अमेरिकामा हिउँ परेको थियो । भर्जिनिया राज्यको आर्लिङ्टन सहरमा अवस्थित क्षेत्रीय पुस्तकालयको सभाकक्ष भने न्यानो थियो । न्यानो वातावरणमा न्याना कपडामा आफूलाई वेष्टित गरेका हलभरि नेपाली स्त्री पुरुष र बच्चाहरू एकाग्र भएर माइक हातमा लिएर बोलिरहेका नेपाली रजतपटका सर्वाधिक लोकप्रिय नायक राजेश हमालको हाँकिलो आवाज सुन्दै थिए । त्यो कुनै सिनेमाको कार्यक्रम थिएन, न राजेश हमाल कुनै सिनेमाजन्य कुरा नै बोलिरहेका थिए । उनी त एउटा कविता मुखाग्र बोलिरहेका थिए । त्यो कविता अशेष मल्लको थियो र शीर्षक थियो, “म कृष्णको आगमन पर्खिरहेछु ।”

मेरो मनमा एकसाथ थुप्रै कुरा आए । राजेश हमाल र अशेष मल्लको प्रत्यक्ष चिनाजानी र मित्रता छ कि छैन होला ? कसरी राजेश हमालले यो कविता कण्ठाग्र गर्न सकेका होलान् । उनले पूरै कविता कतै नअड्किई भनेका थिए । उनलाई सम्मानको कार्यक्रम आयोजना गरिएको थियो अनेसास डिसी मेट्रो च्याप्टरको तर्फवाट जसको म संस्थापक सदस्य सचिव थिएँ र त्यस दिनको कार्यक्रम सञ्चालक पनि ।

राजेश हमालले अमेरिकामा अशेष मल्लको कविता पिन ड्रप साइलेन्समा मुखाग्र सुनाएर आफ्नो खुबी त देखाए नै, अशेष मल्ललाई चिन्नेहरूलाई पनि एकपल्ट झकझकाएर बिउँझाइदिए कवितामार्फत ।

अशेष मल्ल

यो प्रसङ्ग मैले उल्लेख गर्नुको कारण त्यो अवसरमा उपस्थित हुनेहरूले यो प्रसङ्ग सम्झिऊन् भन्ने हो । अझ कतिलाई त यसबारेमा थाहै छैन । तिनलाई थाहा होस् भन्ने पनि हो । जसरी अशेष मल्लको नाट्यकर्मको योगदानको विषयमा वृत्तचित्र बनाउन जापानको टेलिभिजन एनएचकेको टोली काठमाडौँ आएको थियो र उनको विषयमा छायाङ्कन गरेर जापानी टेलिभिजनमा देखाइयो भन्ने पनि साह्रै थोरैलाई मात्र थाहा होला, धेरैलाई थाहै छैन ।

उनले लेखेका कृति, गरेका योगदान र नेपाली वाङ्मयको प्राङ्गणमा उनले रोपेका साहित्यिक बीजहरूको व्याख्या विश्लेषणको गहकिलो पुस्तक नै बन्न सक्नेछ, थाहा भएका र थाहा नभएका सबै समेट्ने हो भने ।

उनीसँगको मेरो सङ्गत गराउने नयाँ सडकको पीपलबोट हो । त्रिभुवन विश्वविद्यालयको नेपाली विभाग हो । वि.सं. २०३६ सालको जनमत सङ्ग्रह हो र त्यसकोकारण जन्मेको “सडक कविता क्रान्ति” हो ।

खासमा उनी “तुवाँलोले ढाकेको बस्ती” प्रदर्शनका लागि राजधानी सहर काठमाडौँ आएका रहेछन् । उनलाई काठमाडौँले मोहनी लाएछ, त्रिविमा एमए गर्ने धोकोको बल्छीमा अल्झाएर । नाटकका कलाकार टोली फर्किए । उनी फर्केनन्, भाग्य आजमाउन काठमाडौँ बसे ।

