ओशोको आत्मकथाः स्वर्णिम बालापन

सत्र २० : कानो शिक्षक

 

मेरो ओ.के.को प्रतीक्षा गर…

म आफ्नो प्राथमिक विद्यालयको हात्तीद्वारसामु उभिएको थिएँ… र त्यसको ढोकाले मेरो जीवनमा धेरै कुरालाई शुरू गर्यो । म त्यहाँ एक्लै उभिएको थिइनँ । मेरा बुवा पनि सँगै हुनुहुन्थ्यो । उहाँ मलाई स्कुलमा भर्ना गर्न आउनु भएको थियो । त्यो ठूलो ढोकालाई देख्नेबित्तिकै उहाँलाई भनेँः नाइँ ।

म अहिले पनि त्यो शब्द सुनिरहेको छु । एउटा सानो बच्चो, जसले सबैथोक गुमाएको छ, म अहिले पनि त्यो सानो बच्चोको अनुहारमा अंकित प्रश्नचिह्न देख्न सक्छु । ऊ सोचिरहेको छ, अब के हुने हो !

म उभिई उभिई ढोकातिर हेरिरहेँ र मेरा बुवाले सोध्नुभयो, ‘यो ठूलो ढोकाबाट ज्यादै प्रभावित भइस् कि क्या हो ?’

अब यो कथालाई म आफ्नै शैलीले सुनाउँछु । मैले बुवालाई भनेँ, ‘नाइँ ।’

प्राथमिक स्कुलमा भर्ती हुनुअघि मेरो प्रथम शब्द यही थियो, ‘नाइँ’ र तिमीहरूलाई आश्चर्य लाग्ला, विश्वविद्यालयबाट बिदा लिँदा पनि मेरो अन्तिम शब्द त्यही थियो, नाइँ । पहिलो घटनाको बेला मेरा बुवा मसँग हुनुहुन्थ्यो । त्यो बेला उहाँ त्यति धेरै उमेरको हुनुहुन्न थियो । तर मजस्तो सानो बालकका लागि उहाँ ज्यादै वृद्ध देखिनुहुन्थ्यो । दोस्रो घटनाका बेला पनि ढोकामा एक जना वयोवृद्ध सज्जनका साथ म उभिएको थिएँ ।

विश्वविद्यालयको त्यो पुरानो ढोका सधैँका लागि ढालियो तर त्यो मेरो स्मृतिमा ताजै छ । म अहिले पनि त्यसलाई देख्न सक्छुः पुरानो ढोका, नयाँ म देख्दिनँ । नयाँसँग मेरो कुनै सम्बन्ध छैन । नयाँ ढोका देखेर त मलाई रूनै मन लाग्यो किनभने पुरानो ढोका साँच्चिकै भव्य र शानदार थियो । सामान्य तर निकै भव्य । नयाँ ढोका त निकै भद्दा र कुरूप छ । उहिलेको जमानामा कुरूपतालाई स्वीकार गरिएको थिएन । शायद कुरूपतालाई अपनाउनु क्रान्तिकारी मानिएको होला । तर यदि क्रान्ति कुरूप हुन्छ भने त्यो क्रान्ति होइन, प्रतिक्रिया हो । नयाँ ढोकालाई मैले केवल एक पटक देखेको थिएँ र त्यसपछि म त्यो सडकबाट धेरै पटक हिँडेँ तर सधैँ आँखा चिम्म गरेँ । बन्द आँखाले मैले पुरानो ढोकालाई पुनः देख्न सक्थेँ ।

विश्वविद्यालयको पुरानो ढोका ज्यादै साधारणजस्तो थियो । विश्वविद्यालय भर्खरै बन्न थाल्दा बनाइएको थियो र उनीहरूले कुनै गज्जबको भवन बनाउन सकेका थिएनन् । सबै मानिसहरू मिलिटरी ब्यारेकमा बस्थे किनभने विश्वविद्यालय हतारोमा बनाइउन थालिएको थियो । होस्टल या पुस्तकालय बनाउने समय पनि थिएन । यो सेनाले खाली गरेको ठाउँ थियो । तर त्यो ठाउँ आफैँमा निकै सुन्दर थियो र यो एउटा सानो थुम्कोमा उभिएको थियो । दोस्रो विश्वयुद्धको बेला त्यहाँ सेनाले, शत्रुमाथि निगरानी राख्न राडार राखेको थियो । तर युद्धपछि यो ठाउँको कुनै उपयोग थिएन । त्यसैले सेनाले यसलाई छाडिदियो । सानो पहाडमा बनाइएका ती संरचना सुन्दर थिए । मलाई त त्यो निकै मन पर्थ्यो । सेनाले छाडिदियो, उनीहरूको अब त्यहाँ काम थिएन । उनीहरूले त्यो ठाउँ छाडिदिनु मेरालागि वरदान बन्यो । म यसबाहेक शायदै कुनै अरू विश्वविद्यालय पढ्न सक्थेँ होला ।

यसको नाम थियो, सागर विश्वविद्यालय । सागरको अर्थ होः समुद्र । सागरमा अतिसुन्दर तलाउ छ, त्यो यति ठूलो छ कि त्यसलाई तलाउ नभनी सागर नै भनिन्छ । साँच्चै, यो सागरजस्तै देखिन्छ । यसमा यति ठूला लहर निस्कन्छन् कि यो तलाउ होला भन्ने विश्वासै लाग्दैन । यति ठूला लहर निस्कने मैले दुई वटा मात्र तलाउ देखेको छु । मैले जीवनमा दुई वटा मात्र तलाउ देखेको छु भन्ने होइन । मैले यो भन्दा धेरै नै सुन्दर तलाउ देखेको छु, कश्मिरमा, दार्जिलिङमा, नैनीतालमा, दक्षिण भारतमा पनि, नन्दी हिल्समा । तर यति ठूलो समुद्रजस्तो लहर भएका त मैले दुई वटा मात्र तलाउ देखेको छु, सागरको तलाउ र भोपालको तलाउ । भोपालको तुलनामा सागरको त सानै छ । भोपालको तलाउ त शायद संसारकै ठूला मध्येको छ । त्यसमा मैले बाह्रदेखि पन्ध्र फिट अग्लो लहर देखेको छु । अन्य कुनै तलाउमा यस्तो हुँदेन । त्यो निकै ठूलो छ । एक पटक मैले नाउमा चढेर घुम्ने प्रयास गरेँ । पूरै घुम्न सत्र दिन लाग्यो । म त्यति नै तीव्र गतिमा घुमेँ, जति तिमीहरूले कल्पना गर्न सक्छौ । त्यहाँ कुनै प्रहरी थिएनन् न त कुनै गतिको सीमा मापक । यो यात्रा सकिँदा मैले आफैँलाई भनेँ, ‘हे भगवान्, कति सुन्दर तलाउ !’ यो सयौँ फिट गहिरो थियो ।

