एकचोटि चर्चा चल्यो— ‘नयाँ लेख्नुपर्छ ।’

चर्का विवाद चले । चलिरहन्छन् नि ! जति चल्यो, उति हिट हुन्छ विषय । यो शाश्वत सत्य ।

भनियो— के नै नयाँ छ र लेख्नलाई ?

एकजना लोकप्रिय कविले भारीसभामा भने— अन्दाजे बयाँ । अन्दाजे बयाँ ।

यानि— कसरी भनिन्छ, कुरा त्यो हो । के भन्ने कुरामा त, अब के भन्नु ? भन्ने कुरा सबै भनिसके अरूले ।
त्यो त हो ।

तर, अन्दाजे बयाँ मात्रै भन्नु चैँ हिङ बाँधेको टालो हो ।

आफ्नै सिर्जनामा अन्दाज बयाँ टाँस्नुको त केही सार्थकता होला पनि । अरूको सिर्जना, मेरो भाषामा ‘अन्दाजे बयाँ’ को गङ्गाजल छर्केर अमृत हुन्छ भन्नु हिङ बाँधेको टालो नै हो । हो नै ।

हिङ बाँधेको टालोको पनि कथा छ । उहिलो महामारी आएछ, अहिले कोरोनाको आएजस्तै । औषधि रहेछ हिङ । सबैलाई पुऱ्याउन नसिकने, महँगो । अनि हिङ बाँधेको टालो सुँघाएर पनि उपचार गरेछन् । त्यही वेलादेखि यो उखान बनेको रे । ठ्याक्कै चैँ नामालुम ।

महेश पौड्याल

‘अन्दाजे बयाँ’ मै जोर दिइयो भने नयाँ बोतल हुन्छ, रक्सी पुरानै ।

तर पनि, भनाइ छ नि— रक्सी पुरानो राम्रो रेन्त । पारखीले बोलून् ।

जोन किट्सले कविता लेखे ‘टु द नाइटिङ्गल’ । त्यहाँ लेखे— (जुरेलीको स्वर) भिन्टेज वाइनको त्यो एक घुट्कोजस्तो, जसलाई बर्सौँदेखि धरतीमुनि राखेर चिस्याइएको होस्…

होस्, नजाने गाउँको बाटैको किन सोध्नु र, नि ?

यो तर्क पनि सुनियो उस वेला ।

तर, यसो गर्दा सिर्जना हुँदैन । सिर्जनाजस्तो देखिने पुरानो मालको नयाँ ‘व्यवस्थापन’ हुन्छ ।

कोठो कहिलेकाहीँ सफा गर्नुहुन्छ होला नि । त्यस वेला थाहा हुन्छ, ‘काम नलाग्ने’ भनेर कुनातिर खाँदेका कागजको एक्कासि मायाँ लागेर आउँछ । अनि टिपेर कतै राखिन्छ, केही दिन सुमसुम्याइन्छ, काम लाग्ने मालको सूचीमा राखिन्छ, अनि पुनः फालिन्छ । हैट, मन पनि ।

त्यो कागजको व्यवस्थापन जस्तो ।

पुराना कुराको नयाँ समीकरण जस्तो । सिर्जनाका नाममा पुनःकथन ।

त्यसो भनिरहँदा यहाँ सबैभन्दा बढी फस्ने म आफैँ हुँ । थाहा छ । लेखे नि साथीहरूले— कविता भनेर खाली आँसु, रुवाबासी, जून, तारा, रुन्चे साहित्य…हैट् ।

महा–व्यवस्थापन, वास्तवमा ।

सक्नेले चैँ यस्तो गर्नु हुँदैन । उन्नत केही गर्नुपर्छ । उदात्त । तर, त्यस उदात्तताको मापन लोकले गर्छ । आफैँले गऱ्यौँ भने अहङ्कार हो त्यो । र त्यसमाथि समयले पनि अट्टहास गर्छ ।

सुन्दर र नवीन केही लेख्यौँ भने कराउनै पर्दैन । चिच्याउनै पर्दैन । हुल बाँधेर कसैको छाला काड्नै पर्दैन ।