त्यसैबिच वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलन चर्कियो । राजा वीरेन्द्रले रेडियो नेपालबाट सम्बोधन गर्दै ऐतिहासिक जनमत सङ्ग्रहको घोषणा गरे । त्यसको केही दिनपछि भवानी घिमिरेले बहुदलको पक्षमा सडक कविता क्रान्तिको घोषणा गरे पाकोको मोतीमहल रेस्टुँरामा । पहिलो दिन नयाँ सडक पीपलबोटको उत्तरपूर्वी मोहडामा सडक कविता क्रान्तिमा कविता पढ्ने थोरै कविमा अशेष मल्ल पनि थिए । म त थिएँ नै । त्यो पहिलो दिनको सडक कविता क्रान्तिको समाचार भवानी घिमिरेको निर्देशनमा लेख्ने पनि मै थिएँ र समाचार अखवारका कार्यालयहरूमा पुऱ्याउन जान मलाई साथ दिने लव गाउँले थिए ।

गोविन्द गिरी प्रेरणा (अमेरिका)

त्यसपछि काठमाडौँका विभिन्न गल्ली गल्छेँडाहरू, पाटन, भक्तपुर र बनेपा सहरसम्म उनी कवितावाचनका लागि पुगे । यही क्रममा उनीसँग सामीप्य बढ्यो, मित्रता बढ्यो, आत्मीयता बढ्यो । सडक कविता क्रान्तिको टोली चुँदी रम्घा हुँदै पोखरा जाने भयो । मोहन कोइराला, शैलेन्द्र साकार गएनन् । अशेष मल्ल पनि गएनन् ।

हँसाउन सक्ने, क्यारिकेचर गर्न सक्ने, आकर्षक शैलीमा कवितावाचन गर्न सक्ने उनको खुबी थियो । त्यो अझै पनि छ ।

त्यति वेला नाम साहित्यिक पत्रकार सङ्घ भए पनि साहित्यिकारहरूको संस्थाको रूपमा सक्रिय थियो । हामी सडक कविता क्रान्तिका कारण छोटो समयमा चर्चित भैसकेका थियौँ र केही न केही गरौँ भन्ने उत्साह, उमङ्ग, जोस र जाँगर थियो । अनि अचानक साहित्यिक सङ्गोष्ठी गर्ने निर्णय भयो, साहित्यिक पत्रकार सङ्घको तर्फबाट । सङ्गोष्ठी साहित्यिक पत्रकार सङ्घको तर्फबाट गरिने भए पनि बेग्लै आयोजक समिति बनाइएको थियो जसमा साहित्यिक पत्रकार सङ्घका कार्य समितिमा नभएका अशेष मल्ल सचिव थिए भने म पनि सदस्यका रूपमा थिएँ । अतः सडक कविता क्रान्तिपछि साहित्यिक सङ्गोष्ठीको तयारीको सिलसिलामा पनि हामी साथै हिँड्ने, थप सङ्गत गर्ने अवसर भयो । हेम हमाल र जगदीश घिमिरेको पुतली सडकमा अवस्थित गैर सरकारी संस्थाको अफिसदेखि पाटन ढोकामा अवस्थित मदन पुरस्कार गुठीमा कमल दीक्षितसम्मका सामु जिन्सी सहयोग जुटाउन हामी सँगसँगै हिँडेका थियौँ, सङ्गोष्ठीका लागि नगद चन्दा भने नउठाउन हामीले सामूहिक निर्णय गरिएको थियो ।

त्यो सङ्गोष्ठीको लोगोको डिजाइन अशेष मल्लको नै थियो र त्यो लोगो मुद्रणका लागि काठको ब्लक मैले त्रिपुरेश्वरस्थित घरेलुको कार्यालयमा गएर बनाएको थिएँ । जिङ्क ब्लक राम्रो हुन्थ्यो तर त्यो महँगो र ढिलो पनि हुने हुनाले सस्तो र छिटोका लागि काठको ब्लक बनाइको थियो । म त्यतिखेर त्रिभुवन विश्वविद्यालयको केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा लेखापालको रूपमा काम गर्थेँ र मलाई पायक पर्ने भएकाले त्यो कामको जिम्मा मैले पाएको थिएँ ।

निकै भव्यता र सफलताका साथ साहित्यिक सङ्गोष्ठी समाप्त भयो ।

नाटकले तानेर ल्याएको थियो अशेषलाई काठमाडौँ । काठमाडौँ आएपछि भने रङ्गकर्म खासै अघि बढिरहेको थिएन । नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले बर्सेनि नाटक महोत्सव गर्थ्यो । अशेषले प्रयोगवादी नाटक लेखे “सडकदेखि सडकसम्म” । त्यो नाटक निर्देशनका लागि प्रचण्ड मल्ल र हरिहर शर्माले हात बँटाएका थिए । नाटकमा प्रायः सबैजसो कलाकार साहित्यकार नै थिए, केही पद्मकन्या क्याम्पसका विद्यार्थी पनि थिए । उनले एकेडेमीमा २ ओटा नाटक सो महोत्सवका लागि पेस गरेका थिए । अर्को नाटक थियो, “रातका बन्द आँखाहरू” ।