सागरको तलाउ पनि यस्तै छ तर यो अलि सानो छ । तर अन्य अर्थहरूमा, यसमा जुन सौन्दर्य छ, त्यो भोपालको तलाउमा छैन । सागरको तलाउमा चारैतिर पहाड छ, ठूलो त हैन तर निकै सुन्दर । खासगरी बिहानी सूर्योदयका बेला र साँझको सूर्यास्तका बेला अत्यन्त आकर्षक र मनमोहक देखिन्छ । र, पूर्णिमाको रातमा आयौ भने तिमीहरूले सुन्दरता केलाई भन्छन् भन्ने बुझ्नेछौ । पूर्णिमाको रात डुङ्गायानमा डुल्दा यस्तो लाग्छः मलाई अब केही चाहिन्न, पुग्यो भन्ने भाव जाग्छ ।

यो ज्यादै सुन्दर ठाउँ छ तर त्यहाँ त्यो पुरानो ढोका नभएकामा भने ज्यादै अफसोस लाग्छ । थाहा छ, एक न एक दिन त्यसलाई हटाइनेछ किनभने विश्वविद्यालय उद्घाटन गर्न त्यसलाई हतारोमा अस्थायी बनाइएको थियो ।

अर्को ढोका मलाई याद आउने यही हो । विश्वविद्यालय छाड्दा मैले यो ढोकामा आफ्ना प्राध्यापक श्रीकृष्ण सक्सेनासँग उभिएको थियो । केही वर्षअघि मात्र उहाँको निधन भयो । उहाँले मलाई भेट्ने इच्छा छ भनी सन्देश पठाउनु भएको थियो । मलाई पनि उहाँसित भेट्न मन थियो तर अब के गर्नु ? अँ, उहाँ चाँडै नै कुनै संन्यासिनीको गर्भबाट जन्म लिनुहोस् । त्यस्तो भयो भने मैले उहाँलाई चिन्नेछु, यति त म भन्न सक्छु ।

प्राध्यापक सक्सेना अनौठो गुणहरू भएका व्यक्ति हुनुहुन्थ्यो । मैले अनेकन् प्राध्यापक, अध्यापक र रिडरलाई चिन्दछु तर ती सबैमध्ये उहाँले नै मलाई चिन्न सक्नुभयो । उहाँलाई लाग्थ्यो, यो शिष्य नभई गुरू हुनुपर्थ्यो ।

उहाँ त्यो ढोकामा उभिएर मलाई सम्झाउने प्रयास गरिरहनु भएको थियो, विश्वविद्यालय नछाड । भन्दै हुनुहुन्थ्यो, ‘यो बेला तिमी यहाँबाट जानु उचित छैन । खासगरी विश्वविद्यालयले तिमीलाई पिएचड स्कलरसिप दिइरहेका बेला । तिमीले यो अवसर गुमाउनु हुँदैन ।’

उहाँले म सबैभन्दा प्रिय छात्र हुँ पटक पटक भन्दै हुनुहुन्थ्यो । उहाँले भन्नु भयो, ‘सारा संसारमा मेरा छात्रहरू छन्, खासगरी अमेरिकामा (अमेरिकामा उहाँले धेरै समयसम्म पढाउनु भएको थियो ।) तर तीमध्ये कसैलाई पनि रोक्ने प्रयास गर्दिन थिएँ । म उनीहरूको चिन्ता म किन गरूँ ? उनीहरूको भविष्यसँग मेरो कुनै सम्बन्ध छैन । उनीहरूको भविष्य, उनीहरूको हो ।’

आँखाभरि आँशु पार्दै उहाँले भन्नुभयो, ‘जहाँसम्म तिम्रो कुरा छ, तिमी मेरो भविष्य हौ ।’

म यी शब्दलाई कहिल्यै बिर्सन सक्दिनँ । मलाई ती शब्द दोहोर्याउन देऊ । उहाँले भन्नुभयो, ‘ती अन्य विद्यार्थीहरूको भविष्य उनीहरूको आफ्नो भविष्य थियो, तिमी चाहिँ मेरो भविष्य हौ ।’

मैले उहाँलाई सोधेँ, ‘मेरो भविष्य तपाइँको भविष्य कसरी ?’

उहाँले भन्नुभयो, ‘मलाई थाहा छैन, म तिमीलाई यही हो भनेर भन्न सक्दिनँ ।’

त्यसपछि उहाँ रून थाल्नुभयो ।

मैले भनेँ, ‘कृपया तपाइँ नरूनुहोस् । मेरा इच्छाविरूद्ध जे सुकै गरे पनि मलाई मनाउन गाह्रो छ । मेरो मन बेग्लै आयाममा हिँड्ने गर्छ । तपाइँलाई निराश बनाउँदा मलाई दुःख लागिरहेक छ । मलाई पनि राम्रोसँग थाहा छ, तपाइँलाई मबाट ठूलो आशा थियो । विश्वविद्यालय भरिमै प्रथम भएका कारण मैले गोल्डमेडल पाएको थिएँ, (जुन तपाइँले पनि पाउनु भएको थिएन), त्यो बेला एउटा सानो बच्चोजस्तो कसरी खुसी हुनुभएको थियो । म बुझ्छु ।’

त्यो गोल्ड मेडल मेरालागि कुनै महत्त्वको थिएन । मैले त डाक्टर श्रीकृष्ण सक्सेनाका सामु नै त्यो मेडललाई यति गहिरो पानीमा फ्याँकिदिएँ कि अब कसैले पनि त्यसलाई दोहोर्याएर खोज्न सक्दैन ।

उहाँले भन्नुभएको थियो, ‘के गरेको तिमीले ?’