हुन्छ कस्तो ? पीबी सेलीले एउटा कविता लेखे, स्काई–लार्कमाथि समर्पित ।

भन्छन्, शरीर नदेखिए पनि आवाज सुनिने यो चरा यस्तो हो—

जस्तो— सोचको उज्यालोमा डेबेको कवि हुन्छ, जो अनुपम गीतमा तबसम्म झुम्छ, जबसम्म दुनियाँ कहिल्यै नसोचिएको आशा र भयबाट संवेदित हुन्छ ।

जस्तो— अग्लो अट्टालिकामा बसेकी कुनै षोडशी, जो देखिन्न । तर आफ्नो प्रेम–आशक्त मनलाई शान्त तुल्याउन प्रेमजत्तिकै मधुर सङ्गीत बजाउँछे, जुन उसको अट्टालिकाबाट बगेर सर्वत्र छताछुल्ल पोखिन्छ ।

जस्तो— जुनकिरी हुन्छ, जो शीतयुक्त झारमा लुकेको हुन्छ, तर जसको उज्यालो शीतबिन्दु चिरेर सर्वत्र ज्योतिर्मय भएर फैलिन्छ ।

जस्तो— हरिया पत्रदलहरूमाझ लुकेको गुलाफ हुन्छ, जो आँखाबाट छेलिएको त होला, तर चञ्चल न्यानो बतासले टिपेर त्यसको सुवास सर्वत्र फैलाइदिन्छ ।

जस्तो— उपवनमा चम्कँदा तृणमाथि परेको बर्सातको आवाज, अथवा बर्सातले ब्युँझाएका ती फूलको आभाजस्तो, जो सदैव थियो तर अदृश्य ।

हो, उन्नत रचना पनि यस्तै हो । त्यसले हल्ला गर्दैन । त्यसको सर्जक नदेखिन पनि सक्छ तर त्यसको फैलावट र सुवासलाई समयको बलियोभन्दा बलियो पर्खालले छेक्न सक्दैन ।

तर यी सबै कुरा एकातिर सोच्छु । अनि आफैँतिर फर्कन्छु । अथवा, प्यारा भाइहरू मलाई ऐना देखाउँछन् तर, ऐना नै तोड्न खोज्छु र पो ?

तपाईँलाई पनि देखाउँछन् ऐना ?

आफैँलाई उडाउनु र जलाउनुमा पनि आनन्द छ, सिर्जनाको संसारमा । यो आनन्द सीमाहीन छ । यो अनन्त छ । अन्त्यहीन छ ।

कुरा कताबाट कता पुग्यो । बेपत्ता । कलकत्ता ।

अँ, नयाँ विषय कहाँबाट ल्याएर लेख्नु ?

कवि ए.आर. अम्मोन्सको ‘अल्ज अल’ शीर्षकको एउटा कविता छ । कवितामा के-के छ के-के । गाँठी कुरो कहाँ छ— ‘अल’ भन्ने एक मात्राको सानो शब्दमा छ । यस ‘अल’ भित्रै के-के छ ?

केके छ ‘अल’ भित्र ? के-के छैन ?

एउटा सानो, एकमात्रै शब्दमा खुम्च्याइएको कुरो — ‘अल’ ।

यसैमा धमिरो पनि छ ।

धुलो पनि ।

पिट्को पनि छ ।

एउटा गुम्बजजस्तो सामान्यीकृत विचार पनि छ— गोलाकार ।

एउटा अस्पष्ट बाटो । (झ्यालखाना हुँदै बग्ने हावा) ।

एक झोक्का, एक गन्ध, घुँघीको निद्राको आवाज ।

कुनै पात्रभरि राखिएका, हल्का पाकेका आँपमाथि झुम्मिएका भुसुनाको सिलसिलेवार सम्झना ।
भयावह पलायनहरू भयावह पलायनबाटै टाढिँदै गएको पल ।

हैट्, के हो यस्तो ? भयावह पलायनहरू भयावह पलायनबाटै टाढिँदै..

अम्मोन्सले यति मात्रै लेखेनन् यो सानो, पिट्के कविता ‘अल्ज अल’ मा । अगाडि लेख्छन्—
‘अल’ भित्र केके पर्छ ?

