१. प्रवेशद्वार

उपन्यासकार योगेश राजको ‘रणहार’ उपन्यासले २०७५ सालको मदन पुरस्कार प्राप्त गर्‍यो । यस वर्ष पनि केही महिना अगाडि नै मदन पुरस्कार गुठीले उत्कृष्ट कृतिहरूको नाम सार्वजनिक गरेको थियो तर नेपाली साहित्यका क्षेत्रमा त्यति नसुनिने नाम हुनाले योगेश राज र ‘रणहार’ दुवै पूर्वानुमानका घेरामा परेका थिएनन् । त्यसैले प्रस्तृत कृतिले मदन पुरस्कार पाउने घोषणा हुनासाथ यसमाथि पनि यस प्रकारका अनेकौँ टीकाटिप्पणीहरू सुनिए—

— मदन पुरस्कार गुठीलाई इतिहासको सामग्री भए पुग्छ भन्ने कुरा यस पटक पनि पुष्टि भएरै छाड्यो ।
— मदन पुरस्कार पाउनका लागि कुनै कलात्मक सिर्जना आवश्यक छैन, राजामहाराजाको इतिहाससँग जोडिएको विषयवस्तुको प्रतिवेदन बनाएर बुझाए पनि मदन पुरस्कार पाइन्छ भन्ने कुरा यस पटक प्रमाणित भयो ।
— हैन, नेपालीमा गतिला कविता, खण्डकाव्य, महाकाव्य, निबन्ध र नाटकका कृतिहरूचाहिँ लेखिँदा रहेनछन् ? पोहार पनि आख्यान (उपन्यास), यस वर्ष पनि उपन्यास !
— संस्कृति, दर्शन, समाजशास्त्र आदिसँग सम्बन्धित अनुसन्धानमूलक कृतिहरूचाहिँ नलेखिएका हुन् कि मूल्याङ्कनकर्ताहरूबाट नदेखिएका हुन् ?
— साहित्यमा मदन पुरस्कार दिँदा त साहित्यकारलाई नै दिनु नि ! आजसम्म साहित्यका क्षेत्रमा नामै नसुनेका व्यक्तिले मदन पुरस्कार पाए रे !
— गरेपछि के हुँदैन ! हाम्रो पुरानो र लुकेको इतिहासको उत्खनन गरिएको कृतिले मदन पुरस्कार पाउनु हाम्रो गौरवशाली अतीतप्रतिको सम्मान हो, स्याबास, मदन पुरस्कार गुठी ! यस पटक भने उपत्यकाले पनि सम्मान पाएको देखियो ।
यी र यस्तै प्रकारका धेरै खाले क्रिया प्रतिक्रियाहरू नेपाली साहित्यिक बजारमा सुन्न पाइयो । तिनमा आंशिक सत्यता पनि होला र केही वैयक्तिक स्वभाव पनि होला । यो हाम्रो एउटा जीवनशैली नै हो जस्तो लाग्छ । त्यसैले यस शृङ्खलामा २०७५ सालको मदन पुरस्कार विजेता कृति ‘रणहार’ उपन्यासका बारेमा समीक्षात्मक परिचय प्रस्तुत गरिएको छ । उपन्यास पढ्न नभ्याउनुभएकाहरूका लागि यो लेख बाह्य सूचना बन्ने छ भन्ने लागेको छ ।