मैले त मेडललाई फ्याँकिसकेको थिएँ । मैले स्कलरसिप पाउँदा उहाँ ज्यादै खुसी हुनुभएको थियो । त्यसको अवधि दुईदेखि पाँच वर्षसम्मको थियो ।

उहाँले पटक पटक भन्नुभयो,’फेरि एक पटक सोच । केही बुझ्ने प्रयास गर ।’

पहिलो ढोका हात्तीद्वार थियो, जहाँ म मेरा पितासँगै उभिएको थिएँ । म त्यो भित्र जान चाहन्न थिएँ र अन्तिम ढोका पनि हात्तीद्वार थियो, जसका सामु म आफ्नो वृद्ध प्रोफेसरसँगै उभिएको थिएँ । त्यहाँ पनि म पुनः छिर्न चाहन्न थिएँ । एक पटक नै पर्याप्त थियो, दोहोर्याएर जानु अलि बढी नै हुने थियो ।

पहिलो ढोकाबाट जुन बहस शुरू भयो, त्यो दोस्रोसम्म चलिरह्यो । जुन नाइँ मैले मेरा बुवालाई भने त्यही नाइँ मैले मेरा प्राध्यापकलाई पनि भनेँ । उहाँ मेरा लागि बुवा जत्तिकै हुनुहुन्थ्यो । उहाँले मेरो हेरचाह बुवाभन्दा बढी गर्नुभयो । जब म बिरामी हुन्थेँ, उहाँले रातभरि नसुती मेरो ओछ्यानछेउ बसेर रेखदेख गर्नु हुन्थ्यो । म उहाँलाइ भन्थेँ, ‘तपाइँ बूढो हुनुहुन्छ डाक्टर । म उहाँलाई डाक्टर भन्थेँ । म भन्थेँ,’प्लिज तपाइँ जानुहोस्, सुत्नोस् ।’

उहाँ भन्नुहुन्थ्यो, ‘म त तिमी भोलिसम्म निको हुन्छु भन्ने वचन नदिउञ्जेल सुत्दिनँ ।’

मैले उहाँलाई वचन दिनुपर्थ्यो, मानौँ म बिरामी हुनु वा निको हुनु मेरै हातमा भएजस्तो तर एक पटक मैले उहाँलाई यो वचन दिएँ र म भोलिपल्टै निको भएँ । त्यसैले त म भन्छु, यो संसारमा चमत्कारजस्तो केही त छ ।

त्यो नाइँ शब्द मेरो अस्तित्वको विशेषता नै बनेको थियो । मैले पितालाई भनेको थिएँ, नाइँ म यो ढोकाभित्र जान चाहन्नँ । यो स्कुल होइन, जेल हो । कारागार हो । म यो ढोका र भवनको रङ… ।

उदेक छ, भारतमा जेल र स्कुल दुवैको रङ एउटै हुन्छ । दुवै रातो इँटाले बनेका हुन्छन् । त्यसैले यो स्कुल हो कि जेल भन्ने थाहा हुँदैन । यस्तो लाग्छ, कसैले निकै मिठो ठट्टा गरेको होला ।

मैले भनेँ, ‘यो स्कुल त हेर्नु ! तपाइँ यसलाई स्कुल भन्नुहुन्छ ? यो कस्तो ढोका हो ! अनि, म योभित्र चार वर्षका लागि भर्ती होऊँ भन्ने चाहनुहुन्छ !’

यो बेला जुन वार्तालाप शुरू भयो, त्यो कयौँ वर्षसम्म चलिरह्यो र तिमीहरूले कयौँ पटक सुन्नेछौ, किनभने कथामा यो कहीँ न कहीँ आइहाल्छ ।

मेरा बुवाले भन्नुभयो, ‘मलाई सधैँ यही कुराको डर थियो ।’

हामी ढोकाबाहिर थियौँ किनभने म अहिलेसम्म उहाँसँग भित्र जान तयार थिइनँ । उहाँले भन्नुभयो, ‘तेरा हजुरबा र खासगरी हजुरआमाको मायाले तँ बिग्रन्छस् भन्ने मलाई सधैँ डर थियो ।’

मैले भनेँ, ‘तपाइँको यो शंका र डर ठीक थियो । अब त म बिग्रिसकेको छु । अब यसमा म केही गर्न सक्दिनँ । त्यसैले घर फर्किऔँ ।’

बुवाले भन्नुभयो, ‘के भनिस् ? तँ शिक्षित हुनै पर्छ ।’

मैले भनेँ, ‘शिक्षाको यो कस्तो शुरूवात हो ? म आफूले हुन्छ या हुन्न भन्ने स्वतन्त्रता पनि छैन ? यसलाई शिक्षा भन्नुहुन्छ ? तपाइँ यही चाहनुहुन्छ भने मलाई सोध्ने काम नगर्नुस् । लिनुस् मेरो हात र घिसार्दै भित्र लैजानुस् । यो भद्दा संस्थामा म आफ्नै इच्छाले छिरेको त होइन भनेर यसबाट मलाई सन्तोष नै हुनेछ । यति कृपा त तपाइँले ममाथि गर्न सक्नु नै हुनेछ ।’

मेरा बुवा हैरान भएर मलाई भित्र घिसार्दै लैजानु भयो । उहाँ त सिधा मानिस हुनुहुन्थ्यो तर उहाँले तुरून्तै बुझ्नु भयो, यस्तो गर्नु ठीक होइन । उहाँले भन्नुभयो, ‘म तेरो बाउ हुँ, तर तँलाई घिसार्दै भित्र लैजानु उचित लागेन ।’

मैले भनेँ, ‘यसमा नराम्रो मान्ने कुनै कुरा छैन । तपाईंले जे गर्नुभयो, ठीक गर्नुभयो । किनभने जबसम्म कसैले मलाई घिसार्दै लैजाँदैन, म आफैँ त जान्नँ । मेरो निर्णय नै नाइँ हो । तपाइँले ममाथि आफ्नो निर्णय थोपर्न सक्नुहुन्छ किनभने म तपाइँमाथि आश्रित छु । तपाइँले खुवाउनु हुन्छ, कपडा र बस्ने ठाउँका लागि तपाइँमा निर्भर छु । तपाइँले ममाथि जबरजस्ती गर्न सक्नुहुन्छ ।’

वाह, कस्तो प्रवेश थियो स्कुलको ! घिसार्दै लैजाने ! यसका लागि मेरा पिताले आफैँलाई कहिल्यै माफ गर्न सक्नुभएन । जुन दिन उहाँले संन्यास लिनुभयो, त्यो बेला उहाँले पहिलो कुरा त्यही भन्नु भएको थियो, ‘मलाई माफ गर । मैले कयौँ पटक जानी नजानी तिमीलाई नराम्रो व्यवहार गरेँ । ती सबैका लागि म माफी माग्छु ।’

