चम्पालाई ठाँट सिँगार खुब पारिरहनुपर्दथ्यो । उनी फिल्मका गाना पनि बराबर ऐनाअगाडि गुनगुनाइरहन्थिन् । उनको झकिझकाउपनाउपर सासूबुहारीहरूको बराबर टीकाटिप्पणी भइरहन्थ्यो ।

“आँखीभौँ सिसाकलमले लेख्याजस्तो हुन्छ कसैको ता” सासूले टिपिन् ।”

“छुसछुस छुरा नलाई चित्त बुझ्दैन रे ।”- ज्येठी बुहारीले टीका थपिन् ।

माहिलीले भनिन्- “आँखीभौँ नटिप्ने ता को होला र आजकल नाइँ ?” उनको पनि मसिन्याइएको थियो । चट्ट दराजतिर फर्केर चारकुने खुट्दै उनले थपिन्, “पत्ता मिलाउनसमेत कैँची-छुरा लाग्या हुन्छ कानमाथि । अनि के विघ्न पाउडर । झिलमिल तारा नलगाई कहिल्यै चित्त बुझ्दैन । राति-राति अरू सुतिसकेपछि पो सिँगार चल्दो रहेछ । हिजो राति जापानी पोसाकमा ऐनाअगाडि मुस्कुराएर बसिरहेकी फिल्मका गीत हरहमेसा गाइरहनुपर्दछ ……… नङमा पालिस, गालामा लाली, जर्जेट दिनभरि छ, छ ।”

यस्तैमा कान्छी बुहारीले आफ्नो कुराको सुइँको पाएर मटानमा पलेँठोपछाडि कान थापिन् ।

“चौपट्ट ढाँचा है नेपालेका छोरीका त”- पोख्रेलपुत्रीले टिप्पणी गरिन् ।

माहिली बुहारीले भनिन्- “जुन गोरुको सिङै छैन उसको नाम तिखे ।” यो सुनेर कान्छीको कन्सिरी तात्यो । उनी रिसले मुरमुरिएर उभ्भिइन् । ओठ टोकिन् । लालीमाथि लाल भइन् ।

“ज्यादा यत्ताउलो भा’त बेस होइन मान्छेले !” माहिली चुनुले तेल थपिन् । “कृष्णको तस्बिर लिएर छाती लगाएर म्वाई खाएर उधुम छ ।” सासूले एकै छिन केही नबोलीकन कुरा मात्र सुनिरहिन् । माहिलीले फेरि थपिन्- “कान्छाबाबुको त्यो हालत छ । लोग्ने घरमा सद्दे भए कसैले केही भन्ने थिएन तर !”

यसपछि ठस्केझैँ कसैलाई नहेरेझैँ चम्पा सासूको कोठाभित्र पसिन् । सासूको दर्शन गरेर एक कुनामा बसेर अलग्ग चारकुने गाँस्न थालिन् । बराबर पात जोडसँग च्यात्थिन् रिसले । पाखुरा जर्किन्थे ।

महाकवि लक्ष्मीप्रसाद देवकाेटा

तब सासूले मुख फोरिन् । “ए क्या हो ? तेरो चाला आजकल ? के भन्ला ए दुनियाँले पनि ? ……. अवस्था हेरेर पो चल्नुपर्दछ …….. कान्छो टोखामा पुग्या’छ । तँ कस्बी समान ठाँठिएर यसरी बस्ने ? कतिको फा, कति लाली तिमीहरूको ! आँखीभौँको गति हेर । फूलचनले खौर्‍याजस्तो छ ए ?”

चम्पाले दुई जेठानीको मुखमा आगोले हेरिन् । भौँ गाँठिन् । आँखाले झपारेर जुरुक्क उठिन्,

“कँठेनीहरूले सभ्य सिँगार देख्या भे पो त कहिल्यै !”

सासू उफ्रिन् । “जान पाउन्नस् बाहिर ….. बस् ! कल्लाई कँठेनी भन्या, ए सहरिया ?”

“छन् नि कोही-कोही यहाँ”- पहिलो नजर पोख्रेलपुत्रीतर्फ दिएर, दोस्रो आँखा सरदारपुत्रीतर्फ ।

“त्यसरी आफूभन्दा जेठा मान्नेलाई बाल्न हुन्छ ? चुप लाग् । कसुर तेरै हो ।”

“लुगा लगाउनु पनि अपराध रहेछ अब !”

“समयले पो हुन्छ सबै कुरा ।”

“आफ्नो समयमा को कम छन् र ह्याँ ?”

“तँ तात्तिरहिछस् चाँडो । तात्ने पोखिन्छ बुझिस् । अलि ओठ सेला । कामकाजमा पटक्क चित्त छैन ल । त्यसो गर्न हुन्छ ?”