आँखामा लागेका ती किरा पर्छन्, जसले आजको दृष्टिपछाडिका हल्का दागहरूलाई पनि बैजनी बनाइदिन्छन् ।

खुम्च्याइएको खोक्रोपन ।

धेरै

थोरै

सबै

जो पालैपालो हराउँछन् ।

‘अल’ — सृष्टिको अन्त्यको त्यो अन्तिम चुम्बन जसले सृष्टि समापन पारिदिन्छ ।

हैट् ।

‘अल’ जस्तो एक मात्राको, अङ्ग्रेजीमा तीन अक्षरको, नेपालीमा ‘सबै’ भनेर अनुवाद गर्ने हो भने पनि यो दुई अक्षरको शब्द हुन आउँछ ।

यसभित्र के-के पर्छ भनेर मात्रै चिन्तन गर्दा पनि के-के खुल्छ के-के ।

यहाँ बहस छ— नयाँ कुरा के नै छ र लेख्नु ?

मलाई सिक्किमका कवि भीम दाहालको एउटा कविता ‘कुतियादार’ याद आउँछ यति वेला-

एउटा अमिलो साँझ
धिपधिपे लालटिन राखेर
मैले तिम्रो मुर्दा रुँगेँ ।
जीवनभर बोलेनौ
पर्खिरहेछु कहीँ मसान भएर तिमीले
एकपल्ट कुत तिर्दै नतिर्ने
घोषणा गर्नेछौ ।
एउटा उधारो कात्रोभित्रबाट
तिमी बौरी उठ्नेछौ ।
ओ कुतियादार,
तिमी यति सजिलै नमरिदेऊ ।

हुँदा-हुँदा एक जना कवि रिचर्ड विल्बरले ‘जङ्क’ भनेरै कविता लेखिदिए । कविताको आकार यसो हेर्दा पनि कबाडी खानाजस्तो छ — कबाडी फालम, पुरानो कागज, किताब–कापी, ट्रिङ ट्रिङ साइकलमा एकाबिहानै…

जङ्कमा के लेखे ?

कबाडीको कुरा लेखे ।

अनि कबाडीको कुरोमा नयाँ के कुरा भयो त ?

उनले लेखे— टुक्रेका काँचका चोइटामा पनि घाम उसै गरी चम्कन्छ । त्यस चमकमा अर्को पूर्वाभास पनि छ— (मान्छेका हातमा) बन्धक बनाइएका बालुवाका कणको आसन्न चमक— जब, तिनमा पोतिएको कृत्रिमताको पात्र उक्किने छ, र तिनीभित्रको हिराले देखिने मौका पाउनेछ ।

अथवा लेखे— आगो लाइन्छ, बुल्डोजर चलाइन्छ र गाडिन्छ, त्यो गहिराइसम्म, जहाँ पुगेर त्यस कबाडीले हिरा बन्ने मौका पाउँछ ।

कवि ज्ञानेन्द्र खतिवडाले ‘वाह पुतली’ लेखे, तर परम्परागत कवितामा देखिने पुतलीको सौन्दर्यवर्णनका लागि होइन । जमिनको नजिकै, यानि मान्छेको कुरूप सभ्यताको नजिकै, त्यसको झुस प्वाँखभरि बोकेर उडिरहँदा पनि पुतलीले कस्तो अप्रतिम उचाइ हासिल गरेको छ ! त्यसैले भने— वाह पुतली ।

यहाँ हाम्रा दुःख छन्- लेख्ने नयाँ कुरा के नै छ र ?

ठुलाठुला कुरातिर लाग्दा आकाशका चन्द्रमा देखिन्छ ।

समुद्रमा पानी ।

हिमालमा हिउँ र पत्थर ।

देशमा क्रान्तिको आवश्यकता ।

बेथितिमा शासक । जीवनमा पूर्णता वा निर्वाण ।

यहाँ नयाँ के रह्यो र ?

तर भनिरहनुपर्छ । बिर्सेलान् है मान्छेले जूनको कुरा ? क्रान्तिको कुरा ? भ्रष्ट शासकको कुरा ।
उसो भए, नयाँ भइँदैन भन्ने दकसले भ्रष्ट शासकविरुद्ध चैँ कवितै नलेख्नु ? गीतै नलेख्नु ?

