मुर्ख समाजका बारेमा आजकाल जताततै हल्ला चलेकाले खास कुरोको चुरो सविस्तार बुझ्न म एकाबिहानै मेरा गुरु गुदीराम गुर्धामीका घराँ दौड्दै पुगेँ । गुरु गुदीरामले पनि हर्षले सहर्ष  स्वागत गर्नुभयो, र भन्नुभयो, “ल भन के कारणले मेरा मेरा घराँ एकाबिहानै धरो हालिस् बजिया ?”

मैले भने, “हैन गुरु के समाज पनि मुर्ख हुन्छ र ? जताजतै आजकल मुर्ख समाज भन्ने चर्चा सुन्छु त । समाज त मुर्ख हुनै सक्दैन, कसरी समाज पनि मुर्ख हुन्छ ? यो त हुनै नसक्ने कुरा भन्ने लागेर हजुरसँग भन्न आइपुगेँ नि गुरू ।”

गुरुले मेरो प्रश्न पूरा हुन नपाउँदै मलाई हप्काउँदै भन्नुभयो, “हाम्रो समाजमा धेरैथरी मुर्ख छन् उल्लु । एउटा त राजनीतिमा राजनीतिलाई समाजमुखी, देशमुखी र विकासमुखी बनाउन नदिएर आफूमुखी बनाउने पारामा एकोहोरो लागि परेर नेता बन्ने र बनाउने खेलमा सुरवालमा सु गर्ने, भोटमा सिँगान पुछ्ने दिनमा मान्छे मौका पर्दा चौका हान्छन् । आफूलाई निकै ठूला ठान्छन् । एकैछिनमा अरूलाई पिना बनाउँदै नेताजीले नै आफ्ना भाइभतिजा, नातापाता, सालासाली सम्पूर्ण आफन्तलाई खाली नराखी खटाउने र राजनीतिमा पठाउने वर्ग यत्रतत्र देखिनुहुन्छ, सर्वत्र भेटिनुहुन्छ ।”

“बुझिस ?”, गुरुले सोध्नु भयो । मैले टाउको हल्लाएर सही थापेँ । फेरि गुरुले बेतोडले भन्न थाल्नुभयो, “अर्को वर्ग जनता जनार्जनको तर के गर्नु जर्नाजनले पनि कहिलेकाहीँ त जङ्गली पाराले जे पनि सही दिने । फेरि जनता त तिनै हुन नि, पहिला पहिला डा. केआइ सिँहले भाषाण गर्दा भन्थे – मेरा भेडा जनता । सबै जनताले पटटट्… ताली ठोक्थे । राणा कालमा राणै ठीक, पञ्चायती कालमा पञ्चायतै ठीक बहुदल कालमा बहुदलाई ठीक त्यस्ता जनतालाई भनिन्छ सोझा मुर्ख । मुर्खको पनि प्रकार हुन्छ बुझिस ?” 

सर्वज्ञ वाग्ले (अमेरिका)

मैले भनेँ, “बुझेँ गुरु बुझेँ ।”

फेरि गुरुले भाषाण गर्दाझैँ पट्कन थाल्नुभयो, “अर्का भनेका धर्मका मुर्ख अब धर्ममा दर्शन र अध्यात्म चाहिँ खुब हुन्छ त के गर्नु ? तर एउटा कमनसेन्स भन्ने चिजचाहिँ न्युन हुन्छ । त्यसले त ज्युन गाह्रो हुन्छ । त्यति मात्र कहाँ हो र ? धर्मले अध्यात्म उन्नति मात्रै गरेर हुन्छ र, भौतिक उन्नति गर्नु परेन ?”

गुरुले कटकेर मलाई प्रश्न गर्नु भयो । मैले पनि गुरुलाई सही थापेर भनी हालेँ,  “हो गुरु हो ।”

फेरि गुरुले सुरु गर्नुभयो, “अर्को कुरा, आर्थिक उन्नति त धर्ममा हुँदै हुँदैन । धर्म गुरुहरू भजनलाई भोजनभन्दा बढी मान्छन् । के भजन मात्रै गाएर भोजन मिल्छ मुर्ख कहाँ ?”, गुरु झन् जङ्गिन थाल्नुभयो, “गरिबीलाई झन् गर्व मान्छन् । भन्छन्, सम्पत्ति भएन भने दुख पर्छ । अनि भगवानको शरणमा आँसु झर्छ । अर्को सम्पत्तिमा जल्ने र जलाउने काम मात्रै गर्छन् । जलाउने काम मात्रै गरेर हुन्छ ? मलम लगाउने र घर चलाउने बाटापाटा पत्ता लाइदिनु पर्दैन ? यसरी अर्का सम्पत्तिमा जल्न मात्रै सिकेर हुन्छ ? आफूले प्रगति गर्न र आफ्नो घर चल्न पनि सिक्न पर्यो नि, कहीँ नपाएर भजन र भक्त्ति मात्रै गरेर सम्पत्ति जोडिने भए किन दु:ख गर्नु पर्थ्यो ? मेहन त गर्नु पर्यो, र भौतिक उन्नति पनि साथसाथै गर्नु पर्यो ।”