“साग नकेला छैन । कुचो नबढार्‍या छैन । बिछौना तह नला छैन ।”

“अँ ? ……. भर्‍याङ तलमाथि पनि नगर्‍या छैन भन्न ।”

चम्पाले चारकुने चटक्क छोडेर बाहिर निस्किन् ।

“हेर, रिसाही !” सासूले देखाइन्, “फन्क्या हेरन । पख् । यसको मेख मार्नुपर्‍या छ एकदिन ।”

यसको पर्सिपल्ट टोखाबाट रामकान्त घर फर्के …… रामकान्तले सिन्दूर जात्र गरेर घर भित्र्याए । ठुलो भाग्यले छोरो बच्यो भन्ने ठुलो हर्ष भयो । भोलिपल्ट खसी ढल्यो । डाक्टरले अब मासु, माछा सारा फुकाइदिएको थियो तर सुवासिनीदेखि परहेज राख्ने कुरामा जोड दिएको थियो ।

रामकान्त गजबसँग मोटाएका थिए । खुब लाल-लाल गाला हालेका थिए । टाउको डब्बल देखिन्थ्यो । मान्छेको चोला नै फेरिएको थियो । अब सबको मुटु ढुक्क थियो- रामकान्त बाँच्यो ।

एक हप्ताबाद रामकान्त साथी भाइकहाँ जानु, डुलाडाल गर्नु, हँसी ठट्टामा भाग लिनु, सब चिज गर्न लागे ।

बराबर चम्पा कोठाभित्र पस्दथिन् । एक कोठा दिइएको थिएन तापनि उनलाई बराबर आउने जाने कुरामा ज्यादा रोकावट राखिएको थिएन । यस आवतजावतमा खतरा जरुर थियो । आमाचाहिँका आँखा देख्थे तर उनले च्वाट्ट मुख फोर्न सकिनन्- छोराको डरले । बुहारी चम्पालाई होसियारी मात्र दिएकी थिइन्- त्यस्तै छोरालाई पनि तर रामकान्त आफैँ बराबर काम अह्राउन बोलाउँथे ।

विवाहको जखडबन्धले बाँधिएको प्रफुल्ल बैँस आत्माप्रकाशनको अभावमा आफ्नो चुत्थो उपायतिर पनि बराबर लहसिन खोज्दथ्यो । प्रेमविनाको पतिलाई नाटकीय नमुना बनाएर सिनेमा खेल्न चाहन्थ्यो । फिल्म-स्टारको चरित्रको प्रारम्भतर्फ अग्रसर थियो । ऋषिमुनि मसिहाले “ह्या” भन्दिदा लाखौँ प्रकृतिका स्वाभाविक गतिहरू रुद्ध भएर स्वाभाविक प्रकाशनदेखि खुँचिन्छन् । प्रेमदेखि डराउँछन् र विवाहित जीवनको पतिपत्नीसम्बन्धी आखिर नाटकीय आश्रयको मात्र आधार लिन्छन् तर पतिपत्नीको घरेलु प्रेमलीला अभिनय मात्र हो, यथार्थ प्रेमको जीवन होइन । यसभन्दा सजिलो फिल्मस्टोरी आकाङ्क्षाको पूर्ति हम्मेसि पाइँदैन । यसकारण विवाहिताहरू लोग्नेसँग प्रेमको नाटकीय रँग पाएर सन्तोष लिने कोसिस गर्छन् ।

वसन्त ऋतुको समयमा एक दिन रामकान्तले चम्पासँग भने, “कीचक ……. तिमी यस्तो हलक्क बढौलीजस्तो लाग्या थिएन मलाई ? के विघ्न सप्रेकी ? हाम्रो घरको खाना त, पहाडिया भए पनि , हँ ?”

चम्पा- “के कीचक मर्जी भा होला ? राम्रो नाम पनि न भाजस्तो ?”

“कीचक भन्या बुझिनौ, बाँस । कृष्णजीको मुरलीजस्तो सम्झन । किन नराम्रो ? गालीजस्तो नाम राख्नुपर्छ रे । असल हुन्छ रे । एक जनाको सुवासिनीको नाम बाक्सी विचार गर न । गालीजस्तो । ज्यादा टुना लगाई भनेर सौन्दर्यको पनि त रँग आयो ?”

“के नाम राख्या होलान् छिः ? …. नेप्टी रे, चेप्टी रे, आलु रे, ग्वाङ रे रे, डेब्री रे, ड्यौढी रे, ……. नेपालमा सुवासिनी मान्छेलाई चौपट्ट हेलाँ गर्छन् बा ! कदर गर्ने ता कालो भए पनि देसी मधिसे नै हो कि अङ्ग्रेज ।”

“जी हाँ ? त्यति विधि रिसाएकी ? हार भनूँ त ? आजदेखि ?”

“नाइँ ।”

“के विघ्न बढेकी तिमी ? म च्यान्टी चाहन्थेँ, तिमी अरबी आइलाग्यो ।”

“के गरेर घट्ने होला , खै ?”

“कोलमा हाल्नुपर्‍यो ….. हुन्न ?”

दुवै जना मुसुमुसु हाँस्न लागे । लवजको मिठो कुतकुती बैँसमा रमाइलो हुन्छ ।

“मलाई सुवासिनी निषेध छ के गर्ने ? ….. चम्पा ।”

“केही पनि नगर्ने ।” ………

“अङ्ग्रेजी युवक, युवति अभ्यर्थना गर्छन् । जीवनको वसन्ती समयमा । मिठो सुगन्धको मुसुमुसु हुन्छ । मजाको होइन ? … के मैले तिमीलाई कहिल्यै कानेखुसी गरेँ कि तिमी जूनभन्दा राम्री छौ ?”

“पर्दैन ब्यारे । म त राम्री छैन ।”

“पत्याउँछ दुनियाँ ? वाह ? ….. भोटेनी पालिस लाए मात्र, नराम्रो हुन ता ! नेपाली मन्त्रीले मेरो पावर छैन भन्याजस्तो ! फटाही !”

“उस…. कति राम्रा चिज देखिसक्या आँखाले ?”