२. कृति र कृतिकारका सम्बन्धमा

डा. देवी नेपाल

भक्तपुरमा जन्मिएका योगेश राज अन्तर्मुखी स्वभावका स्रष्टा हुन् । उनी बाहिर परिचयमा आउनेभन्दा पनि भित्रै बसेर साधना गर्न रमाउने स्रष्टा हुन् । उनी मूलतः इतिहासका ज्ञाता हुन् र ऐतिहासिक एवम् पुरातात्त्विक विषय र सन्दर्भहरूका आधिकारिक विश्लेषकका रूपमा पनि उनी परिचित छन् । उनले विशेष गरी काठमाडौँ उपत्यकाभित्रका ऐतिहासिक तथ्यहरूलाई उत्खनन गरी सार्वजनिक गर्ने काम गरेका छन् । यसका साथै नेवार समुदायका सामाजिक, सांस्कृतिक एवम् संस्कारगत सन्दर्भहरूको परिचय र विश्लेषण गर्ने कार्यमा उनको विशिष्ट योगदान रहेको देखिन्छ । नेपाली, अङ्ग्रेजी र नेपाल भाषा तीनओटै भाषामा कलम चलाउने योगेश राजका यसभन्दा अगाडि नै ‘सन्ध्यासंरचना’ (हिन्दु नेवारहरूको मृत्युचेतना, सन् २०१३) र ‘ऋयगचबनभ ष्ल ऋजबयक’ (भाष्कर गौतमसँगको सहलेखन, सन् २०१२) जस्ता कृतिहरू प्रकाशित भइसकेका छन् । भक्तपुरको प्राचीन राजनीतिक इतिहासलाई मुख्य विषयवस्तु बनाएर लेखिएको ‘रणहार’ उपन्यास उनको पहिलो साहित्यिक कृति हो । भक्तपुरका अन्तिम राजा रणजित मल्लको जीवनचरित्र र तत्कालीन भक्तपुरको सामाजिक तथा सांस्कृतिक पक्षको उद्घाटन गरी लेखिएको यो उपन्यास ऐतिहासिक मूल्यका दृष्टिले उल्लेखनीय मानिन्छ ।

३. कृतिको बाह्य संरचना र कथाको स्वरूप

उपन्यासकार योगेश राजको ‘रणहार’ उपन्यास डिमाइ साइजका १५२ पृष्ठमा संरचित छ । यसको मूल कथावस्तु १३९ पृष्ठमा समेटिएको छ भने अन्तिमका छ पृष्ठमा नेपाल भाषाका पद र पदावलीहरूको अर्थ र बाँकी छ पृष्ठमा उपन्यासको उपसंहार स्वरूप कथात्मक सन्दर्भसहितको लेखकीय आत्मकथन रहेको छ । नेपालयले सन् २०१८ मा पहिलो पटक र २०१९ मा तीन पटक प्रकाशन गरेको यस कृतिको मूल्य कतै पनि उल्लेख गरिएको छैन । मूल कथावस्तु १९ खण्ड र उपसंहार एक गरी जम्मा २० खण्डमा आन्तरिक विभाजन रहेको यो उपन्यास अत्यन्त सुन्दर स्वणर्ाक्षरयुक्त बाहिरी गाता र आकर्षक लेआउटका साथ हल्का कागजमा प्रकाशन भएको छ । अन्य कुनै शुभकामना, भूमिका र मन्तव्यहरू नभएको यस कृतिमा ‘ऐतिहासिक आख्यानको बिउ छर्ने केशवभक्त भजु सरलाई’ भन्ने पदावलीको उल्लेख गरी समर्पण गरिएको छ भने उपन्यास सुरु हुनुभन्दा अगाडि महीन्द्र मल्लको निम्नलिखित कवितांशलाई ससम्मान राखिएको छ—

अकासिएको रुख देखेँ धना जङ्गलभित्र पसेँ
घामको चहक वन मेरो पाइलालाई गोरेटो भेट्न देऊ
काँचुलीजस्तै खोलिएँ, छाडिएँ अनाथ भएँ आज
डाँडाको काँधनेर पुगेको घाम हुँ सुस्तरी बित्न देऊ ।

रणहार

भक्तपुर दरबार यस उपन्यासको स्थानीय परिवेश हो र राजा भूपतीन्द्र मल्लका छोरा र भक्तपुरका अन्तिम राजा रणजित मल्ल यस उपन्यासका नायक हुन् । यसको थालनीमा नै पराजयलाई चिन्ताका रूपमा होइन, सुख वा उन्मुक्तिका रूपमा चित्रण गरिएको छ । भक्तपुर राजकुलको भण्डारखालमा त्यहाँका राजा रणजित, काठमाडौँका राजा जयप्रकाश, पाटनका राजा तेजनरसिं, दुई भक्तपुरे राजकुमार, बुढाकाजी भागीराम, राजषजाञ्चि, चार जना काजी, रणजितका आठपहरिया गरुडनारायणलगायतका पात्रहरूको कुराकानीबाट उनीहरू गोर्खाली आक्रमणबाट त्रसित भएको थाहा पाइन्छ । थालनीमा नै भण्डारखालको चोकबाट भाग्न लाग्दा जयप्रकाशको कुर्कुच्चामा गोली लागेको, कोही त्रसित भएको र आफ्नो पगरी बाहिर झुन्ड्याइदिएर हारको सङ्केत गर्नुपर्ने र गोर्खाली सेनासामु आत्मसमर्पण गर्नुपर्ने विचार व्यक्त गरेको सन्दर्भको चर्चा गरिएको छ ।

