ३
३ मफाईलुन् ल ला ला ला ४
४ मुस्तफ्इलुन् ला ला ल ला ४
५ फाइलातुन् ला ल ला ला ४
६ मुतुफाइलुन् ल ल ला ल ला ५
७ मफाइलतुन् ल ला ल ल ला ५
८ मफ्ऊलात् ला ला ला ३
यिनै हुन् गजलमा प्रयुक्त हुने मुख्य आठवटा रुक्न, अर्थात् गण । यीमध्ये अन्तिम रुक्न त्यति धेरै प्रचलनमा छैन । बाँकी सात रुक्नबाट सातैवटा मूल बहरहरु बन्दछन् ।
बहर र छन्द
प्रत्येक रुक्नको चार आवृत्तिबाट बहरको एक हरफ वा एक मिसरा बन्दछ र त्यस्ता दुई मिसराबाट एउटा सिंगो शेर, एउटा बहरको सिंगो संरचना । यता हाम्रा शास्त्रीय छन्दमा चाहिँ एउटा श्लोकमा चारवटा पाउ हुन्छन्, उता एक मिसरामा चार अरकान । सिंगो शेरको रूप हाम्रो प्रसिद्ध अनुष्टुप् छन्दसँग तुलनीय छ, अनुष्टुप्मा पनि दुई हरफ, शेरमा पनि दुई मिसरा । रमाइलो पक्ष के छ भने यता अनुष्टुप् छन्द समग्र शास्त्रीय वाङ्मयमा अत्यधिक मात्रामा प्रयुक्त, सर्वाधिक प्रचलित छन्द हो । उता बह्र ए हजज अर्थात् हजज छन्द पनि सर्वाधिक रूपमा समादृत नामूद बहर हो । अनुष्टुप् र हजजमा अनौठोसँग समानता पाइन्छ । यता कविशिरोमणि लेखनाथ पौड्यालको अनुष्टुप् पढौँ ः
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?
…
अब उता महाकवि मिर्जा गालिबको हजज पढौँ :
हजारोँ ख्वाहिशेँ ऐसी कि हर् ख्वाहिश् प दम् निक्ले
बहुत् निकले मेरे अरमान लेकिन् फिर भी कम् निकले ।
..
यी दुवै रचना दुई हरफे जुम्ल्याहाजस्ता बहर÷छन्दका रूप हुन् । दुवैमा १६÷१६ अक्षरका दुई दुई पंक्ति मिलेर एउटा छन्द वा बहरको संरचना बनेको छ । हुन त अरु पनि धेरै बहर यताका छन्दसँग ठ्याक्कै मिल्दछन्, फरक कति मात्र भने ः यता चार पाउको एक छन्द हुन्छ भने उता दुई मिसराको एक बहर ।
मूल बहर
अप्रसिद्ध अन्तिम रुक्नलाई छोडेर अरु सातवटा माथि उद्धृत रुक्नहरुको चार आवृत्तियुक्त वज्नबाट सातवटै मूल बहरहरु बन्दछन् । ती यसप्रकार छन् :
क्रम रुक्न वज्न बह्र
१ फऊलुन् ल ला ला ४ पटक : मिनकारिब
२ फाइलुन् ला ल ला ४ पटक : मुतदारिक
३ मफाईलुन् ल ला ला ला ४ पटक : हजज
४ मुस्तफ्इलुन् ला ला ल ला ४ पटक : रजज
५ फाइलातुन् ला ल ला ला ४ पटक : रमल
६ मुतुफाइलुन् ल ल ला ल ला ४ पटक : कामिल
७ मफाइलतुन् ल ला ल ल ला ४ पटक : वाफिर
अब यी बहरका उदाहरण हेरौँ :
१. बहर ए मिनकारिब :
फऊलुन् : चार आवृत्ति (ललाला ललाला ललाला ललाला) १२ अक्षर —
सधैँ ठीक्कको घाम पानी हुँदैन
चिताएसरि जिन्दगानी हुँदैन ।
फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
ल ला ला ल ला ला ल ला ला ल ला ला
स धैँ ठीक् क को घा म पा नी हुँ दै न
चि ता ए स री जिन् द गा नी हुँ दै न ।
यहाँ हरफको अन्त्यमा न वर्ण लघु अर्थात् ल भए तापनि हरफका अन्त्यमा गरिने उच्चारण लम्बिने भएकाले न दीर्घ अर्थात् ला नै हुन पुग्दछ । वास्तवमा हरेक बहरका हरफको अन्तिम वर्ण हमेशा गुरु हुने गर्दछ ।
यो बहर ए मिनकारिब अत्यन्त प्रचलित शास्त्रीय छन्द भुजंगप्रयात सँग ठ्याक्कै मिल्दछ । यो संसारभरि नै सर्वाधिक प्रचलित छन्द/बहर हो ।
..
प्रिय गजलानुरागी बन्धु,
बहरको परिचर्चा आगामी आइतवार पनि जारी रहनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