“म ? ….. ए डेस्डेमोना ! …. तिमीले ता बितायौ बा ? …. म ? मन-जोगी ? आजकल पो जपमाला छोडेँ ।”

“माफ पाऊँ न ! हाँले के भन्या छ र त्यस्तो नराम्रो !”

“ए बिजुली म त तिम्रो नाम बिजुक्ती राख्छु आजदेखि हुन्छ ?”

“हवस् … इच्छा …….”

ढोका कर्के थियो । आमाचाहिँ भर्‍याङ उक्लिन लागेकी थिइन् । रामकान्तले नवयौवन सुन्दरीको कपालको लाली के रहेछ भनेर पहिलोबार छामे ।

“ह्या ? … फटाहा ?” चम्पाले गाली गरिन् “कस्तो मनजोगी, ओहो ? उस् ! उस् ! स्स ! स्स !”

आधा कपाल फुलेकी रगादेवी हातमा पुरानो अचारको सिसी लिएर ढोका उघारेर खडा भइन् ।

“बाबु ! कस्तो छ तँलाई आजकल ?”

“बेस आमा ! …. बिलकुल पहलमान ।”

“त्यस्तो भएर मात्र हुन्न । एक दुई वर्ष हेर्नुपर्छ रे । फर्कन्छ रे । सुवासिनी बार्नैपर्छ है बाबु, तैँले । धोखामा पर्लास् । अब यो चम्पेलाई कोठा बन्द-आजदेखि …….. हरहमेसा कोठामा पसिरहन हुन्छ ? लोग्नेलाई त्यस्तो छ भनेपछि । मार्लिस् तेरो लोग्नेलाई थाहा छ ?

कस्तो साइत पर्‍या !…….

“चम्पु ! ल आइज अचार पार्नु छ ।”

“हवस् !”

चम्पाको गाला वसन्तपुर भयो ।

उनको जीvनको प्रथम पौरुषस्पर्श किसलयकपोलमा पाएर उनलाई अनौठा असजिलो लागेको थियो । उनले फिल्मको “अशोककुमार” नायकको आर्यचेहराको प्रेम, ज्वलन्त मिठाससँगको एकलासे अधर मिलन या उर मिलन कल्पना गरेकी थिइन् । त्यस कक्षाबाट, त्यस आदर्शबाट खस्के पनि अनुभवमा औपन्यासिकता थियो । …. तर उनको आत्माले भन्यो- “कस्तो कुसमयमा अर्कालाई छुन आ’होला ! मैले बिरालो आयो भन्या पनि नसुनेर । रहिछन् उनै घोरमुखा । देखिन् कि ?”

चम्पाले सासूतर्फ अहिलेदेखि नै वैमनस्य विकास गर्न लागेकी थिइन् तर उति खराब, तीव्र होइन । मन-मन उनले सासूको नाम दिएको थियो- घोरमुखा ।

“बस न !”

“अँ, मार्दैनन् अर्कालाई ?”

“कसले मार्ने ?”

“कुन्नि त ? …… खुर्सानीको हातले गाला मुसारिछु भन्छु …. माथि । जेठानी देवरानीहरूको आँखा त्यस्तो सियोजस्तो छ !”

चम्पा गएर ऐनामा गालाको परीक्षा गर्न लागिन् के लाग्या छ र ? “के ?” “के ?” “अहो ! छुँदैमा हातको छाप लाग्छ त ?” “क्या हो ?” “क्या हो !”

“छिः” उनले भनिन् “कसरी माथि जाने ! थाहा पाउँदैनन् ……. “

‘के आम्मै … के छ र ? तिम्रो गालामा भन्या ? अचम्म !’

‘भो बा ! म त फेरि हजुरकहाँ फर्केर नआउने बा ! डर लाग्यो ।’

चम्पा निस्किन् …….

त्यस दिन माथि घरमा जेठानीका आँखा हाँसोले क्रूर देखिन्थे । सासू बुढीले बताइसकेकी थिइन् ।

‘तरुणाहरूको आर्कै रँग । आर्कै रोशन !” चुनुले खिसी गरिन् !

“म भा भै त- तिमी मोरीलाई काँचै मासु खाइदिने ।” बुलु बोलिन् ।

‘यसो कोठामा बराबर जाने गर्नु …… पाउ दाब्नु ! …. कस्ती लाटी ?’