यसपछिको केही समय पूर्वदीप्तिमा आधारित रहेर युवराज रणजितको बाल्यकालीन वणर्नमा केन्द्रित छ । उनी बाल्यबालमा पनि त्यत्ति चलाख वा वाचाल देखिँदैनन् । उनी राजकुमारको गुण नभएका सामान्य पात्रका रूपमा देखापरेका छन् । अनेकौँ आक्रमण, अपहरण र आतङ्कबाट बच्दै ठुला भएका रणजितमा राजकीय गुणहरू कहिल्यै पनि नदेखिएको सङ्केत यहाँ पाइन्छ । महिलाको समूहमा एउटी सुन्दरीलाई देख्नासाथ पागल जस्तो हुने, ज्वरो आउने र सुस्त मनस्थितिमा रूपान्तरण हुने उनको स्वभाव र मनमैँजुसँगको स्तरहीन प्रेमालाप आदिको वणर्नबाट र सिङ्गो राज्यको पराजय हुँदा पनि राज्य र जनताका बारेमा कुनै चिन्ता नलिई काशीतिर लागेको प्रसङ्गको उल्लेखबाट रणजितको यथार्थ चरित्र उद्घाटन भएको छ । राज्यसत्ता बचाउने कामबाट रणजितको हार, राजकीय भूमिकाबाट रणजितको हार, समाजबाट रणजितको हार, नैतिकताबाट रणजितको हार र वैयक्तिक जीवनउत्साहबाट रणजितको हार आदिका आधारमा यस उपन्यासको नामकरण नै ‘रणहार’ गरिएको हो भन्न सकिन्छ ।

४. कृतिको अन्तर्वस्तु र गुणात्मक महत्त्व

उपन्यासकार योगेश राजको ‘रणहार’ ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास हो । प्रस्तुत कृतिको ‘उपसंहार’ खण्डमा लेखक स्वयम्ले भनेका छन्- “सबै ऐतिहासिक आख्यानझैँ यो पुस्तक शुद्ध इतिहास होइन, इतिहासमा आधारित पुनःरचना मात्र हो । यसमा तथ्य र कल्पनाको छ्यासमिस छ । इतिहासिनिष्ठ भने हुन खोजेको छु । प्रामाणिक तथ्य उपलब्ध भएसम्म तथ्यसङ्गत कुरा राखेको छु । तथ्य उपलब्ध नहुँदा सम्भव र विवेकसम्मत कुरा रचेको छु । त्यसैले यो पुस्तक यस विषयसँग सम्बन्धित ऐतिहासिक आकार अथवा अरू विद्वज्जनले सप्रमाण लेखेका निबन्धको विकल्प हुन सक्दैन ।”

यस कुराले उपन्यासमा प्रस्तुत ऐतिहासिक विषयलाई थप पुष्टि गर्नुका साथै उपन्यासको अन्तर्वस्तु पहिल्याउन मदत गरेको छ । यस उपन्यासको थालनीदेखि अन्त्यसम्म नै पाठकलाई तत्कालीन भक्तपुरे राजाहरूको ऐतिहासिक कहानीले तानेको छ । त्यसमा पनि आफ्नो राज्यमाथि शक्तिशाली सेनाहरूबाट आक्रमण हुँदै छ भन्ने थाहा पाएपछि छिमेकी राजाहरूसँगको आपत्कालीन बैठक बस्ने र सामूहिक समाधान खोज्ने प्रयत्नको एउटा स्वरूप यस उपन्यासको प्रारम्भमा नै पाइन्छ । साथै हरेक राजामा आफ्नो राज्य विस्तार गर्ने, राज्यलाई ठुलो र आफूलाई शक्तिशाली बनाउने महत्त्वाकाङ्क्षा हुनु स्वाभाविक हो । यही चरित्र राजा भूपतीन्द्र मल्लमा देखिन्छ तर उनको छोरो रणजितमा रहेको राजवंश विपरीत चरित्रले भने राज्यको हारको सङ्केत सुरुमा नै भएको देखिन्छ । रणजितको बाल्यस्वभाव, बाल्यखेल, अपहरण आदि जस्ता सन्दर्भहरूको उल्लेखमा उनको राजकीय चरित्र विकास कतै पनि भएको देखिँदैन । जब शासकमा उत्साह समाप्त हुन्छ, निराशा र अल्छीपनले प्रवेश पाउँछ तब त्यो राज्यको अधोगति सुरु हुन्छ भन्ने कुरालाई यस उपन्यासले सङ्केत गरेको छ ।