लेख्नू नि । किन नलेख्नु र ? धुमधाम लेख्नू ।

नयाँ कुराको खोजी, र यो ‘लेख्नु र नलेख्नु’ को बहसबिच कुनै तालमेल छैन ।

यहाँ चर्चाको विषय ‘सिर्जना’ को हो । व्यवस्थापनको होइन ।

व्यवस्थापन गरेर ‘सर्जक’ कहलिँदा पनि ग्लानि त हुनुपर्ने हो ।

तर नहुँदो रहेछ । खरानी बल्दैन, जति बाले पनि ।

भस्मानुषक्तविकचोत्पलमल्लिकाय

नीलाब्जकण्ठसदृशाय नमः शिवाय ।।

ओम् नमः शिवाय ।

विलियम कार्लोस विलियमको त बानी खै खुजुरे कुरा हेर्ने । देख्ने ।

कस्तो भने, जमिनको कुरा गर्ने, जमिन नै देख्ने । लेख्ने पनि ।

हामी जमिनको कुरा गर्छौँ । आकाश–पाताल लेख्छौँ । धन्न पो पढ्छन् ! पढिरहेका छन् ।

तिनको भनाइ सम्झन्छु — एउटा सामान्य, एकपहिया रातो ठेलामा धेरै कुरा भर पर्छ । धेरै कुरा ।
कस्तो गाडा ?

बर्सातको पानीले भिजेको ।

कहाँ ?

सेता कुखुराको छेउमा ?

ठेला । त्यो पनि रातो । पानीले भिजेको । यानि, ओत लगाउने ठाउँ पनि छैन ।

कहाँ ? सेता कुखुराको छेउ । यानि, कुनै गरिबको घरमा ।

रातो ? म्म, रगतको रङ । रगतै पोतिएको पनि हुन सक्छ ।

त्यो ठेला चलेन भने, तथा, त्यसमा राखेर कुखुरा मुकामका पुगेनन् भने, अगेनोको रातो बल्दैन । त्यसो भयो भने, अनुहारको कान्ति चम्किँदैन ।

यस्तो गाढा, कुखुरा, पानी..कविता ।

साना कुरा । आँखाका नानी । जीवनको सूक्ष्मतम दर्शनका आधार हुन् ।

सर्जक–दृष्टि यसैका लागि चाहिन्छ सायद ।

मान्छेले घाम उहिल्यैदेखि देखेको हो नि । होला भनम् न । तर घामभित्र दाग हुन्छ— यो कुरा पत्ता लाउन मान्छेले आफ्नो सृष्टिको हजारौँ वर्ष कुर्नुपरेको ठिक साँचो हो ।

घामभित्र दाग हुन्छ र ? ब्ल्याक स्पट ? हैट, यतातिर नलागौँ । कवितातिरै लागौँ ।

ग्रन्थहरूको सूक्ष्मताको बोध उहिल्यै गरिएको हो ।

वटस्य पत्रस्य पुटे शयानं बालं मुकुन्दं मनसा स्मरामि ।

वरको पत्रको पनि पुटभित्र भगवान्‌को वास छ ।

यो त भयो पूर्वीय कुरा ।

पश्चिममा, वाल्ट ह्विटेमेनले पनि पातको त्यान्द्रोमा र मान्छेमा उही आत्मा देखे रे । ‘लिभ्स अफ ग्रास’ को मर्मकथा यही त हो, भलै त्यसमा पहाडजत्रा कुरा पनि आएका छन् ।

तर सूक्ष्म कुराको जगमै त्यो कविता उभिएको छ ।

सूक्ष्मता माने कविताको लम्बाइको कुरा गरेको होइन । नेपालमा त आकारकै आधारमा लामा कविता, छोटा कविता, पुड्का कविता, बौना कविता…हैट । कथामा उस्तै छ । आकारवाद !