चम्पालाई असह्य भयो । उनी आँखा तरेर भान्सा कोठाबाट  तल ओर्लिन् । घर भन्ने कस्तो बिकेबा जेल हुन्छ । अर्काको मानो खानु । त्यो पनि काम गरिन् भनेर सासू जेठानी बाहुनीको षड्यन्त्रले गर्दा बराबर पेटपुग्दो भाग पनि नरहने- बराबर । आफूलाई भनेर दिएको कोठा । त्यही एउटा कोठामा पनि पस्न नहुने ! बचनको केरी खानु उस्तै । खिसीटेप्ली, खिसीटेप्ली उस्तै । कैदीहरू सडक पेल्छन् । बुहारीहरू मस्यौँटा । ढिक्कीमा समेत जा रे । मुसलले हात खाइदियो भने ? डुँडो भयो भने ? अनि मुछिन्छ ढुटोमा सेताम्य भएर केही ? वसुन्धरीले पाउडर ला’जस्तो एउटा रमाइलो गरूँ भने छैन । के जीवन होला नेपालीहरूको ? दालभात, गुदगुद, कुचो, मस्यौटो, ढिक्की, जाँतो । केवल भान्साको क्षेत्रमा । कसौँडी ताप्के सिवाय साथीको नाममा बन्द । जोडाजोडी मिलेर कति टुँडिखेल डुल्न जान्छन् । आफ्नो त्यति पनि छैन । कोठाभित्र पसी रे । किन नपस्नु त आफ्नो कोठामा  ।  बिनासित्तिको बुहार्तन । पहाडिया सासू ता नपरोस् छिः कसलाई । के जखडबन्धी ! फलामे चोलीले बैँसको आङ कस्ने साह्रै ! धोती चुन्नु, दोलाई पट्याउन, कुचो लाउन, टेबिल सज्न सम्याउन पनि कोठाभित्र नपस्नू रे ? पुग्ने कुरा हो ? हामीले के गरिदिएको छौँ र ? … छोरालाई पक्रन गा’ छैन क्यारे उनको ? …. यस्तै गरी मनमनै भुतभुताउँदै चम्पाले डाली लिएर बगैँचामा प्रशस्त समय बिताइन् । साँझ परेपछि भित्र पसिन् । फूलका राम्रा थुँगाहरू चुनेर आफ्नो केश सिँगारेकी थिइन् । डालीभरि रङ्गीबिरङ्गी फूलहरू थिए । रामकान्त हावा खान बाहिर निस्केका थिए । त्यसै बेलामा उनी मौका पाएर ऐनाअगाडि मेचमा बसेर गालामा फा थप्न लागिन् । केश सम्याएर फूलका गुच्छाहरू कलात्मक तवरले घुसार्दै आफ्नो मनमोहन स्वरूपको बैँसालु सौन्दर्यको टुना हेरेर रद्द परिन् । ऐनाअगाडि उनलाई यस्तो लाग्यो कि उनी स्वर्गबाट झरेकी अप्सरामध्ये एक जरुर हुन् । एक ता बैँसको मिठो रुपौलो मुहार, त्यसउपर काँचको रङ्गिलो बिजुली रोशनीमा प्रतिबिम्ब फूलजडी रङ्गीन भित्ताको पृष्ठभूमि र फूलको वासन्तिक जडान र सूचना उनले हेलेन र द्रौपदीको कथा सम्झिन् । उनको मनमनमा एक विचित्र भाव आयो । चोरिनु पनि निकै मज्जाको कुरा हो । रावणको चोरी सीताको सौन्दर्यको एक सिफारिस हो । आजकल दुनियाँमा औपन्यासिकता जरुर कम छ, एक ठेक्का हुनु । यत्रो दुनियाँमा कति विशाल जीवन होला । जीवनको नाममा हामी के पाउँछौँ त ? ….. दाल भात डुकु …. पुगनपुग दासत्व- एक जनाको जुत्ता बन्नु । यो चेहरामा एक चाउरी पर्‍यो, यो केशको एक रौँ फुल्यो, बस् स्वामीजी पनि चाउरे बन्दनी भनेर हँस्सी दिल्लगी गर्न थाल्दछन् । यस बैँसका औपन्यासिक क्षेत्रमा एक मिठो घटना थिएन । “म मरिरहेछु तिम्रा निमित्त” भन्ने ज्वलन आगो सल्केको हृदयको आत्मसमर्पण उनले पाएकी थिइनन् । नेपाली घरमा भाव हुँदैन । भावका तीव्रता दाम्पत्यलाई खैराँते खेल बनाउँछन् सबै । स्वामीजी प्रेमको लीलासमेत गर्न जान्दैनन् । न उनको सासूमा जलनको मिठो दबेको उच्छ्वास छ …… न हृदयमा ज्यादा ढुकढुक । चुम्बन पनि मानौँ केटी कमारीलाई राम्री देखेर कामी क्षणको लोलुप चटाइ मात्र न हो ? जस्तो बालकहरू दूधदानीको मुन्टो चाट्छन् । बैँस केवल मरुभूमिको फूल न हो । बास आउँछ । कोही जल्दैन । सौन्दर्यको कदर गर्ने मानवता छानामनि अक्सर कहाँ पाइन्छ र ? बिहा एक खरिद न हो ? अर्काको पन्जामा आत्माको बिक्री । बस् शृङ्गारका सरजाम र एक भोज । बस्, खतम । स्त्री आत्माको चाख या प्यास स्वतन्त्र अधिकारको हुन्छ । विवाह एक पैसाको बलजफ्ती हो । विधिको सुर्काउने । छिः न गान, न नाच, न भावना, हो कि हाम्रो नेपाली जीवन ?

चम्पाको हृदय सपनादार छिटो हृदय थियो जस्तो बैँसमा हरेक स्वस्थ युवतिको हुनैपर्दछ । यस अवस्थामा जस्तो झनक रिस कहिल्यै उठ्दैन । यस वेलामा जस्तो असन्तोष हृदयमा कहिल्यै पैदा हुँदैन । परिस्थिति आफ्नो इच्छाको विरोधी या रोचकदार छ भने जवानीको फुल्दो तेजले उसको हाँगाको पूरा जोड अनुभव गर्दछ र आफ्नो आकाङ्क्षाको दिशामा त्यसको विजय गरेर अगाडि बढ्ने तदनुसार विरोधशक्ति हासिल गर्न उद्यमशील बन्दछ ।

