साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे उपन्यास : चम्पा (भाग – एक)

स्त्रीजातिलाई यथार्थ स्वामीले पुग्दैन । एक काल्पनिक स्वामी रचना गरेर वास्तविक मांसयुक्त स्वामी मूर्तिको कमी पूरा गर्दछन् ।

ratna book ads

अध्याय १
बालचिन्ता

लबारपाँडे बुढ्याइँले सुब्बा श्रीकान्तलाई मुखभरी लहडी तवरले सिँगारेको थियो । आँखाका कुनामा मुजा परेका थिए, चिउँडो खस्केको थियो, मुखले अलि जिल्ल परेर वाल्ल हेरे जस्तो भाव लिएको थियो, तर उनका आँखा तीखा देखिन्थे ।

नेपाली सेतो भोटो लगाएका र सेतो सुरुवाल । शरीर सुक्नाले दुवै अलि खुकुलो देखिन्थे । कालो पालिसदार चौपाया खटियाउपर घोप्टिरहेका । रातो सीसाकलम लिएर भागवतको खुला पुस्कमा बराबर चिनो लगाउँथे । बराबर थूक लगाउने बानी थियो ।

कोठा थियो पैसावाल मध्यवर्गीय । मैलिएको टर्की कार्पेट चार किनारमा । बीचमा सत्रंजा……. ढोकानेर फुटरग् । एउटा टेबिल पनि थियो दक्षिणतर्फ भित्तामा । उत्तरतर्फ रातो पालिसदार बुट्टा काटेको बन्द दराज । अगाडि सेता, सफेद दुइटा चकटी । टेबिलउपर एक ऐना थियो…………. टेबिलमा दुइटा काँचका फूलदान एक रिकापीमा चारौटा मोसम । भित्तामा तल्लो एकहत्ती भाग गाढा नीलो थियो, उपर फिका नीला तस्बिरहरु टाँगिएका थिए । एउटा श्री कृष्णको………. राधिकासँग यमुनातीरमा अर्धनङ्गन हँसिलो मुरली-लीलामा…….. । एउटा ईसामसीहका चित्र, जीवनको दश भाग चित्रण, एउटा सरस्वती, अर्को विष्णु भगवानको विश्वरुप । सफाइ बेकसिँगर थियो । ठूलो बालिष्ठको आड लिएर सुब्बाबाजेले ओठमा शीशा लगाए । ठीक यसै वेला चुनु र बुलु दुई बुहारी भित्र पसे । चोसे मुख लाएर बूढाले गौड गरेको देखेर चुनुले चञ्चले कुत्कुत्याइलो बैँसको छातीबाट हाँसो फुट्यो, उनीले दबेको स्वरमा देब्रे हातका चोरमाझीले मुगा-ओठ छेकेर खिर्खिराइन् ।

बुलुका आँखा हाँसे तर हाँसो रोकेर भनिन् “… जा मोरो ! के विघ्न उत्ताउली … ?’’

महाकवि लक्ष्मीप्रसाद देवकाेटा

“माक्क ! मोरी !” भनेर चुनुले तल्लो ओठ ट्वाक्क दाँतले टोकिन् । तब ती दुई बुहारीहरु सासूको काठाभित्र पसे ।

अक्सर बूढाबाजेलाई संसारसँग रीस, डाह लाग्दैनथ्यो । उनी शान्त, गम्भीर थिए । तर यो उत्ताउली वयसीहरुको खिसीटेप्लीले उनलाई आफ्नो धार्मिक कल्पनाको जगतबाट अलिकति यस संसारतर्फ सचेत गराइदियो । बूढाले सोच्न लागे । आजकालका ठिटीहरु के विघ्न उत्ताउला ! अलपक्का नजडी आँग नहिलाई, आँखा नतर्की, नचलमलाई त हिँड्नै नसक्ने । कति सिँगारिनु परेको ? सेतो छाला छँदैछ…. बस, गुलाफउपर रङ थप्याझैँ हेरन कति बाक्लो फा ! अनि लाली ।