गोर्खा राज्यको विस्तार र विजयमा उत्साहको ठुलो भूमिका रहेको छ तर भक्तपुरे राजाको नाम रणजित भए पनि उनको स्वभाव र काम रणहार भएको हुनाले यसमा व्यञ्जनात्मक अर्थसंयोजन पाइन्छ । भाजुकसको षड्यन्त्रबाट बचेर आएका भूपतीन्द्रदेखि अनेकौँ समस्याबाट बच्दै आएका रणजित मल्ल सबैको जीवनकथालाई हेर्दा दरबारमा होस् वा झुपडीमा शान्ति कतै पनि छैन भन्ने देखिन्छ । यसले समस्या जतासुकै छन्, तिनका प्रकृति मात्र फरक हुन् भन्ने कुरालाई राम्ररी पुष्टि गरेको छ । त्यसमा पनि राजकुलमा एकातिर राज्य बचाउने समस्या छ भने अर्कातिर इज्जत बचाउने समस्या छ । राजवंशमा जन्मिएपछि मान्छेका वैयक्तिक स्वतन्त्रताहरू बाँकी रहँदैनन्, ती सबै बन्दी बन्छन् भन्ने कुराको जानकारी रणजितको मानसिक द्वन्द्वका माध्यमबाट दिइएको छ ।

भक्तपुरको तत्कालीन सामाजिक जीवनको उद्घाटन यस उपन्यासको अर्को उल्लेखनीय पक्ष हो । धेरै मात्रामा दरबारभित्रका कुराहरूको चित्रण यस कृतिमा भए पनि दरबारबाहिरको सामाजिक अवस्था र जनमनोविज्ञानको ध्वन्यात्मक सङ्केत यहाँ प्रशस्त पाइन्छ । नारीसमुदायको काम गराइ, सामाजिक रहनसहन र ग्रामीण जीवनशैलीको आंशिक चर्चाले नै तत्कालीन समाजको विशिष्ट प्रतिबिम्बन भएको पाइन्छ । साथै उपन्यासका ठाउँ ठाउँमा आउने पताका र प्रकरी कथाहरूले यसलाई रोचक बनाउने काम गरेका छन् । सन्दर्भअनुकूल बनेर जोडिएका साना साना घटनाहरूमा पनि विशिष्ट प्रकृतिका ध्वन्यात्मक अर्थहरू लुकेका पाइन्छन् ।

मानवीय जीवनमा यौनजन्य आवेगको अवस्थालाई पनि यस उपन्यासले देखाएको छ । रागात्मक मनोविज्ञानका दृष्टिले हेर्दा जुनसुकै वर्गमा पनि यौनको प्रभाव एकै प्रकारको देखिन्छ । विपरीत लिङ्गप्रतिको आकर्षण र वैयक्तिक उत्तेजनाले मान्छेलाई एक पटक चेतनाशून्य बनाइदिन्छ र म को हुँ, मेरो सामाजिक एवम् राष्ट्रिय दायित्व के हो भन्ने कुरालाई भुल्न बाध्य बनाएर पूणर् रूपमा पागलपनको प्रवेश गराइदिन्छ । रणजित र मनमैँजुका बिचको प्रेमालाप र अर्धचेतन अवस्थामा गरिएका क्रियाकलापले इतिहाससँगै व्यक्तिचित्रलाई पनि उतारेको छ । यस्ता घटनाले सामाजिक व्यक्तिको चरित्रलाई पतन गराउन र प्रमुख पात्रलाई पाठकीय सहानुभूतिबाट वञ्चित गराउन प्रशस्त भूमिका खेलेका हुन्छन् ।