त्यो स्कुलमा प्रवेश गरेपछि नै मेरो नयाँ जीवन शुरू भयो । यसअघि त वर्षौंसम्म जंगली पशुजस्तै स्वच्छन्द र मुक्त भएर घुमिरहन्थेँ । म जंगली मानिसजस्तै भन्न सक्दिनँ किनभने कुनै जंगली मानिस हुँदैन । कहिलेकाहीँ कुनै मानिस जंगली मानिसजस्तै मुक्त हुन्छ, जस्तो म अहिले भएको छु, बुद्ध थिए, जरथ्रुस्त्र थिए, जिसस थिए । तर त्यो बेला म कयौँ वर्षसम्म जंगली पशुजस्तै थिएँ भन्नु सत्य हुन्छ । तर त्यो जीवन एडल्फ हिटलर, बेनिटो मुसोलिनी, नेपोलियन, अलेक्जेन्डर महानभन्दा उच्च थियो । म सबैभन्दा खराबहरूको नाम लिइरहेको छु, खराब यस अर्थमा कि उनीहरूले आफूलाई सबैभन्दा सभ्य ठान्थे ।

अलेक्जेन्डर महान् आफ्नो समयकै सबैभन्दा सभ्य मानिस हुँ भन्ने ठान्थ्यो । एडल्फ हिटलरले आफ्नो आत्मकथा माई स्ट्रगल… जर्मनहरूले यो शीर्षक कसरी उच्चारण गर्छन्, मलाई त याद भएको भनेको मेन क्याफ नै हो । शायद यो गलत हो । होला नै किनभने यो जर्मन भाषामा छ । उच्चारण के र कस्तो भन्ने कुराले त केही फरक पर्दैन । पुस्तकमा हिटलरले जुन अतिमानवको स्थिति प्राप्त गर्न हजारौँ वर्षदेखि प्रयास गरिरहेको छ, उसले त्यो अवस्था प्राप्त गरिसकेको सिद्ध गर्ने प्रयास गरेको छ । र, हिटलरको पार्टी, नाजी र हिटलरको जाति, नर्डिक आर्यले सारा संसारमा शासन गर्नेछन् र यो शासन एक हजार वर्षसम्म चल्नेछ भन्थ्यो ।

यो त पागल मानिसको कुरा भयो तर यो पागल निकै शक्तिशाली थियो । जब ऊ बोल्थ्यो, चाहे त्यो बकवास नै किन नहोस्, मानिसहरूले सुन्नै पर्थ्यो । वास्तविक आर्य र नर्डिक जाति शुद्ध रगत भएका जाति हुन् भन्थ्यो तर उसले त सपना देखिरहेको थियो ।

मनुष्य त शायदै कहिले अतिमानव बन्ला । अति या परा शब्दको अर्थ उच्च होइन । वास्तविक अतिमानव त त्यसलाई भनिन्छ, जसले आफ्ना कामहरू, विचार, भावप्रति सजग रहन्छ । जसले आफ्नो जीवन र मृत्यु र प्रेमलाई होशपूर्वक हेर्छ ।

त्यो दिनदेखि जुन वार्तालाप मेरा र बुवाबीच शुरू भयो र बीचबीचमा पनि चलिरहेको छ र त्यसको अन्त्य त्यो बेला मात्र भयो, जब उहाँ संन्यासी बन्नुभयो । त्यसपछि त तर्कको कुनै प्रश्नै उठेन । उहाँले समर्पण गर्नुभयो । जुन दिन उहाँले संन्यास लिनु भयो, उहाँ मेरो गोडा पक्डेर रोइरहनु भएको थियो । म उभिएको थिएँ । तिमीहरूलाई विश्वास नलाग्ला, उहाँ रूँदै गर्दा के कारणले रूनुभयो भन्ने मैले जानेँ । मेरा सामु बालापनको दृश्य, स्कुल, हात्तीद्वार र त्यसका सामु उभिएको त्यो सानो बालक, जो भित्र जान चाहिरहेको थिएन र मेरा पिताले जबरजस्ती तानिरहनु भएको दृश्य कुद्यो । त्यो दृश्य याद आउनेबित्तिकै म मुस्कुराएँ ।

बुवाले सोध्नुभयो, ‘किन मुस्कुराएको ?’

मैले भनेँ, ‘त्यो संघर्ष अन्तत सकियो, त्यो देखेर खुसी लागिरहेको छ ।’

र, यही त आश्चर्य भइरहेको थियो ।

मेरा बुवाले मलाई घिसार्नुभयो । म आफ्नो इच्छाले कहिले पनि स्कुल गइनँ ।

देवगीत, मेरा ओठलाई भिजाइदेऊ…

मलाई जबरजस्ती तानेर भित्र लगिएकामा खुसी छ । म आफ्नो इच्छाले कहिले पनि गइनँ । त्यो स्कुल ज्यादै भद्दा थियो । वास्तवमा सबै स्कुल त्यस्तै हुन्छन् । परिस्थिति त यस्तो हुनुपर्छ कि बालबालिका आफैँले केही सिकून्, उनीहरूलाई शिक्षित गर्नु ठीक होइन । शिक्षा त कुरूप हुन्छ नै !

र, स्कुलमा पहिलो कुरा मैले के देखेँ ? मेरो कक्षाको शिक्षक । मैले सुन्दर मानिसहरू पनि देखेको छु र कुरूप पनि देखेको छु । तर त्यस्तो ‘चिज’ मैले दोहोर्याएर कतै पनि देखिनँ । ‘चिज’लाई जोड देऊ । म त्यो चिजलाई कोही भन्न सक्दिनँ र ? त्यो मानिसजस्तो देखिदैनथ्यो । मैले बुवालाई हेर्दै भनेँ, ‘यसका लागि तपाइँले मलाई घिसार्दै ल्याउनु भएको ?’