नकलीपनाको यत्रो चहलपहल । रेशमी चूरी………ल…. हेरन कपालका पत्ती…….. मुन्द्रा बटार्छन् बा ! दिनभरी कप्ट्यारो सेकाएर………. भौँ टिप्याछन् उस्तै…….. नामै त कामिनी अब …….. कुरकुर बैँस……… कति हाँस्नुपर्‍यो ल …….. जे देखे पनि कुतकुती लाग्याछ, लाग्याछ…….. ससुरा भनेर रोकिने हुन र ? ……. माक्क मोरी … भनेर हिँड्छन् ए ! कस्ता बेशरम ल ! यिनको माकल हुन आएँ अब ए चपलचन्डी हो ……….. ।

तर बूढाले उठ्दो रीस दबाए….. यी यस्तै हुन्, सेती पाडीहरु भनेर चित्त बुझाए । उनी खूब राम्रा, लायक थिए आफ्नो बैँसमा । उनलाई रुपको मोहनीले नै धेरै राजाले सुब्बाङ्गी दिएका थिए ।

“ए ! सुब्बा हुन लायक त यिनी पो रहेछन् ए ! जेठ्ठा ! यस्तो रातोपिरो मोटोघाटो मान्छे पो सुहाउँछ, कसो ?’’

“महाराज !”

“होइन त ? …….. हेर्न यिनको बल्दो चेहरा, रातोपिरो मान्छे मात्रै मन पर्छ ए ….. मलाई त ! … च्याँसे सुब्बाले कल्की भिर्‍या राम्रो देखिन्छ त !”

“सुब्बाङ्गी बक्सिन खूब लायक हुन सरकार !”

“अँ ? ऐना स्रेस्ता हेर्‍या छौ पण्डिता ?’’

“ल………. चौबीस सयको मीर सुब्बा भयौ……. रुपियाँ राख ।”

“बस……… त्यो जमाना कहाँ गयो, अब यी मुकुँडीहरुले खिर्र खुर्र गरेर हँस्सी उडाउन लायक रे ए आज त ? …… तरुनीहरु हाम्रा टायममा रातो मुख लाएर हेर्थे ए हामीलाई पनि ।”

सुब्बाबाजे उठेर टेबिलअगाडि उभिए….. हातमा काँढे लट्ठी थियो । उनले हल्पी ऐना अगाडि आफ्नो चेहेरा जाँचे मुखको गतिपति थिएन । अलिकति जिल्ल परे । मानिस आफ्नो उपहास योग्यतामा सचेतता राख्दैन । किन नहाँसुन नाइँ, छेपाराले चुस्या जस्ता ढुम्म मोहीहरु । … उनको जीजन नै हाँसी थियो ……….. वृद्धताउपर निरादरको दृष्टि पनि स्वभाविकै हो, उनले चित्त बुझाए । हामी पनि त हाँस्यौ नि आफ्नो जमानामा…….. हर्के बूढो, अरिमर्दन बूढो, सुक्बेनी माइज्यूलाई देखेर कति जिस्काइन्थ्यो तिनलाई ! उहिले, उहिले !

उनको यस्तो मानसिक अवस्थामा नातिनी चम्पा भित्र पसिन् । बूढाले ऐना हेर्न लागेको देखेर उनलाई बडो आश्चर्य लाग्यो । त्यस्तो बूढो मान्छेल किन ऐना हेर्‍या होला । के मजा लाग्दो होला, छिः ! ………

बाजेको समीपमा पुगेर १२ वर्षकी मीठी चम्पाले बोलिन्, “हैन हजूरबुबा ! हजुरलाई पनि ऐना हेर्न मन लाग्छ ?”
बूढा नातिनीतिर फर्के…….. दाढीमा हात लगाएर भने…….. “आम्मै हाम्रो आँखा हैन र ? हाम्रो मुख होइन ? तिमीहरुको मात्र आँखा मुख हुन्छ त ?”

“बुवा हजूर ! हजूरलाई आफ्नो मुहार चौपट्ट राम्रो लाग्छ हकि ?”

“चोरको खुट्टा काट्…..”, बूढाले उत्तर दिए…….“हेरन, आफ्नो मनको कुरा बकेकी । हामीलाई आफ्नै मुख हेर्न मन लाग्दैन त ? जुँघामा कति तमाखुको काइ लाग्यो भनेर । तिमीहरुलाई पो जुन बेला पनि सिँगार गरिरहूँ, ऐनामा मुख हेरिरहूँ जस्तो लाग्छ ।”

“हजूरबुवाको मुहार मलाई त चौपट्ट हिसी भएको जस्तो लाग्छ । मलाई अरु मान्छे चाउरी नपरेको भए पनि कत्ति पनि राम्रो लाग्दैन, बाबै !”

