बर्माको दोस्रो ठूलो सहर मान्डले हरेक दिनजस्तै बिहानैदेखि व्यस्त भयो । दुई वर्षयता मैले यो सहरलाई आफ्नो जीविकोपार्जनको थलो बनाएकी छु । अब म यो सहरको व्यस्तताको अङ्ग बनेकी छु । दूर गाउँ मोगोकको च्यापिनबाट आएकी मलाई यो सहरले राम्रोसँग चिन्दैन तर उसको गतिलाई चिन्नु र बुझ्नु मेरो बाध्यता बनेको छ । हामी एउटा सानो घरमा स–परिवार बस्न थालेका छौँ । यही घरमा वरपरका टोल–छिमेकीलाई खाद्यान्न सहितको खिर्चिमिर्ची सामग्री पाउने दुकान छ । यो त्यही दुकान हो, जसले मलाई साहित्यिक भेटघाट र रचना सिर्जनाबाट वञ्चित बनाइरहेको छ । जब मनले चाहेको भाषा र साहित्यको काममा हातमुख जोड्नु पर्ने यो दुकानको व्यस्तताले अल्झाउँछ, मानिस कसरी पैसाको दास हुन विवश छ, सम्झना आउँछ ।
जनवरी ९ ,२०२० सदाझैँ फरक थिएन तर निद्रा खुल्दा मन र शरीर दुवै हलुका अनुभव भइरहेको थियो । मनमा एक प्रकारको आनन्दको लहर दौडिरहेको भन्नुपर्ला । लामो समय यही अवस्था कायम रहिरह्यो, खाना खाने बेलासम्म पनि । बेलाबेला मलाई अकारण यस किसिमका खुसी अनुभव हुन्छ । आज पनि यस किसिमको अनुभव हुन थाल्यो, मैले बारम्बार प्रश्न गरेँ, मन किन खुसी छ ? तर खास कारण फेला पार्न सकिरहेकी थिइनँ । बिहानको काम सकेपछि म सामाजिक सञ्जालमा जोडिएँ । च्यापिन शाखाको शिक्षा विभागसँग मेरो पुरानो नाता छ । मान्डले भए पनि म यो शाखाको ग्रुप इनबक्सबाट जोडिएकै हुन्छु । वाइफाई अन भएपछि सुरुमा यही च्यापिन शाखाको ग्रुप म्यासेज देखियो । त्यहाँ एउटा निमन्त्रणा लेखिएको थियो । साथमा एउटा लेटरप्याड पनि । जहाँ नेपालको सुदूर पश्चिमाञ्चल साहित्य समाज धनगढी, कैलालीले गर्ने साहित्य महोत्सवमा बर्मेली लेखकहरुलाई आमन्त्रण गरिएको थियो । पत्रले भनेको थियो, ‘नेपालमा विश्व नेपाली साहित्य महोत्सव २०७६ हुँदैछ । त्यसमा बर्मेली नेपाली साहित्यकारहरुको अनिवार्य उपस्थितिको लागि अनुरोध गरिएको छ । मेरा पुर्खा नेपाली तर मेरा लागि नेपाल त्यति नै अपरिचित छ, जति चन्द्रमा । रातमा दूरबाट चन्द्रमा त देखिन्छ तर त्यहाँ जान सकिँदैन । चन्द्रमाका बारेमा पढ्न त सकिन्छ तर त्यहीँ गएर अनुभव गर्न सकिँदैन । त्यो पत्रले मलाई त्यही दूर चन्द्रलोकमा बोलाएजस्तो लाग्यो ।
मैले त्यो पत्रको भाव बुझ्न दोहोर्याई तेहेर्याई पढेँ । त्यसमा स्पष्टरुपमा नेपालको साहित्यिक भ्रमणमा आउन निम्तो दिइएको थियो । लेटरप्याडको तल च्यापिन शाखाबाट एकजना अनिवार्य उपस्थिति हुनू भन्ने च्यापिन शिक्षा विभागका सचिव रोशनजीको म्यासेजले नेपाल जान सक्ने अवसर छ है भनेर मलाई नै सङ्केत गरेजस्तो, नेपालले मलाई नै बोलाएकोजस्तो, कस्तो कस्तो मन तानिएर नेपालै पुगौँजस्तो आकर्षित भएँ म ।