चम्पालाई आफ्नो स्वरूपको आत्यन्तिक मोहनीले आफ्नो मूर्तिको पूरा तवरको पुजारी बनाइदियो । ग्रेसियन भिनस या प्रेमदेवीको शिल्प चित्रमा कसर हुँदो हो, गणितको कलात्मक अभाव उनमा जरुर थिएन । के उनी यति साङ्ग्रा पातला दीवारकी कैदी बनेर बेमोलको घरबुहारी बन्न मात्र यस विशाल दुनियाँमा आएकी थिइनन् त ? यति खैराँते बुहार्तन खान ? यस्तो घोरमुखा सासूको मेथीचमसुर केलाउन ? उनलाई पतिदेवको विरोध गर्न बडो विचित्र अकथित तथा अस्पष्ट डर लाग्यो । उनलाई सन्तोष ता जरुर थिएन तर दुनियाँमा बाँधिदिएपछि जोसँग बाँधियो उसैसँग नबाँधिइकन नहुने । चलाइदिएको प्रथा । नाइँ भन्न पाइन्न । धर्म ! पाप लाग्छ । यताउति विचार गर्नु सतीत्वको विरोध गर्नु- त्यो पनि आफ्नै तर जरुर प्रकृतिले उनलाई योभन्दा असल चिजका निम्ति कल्पना गरेकी थिइन् ।

नूरजहाँ कति राम्री हुँदी होलिन् ? मुमताजमहलको चिउँडो कस्तो हुँदो होला ? देविकारानी पनि देखियो । त्यत्ति नै ता हुन् नि ! सिनेमामा त कालो या कल्सेन्डो मुखमा सेतो रोगन लगाएर लाइट लगादिए पनि त खुब सुन्दर हुँदो होला । उनले कमसे कम क्षेत्र पाएकी थिइन् । तर “तर कति धेर कुसुम छन् जो मरुभूमिमा अदृष्ट लाली देखाउन मात्र जन्मेका हुन्छन् ।” के घर पनि एउटा कैद होइन ? बच्चा भएपछि त गलफन्दी लागिहाल्यो । न यता हिल, न उता चल । कैद ! जाँतो पिँधजस्तो कैद ढुङ्गा फोर्छन् । वचनका कोर्रा कम हुन्छन् र ? कति काला टीका लगाई माग्नु छ बाबा, देउरानी, जेठानी, सासूबाट । अनि उठ, पूजासामान माझ, खरानीले हात फुटाऊ सके चुल्होमा समेत फू फू गर, आँखा पिरो पार, दाउरा सराप, (भात ख्वाउनु त्यस्तो बराबर नपरे पनि) । मेथी-चमशूर, गान्टेमूला, काउली, बन्दा । के जीवन यति भन्दा टाढा जाँदैन ? घटनाको अभाव नै नेपाली जीवनको व्याज हो । भए तमाखु खान्छन् लोग्नेमान्छेहरू, ढुम्म बनेर, जबसम्म जुँघामा काइ लाग्दैन । नभए फटफटाँउछन् । कावा खान्छन्, बहुला हुन्छन् । यत्रो विशाल नेपालमा मध्यमता नै सिवाय प्रधान गुण नै छैन । मझौलापना भन्दा आर्को चिज नेपाली नै होइन मानो । पहाड मात्र ठुला छन् यहाँ । गौरीशङ्कर र धवलागिरि मात्र यहाँ विशेष र प्रधान छन् अरू नामका मात्र । यहाँका विद्वान् अन्डिरका रुख । यहाँका वैज्ञानिक भुसुना । यहाँका कला न खराब न असल । देश पनि न ठुलो, न सानो । एक चिज जसमा नेपालको र नेपालीको विशेषता छ मलाई भन त ? सौन्दर्य ।

अब यी सौन्दर्य जो संसारसँग अनमोलपनाको कसीमा घोटिन सक्तछ, के त्यसको नेपाल र नेपालीमा कदर छ त ? के यसलाई यहाँ कुनै क्षेत्र छ ? के यसको विकाश र पोषण छ यहाँ ? चम्पाले यस्ता तरङ्गका साथ शिर हल्लाएर ओठ लेप्राइन् । ठिक यसै वेला स्वामीजी चिमिरे, च्यान्टे, च्याँसे, फिब्टे स्वामीजी ठमठमाउँदै भित्र पसे ।

उनको ढोका घरकाइद्वारा स्वप्नसंसारबाट सचेतना प्राप्त गरी चम्पा मेचबाट हत्तपत्त उठिन् । उनको चेहरामा बागीको मुखमा दोषको छलछाम लुकाउन कोसिसले गरेको अप्रकृतिक स्वामीजीको सामुन्ने छाइरहेको थियो ।

चम्पा बिलकुल लाटीजस्तो भएर, खसक्क परेर, पतिदेवको अगाडि जमिनमा आँखा झुकाएर रहिन् ।

उनको मनको मुटुले समालोचना गरिरहेको थियो जस्तो रोबर्ट मन्टगोमेरीको समालोचना लार्ड मेकालेले गरेका छन् तर उनी बाहिरबाट खुसुक्क परेर परिस्थितिको श्रेष्ठतालाई मान्य सम्झी उद्योगमा खडा रहेकी थिइन् । स्वामीजीले पोसाक राखे । उनको हातबाट एक, एक पोसाकका थान उनले पक्रँदै उचित ठाउँ मेचमा खुटीमा तन्दुरुस्त राखिदिइन् । तब अब आफ्नो बढ्ता काम या सेवाको आवश्यकीयता होवैन होला भनेजस्तो प्रश्नात्मक ढाँचाले द्वारको पलेँटातर्फ अधराजी पयर चालेजस्तो देखिइन् ।

जान लागेको देखेर रामकान्तले भने, “चम्पा ! किन ? कहाँ जान लाग्या ? बस न एकछिन । मसँग रिसाएर को कि ? किन ? आज केही पनि नबोलेकी ।”

चम्पाले फर्केर मसिनो स्वरले भनिन्- “नबोल्दा त यस्तो छ अर्कालाई । म जाउँ क्यार !”