“कस्ती बाठी ठिटी । कागको फुल चोर्ने, हेरन । म राम्रो छु ? फटाही !”

“राम्रो भन्या त अँ-अँ-अँ-व्यास ऋषि जस्तो त हो नि ! दाढी फुलेको अनि, अनि, निधारमा चाउरी परेको ।”

“यो मान्छे हुनि कि छैन” सुब्बाबाजेले नातिनीको गाला चिमोटेर भने, “त्यसो भए चम्पालाई बूढो पोइ खोजी दिने भएँ, हुन्छ कि हुन्न ?”

“छिः के कुरा गरिबक्स्या होला ? अँ…… हामी बिहे गर्छौँ त्यस्तरी क्या ?”

“छोड्लिस अब बिहे गर्न ? ह्वा माग्न आइसके…….. अर्काले ।”

“उ….. हो ?”

बहत्तर वर्षका बूढा कानका तीखा थिए, आँखाका पनि छिटा । पुराना बूढाहरुलाई सत्ययुगको दूध, दही, घीउको असर रहेकै हुन्छ । विज्ञानको युगको जीणर्शीणर्ता कम हुन्छ ।

“अझ उ हो भनेकी हेरन ?………… सत्ते ! चम्पा ! मैले ठट्टा गर्‍या भन्ठानिस् ! माग्न आ’छन् तँलाई अधिकारीको घरबाट ……… ।”

“त्यस्तो मोरो अधिकारी ! बिहे नै गर्दैनौँ ।’’

बूढाले भने, “हा उल्लू ! अर्कालाई झ्वाट्ट त्यसरी मोरो भन्न हुन्छ ? पाप लान्छ ।’’, पाप नामको एउटा विचित्र, आधा बुझिएको, अस्पष्ट, नगर्न हुने तर आकलझुकलमा या खराब स्वभावले गरिने कुनै कल्संँदो वस्तुले बाहुनकी छोरी अलि झस्किन् । ब्राह्मण कन्यामा ज्यादै धार्मिक मोलतोकको असर पर्दछ…. उनीहरु कट्टर हुन्छन्……… कुनै कुनै, जसको व्यक्तित्व ज्यादै परिस्थिति या धर्मले च्याँट्ठिन्छ र हाँकिन्छ बलवा गर्न थाल्दछन् । चम्पाको निर्दोष शैशवको रंगीलो सुगन्धी भावनामा परम्परतर्फ विरोधको विचार उठिसकेको थिएन ।

चम्पाले भनिन्, “हजूरबुवा ! पाप भन्या के हो हँ ?”, उनका आँखा बाटुला बोध-प्रयासी थिए ।

बूढाले उत्तर दिए…..“पाप भन्या अर्कालाई दुःख दिनु ।”

चम्पाले जवाफ दिइन्, “उसो भए राजाले किन चोर बदमाशलाई दुःख दियो त ? पाप लागेन ? हजूरबुवा !”

बूढाले चोरको निन्दनीयता तथा बदमाशहरुको दण्ढनीयता उपर सानो घरेलु व्याख्यान छाँटे । चम्पाको चित्त राम्ररी बुझेन । उनले घूँघरदार शिर हल्लाइन् ।

“भोक लागेपछि चोर्दैन त ? बिरालोले पनि चोर्छ । सबले पढ्न खान नपाएपछि बदमाश किन हुँदैनन् त ? ………. हाम्रो दूध ल्याउने कसाहीको छोरो दिनभरी गुच्चा खेल्छ बाबै !”

चम्पाको कुरा गराइमा माधुर्य मात्र होइन, चातुरी तथा गहराइसमेत थियो । “यो मान्छे चौपट्टकी छ”, बूढाले सम्झे, “अघोर बाठी …. पछि लोग्नेलाई हातमा नचाइदिन्छे यसले”, तर कडा मुख लगाएर उनले थपे, “हाः गवन्धि ? ………. राजाको कुरा केटाकेटीले गर्नुहुन्छ ?”