मेरा बुवाले भन्नुभयो, ‘चुप लाग् ।’

उहाँ यति सुस्तरी बोल्नु भयो कि कतै त्यो चिजले नसुनोस् । यो शिक्षकले मलाई पढाउने थियो । म त त्यो मानिसलाई हेर्न पनि सक्दिन थिएँ । परमात्माले उसको अनुहार निकै नै हतारोमा बनाएको होला । यस्तो लाग्छ, परमात्मालाई पाइखाना जाने हतारो थियो । त्यसैले हतारोमा तिनलाई बनाइदिए । कस्तो अद्भुत मानिस बनाए ! उसको एउटा मात्र आँखा थियो र नाक टेढो थियो । उसको एउटै मात्र आँखा पनि गज्जबको थियो र उसलाई कुरूप बनाउन टेढो नाकको भूमिका थियो । ऊ अजंगको थियो । चार सय पाउन्ड वजनको र पनि ज्यादै स्वस्थ थियो । उसले कहिल्यै छुट्टी लिएन, न त कुनै डाक्टरकहाँ गयो । शहरका सबैले भन्थे, यो त फलामले बनेको छ । उसलाई फलाम होइन, काँडेदार फलामको तारले बनेको भन्नुपर्छ ।

ऊ मेरो प्रथम अध्यापक थियो । पहिलो मास्टर । किनभने भारतमा स्कुल अध्यापकलाई मास्टर नै भनिन्छ । त्यसैले ऊ मेरो पहिलो मास्टर थियो । आज पनि मैले त्यो मानिसलाई देखेँ भने म काम्न थालूँला । उसलाई त मानिस होइन, घोडा नै भन्नु पर्ला ।

मैले बुवालाई भनेँ, तपाइँले स्कुलमा मेरो नाउँ लेखाउन हस्ताक्षर गर्नुअघि त्यो मानिसलाई त हेर्नुस् ।

उहाँले भन्नुभयो, ‘के भयो र यसलाई ? यसैले मलाई पनि पढायो । वर्षौंदेखि पढाइरहेको छ । अब तँलाई पढाउँछ ।’

उहाँको कुरा सत्य थियो । त्यसैले त कसैले उसका बारे गुनासो गर्न सक्दैनथ्यो । कसैले उसका बारेमा आफ्नो बुवालाई गुनासो गर्यो भने जवाफमा भन्थे, ‘म यसका बारेमा केही गर्न सक्दिनँ । ऊ मेरो पनि शिक्षक थियो । म ऊकहाँ गुनासो लिएर गएँ भने उसले मलाई नै पिटेर पठाउन बेर छैन ।’

त्यसैले मेरा बुवाले भन्नुभयो, ‘ऊ ठीकै छ त । केही त्यस्तो नराम्रो त देख्दिनँ त !’

त्यसपछि उहाँले भर्ना गर्ने कागजातमा हस्ताक्षर गर्नुभयो ।

त्यसपछि मैले बुवालाई भनेँ, तपाइँले आफ्नै आपतमा हस्ताक्षर गर्दै हुनुहुन्छ । त्यसैले पछि मलाई दोष दिन पाउनु हुन्न ।

बुवाले भन्नुभयो, ‘तँ त कहीँ नभएको रैछस् !’

मैले भनेँ, ‘हामी एकअर्काका लागि अनौठै र नचिनिने नै छौँ । तपाइँबाट म वर्षौं टाढा बसेँ । मेरो मित्रता त आँप र देवदारका रूखसँग थिए, पहाड र नदीसँग थिए । म व्यापारी होइन, तपाइँ व्यापारी हो । तपाइँका लागि पैसा नै सबैथोक र म त त्यो गन्न पनि सक्दिनँ ।’

आज पनि… मैले कयौँ वर्षदेखि पैसालाई छोएको छैन । यस्तो आवश्यक नै परेन । यो मेरा लागि राम्रै भयो किनभने यो संसारको गणितलाई म जान्दिनँ । म त आफ्नै ढंगले हिँड्ने हुँ, म आर्थिक नियमअनुसार चल्दिनँ, हिँड्दिनँ । हिँड्नै सक्दिनँ । तिनले चाहिँ मेरो अनुशरण गर्नुपर्छ । हाम्रो भाषा बेग्लाबेग्लै छन् ।

मैले बुवालाइ भनेँ, ‘मलाई गाउँ (मावली गाउँ) फर्कन रोक्नु भएको हो । यहाँ कुनै रस्साकस्सी भयो भने मलाई दोष नदिनू । म जे बुझ्छु, तपाइँ बुझ्नुहुन्न र तपाइँ जे बुझ्नुहुन्छ, म बुझ्दिनँ र बुझ्न पनि चाहन्नँ । दद्दा ! हामी एकअर्कालाई बनेका होइनौँ । हामी दुवैबीच तालमेल हुन सक्दैन ।’

हामी दुई जनाका बीच जुन दुरी थियो, त्यसलाई मेट्न उहाँलाई जीवनभरको समय लाग्यो तर त्यो यात्रा उहाँले नै गर्नुपर्यो । त्यसैले म भन्छु, म ज्यादै जिद्दी छु । म त एक इन्च पनि यताबाट उता सर्दिनँ । यो सारा बखेडा त्यही हात्तीद्वारबाट शुरू भएको थियो ।

मेरा पहिलो अध्यापक, म त उसको वास्तविक नाउँ पनि जान्दिनँ । स्कुलका कुनै पनि विद्याथीलाई त्यो कानो मास्टरको वास्तविक नाउँ थाहा थिएन । सबैले उसलाई काना मास्टर भन्थे । कानो अर्थात् एउटा आँखा भएको । हिन्दीमा कानाको अर्थ एउटा आँखा भएको त हुन्छ नै साथै कसैलाई सराप्न पनि यो शब्द प्रयोग गरिन्छ । हामी उसका अगाडि मास्टरजी भन्थ्यौँ, उसका पछाडि चाहिँ काना भन्थ्यौँ ।

ऊ आफैँमा कुरूप त थियो नै, उसले जे गर्थ्यो त्यो पनि कुरूप नै हुन्थ्यो ।

स्कुलमा मेरो पहिलो दिन केही न केही घट्नु नै थियो, कुनै न कुनै बखेडा हुनु नै थियो । त्यो मास्टरले नराम्रोसँग बच्चाहरूलाई सजाय दिन्थ्यो । विद्यार्थीसँग यस्तो व्यवहार गरेको न मैले देखेको छु, न सुनेको छु । कयौँ यस्ता बच्चालाई मैले देखेको छु, यस्तै व्यवहारका कारण स्कुल छाडेका थिए र अशिक्षित नै बस्न रूचाएका थिए । उसले निकै ज्यादती गर्थ्यो । पहिलो दिन नै ममाथि जे घट्यो र त्यसपछि त धेरै कुरा हुने नै थियो भन्ने कुरा बताउँछु ।

