अध्याय: १
कसरी निकोलो र माफियोले कन्स्ट्यान्टिनोपलबाट संसारको पल्लोपट्टि सम्मको यात्रा तय गरे? 
यो बुझ्नु जरुरी छ कि, 1260 अर्थात् जुन समयमा बाल्डविन द्वितीय कन्स्ट्यान्टिनोपलका सम्राट थिए, निकोलो पोलो (मार्को पोलोका पिता), र माफियो (निकोलोका भाइ) आफ्नो जहाजबाट यात्रा प्रारम्भ गरे र सुरक्षित रूपमा कन्स्ट्यान्टिनोपल पुगे । एउटा परिपक्व विमर्शपछि आफ्नो व्यापार विस्तार गर्न उनीहरू युसिन (Euxine) अर्थात् Black Sea (बाल्कन प्रायद्विपको पूर्वतर्फको एक समुद्र) सम्म पुग्ने निर्णय गरे । यसै योजना अनुरूप, उनीहरूले बहुमूल्य गहनाहरू खरिद गरे र कन्स्ट्यान्टिनोपलबाट सोल्डिया, जहाँबाट उनीहरू तार्तारका शक्तिशाली व्यक्ति बार्का (Barka) को क्षेत्रमा नपुगुञ्जेल घोडामा चढेर यात्रा गर्न सुरु गरे, त्यहाँसम्म जहाजमार्फत पुगे । बार्का (Barka) बोल्गरा र सारा नामक सहरमा बस्दथे । र उनी तार्तार समूदायमा त्यस समयसम्मकै सबैभन्दा उदार र सभ्य राजकुमारको रूपमा प्रख्यात थिए । उनले ती यात्रीहरूको आगमनमा असाध्यै प्रसन्नता व्यक्त गरे, र उनीहरूलाई शिष्टतापूर्वक स्वीकार गरे । यस शिष्टाचारको बदलामा राजकुमारलाई अझैं खुसी पार्न ती व्यापारिक यात्रीहरूले आफूसँग ल्याएका बहुमूल्य गहना अघि सारे ।
ती दुई पोलो दाजुभाइ ती राजकुमारको क्षेत्रमा एक वर्षसम्म रहे । त्यसपछि उनीहरू पुनः  आफ्नो जन्मभूमि (भेनिस) फर्किन उत्सुक भए । तर अचानक राजकुमार बार्का र एकजना अलाउ नाम गरेका पूर्वीय तार्तारहरूका प्रमुख बिच युद्ध सुरु भएकोले उनीहरूको भेनिस फर्किने योजना अवरुद्ध हुन पुग्यो ।
ती दुई बिचका आर्मीहरूको क्रूर र रक्तपातपूर्ण लडाइँमा अलाउ पक्षको जित भयो ।  जसको परिणामस्वरूप यात्राका लागि बाटोहरू असुरक्षित बन्न पुगे । त्यसैले ती पोलो दाजुभाइ पहिले आएको बाटोबाट फर्किने प्रयास गरेनन् । र उनीहरूलाई कन्स्ट्यान्टिनोपल फर्किनको लागि पूर्वतिरको बाटो सिफारिस गरियो, जुन बाटो पहिले हिडिएको थिएन । यही बाटो भएर उनीहरू पश्चिमी तार्तारको एउटा अधिराज्यको एक सहर ओउकाका (Oukaka) सम्म पुगे । यहाँबाट पनि उनीहरू अघि बढ्दै रहे र टाइग्रीस (भोल्गा) नदी, जो स्वर्गका चार नदीमध्येको एक मानिन्छ, पार गरे । अब उनीहरू 17 दिनको बाटो हिँडेर एक मरुभूमिमा आइपुगे, जहाँ न कुनै सहर थिए, न कुनै पशुचौपाया, न त थिए कुनै भवन । थिए त केवल खेमामुनि बसिरहेका एक बथान आदिवासी तार्तारहरू।
त्यो ठाउँ पार गरेर अब उनीहरू पर्सियाको एक सहर बोखारा आइपुगे । त्यो सहर एक अधिराज्यभित्र पर्ने भए पनि त्यस सहरको शासन एकजना बाराक नाउँका राजकुमारले गर्दथे । यहाँबाट अगाडि बढ्न नसक्ने भएपछि उनीहरू यहाँ तीन वर्षसम्म बसे । यहाँ रहँदा एउटा बेजोड प्रतिभाशाली व्यक्तिसँग उनीहरूको भेट भयो । ती प्रतिभाशाली व्यक्ति अलाउका राजदूत थिए र तार्तारका सर्वशक्तिमान चिफ कुब्लाई खाँलाई भेट्न जाँदै थिए । ती राजदूतले धेरैपटक चाहेर पनि कुनै इटालियन आदिवासीलाई देख्ने अवसर पाएका थिएनन् । यसैले पोलो दाजुभाइसँग अचानक भेट हुँदा उनी असाध्यै प्रसन्न भए । यतिञ्जेल पोलो दाजुभाइ पनि तार्तार भाषामा निपुण भैसकेका थिए ।