यहाँ इतिहासको कथा छ र औपन्यासिक लेखन छ त्यसैले यहाँका पात्रहरू भक्तपुरे नेवारसमुदायका हुनु स्वाभाविक कुरा हो । यही कारण यहाँ नेपाल भाषाका पद, पदावली र सिङ्गै वाक्यहरूको पनि प्रयोग गरिएको छ । यसका साथै बिच बिचमा नेपाल भाषाका कविता, गीत र भजनहरू पनि उल्लेख भएका छन् । यसले एकातिर विषय, पात्र र परिवेशका बिचमा विश्वसनीयता बढाएको छ भने अर्कातिर इतरभूगोल र इतरजातिका पाठकहरूका लागि भावबोधमा समस्या पनि सिर्जना गरेको छ । यति हुँदाहुँदै पनि यो उपत्यकाको एउटा विशिष्ट चित्र बनेर आएको छ ।

यस उपन्यासका ठाउँ ठाउँमा व्यावहारिक एवम् जीवनोपयोगी सूक्ति वा कथनहरूको प्रयोग पाइन्छ । यो यस उपन्यासको गुणात्मक शक्ति हो । यस उपन्यासभित्र सन्दर्भसँग मिलेर आएका अनेकौँ सूक्तिपूणर् भनाइहरू छन् । ती भनाइहरू घटनासँग मिलेर आएका छन् तर तिनलाई यसभन्दा बाहिर पनि सन्दर्भअनुसार प्रयोग गर्न सकिने देखिन्छ । ती सूक्ति वा कथनहरूबाट अत्यन्त व्यावहारिक एवम् नैतिक शिक्षा हासिल गर्न सकिन्छ । साथै यी भनाइहरू साहित्यिक मूल्य, आलङ्कारिक चमत्कार वा भाषिक कलाका दृष्टिले उच्चकोटिका देखिन्छन् । यिनले उपन्यासमा भाषिक सौन्दर्य प्रदान गरेका छन् । व्यञ्जना शक्ति वा ध्वनिका दृष्टिले यी भनाइहरू विशिष्ट प्रकृतिका मानिन्छन्—

— हार्नेहरू आफ्नै कारणले हार्छन् । जित्नेहरू पनि आफ्नै कारणले जित्छन् । (पृष्ठ-७)
— त्यो अपरिभाषित आचरणको आफ्नै परिभाषा थियो । (पृष्ठ-१३)
— समयसामु कस्तै सम्राटको पनि केही लाग्दो रहेनछ । यश र कीर्ति भग्न हुँदै जाँदो रहेछ । चहलपहल देवस्थल मसानसरह उजाडिँदो रहेछ । काठ कुहिँदो रहेछ । ढुङ्गालाई घाँसले जित्दो रहेछ । आगोलाई धुँवाले धपाउँदो रहेछ । कोलाहललाई चुपले छेक्दो रहेछ । (पृष्ठ-३०)
— स्मृतिको बिरालो बाघ बनेर निस्कन्छ । बाघको सम्झनाचाहिँ धुवाँमा बिलाउन सक्छ ।… जोगी भएर गएका बाबु प्रत्येक अनुशासन विरुद्ध विद्रोही बनेर फिर्छन् । मर्दको अठ्याइँ सहने केटोको कलिलो हृदय स्त्रीकुण्डल देखेर विह्वल हुन्छ । (पृष्ठ-७३)
— कुनै धनुषको डोरी चुँड्यो । कसैले उनको नाङ्गो मुटु निचोड्यो । अज्ञात दिशाबाट आएर बाणले लग्यो । आश्चर्य र वेदनाका जुम्ल्याहा जन्मिए । भोगिरहूँ लाग्ने यो कस्तो पीडा हो ! शीतल लाग्ने यो कस्तो आगो हो ! (पृष्ठ-१०८)
— वरिपरि चक्रवात चलेको बखत पनि ऊ कुन गुरुत्वले गम्भीर थिई । ब्युँझेका बेला पनि कुन सपनामा मग्न थिई । (पृष्ठ-१०९)
— वसन्त रागका कोमल स्वरले ढुङ्गामा लालित्य फुल्छ । (पृष्ठ-१०९)
— बाहिर उनी राजा रहे, भित्र एउटा अलौकिकको पुरोहित । बाहिर संयमित र मर्यादित रहे, भित्र जङ्गलको स्वाधीनता चाहन्थे । (पृष्ठ-११०)
— त्यो निलो जुनेलीले आवृत्त अनुहार देखेपछि उनमा अर्को एउटा परिवर्तन आयो । उनलाई आफ्नो अनुशासित मर्यादित र संयमित जीवनशैली कृत्रिम लाग्न थाल्यो । नाटकीय लाग्न थाल्यो । (पृष्ठ-१११)
— संसारलाई आफूभित्र बाँधेर राखेकी थिई । संसारलाई खिचेर राख्न सक्ने । मुखमा आँखा परेपछि हटाउन गाह्रो । (पृष्ठ-११५)
— रातको गिद्धपखेटामुनि पानसको बत्ती कुन बेला निभ्यो । (पृष्ठ-१२३)
— बिहानको सूर्यलाई रातभरिको माया थाहा थिएन । (पृष्ठ-१२७)