यहाँ मैले उठाइने विषयको कुरा गरेको । सियोको टुप्पामा गीतको विषय देखे देवकोटाले । सियोको टुप्पाले मुटु बिझ्यो दमाई दाइ । युट्युबमा छ । सुन्नु होला ।

एकपल्ट स्वर्गीय जीवन आचार्यलाई सम्झन्छु ल, कविता ‘सङ्गीतकार’ मार्फत ।

धुनहरू अभिमञ्चित गरेर पर्दाहरूभित्र
म पर्दा उघ्रने प्रतीक्षामा बसेको छु
पर्दा उघ्रँदैन,
पर्दा ढिलोसम्म नउघ्रिएकोमा उद्घोषण हुन्छ
“सङ्गीतज्ञको पेट खोक्रो सारङ्गी भएकाले
उहाँको लास मात्रै प्रस्तुत गर्न सक्यौँ
त्यस सारङ्गी–शरीरलाई रेट्न सक्ने
तपाईंको शिल्प छ भने
कृपया स्टेजमा पाल्नुहोला ।”

हैट ।

कवितामा नयाँ विषय कहाँबाट ल्याउनु ?

आँखामा मोतीबिन्दु भएको छ मलाई सायद । जलबिन्दु पनि हुन सक्छ ।

लेन्स फेर्न सकिन्छ कि ?

यो करोडको प्रश्न भइगयो ।

कारण, अचेल विचारको बजारमा लेन्स–कम्पनीको बिगबिगी छ । आँखामा होइन, दिमागमा लाइदिन्छन् । अनि हामी ? दाइँ बर दो, मेहेका टुप्पीका कोइली बस्यो । दाइँ बर दो ।

लेन्सले त के नै हुन्छ र ? माइक्रोस्कोप चाहिएको बुझिन्छ । महँगो छ, कसरी किन्नु कोरोनाले ढाड सेकेका वेला ?

तर, युग साना कुराको हो । ठुला गफले यहाँसम्म ल्याएर हामीलाई छोडिदिएको छ । र हामी कस्ता छौँ— टेबलमा हिँड्दै गरेको कमिलो, टेबलको किनारमा पुगेर अलमलिएका जस्ता । ठुला कुराको बानी परेको छ, सानामा झरौँ भने पनि पूर्व मन्त्री राजदूत भएर विदेश गएजस्तो…

खुब चर्चा गऱ्यौँ उत्तराधुनिकताको । कहिले सुरु भयो, त्यतातिर लागिनँ । समयसूचक हो भने, सुरु भयो होला कुनै वेला, बिसौँ शताब्दीको छैटौँ दशकतिर । तर, यो ‘सोच’ अथवा ‘मानसिकता’ हो भने, ठुल्ठुलो गफास्ठबाट ससाना, लघु–आख्यान र सूक्ष्म कुरातिरको ध्यान, मान्छेको इतिहासजत्तिकै पुरानो छ ।

यानि, उत्तरआधुनिकता मान्छेको इतिहासजत्तिकै पुरानो ?

त्यस्तै-त्यस्तै भनौँ न । सोचको कुरा गरेको ।

तर, सूक्ष्मतातिरको सोचले टाउको उठाउन नपाएको धेरै भयो ।

ठुलै कुराको मोह । क्रान्ति । अर्को बुद्ध । मानव कल्याण । विश्व शान्ति । गरिबी निवारण । न्याय र समानताको स्थापना । वर्गहीन समाज । मोक्ष । निर्वाण । प्रकृति संरक्षण ।

अब यसमा नयाँ कुरा के भन्नू ?

एलिस वाकरले कविता लेखिन्— ‘बि अलोन’ । तर्क छ अचम्मको ।

यसले दुइटा झट्का दिन्छ । कुरा साना हुन् — पिलन्धरे । तर झट्का, जोडका ! पचासी झट्काजस्तो ।
लेख्छिन्—

१. बजारमा भाउ घट्छ वा बढ्छ सुनको ? हो, यस कुराको बेवास्ता गरेर हामी सुनको अवमूल्यन गर्न सक्छौँ । टाइँ !!!!

२. प्वाँख, सिपी, समुद्रले कुँदेका पत्थरहरू — यी सबै सब पनि त दुर्लभ छन् । जे पर्याप्त छ, त्यसलाई जस्तै जो दुर्लभ छ, त्यसलाई पनि उत्तिकै मायाँ गरेर हामी ‘क्रान्ति’ गर्न सक्छौँ । टाइँ !!!! टाइँ !!!!

हुन त वाकरको यो कुरा अव्यावहारिक हो । तर यो सोचको नयाँ तरिका हो ।

कस्तो नयाँ तरिका ?