नाटकहरू पहिलो चरणमा स्क्रिप्ट स्वीकृत हुनुपर्थ्यो, त्यसपछि दोस्रो चरणमा “ग्रान्ड रिहर्सल” मा पास भएपछि मात्र प्रतियोगितामा प्रदर्शनका लागि छानिन्थ्यो तर “सडकदेखि सडकसम्म” नाटक पहिलो चरणमै फेल भयो । “रातका बन्द आँखाहरू” चाहिँ स्वीकृत भयो तर अशेष “सडकदेखि सडकसम्म” नाटकमा बढी आशावादी देखिन्थे, उनले नाटकलाई परम्परागत हिसाबबाट पृथक् गराई नयाँ ढङ्गले लेखेका थिए । यो अस्वीकृतिको अपेक्षा अनुमान उनले गरेका थिएनन् । “रातका बन्द आँखाहरू” अस्वीकृत भएको भए सायद उनी चूप बस्थे, तर “सडकदेखि सडकसम्म” नाटकको अस्वीकृति सह्य भएन ।

त्यो नाटकको प्रस्तोता साहित्यिक पत्रकार सङ्घ थियो । अनि हामीहरू नगेन्द्रराज शर्मा, अच्युतरमण अधिकारी, अशेष, म लगायत एक हुल विजय मल्लकहाँ डेलिगेसन गयौँ । हाम्रो हुल देखेर विजय मल्ल झन्डै तर्सिए । उनी आफैँ सफल नाटककार, नाटक महोत्सवको सर्वेसर्वा उनी नै थिए । हामीले आफ्नो कुरा राखेपछि उनले आत्तिँदै भने, “नाटक त राम्रो छ तर यो रङ्गमञ्चमा उतार्न गाह्रो होला भनेर स्वीकार नगरेको । यदि यसलाई राम्रोसँग उतार्न सकिन्छ भने बेजोडको हुन्छ । बरु केही सहयोग चाहिने भए भन्नुहोला ।“

नाटक स्वीकृत भयो । मञ्चन भयो । चर्चित भयो र नेपाली नाट्य जगत्‌मा अशेष मल्ललाई नाटककारका रूपमा स्थापित गराउने र चिनाउने नाटक नै यही भयो । यो नाटक गोदावरी एलुम्नाई एसोसिएसनले बर्सेनि आयोजना गर्ने एकाङ्की प्रतियोगितामा बुढानीलकण्ठ स्कुलको तर्फबाट प्रदर्शन गरिँदा दिवङ्गत युवराज दीपेन्द्रले समेत अभिनय गरेका थिए ।

अशेषले कविता लेखिरहे । कवि गोष्ठीलाई त कवितै चाहियो नि । पत्रपत्रिकालाई कथा चाहियो, उनले कथालाई पनि मर्मस्पर्शी पाराले लेखे । मुक्तक त उनको एक प्रकारको ब्रान्ड नै भयो । “अज्ञात प्रदेशहरूमा” उनको मुक्तकसङ्ग्रह नै छापियो । उनले एउटा उपन्यास पनि थाले । उनले त्यसको केही अंश पनि लेखे । लेखे जति अंश एकपल्ट सुनाएका पनि थिए । काठमाडौँमा पहिलोपल्ट रजस्वला हुँदा नेवारी परम्परा अनुसार गुफा बस्ने चलन छ । त्यसरी बस्दा घामको मुख हेर्नु हुन्न । गुफा बस्दा कसैको मृत्यु पनि हुन सक्छ रे अनि त्यसरी मृत्यु भएकालाई मझेरीमा वा भऱ्याङमुनि गाडिन्छ रे भनेर उनले सुनेका रहेछन्, त्यसैलाई कथावस्तु बनाएर उनले उपन्यास लेख्दै थिए तर पूरा भएन र त्यो समयको गर्तमा कता बिलायो, थाहा छैन ।