कौमुदीको सन्धिबाट उनले गाली गरे । चम्पा एकछिन चकित भइन् । उनलाई सुझेन कि राजाको कुरा केटाकेटीले किन गर्न हुँदैन ।

“अँ ? ……. ” उनले अर्धश्वासका ध्वनिमा उत्तर दिइन्, “होला अब ? केटाकेटीले किन कुरा गर्न नहुनु रे ! बेस्करी हुन्छ हजूरबुवा ! बूढाले मात्रै कुरा गर्नु भन्ने छ त ? … ओहो ! हजूर पनि ।’’

बूढाले झिझिएर खेल्न जाऊ भने । तब चम्मा उफ्रँदै, नाच्दै कोठाबाट बाहिर निस्किन् । छुक छुक छैयाँ, छुक छुक, छैयाँ चकचक चुकचुक, चुक……… ।

ध्वनिहरुको निरर्थक अनुप्रासात्मक उफरसाफर चापल्य र रसनोत्तेजकता उनको स्वभावको दानासँग मिल्थ्यो ।

“यस्ती मिर्गकी छाउरी !” बूढाले मनमनै भने, “यसले पराइघरकी बुहार्तन कसरी गर्छे ? …….. उमेर नपुगी कत्रो बिहा गरिदिनको शौक ल ?”

उनको चित्त बुझेन । उनी बज्यैको कोठाभित्र पसे । ढोका बाहिर कठवारले बारेको साङ्ग्रो बाटो थियो । त्यस बाटामा बज्यैको कोठाभित्र पस्ने ढोका थियो । बूढाले हतपतमा टाउको ठोके ।

“यी ढोकाहरु………. साना तला नगरी नहुने नेपालमा.. के गर्नु……….. ? एक बित्ता अग्लो पारुँ भन्या अरुहरुले मान्ने भए पो । यी यस्तो होचो ल ……… ।”

बूढाको आवाज सुनेर उनले निधार छामेको देखेर सुब्बेनी बज्यै आफ्नो अढाई हत्ते गद्दीको माथितिरको सेतो लंपटबाट उडिन् ।

“के भयो ? के भयो ? ठोकियो कि बेसरी ? के भयो ?”

“केही भएन……….. अलिकति ठक्कर मात्रै लाग्यो ।’’

“दुख्यो कि साह्रै ?’’

“होइन ……. केही भएन……….. ।’’

सुब्बाबाजेको आँखा कोठावरिपरि घुमेर सुब्बेनीबज्यैको कोठा सिँगारदार, रङ्रगीलो थियो । वालपेपरले सजेको………. पालिसदार दराजहरुले सुसज्जित…….. दराज, झ्यालउपर माटाका सिँगारेका उड्दा परीहरु ठाँटेको, कार्पेट नयाँ, सत्रञ्जाउपर गलैँचा । सब चीज फरेस देखिन्थे । टेबिलमा ऐना, साबुन, फूलदान, काँचका पुतली, आधा दर्जन प्लेटहरुको खात, आधा दर्जन चियाका प्यालाहरु ………… थिए । अढाइहत्ते गद्दीउपर साटिनदार झूलको बारलेटको नीलो रङ्गाएको जाली उचालिएर नागबेली दोलाईंको कलादार गुँडुल्का स्पष्ट प्रदर्शन गर्दथ्यो……… दुइटा चकडीमा बसेर बुलु र चुनु बुहारी फूलको माला गाँसिरहेका थिए । भोलिको दिन कृष्णाष्टमी छ ।

सुब्बाले सुब्बेनीलाई छेड हानेर भने, “सुब्बाभन्दा त सुब्बेनीकै दर्जा पो ज्यादै ठूलो देखिन्छ त ? खूब फरेसमा छौ, ए तिमी त अझ । उमेर पनि त ताजै छ नि ।’’

“ऊँ ! कसरी मर्जी भा होला ….. अचम्म ! अर्काको केश काँस भैसक्यो ह्वा ! के छ र यहाँ त्यस्तो विघ्न ? म त बिलकुल सादा भन्थेँ ! तर छोराहरु छन् नि हजूरका …….. टेबिल भएन रे, फूलदान भएन रे ……. ज्येठाले कलकत्ताबाट ल्याइलिएका प्लेट र प्यालाहरु सब । म बूढी कहाँ चिया पिउँथेँ र ? यी कलकत्ताबाजको करले मात्र ।”