रोजीरोटीको खोजीमा म च्यापिनबाट माण्डले सरिसकेकी छु । मेरालागि त्यो पत्र ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार’जस्तै भयो । अहो, जोड गरेँ भने म नेपाल जान पाउँछु तर कसरी ? भर्खरै व्यवस्थित हुन थालेको व्यापार र घरलाई कसरी छाड्न सक्छु ? दूरबाट देखिरहेको चन्द्रमा जाने प्रस्ताव सहितको रकेट त आयो तर त्यहाँ चढ्ने तयारी बिल्कुलै रहेनछ । मन खिस्रिक्क भयो । एकछिनपछि सुदूर पश्चिमाञ्चल साहित्य समाजको त्यही पत्र केन्द्रीय शिक्षा विभागले सार्वजनिक फेसबुकमा राख्यो, विभागको भनाइसहित । त्यहाँ पनि नेपाल जान चाहने साहित्यकारहरुका लागि अवसर भन्ने कुरा लेखिएको थियो । म साहित्यकार त भैसकेकी छैन तर यहाँ लेखिएका शब्द शब्द मेरै लागि हुन् भन्ने लाग्न थाल्यो । अचानक मनले निर्णय गर्यो, अवसर पाए म नेपाल जान्छु । यो अवसरका लागि प्रयास गर्नैपर्छ । त्यसपछि थाहा भयो, बिहानदेखि शरीर र मनले दिएको खुसीको सङ्केतहरु । नेपाल जाने निर्णयपछि नयाँ-नयाँ व्यवहारिक कठिनाई आउँछन् भन्ने बुझेरै मैले मनका कुरा घरका सदस्यलाई भनिनँ । पहिले जाने कुरालाई यथार्थमा परिणत गर्नु थियो ।
म साहित्यकार त भैसकेकी छैन तर यहाँ लेखिएका शब्द शब्द मेरै लागि हुन् भन्ने लाग्न थाल्यो । अचानक मनले निर्णय गर्यो, अवसर पाए म नेपाल जान्छु । यो अवसरका लागि प्रयास गर्नैपर्छ । त्यसपछि थाहा भयो, बिहानदेखि शरीर र मनले दिएको खुसीको सङ्केतहरु । नेपाल जाने निर्णयपछि नयाँ-नयाँ व्यवहारिक कठिनाई आउँछन् भन्ने बुझेरै मैले मनका कुरा घरका सदस्यलाई भनिनँ । पहिले जाने कुरालाई यथार्थमा परिणत गर्नु थियो ।
मैले थप कुरा बुझ्न माेगाेककी साथी सरगमलाइ फाेन गरेँ । उनी मसँगै नेपाली भाषा र साहित्यमा डिप्लाेमा पढेकी मित्र हुन् । अझ हाम्राे ब्याजकी टपर पनि । मैले नेपाल जानका लागि पाएकाे निम्ताे र मेराे वर्तमान अवस्था बारे जानकारी गराएँ । उनले हौसला दिँदै भनिन्, ‘यो राम्रो अवसर हो, यसलाई गुम्न नदिऔँ । बरु विभागलाई आफू जान चाहेको कुरा जानकारी गराइहालौँ । नत्र छुट्न सक्छ ।’ उनले आफू लगायत बाँकी पाँच जना यही कार्यक्रमका लागि नेपाल जानका लागि प्रयासरत भएकाे बताइन्।
यसबाट पनि थाहा भयाे, सुचना सबैतिर पुगिसकेकाे छ । यस्ताेमा सयौं लेखक कवि र भाषासेवीमध्ये थोरैलाई मात्र यो अवसर जुर्न सक्थ्यो । यसका लागि कामको मूल्यांकन पनि हुनेवाला थियो । दुई वर्षदेखि म संस्थामा सक्रिय छैन । नेपाली भाषा र साहित्यको कुनै पनि सेवा गर्न सकेको छैन । यस्तो बेलामा यसले दिने सुविधा लिन अघि सर्नु कता-कता नैतिकताले दिँदैन कि ? तर सरगमले हौसला दिँदै अवसरलाई सदुपयोग गर्न अनुरोध गरेपछि पुनः भड्किएको मन शान्त भयो ।