पोलो दाजुभाइसँग केही दिनको घुलमिलपश्चात् ती राजदूतले कुब्लाई खाँलाई भेट्न पोलो दाजुभाइलाई पनि आफूसँगै जान आग्रह गरे । कुब्लाई खाँको आजसम्म कुनै इटालियनसँग भेट भएको थिएन । यसैले पनि ती दाजुभाइलाई भेट्न पाउँदा उनी प्रसन्न हुने कुरा ती राजदूतले पोलो दाजुभाइसँग बताए । कुब्लाई खाँले उनीहरूलाई सम्मानपूर्वक आतिथ्यता दिने र अन्य बहुमूल्य उपहारसमेत दिने कुरामा राजदूतले पोलो दाजुभाइलाई विश्वास दिलाए ।
यसप्रकारको आश्वासन पाएपछि पोलो दाजुभाइ यस कुरामा सहमत भए । उनीहरूले उत्तरपूर्वको बाटो पक्रे र कुब्लाई खाँको राजकीय निवासमा पुग्न पूरै एक वर्ष लगाए । हिउँ र नदीहरूको फैलावट, जसले उनीहरूलाई रोकिनुपर्ने बनाएको थियो, ले गर्दा त्यो असामान्य ढिलाइ सिर्जना भएको थियो । उनीहरूले त्यस यात्रामा थुप्रै अनौठा चिजहरूको अवलोकन गरे । यद्यपि उनीहरूले जेजे छुटाएका छन्, ती मार्को पोलोले बताउनेछन् ।
कसरी कुब्लाई खाँले पोलो दाजुभाइलाई आफ्नो दूतको रूपमा पोपकहाँ पठाए ?

कुब्ला खाँ

कुब्लाई खाँसँग उनीहरू परिचित भएपछि, आफ्नो चरित्र अनुसार खाँले शिष्टतापूर्वक उनीहरूलाई आफ्नो दरबारमा स्वीकार गरे । साथै कुब्लाई खाँको दरबारमा आउने प्रथम ल्याटिन उनीहरू नै भएकोले उनीहरूले विशेष किसिमको सम्मान पाए । उनीहरूसँग कुराकानी सुरु गर्नसाथ कुब्लाई खाँलाई संसारको पश्चिमी भाग, रोमन साम्राज्य, तथा अरु ख्रीष्टियन राजा एवं राजकुमारहरूबारे जान्ने उत्सुकता व्यग्र भएर आयो । खाँलाई उनीहरूका इष्टमित्र, नातागोता, उनीहरूको पहुँच, उनीहरूको देशको न्यायप्रणाली, युद्धकला, साथै उनीहरूका पोप र चर्चको बारेमा, धामिक संस्कारहरू लगायत क्रिश्चियन सिद्धान्तहरूको बारेमा जान्न उत्सुकता जाग्यो । विवेकशील र बुद्धिमान्  हुनुको नाताले उनीहरूले कुब्लाईका सबै जिज्ञासाको उपयुक्त जवाफ दिए ।

जब खाँले पोलो दाजुभाइबाट आफ्ना सबै जिज्ञासाको उपयुक्त जवाफ पाए, उनले आफू सन्तुष्ट भएको कुरा बताए र आफ्ना एक मन्त्रीसँग सल्लाह गरेर उनीहरूलाई आफ्नो देशबाट पोपको लागि राजदूतको रूपमा नियुक्त गर्ने योजना तय गरे ।
खाँले उनीहरूलाई एकजना खोगातल (Khogatal) नाम गरेका भारदारलाई रोमसम्मको मिसनमा उनीहरूसँगै लिएर जाने प्रस्तावसहितको नम्र विन्ती पेश गरे । खाँले यस मिसनको पछाडि रोमबाट सयजना प्रशिक्षित व्यक्ति झिकाउने र क्रिश्चियन धर्मका सिद्धान्तहरू आफ्नो देशमा पनि फैलाउने उद्देश्य रहेको बताए । साथै त्यस समयका सात कला (लेखन, तर्क, व्याकरण, गणित, नक्षेत्रविद्या, स,गीत र ज्यामिति) पनि आफ्नो देशमा फैलाउने उद्देश्य खाँको थियो । यसका साथै खाँले उनीहरूलाई जिससको प्रतिमामाथि बत्ति बालिरहनको लागि जेरुसलेमबाट केही पवित्र तेल ल्याउन समेत अनुरोध गरे ।