बूढा तस्बिर जाँच्दैहिँडे……. कृष्ण र विष्णु…….. जरीदार, मालादार, सिँगारदार……….. तस्बिरमनि साना तख्ता, तिनउपर एक एक ढलौटे पाला । तेल टम्म । बूढाले विचार गरे बूढीको कोठामा रातभर कृष्णजी चमचम ज्वालाको तारिलो मोहनीले जरुर रासलीला खेल्न आउँदा होलान् । स्त्रीजातिलाई यथार्थ स्वामीले पुग्दैन । एक काल्पनिक स्वामी रचना गरेर वास्तविक मांसयुक्त स्वामी मूर्तिको कमी पूरा गर्दछन् । त्यति चिसा बूढालाई सम्म हृदयमा सानो डाहाडको अङ्कुर पैदा भयो । के हामी पुरुषहरु यिनका खेलौना मात्र हौँ ?…….. नकली भावले पूजा गरिने त्यस वस्तुको प्राप्तिको निमित्त जसलाई उनीहरु आदर्श सुन्दर पुरुष मान्दछन् !

“ए निशा !” सुब्बाबाजेले टिप्पणी गरे, “ठाँट अल्लि ज्यादा भएन तिम्रो ?’’

सुब्बेनी बज्यैले वरिपरि हेरिन्…..“आज कृष्णपूजाको तयारी भएर मात्र । उस्तो ज्यादा मलाई पनि कहाँ मन पर्छ र ?’’

नजिकको मेचमा बसेर बूढा भन्न लागे, “विचार गरन । ऋषिमुनिलाई मूढोको मञ्च कस्तो थियो वनको छहारी, फूलपातको सिँगार । कृष्णाष्टमी भन्छौ भन्न त तिमीहरु…… म त यस चाडमा पनि यन्त्रको युग आएको पो देख्न लागेँ । विचार गर यो बुलुको कार्चोपीको चोली, र चुनुको रेशमी सारी । कति फलामको क्रियाले तयार भए यी त । यो रेशमको युग भनेर तरुणो दुनियाँ सलसलाएर फुरुक्क पर्छ । म भन्छु रेशमको भित्र हजार हत्या छ….. अनगिन्ती पुतली मार, ठिटीहो ! …….. यो रेशमी निर्दयी छ ………….. यसले तिमीहरुको नसा सुक्नेछ एक दिन । दूधका सिर्का शिशुका मुखमा जानेछैनन्, भोलि पर्सि…… हामी बोक्रे भएरहेछौँ …….. आत्मा आज टाढा गइसक्यो ……… कुरकुरे बैँसको अन्धो खोल, यो रेशम, यसमा प्रशस्त जलन छ …….. के नेपाल राम्रो भयो ? के तिमीहरु राम्रा भयौ ? यो पैरो हो, वैरो होइन । हामी छालामा आएर नाच्छौँ , ठिटी हो ! ……. अहिँसाको वथ पालन गरन ।’’

वाल्ल परेर चकित नजरले दुई बुहारीले ससुराको मुहार जाँचिरहे, एक छिन ।

तब एकले दोस्रोलाई कोट्याएर मुसमुसाए, घुम्टोको पर्दापछाडि ।

उनीहरुलाई बूढोले के भन्न खोजेको राम्ररी चढेन । ज्यादा सिँगारिए वेस हुन्न भन्या होला । उत्ताउनी बनिन्छ रे !

बूढाले एक छिनपछि थपे……..“वस्तुको व्यावहारमा चरित्र छ, लसुन नखानु नै बाहुन हुनु हो । तिमीहरु वृत्ति भाँडिरहेछौ । ईशामसीहको स्वर्ग गुमेको कथा जस्तो हुनेछ, नेपाल एक दिन माक्क हुँदा बुझौला तिमीहरु ।’’

“माक्क” शब्दउपर बूढाले यति जोड दिए कि चुनुले जिभ्रो निकालिन् । बुलुले आँखीभौँ खुम्चाएर भनिन्,“जाऊ मोरी ! कस्तो हेपेर गुच्छा पार्‍या ? फूलै पुग्या छैन, मोरी !” बुहारीहरु विचार गर्दथे कि बूढाबूढीहरु एक किसिमका जीव हुन् जो ठिटीलाई हप्काउनु आफ्नो पवित्र कर्तव्य सम्झन्छन् । बैँसमा नठाँटिए कहिले त ? अँ, रेशम नलाए, सौता आइलागे भने नि ….. मोहनी त बैँसको धन हो । उनीहरु दुवैले बूढो मर्न लाग्या- फ्याउरोको काहानी सम्झे । फेरि जवान हुन पाए, कम हुन्थ्यौ बूढा ……. ? तिमी पनि उनको कुतकुते बैँस हरहमेशा श्रेष्ठताको भाव लिएर बूढ्याइँ नामको लबार पाँडेको नक्कल हेथ्र्यौ रीसले भन्दा चाखले । के अनौठा छिः ? ……. छालामा त्यति मुजा पर्‍या ल, के विघ्न ? चञ्चल नानीको पिउनी जस्तो ……..