उनले एकपल्ट देहव्यापार गर्ने स्त्रीहरूसँग अन्तर्वार्ता लिएर तिनीहरूको विषयमा पुस्तक लेख्ने सोच बनाएका थिए । केहीसँग अन्तर्वार्ता पनि लिएका थिए । तिनीहरूका पीडा वेदना क्या मर्मस्पर्शी हुँदा रहेछन् भन्थे । हनुमान् ढोका प्रहरी कार्यालयका परिचित प्रहरी अधिकृतको सहयोगमा ती अन्तर्वार्ताहरू लिइएको बताउँथे तर यो योजना पनि अघि बढेन, त्यत्तिकै विस्मृतिको गर्भमा बिलायो ।

वि.सं. २०३७ सालमा एकेडेमीको नाटक महोत्सवमा अशेष मल्ल दोस्रा भए । पहिला भएका थिए विनोद अश्रुमाली, दोस्रा अशेष र तेस्रा भएका थिए, भानुभक्त पोखरेल, जो अशेषका गुरु थिए ।

अशेषलाई लाग्यो नाटकका लागि एउटा नाट्य संस्था चाहिन्छ । यो सोचले “सर्वनाम” को जन्म भयो । सर्वनामको नामकरण कुनै बौद्धिक कसरत र छलफलले निष्कर्ष निकालेर भएको थिएन । “लौ भनौँ न सर्वनाम” भनेर गफको सिलसिलामा भनेको नाम नै आज नेपाली रङ्गमञ्चको जगत्‌मा टड्कारो बनेको छ । त्यस्तै त्यसको लोगो पनि उनले सुरुमा मेरै सामुन्ने यस्तो बनाउन सकिन्छ भनेर जे रेखा त्यत्तिकै कोरेका थिए, त्यो नै कालजयी लोगो भयो । मलाई गजब लाग्छ, उनले सरल र सहज ढङ्गले भनेका, बोलेका र गरेका कुरा कति मजासँग दीर्घजीवि भए ।

सडक कविता क्रान्तिपछि झाँगिएको अशेष मल्ल र किशोर पहाडीको मित्रता सर्वनामको स्थापनासँगै झन् गाढा भयो । उनीहरूको त्यो साहित्यिक मित्रताले एउटा आकार पायो कथालेखनमा, दुवैले मिलेर एउटा कथा लेखे । जसमा कसले सुरु गरेको र कसले अन्त गरेको बताइएन तर कथा बेजोडको बन्यो । फुटकर रूपमा अरू पनि लेखिए र ती कथाहरू संयुक्त नाममा प्रकाशन हुँदै गए । अनि त्यो कथा सङ्ग्रहको नामकरण कथा कोण गरियो र मैले सुरु गरेको “अनुभव प्रकाशन” को पहिलो प्रकाशनका रूपमा त्यो बजारमा आयो । चर्चित भयो ।

त्यो कथा सङ्ग्रह बेजोडको थियो र छ तर नेपाली साहित्यमा राम्रो भईकन पनि ठुलो चर्चा सँगेल्न नसकेका थुप्रै कृतिहरूको सूचीमा यो पनि टड्कारो छ । यसको नयाँ संस्करण निकालियो भने आजका पाठकले पनि उत्तिकै रुचाउने मेरो ठहर छ ।

अशेष मल्ललाई काठमाडौँमा सुरुमा हेम हमाल र जगदीश घिमिरेले आफ्नो प्राइभेट फर्ममा काम दिएका थिए । पछि उनी त्यही सम्बन्धका कारण परिवार नियोजन सङ्घको अफिसर हुन पुगे र त्यो जागिरले उनलाई पहिलोपल्ट विदेशयात्रा पनि गरायो ।

परिवार नियोजन सङ्घमा उनका हाकिम थिए कवि हेम हमाल । त्यो जागिर उनैले दिलाएका थिए । त्यसको गुरु दक्षिणा पनि अशेषले राम्रो दिए । छोटा र मिठा, गहकिला एवं प्रतीकात्मक, बिम्बात्मक कविता लेख्ने हेम हमालको “यो सहर छाड्नुभन्दा पहिले” कवितासङ्ग्रहपछि अर्को सङ्ग्रह निस्केको थिएन । अशेषकै मेहनत र साथ सहयोगले “गाउँ गाउँजस्तो छैन, सहर सहरजस्तो छैन” कवितासङ्ग्रह प्रकाशन भयो । यस पुस्तक प्रकाशनका लागि उनले दिलोज्यान लगाएर मिहिनेत गरेका थिए । सोअनुसार किताब पनि निकै राम्रोसँग निस्क्यो । आजकाल भए “सम्पादक” भनेर नाम ठोकिहाल्थे तर उनले त्यसको प्रलोभन गरेनन् ।