कुब्लाईबाट यो आग्रह पाएपछि उनीहरू नतमस्तक भएर उनको अगाडि स्वीकृति जनाए ।
यसपछि कुब्लाईले रोमका पोपको नाममा एउटा चिट्ठी लेखे र उनीहरूको हातमा दिए । यसरी पोलो दाजुभाइ कुब्लाई खाँसँग बिदाबादी भएर आफ्नो यात्रा तय गरे । तर यात्राको 20 दिन नपुग्दै उनीहरूका सहपथिक खोगटल गम्भीर बिरामी परे र त्यसभन्दा अघि बढ्न नसक्ने भए । ऊ एउटा सहरमै रोकियो । त्यहाँ रहेका अन्य यात्रीहरू र ती बिरामी सहयात्री स्वयमको समेत सल्लाह अनुसार उनलाई त्यस अलपत्र अवस्थामा छोड्ने निर्णय गरियो ।
उनीहरूले यात्राको क्रममा कुब्लाई खाँले दिएको पत्र देखाउँथे, जसले गर्दा उनीहरूलाई कुनै पनि ठाउँमा खर्च तिर्नुपर्दैनथ्यो ।  यद्यपि उनीहरूलाई त्यो अतिशय जाडो, हिउँ, र नदीहरूको बाढी जस्ता प्राकृतिक कठिनाइहरूबाट भने कुनै छुट थिएन, जसले गर्दा उनीहरूको यात्रा कठिन बनिरहेको थियो ।  यसरी नै उनीहरू तीन वर्षको यात्रा पूरा गरेर अर्मेनियाको बन्दरगाह लेइयासस पुगे ।  त्यहाँबाट पनि उनीहरू बढ्दै रहे । र अन्ततः 1269 को अप्रीलमा एकर आइपुगे । तर एउटा तितो यथार्थसँग उनीहरू परिचित भए कि पोप क्लेमेन्ट चतुर्थ केही समय अघिमात्र दिवंगत भएका थिए ।
पोपले एकरका एकजना व्यक्तिलाई राजदूत नियुक्त गरेका थिए । उनै राजदूतसमक्ष पोलो दाजुभाइले कुब्लाई खाँबाट आएको आदेश पेश गरे । ती राजदूतले उनीहरूलाई अर्को पोप नचुनिएसम्म प्रतीक्षा गर्न भने । राजदूतको यो सल्लाह स्वीकार गरे र अर्को पोप नचुनिउन्जेलसम्मको इन्टर्भलमा आफ्नो जन्मभूमि भेनिस जाने र आफ्ना परिवारसँग भेट्ने निर्णय गरे ।
यसरी उनीहरू एकरबाट जहाज चढे र नेग्रोपोन्ट पुगे । यहाँबाट पनि उनीहरू अगाडि बढे र अन्ततः भेनिस पुगे । दुखद कुरा निकोलोले आफ्नी श्रीमती, जसलाई मार्को पोलो जन्मेपछि बच्चासँगै घरमा छोडेका थिए, उनी श्रीमानको अनुपस्थितिमा  दिवंगत भैसकेकी थिइन् । अहिले मार्को 15 वर्षका थिए । यी तिनै मार्को थिए, जो यस पुस्तकमा उल्लेखभएका विचित्र कुराहरूको प्रत्यक्षदर्शी थिए ।
कसरी पोलो दाजुभाइ पुन: भेनिसबाट कुब्लाई खाँको दर्बारमा फर्किए? कसरी मार्को पोलोलाई आफूसँगैको यात्रामा ल्याए?
एकातिर भेनिसमा निकोलोकी श्रीमतीको निधन भएको धेरै वर्ष भैसकेको थियो भने अर्कोतिर नयाँ पोपको चुनाब विभिन्न कारणले हुन सकिएरहेको थिएन । त्यसैले नयाँ पोप निर्बाचित भएपछि कुब्लाई खाँको आदेशको सम्बोधन हुने आशामा प्लो दाजुभाइ प्रतीक्षा गरिरहे । यसरी दुई वर्ष बित्यो । अझैँ पनि पोप नियुक्त नभएपछि पोलो दाजुभाइ खिन्न भए । कुब्लाई खाँ असन्तुष्ट हुने डरले उनीहरू फेरि पूर्व आउन उत्सुक भएनन् । बरु उनीहरू एकर फर्किने निर्णय गरे, जहाँ उनीहरूले नाबालक मार्को पोलोलाई पनि सँगै लिएका थिए । यस यात्राको क्रममा उनीहरू जेरुसलेम पनि गए । र त्यहाँबाट केही पवित्र तेल ल्याए, जुन ल्याउनुपर्ने कुब्लाई खाँको आदेश थियो ।