उसले गणित पढाइरहेको थियो । म अलि बढी गणित जान्दथेँ किनभने मेरी हजुरआमाले मलाई घरैमा केही केही गणित र भाषा सिकाउनु भएको थियो । म त झ्यालबाट बाहिर सूर्यको प्रकाशमा चम्कदै गरेको सुन्दर पीपलको रूख हेरिरहेको थिएँ । सूर्यको प्रकाशमा यसरी चम्कने अर्को कुनै रूख पाइँदैन । हरेक पातले बेग्लाबेग्लै तरिकाले नृत्य गर्छ र अन्य हजारौँ चम्किरहेका पत्ता एकसाथ नाच्छन् र गाउँछन्, जसका कारण सारा रूख वाद्ययन्त्र बन्न पुग्छ, बेग्लाबेग्लै स्वरको सामूहिक संगीत बन्न पुग्छ ।

पीपलको रूख बडो विचित्रको रूख हुन्छ । अरू सबै रूखले दिउँसो कार्बन डाइअक्साइड आफूभित्र तान्छन् र अक्सिजन बाहिर छाड्छन्… जे होस्, यसलाई तिमीहरूले सच्याउनू, किनभने न त म रूख हुँ, न वैज्ञानिक र न त केमिस्ट नै । तर पीपलको रूखले भने चौबीसै घण्टा अक्सिजन छोड्छ । पीपलको रूखमुनि तिमी सुत्न सक्छौ, अन्य रूखमुनि सक्दैनौ किनभने स्वास्थ्यका लागि ती खतरा हुनसक्छन् । मैले हावामा नाच्दै गरेका पीपलका पात देखेँ, हरेक पात सूर्यको प्रकाशमा चम्किरहेका थिए र सयौँ सुँगा एउटा हाँगाबाट अर्को हाँगा दौडिरहेका थिए र ती अकारण नै खुसी भइरहेका थिए । किन नहोऊन् त ? उनीहरूलाई कुनै स्कुल जानु थिएन !

म झ्यालबाट बाहिर हेरिरहेको थिएँ । ममाथि त्यो कानो मास्टर गर्जियो । उसले मलाई भन्यो, ‘शुरूमै कुरा प्रस्ट हुनुपर्छ ।’

मैले भनेँ, ‘हो नि, तपाइँले बिल्कुल ठीक भन्दै हुनुहुन्छ । म पनि यसमा सहमत छु । शुरूदेखि नै कुरा प्रस्ट हुनुपर्छ । सबै कुरा सही र ठीक तरिकाले हुनुपर्छ ।’

उसले सोध्यो, ‘गणित पढाइरहेका बेला, झ्यालबाट बाहिर के हेरिरा ?’

मैले भनेँ, ‘गणितका लागि तपाइँलाई हेर्न पर्दैन, सुने पुग्छ । मलाई तपाइँको सुन्दर अनुहार हेर्नु छैन । त्यसैबाट बच्न म झ्यालबाट बाहिर हेरिरहेको थिएँ । जहाँसम्म गणितको प्रश्न छ, मैले सुनिसकेँ र त्यसको उत्तर मलाई थाहा छ । तपाइँ सोध्न सक्नुहुन्छ ।’

उसले मलाई सोध्यो र यहीँबाट लामो समस्या शुरू भयो, समस्या मेरा लागि होइन, उसका लागि । समस्या नै सही उत्तर दिनु थियो । उसलाई त विश्वासै लागेन र उसले भन्यो, ‘तिमीले उत्तर सही दिए पनि गलत दिए पनि, सजाय त दिन्छु किनभने शिक्षकले पढाइरहेका बेला झ्यालबाहिर हेर्नु ठीक होइन । उसले मलाई अगाडि बोलायो । मैले उसको सजाय दिने तरिकाहरूका बारेमा सुनेको थिएँ, ऊ त ‘मार्क्विवस दि सादे’ जस्तो मानिस थियो । उसले आफ्नो डेस्कबाट पेन्सिलहरूको डब्बा निकाल्यो । मैले उसको त्यो पेन्सिलहरूका बारेमा सुनिसकेको थिएँ । उसले पेन्सिलहरूलाई हातका औँलाहरूबीचमा घुसाएर हातलाई जोडले थिचेर सोध्थ्यो, ‘अझै दबाउँ ? अझै जोडले च्यापौँ ?’

साना बालबालिकाका साथ ऊ यस्तो गर्थ्यो ! ऊ त तानाशाह नै थियो । मेरो यो कुरालाइ रेकर्ड गरिनुपर्छ । जो मानिस शिक्षक बन्छन्, ‘उनीहरूमा केही कमजोरी हुन्छ, केही गलत हुन्छ भित्र । शायद उनीहरूमा अरूमाथि शासन गर्ने इच्छा हुँदो हो अथवा शक्ति पाउने लालसा हुन्छ होला । शायद उनीहरू पनि थोरबहुत तानाशाह हुन्छन् ।’

मैले ती पेन्सिलहरू हेर्दै भनेँ, ‘मैले यी पेन्सिलहरूका बारेमा सुनेको छु । तर यिनलाई मेरो औँलामा हाल्नुभन्दा पहिला यति चाहिँ सम्झनुस्, यसो गर्नु तपाइँका लागि निकै महँगो हुनेछ । शायद तपाइँले जागिरै त्याग्नु पर्ला ।’

ऊ हाँस्यो, राक्षस हाँसेजस्तै हाँस्यो । उसले भन्यो, ‘कसले खान्छ मेरो जागिर ?’

मैले भनेँ, ‘प्रश्न त्यो होइन । गणित पढाउँदै गर्दा झ्यालबाट बाहिर हेर्नु अपराध हो ? गैरकानुनी हो ? जे पढाइँदैछ, त्यसका विषयमा प्रश्नको उत्तर मैले दिइसकेको छु, सुनाइएका हरेक शब्द जस्ताको त्यस्तै सुनाइसकेको छु भने झ्यालबाट बाहिर हेर्नु कुनै अपराध हो र ? कक्षामा यो झ्याल किन बनाएको त ? दिनभरि यो कक्षामा कसैले केही न केही पढाइरहन्छ । राति त झ्याल चाहिँदैन किनभने त्यो बेला यसबाट हेर्ने कोही हुँदैन भने किन चाहियो यो ?’

उसले भन्यो, ‘तँ त समस्याको जडै होस् ।’

मैले भनेँ, ‘ठीक भन्नुभयो । म अहिले नै हेडसरलाई सोध्न जाँदैछु, तपाइँलाई सही उत्तर दिँदादिँदै पनि सजाय दिनु कत्तिको सही हो ? न्यायसंगत हो ?’