सर्वनामको औपचारिक स्थापनापछि अशेषले एउटा नयाँ कुरा भित्र्याए नेपाली रङ्गमञ्चमा-“सडकनाटक” । हुन त कतिले यसलाई भारतको नुक्कड नाटकको नक्कल भने । हाम्रो नेपालमा पनि मल्लकालदेखि नै डवली नाटक हुन्थ्यो, यो त्यही हो पनि भने तर अशेषले “सडकनाटक” लाई नेपाली रङ्गमञ्च जगत्‌मा स्थापित गरे मौलिकतासहित । उनले पहिलोपल्ट “हामी वसन्त खोजिरहेका छौँ” नाटकलाई उपत्यकाका विभिन्न स्थानमा सात दिनसम्म प्रदर्शन गरे । यो बेग्लै कुरा हो, सुरुमा यो नाटक सडकनाटकको अवधारणाअनुसार लेखिएको थिएन र यसको पहिलो-पहिलो प्रदर्शन पनि सडकनाटकका रूपमा भएको थिएन । यसको प्रथम प्रदर्शन वाल्मीकि क्याम्पसको सभाकक्षमा गरिएको थियो र मैले पनि त्यसमा अभिनय गरेको थिएँ, सम्भवतः मेरो रङ्गमञ्चमा अभिनय त्यो नै अन्तिम थियो ।

सडकनाटकलाई शिक्षामूलक, विज्ञापनमूलक बनाएर आर्थिक उपार्जन गर्ने समेत बनाए सर्वनाममार्फत उनले । यसरी व्यवसायमूलक सडकनाटक गरेर पनि गैर व्यावसायिक नाटक एवं सडकनाटक समेत समानान्तर रूपमा प्रदर्शन हुँदै गयो तर एकपल्ट सडकनाटकको क्रममा मोटर दुर्घटना भएर अशेष मल्ल, किशोर पहाडी लगायत धेरै साहित्यकार कलाकार घाइते भए । एक जना त मेरुदण्ड नै भाँचिएर आजीवन अशक्त भए । यो एउटा नमिठो र नमज्जाको दुर्घटना थियो । केही समयको नेपथ्यपछि सर्वनाम पुनः जुरमुरायो । फेरि आफ्नो कर्ममा निरन्तरता दिन थाल्यो । अशेष पनि बौरिए, सारसौँदो भए ।

अशेषलाई काठमाडौँमा आकर्षण गर्ने त्रिभुवन विश्वविद्यालय कीर्तिपुर थियो । उनको बिहा पनि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरले जुरायो । काठमाडौँमा एकपल्ट अङ्कुरित अशेषको प्रेम राजनीतिको बतासले उडाएको थियो । त्यसपछि उनको भेट सावित्री कक्षपतिसँग भयो, उनी नयाँ ढङ्गबाट जीवन सुरु गर्न एमए अध्ययनार्थ काठमाडौँ आएकी थिइन् । अशेषको मनले चाह्यो, आत्माले स्विकाऱ्यो तर सावित्री विशेष सङ्कोचमा थिइन् । उनले सहज रूपले अशेषको प्रस्ताव स्विकार्न सकिरहेकी थिइनन् । यसै च कथाकार भागीरथीले गरिमामा एउटा कथा प्रकाशित गरिन् । त्यो कथाको पृष्ठभूमि सावित्रीको जीवनको भोगाइसँग सम्बन्धित थियो । त्यो कथाले काम गऱ्यो । अशेष सावित्री एक हुने भए तर अशेषका अभिभावकहरू खुसी भएनन्, अशेषले एक प्रकारले विद्रोह गरे । उनीहरूको बिहा भयो ।