गुरुले फेरि भन्नुभयो, “यो धर्म पनि अचम्मको छ । जब धर्मलाई नमान्ने मानिसको जमात बढ्छ उनीहरू धर्म निरपेक्ष भन्न थाल्छन् । जब धर्म निरपेक्ष भन्न थाल्छन् तब धर्म निरपेक्षताको जमात बढ्छ, धर्मविरोधी कुराहरू मन पराउन थाल्छन् । र, धर्मको कतिपय ज्ञानगुनका कुराहरू पनि सुन्न थाल्छन् । दुबैतिरका कुराहरू झन् सुन्न थाल्छन् । जब दुबैतिरका कुरा सुन्न थाल्छन्, दुई डुङ्गामा सवार मान्छेझैँ दुई टाङ्ग दुईतिर हाल्दा समुन्द्रमा के हुन्छ, धर्म निरपेक्षीको हालत पनि त्यही मुर्खता हुन्छ ।

मुर्ख बुद्धिजीवी पनि हुन्छन् । जस्तै; बुद्धिजीवी बुद्धिले कुरा गर्छन् । बुद्धिले हिँड्छन् । बुद्धिले खान्छन् । बुद्धिले सास फेर्छन् । बुद्धिले हावा लिन्छन् । र, सम्पूर्ण बुद्धिले शरीरको अङ्ग प्रत्याङ्गमा देखाउछन् । देशमा आफ्नो सास फाल्छन्, र आफ्नो प्रशंसाको आश गर्छन् । उनीहरू सोच्छन् कि मैले बुद्धिको सास देशमा फालेँ त्यसैले देश र देशवासीलाई मैले पालेँ । त्यति मात्रै हो र ? बुद्धिको तरिका देशलाई सिकाएँ, बुद्धिको तर्क नेतालाई दिएँ ।

त्यसैले यो सबै राम्रा कामहरू मेरा सासले सर्कायो, नराम्रा कामहरू उनीहरूको हातले मर्कायो भन्ने धारणाले धैर्य लिन्छन् । कारण बुद्धिजीवीको जिक्री पो हुन्छ कि हरेक समस्या उनीहरूको बुद्धिले देखेको छ । तर कुरा जरासम्म पुग्दैन । यदि पुग्थ्यो भने त त्यसलाई पनि खनेर जरै फाल्थे होलान् ।

तर बुद्धिजीवीले त्यसो किन गर्ने ? जरा खन्न त माटो फाल्नु पर्यो । माटामा हात हाल्दा हात त फोहोर हुन्छ । त्यसका लागि त दुख गर्नुपर्छ । मेहेनत गर्नुपर्छ । मैलाधैला हुनुपर्छ । यो सबै भएपछि कसरी बुद्धिजीवी भन्ने कुरोको चुरो बुझ्नु पर्यो । बुद्धिसँगै इमानदारिता पनि हुनु नै पर्यो । बुद्धि र इमानदारिता यी दुबै चिजचाहिँ एकअर्काका विपरीत ध्रुव हुन् । बुद्धिमा इमानदारिता जब दुई ध्रुव हुन्छ त्यो बुद्धि बुद्धि नभएर मुर्ख हुन्छ, बुझिस् ।” गुरुले भन्नु भयो ।

गुरुले फेरि कट्केर भन्नुभयो, “अर्को मुर्ख व्यापारी । जब व्यापारमा देश, समाज र लोक हितार्थ व्यापार हुन्न, त्यो पनि मुर्खता हुन्छ । पूर्णता हुँदै हुँदैन । समाजमा व्यापार गर्नेले जब आफ्नो धन आर्जन समाज र देशविपरीत तरिकाले कमाउँछ र समाज चलाउँछ तथा समाजका अग्र पंक्त्तिमा उभिएकालाई व्यापारको धनले दुरुपयोग गर्छ । देशको अर्थतन्त्र त सिधै तल झर्छ । व्यापारले अपार बनाउँदैन तब त्यो पनि मुर्ख व्यापार हुन्छ । तर आजकाल त धर्म, व्यापार र राजनीति एकअर्काबिना चल्नै सक्दैनन् । यी सबै मिलेर समाजभित्रको अर्को समाज कोअपरेटिभ सोसाइटी बनिसकेका छन् । जुन समाज हरेक ठाउँमा अग्रपंक्त्तिमा द्रूत्तर किसिमले अगाडि बढी रहेका छन् । बिना ब्रेकको गाडीजस्तै । बुझिस् त मुर्ख समाज भनेको के हो ?”
गुरुले कट्केर सोध्नुभयो । मैले भनेँ, “बुझेँ गुरु बुझेँ , मुर्ख समाज के हो र को हो भन्ने कुरा मैले राम्रोसँग बुझे ।”