साहित्यलाई माया गर्नु र यसको सेवामा कार्यरत रहनु फरक कुरो हो । हाललाई म पहिलो वर्गमा थिएँ, जसले यो अवसर नपाउन पनि सक्थ्यो । पत्रानुसार साहित्य महोत्सव प्रारम्भ हुन एक महिना बाँकी थियो । परिस्थितिको विचार गर्दै केही दिनपछि शिक्षा विभाग प्रमुख ज्ञानबहादुर थापा सरसँग म्यासेन्जरमा कुरा गरेँ । उहाँ नेपाली भाषा पाठ्यक्रमलाई अन्तिम रुप दिन नेपाल पुग्नु भएको थियो । उहाँ उतै बसेर बर्माबाट आउने साहित्यकारहरुलाई नेपालको भ्रमण गराउने तारतम्यमा लाग्नु भएको रहेछ । च्यापिनमा सक्रिय रहँदा साहित्य लेखिरहन हौसला दिनुहुन्थ्यो । वहाँसँग म सन् २०१८ मेतिर टाउँजीअन्तर्गत यकसकको एक मात्र संस्कृत पाठशालामा आयोजित नेपाली साहित्य शैक्षिक तालिममा सहयोगार्थ सहभागी भएकी थिएँ। मैले यिनै कुरा गरेर उहाँलाई आफू सम्मेलनका लागि योग्य भएको प्रमाणित गर्ने प्रयास गरेँ । वहाँले यस्तो अवसरमा अचुक उपस्थिति हुनुपर्छ भनी हौसला दिनुभयो, वहाँ प्रसन्न भएको मैले महसुस गरेँ। मेरो खुसीको ठेगाना रहेन ।
‘म नेपाल जाने,’ ज्ञान सरसँग कुरा सक्ने बित्तिकै म खुसीले चिच्याएँ ।
पसलमा काम गरिरहेकी बैनीले फनक्क फर्केर बर्मेली भाषामा भनी, ‘दिदीले नेपाल गएको सपना देखेजस्तो छ ।’
‘होइन, साँच्चै नै जाने । भर्खरै ज्ञान सरसँग कुरा भयो ।’
‘के भन्छे यो ?’ आमा भान्साबाट निस्कदै बोल्नुभयो, ‘अचानक नेपाल जाने कुरा कसरी निस्कियो ?’
मैले यत्रो दिनसम्म लुकाएर राखेको कुरा बेलिबिस्तार लगाएँ । परिवारका सबै सदस्यहरुले साँच्चै नै पत्याउनु भएन । परिवारको आर्थिक बोझ मेरो टाउकोमा छ । यस्तोमा मैले दुकान छाडेर नेपाल गएँ भने के हुन्छ, कल्पना बाहिरको कुरा छ । छोरी भए पनि यो घरमा अन्तिम निर्णय मेरो हुन्छ भन्ने मलाई पनि थाहा छ र उहाँहरुलाई पनि । मेरो अनुहारमा देखिएको खुसी र आत्मविश्वासले उहाँहरु अचम्ममा पर्नु भयो । नेपालबाट आएको पाँचौँ पुस्तापछि परिवारकी एउटी सदस्य नेपाल जाने कुरा डढेलो झैँ आफन्तकोमा फैलियो । मेरा आमा–बुवा, दिदी र आफन्तहरुलाई साहित्य भनेको के हो, थाहा छैन । तर छोरी लेखपढ गर्न मन पराउँछे भन्ने थाहा छ । यही लेखपढले मलाई नेपालसम्म पुर्याउँदैछ भन्ने थाहा पाएपछि त्यसको महत्त्व पनि बढ्यो ।
मेरा बुबाका हजुरबुबा नेपाल जान भनेर आधा बाटासम्म पुग्नु भएको थियो रे ! खै के भएर फर्कनु भयो । उहाँ फर्कनु भएको भए हामी सबै नेपालमै हुन्थ्यौँ सायद । त्यसपछि मेरा हजुरबुबा पनि नेपाल फर्कने भन्दै बित्नु भयो रे । त्यसपछि त नेपाल दूरको कथा जस्तो हुँदै आयो । पछिल्लो पुस्ता पनि आफ्नो पितृभूमिका रुपमा नेपाललाई सम्झन्छ । सायद यही कारण हो, मेरो नेपाल यात्राको सम्भावनालाई धेरैले उपलब्धिका रुपमा लिनुभयो । उहाँहरूकाे अनुहारले खुसीले बताइरहेकाे थियाे, मैले तयारी थाल्दा हुन्छ ।
यही क्षणबाटै मेरो साहित्यिक यात्राको श्रीगणेश भयो । काेराेना चीनबाट संसारयात्रा गर्दैथियाे, हामी बर्माबाट नेपाल छिर्ने याेजना बनाउँदै थियाैँ ।
क्रमशः अर्काे साता…
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।