वि.सं. २०३६ सालको सडक कविता क्रान्तिका वेला पञ्चायतइतरका सबै विचारका कवि लेखकहरू एकसाथ थिए तर जनमत सङ्ग्रहको घोषणापछि त्यो एकात्मकतामा अलिअलि धमिरा लाग्न थालेको थियो । यद्यपि खासै असहिष्णु अवस्था पनि थिएन । वि.सं. २०४६ सालको आन्दोलनले फेरि सबैलाई एकै ठाउँमा ल्यायो । त्यस वेला प्रजातान्त्रिक र वामपन्थी दुवै खेमाका कविहरूको संयुक्त कवितासङ्ग्रह “वसन्तको खोजी” मा अशेषको पनि सहभागिता थियो । त्रिचन्द्र क्याम्पसमा मुखमा कालो पट्टी बाँध्ने कार्यक्रममा कमल दीक्षित, पारिजात जस्ता स्वनामधन्य साहित्यकारको साथमा उनी पनि सामेल थिए र त्यसमा सामेलहरूलाई गरिएको सामूहिक गिरफ्तारीमा पारिजातबाहेक सबै बग्गीखानामा केही घण्टा थुनिनेमा उनी पनि थिए ।

वि.सं. २०४६ सालको आन्दोलनले पञ्चायत व्यवस्था ढल्यो, पञ्चायत कालीन एकेडेमीका तत्कालीन पदाधिकारीहरूलाई पनि ढाल्यो, नयराज पन्त भने ढलेनन् । त्यसपछि गठित एकेडेमीको नाट्य विभागको प्राज्ञमा अशेष मल्ल नियुक्त भए । जुन एकेडेमीमा धनकुटाको तल्लो कोप्चेबाट “तुवाँलोले ढाकेको बस्ती” नाटक मञ्चन गर्न उनी काठमाडौँ आएका थिए, उनी त्यही एकेडेमीको प्राज्ञ हुन पुगे ।

त्यसै ताका उनमा स्वास्थ्यको समस्या देखा पऱ्यो । त्यो समस्या गम्भीर खालको हो भन्ने आशङ्काको महाभूतले आक्रमण गऱ्यो तर त्यो भूत भूतमै सीमित भयो । यसको फलस्वरूप उनले २ विश्वासलाई अङ्गीकार गरे, जापानी विश्वास- जोराई अर्थात् सेइमेइक्यो र भारतीय विश्वास साईँबाबा ! यी दुई विश्वासले उनलाई धार्मिक होइन, आध्यात्मिक बनायो, बाँकी जीवन शान्तपूर्वक बाँच्न विश्वासिलो आधार वन्यो ।

उनले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनको काम गरे । तुलसी दिवसको स्वप्नसंस्था सिसास अर्थात् सिर्जनशील साहित्य समाजको सचिवको रूपमा काम गरे । उनले गरेका साहित्यिक एवं रङ्गमञ्चीय कर्महरूको फेहरिस्त लामो बन्छ । उनले भाग लिएका राष्ट्रिय अन्ताराष्ट्रिय गोष्ठी सम्मेलनहरूको सूची पनि कम्ता छैन तर उनी एकाग्र भएर सर्वनामलाई नै जीवनको अन्तिम धाम बनाउने लक्षमा लागिरहे । सर्वनामको आफ्नै थियटर बन्यो जसको भित्तामा लेखिएको छ – यो थियटर बनाउन सरकारी गैर सरकारी कसैको सहयोग चन्दा लिएका छैनौँ । यो कति गर्व र आत्मसम्मानको कुरा हो ! यो सब अशेषकै सपनाको प्रतिफल हो, उनको भिजनको प्रतिफल हो, उनको अठोटको प्रतिफल हो ।

सर्वनाममा उनी यति समर्पित भए कि सङ्गीत नाट्य एकेडेमीको कुलपति पदका लागि आएको अफर पनि लत्याइदिए । अस्वीकार गरिदिए ।

उनी अमेरिका भ्रमणका आएका वेला स्वागत सम्मान गर्ने अवसर पनि जुट्यो । रोचक कुरा त के थियो भने, उनको नाटक अमेरिकाको न्युयोर्क सहरमा हरिबहादुर थापाको निर्देशनमा मञ्चन भएको थियो । जुन भूमिमा उनको नाटक मञ्चन भएको थियो, त्यो भूमिमा उनले पाइला टेक्न आइपुगेका थिए एउटा साहित्यिक कार्यक्रममा भाग लिने सिलसिलामा ।

तल्लो कोप्चे धनकुटाबाट फैलिँदै काठमाडौँ आएका अशेषको विस्तार विश्वव्यापी भयो तर उनको प्रतिभाको जग भने तल्लो कोप्चे नै हो । त्यही माटो हो ।