उहिले कहिले, एउटा मान्छे कुनै एउटा भव्य देशमा घुम्न गएछ । एक लाँक्रो उखु किनेछ । टोक्दै, चबाउँदै, खोइला सडकमा फाल्दै एउटा पर्यटकीय चोकमा पुगेछ । एकछिन सुस्ताएपछि एउटा व्यापारी आएर सोधेछ— सर, टोपी लिनुहुन्छ ? उसका हातमा रङ्गीचङ्गी टोपी देखेर त्यो पर्यटक आकर्षित भएछ, र मोटो रकम तिरेर किनेछ । उसैले चबाएर, चसेर फालेका उखुका खोइला टिपेर त्यस व्यापारीले टोपी बनाएको रहेछ, वास्तवमा । हैट !

संसारमा लेखनका लागि नयाँ विषयको अभाव छ, अथवा ठुलो विषयमा नयाँ दृष्टिको अभाव छ भन्ने कुरा गनगने कुरा हो । विषयबैङ्क टाट पल्टन्छ भन्ने कुरा सत्य होइन । सिर्जनाको संसार, अधिकांश अवस्थामा हावामै पाउ, र हावामै हात हल्लाएर उडेको चैँ सत्य हो ।

एकपल्ट जमिनमा उभिनु हो भने नि, जमिनसँग विषयको अक्षय ढुकुटी छ ।

हामीले दुई हज्जार साठीपछि नेपाली लेखनतिर यसो दृष्टिगोचर गऱ्यौँ भने एउटा आशाको झिल्को देखिन्छ । कस्तो भने, त्यसअघि अलि ठुला कुरामा बानी परेको — यानि, अस्तित्ववाद, अध्यात्मवाद, मार्क्सवाद, समाजवाद, नारीवाद, पुरुषवाद, राष्ट्रवाद, ‘गनगनवाद’ र यस्तै वादैवाद — यी वादका भाषाबाट साहित्य सूक्ष्म कुरातिर आएको भने पक्कै हो । जस्तो, कस्तो ?

— पछाडि पारिएका वा परेका मान्छेतिरका कथातिर । तर, यहाँ राजनीति र पत्रकारिताको छाया उसै गरी पऱ्यो, जसरी कुनै सुन्दर उपवनमा विशालकाय पर्वतको छाया पर्छ, र सुन्दरता छेकिन्छ ।

— फरक र उघ्रिन बाँकी मान्छेका पहिचानका कुरातिर गयो । तर, लेन्स, पहिचानभित्र होइन कि, पहिचानमा छाया पार्नेहरूतिर बढी गयो । उदाहरण लिऔँ न । माझीको ‘नदी दृष्टि’ के हो ? त्यो कतै आएन । तर माझीले नदीमा दुःख गरेर मारेका माछा, युगौँदेखि कसले खोसेर खाइराको छ, कुरा त्यतातिर गयो । कथा माछा खोस्नेको भयो । माझीको पनि भयो, तर दुःखको । दुःख उसको पहिचान होइन । नदी–दृष्टि उसको पहिचान हो ।

— जेमा पनि तुलना भयो । हिजो र आज । यता र उता । शक्ति र सीमा । केन्द्र र परिधि । साहित्य निरपेक्ष भएन । सापेक्ष भयो । सापेक्ष भनेको सधैँ-सधैँ द्विचरबिचको कार्यव्यापार हो । सिर्जना निरपेक्ष हुन्छ भन्ने तर्क पनि होइन यहाँ गरिएको । हुन्छ सापेक्ष, धुमधाम । तर, त्यसको मर्म भनेको सापेक्षताभित्र पनि सार्विकताको सन्धान हुनु आवश्यक हुन्छ । तर, त्यसो भएको देखिएन ।
एउटा सैद्धान्तिक दृष्टान्ततिर लागौँ है एकछिन । यो प्राध्यापकीय कुरा नगरौँ भन्यो, कसो कसो, लागेको बानीले खुजुली लाइहाल्छ ।

उत्तरऔपनिवेशिक साहित्य, करिब करिब आधा शताब्दी कुहिरोको काग भयो ।

काग भनेपछि कालो वा सेतो भन्नु नपर्ला । हुन त, कागका प्रजाति भनेर अध्ययन गऱ्यो भने, सबै काला हुन्छन् भन्ने पनि होइन रहेछ ।