रामकान्तले आफ्नो पत्नीको सौन्दर्य र शीलको मनमन प्रशस्त कदर गरिरहेका थिए । चम्पा यस्तो निर्दोष, यति सुन्दरी, यति बेकसुर बाला छिन् । के यिनी कोहीभन्दा कम छिन् त ? ठकुरीकी छोरी भन्नु मात्र हो । मेरो आदर्श च्यान्टा भए पनि यिनी कमसे कम उच्च सौन्दर्य विशेषज्ञको आदर्श मूर्ति छन् । मेरो आर्दशमा मेरै च्यान्टावनाको प्रभाव अड्ढित छ । यो उनको भूल होइन । तर टी.बी. ………. हा ! पाहुना टी.बी. …….. तँ मेरो सर्वस्व खान आएर कर-बल आतिथ्यको उपदेश दिइरहिछस् । अब त मैले तेरोउपर विजय प्राप्त गरेँ । तँ मलाई अब मार्न सक्तैनस् ।

उनको तरङ्गका मूक क्षणमा चम्पादेवीले खुब तिखो नजर लगाइन् । उनले अपलक अभ्यस्त आँखाले पुरुषको चेहरा जाँचेर मुखरेखाको अन्तर्भाव खुब पढ्न खोजिन् । उनले सम्झिन्- यी पुरुष चिन्तनशील छन् आज- सायद आफ्नो बिरामीको विषयमा । सायद उनलाई आमा चिढ्याउन देखि डर लागिरहेछ । सायद उनी मलाई यहाँ राखेर मसँग कुरा गरिरहनको सल्लाह नि यताउपर चिन्तित छन् ।

यी विचारले चम्पा तुरुन्त ढोकाको पल्याँटो उघारेर खुरुक्क बाहिर निस्किहालिन्, जस्तो ती युवतिहरू गर्दछन् जो स्वामीलाई कहिले कहिले निराश पार्न या कज्याउन चाहन्छन् ।

“ए ! ए !! चम्पा !!!” सचेत रामकान्तले गालीको टोनले बोलाए- मानो टेबिलको मसलादार तरुवा माछो टिपेर हिँडेको बिरालालाई हप्काएझैँ । तब उनी फेरि गौडदार बने ।

बैँस मिठो मूर्ति हुन्छ । सौन्दर्य एक विचित्र गुण हो तर मेरो अवस्था खराब छ । हुन त आमाले भन्नुभएको कुरा बेमुनासीब होइन । ब्रह्मचर्यको पालन । त्यसैमा ऋषिमुनि र धर्मको जोड छ । तर, तर ती चम्पा ! त्यति राम्री, त्यति सुकुमारी ! त्यति फुकेकी, फुलेकी, त्यति ललित र त्यति लाल । मानो उनको पुष्पसदृश विकाशमा केवल माहुरी र भँवराको खोजीको सिवाय नक्कलझक्कल नै थिएन । पोसाक उनको सँगी थियो । राम्रो हुनु उनको धर्म । शृङ्गार उनको कला, आकर्षण उनको जीवन । मानो प्रत्येक स्नायु रमरमाएर बोल्दथ्यो … जीवन ! ….. जीवन ! प्रेममय जीवन !”

यदि उनी मरेका भए ? बिलकुल सिलटिम्मुर खाएका भए ? यस वेलासम्म चम्पा सेती मैली गोधूलि र आँसुकी तारा हुँदी हुन् । उनका इन्द्रेनीका सातै रङ्गले त्याग गर्दथे । रातोको हत्यारो मिठास- मारूँ, मारूँ निलोको मधुर त्रासको गाढापन …….. पहेँलोको धनी वसन्त, इत्यादि, इत्यादि …….. शृङ्गार जो स्त्रीको आत्मा थियो उनीबाट दूर रहन्थे । उनी अधमुर्दा भएर आफ्नो बैँसलाई गिज्याएर निन्याउरिन्थिन् । तिनका मुगा सिसा हुँदै खिया लाग्दै जान्थे । तिनका आँखा निराशले झुक्दथे । तिनका मुन्डाहरू मरेका नागिनझैँ अजिब रहन्थे । तिनमा केवल बिजोगको चिसो जिउँदो मर्दो मूर्ति संसारलाई गिज्याउन खडा रहन्थ्यो ।

उनले जीवन पुनः प्राप्त गरेका थिए । सुन्दरी चम्पा फेरि बाँचेर फुल्न लागेकी थिइन् तर यस प्रफुल्लतामा उनी आफ्ना निम्ति एक महान् प्रहसन थियो । खै ! तिम्रो पुरुषार्थ ? खै तिम्रो योग्यता, त्यस कर्मका लागि जो प्रजननको पवित्र तथा अविरल कर्मको स्वरूपमा अतिमानव सन्तानोत्पादनका लागि अश्वयकीय र आदरणीय सम्झिएकी थिइन् प्रकृतिदेवीले ?