बूढाले तब धेरै कुरा सम्झाउँदै बताए कि चम्पा नातिनी यस साल विवाह गर्न सकिने उमेरमा पुगेकी थिइनन् । १/२ वर्ष हड्बडाउनुको जरुरत थिएन ।

बूढाले भने, “बिचरी कोपिलै छ, आँग फुकेकै छैन । पिटिबक जान्न पराई घरमा ?’’

बूढीको चित्त बुझेन । त्यत्रो उमेर भैसक्यो । बहत्तर वर्ष थोरा हो ?.. अनि आफूलाई ज्यामराजले निम्तादिइसके । मौका आँउछ, पर्खदैन । मुट्ठी फुक्यो, चरो उड्यो । गुमाउन हुने हो ? अचम्म ! यो साल कि नकसाल । बाह्र वर्ष थोरै हो त ? च्वाट्ट पर सरे, बिताएन ? कुनामा बसेकी छोरी भन्दैन दुनियाँले ? बाहुनको घर पो त ! त्यत्तिको फेरि ठाउँ आउनु, सत्ययुग फर्कन्छ भन्या जस्तो, एः ? ….. अनि कन्यादानको पुण्यलाई कत्रो बयान छ ! स्वर्गको यति सजिलो बाटो होइन हुन्थ्यो, अहिले ? आफ्नो हृदयको सन्तोष पनि त हो नि ! फेरि, जिइरहियो भने पनातिको मुख देख्न पाइने पनि त सम्भावना थियो ।

घरेलु इजलासमा स्त्रीको वकालतलाई पुरुषको भाले जिभ्रोले जित्न सक्तैन । आँटेपछि उनीहरु भए गर्छन्, खुकुलो भए जोड लगाउँछन्, नहुने भए रुन थाल्छन् । शान्तिभङ्ग एक आन्दोलन छ । असहयोगभन्दा कडा ।

बूढाले आखिर हारे ……. ज्योतिषी बाजे आइपुगे ……… भोलिपल्ट चिना खुल्ने भए । तब चम्पालाई नाच्न लगाएर बूढीले एक सेतो नयाँ डबल हातमा राखेर उठाइन् ………. चम्पाको हाउभाउ अत्यन्त मनोहर थियो । बुहारीहरुले भने ठिक्क सिनेमा ….. ।

बिचरी चम्पा बुझ्दैनथिन् राम्ररी बिहा भन्ने चीजको उत्तरदायित्व, महत्व, खतरा । उनी बरावर बिहा गरी वनमा खेल्थिन् । मजा हुन्थ्यो, नकली रुपमा । कुनै वस्तु, घटना कृत्रिमता या यथार्थ रुपभन्दा राम्रो र आनन्ददायक हुन्छ । वियोगात्मक घटना दुःखदायक हुन्छ तर रङ्गमञ्चमा । दुनियाँ त्यसैमा आनन्द मानेर हेर्न जान्छ । बिहा भन्ने चीज भयङ्कर चीज हुन्छ । त्यसको भीषण नाटकमा वास्तविक स्वरुपले अभिनेत्रीको रुप धारण गर्दा दुलहीहरु रुन्छन् । यो व्यक्तित्वको स्वतन्त्रतालाई सीमित गर्ने वस्तु हो । यति गर्‍हुँगो, छुट्याउने, अन्धकारसँग जोड्ने, यत्रो भीषण यात्रा र खतरा छ । यसले कलमी गर्छ बिरुवाको, जो मृत्युको खतरा हो । परिर्वतन विरोधी पौधा मर्छन् । शैशवमा कोही कोही मात्र सप्रन्छन् । धेरै चढ्दो बढ्दो उमेरमा बिग्रन्छन्, बाङ्गिन्छन्, भाँडिन्छन् । अविरोधी पुतलीहरु घर भन्ने पराई जेलमा पनि उत्तिकै चल्छन्, जस्तो माइतीमा । परिवर्तनानुसारी मनको विकाश हुने फुल्छन् । तर बालखको जेलखानाको स्वरुपमा घर भन्ने यति भीषण वस्तु छ- यो अन्तर्दृष्टिरहित पुरुषको चैतन्यको पकडबाहिर छ ।