सुरुको चरणमा लेखियो— कुइरेले गर्नु गऱ्यो । यसलाई अब हामीले जानेका छौँ ।

अलि पछि चेत खुल्यो— गाली नै गर्न पनि, र पाखुरा सुर्कन पनि कुइरेको नाम पटक–पटक नलिई नहुने । उसो भए, भर्खर स्वतन्त्र भएका यी मुलुकले लेखे चैँ के त ? उही कुइरेकै कुरा । हैट् ।

दोस्रो चरण आयो— ‘स्वाभिमान’ को कुरा । मने— हामीले खेदायौँ । हामी आफैँ उभिन सक्छौँ । हाम्रै भाषा छ, वेशभूषा छ । हाम्रै संस्कृति छ ।

भाषण । लामै चल्यो । हल्ला आयो, गयो । यो थाहा नभएको कुरा पनि थिएन । र, यिनले यो भन्लान् भन्ने पनि थाहै थियो । भने ।

तेस्रो चरणमा यिनीहरूले ऐना आफूतिर फर्काए । त्यो वेलासम्म, धेरै हदसम्म कुइरेप्रदत्त मोतीबिन्दु हटिसकेको थियो आँखाबाट ।

अनि के देखियो ?

कृष्णको विराट् स्वरूप भनेजस्तो । यी मुलुकको दर्शन लेखियो । विश्वदृष्टि लेखियो । अडेको कहाँ थियो— लोकदर्शनमा । सूक्ष्म कुरामा । तृणमा । गीतमा । माटाका कणहरूमा । छुदेन काबिमोको ‘फातसुङ’ – यसै कारणले मलाई औधी मन पर्छ ।

राजनीतिमै पनि — ‘नो फुलस्टप इन इन्डिया’ भनेजस्तो । मार्क टलीको किताब । पढ्दा पनि हुन्छ ।
नाङ्लाले निफनेर फालेपछि भुसमाथि विलाप, युद्ध वा आक्रोश पोखेर चामलको महात्म्य लेखिन्न ।
भुसमाथिको विलाप बिर्सनेले नै चामलको कथा लेख्छ ।

सत्य हो—

भुसले कुनै वेला चामकलाई सुरक्षा कवच लिएको थियो ।

अथवा यसरी सोचे पनि भयो— सेता चामललाई देखिने हुनबाट छेकेको थियो ।

चामलको सफेदी छोपेर पहेँलो देखाइदिएको थियो । दृष्टिभ्रम पारिदिएको थियो ।

भुस त उडेर गयो । अझै भुसकै बारेमा आँसु साहित्य वा आक्रोश साहित्य के लेख्नु ?

अनि कि, कुरै बुझिएन ।

ल्योटार्डले माइक्रो–नेरेटिभको कुरा गरिरहँदा, उनको दिमागमा के थियो त्यो उनै जानून् । तिनको दिमागको कुराले टाउको किन दुखाउनु ?

हामीले बुझ्ने के भने— साना साना, आँखाका नानीजस्ता, हाम्रै वरिपरिका करोडौँ विषय अझै पनि उद्घाटनको क्षण पर्खेर बसेका छन् ।

कान चोर्ने काग हान्न हामी तोप दागेर बसेका छौँ ।

यो तोप हाम्रै दिमागमा पड्किनुपर्ने हो । बाटामा रहेको एउटा ठुलो पत्थर त्यस तोपले फुटाउन सक्छ । र त्यस पत्थरले किचेर राखेका कोमल तृणका पहेँला पालुवा भेटिन पनि सक्छन् । अथवा अमूल्य खजाना पनि भेटिन सक्छन् । केही भेटिएन भने हाम्रै अनुहारको आकारको एउटा डोब भेटिन सक्छ ।

त्यस डोबमा जम्मा भएको पानीमा अर्को ब्रह्माण्डको स्वरूप देखिन पनि सक्छ ।

त्यसमा हाम्रो यथार्थ भेटिन सक्छ ।

लेख्नलाई नयाँ के नै बाँकी छ र ?

कि कसो ?