उनीलाई यी भीषण मृत्यु थियो, मृत्यु थियो । उनले यसबाट बच्नैपर्छ । के चम्पाको दोष थियो यस विषयमा ? …. उनी पहाडकी फूल थिइन् । वसन्तको मिठो नटिपिएको गुलाफ थिइन् । स्वर्गकी अप्सरा । उनी खिल्न आइन् । मोहनीको नयाँ पाठ बैँसले प्रतिदिन प्रदर्शन गरिरहेको थियो । त्यो त अबलाको प्राकृत कला र कर्म नै हो ।

उनी बैँसालु हुनु र यसरी सुन्दरी हुनु उनको दोष जरुर होइन । रामकान्तले आफूलाई अघोर अभागी सम्झन लागे । चम्पानामक बत्तीका अघि यौवनको ज्वालामा पुतली हुनु बेस कि संसार त्याग गरेर परमार्थ सुधार्नु बेस ? …..

उनमा कामना थियो हृदयको सजीव आकाङ्क्षा । तिनीहरू बराबर घचघच्याउँदथे, बराबर जोडका साथ तर दबाब नै उनले हरहमेसा स्मरणीय पाठ सम्झन्थे तर दबाब प्रकृतिले कानेखुसी गर्न आँउथिन्, के दबाब स्वास्थ्य हो ? रातका बिचमा रामकान्तलाई बराबर विशाल संसारको अन्धकारमा बुद्धदेवको विचित्र अकेला दीपझैँ एक नवीन दीप बालेर प्रस्थान गर्ने प्रेरणा आउँदथ्यो । उनी एक दुई बाजि रातको सन्नाटामा टुँडिखेल घुमेर समेत आए । अहिले होइन आज होइन । म बुद्धदेवजस्तै कहाँ छु र ?

प्रतिदिन मतवाला आकर्षक भरिँदो सुगन्धित-बदमाश बैँस अगाडि झल्याक्क झुल्लुक्क देखाहा पर्थ्यो । मुसुमुसु हाँस्थ्यो । दृष्टिक्षेत्रबाट संसार अध्यारो पारेझैँ फेरि कतैतिर जान्थ्यो । कत्रो भयानक सौन्दर्यको ज्वाला ? ……. मानो ऊ आफ्नो जगत्‌को सम्राट् छ । उसको आज्ञाको विरोध गर्न कसैको ताकत थिएन । ऊ सारा कमजोर र कमजोरीउपर हँस्सी उडाएर मस्त मुस्कुराइरहेको थियो । ऊ जनसङ्ख्या कायम राख्ने या संवर्द्धन गर्ने पवित्र प्राकृतिक कार्यका लागि पूरा तवरले सुसज्जित भएर हाँक दिन्थ्यो- पुरुषको पौरुषलाई के विघ्न डरलाग्दो ?

रामकान्त तँ मर्छस् । खामोस । होसियार । तँ बत्तीमा पुतली भएर नहोमिई । रामकान्त गीता पढ्न लागे र धर्मपद पढ्न लागे । उपनिषद् पढ्न लागे । साधुमहात्माको सभातर्फ जाने गर्न लागे । कम बोल्न लागे । उनले महात्मा गान्धीको जीवनका पाना पल्टाएर बराबर स्नान गर्ने आदत बसाले ।

एक दिन रमादेवीले थाहा पाइन् । धारामा गएर कोही मानिस बाह्र बजे राति नुहाउन लागिरहेछ । यो के गजब ? रहेछ आफ्नो छोरो । हप्काइन् । बदमास ! उल्लू ! के गरिरहेको यस वेला ? उनी मरेकी थिइन् र ? माउसुलीले छोयो रे ! फटाहा ! … अवश्य यसले देवीको साधन गर्न लागेकी हुनुपर्दछ ।

बदमाश बैँस, जसलाई फेरि उनले कहिल्यै बोलाएनन्, रामकान्तका निमित्त कस्तो छापको ज्वालाजस्तो थियो । कति राम्रो, कति छिटो, कति मिठो ! आँखाले गिज्याउँथ्यो । हाँसोको पहिलो भाग मात्र नानीको चमचमिलो चमकबाट छेडेर । बराबर मेनका नाचेझैँ वस्तुहरूको घरेलु वनमा नाचेर हिँड्दथ्यो । उसको लचक, उसको लोचन, ! उसको पुष्टता, हाँकदार विकचता । कति बेसरम सर्माइलो मिठास ! मानो मनुष्य उसको बागमा फूल थियो- शिखर सौन्दर्यमा- र त्यही रूपको पुनरुत्थान र अमरत्वको सङ्केतका निमित्त त्यसको पूर्ण आत्मविकाशका सजीव क्रिया चलिरहन्थे- मानो पुष्पवनमा ।

एक दिन रामकान्तले टेनिसनको एक कवितात्मक पङ्क्ति पढे, “एकबाजि प्रेम गरेको हुनु र गुमाएको हुनु कहिले पनि प्रेममा नपरेको हुनुभन्दा उत्तम छ ।”