यी भनाइहरू औपन्यासिक सन्दर्भमा भन्दा पनि बाह्य सन्दर्भमा निकै बलिया लाग्दछन् । यिनमा एक प्रकारको जीवन दर्शन पाइन्छ जसले प्रस्तुत उपन्यासलाई पूणर् रूपमा इतिहास लेखन हुनबाट बचाएका छन् ।

५. मूल्याङ्कन तथा निष्कर्ष

उपन्यासकार योगेश राजको ‘रणहार’ उपन्यास विषयवस्तुप्रतिको सद्भाव र उद्देश्यका दृष्टिले उत्तम, भावविधानका दृष्टिले मध्यम र औपन्यासिक कलाका दृष्टिले निम्न स्तरको देखिन्छ । ऐतिहासिक विषयमा हात हाल्ने आँट गरिसकेपछि त्यसलाई दृढताका साथ पूणर्ता दिन सक्नु लेखकीय जिम्मेवारी हो । यस कृतिमा इतिहासप्रतिको भावनात्मक सम्मान देखिन्छ तर त्यसको वस्तुगत सम्मान हुन सकेको छैन । यो कृति इतिहास र उपन्यासको ठिमाहा बनेर देखापरेको छ । कृति पढ्न थाल्दा यो इतिहास हो जस्तो लाग्छ तर कुनै तथ्यपरक तिथिमिति र वस्तुपरक घटनाको स्पष्ट उल्लेख छैन । फेरि यो उपन्यास हो जस्तो लाग्छ तर औपन्यासिक कोमलता र आख्यानको सुललित वहाव छैन । ऐतिहासिक प्रतिवेदन भन्ने हो भने ठाउँ ठाउँमा आउने आलङ्कारिक अभिव्यक्ति र मनमोहक प्रसङ्गहरूले पाठकलाई तथ्यभन्दा टाढा पुर्‍याइदिन्छन् र पूणर् रूपमा उपन्यास हो भन्ने हो भने ऐतिहासिक घटना र पात्रहरूको विशृङ्खलित रखाइले पाठकलाई अन्योलमा पारिदिन्छ । यो कृति सामान्यतः बनोटमा ऐतिहासिक उपन्यास भए पनि बुनोटमा उपन्यासअनुकूल आन्तरिक सुगठन देखिँदैन ।

घटनाको सङ्गठित गतिशीलता, भावको हृदयहारी आकर्षक, प्रस्तुतिको मनमोहक सौन्दर्यविन्यास र केन्द्रीय कथ्यको निर्बाध गन्तव्य प्राप्ति नै उपन्यासको शक्ति हो । एउटा ऐतिहासिक घटना र पात्रको उद्घाटन यस उपन्यासको उद्देश्य हो तर किन भन्ने प्रश्न पाठकले राख्नासाथ त्यसको जवाफ उपन्यासले दिन सकेको छैन । उपन्यासको आदिदेखि अन्त्यसम्म पढ्दा रणजितलाई नायकत्व प्रदान गर्नुको एउटा पनि कारण देखिँदैन । भक्तपुरको अन्तिम राजा हुनुलाई नै उसको नायकत्वको आधार मान्ने हो भने नेपाली उपन्यास परम्परामा प्रयोग भएका सम्पूणर् नायकहरूको अपमान हुन्छ । कुनै राजकीय गुण नभएको, परिस्थितिको सामना गर्न नसक्ने, समस्याबाट भाग्न खोज्ने, आफ्नो राज्य बचाउन नसक्ने, एउटी केटी देख्नासाथ ज्वरो आउने, एउटा क्षेत्र सम्हालेर बस्नका लागि अनुरोध गर्दा पनि काशी गएर बस्न चाहने व्यक्ति रणजितमा न त राजगुण छ न त अति सामान्य नायकमा हुनुपर्ने गुण छ । त्यसैले प्रस्तुत उपन्यासको विषय र पात्रको छनोट किन गरियो भन्ने कुरा नै अस्पष्ट देखिन्छ ।