यो सुन्नेबित्तिकै ऊ नरम भयो । म त छक्कै परेँ । ऊ कसैसँग नरम भएको थाहा थिएन, कसैसँग पनि ऊ झुक्दैन भन्ने सुनेको थिएँ ।

मैले थपेँ, ‘त्यसपछि म नगर सभापतिकहाँ जान्छु । स्कुलको सभापति ऊ नै हो । भोलि म प्रहरी कमिस्नरलाई यहाँ लिएर आउँछु ताकि यहाँ कसरी गलत व्यवहार गरिन्छ भन्ने उसले आफ्नै आँखाले देखोस् ।’

यो सुन्नेबित्तिकै ऊ त काँप्यो । अरूले यो देखेनन् तर अरूको ध्यान नजाने कुराहरू सबैमा मेरो ध्यान जान्छ । मैले उसलाई भनेँ, ‘पुलिसको नाउँ लिनेबित्तिकै काँप्नु भयो । तपाइँ काँपेको कुरा नमान्नु होला तर मैले देखेँ । खैर, अहिले त म हेडमास्टरकहाँ जाँदैछु ।’

म हेडमास्टरकहाँ गएँ र घटना सुनाएँ । उसले भन्यो, ‘यो मान्छेले बालबालिकालाई यातना दिन्छ र त्यो गैरकानुनी छ भन्ने मलाई थाहा छ तर म यसमा केही गर्न सक्दिनँ किनभने यो सहरको सबैभन्दा पुरानो शिक्षक ऊ नै हो । प्रायः सबैका बुवा र हजुरबुवा उसैका शिष्य भएकाले कसैले पनि उसमाथि औँलो उठाउँदैन ।’

मैले भनेँ, ‘मलाई यसको कुनै मतलब छैन ।’

मेरा बुवा र हजुरबुवा पनि यसका शिष्य थिए तर मलाई आफ्ना पिता या हजुरबुवाको पनि चिन्ता थिएन । म त त्यो परिवारको होइन नै । म त उनीहरूभन्दा टाढै थिएँ । म त यहाँ एउटा विदेशी जस्तै छु ।

हेडमास्टरले भने, ‘यहाँ तिमी नयाँ हौ भन्ने त मैले थाहा पाइहालेँ तर बाबु, यो समस्यामा नपरेकै राम्रो । भोलि उसले तिमीलाइ निकै सताउनेछ ।’

मैले भनेँ, ‘यो त्यति सजिलो छैन । सबै किसिमका अत्याचारविरूद्ध मेरो संघर्षको शुरूवात यहीँबाट हुनेछ । म पनि पूरा शक्तिले उसविरूद्ध भिड्नेछु ।’

मैले उसको टेबुलमा सानो मुठ्ठीले ड्याङ्ग हान्दै भनेँ, ‘मलाई पढाइको कुनै चिन्ता छैन । मलाई मेरो स्वतन्त्रताको चिन्ता छ । मलाई कसैले बिनाकारण दुःख दिन पाउँदैन । मैले झ्यालबाट हेर्नु हुँदैन भनेर कहाँ लेखिएको छ, त्यो देखाउनुस् । भलै मैले पढ्न नसकूँला तर लेखेको देखाउनुस् । सबै प्रश्नको उत्तर ठीक दिँदादिँदै पनि झ्यालबाट बाहिर किन हेर्न पाउँदिन म ?’

उसले भन्यो, ‘तिमीले सही उत्तर दिएका छौ भने तिमीले जतासुकै हेरे पनि फरक पर्दैन ।’

मैले भनेँ, ‘उसो भए मसँग आउनुस् ।’

हेडमास्टरले शिक्षा नियमावलीको पुरानो देखिने किताब लिएर आए, शायदै कसैले त्यो किताब पढेको हुँदो हो । हेडमास्टरले कानो मास्टरलाइ भन्यो, ‘यो बालकलाई धेरै दुःख दिने हैन । यो यति चाँडै हार मान्ने छैन । तिम्रा लागि समस्या हुनसक्छ ।’

कानो मास्टर डरायो र यही कारण ऊ अझ बढी आक्रामक भयो । उसले भन्यो, ‘तपाइँ चिन्ता नगर्नुस् सर । म यो बालकलाई राम्रोसँग पढाउँछु । त्यो नियामवलीको चिन्ता कसले गर्छ ? म जीवनभर यहाँ पढाइरहेको छु । अब यो फुच्चेले मलाई नियम सिकाउने ?’

मैले भनेँ, ‘भोलि या त म यो स्कुलमा हुन्छु कि त तपाइँ । हामी दुवै जना एकसाथ यो स्कुलमा अट्न सक्दैनौँ । भोलिसम्म पर्खिनोस् ।’

म चाँडै घर गएँ र बुवालाई बताएँ । उहाँले भन्नुभयो, ‘मलाई त पहिलेदेखि नै यस्तै केही हुन्छ भन्ने डर थियो । अरूलाई र आफूलाई पनि समस्यामा पार्छस् भन्ने त थाहा थियो । अब मलाई पनि त्यसैमा घिसार्ने भइस् ।’

मैले भनेँ, ‘म त तपाइँलाई स्कुलमा के भयो भन्ने सुनाउँदैछु ताकि पछि तपाइँले केही नसुनाएर के गरेको नभन्नुहोस् ।’

म प्रहरी कमिस्नरकहाँ गएँ। ऊ असल मानिस थियो । प्रहरी यति असल होलान् भन्ने त मैले सोचेको पनि थिइनँ । मेरा कुरा सुनिसकेपछि उसले भन्यो, ‘मैले त्यो मानिसका बारेमा सुनेको छु । मेरो छोरोलाई पनि उसले दुःख दिएको थियो । तर कसैले पनि गुनासो गरेको थिएन । बालबालिकालाई सताउनु या यातना दिनु गैरकानुनी हो । तर जबसम्म कसैले गुनासो गर्दैन, केही गर्न सकिँदैन । म आफैँ गुनासो दर्ता गर्न सक्दिनँ । गुनासो गरे, मेरै छोरो फेल गरिदेला ! त्यसैले जे गर्छ, गर्न देऊ । केही महिनाको कुरा हो । त्यसपछि त छोरो अर्को कक्षामा गइहाल्छ, ढुक्कै ।’

मैले भनेँ, ‘म यहाँ गुनासो लेखाउन आएको हुँ । मलाई अर्को कक्षामा जाने कुनै चिन्ता छैन । म त यो कक्षामा जीवनभर बस्न तयार छु ।’

उसले मतिर हेर्यो । मेरो ढाड थप्थपायो र भन्यो, ‘तिमीले जे गरिरहेका छौ, ठीक गरिरहेका छौ । म भोलि आउँछु ।’

यसपछि म म्युनिसिपल कमिटीको सभापतिकहाँ गए । त्यो त गोबरगणेश पो रहेछ ! उसले भन्यो, ‘मलाई सबैकुरा थाहा छ तर केही गर्न सकिँदैन । तिमीले उसलाई सहनुको कुनै विकल्प छैन । ऊसँगै बाँच्न सिक्नु पर्छ ।’

मैले उसलाई जे भनेँ, त्यो अहिलेसम्म मलाई याद छ । मैले भनेँ, ‘मेरो अन्तःकरणलाई जे गलत लाग्छ, म त्यसलाई कहिल्यै सहन्नँ ।’

उसले भन्यो, ‘म केही गर्न सक्दिनँ । तिमी उपसभापतिकहाँ जाऊ । शायद उसले तिमीलाई केही सहयोग गर्न सक्ला !’