उनको भावनालहरी फेरि प्रेमतर्फ लहसिन लागे । वैरागीहरूको फुस्रो आँसु यस दुनियाँको प्राकृत क्रियाउपर ! उनको अस्वाभाविक कामनिन्दा ! कामदेव नै संसारको सच्चा राजा हो जब प्रथम कामको स्पन्दनमै ब्रह्मबाट पनि संसार रचना भएन । प्रेम प्राकृत क्रिया हो । भालेपोथी, पोथीभाले यहाँभन्दा दुनियाँमा अर्को के छ ? ….. पशुपति-गुह्वेश्वरी-पशुपति । लिङ्गदर्शन संसारको उच्चात्युच्च दर्शन हो । के हरेक मनुष्य यौनमूर्ति होइन- पर्दाभित्र आत्मा भनेकै त्यही हो । जीवन संवर्द्धनको क्रियाका निमित्त योग्य स्वस्थता राख्नु नै पौरुष हो । के मेरो अधिकार छ, कुनै धर्मले चम्पालाई टी.बी. लाग्यो तिमीलाई पनि भन्न ? उनलाई टी.बी. लागेको छैन । स्वस्थ छन्, उनी डल्ला फोरिएकी जमिन छिन् । उनी लहलहाउन चाहन्छिन् । उनी समर्थ पृथ्वी छन् । म रोगी किसान । त्यसपछि उनी यौन साहित्यतिर लागे । डी.एच. लारेन्स्का निबन्धहरू अध्ययन गर्न लागे । उनले त्यस ग्रन्थकारमा असाहित्यिक साहित्यिक तवरको सरल यौन विवरणहरू पाए । ग्रन्थकार थियो यौनभावको परम भक्त र पुजारी । यौनभाव एक पवित्र अग्नि हो । यसले सब चिज खाइदिन्छ । यो ज्वाला हो जीवनको, स्वणर्मन्दिरमा यही रहस्य हो यही विश्वको मर्म हो । यसभन्दा अरू चिज छैन । यस वस्तुका हाँगाबिँगा सबै सभ्यता हुन् । कत्रो यौनभावको पूजा ।

उनलाई प्रकृतिले अयोग्य बनाएकी थिइन् । उनी जान्दथे जति यौनभाव परमेश्वर भए पनि, त्यो उनका लागि विध्वंसक, प्रज्वालक क्षयक थियो । यदि यौनभाव कस्तो पवित्र वस्तु हो भने, आफ्नो अयोग्यताको विचार राखेर त्यसलाई आफू जल्ने, बल्ने, उज्वाल्ने क्षेत्र प्रदान गर्दिनु र आफू त्यसका क्षेत्रको कण्टक नहुनु पनि त एक सच्चा अन्तःकरणवाला पुरुषको वौवेकिक साधुता र सच्चाइको कर्म हुन्थ्यो । उनले निर्णय गरे यो ज्वालालाई नचलाऊ । यो खतरादार छ । यसले खान्छ यो मेरो मृत्यु हो । उनको हृदयमा वियोगान्त नाटक सुरु भयो । तीव्र वेदना अनुभव हुन लाग्यो । आत्मनियन्त्रणको महती तपस्या उनले अभ्यास गर्न लागेका थिए । बराबर मुटुमा आँसुको गाँठो परेर आउँथ्यो तर जीवन संरक्षणी शक्ति जो उनको बाहिरी सतहभन्दा ज्यादा बुद्धिमती थिई, ज्यादा बुझ्थी- उसले भनी खतरा छ, रामकान्त ! पूरा खतरा ! तँ भाग् । यस ज्वालामा नपस् । यो सच्चा मृत्यु हो । “त्यो जीवन संरक्षणी शक्ति बडी स्वार्थी थिई । बडी मतलबी थिई । बराबर अर्को एक जना कसैले आएर खुसखुस गर्थ्यो अपरिभाषेय कोही ।

“रामकान्त ! मानिस मानवताको सेवक हो । पुरुष स्त्रीको, स्त्री पुरुषको । तब बाँच्नु भनेको अनुभव गर्नु हो । जीवनी शक्तिको बग्गीमा वाहक अश्वका रूपमा ताजा तगडा भएर जित स्वीकार गर्नु हो । तँ यसैका लागि जन्मिइस् । तँ मरे के बेफाइदा छ ? ……. तेरो जीवनी शक्तिको अर्पण त भयो आफ्नै सत्योपयोगको बाटामा । तँ बेकार किन भाग्छस् ? होमिदे न आफूलाई मानवधर्मको वेदीमा । किन डराइस् ?”

तर जीवनसंरक्षणी शक्तिले जिती । स्वार्थी भावहरू ज्यादा प्रबल हुन्छन्, ज्यादा तिनैको विजय हुन्छ । उसले पलायनको नीति स्वीकार गरी र त्यसैउपर लम्बेचौडे व्याख्यान छाँटी, यो अदृष्ट कसैलाई महामूर्ख बनाएर, गिल्ला उडाएर ।

रामकान्तको हालसालको मूक निन्याउरो अलग्गीपना देखर त्रस्त चम्पा भित्री प्रेरणले झन्-झन् बराबर कोठाभित्र झल्याकझुलुक देखिन थालिन् ।

तब रातभर चिन्ताशील युवक रामकान्तले बिहानी तोपका साथ घर छोड्ने निश्चय गरे । उनले भने, “म जिउन चाहन्छु, मर्न चाहन्नँ ।” तब एक चिठी लेखेर चम्पाको शृङ्गारको बाकसभित्र हालिदिए र आमाकहाँ मिरमिरे उज्यालामा गएर भने- त्यस दिन साथी भाइहरूसँग उनलाई दक्षिणकालीमा जाने काम थियो । उनी भोलिपल्ट बेलुकीपख मात्र फर्कने थिए …… घरबाट प्रस्थान गर्दा चम्पाले गालीदार नजरले झ्यालबाट एकबार उनलाई ताडना दिइन् । उनले पुलुक्क हेरे । आँखा रसाएर आयो हृदयमा तीव्र वेदना भयो तर उनी आफ्नो छातीलाई इस्पात बनाएर घरको द्वारबाट बाहिर निस्के ।