जित्नेहरूको मात्र इतिहास लेखियो, अब हार्नेहरूको पनि इतिहास लेखिनुपर्छ भन्ने एउटा मान्यता पाइन्छ । यो अत्यन्त राम्रो कुरा हो तर आफ्नो अस्तित्व रक्षाका लागि अन्तिम साससम्म लडेर पनि जित्न नसकेर बाध्यताले हारेकाहरूको इतिहास पो गौरवशाली हुन्छ त ! देश र जनताका लागि जीवन अर्पण गर्दागर्दै विविध प्रकारका षड्यन्त्रमा परेर हार्नेहरूको इतिहास लेख्दा पो ती पात्रलाई न्याय हुन्छ त ! जीवनभर कुनै दायित्वबोध नभएको, डरपोक, पलायनवादी र पराजयलाई मुक्ति सम्झेर जोगी बनी हिँड्नेको इतिहासले वर्तमानलाई के दिन्छ ? यो यस कृति पढिसकेपछि पाठकले गर्ने महत्त्वपूणर् प्रश्न हो ।

यसका साथै रणजित र मनमैँजुका बिचमा भएको यौनक्रीडाको वणर्नले यस उपन्यासको बाँकी सौन्दर्यको पनि हरण गरेको छ । एकातिर ज्वरोले सिकिस्त रणजित, अर्कातिर मनमैँजुको उन्मादपूणर् सेवा गराइ र यौनक्रियाकलाप, यी सबै यस उपन्यासलाई सुन्दर हुन नदिने तत्त्वहरू हुन् । यसरी नै ‘आवतजावत गर्ने जतिले त्यसको टाउकामा मुते’ जस्ता अशिष्ट वाक्यहरूको प्रयोगले यस उपन्यासको अभिव्यक्तिलाई कुरूप बनाएका छन् भने जतासुकै प्रयोग भएका नेपाल भाषाका शब्द, पदावली र वाक्यहरूका कारण सलल बगेको भावमा ठेस लाग्ने अवस्था देखिन्छ । उपन्यासको अन्त्यतिर छ पृष्ठ शब्दार्थ दिएको भए पनि पाठकले पढ्दै जाँदा शब्दार्थ हेर्न नथाल्ने हुनाले सन्दर्भबोधमा बाधा पुगेको स्पष्ट देखिन्छ ।

इतिहासको खोजी यस उपन्यासको सुन्दर पक्ष हो । लुकेको अतीतलाई खोजेर बाहिर ल्याउने र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने लेखकीय अभीष्ट प्रशंसनीय छ । यति हुँदाहुँदै पनि यस विषयको छनोट, यस पात्रको नायकत्व, यस प्रकृतिको भावविधान र यस्तो औपन्यासिक संरचनाबाट उल्लिखित लक्ष्यप्राप्ति हुन्छ कि हुँदैन ? त्योचाहिँ वर्तमानको गम्भीर प्रश्न बन्ने देखिन्छ । त्यस कारण ‘रणहार’ उपन्यास पढिसकेपछि पाठकले २०७५ सालमा एउटा इतिहासलाई न्याय दिन खोज्दा धेरै वर्तमानहरू अन्यायमा परेछन् भन्ने निष्कर्ष निकाले भने त्यसलाई पनि स्विकार्नै पर्ने देखिन्छ । त्यही पाठकीय निष्कर्षको तार्किक समर्थन यस लेखको पनि निष्कर्ष हो ।

क्रमशः अर्को हप्ता, अर्को कृति…