सुझावका लागि म त्यो गोबरगणेशप्रति आभारी छु किनभने त्यो गाउँको उपसभापति शम्भु दुबे, मेरो अनुभवमा पूरै गाउँमा एक्ला मूल्यवान् व्यक्ति सिद्ध भए । जब मैले उनको ढोका ढक्ढक्याएँ, त्यो बेला म आठ वा नौ वर्षको थिएँ र उनी उपसभापति थिए । उनले भने, ‘आउनुस्, भित्रै आउनुस् ।’

उनले कुनै वयस्क मानिस उनीसित भेट्न आएको ठाने । मलाई देखेर उनी केही अकमक्क परे ।

मैले भनेँ, ‘माफ गर्नुहोला । म ठूलो छैन । पढेलेखेको पनि छैन तर म कानो मास्टरका बारेमा गुनासो गर्न आएको हुँ ।’

एक कक्षाका विद्यार्थीलाई कानोले गर्ने व्यवहार सुन्दा उनलाई विश्वासै लागेन । औँलाका कापमा पेन्सिल घुसाउनु र हातले दबाउनु, नङभित्र पिनले घोचिदिनुजस्ता काम यो सात फिट अग्लो र चार सय पाउन्डको व्यक्तिले गर्ला भनेर उनले सोचेकै थिएनन् ।

उनले भने, ‘मैले ती व्यक्तिका चमत्कारका बारेमा सुनेको छु तर कसैले आजसम्म किन गुनासो गरेनन् ?’

मैले भनेँ, ‘मानिसले गुनासो नगर्नुको कारण चाहिँ गुनासोपछि बालबालिकालाई अझ बढी उसले नसताओस् भनेर नै हो।’

उनले सोधे, ‘तिमीलाई डर लाग्दैन ?’

मैले भनेँ, ‘अँहँ, म फेल हुन तयार छु । उसले बढीभन्दा बढी त्यही त गर्ने हो ! म फेल हुन तयार छु । मलाई सफल हुने कुनै चिन्ता छैन । तर म अन्तिम दमसम्म यो अन्यायविरूद्ध लड्छु । कि त ऊ छैन, कि त म । त्यो भवनभित्र हामी दुवै जना एकसाथ अट्न सक्दैनौँ ।’

शम्भु दुबेले नजिक बोलाए र मेरो हात समाउँदै भने, मलाई सधैँ विद्रोही मानिस मन पर्छन् । तर मैले तिम्रो उमेरको मानिस पनि विद्रोही हुनसक्छ भन्ने सोचेकै रहेनछु । म तिमीलाई बधाइ दिन्छु ।’

यसै क्षणदेखि हामी साथी बन्यौँ । यो मित्रता उनको मृत्युसम्म रहिरह्यो । त्यो गाउँको जनसंख्या बीस हजार थियो । तर भारतमा यसलाई गाउँ नै मानिन्छ । भारतमा जबसम्म कुनै ठाउँको जनसंख्या एक लाख पुग्दैन, त्यसलाई नगर मानिदैन । जब जनसंख्या पन्ध्र लाख पुग्छ, बल्ल त्यसलाई शहर मानिन्छ । मेरो जीवनमा मैले त्यो गाउँमा शम्भु दुबेजस्तो गुण भएको र योग्यता भएको अर्को मानिस देखिनँ । यसो भन्नु तिमीहरूलाई अतिशयोक्ति लाग्ला तर सत्य त यही हो, सारा भारतमा मैले अर्को शम्भु दुबे पाइनँ । उनी अनौठा थिए, दुर्लभ थिए ।

म सारा भारतमा यात्रा गरिरहँदा गाउँमा म कहिले फर्कुँला भनेर उनी पर्खिरहेका हुथे । जसै म त्यो गाउँ हुँदै कुनै रेलयात्रा गरिरहेको हुन्थेँ, उनी मलाई भेट्न रेल बिसौनीसम्म आउँथे । भेट्न त मेरा आमाबुवा पनि आउँथे । मैले उहाँहरूलाई यसमा समावेश गरिनँ किनभने उहाँहरू त आउनु नै पर्थ्यो तर शम्भु दुबे मेरा आफन्त थिएनन् । उनी मलाई प्रेम गर्थे । र, त्यो प्रेम त्यसै दिन शुरू भएको थियो, जुन दिन मैले कानो मास्टरको गुनासो गर्न गएको थिएँ ।

शम्भु दुबे म्युनिसिपल कमिटीका उपसभापति थिए । उनले मलाई भने, ‘तिमी चिन्ता नगर । त्यो मानिसले सजाय पाउनै पर्छ । उसको अवकाश हुने बेला पनि भइसकेको छ । उसले समय बढाउन निवेदन दिएको त छ तर हामी समय बढाउँदैनौँ । भोलदेखि तिमीले उसलाई स्कुलमा देख्ने छैनौ ।’

मैले उनलाई भनेँ, ‘के साँच्चै हो ? वचन पक्का ?’

हामीले एकअर्काको आँखामा हेर्यौं । उनले हाँस्दै भने, ‘पक्का । वचन नै भयो ।’

अर्को दिनदेखि कानो स्कुल आउन छाड्यो । यसपछि त ऊ मतिर हेर्न पनि सक्दैनथ्यो । मैले कयौँ पटक उसलाई भेट्ने प्रयास गरेँ, उसलाई बिदाइको कार्यक्रमका लागि बोलाउन ढोका ढक्ढक्याएँ तर ऊ त कायर थियो, सिंहको खोलमा भेडो !

स्कुलको त्यो पहिलो दिनले धेरै कुराको शुरूवात गरिदियो ।