चम्पाको बिहाखेल रमाइलो क्रीडा थियो । तर अब बिहा हुने रे ? यसै साल । उनलाई एक किसिमको अनौठो डर लाग्न थाल्यो । मन तरङ्गिन लाग्यो । पोइले गहना, हीराका इस्टार, हजार रुपियाँको सारी इत्यादि- पाउडर, सुनको किलीप, काँटा-अनि त के ?- ल्याउँछन् रे ! जस्तो फलानीको बिहामा । वेस । तर सितै ल्या होला त ? उसको पनि त मतलब होला नि ? हामीलाई दासी रे ! ऊँ हो ? हामी कमारी हो र ? अनि सासू हुन्छ रे ! हाम्री आमा त असल । चौपट्ट असल । आँखामा हाले पनि नबिझाउने, ब्यारे ! तर अर्काकी आमा ? छिःमाक परी भने नि ? कसै कसैकी आमा एकदम राम्री हुन्न वा ! यति बाक्लो आँखीभौँ बाबै ? अनि कोही कति दुच्छर हुन्छन् ! नाइँ बा ! मलाई अहिले बिहे गर्न के को चासो ? हामी गर्दैनौँ रे, पढ्छौँ रे । नाच, गान सिक्छौँ रे । हामीलाई मन परे सिनेमामा शान्ता आप्टे, देविका रानी जस्तो बन्छौँ रे । कसैको कर लाग्छ ? वाह ! नाइँ बा, म त बिहे नगर्ने । त्यो पोइ कस्तो छ, कस्तो ! न मधिसे जस्तो छ ! साँच्ची अस्ति राजाको छोरी दिया कस्तो कलच्वाँठ थियो छिः ……. दुरुस्त देहाती मधिसे ……. कत्रो जुँघा …….. ? पूरा खान पनि घीन लाग्ला जस्तो । कसैको गाला खबटे हुन्छ, मुख चुस्स पर्‍या । हामी बाँदरसँग बिहा गर्छम् थोरै ? …. हामी ठूलो हुने, छात्रे आफ्नै आँखाले, अनि बिहा गर्ने बा !

यस्ता अनेक तरङ्ग चम्पाका मनमा दुगुर्न लागे । पोइ भन्या के होला ? ……. साँच्ची ? हाम्री कुमाको पोइ बुबारे ! ……… तँ यसको भनेर लाइदिया होला अब । एउटा कोठामा सुतेर एउटै थालमा भात खान लगाइदिएको होला अब । तर अस्ति कान्छीको पोइले कसरी पिटेको बाबै, खुकुरीको दापै दापले । छिः कस्तो चाँडल मोरो । म भए त नबस्ने बा ! यस्ता मोराको घरमा । लोग्ने मान्छे किन त्यति बलियो भा होला ? उसको हत्केला हातको पञ्जा नै कत्रो ? हकि ! एक चटकन दियो भने रिसा वेलामा । ओहो नाइँ बा । हामी ता अहिले बिहा गर्दैनौँ ……. हामीलाई केको कर ? यसरी चम्पा त्यस रातको आधा भागसम्म चिन्तित रहिन् जस्तो ज्यानमारा फाँसीको दिनको अघिल्लो रातमा, जस्तो हरुवा हार्ने अघिल्लो दिन । वैयक्तिक चिन्ता पर्दापछाडि रहन्छ, हामी देख्दैनौँ । प्रकाश नभए, मुखमा देखिए मात्र जाहेर हुन्छ । तर आफू, आफ्नो बाँकी जिन्दगानीको राह भन्ने विषय पर्नासाथ मानव मनमा महती समस्या खडा भएर क्रान्तियुगमा प्रजातन्त्रमन्त्रीको द्वार घचघच्याउने शुभचिन्तकहरुझैँ घचघच्याउन थाल्दछन् ।

घडीले दुवै हात जोर्‍यो विधातासँग पानी वर्षाउने परमेश्वरको शिरोबिन्दु पदमा । चम्पा थाकेर लोलाउँदै निदाइन् । त्यस रात उनी झस्किन् र कराइन्, धाई आमाले मात्र सुनिन् रे ।

प्रतिक्रिया
Loading...